शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७४९६ - अंश दर्ता ।

भाग: ४७ साल: २०६२ महिना: जेष्ठ अंक:

निर्णय नं.७४९६     ने.का.प.२०६२ अङ्क २

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी

माननीय न्यायाधीश श्री वद्रीकुमार वस्नेत

सम्वत् ०५७ सालको दे.पु.नं. ........७०१६

फैसला मितिः २०६२।१।२८।४

 

मुद्दा :अंश दर्ता ।

 

पुनरावेदक/प्रतिवादी जिल्ला पर्सा गा.वि.स. पोखरीया वार्ड नं. ४ वस्ने भरत सिंह घर्ती

विरुद्ध

            प्रत्यर्थी/वादीः जिल्ला पर्सा पोखरिया वार्ड नं. ४ वस्ने रामवहादुर सिंह घर्तीको मु.स. गर्ने            शम्भुसिंह घर्ती

 

§  प्रमाण ऐन, २०३१ को दफा ३५ अनुसार लिखतको प्रमाणको हकमा सक्कलै लिखत पेश गरिनु पर्नेमा विवाद नभएतापनि हरेक स्थिति र अवस्थामा सक्कलै लिखत पेश गर्नुपर्ने भनी लिखतको प्रमाणसम्वन्धी सिद्धान्तलाई निरपेक्ष रुपमा व्याख्या गर्न नमिल्ने ।

§  प्रस्तुत मुद्दामा न्यायिक निरुपणको प्रश्नमा ठहर गर्न सघाउ पुर्‍याउने २०१३।११।२२ को सक्कल लिखत स्वभावैले प्रमाण ऐन, २०३१ को दफा ३५(२) को देहाय (ङ) मा उल्लेख गरेको अवस्था अनुरुप मुद्दाका पक्षसंग रहने अवस्थाको नभएकाले रीतपूर्वक पेश दाखेल गरेको लिखतका नक्कलहरुलाई विना आधार कारण प्रमाणिक मूल्यवाट वञ्चित गर्न नमिल्ने ।

(प्रकरण नं.१६)

 

पुनरावेदक प्रतिवादी तर्फवाटः वरिष्ठ अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल

प्रत्यर्थी वादी तर्फवाटः विद्वान अधिवक्ता श्री शिवप्रसाद पौडेल

अवलम्वित नजीरः ने.का.प.२०४४, नि.नं.३२३८, पृष्ठ १०४७

 

फैसला

            न्या.वद्रीकुमार वस्नेतः पुनरावेदन अदालत, हेटौंडाको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम प्रतिवादीको पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :

२.    मेघन सिंहको २ छोरामा जेठो ठग सिंह कान्छो ढुण्डीराज सिंह र ठग सिंहको १ मात्र छोरा रामवहादुर सिंह ढुण्डीराजको छोराहरु राम नारायण सिंह, ववुली सिंह, भरत सिंह हुन । वाजे , वज्यै, पिता आमा तथा कान्छो वुवा कान्छी आमा समेत आफ्नो कालगतिले परलोक भइसक्नु भएको छ । हामी सम्पूर्ण अंशियारहरु साथ संगोलमा वसी खरीद विक्री सम्पूर्ण सम्पत्ति संगोलमा नै भोग चलन गरी आउंदा परिवार वढी भै आपसी सामाञ्जस्यता कायम हुन अलग भिन्द वस्नु नै श्रेयस्कर भएकोले अंशवण्डा गरी दिनु भनी विपक्षीलाई भन्दा आलटाल गरेकोले वाध्य भै फिराद गर्न आएको छु । विपछीलाई झिकाई फिराद परेको दिनसम्मको सम्पूर्ण चल अचल श्री सम्पत्तिको तायदाती फांटवारी लिई २ खण्डको १ खण्ड मेरो हुने अंश हक छुट्याई मेरो नाउंमा दर्ता समेत गरिपाऊं भन्ने समेत व्यहोराको फिराद पत्र ।

            ३.    दावी बमोजिम हामीले अंश दिनु पर्ने होइन ।वादी हाम्रो संगोलको अंशियार पनि होइन । वादीले पुस्तेवारी समेत प्रष्ट गर्न सक्नु भएको छैन । मुल पुरुष मेघन सिंहको दुइ भाई छोराहरुमा जेठो ठग सिंह कान्छो हामीहरुको पिता ढुण्डीराज हुनुहुन्छ । ठग सिंहको श्रीमति वन्ही र छोरा वादी रामवहादुर हुन । ढुण्डी राजको ३ भाई छोरामा राम नारायण, बवुलि सिंह र भरत सिंह हुन । वाजेको मृत्युपछि उहांको नामको पैत्रिक सम्पत्तिहरु दुवै भाईको मन्जुरीवाट जेठो ठग सिंहको नाउंमा नामसारी गराई दुवै भाईको संगोलवाट भोगि आउनु भएको हामी वादी प्रतिवादीहरुको जायजन्म पछि सन्तानमा खिचोला नहोस भनी २९।३० वर्ष अघि नै नरम गरम मिलाई वण्डा गरी आआफ्नो नाउंमा नामसारी गराई भोगी आएकोमा ठग सिंह २०३१ सालमा परलोक भएपछि निजका नाउंको जग्गा वादीले आफ्नो नाउंमा नामसारी गरी विभिन्न व्यक्तिलाई हक छोडी लिखत समेत गरी दिनु भएको छ । यसरी वादीले आफ्नो अंशमा परेको जग्गा विक्री गरी सक्नु भएकोले निजलाई अंश दिनु पर्ने होइन भन्ने समेत व्यहोराको प्र. भरत सिंह घर्ती र बवुली सिंह घर्तीको संयुक्त प्रतिउत्तर पत्र ।

            ४.    फिरादमा उल्लेख भएको पुस्तावली ठीक छ तर वादीलाई अंश दिनु पर्ने होइन। विपक्षीसंग २०३० सालमा हामी प्रतिवादीले मानो छुटिृ अलगै भात भान्सा गरी आएका थियौं । २०३५ साल भाद्र १ गतेका दिन विपक्षीसंग गाउंको पंच भरभलादमीहरुको रोहवरमा अंशवण्डा गरी भोग गरी व्यवहार समेत गरी आएको छौं । यसरी अलग भिन्न भइ सकेको व्यक्तिलाई दोहोरो अंश दिनु पर्ने होइन भन्ने समेत व्यहोराको प्र. राम नारायण सिंह घर्तीको प्रतिउत्तर पत्र ।

            ५.    वादीको साक्षी नथुनि महतो र प्रतिवादी भरत सिंह र बवुलि सिंहका साक्षी महतो नुनियाको वकपत्र मिसिल सामेल रहेको ।

            ६.    आफ्नो जिम्मामा वण्डा गर्नुपर्ने कुनै सम्पत्ति नभएको भन्ने समेत व्यहोराको वादीले पेश गरेको तायदाति फांटवारी ।

            ७.    शुरु पर्सा जिल्ला अदालतको आदेशानुसार प्रतिवादी बवुलि सिंह र भरत सिंह घर्तिले पेश गरेको तायदाति फांटवारी मिसिल सामेल  रहेको ।

            ८.    वादी र प्रतिवादीको वीचमा आआफ्नो भाग शान्ति बमोजिम लिई पाई दाखिल खारेज भोग विक्री व्यवहार समेत गरी सकेकोमा वण्डा हुन वांकी रहेको भएको भनि वादीले प्रतिवादीवाट अंश छुट्याई दर्ता गरि लिन पाउने अवस्था नदेखिंदा वादी दावी पुग्न सक्तैन भन्ने समेत व्यहोराको पर्सा जिल्ला अदालतको मिति २०५४।२।१ को फैसला ।

            ९.    वादी प्रतिवादी वीच मुख नमिलेको कुरामा मात्र निर्णय गर्नुपर्नेमा वादीले अंश पाउनु पर्ने नपर्ने मात्र निर्णय दिनु पर्ने विषय उल्लेख गरी फैसला भएको छ । प्रतिवादीले उल्लेख गरेको मिति ०३५।५।१ मा अंशवण्डा भए नभए तर्फ प्रमाणको मूल्यांकन नै गरिएको छैन । प्रतिवादी बवुलि सिंहको नामवाट बनकटवाको जग्गा दर्ता गर्न दर्खास्त दिई आफ्नो नाउंमा दर्ता गराएको भन्ने निर्णयाधार विल्कुलै निराधार भएको तथा वादी र प्रतिवादी वीच कहिले के कति सम्पत्ति लिई दिई अंशवण्डा भएको भनि निर्णय नगरी अंश छुट्याउने अवस्था नदेखिएको भनि अंशवण्डाको ३० नं. विपरीत फैसला भएको उल्टीगरी मेरो फिराद दावी बमोजिम अंश हक पाउने इन्साफ गरिपाऊँ भन्ने समेत व्यहोरको वादीको पुनरावेदन पत्र ।

            १०.    प्रतिवादीले पेश गरेको मिति २०१०।८।४ का लिखतहरु तथा २०१३।११।२२ मा वादीले दर्खास्त गरी दर्ता फुटाएको भनेको लिखतहरुको प्रमाणको आधारमा वादी अगावै छुटिृएको भनि जिल्ला अदालतले निर्णय गरेको तर सो कागजहरुको सक्कल अ.वं. ७८ नं. बमोजिम वादीलाई देखाए सुनाएको नदेखिएकोले त्यस्तो लिखतलाई वादी विरुद्ध प्रमाणमा लिई गरेको पर्सा जिल्ला अदालतको फैसला त्रुटिपूर्ण भई फरक पर्न सक्ने देखिंदा विपछीहरुलाई झिकाई ति लिखतहरु पेश गर्न लगाई अ.वं. ७८ नं. बमोजिम वयान समेत गराई पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, हेटौंडाको मिति ०५५।३।२१ को आदेश ।

            ११.    अंशियार रहेको कुरामा विवाद नभएपछि अंशियारले अंश मागगर्दा अघि नै अंश भएको प्रमाण वा अंश दिनु नपर्ने प्रमाण पेश गर्नुपर्ने दायित्व भएका प्रतिवादीले सो को दशीप्रमाण पेश गर्न सकेको अवस्था नपाइएको र अंश छुट्याई लिएको भनिएको कागजको सक्कल मांग गर्दा आफूपनि पेश नगर्ने अन्यथा छ भनि भन्न पनि नसकेको यस्तो अवस्था र शुरु पर्सा जिल्ला अदालतवाटै तायदाती मांग गरी दर्ता समेत वुझी कोर्टफि समेत दाखिल गराई सकेपछि अंश पाउने गरी फैसला गर्न पर्नेमा सो नगरी दुवै पक्षले पेश गर्न वा यहां छ भनि ठोस रुपमा पुनरावेदन अदालतमा समेत देखाउन नसकेको २०१०।८।४ को र २०१३।११।२२ को कागजको आधारमा अंश नपाउने गरी भएको शुरु पर्सा जिल्ला अदालतको २०५४।२।१ को फैसला मिलेको देखिन नआउंदा उल्टी भै वादीले अंश पाउने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, हेटौंडाको फैसला ।

            १२.   २०१०।८।४ को लिखत रजिष्ट्रेशन पारित भएको लिखत हो । सो को सक्कल प्रति रजिष्ट्रेशन पारित गर्ने कार्यालय र साहुसंग हुने भएवाट प्रतिलिपि दाखेल गरेको हो । सक्कल आवश्यक भए सम्वन्धित कार्यालयवाट झिकाउनु पर्छ । त्यस्तै २०१३।११।२२ मा रामवहादुर सिंहले बनकटवा कटी मौजाको जिम्दारी कचहरीमा दिएको दरखास्त पनि व्यक्तिविशेषसंग एवं भूमि प्रशासन वा भूमि सुधार कार्यालयमा नरहने भएकाले सो दरखास्त पेश गर्न नसकेको भन्ने आधारमा गरेको फैसला त्रुटिपूर्ण छ । हामीले अ.वं. १३३ नं. बमोजिम कागज गर्दा उक्त २०१३।१०।२२ को दरखास्त पटवारी कुञ्ज विहारी दत्तसंग छ झिकाई वुझी पाउं भनी वयान गरेकोमा निजलाई वुझ्दै नवुझी फैसला भएको छ । हामीहरु वीच लिखत रजिष्ट्रेशन पारित गरी अंशवण्डा भएको नभएतापनि आआफ्नो नाउंमा दाखेल खारेज,विक्री व्यवहार समेत गर्दै आएको जिम्दारी कचहरीको श्रेस्तावाट प्राप्त प्रमाणवाट पुष्टी भएकाले अंशवण्डाको ३० नं. अनुसार व्यवहार प्रमाणवाट भिन्न भैसकेको पुष्टी भैसकेकाले वण्डा छुट्याई दिने ठहराएको पुनरावेदन अदालतको फैसला उल्टी गरी  शुरु जिल्ला अदालतको फैसला सदर  गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीको यस अदालतमा परेको पुनरावेदन ।

            १३.   रामवहादुर सिंह घर्तीले लक्ष्मी साह कानुलाई ४४६ समेतका लगत नं. का जग्गा २०१०।८।४ मा विक्री गरेको लिखत २०५५।१२।१ मा सुनाउंदा एक महिनाको समय मांग गरी पुनरावेदन अदालतवाट समय दिइएकोमा सो तर्फ कारवाही पूरा नगरी गरेको पुनरावेदन अदालत, हेटौंडाको फैसला फरक पर्ने भएवाट छलफलको लागि अ.वं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको २०६०।२।५ को आदेश ।

            १४.   नियमबमोजिम मुद्दा पेशी सूचिमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल संलग्न कागजात अध्ययन गरियो । पुनरावेदक प्रतिवादीका तर्फवाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेलले वादीले विभिन्न मितिमा विभिन्न व्यक्तिहरुलाई आफ्नो नाउंको जग्गा विक्री गरेको र प्रतिवादी राम नारायणले पनि सोही अनुसार विभिन्न मितिमा विभिन्न व्यक्तिलाई जग्गा विक्री गरेको छ । राजिनामाको लिखतमा अरु कसैको हक नलाग्ने आफ्नो एकलौटी हक भएको भन्ने व्यहोरा उल्लेख छ । २००८, २०११ र २०१४ सालमा वादी प्रतिवादीको तर्फवाट अलग अलग राजिनामा लिखत पारित भै गएको छ । २०१३।५।१८ को राजिनामाको कागजमा वादीको आमा बनोई घर्तीनी साक्षी वसेको र वादी र प्रतिवादी राम नारायण सिंहले आआफ्नो नाउंवाट ७ नं. फाराम भरेको समेत देखिंदा वादी प्रतिवादीहरु व्यवहार प्रमाणवाट छुटिृ भिन्न भैसकेको पुष्टी भएकाले वण्डा हुने ठहराएको पुनरावेदन अदालतको फैसला उल्टी भै शुरु सदर हुनुपर्छ भनी वहस प्रस्तुत गर्नु भयो । प्रत्यर्थी वादीका तर्फवाट उपस्थित विद्वान अधिवक्ता श्री शिवप्रसाद पौडेलले वण्डापत्रको लिखत रजिष्ट्रेशन पारित भै अंशवण्डा भएको अवस्था छैन । अंशियारमा विवाद नभएपछि अंश दिनु पर्ने दायित्व भएका प्रतिवादीले वादीले अघि नै अंश वुझी पाइ सकेको वा अंश दिनु नपर्ने अन्य कुनै प्रमाण पेश गर्न सकेका छैनन । व्यवहार प्रमाणवाट अंशवण्डा भएको नदेखिएको स्थितिमा अंश दिलाई दिने ठहराएको पुनरावेदन अदालत, हेटौंडाको फैसला सदर हुनुपर्छ भनी गर्नु भएको वहस जिकिर समेत सुनी पुनरावेदन अदालत, हेटौंडाको फैसला मिले, नमिलेको ? के रहेछ हेरी निर्णय दिनु पर्ने देखिन आयो ।

            १५.   निर्णय तर्फ विचार गर्दा विपक्षीका पिता र मेरा पिता दाजुभाई हुन । हामीहरु हालसम्म सगोलमा नै छौं । अंशवण्डा नभएकाले दुई खण्डको एक खण्ड अंश भाग दिलाई पाउं भन्ने समेत व्यहोराको फिराद दावी र वादी हाम्रो अंशियार होइनन । पिताकै पालामा नरम गरम मिलाई आआफ्नो भाग लिई विक्री व्यवहार गर्दै आएका छौं । व्यवहार प्रमाणवाट भिन्न भै सकेकाले अंश दिनु पर्ने होइन भन्ने समेत प्रतिवादी भएको प्रस्तुत मुद्दामा शुरु पर्सा जिल्ला अदालतवाट वादी दावी पुग्न नसक्ने ठहराएको फैसला पुनरावेदन अदालतवाट उल्टी भै वादीले अंश पाउने ठहराए उपर प्रतिवादीको यस अदालतमा पुनरावेदन परी पेश हुन आएको देखियो । मेघन सिं का दुई छोरामा जेठा ठग सिंह कान्छा ढुण्डिराज र ठग सिंका छोरा प्रत्यर्थी वादी र ढुण्डीराजका छोरा प्रतिवादीहरु देखिएवाट पुस्तेवारी एवं नातामा विवाद देखिएन । वादीले आफूहरु हालसम्म पनि संगोलमै वसी आएको अंशवण्डा नभएको भन्ने दावी लिएको देखिन्छ । अंशवण्डा नभएको भन्ने दावी भएतापनि वादीले आफूहरुले विभिन्न मितिमा विभिन्न व्यक्तिहरुलाई विभिन्न कित्ता जग्गा विक्री गरेको तथ्यलाई भने अन्यथा भन्न सकेको पाइदैन । आफूहरु संगोलमै रहे बसेको अवस्थामा नै विक्री गरेको भन्ने वादी दावी देखिंदा वादी प्रतिवादीहरु भिन्न भैसकेको हुन , होइनन् भन्ने नै मूलरुपमा निर्णय हुनुपर्ने देखिन आयो । त्यसतर्फ विचार गर्दा पुनरावेदक प्रतिवादीका कानून व्यवसायीले वहसका क्रममा इलजास समक्ष पेश गरेका विभिन्न मितिका कागजहरु हेर्दा यी वादी रामवहादुर सिंह घर्तीले मिति २००८।१०।४ मा विभिन्न तीन कित्ता जग्गा विसुन साह रौनियारलाई भोग वन्धकी लेखि दिएको देखिन्छ । त्यस्तै यिनै वादीले २०११।३।२० मा टपसेर महतो नुनियालाई र २०१४।४।२।४ मा लखन साहलाई विभिन्न कित्ता जग्गा राजिनामा गरी जिमिदारी कचहरी पटवारीवाट दाखिल खारेज गरी लिनु भनी लेखिदिएको देखिन्छ । यसै गरी यी वादीकी आमा बन्हुई घर्तीनीले मिति २०१३।५।१८ मा मोहन साह कलवारलाई राजिनामा दिएको देखिन्छ । उक्त २०१३।५।१८ को कागजमा छोरा वाहेक अरु कसैको हक नलाग्ने भन्ने व्यहोरा उल्लेख भएको र निजका छोरा यस मुद्दाका वादी रामवहादुर सिंह घर्ती समेत साक्षी वसेको अवस्था छ । त्यस्तै प्रतिवादी मध्येका राम नारायण सिंह घर्तीले पनि मिति २०१७।१०।१८।३ मा राम रतिया कुम्हैनलाई र २०१८।२।२२।२ मा मंगट साह रौनियारलाई राजिनामा पारित गरि दिएको देखिन्छ । उपरोक्त लिखतहरु मालपोत कार्यालय, पर्सावाट प्रमाणित भै आएको र लिखतमा उल्लेखित व्यहोरालाई वादी प्रतिवादीहरुले अन्यथा भन्न सकेको अवस्था समेत   छैन ।

            १६.    मिसिल संलग्न २०१३।११।२२ को रामवहादुर सिं घर्तीले बनकटवा कटृीको कचहरी पटवरीमा दिएको दरखास्तमा कान्छा वावु ढुण्डीराज सिंहका तीन छोराहरु समेतसंग आफू भिन्न वस्दै आएतापनि आफ्नो नाउंमा जग्गा दर्ता कायम रहेकोले कि.नं. १ र २ का ज.वि. ३३ राम नारायण , बवुली सिं र भरत सिं समेत तीन दाजुभाई मध्ये राम नारायण सिं घर्तीको नाउंमा दाखेल खारेज गरि दिन भनी दरखास्त दिएको देखिन आएको र निजको दरखास्त बमोजिम सोही दिन पर्सा माल अड्डावाट रामवहादुर सिंहको नाउंवाट राम नारायण सिंहको नाउंमा दाखेल खारेज भएको मिसिल संलग्न बनकटवा कटृी मौजाको पटवारी कुञ्ज विहारीले दिएको २ नं. फारामको प्रतिलिपिवाट देखिन्छ । सोही व्यहोरावाट २०२१।६।१३ मा बवुली सिंह घर्तीको नाउंमा समेत दाखेल खारेज भएको रसिद मिसिल सामेल भएको देखिन्छ । पुनरावेदन अदालत, हेटौंडावाट उपरोक्त २०१३।११।२२ को रामवहादुर सिंको दरखास्तको सक्कल कुनै पनि पक्षवाट पेश नभएको एवं भूमि प्रशासन कार्यालयमा समेत फेला नपरेको भन्ने समेत आधारमा उल्लेखित कागजको प्रमाणिक मूल्यांकन नै नगरी अंश दिलाई दिने ठहर गरेको देखियो । प्रमाण ऐन, २०३१ को दफा ३५ अनुसार लिखतको प्रमाणको हकमा सक्कलै लिखत पेश गरिनु पर्नेमा विवाद नभएतापनि हरेक स्थिति र अवस्थामा सक्कलै लिखत पेश गर्नुपर्ने भनी लिखतको प्रमाण सम्वन्धी सिद्धान्तलाई निरपेक्ष रुपमा व्याख्या गर्न मिल्दैन । प्रमाण ऐन, २०३१ को दफा ३५ को उपदफा (२) ले पनि लिखतको प्रमाणमा सक्कलै लिखत पेश गर्नुपर्ने भन्ने प्रमाण कानूनको सामान्य सिद्धान्तमा विभिन्न अपवादात्मक अवस्थाहरुको उल्लेख गरेको छ । प्रस्तुत मुद्दामा न्यायिक निरुपणको प्रश्नमा ठहर गर्न सघाउ पुर्‍याउने उपरोक्त २०१३।११।२२ को सक्कल लिखत स्वभावैले प्रमाण ऐन, २०३१ को दफा ३५(२) को देहाय (ङ) मा उल्लेख गरेको अवस्था अनुरुप मुद्दाका पक्षसंग रहने अवस्थाको नभएकाले रितपूर्वक पेश दाखेल गरेको उक्त लिखतका नक्कल प्रतिहरुलाई विना आधार कारण प्रमाणिक मूल्यवाट वञ्चित गर्न मिल्ने देखिएन । वादीले उल्लेखित मिति २०१३।११।२२ को लिखतलाई प्रश्न उठाएतापनि उक्त लिखतको परिणामस्वरुप वादीको नाउंको जग्गा दाखेल खारेज भै प्रतिवादीको नाउंमा गएको एवं प्रतिवादीहरु समेत आपसमा अंशवण्डा गरी आआफ्नो नाउंमा दाखेल खारेज गरेको र विभिन्न मितिमा विभिन्न व्यक्तिलाई हक हस्तान्तरण गरि दिएको तथ्य संलग्न श्रेस्ता प्रमाणवाट पुष्टी भैरहेको एवं सो तथ्यलाई वादीले समेत अन्यथा भन्न सकेको अवस्था नदेखिई पैतृक सम्पत्ति मध्येकै विभिन्न कित्ता जग्गा वादीले विभिन्न व्यक्तिलाई विक्रि गरेको, कि.नं. १ र २ का जग्गा वादीवाट प्रतिवादीका नाउंमा नामसारी दाखेल खारेज भै गएको र प्रतिवादीले पनि विभिन्न कित्ता जग्गाविभिन्न व्यक्तिहरुलाई विक्री गर्नुका साथै प्रतिवादीहरु समेत आपसमा अंशवण्डा गरी भिन्न भै वसेको देखिंदा अंशवण्डाको ३० नं. र यस अदालतवाट ने.का.प. २०४४ अंक १०, पृ. १०४७ नि.नं. ३२३८ र ने.का.प. २०४४ अंक ११ पृ. ११९२ नि.नं. ३२७८ मा प्रतिपादित सिद्धान्त समेतका आधारमा वादी प्रतिवादीहरु व्यवहार प्रमाणवाट अंशवण्डा भै भिन्न वसेको पुष्टी हुन आएकाले अंश पाउं भन्ने वादी दावी पुग्न नसक्ने ठहराएको शुरु पर्सा जिल्ला अदालतको फैसला उल्टी गरी वादी दावी बमोजिम अंश पाउने ठहराएको पुनरावेदन अदालत, हेटौंडाको फैसला त्रुटिपूर्ण हुंदा उल्टी भै शुरु पर्सा जिल्ला अदालतको फैसला सदर हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।

 

 

तपसील

 

 

माथि इन्साफ खण्डमा उल्लेख भए बमोजिम वादी दावीबमोजिम अंश पाउने ठहराएको पुनरावेदन अदालत, हेटौंडाको फैसला उल्टी भै वादी दावी पुग्न नसक्ने ठहरेकाले पुनरावेदन अदालतको फैसलाले वादीका नाउंमा अंश दर्ता हुने भनी कायम गरेको लगत कटृा गर्नु भनी शुरु पर्सा जिल्ला अदालतमा लेखि पठाउनु ..........१

प्रतिवादीले यस अदालतमा पुनरावेदन गर्दा राखेको धरौटी रु.१,३०६।–  फिर्ता पाउं भनी कानूनका म्यादभित्र दरखास्त दिए रीतपूर्वक फिर्ता दिनु भनी लेखा शाखालाई जनाउ दिनु..२

पुनरावेदक प्रतिवादीले यस अदालतमा पुनरावेदन दायर गर्दा राखेको कोर्ट  फि  रु.२९३।–  प्रत्यर्थी   वादीवाट

 

भराई पाउं भनी यसै सरहदको जेथा देखाई ऐनको म्यादभित्र दरखास्त दिए रितपूर्वक भराई दिनु भनी शुरु पर्सा जिल्ला अदालतमा लेखी पठाउनु .....३

मिसिल नियमानुसार वुझाई दिनु..........४

 

उक्त रायमा सहमत छु ।

 

न्या. केदारप्रसाद गिरी

 

इति सम्वत् २०६२ साल वैशाख २८ गते रोज ४ शुभम् ..........................।

 

 

 

 

 

 

 

 

 

                                                                                        

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु