निर्णय नं. ४१६६ - उत्प्रेषण

निर्णय नं. ४१६६ ने.का.प. २०४७ अङ्क ६
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४६ सालको रिट नं. ७६०
आदेश भएको मिति : २०४७।६।१।१ मा
निवेदक : विराटनगर न.पं. वा.नं. १३ बस्ने रामजीप्रसाद ढकाल
विरुद्ध
विपक्षी : प्रमुख जिल्ला अधिकारी जि.का. मोरंगसमेत
विषय : उत्प्रेषण
(१) नाता सम्बन्धमा संयुक्त निवेदन लिने कारवाही चलाउने अधिकार प्र.जि.अ. लाई नभएको र कुनै कारवाही नगरेको भने तापनि यसबाट निवेदकको हक हितमा विपरीत असर पर्न जाने हुँदा विपक्षी प्र.जि.अ.ले लिएको संयुक्त निवेदन उत्प्रेषणको आदेशद्वारा बदर हुने ।
(प्रकरण नं. ८)
विपक्षी तर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री ध्रुवलाल राज
आदेश
न्या.गजेन्द्रकेशरी बास्तोला
१. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुनआएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ ।
२. विपक्षी विष्णुमायाले विपक्षी कार्यालयमा म निवेदकलाई गर्भधारण गराई विवाह गरुँ भन्दा नमानी गर्भ नै मेरो होइन भनी अटेर गरेकोले कारवाही गरी खान लाउन र बस्न समेत व्यवस्था गरिपाउँ भन्ने विषयको मिति २०४६।४।२ मा निवेदन दिएको सिलसिलामा डि.एस.पि. कार्यालय मोरंगबाट मलाई २०४६।४।८ मा पक्राउ गरी २ दिनसम्म थुनामा राखी ऐ.१० गते विपक्षी कार्यालयमा हाजिर गराई विपक्षी अधिकारीज्यूले विष्णुमायाले तिम्रा उपर गर्भधारण गराई विवाह गर्न नमानेकोले खान लाउन बस्न व्यवस्था मिलाई पाउँ भनी उजुर गरेकीले अब तिमीले विवाह गरी उचित व्यवस्था मिलाउनु पर्छ भनी अनेक किसिमको डरधाक देखाई गर्भ पनि मेरो हो, स्वास्नी बनाई राख्नु भन्ने व्यहोरा र केटी तर्फबाट स्वीकारेकोले श्रीमतीले गर्नु पर्ने व्यवहार गरी बस्छु भन्ने समेत व्यहोराको संयुक्त मेल मिलाप गरेको भन्ने विषयको लेखी राखेको कागजालाई पढ्न समेत नदिई सहिछाप गराएकोले यसरी अधिकार क्षेत्र नै नभएको विषयमा उजुरी लिई संयुक्त निवेदनमा सहिछाप गराई मेरो संवैधानिक तथा कानुनी हकमा समेत आघात पुर्याएकोले सो कागजहरु बदर गरिपाउँ भन्ने समेत रिटनिवेदन जिकिर ।
३. यसमा के कसो भएको हो । विपक्षीहरुबाट लिखितजवाफ झिकाई आएपछि पेश गर्नु भन्ने समेतको यस अदालतको एक न्यायाधीशको इजलासबाट मिति २०४६।६।१५ मा भएको आदेश ।
४. विराटनगर न.पा. वडा नं. १३ बस्ने विष्णु माया कार्कीले रामजी ढकालले गर्भ बोकाई विवाह गर्दिन भनेका हुँदा निज उपर कारवाही गरिपाउँ भन्ने व्यहोरा उल्लेख गरी मिति २०४६।४।२ मा निवेदन दर्ता गराएकी रहिछन । पुनः मिति २०४६।४।१० गते गर्भ म रामजीको भएको र म निवेदिका रामजीसंग बस्न मन्जूर छु भन्ने व्यहोरा उल्लेख गरी दुवै पक्षले दस्तखत गरी संयुक्त निवेदन दर्ता गराएका रहेछन । यसरी आफ्नो स्वेच्छाले बिना कारण केही दिन पछि आएर संयुक्त निवेदन दर्ता गराई गएकाले निवेदक रामजीप्रसादलाई झिकाई डर त्रास देखाई प्र.जि.अ. को आदेशले कुनै कागजमा दस्तखत गराएको नहुँदा रिटनिवेदन खारेज गरिपाउँ भन्ने प्र.जि.अ. मोरंगको लिखितजवाफ रहेछ ।
५. विपक्षी विष्णुमाया कार्कीले आफ्नो म्याद आफैले बुझीकन पनि लिखितजवाफ नदिई बसेकी रहिछन ।
६. नियम बमोजिम दैनिक मुद्दा पेशी सुचीमा चढी पेश हुन आएको प्रस्तुत रिटमा विपक्षी कार्यालयको तर्फबाट बहसमा खटी आउनु भएका विद्वान उप न्यायाधिवक्ता श्री ध्रुवलाल राजको बहस समेत सुनियो ।
७. अब यसमा रिट निवेदकको माग बमोजिमको आदेश जारी हुने नहुने के हो ? निर्णय दिनु परेको छ ।
८. निर्णयतर्फ विचार गर्दा यसमा निवेदक रामजीप्रसाद ढकालको विपक्ष विष्णुमाया कार्कीको निवेदन अनुसार विपक्ष प्र.जि.अ. मोरङले संयुक्त निवेदन लिई दस्तखत गराई लोग्ने स्वास्नीको हैसियतले बस्ने व्यहोरा उल्लेख गरी कागज गराएकोले सो बदर गरिपाउँ भन्ने व्यहोरा समेतको मुख्य रिटनिवेदन जिकिर भएकोमा यस्तो निवेदनबाट कुनै कारवाही गरेको छैन भन्ने विपक्षी प्र.जि.अ. को लिखितजवाफ भए तापनि मिति २०४६।४।१० को संयुक्त निवेदन लिएको कुरा जिल्ला कार्यालय मोरंगबाट प्रेषित लिखितजवाफमा स्वीकार गरिएको छ । नाता सम्बन्धमा यस्तो संयुक्त निवेदन लिने कारवाही चलाउने अधिकार विपक्षी प्र.जि.अ. लाई नभएको र कुनै कारवाही नगरेको भने तापनि यसबाट निवेदकको हक हितमा विपरीत असर पर्न जाने हुँदा विपक्षी प्र.जि.अ. ले २०४६।४।१० मा लिएको संयुक्त निवेदन उत्प्रेषणको आदेशद्धारा बदर हुने ठहर्छ । विपक्षीलाई जानकारीको लागि एक प्रति नक्कल महान्यायाधिवक्ताको कार्यालय मार्फत पठाई मिसिल नियमानुसार बुझाई दिनु ।
उक्त रायमा मेरो सहमति छ ।
न्या.हरगोविन्द सिंह प्रधान
इतिसम्वत् २०४७ साल आश्विन १ गते रोज १ शुभम् ।