निर्णय नं. ७४९४ - अंश चलन ।

निर्णय नं. ७४९४ ने.का.प.२०६२ अङ्क २
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री दिलिपकुमार पौडेल
माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी
संवत २०५६ सालको दे.पु.नं..५८२५र६०१०
सम्वत् २०५८ सालको दु.पु.नं. ––७८५९
फैसला मितिः २०६२।१।७
मुद्दाः अंश चलन ।
पुनरावेदक / वादीः का.जि.का.म.न.पा.वडा नं. ४ वस्ने कान्चनमाला शर्मा समेत
विरुद्ध
विपक्षी / प्रतिवादीः ऐ ऐ वस्ने विद्युतराज चालिसे समेत
पुनरावेदक/प्रतिवादीः विद्युतराज चालिसेको मु.स.गर्ने हेमालक्ष्मी चालिसे
विरुद्ध
प्रत्यर्थी / वादीः ऐ ऐ वडा नं. ४ वस्ने कान्चनमाला चालिसे
पुनरावेदक/प्रतिवादीः का.जि.का.म.न.पा. वडा नं. २ घर भई हाल सँयुक्त अधिराज्य वस्ने अमरनाथ चालिसे समेत
विरुद्ध
प्रत्यर्थी / वादीः का.जि.का.म.न.पा. वडा नं. ४ वस्ने कान्चनमाला चालिसे समेत
§ अंशवण्डाको १९(४) को परिप्रेक्ष्यमा आफ्नो हकको अंश जति आफुखुस गर्न पाउने नै हुँदा र सो शेषपछिको वकसपत्रलाई वादीले चुनौती समेत दिन नसकेको अवस्थामा उक्त वकसपत्रलाई अन्यथा भन्न नमिल्ने ।
(प्रकरण नं..२९ )
§ वादीले सम्पत्ति आफ्नो स्वआर्जनको भन्ने आधारको रुपमा आफु उप प्रधानपन्च भएको र विदेश भ्रमणमा गएको कुराहरुलाई वनाएको पाईन्छ तर निज उप प्रधान पन्च भएको र विदेश भ्रमणमा गएको एक मात्र आधार स्वआर्जनको पुष्टि कारण प्रमाण हुन नसक्ने ।
(प्रकरण नं.३०)
§ प्रतिवादी अन्जुले पाएको जग्गा वकसपत्रको देखिएपनि आफ्नै पत्नीले पतिवाट वकसपत्र पाएको देखिएकोले प्र. अन्जुको नाममा रहेको सो जग्गा वण्डा गर्न नपर्ने भन्न नमिल्ने ।
(प्रकरण नं..३१ )
पुनरावेदक वादी तर्फवाटः विद्धान अधिवक्ता श्री वालकृष्ण न्यौपाने र श्री प्रकाश वस्ती
पुनरावेदक प्रतिवादी तर्फवाटः विद्धान अधिवक्ता श्री वसन्तराम भण्डारी र श्री शतिसकृष्ण खरेल
अवलम्वित नजीरः ने.का.प.२०४४, निर्णय नं.३११६, पृष्ठ ६६८
फैसला
न्या.राजेन्द्रकुमार भण्डारीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अनुसार पुनरावेदनमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :-
२. विपक्षी मध्येका विद्युतराज चालिसे म फिरादीका पति विपक्षी निलम प्रिया देवी सासु र अन्य विपक्षीहरु देवरहरु हुन । विद्युतराज चालिसे संग म फिरादीको २०२९।८।२० मा गन्धर्व विवाह भई २०३३ सालमा जेठी छोरी सौदामीनीको, २०३५ सालमा माहिली छोरी सैसदी २०३८ सालमा छोरा कदम्वराजको जायजन्म भएकोमा विपक्षी पतिले म फिरादी छोरा छोरीलाई कुटपिट गर्ने गरेको र खान लाउन नदिएको घरवाट निकाला गरेकोले अन्यत्र गै वसी विपक्षी पति संग मेरो र छोराको अंश दिनुहोस भनी वारम्वार भन्दा अंश दिन्न भनेकोले फिराद गर्न आएको छु । विपक्षी पतिका ३ दाजु भाई विपक्षीहरु सगोलमा रहेका निजहरुको विचारमा वण्डा नभएकोले विपक्षी सवैवाट वण्डा गर्नुपर्ने सपत्तिको तायदाती लिई फिराद परेको अघिल्लो दिन मानु छुट्टिएको मिति कायम गरी सम्पूर्ण वण्डा गर्नुपर्ने सम्पत्ति ४ भाग लगाई ४ भाग मध्ये १ भाग मेरा पति विपक्षी विद्युतराज चालिसेको १ भाग जम्मा २ भाग अंश छुट्टयाई चलन समेत पाउं भन्ने समेतको २०४७।६।९ को फिराद दावी ।
३. वादीले म पति लगायत सासु र देवरहरुसंग अत्यन्त दुर्यवहार गर्ने गरेकोमा घर चलाउनको लागि सगोलको का.जि.का.म.न.पा. वडा २३ (य) कि.नं. १६६ को जग्गामा वनेको घरमा निज वादीलाई राखी छोरा छोरी र म कहीले एउटा घरमा कहिले अर्को घरमा वस्दै आएका थियौं । निज वादी र छोरा छोरीलाई लाग्ने सम्पूर्ण खर्च मैले व्यहोरी रहेको छु । लोग्नेलाई झुठ्ठा मुद्दा दिने, घरमा प्रवेश गर्न नदिने, वादीलाई मैले अंश दिनुपर्ने कुनै पनि कानूनी वाध्यता नभएपनि सम्पूर्ण अँशियारहरुवाट मेरो अंश छुट्टयाई छोरीलाई वरावर भाग वण्डा लगाउंदा वादीले पाउने मेरो अंशको ६ खण्डको एक खण्ड वादीलाई दिन मेरो मन्जुर छ भन्ने समेतको प्रतिवादी विद्युतराज चालिसेको प्रतिउत्तर पत्र ।
४. वादीले म सासु लगायत पति र देवरहरु संग समेत अन्यत्य दुव्र्यवहार गर्ने गरेकोले गर्दा वादीका देवरहरु सगोलमा सम्पत्ति नलिई छुट्टै वसी आर्जन गरेको सम्पत्ती वण्डा गर्नुपर्ने होईन। विभिन्न सम्पत्ति निज वादीका नाममा राखिएकोमा आफ्नो नाममा राखेको सम्पत्ति आफ्नो एकलौटी हुन्छ भनी निहु खोजी यो झुठ्ठा मुद्दा गरेकी हुन भन्ने समेत प्रतिवादी निलम प्रिया देवीको प्रतिउत्तर पत्र ।
५. म ई.सम्वत् १९८४ मा सँयुक्त अधिराज्य गए देखि वादी वा प्रतिवादीहरु सगोलमा छैन। नेपाल फर्कि आएपछि पनि आफ्नो खती उपती अलग्गै वसी चलाई आएको छु । मैले सगोलको सम्पत्ति अंश प्राप्त गरेको छैन । वादीले आफ्नो पतिवाट अंश लिए पाएमा मलाई कुनै विरोध छैन भन्ने समेत व्यहोराको प्रतिवादी अभय चालिसेको प्रतिउत्तर जिकिर ।
६. विपक्षीले विद्युतराजसंग गन्दर्भ विवाह पछि हाम्रो परिवारमा आउनु भएको निज वादीसंग हाम्रो सम्वन्ध रहन नसकेकोले म अमरनाथ २०३१ सालमा पैतृक सम्पत्ति केही नलिई मुलघरवाट वाहिर वसिरहेको म प्रतिवादी अन्जु चालिसे २०३५ सालमा अमरनाथ चालिसेसंग विवाह भएपछि लोग्नेसंग इङ्गल्याण्डमा वसी आएको र विपक्षीले हामीवाट अंश पाउने व्यक्ति समेत नहुँदा फिराद खारेज भागी छ भन्ने समेत व्यहोराको प्रतिवादी अमरनाथ चालिसे र अन्जु चालिसेको सँयुक्त प्रतिउत्तर जिकिर ।
७. मुल अंशियारहरुवाट मेरो एक खण्ड अंश छुट्टयाई त्यसवाट अंश भाग लगाउंदा मेरो एक अंश एउटा छोराको एक अंश दुईटी छोरीको दुई अंश र दुई पत्नीको दुई अंश गरी ६ खण्डको एक खण्ड अंश निज कान्चनमालालाई दिन मन्जुर छ भन्ने समेत व्यहोराको विद्युतराजको वा. शिवप्रसादले गरेको वयान ।
८. वादीवाट पेश भएको २०४२।१०।२५।६ को कागज मेरो हस्ताक्षरले लेखेको हो । सो कागज प्रमाण ऐन, २०३१ को दफा ४१ र २४ को उपदफा २ बमोजिम लोग्ने स्वास्नीको बीचमा प्रकट भएको कागजपत्रलाई प्रमाणमा लिन नमिल्ने भन्ने समेतको विद्युतराजको वा. शिवप्रसाद मैनालीले अदालतमा गरेको वयान ।
९. आफुले खुसी राजीवाट गरेको कागजलाई प्रमाण लाग्दैन भनी गरेको वयान झुठ्ठा हो भन्ने समेत वादी कान्चनमालाले अदालतमा गरेको वयान ।
१०. मूल अंशियार प्रतिवादी विद्युतराज, निलम प्रिया देवी, अम्वरनाथ, अभयनाथ चालिसे गरी ४ जना देखिएको हुँदा ४ भाग लगाई प्रतिवादी विद्युतराजको भागमा पर्न आउने १ भाग सम्पत्तिवाट त्यसपछिको अँशियारवाट कान्चनमाला, कदमराज, विद्युतराज तथा विद्युतराजकी कान्छी श्रीमती हेमलक्ष्मी समेत ४ अँशियार देखिँदा ५ भागको २ भाग सम्म सम्पत्ति यि वादी कान्चनलामा र कदमराजले दिलाई पाउने ठहर्छ । कि.नं. २१७ को १–३–२ जग्गा र सो मा वनेको घर र कि.नं. ८८८ को जग्गा भाग वण्डा लाग्ने ठहर्छ । कि.नं. १६७ को जग्गावाट अहिले नै अंश भाग वण्डा लाग्न सक्दैन । कि.नं.१६६ वाहेकका वादी कान्चनमालाका नाउंमा रहेको तायदाती फांटवारीमा देखाइएका अन्य जग्गाहरु सगोलको ठहरी अंश भाग वण्डा लाग्ने ठहर्छ । कि.नं. १६६ र ६६८ का जग्गा प्र. अन्जुको स्व. आर्जनको हठरी अंश भाग वण्डा लाग्न सक्दैन । सो वाहेक अभय र अमर चालिसे समेतका नाउंमा रहे भएका तायदाती फांटवारीमा देखिए सम्मका सवै जग्गा सगोलको ठहरी अंश भाग वण्डा लाग्ने हठर्छ । यसरी अंश भाग गर्दा वादी कान्चनमाला तथा प्र विद्युतराजको छोरीहरु सौदामिनी र सैसदी, हेमलक्ष्मीको छोरी एक तथा छोरा वादी कदमराजको विवाह हुन वाँकी देखिँदा अंशवण्डाको १७ नं. बमोजिम निजहरुको विवाह खर्च पर सारी अंश भाग छुट्टयाई यि वादीले अंश चलन समेत पाउने ठहर्छ भन्ने समेत शुरु काठमाडौं जिल्ला अदालतको २०५३।६।२२ को फैसला ।
११. हेमा चालिसेले दर्ता गरेको अंश मुद्दामा विद्युतराजका नाउंमा दर्ता भएको सम्पत्तिवाट अंश पाउ भन्ने दावी छ । प्रस्तुत मुद्दामा मेरो नाउंमा दर्ता भएको जग्गा समेत हेमा चालिसेले पाउने ठहर गरेको मिलेको छैन । मेरा नाउंमा दर्ता भएको मेरा स्त्री अंश धनको सम्पति र मेरो निजी ज्ञान, सीप प्रयासवाट आर्जन गरेको सम्पत्ति हेमा चालिसेलाई समेत वण्डा गर्ने गरी फैसला गर्न मिल्दैन । यस्तो फैसला स्त्री अंश धनको ४ र अंशवण्डाको १८ नं. समेतको विपरीत हुँदा का.जि.अ.को २०५३।९।२२ को फैसला अंशवण्डाको ११, १८ स्त्री अंश धनको ४ नं. अ.वं. १८४ (क) , १८५ नं. समेतको विपरीत भएकोले सो फैसला वदर गरी मेरो वादी दावी र मैले पेश गरेको तायदातीको वण्डा नगर्ने महलको सम्पत्ती वण्डा नगर्ने गरी फैसला गरिपाऊँ भन्ने समेतको नावालक कदमराज चालिसेको हकमा समेत भै आफ्ना हकमा समेत कान्चनमाला चालिसेको पुनरावेदन पत्र ।
१२. म विपक्षी तथा अन्य प्र.हरुको अँशी हुँ । मैले सगोलको सम्पत्तिवाट अंश पाएको छैन भन्ने कुरामा विवाद देखिँदैन । शुरु का.जि.अ.ले मलाई अँशी कायम गरी भाग वण्डा हुन वाँकी रहेको भनी गरेको फैसला सदर गरी प्रचलित कानून तथा स.अ.वाट प्रतिपादित सिद्धान्त समेतको विपरीत हुने गरी मेरो निजी आर्जनलाई सगोलको कायम गरी भाग वण्डा लाग्ने गरी गरेको फैसला उल्टी गरी मेरो निजी आर्जनको आफुखुस गर्न पाउने सम्पत्ति वण्डा लाउन नपर्ने गरी फैसला गरिपाऊँ भन्ने समेत व्यहोराको अभय चालिसेको पुनरावेदन पत्र ।
१३. हाम्रो उल्लेखित जग्गा स्वआर्जनको सम्पत्ति भएको र वण्डा लाग्नु पर्ने सगोलको सम्पत्ती हो भनी वादीले नै दावी नलिएको प्रष्ट हुँदा हुँदै का.जि.अ.ले सो कि.नं. १०२ को जग्गालाई सगोलको सम्पत्ति ठहर्याई वण्डा लाग्ने भनी भएको फैसला कानूनी त्रुटिपूर्ण हुँदा मिति २०५३।९।२२ को फैसला वदर गरी कि.नं. १०२ को जग्गा अंशवण्डा नलाग्ने ठहर फैसला गरी न्याय पाउं भन्ने समेत व्यहोराको अमरनाथ र अन्जु चालिसे समेत २ जनाको सँयुक्त पुनरावेदन जिकिर ।
१४. कि.नं. १६६ को जग्गा विपक्षीको आफुखुस गर्न पाउने सम्पत्ति नभै सगोलको वण्डा लाग्ने सम्पत्ति भएको हुनाले मेरो प्रमाणको मुल्याँकन गरी शुरु काठमाडौं जिल्ला अदालतको उल्लेखित कि.नं. १६६ को वण्डा नलाग्ने भन्ने हदसम्मको फैसला उल्टी गरी उक्त जग्गा वण्डा लाग्ने गरी फैसला गरी इन्साफ दिलाई पाउं भन्ने समेत व्यहोराको स्व. निलम प्रिया देवी चालिसेको मुद्दा सकार गरी आफ्नो हकमा समेत ऐ ऐ विद्युतराज चालिसेको पुनरावेदन पत्र ।
१५. यसमा यसै लगाउको २०९४ को मुद्दामा विपक्षी झिकाउने आदेश भएकोले यसमा पनि अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाई आएपछि नियमानुसार पेश गर्नु भन्ने पु.वे.अ. को आदेश ।
१६. यसमा का.जि.का.म.न. पा.वडा नं. २३ (य) को साविक कि.नं. १६६ र १६७ दुवै कित्तामा घर रहेको भन्ने हुँदा कि.नं. १६६ र १६७ दुवै जग्गा देखिने गरी के कति जग्गामा के कस्तो प्रकारको घर वनेको छ । प्रत्येक कित्तामा घरले चर्चेको जग्गा कति छ । जग्गाको भौतिक स्थिति स्पष्ट रुपमा देखिन गरी अ .वं. ७१ नं. को रीत पुर्याई नमूना गरी यसै साथ पेश भएका लगाउका मुद्दाहरु समेत साथै राखी पेश गर्नु भन्ने पुनरावेदन अदालतको र मिति २०५६।४।४ गते आदेशानुसारको नक्सा भै आएको रहेछ ।
१७. यसमा कि.नं. १०२ समेतका जग्गा वण्डा गरेको मिलेकै देखिने र प्र.अमरनाथको हकमा विचार गर्दा निजले निजी तवरवाट वकस पाएको कि.नं. ७५१ को जग्गा लिखतवाट पुष्टि भएको सो जग्गा खरिदी जग्गा हो भन्ने नदेखिएकोले निजको निजी सम्पत्तिवाट अंशवण्डाको १८ नं. ले निजको स्वेच्छाले दिए वाहेक वादीहरुले दावी गरी लिन पाउने नदेखिँदा सो कित्तामा वादीहरुको अंश लाग्ने भनिएको हदसम्म शुरुको ठहर पनि मिलेको देखिएन । साथै कि.नं. १६६ मा वादीको मात्र हक लाग्ने गरी भएको ठहर खण्ड अनुचित भन्न मिलेन । प्र. विद्युतराजको आमाको भाग पाउने गरी भएको ठहर पनि मनासिवै हुँदा कि.नं. १६६ को घर जग्गा तर्फको प्र. को पुनरावेदन जिकिर पुग्न सक्ने देखिएन ।
१८. यसमा काठमाडौं जिल्ला अदालतको मिति २०५३।९।२२ को फैसला पूर्ण रुपले मिलेको नदेखिएकोले सो फैसला केही उल्टी भै कि.नं. १६७ को जग्गा मध्येमा परेको न.नं. ५ को घर वादीले वनाएको देखिएकोले सो हदसम्मको घर सो घरले चर्चेको जग्गा वादीको भाग कायम गरी त्यसमा अंश नलाग्ने प्र. अभयको हा.व.वाट प्राप्त कि.नं. ७५१ को जग्गा निजी देखिएकोले सो जग्गावाट वादीले अंश भाग नपाउने र २०५६ सालको दे.पु.नं. ३७१ को मुद्दावाट कान्चनमाला संग हेमलक्ष्मीले अंश नपाउने ठहरी आजै फैसला भएकाले यसमा प्र. विद्युतराजको अंश भागवाट ३ भागको २ भाग वादीहरुले अंश पाउने ठहर्छ भन्ने पु.वे.अ.को फैसला ।
१९. कायमी अँशियार वीच वण्डा हुन पर्दछ । अंशवण्डा नभईकन शेष पछिको वकसपत्र हुन सक्दैन । मृत अँशियार निलम प्रिया समेतको अंश हक कायम हुने र सो भाग विपक्षी विद्युतराजले पाउने गरी भएको फैसला मिलेको छैन । कि.नं. ७५१ को जग्गा समेत सगोलको सम्पत्तिवाट किनेको हुँदा वण्डा लाग्न पर्दछ । कान्चनमालाको मोही हकको कि.नं. १७१ र १७५ को जग्गा स्वआर्जनको हुँदा वण्डा लाग्दैन भन्ने समेतको कान्चनमाला शर्माको पुनरावेदन ।
२०. कि.नं. १६७ को सगोलको जग्गामा समेत पर्ने गरी घर निर्माण गरेकोवाट सो घर विपक्षीले निर्माण गरेको नभै सगोलमा निर्माण भएको र कि.नं. १६६ समेत सगोलको भएको कुरा प्रष्ट छ । सगोलको मेहनतवाट विपक्षी नाममा रैकरमा परिणत गरी प्राप्त हुन आएको समेत हुनाले उक्त सम्पत्ति वण्डा नहुने भन्ने र हेमालक्ष्मी चालिसे मुद्दा परे पश्चातको अँशियार कायम नहुने भन्ने व्यहोराको पु.वे.अ. पाटनको निर्णय वदर घोषित गरी मेरो प्रतिउत्तर जिकिर बमोजिम गरिपाऊँ भन्ने समेतको विद्युतराज चालिसे समेतको पुनरावेदन पत्र ।
२१. वादीको अँशियार हामी नभई दाजु विद्युतराज हुन । २०३१ साल देखि नै मुलघरवाट अलग वसेको हो । फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरेको मिलेको छैन । कि.नं. १०२ को जग्गा २०४६।२।१५ देखि नै अन्जु चालिसेको नाममा दर्ता छ । २०३१ साल देखि ईङ्गल्याण्डमा छुट्टि वसेको हो । कि.नं. १०२ को जग्गा र अन्जुको दाईजो पेवा मासिए वापत मिति २०३५।८।२८ मा राजिनामा पारित गरी लिई २०४६।२।१५ मा अन्जुलाई हा.व. गरि दिएको हो। म अमरनाथको नाममा नभएको कि.नं. १०२ को जग्गा पु.वे.अ.ले वण्डा गरेको अवस्था छ । कि.नं. १०२ को जग्गा अंशवण्डा गर्न मिल्दैन भन्ने समेतको २०५८।१।१९ को अमरनाथ चालिसे समेतको पुनरावेदन ।
२२. यसमा प्रस्तुत मुद्दाका वादी कान्चनमाला चालिसे तर्फ १ छोरा वादी कदमराज चालिसे भई छोरीहरु सौदामिनी र सैसवी चालिसे समेत भएको भन्ने कुारमा विवाद रहेको देखिँदैन भने यसै लगाउको दे.पु.नं. ६३७६ वादी हेमालक्ष्मी चालिसे भएको अंश मुद्दामा निज हेमालक्ष्मी तर्फवाट समेत १ छोरी भएको भन्ने कुरामा समेत वादी प्रतिवादी वीच विवाद रहेको देखिँदैन । अंश मुद्दा चली रहेको र अंश छुट्टिई भिन्न वसी नसकेको स्थितिमा प्रतिवादी विद्युतराज चालिसेसंग विवाह गरेकी हेमालक्ष्मीलाई पु.वे.अ.ले अँशियार कायम गरेको देखिएन । यसै गरी मुलुकी ऐन अंशवण्डाको महलमा भएको ११ औं सँशोधनवाट विवाह नभएकी छोरीलाई समेत अँशियार कायम गर्नुपर्ने अवस्थामा वादी कान्चनमाला तर्फको दुई छोरी र हेमालक्ष्मी तर्फको १ छोरी समेत अँशियार कायम गर्नुपर्ने स्थितिमा ३ अँशियार मात्र कायम गरेको र मूल चार अँशियार कायम गरी ४ खण्डको १ खण्ड विद्युतराज चालिसेको भागवाट ३ भागको २ भाग अंश वादीले पाउने ठहर गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेको देखिएन । त्यसै गरी मूल अँशियार विद्युतराज चालिसेका पुस्ताका दाजु भाई अँशियार मध्ये पुनरावेदक अमराथ चालिसे तथा अन्जु चालिसेको विवादित कि.नं. १०२ को जग्गा वण्डा नलाग्ने भनी तायदाती पेश गरेको सो तायदाती सुनाउंदा कुनै अँशियारले वण्डा लाग्ने हो भनी जिकिर नलिएको अवस्थामा सो सम्पत्ति समेत वण्डा लाग्ने गरेको पुनरावेदन अदालत पाटनको फैसला नमिली फरक पर्ने देखिँदा छलफलको निमित्त अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाई नियमानुसार पेश गर्नु भन्ने समेतको यस अदालतको मिति २०६१।२।२७ को विपक्षी झिकाउने आदेश ।
२३. नियमबमोजिम आज निर्णय सुनाउन पेश हुन आएको प्रस्तुत मुद्दा संग सम्वन्धित सम्पूर्ण मिसिल कागजात हेरियो । पुनरावेदक वादी कान्चनमाला चालिसेको तर्फवाट उपस्थित विद्धान अधिवक्ता श्री वालकृष्ण न्यौपाने र श्री प्रकाश वस्तीले वादीको विद्युतराजसंग २०२९।८।२० मा विवाह भएको हो । कि.नं. १६६ को जग्गा सो भन्दा अगाडि नै वादीको नाउंमा आएको छ । यस्तो जग्गा वण्डा लाग्न सक्दैन मोहियानी खरिद गरेको कि.नं. १७१ र १७५ र स्वआर्जनवाट खरिद गरेको जग्गाहरु वण्डा लाग्ने हैन अंश मुद्दा पर्दा विहे नै नभएको हेमालक्ष्मीलाई अँशियार कायम गर्न मिल्दैन २०४६ मै हेमाको विवाह भएको हो भने २०४७ मा कान्चनमालाको फिराद र प्रतिवादी विद्युतराजको प्रतिवादमा समेत सो कुरा उल्लेख हुनुपर्ने हो । २०४७।६।८ मा मानो छुट्टिएको मितिमा कायम नरहेको व्यक्तिलाई अँशियार कायम गर्न मिल्दैन । पैतृक सम्पत्तिको हकदार अमरनाथ, अभय र विद्युतराज मात्र हुन भन्ने समेतको र विपक्षी हेमालक्ष्मीको तर्फवाट उपस्थित विद्धान अधिवक्ता श्री वसन्तराम भण्डारी र श्री शतिसकृष्ण खरेलले कान्चनमालाले कि.नं. १६६ को जग्गालाई दृष्टिगत गरी २०२९।८।२० मा विवाह भएको भने पनि त्यो कुरा साँचो हैन । कि.नं. १६६ मोही हक खरिद गरेको हो । आफू र आफ्नो परिवारको श्रमवाट कमाएको सगोलमा रहँदा रैकर परिणत भई स्वामित्व कायम भएको हुँदा सगोल कै हो । मोही लगत कट्टा भएपछि स्वामित्व र जग्गाधनी आफै भएको अवस्था छ । सो कि.नं. १६६ र १६७ मा वनेको घर समेत अन्यथा प्रमाणित नभए सम्म सगोलको मान्न पर्ने हुन्छ । अंशवण्डा नहुँदै ल्याएको श्रीमती समेत अँशियारा कायम हुनेमा विवाद छैन । यसै गरी प्रतिवादी अमरनाथ र अन्जुको तर्फवाट उपस्थित विद्धान अधिवक्ता श्री भेषराज न्यौपानेले कि.नं. १०२ को जग्गा सगोलको सम्पत्तिवाट किनेको नभै निजी आर्जनको भएको। त्यस्तो जग्गामा अंशवण्डा लाग्ने हैन । वेलायत गएका अमरनाथले श्रीमतीको दाईजो पेवा मासिदिए वापत हा.व. गरी दिएको हो वण्डा लाग्दैन भन्ने समेतको वहस गर्नु भयो । पुनरावेदन अदालतको इन्साफ मिलेको छ , छैन ? भन्ने कुराको निर्णय दिनुपर्ने देखिन आयो ।
२४. निर्णयतर्फ विचार गर्दा वादी कान्चनमाला चालिसेले पति विद्युतराज सासु निलम प्रिया देवी, देवर अमरनाथ र निजको श्रीमती अन्जु तथा अर्का देवर अभय चालिसे उपर प्रस्तुत मुद्दा दिएको पाईयो । वादीले आफ्नो विवाह विपक्षी विद्युतराजसंग २०२९।८।२० मा भएको र निज तर्फवाट छोरीहरु सौदामिन, सैसदी र छोरा कदम्वराजको जायजन्म भएकोमा पतिले खान लाउन नदिएको हुँदा ४ भागको एक भाग अंश पाउँ भनी फिराद गरेकोमा शुरु काठमाडौं जिल्ला अदालतले प्र. विद्युतराजको कान्छी श्रीमती हेमालक्ष्मीलाई समेत अँशियार कायम गरी विद्युतराजको भागको सम्पत्तिवाट वादी कान्चनमाला र निजका छोरा कदम्वराजले ४ भागको दुई भाग अंश पाउने ठहर्याएकोमा पुनरावेदन अदालतले प्र. हेमालक्ष्मीलाई अँशियारा वाहेक गरी वादीले ३ भागको दुई भाग अंश पाउने गरेको देखिन्छ । यसै गरी पेश भएको तायदाती फांटवारी हेर्दा शुरु काठमाडौं जिल्ला अदालतले प्र. विद्युतराज, निलम प्रिया देवी, अम्वरनाथ र अभयनाथ गरी मूल ४ जना अँशियार कयम गरी प्र. विद्युतराजको भागवाट विद्युतराज, कान्चनमाला, कदम्वराज र हेमालक्ष्मीलाई अँशियारा कायम गरी ४ भागको २ भाग सम्पत्ति वादीले पाउने ठहर्याएकोमा पुनरावेदन अदालतले प्र. हेमालक्ष्मीलाई समेत कान्चनमालाको अँशियारा कायम गरेको ईन्साफ उल्टी गरेको देखिन्छ । साथै वादी प्रतिवादीवाट पेश भएको तायदाती फाँटवारी अनुसार शुरुले वादी कान्चनमालको नामका कि.नं. १६६ को घरजग्गा र प्रतिवादी विद्युतराजको कि.नं. १६७ को जग्गा तथा प्र. अन्जुको नामको कि.नं. ६६६ र ६६८ को सम्पत्ति वाहेक वादी प्रतिवादी जिम्मा अन्य सम्पत्ति अंशवण्डा लाग्ने ठहर्याएकोमा पुनरावेदन अदालतले प्र. अभयको नामको कि.नं. ७५१ को जग्गा समेत वण्डा नलाग्ने ठहर्याई अन्य इन्साफ सदरै गरेको देखिन्छ ।
२५. यि वादी प्रतिवादीहरुको फिराद प्रतिउत्तर र पुनरावेदन जिकिर हेर्दा प्रस्तुत मुद्दामा मुख्य रुपले निम्न प्रश्नहरुको निरुपण गर्नुपर्ने देखिन आयोः
१) प्र.विद्युतराजको अँशियार को को कायम हुने हो ? विद्युतराजका पत्नीहरु कान्चनमाला, हेमालक्ष्मी र छोरा छोरीहरु को को अँशियारा कायम हुने हो ?
२) निलमप्रिया र विद्युतराज चालिसेले दिएको शेषपछिको वकसपत्रको स्थिति के हुने हो ?
३) विभिन्न अँशियारहरुको नाउंमा रहेको सम्पत्ति मध्ये कुन कुन सम्पत्ति वण्डा लाग्ने हो?
२६. सर्बप्रथम बादी प्र सगोलका अंसियार हो होइन भन्ने तर्फ विचार गर्दा स्वर्गिय निलम प्रियाका तिन छोरा विद्युतराज, अभयराज र अमरनाथ भै विद्युतराजको दुई श्रीमती कान्चनमाला तथा हेमालक्ष्मी देखिन्छ । कान्चनमाला तर्फवाट २ छोरी शैसबी, शौदामिनी र एक छोरा कदम्वराज र हेमालक्ष्मी तर्फवाट नन्दिनी र विशाखा चालिसे गरी विद्युतराज तर्फ २ श्रीमती ४ छोरी र एक छोरा देखिन्छ । अमरनाथको श्रीमती अन्जु चालिसे देखिएको छ । प्रस्तुत मुद्दामा कान्चनमाला वादी भई अंशमा दावी गरेको देखिन्छ भने प्र. हेमालक्ष्मीले पनि अलग्गै वादी भएर दे.पु.नं. ६३६७ को मुद्दावाट अंशमा दावी गरेको देखिन्छ । वादी र प्रतिवादीहरु निलम प्रिया, विद्युतराज, अमरनाथ र अभयराजका साथै वादी, प्रतिवादी पनि भिन्न भै वसेको भन्ने देखिँदैन । प्रस्तुत मुद्दा परिसकेपछि निलमप्रिया परलोक भएको अवस्थामा जिवित अँशियारा वीच अंशवण्डा गर्नुपर्ने देखिन्छ । तसर्थ प्र. विद्युतराज, अभयराज र अमरनाथ वीच ३ भागको १ भाग अंशवण्डा भएपछि सो विद्युतराजको एक भाग मध्येवाट वादी कान्चनमाला समेतको अंश भाग छुट्टयाउनु पर्ने देखिन्छ ।
२७. अव अर्को प्रश्न प्रस्तुत अंश मुद्दाका प्रतिवादी स्व. विद्युतराजका दुई पत्नी कान्चनमाला र हेमालक्ष्मी मध्ये हेमालक्ष्मीले वादी कान्चनमाला र प्रतिवादी विदूतराजको अंशवण्डा भएपछि विद्युतराजको भागवाट मात्र अंश पाउने हो वा हेमालक्ष्मी कान्चनमाला समान अँशियारा कायम हुने हो भन्ने तर्फ विचार गर्दा यि वादी कान्चनमालाको पुनरावेदनमा विद्युतराजले हेमालक्ष्मीलाई कान्छी श्रीमतीको रुपमा फिराद परेपछि मात्र ल्याएको हुँदा मानो छुट्टिएको मिति २०४७।६।८ भन्दा पछाडि ल्याएको पत्नीले पतिको कायम हुने अंश भागवाट मात्र अंश प्राप्त गर्ने भन्ने जिकिर लिएको पाईन्छ भने विद्युतराजले हेमालक्ष्मीलाई फिराद पर्नु भन्दा अगाडि नै विवाह गरी ल्याएको हुँदा कान्चनमाला सरह समान अँशियार कायम हुन पर्ने भनी प्रतिवाद गरेको देखिन्छ । प्रस्तुत मुद्दाका वादी कान्चनमालाको फिराद पत्रमा हेमालक्ष्मीको वारेमा कुनै कुरा उल्लेख भएको देखिँदैन भने प्रतिवादी विद्युतराजको प्रतिउत्तरमा समेत किटानी साथ विद्युतराजका कान्छी श्रीमती हेमालक्ष्मीको वारेमा उल्लेख भएको छैन । अँशियारहरु वढेको खण्डमा वादीको भागमा आउने सम्पत्ति समेत घट्ने हुँदा वादीले विद्युतराजको कान्छी श्रीमतीलाई अँशियारा नदेखाउनु स्वाभाविक हुन सक्छ । प्रतिवादी विद्युतराजको प्रतिउत्तर पत्रको प्रकरण नं. ७ हेर्दा सम्पूर्ण अँशियारवाट मेरो अंश छुट्टयाई छोरीहरुलाई पनि वरावर भाग वण्डा लगाउंदा वादीले पाउने मेरो अंशको ६ खण्डको १ खण्ड वादीलाई दिन मन्जुरी छ भन्ने समेतको प्रतिउत्तर फिराएको देखिन्छ । प्रतिवादी विद्युतराजले सम्पूर्ण अँशियाराहरुवाट अंश भाग छुट्टयाई लिएपछि तत्काल कायम रहेका २ छोरीहरु शैसदी र सौदामिनी को समेत अंश भाग वारेमा उल्लेख गरी ६ भागको एक भाग अंश वादीलाई दिन मन्जुर रहेको भन्ने व्यहोरा उल्लेख गरेकोमा ती ६ जना अँशियार मध्ये वादी कान्चनमाला र प्रतिवादी विद्युतराज साथै प्रतिउत्तर पर्दाका वखत तत्काल कायम रहेको दुई छोरी र एक छोरा समेत गर्दा जम्मा पाँच जना मात्र हुने देखिन्छ ।छैठौ अंशीयार को हो भन्ने उल्लेख भएको पाइन्न । यि प्रतिवादीले २०४७।१०।९ मा प्रतिउत्तर पेश गर्दा स्पष्ट रुपले १ जना अँशियारको नाउं नखुलाएपनि मिति २०५३।३।१४ मा अ.वं. १३३ नं. बमोजिम कागज समेत गरेको अवस्था देखिन्छ सो कागजमा आफ्नो एक भाग मध्येवाट तत्काल कायम रहेका छोरा–१, छोरी–२ र पत्नी २ जना र आफु समेत गरी ६ भागको १ भाग अंश लाग्ने हो भनी स्पस्ट रुपमा पत्नी हेमालक्ष्मीको बारेमा उल्लेख भएबाट यस्तो अवस्थामा अन्यथा प्रमाणित नभए सम्म हेमालक्ष्मीलाई विद्युतराज र कान्चनमाला समान अँशियार होईन भनी अनुमान गर्न मिल्ने देखिदैन । विद्युतराजकी कान्छी पत्नी हेमालक्ष्मी समेतले विद्युतराजको अंश भागवाट वादी कान्चनमाला सरह अंश भाग पाउने देखिन्छ ।
२८. साथै छोरीहरुलाई अँशियारा कामय गर्न पर्ने हो, होईन भन्ने तर्फ विचार गर्दा, मुलुकी ऐन ११ औं संशोधन पश्चात प्रस्तुत मुद्दा यस अदालतमा विचाराधिन रहेको अवस्थामा मिति २०५९।६।१० मा मुलुकी ऐन अंशवण्डाको १ नं. मा भएको संशोधन अनुसार अविवाहिता छोरीहरुले समेत अंश पाउने अवस्था भएको हुँदा छोरीहरुलाई समेत अंश भाग लगाउन पर्ने देखिन्छ । जहांसम्म पछि जन्मिएका छोरीहरुले अंश प्राप्त गर्न सक्ने हो, होईन भन्नेतर्फ विचार गर्दा ने.का.प. २०४४ पृष्ठ ६६८ नि.नं. ३११६ पृथ्वीराज विरुद्ध वैजु शर्माको मुद्दामा यस अदालतवाट प्रतिपादित सिद्धान्त हेर्दा मुद्दा पर्दापर्दैको अवस्थामा वादीहरुको जन्म भएको र अंश लिई वेगल वसेको भन्ने ठहर नभैसकेको अवस्थामा मुलुकी ऐन अंशवण्डाको १ र २ नं. बमोजिम अंश भाग लाग्ने भन्ने समेतको सिद्धान्त प्रतिपादन भएको अवस्थामा पछि जन्मिएका छोरीहरुले पनि अंश भाग पाउने देखिएको हुँदा अँशियार मध्ये प्र. विद्युतराज, अमरनाथ र अभयराजको ३ अंश कायम गरी अंशभाग लगाई विद्युतराजको भागको १ भागवाट अँशियारहरु क्रमशः विद्युतराज चालिसे, पत्नी कान्चनमाला चालिसे र हेमालक्ष्मी चालिसे, छोरा कदम्वराज चालिसे , छोरीहरु सौदामीनि, शैसवी, नन्दिनी, विशाखा समेत जम्मा ८ अँशियार कायम हुने गरी अंशवण्डा हुने देखिएकोले ८ भागको २ भाग वादीहरु कान्चनमाला र कदम्वराज समेत अँशियार कायम हुने देखिन्छ ।
२९. अव अर्को प्रश्न निलमप्रियाले विद्युतराजलाई गरी दिएको मिति २०४८।९।३० को शेषपछिको वकसपत्र र विद्युतराजले हेमालक्ष्मी र छोरीहरु नन्दिनी र विशखालाई मिति २०५७।१२।६ मा गरी दिएको वकसपत्रको स्थिति के हुने हो ? निलम प्रियादेवी समेतको अंश भाग कायम हुने हो, होईन भन्ने प्रश्नतर्फ विचार गर्दा यि निमल प्रियाले आफ्नो भागमा आउने सम्पत्ति सम्म दान वकसको १, २ र अपुतालीको ६ नं. बमोजिम छोराहरु मध्ये विद्युतराजको नाममा शेष पछिको वकसपत्र पारित गरि दिएको अवस्था देखिन्छ । उक्त अपुतालीको ६ नं. ले अँशियाराहरुलाई ऐन बमोजिम अंशवण्डा गरी दिई लिई कोही स्वास्नी छोरा वुहारी संग आफ्नो अंश मिसाई वसेकोमा वावु आमा मरी अपुताली पर्यो भने त्यो अपुताली संग वसेका स्वास्नी छोरा वुहारीले मात्र पाउंछन् । लिखत भए लिखत बमोजिम हुन्छ भन्ने व्यवस्था गरेको पाईन्छ । प्रस्तुत विवादमा अंशवण्डा लिएको अवस्था छैन र अंश मिसाई वसेको स्थिति समेत छैन । त्यस्तै दान वकसको १, २ नं. ले समेत आफ्नो हक मात्र दिन पाउने अवस्थामा स्त्री अंशधनको २ नं. ले आधा भन्दा वढी छोराहरु अमरनाथ र अभयराजको मन्जुरी विना दिन नसक्ने हुँदा र शेषपछिको वकसपत्र प्राप्त गर्ने विद्युतराजले आफ्नो आमाको शेषको नाताले कुनै पनि सम्पत्ति प्राप्त नगर्दै निजको पनि स्वर्गवास भै सकेको अवस्था हुँदा सो शेषपछिको वकसपत्रको नाताले स्वर्गिय निलम प्रिया देवीको अंश भाग अन्य अँशियारले प्राप्त गर्न नसक्ने भन्न मिलेन । अव जहां सम्म विद्युतराजले हेमालक्ष्मीलाई गरी दिएको शेषपछिको वकसपत्रको स्थिति के हुने भन्ने तर्फ विचार गर्दा यि अँशियारहरु वीच अंशवण्डा हुँदा मूल अँशियारहरु अमरनाथ, अभय र विद्युतराजको एक एक भाग अंश लाग्ने भनी अगाडि नै उल्लेख भै सकेको छ । विद्युतराजको भागमा आउने ३ खण्डको १ खण्ड अंश भागवाट विद्युतराजको हांगा पट्टीका अन्य सन्तान वीच वरावर अंशवण्डा लगाउन पर्ने अवस्था देखिन्छ । जहांसम्म अंश मुद्दा पर्दा पर्दै मृत्यु भएका यि प्र. विद्युतराज समेतको अंश भाग लगाउनु पर्ने हो, होईन भन्ने तर्फ विचार गर्दा यि प्र. विद्युतराजले आफु जिवितै हुँदा आफ्नो भागको सम्पत्ति अँशियारा मध्ये वादी कान्चनमालावाट अंश मुद्दा परी मानो छुट्टिएको मिति कायम भई तायदाती पेश भए पश्चात अलग रहेकी अर्थात यि प्र. विद्युतराजको संग साथमा रहेकी कान्छी श्रीमती र निज पट्टीका छोरीहरु विशाखा र नन्दनीको नाममा आफ्नो भाग सम्पत्ति मिति २०५७।१२।६ मा शेषपछिको वकसपत्र गरी दिएको अवस्था देखिन्छ । प्र. विद्युतराजका दुई पत्नी मध्ये एक पत्नी कान्चनमाला संग यि प्र. विद्युतराज मानो छुट्टिई अलग वसेको र कान्छी श्रीमती हेमालक्ष्मी र निज पट्टीका सन्तानहरुले नै प्र. विद्युतराजको सेवा, श्रुसुसा समेत गरेको अवस्था देखिन्छ । साथै यि विद्युतराजको मृत्यु पश्चात कान्छी पत्नी यि हेमालक्ष्मीले नै निजको मुद्दा सकार गरेको अवस्थामा विद्युतराजको भागको अंश सो शेषपछिको वकसपत्र लिखत अनुसार हेमालक्ष्मी, विशाखा र नन्दिनीमा आउन नसक्ने भन्न मिलेन । अतः अंशवण्डाको १९(४) ले आफ्नो अंश हक जति आफुखुस गर्न पाउने अवस्था हुँदा र शेषपछिको वकसको नाताले हक खाने पत्नी हेमालक्ष्मी र छोरीहरु विशाखा र नन्दिनी समेत जिवितै रहेको अवस्था हुंदा सो शेषपछिको वकसपत्रको नाताले हेमालक्ष्मी, नन्दिनी र विशाखाले स्वर्गिय विद्युतराज को भागको सम्पत्ति प्राप्त गर्ने नै देखियो । विद्युतराजले हेमा लक्ष्मी र छोरीहरु विशाखा र नन्दिनीका नाममा गरी दिएको शेषपछिको वकसपत्र अंशवण्डाको १९(४) को परिप्रेक्ष्यमा आफ्नो हकको अंश जति आफु खुस गर्न पाउने नै हुँदा र सो शेषपछिको वकसपत्रलाई वादीले चुनौती समेत दिन नसकेको अवस्थामा सो शेषपछिको वकसपत्रलाई अन्यथा भन्न मिलेन ।
३०. अब वादी प्रतिवादी जिम्मा रहेको तायदातीमा देखाइएको कुन कुन सम्पत्ति अंशवण्डा लाग्ने हो भन्ने तर्फ विचार गर्दा प्रतिवादी विद्युतराजको नामको कि.नं. २१७, ८८८ को जग्गा वण्डा लगाए तर्फ प्र. विद्युतराज समेतले यस अदालतमा पुनरावेदन गर्दा कुनै विवाद उठाएको देखिँदैन । यस्तो सम्पत्ति एकाघर सगोलमा रहेको वण्डा लाग्ने मध्येको देखिएको हुंदा सगोलमा रहदाको सो संपति वण्डा लाग्ने अवस्थाको देखियो । प्रतिवादी कान्चनमालाले आफ्नो तायदातीमा देखाएको आफ्नो स्व. आर्जनको वण्डा नलाग्ने मध्येको सम्पत्ति हो भनेको कि.नं. १७१, १७२, १७४ र १७५ का जग्गा र वा.अ.च. ५९५८ को कार समेत वण्डा लाग्ने हो होईन भन्ने तर्फ विचार गर्दा सो सम्पत्ति कान्चनमालाले आफ्नो स्व. आर्जनको एकलौटी हक भोगको आफुखुस गर्न पाउने मध्येको भनी पुनरावेदन जिकिर लिए पनि सो को वस्तुनिष्ठ प्रमाण प्रस्तुत गर्न सकेको पाईन्न । यि वादीले सो सम्पत्ति आफ्नो स्वःआर्जनको भन्ने आधारको रुपमा आफु उप प्रधानपन्च भएको र विदेश भ्रमणमा गएको कुराहरुलाई वनाएको पाईन्छ तर निज उप प्रधान पन्च भएको र विदेश भ्रमणमा गएको एक मात्र आधार स्व आर्जनको पुष्टि कारण प्रमाण हुन सक्दैन । एकाघर सगोलका अँशियाराका नाममा रहेको सम्पत्ति सगोलमा वण्डा लाग्ने सम्पत्ति हो भनी प्रमाण ऐन, २०३१ को दफा ६ (क) बमोजिम अदालतले अनुमान गर्ने हुँदा तायदाती फांटवारीमा देखाइएका कि.नं. १७१, १७२, १७४ र १७५ का जग्गा र वा.अ.च. ५९५८ को कार समेत सगोलमा रहंदा वस्दा आर्जित भएको हुंदा वण्डा लाग्ने देखिएकोले सो हदसम्म शुरुको इन्साफ सदर गरेको पुनरावेदन अदालतको इन्साफमा त्रुटि देखिएन ।
३१. प्र.अन्जु चालिसेको नाममा रहेको कि.नं. ६६६ र ६६८ का जग्गा निजको स्व.आर्जनको हुने ठहर्याएको शुरुको इन्साफमा वादी प्रतिवादीले समेत कुनै प्रश्न नउाठाएको र यस अदालतमा पुनरावेदन समेत नपरेको हुंदा सो तर्फ केही विचार गरी रहन परेन । सो वाहेक प्र. अभयको नाममा रहेको कि.नं. ७५१ को जग्गा शुरुले वण्डा लाग्ने गरेकोमा पु.वे.अ.ले सो जग्गा निज अभयको निजी आर्जनको ठहर्याएको हकमा चित्त नवुझाई कान्चनमालाले र कि.नं. १०२ को जग्गा वण्डा लाग्ने ठहर्याए तर्फ चित्त नवुझाई अमरनाथको यस अदालतमा पुनरावेदन परेको हुंदा सो तर्फ पनि विचार गर्न पर्ने देखिन्छ । अभयनाथको नाममा रहेको कि.नं. ७५१ को जग्गा सगोलमा रहँदा खरिद गरेको हो भन्ने नदेखिई निजले निजी रुपमा वकस पाएको अवस्था देखिएको हुँदा अन्यथा प्रमाणित नभएसम्म निजको नामको सो जग्गालाई सगोलको मान्न मिल्ने देखिँदैन । जहांसम्म प्रतिवादी अमरनाथवाट पत्नी अन्जुको नाममा आएको कि.नं. १०२ को जग्गा वण्डा गरेको मिलेको छ , छैन ? भन्ने तर्फ विचार गर्दा उल्लेखित जग्गा निजी आर्जनको हो भन्ने कुराको सवूद प्रमाण पेश हुन सकेको पाईदैन। सगोलमा रहँदा खरिद गरेको अवस्था देखिन्छ । प्र. अन्जुले पाएको जग्गा वकसपत्र को देखिए पनि आफ्नै पत्नीले पतिवाट वकसपत्र पाएको देखिएकोले प्र. अन्जुको नाममा रहेको सो जग्गा वण्डा गर्न नपर्ने भन्न मिल्ने देखिएन ।
३२. अव अर्को प्रश्न कि.नं. १६६ को कान्चनमालाको नामको जग्गा र १६७ को बिद्युतराजको नामको जग्गा र सो दुवै कित्तामा देखिएको घर समेत वण्डा लाग्ने हो , होईन भन्ने तर्फ विचार गर्दा पुनरावेदक कान्चनमालाले यस अदालतमा पुनरावेदन गर्दा कि.नं. १६६ को जग्गा निज कान्चनमाला को निजी ठहर्याई वण्डा नलाग्ने गरेको हदसम्म चित्त वुझाई सो कि.नं. १६६ र १६७ मा वनेको घर समेत आफ्नो हुनुपर्ने र कि.नं. १६७ को विद्युतराजको नामको जग्गा समेत वण्डा लाग्न पर्ने भनी पुनरावेदन जिकिर लिएको देखिन्छ भने पुनरावेदक प्रतिवादी विद्युतराजले कि.नं. १६७ को जग्गा नीजको ठहर्याए तर्फ पु.वे.अ.को इन्साफमा चित्त वुझाई कि.नं. १६६ र सो मा वनेको घर वादीको हुने ठहर्याए तर्फ चित नबुझाई पुनरावेदन गरेको देखिन्छ साथै पुनरावेदन अदालतले कि.नं. १६६ मा वनेको घरको केही भाग मध्ये पुनरावेदन अदालतवाट भै आएको मिति २०५६।४।१४ को नक्साको न.नं. ५ मा पर्ने तर कि.नं. १६७ समेतमा रहेको घरको भाग समेत वादीको हुने ठहर्याए तर्फ पनि चित्त नबुझाई प्र. बिद्युतराजको यस अदालतमा पुनरावेदन परेको हुंदा सो तर्फ समेत बिचार गर्नुपर्ने देखिन्छ । बिबादित कि.नं. १६६ को जग्गा यि वादी कान्चनमालाले २०२९।८।५ मा पन्चमान महर्जनवाट लिखत गरी लिएको स्त्री अंशधन अन्तर्गत पर्ने सम्पत्ति भनी उल्लेख गरेको देखिन्छ र वादीले आफ्नो विवाह भएको मिति २०२९।८।२० हो भनी फिराद पत्रमा उल्लेख गरेको पाईन्छ । वादीले उल्लेख गरेको विवाह मितिलाई प्रतिवादीले कुनै खण्डन नगरी स्वीकारी वसेको अवस्था हुँदा सो मिति पूर्व नै वादीको नाममा आई सकेको सम्पत्ति वादी प्रतिवादी वीच वण्डा गर्न पर्छ भन्न न्यायोचित हुँदैन । कि.नं. १६६ को जग्गा तथा ऐ मा वनेको घर समेत वादीको आफुखुस गर्न पाउने स्त्री अंश धन अन्तर्गतको सम्पत्ति देखिँदा वादीको सो सम्पत्ति वण्डा नलाग्ने ठहराएको शुरु र पुनरावेदन अदालतको फैसलामा त्रुटि देखिएन ।
३३. यसैगरी कि.नं. १६७ को विवादित जग्गाको सम्वन्धमा विचार गर्दा सो जग्गा प्र. विद्युतराजको नाममा रहेको देखिन्छ । कान्चनमाला स्वयंले २०३३ साल भाद्रमा गरी दिएको वारेसनामा व्यहोरामा समेत कि.नं. १६७ को जग्गा विद्युतराजको नाममा गरी दिन मन्जुरी जनाएको र साधिकार निकायवाट यि वादीले सो वारेसनामाको अस्तित्वलाई अन्यथा गराउन सकेको पाईन्न । साथै आज यसै इजलासवाट फैसला भएको दे.पु.नं. ५८२६ र ६०१२ को निर्णय दर्ता वदर मुद्दामा कि.नं. १६७ को सम्पूर्ण जग्गाको निर्णय दर्ता वदर हुन सकेको नदेखिएको परिप्रेक्ष्यमा सो जग्गालाई पुनरावेदक वादीको हकको हुने भन्न मिल्ने देखिँदैन । कि.नं. १६७ को सम्पूर्ण जग्गामा वादीको एकलौटी हक भोग लाग्ने भन्न मिलेन तर सगोलमा रहँदाको वखत प्र. विद्युतराजको नाममा आएको देखिँदा सो जग्गा समेत सगोलकै देखियो । यस्तो सगोलमा रहंदा आर्जन गरेको अन्य अँशियारको नामको सम्पूर्ण सम्पत्ति अंशवण्डा हुने ठहरेको परिप्रेक्ष्यमा प्र. विद्युतराजको नमको सगोलकै मध्येको कि.नं. १६७ को जग्गा वण्डा नलाग्ने ठहर्याएको पुनरावेदन अदालतको इन्साफ मिलेको देखिएन । विद्युतराजको नामको तायदातीवाट देखिएको कि.नं. १६७ समेतका सम्पूर्ण जग्गाहरु समेत वण्डा लाउनु पर्ने देखियो । सो हद सम्म पुनरावेदन अदालतको इन्साफ मिलेको देखिएन ।
३४. अव जहांसम्म प्रतिवादी विद्युतराजको नामको कि.नं. १६७ को जग्गामा समेत परेको भै आएको नक्साको न.नं. ५ ले चर्चेको कि.नं. १६६ मा वनेको घरको भागको सम्वन्धमा विचार गर्दा कि.नं. १६६ मा वनेको घरको केही भाग उल्लेखित भै आएको नक्सा हेर्दा कि.नं. १६७ न.नं. ५ मा समेत रहेको देखिन्छ । सो न.नं. ५ ले चर्चेको घर वादीको कि.नं. १६६ मा वनेको घरको अभिन्न अंगको रुपमा रहेको देखियो । यिनै वादी प्रतिवादी वीच चलेको आज यसै इजलासवाट फैसला भएको दे.पु.नं. ५८२६ को निर्णय दर्ता वदर मुद्दामा उक्त कि.नं. १६७ को जग्गाको न.नं. ५ को घरले चर्चेको जग्गा सम्म निर्णय दर्ता वदर हुने ठहर्याएको पुनरावेदन अदालत पाटनको इन्साफ सदर हुने ठहरी इन्साफ भएको हुंदा सोही आधार कारणवाट न.नं. ५ को घर र घरले चर्चेको जग्गा सम्म वादीको हुने ठहर्याएको पुनरावेदन अदालतको इन्साफ मिलेकै देखियो ।
३५. अतः माथि उल्लेखित आधार कारणवाट शुरु तथा पुनरावेदन अदालतको इन्साफ पूर्ण रुपमा मिलेको देखिएन । स्वर्गिय निलम प्रिया देवीको ३ जना छोराहरु मध्ये प्र. विद्युतराज, अभयराज र अमरनाथको भागका सम्पूर्ण सम्पत्तिको ३ भागको १ भाग अंश विद्युतराजको भाग कायम गरी सो मध्येवाट प्र. विद्युतराजको भागको सम्पत्ति कदम्वराजको सँरक्षक भै आफ्नो हकमा समेत पुनरावेदन गर्ने वादीले ८ भागको २ भाग अंश पाउने ठहर्छ । शेषपछिको वकसपत्रको नाताले प्रतिवादी विद्युतराजको भागमा पर्न आएको १ भाग सम्पत्ति विद्युतराजको मु.स.गर्ने निजको पत्नि हेमालक्ष्मी तथा छोरीहरु विशाखा र नन्दिनीले पाउने ठहर्छ । वादी कान्चनमालाको नामको कि.नं. १६६ को जग्गा वण्डा नलाग्ने गरेको र प्र. अन्जुको नामको कि.नं. १०२ को जग्गा वण्डा लाग्ने ठहर्याएको र वादी कान्चनमालाको नामको कि.नं. १६६ वाहेकका अन्य जग्गा र कार वण्डा लाग्ने गरेको शुरुको इन्साफ सदर गरेको र प्र. अभयनाथको स्वआर्जनको कि.नं. ७५१ को जग्गा समेत वण्डा लाग्ने ठहर्याएको शुरुको इन्साफ उल्टी गरेको साथै वादी कान्चनमालाको कि.नं. १६६ मा वनेको घर प्र. विद्युतराजको कि.नं. १६७ मा समेत परेको न.नं. ५ को घर र घरले चर्चेको जग्गाको हकमा शुरुको इन्साफ उल्टी गरी सो घर जग्गा वादीको हुने ठहर्याएको हदसम्म पुनरावेदन अदालतको इन्साफ मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्र. विद्युतराजको नाउँको कि.नं. १६७ को न.नं. ५ मा परेको घर र घरले चर्चेको जग्गा वाहेक अन्य वाँकी जग्गा समेत सगोलको हुँदा अंशवण्डा लगाउनु पर्नेमा सो जग्गा वण्डा नलगाएको शुरु जिल्ला अदालत र पुनरावेदन अदालत समेतको इन्साफ केही उल्टी भई सो जग्गा समेत वादी प्रतिवादी वीच वण्डा लाग्ने ठहर्छ । अरुमा तपसिल बमोजिम गर्नु ।
तपसिल
कदमराज चालिसेको सँरक्षक भई आफ्नो हकमा समेत पुनरावेदिका वादी कान्चनमाला चालिसेके माथि इन्साफ खण्डमा लेखिए अनुसार शुरु तथा पुनरावेदन अदालतको इन्साफ केही उल्टी भई प्र. विद्युतराजको नामको कि.नं. १६७ को जग्गा समेत वण्डा लाग्ने ठहरेको हुंदा सो तर्फ वादीले राखेको कोर्ट फि समेत प्रतिवादीवाट भराई पाउं भनी वादीको कानूनको म्याद भित्र दर्खास्त परे केही दस्तुर नलिई प्रतिवादीवाट पुनरावेदक वादीलाई भराई दिनु भनी शुरुमा लेखि पठाई दिनु–– १
पुनरावेदन अदालतको फैसलाको तपसिल खण्डको देहाय १ र २ नं. मा लेखिएका अन्य कुराको हकमा सोही बमोजिम गर्नु भनी सम्वन्धित अदालतमा लेखि पठाई दिनु––––– २
माथि इन्साफ खण्डमा लेखिए बमोजिम शुरु तथा पुनरावेदन अदालतको फैसला केही उल्टी भई प्र. विद्युतराज चालिसे प्र. अमरनाथ चालिसे र प्र. अभयनाथ चालिसे गरी मुल ३ अँशियार मात्र कायम भई सो मध्ये प्र. विद्युतराजको भागको १ खण्ड सम्पत्ति मध्ये २ पत्नी १ छोरा र ४ छोरी र प्र. विद्युतराज समेत गरी ८ भाग अंशवण्डा गर्न पर्ने देखिएकोले सो ८ भाग मध्ये २ भाग कदम्वराजको संरक्षक भै आफ्नो हकमा समेत मुद्दा गर्ने प्र. कान्चनमालाले पाउने देखिएकोले पुनरावेदन अदालतको तपसिल खण्डको देहाय ३ नं. अनुसार अंश छुट्टयाउने तर्फ राखेको लगत काटी माथि लेखिए अनुसार विद्युतराजको भागको सम्पत्तिवाट ८ भागको २ भाग अंश छुट्टयाई पाउं भनी पुनरावेदनको म्याद नाघेपछि पुनरावेदक वादीहरुको ऐनका म्यादभित्र दर्खास्त परे सयकडा अढाई दस्तुर लिई कानून बमोजिम चलन चलाई दिनु––३
वादी प्रतिवादीको नामको पुनरावेदन अदालतको तपसिल खण्डको देहाय ३(१) मा उल्लेख भएको सम्पत्तिको अतिरिक्त प्र. विद्युतराजको नामको कि.नं. १६७ को न.नं. ५ ले चर्चेको जग्गा वाहेक अन्य जग्गा वादी प्रतिवादी वीच अंश छुट्टयाई चलन चलाई दिनु भनी शुरु काठमाडौं जिल्ला अदालत तहसिल शाखामा लगत दिनु ––– ४
माथि इन्साफ खण्डमा लेखिए बमोजिम प्र. विद्युतराजको शेषको नाताले निजको भागको सम्पत्ति प्र. हेमालक्ष्मी र छोरीहरु विशाखा र नन्दीनी समेतले खान पाउने हुंदा ८ भागको १ भाग विद्युतराजको नाममा आउने सम्पत्ति समेत प्र. हेमालक्ष्मी र छोरीहरु विशाखा र नन्दीनीको नाममा कायम गरी दिनु भनी शुरुमा लेखि पठाई दिनु––५
दायरीको लगत काटी मिसिल नियमानुसार गरी वुझाई दिनु–––––– ६
उक्त रायमा सहमत छु ।
न्या.दिलीपकुमार पौडेल
इति सम्वत् २०६२ साल वैशाख ७ गते रोज शुभम.–––