शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४१६८ - उत्प्रेषण

भाग: ३२ साल: २०४७ महिना: असोज अंक:

निर्णय नं. ४१६८     ने.का.प. २०४७      अङ्क ६

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४६ सालको रिट नं. ८७४

आदेश भएको मिति : २०४७।६।२।३ मा

निवेदक      : कारागार शाखा काठमाडौंमा थुनामा बस्ने वीरबहादुर थापा मगर

विरुद्ध

विपक्षी : ललितपुर जिल्ला अदालतसमेत

विषय : उत्प्रेषण

मुद्दा : ज्यान तथा थुनुवा भाग्यो भन्ने

(१)   ज्यान मुद्दाबाट सर्वश्वसहित जन्मकैद बापत कानुन बमोजिम २० वर्ष कैद ठेकिई सकेपछि कारागार ऐनको दफा २४ बमोजिम कैद ठेक्न नमिल्ने भन्न नमिल्ने ।

(प्रकरण नं. ७)

(२)   कारागार ऐन, २०१९ को दफा २४ को उपदफा (६) मा देखाइएको २० वर्षको हद सोही दफाको उपदफा (३)(४) र (५) बमोजिम भागेबापत थप कैद ठेक्दा कायम गर्नु पर्ने हो भन्ने नदेखिने ।

(प्रकरण नं. ७)

निवेदक तर्फबाट     : विद्वान अधिवक्ता श्री होमनाथ ढुंगाना विद्वान अधिवक्ता श्री रमनकुमार श्रेष्ठ

विपक्षतर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री ध्रुवलाल राज

आदेश

न्या.हिरण्येश्वरमान प्रधान

१.     नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ ।

२.    राजबहादुर गुरुङको जाहेरीले वादी श्री ५ को सरकार प्रतिवादी म निवेदक भएको कर्तव्य ज्यान मुद्दामा संलग्न रही कसूर गरेको ठहर गरी कास्की जिल्ला अदालतबाट सर्वश्वसहित जन्मकैदको सजायँ हुने गरी गरेको फैसलाको कलम एक र सोही मुद्दामा ०२९।८।३ गतेबाट अविछिन्न रुपमा थुनामा बसी ०३७।२।१३ मा जिल्ला कार्यालय कारागार शाखा नख्खुबाट भागी ०३७।८।१० मा पक्राउमा परी ०३७।१०।२० गते विपक्षी नं. १ मा थुनुवा भाग्यो भन्ने मुद्दामा बयान गरेको एक समेत २ मुद्दा मध्ये थुनुवा भाग्यो भन्ने मुद्दामा २०३८।३।१६ मा विपक्षी नं. १ बाट फैसला भएको के कति कैद लाग्यो भन्ने कुरा फैसला पढी बाची सुनाई दिएको हुँदा थाहा भएन । थुनाबाट भागेको अभियोगमा के कति सम्म सजायँ हुनसक्ने रहेछ भनी कारागार ऐन, ०१९ हेर्दा कैद म्याद ठेकिएको कैदी भागेमा पक्रिएपछि निजलाई बाँकी कैदको डेढी बढाई सजायँ गर्नु पर्छ भनी कारागार ऐनको दफा २४ को उपदफा (ङ) को देहाय दफा (३) मा उल्लेख भएको, उपदफा (३) वा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफाहरु बमोजिम डेढी बढाई सजायँ गर्दा भाग्ने थुनुवा वा कैदी जुन अपराधमा कैद परेको हो सो अपराधमा हुन सक्ने सजायँको उपल्लो हदको सवाई भन्दा बढी हुने गरी सजायँ कायम गरिने छैन भन्ने ऐनको दफा २४(५) मा उल्लेख भएको, उपदफा (३), (४) वा (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफाहरु बमोजिम सजायँ गर्दा बीस वर्ष भन्दा बढी कैद हुने गरी सजायँ गरिने छैन र गर्न हुँदैन भनी उपदफा (६) मा उल्लेख भएको पाइन्छ । म निवेदकले भागी गएको अवस्थामा कुनै प्रकारको अपराध नगरेको हुँदा उल्लेखित कर्तव्य ज्यान मुद्दामा सर्वश्वसहित जन्मकैदको सजायँ हुने ठहर गरी कास्की जिल्ला अदालतबाट ठेके ठेकाएको कैद मात्र म निवेदकले भुक्तान गर्नु पर्नेमा कारागार ऐन, ०१९ को दफा २४(६) ले बीस वर्ष भन्दा बढी र दण्ड स. ८, १० र ४१ ले समेत सजायँ हुने गरी कैद ठेक्न नमिल्ने हुँदा उल्लेखित ज्यान मुद्दाको मात्र शुरुमा थुनामा बसेको मितिबाट कैद कट्टि मिन्हा हुने गरी कैदको लगत ठेक्नु ठेकाउनु भनी विपक्षीहरुको नाउँमा उपयुक्त आदेश पुर्जी जारी गरिपाउँ भन्ने जिकिर ।

३.    यसमा के कसो भएको हो विपक्षीहरुका नाउँमा कारण देखाउ आदेश जारी गरी नियमानुसार पेश गर्नु भन्ने यस अदालत एक न्यायाधीशको इजलासबाट मिति ०४६।९।१२ मा भएको आदेश ।

४.    रामबहादुर पाण्डेको जाहेरीले वादी श्री ५ को सरकार प्रतिवादी विपक्षी रिट निवेदक भएको कैदी भाग्यो भन्ने मुद्दाको प्रहरी प्रतिवेदन मिति ०३७।३।१६ मा यस अदालतमा दायर रही कारवाही हुँदै आएकोमा यसमा निज रिट निवेदक वादी पक्षले लगाएको कसूर आरोप स्वीकार गरी अदालतमा बयान गरेको देखिँदा वादी दावी बमोजिम कसूर गरेको ठहरेकोले निज निवेदकलाई कारागार ऐन, ०१९ को दफा २४ को उपदफा (४) बमोजिम लागेको कैद मध्ये थुनामा बस्न बाँकी कैद वर्ष १२।५।२२ को डेढोले वर्ष ६।२।२६ थप समेत गरी जम्मा वर्ष १८।८।१८ कैद हुनेमा सोही ऐनको दफा २४ को उपदफा (५) ले उपल्लो हदको सवाई भन्दा बढी सजायँ नहुने हुँदा मिति ०३७।८।१०।३ देखि पुनः थुनैमा देखिँदा सो मितिबाट वर्ष १७।५।२२ कैद हुन्छ । सो बमोजिम कैद ठेक्ने गरी मिति ०३८।३।१६ मा यस अदालतबाट फैसला भएको फैसला हुँदा रिट निवेदक रोहवरमा रही फैसला सुनी पाएको सहिछाप समेत गरेको निस्सा मिसिल समावेश रहेको र सोही बमोजिम विपक्षी निवेदक थुनामा बसी आएका हुन् । विपक्षीलाई कारागार शाखामा फैसलाको नक्कल समेत उपलब्ध गराइएकोबाट निजले फैसलाको नक्कलको अभावबाट के कति कैदको सजायँ लाग्यो यकीन भएन भन्ने आफ्नो निवेदनमा उल्लेख गरेको व्यहोरा समेत बनावटी र कपोल कल्पित हुँदा रिटनिवेदन खारेज गरिपाउँ भन्ने विपक्षी ललितपुर जिल्ला अदालतको मिति २०४७।१।१८ को लिखितजवाफ ।

५.    कारागार शाखा काठमाडौंबाट लिखितजवाफ प्राप्त हुन नआएको ।

६.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत रिटनिवेदनको फायल समेत अध्ययन गरी निवेदकको माग बमोजिमको आदेश जारी हुनु पर्ने नपर्ने के हो निर्णय दिनु परेको छ ।

७.    निर्णयतर्फ विचार गर्दा यसमा रिटनिवेदकले आफूलाई कास्की जि.अ. बाट सर्वश्वसहित जन्मकैद ठेकी सो कैद भोगिरहेको अवस्था थुनुवाबाट भागेकोमा पछि पक्राउ परी थुनुवा भागेको मुद्दामा भएको फैसला बमोजिम थुनाबाट भागे बापत ठेकिएको कैद सानो कलमको भई द.सं. को ८ नं. ले कैद ठेक्नु नपर्ने हुँदा सो कैद ठेकिएको बदर गरिपाउँ भन्ने मुख्य जिकिर लिएको देखिन्छ । निवेदक तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता द्वय होमनाथ ढुड्डाना र रमनकुमार श्रेष्ठले पनि निवेदन बमोजिमकै जिकिर लिई बहस गर्नु भएको देखियो । विपक्षी तर्फबाट कुनै कैद ठेकिएको व्यक्ति कैदबाट भागी गई पछि पक्राउ परी कारवाही भएमा कारागार ऐन, २०१९ दफा २४ मा भएको व्यवस्था बमोजिम थप कैद गरिनु पर्ने र सो दफा २४ को उपदफा (६) मा लेखिएको हद सोही दफाहरुमा व्यवस्था भए बमोजिम सजायँ गर्ने सम्बन्धी मात्र हो र सो मा द.स. को ८ नं. बमोजिम हुने होइन भन्ने व्यहोराको जिकिर लिई बहसमा उपस्थित हुनुभएका विद्वान उपन्यायाधिवक्ता ध्रुवलाल राजले बहस गर्नु भएकोबाट निवेदकको माग बमोजिमको आदेश जारी हुनु पर्ने हो होइन भन्ने तर्फ विचार गरिएमा निवेदकलाई कर्तव्य ज्यान मुद्दामा कास्की जि.अ. को फैसला बमोजिम सर्वश्वसहित जन्मकैद ठेकिई सो कैदमा बसी रहेको अवस्था कैद वर्ष १२।५।२२ दिन भुक्तान गर्न बाँकी छँदै २०३७।२।१३ मा कैदबाट भागी गएकोमा पछि २०३७।८।१० मा पक्राउ परी कानुन बमोजिम मुद्दा चली सो मुद्दाबाट कारागार ऐन, २०१९ को दफा २४ को उपदफा ३, , ५ मा भएको व्यवस्था बमोजिम भुक्तान गर्न बाँकी कैदको आधारमा १७।५।२२ वर्ष कैद ठेकिएको कानुन बमोजिम देखिन आएको छ । अब सोही दफाको उपदफा ६ मा भएको व्यवस्थाबाट पनि २० वर्ष भन्दा बढी कैद ठेक्न नमिल्ने र ज्यान मुद्दाबाट सर्वश्वसहित जन्मकैद बापत कानुन बमोजिम २० वर्ष कैद ठेकिई सकेपछि अब सो कारागार ऐनको दफा २४ बमोजिम कैद ठेक्न नमिल्ने भन्ने हकमा सो दफा २४ मा भएको व्यवस्था हेरिएमा सो दफाको उपदफा (३) मा कैद म्याद ठेकिएको कैदी भागेमा पक्रिएपछि बाँकी कैदको डेढी बढाई सजायँ गर्नुपर्छ भन्ने भएकोबाट सर्वश्वसहित जन्मकैदको सजायँ पाई कैद ठेकिएको कैदी कैद भुक्तान नहुँदै बीचमा भागी पक्राउ परी आएमा निजलाई भुक्तान गर्न बाँकी कैदको डेढी बढाई फेरि सजायँ गर्न पर्ने भएकोबाट सर्वश्वसहित जन्मकैद ठेकिएपछि सो दफा बमोजिमको कैद नलाग्ने र द.स.को ८ नं. मा भएको व्यवस्थाले पनि कानुनको यो व्यवस्था बमोजिम कैद ठेक्न नपरी व्यहोरा जनाई लगत कट्टा गरी दिनु पर्ने भन्ने जिरह मनासिब देखिन नआई सो दफा २४ उपदफा (६) मा देखाइएको २० वर्षको हद सोही दफाको उपदफा (३), (४) र (५) बमोजिम भागे बापत थप कैद ठेक्दा कायम गर्नु पर्ने हो भन्ने देखिन नआएकोले रिटनिवेदनको जिकिर पुग्न सक्दैन खारेज हुने ठहर्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.गजेन्द्रकेशरी बास्तोला

 

इतिसम्वत् २०४७ साल आश्विन २ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु