शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९२२१ - अंश चलन

भाग: ५६ साल: २०७१ महिना: मंसिर अंक:

नेकाप २०७१, अङ्क ८, नि‌.न‌ं.९२२२

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह

माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ

फैसला मिति : २०७१।३।२५।४

०६७-CI-०३३५

 

मुद्दाः अंश चलन ।

 

पुनरावेदक/प्रतिवादी : जिल्ला मोरङ, विराटनगर उपमहानगरपालिका वडा नं. १३ बस्ने मानबहादुर श्रेष्ठ

विरूद्ध

प्रत्यर्थी/वादी : विजया श्रेष्ठको हकमा संरक्षक भै आफ्नो हकमा समेत जिल्ला मोरङ, विराटनगर उपमहानगरपालिका वडा नं. १३ बस्ने भगवती श्रेष्ठ

 

§  प्रतिवादी र निजका पिता चेतबहादुर श्रेष्ठबीच २०६३।४।१४ मा मानो जोडिएको लिखत पारित भए पनि सोही मितिमा प्रस्तुत अंश चलन मुद्दा दायर भएको देखिएको र अंश चलन मुद्दा दायर हुनुअगावै प्रतिवादी मानबहादुर र निजका पिता चेतबहादुर श्रेष्ठको बीचमा मानो जोडिएको लिखत पारित भई एकासगोलमा बसेको भन्ने देखिन आएन । सो मानो छुट्टिएको मिति २०६३।४।१४ भन्दा अघिल्लो दिनसम्मको सम्पत्तिको तायदाती फाँटवारी दुबै पक्षबाट माग्ने मोरङ जिल्ला अदालतको मिति २०६३।१२।१९ को आदेशबाट कायम हुनआएको मानो छुट्टिएको मिति २०६३।४।१४ मा नै वादीका पति र ससुराबीच पारित भएको    मानो जोडिएको लिखतबाट वादीका ससुरा बाजे चेतबहादुर श्रेष्ठलाई वादीका सगोलका अंशियार मान्न नमिलेबाट चेतबहादुर श्रेष्ठलाई समेत सगोलको अंशियार कायम गर्नुपर्ने भन्ने पुनरावेदन जिकिर मनासिब देखिन नआउने ।

(प्रकरण नं.)

 

पुनरावेदक/प्रतिवादीको तर्फबाट : विद्वान्अधिवक्ताद्वय चूडामणि   पोख्रेल र विनोद शर्मा

प्रत्यर्थी/वादीको तर्फबाट : विद्वान्अधिवक्ता सुरेन्द्रकुमार खड्का

अवलम्बित नजिर :

सम्बद्ध कानून :

§  मुलुकी ऐन, अंशबन्डाको १८ नं.

§  मुलुकी ऐन, स्त्री अंश धनको १ नं.

 

सुरू तहमा फैसला गर्ने :

            मा.जि.न्या.श्री भीमकुमार ओझा   

पुनरावेदन तहमा फैसला गर्ने :

            मा.न्या.श्री दीपककुमार कार्की

            मा.न्या.श्री  सुरेन्द्र वीर सिंह बस्न्यात

                        

फैसला

न्या.देवेन्द्र गोपाल श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा १२() को खण्ड () बमोजिम पुनरावेदन अदालत, विराटनगरको मिति २०६५।१।८ को फैसलाउपर मुद्दा दोहोर्याई हेरी पाउँ भनी प्रतिवादीबाट परेको निवेदनमा यस अदालतबाट मिति २०६७।५।२३ मा दोहोर्याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रोहमा दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम्ठहर यसप्रकार छ :

विपक्षी हाम्रा पति पिता नाताका हुनुहुन्छ । ससुरा चेतबहादुर श्रेष्ठ र विपक्षी पति पिताको बीचमा मिति २०५५।९।२३ मा र.नं. ३१५८ मा अंशबन्डा भइसकेको र अन्य अंशियार कोही पनि छैनन् । विपक्षीसँग २०५५ सालमा मेरो विवाह भई छोरी विजया श्रेष्ठको जायजेथासमेत भएको छ । विपक्षीले मसँग सानातिना कुरामा निहुँ खोजी मरणासन्न अवस्थामा पर्ने गरी कुटपीट गरी र खान लाउनसमेत नदिई घरबाट निकाला गर्नुभयो । उपरोक्त कारणले विपक्षीसँग हामीलाई अंश दिनु होस् भन्दा पालन पोषण पनि गर्दिन अंश पनि दिन्न भनी जवाफ दिनु भएकाले यो फिराद गर्न आएको छु । अत: उपरोक्तबमोजिम विपक्षीले हामीउपर अमानवीय हरकत

व्यवहार गर्नु भएको हुँदा लोग्ने स्वास्नीको महलको ४ नं. तथा अंशबन्डाको १० नं. अनुसारको अन्याय गर्नुभएकाले ऐ. २०, २१, २२, २३ नं. बमोजिम तायदाती फाँटवारी पेस गर्न लगाइ ऐ. १ र २ नं. अनुसार ३ भागको २ भाग अंश दिलाइ पाउँ भनी ऐ. ३५ नं. बमोजिमको हदम्यादभित्र अ.बं. ८२ नं. ले हक पुग्ने कुरामा यसै फिरादपत्र साथ अनुरोध गर्दछु भन्नेसमेत व्यहोराको मिति २०६३।४।१४ को फिरादपत्र ।

विपक्षी फिरादीको नाता बाह्य अन्य सम्पूर्ण व्यहोरा झुट्ठा हो । विपक्षीसँग हामी मिली बसेका थियौँ । उनीलाई कुनै काम कुरा गर्न केही रोक तोक थिएन । विपक्षीकै सल्लाहमा मोरङ होक्लाबारी ३(), कि.नं. १८२ को जग्गा र सोमा बनेको घर बेची विराटनगर १३ साविक वडा नं. ७ को कि.नं. ३२३९ र ३२४० को हामी लोग्ने स्वास्नीको भिन्दाभिन्दै नाममा दर्ता भएको जग्गामा घर बनाइ बसेका थियौँ । बुबा चेतबहादुर गाउँमा रहेको जग्गामा खेती उपति गर्नुहुन्थ्यो र सो हामी सबै मिली खान्थ्यौँ । मैले आफूले कमाएको रकम पनि विपक्षीको नाममा नेपाल बैङ्क लि. मा खाता खोली रकम जम्मा गर्ने गर्दथेँ । विपक्षी माइतीले भने अनुसार व्यवहार गरे तापनि हामीहरूले कुनै गुनासो गरेका थिएनौँ । उल्लिखित विराटनगरमा किनेको जग्गामा हामीले ४ कोठाको घर बनाएकोमा उक्त घर पुन: विपक्षीको सल्लाहमा बिक्री गरी आएको रकम विपक्षीका पिता कर्णबहादुर श्रेष्ठको नाउँमा राष्ट्रिय वाणिज्य बैङ्कको खातामा राखेका थियौं । उक्त घर बिक्री गरेको रकमले अर्को घर जग्गा खौजौँ भन्दा मेरो सल्लाह नमानी उक्त घर जग्गा बेचेको रकमले मोरङ, साविक विराटनगर ७ को कि.नं. ३६४६ र ३६४८ को जग्गा राजीनामा मार्फत खरिद गरी लिई बाँकी रहेको रकमबारे जानकारी दिनुपर्ने बाध्यता छैन भनी जवाफ दिई विपक्षीले मेरो बाबु आमाले जसरी व्यवहार गरी दिनुहुन्छ, त्यसमा मन्जुरी गर्नुपर्छ भनी विपक्षीले जवाफ दिइन् । हामीबीच अंशबन्डाको लिखत भए पनि बाबु चेतबहादुर श्रेष्ठको मेहनत र परिश्रमबाट नै घरमा चाहिने सरसामान चली एकै सगोलमा घर व्यवहार गरी आएको हुँदा मिति २०६३।४।१४ गते मानो जोडिएको लिखत रजिस्ट्रेसन पारित गरी मन्जुरी साथ सबै घर परिवार बसी आएको हुँदा विपक्षी र छोरीलाई इज्जत आमद अनुसार खान लाउन दिई उचित शिक्षा स्वास्थ्य उपचार गरी आएको हुँदा झुट्ठा फिराद दावी खारेज गरी पाउँ भन्नेसमेत व्यहोराको मिति २०६३।५।२० को प्रतिउत्तरपत्र ।

 

वादीको साक्षी पवित्रा दाहाल र प्रतिवादीको साक्षी प्रदिपकुमार चापागाईंले गरेको बकपत्र मिसिल सामेल रहेको ।

.नं.३९२४ मिति २०६४।१।२१ मा वादीले आफ्नो जिम्मामा रहेको बन्डा गर्नुपर्ने चल अचल सम्पतिको तायदाती फाँटवारी पेस गरी मिसिल सामेल रहेको ।

.नं.४३६२ मिति २०६४।१।२७ मा प्रतिवादीले आफ्नो जिम्मामा रहेको बन्डा गर्नुपर्ने चल अचल सम्पत्तिको तायदाती फाँटवारी पेस गरी मिसिल सामेल रहेको ।

वादीले आफ्नो फाँटवारीमा देखाएको कि.नं.३६४९ र ३६५१ को जग्गा वादी भगवती श्रेष्ठले लक्ष्मीकुमारी श्रेष्ठबाट हालैदेखिको बकसपत्रबाट प्राप्त गरेको हुँदा उक्त जग्गा निजी हुने र बन्डा नलाग्ने साथै प्रतिवादी र निजका पिता चेतबहादुर श्रेष्ठबीच अंशबन्डा भै सकेको भन्ने मिसिलबाट देखिएको हुँदा अलग भएका प्रतिवादीका पिता नाम दर्ताको कि.नं. ५५ र ५६ को जग्गासमेत बन्डा नलाग्ने ठहर्छ । सो बाहेक फाँटवारीमा उल्लिखित सम्पत्तिलाई ३ भाग गरी ३ भागको २ भाग अंश छुट्टयाई लिन पाउने ठहर्छ भन्ने सुरू मोरङ जिल्ला अदालतबाट मिति २०६४।३।२४ मा भएको फैसला ।

सुरू जिल्ला अदालतले गरेको फैसलामा चित्त बुझेन । वादीहरूलाई इज्जत आमद अनुसार खान लाउन दिने, उचित शिक्षा स्वास्थ्य उपचार गरी आएको अवस्थामा वादीले तत्काल दावीबमोजिम अंश पाउने आधार नै छैन । मूल अंशियार बाबु चेतबहादुर श्रेष्ठ र म प्रतिवादी मानबहादुर श्रेष्ठ २०६४।४।१४ मा मानो जोडिएको लिखत पारित गरी एकासगोलमा बसी आएको अवस्थामा बाबु चेतबहादुरलाई नबुझी गरिएको फैसला त्रुटिपूर्ण छ । साथै, वादीको नाम दर्ताको कि.नं. ३६४९ र ३६५१ को जग्गा सगोलको सम्पत्तिबाट प्राप्त गरेको हुँदा सो अंशबन्डा नलाग्ने भनी सुरूबाट भएको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीको पुनरावेदन अदालत, विराटनगरमा पेस भएको पुनरावेदनपत्र ।

वादी प्रतिवादीबीचमा नाता सम्बन्धमा विवाद देखिँदैन । आफ्नी पत्नी र छोरीलाई अंश दिनु नै नपर्ने भन्ने कुनै तार्किक र कानूनी आधार प्रतिवादी पुनरावेदकले दिन सकेको छैन । वादी भगवती श्रेष्ठका नामको कि.नं. ३६४९ र ३६५१ को जग्गा बकसपत्रबाट प्राप्त गरेको देखिन्छ । अंशबन्डाको १८ नं.ले त्यस्तो बकसपत्रबाट प्राप्त सम्पत्ति बन्डा नलाग्ने स्पष्ट छ । वादीका बाबुको नाममा बैङ्कमा रकम जम्मा गरेको र सोबाट जग्गा प्राप्त गरेको भन्ने भनाई पुष्टि हुने कुनै प्रमाण छैन । जहाँसम्म बाबु मानो जोडिएको लिखतबाट सगोलमा रहेको भन्ने पुनरावेदन जिकिर छ, अंश मुद्दा २०६३।४।१४ मा परिसकेको र सोलाई मानो छुट्टिएको मिति कायम गरी नर्णय भएको परिप्रेक्ष्यमा पुनरावेदनमा मानो जोडिएको भनी उल्लिखित मिति २०६३।४।१४ मा मानो जोडिएको भन्ने आधारले वादीलाई सो कुराबाट कुनै असर पार्न सक्ने देखिएन । यस्तो अवस्थामा सुरू जिल्ला अदालतको फैसला बेमनासिब मान्न सकिएन । मिति २०६४।३।२४ को मोरङ जिल्ला अदालतको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, विराटनगरको मिति २०६५।१।८ को फैसला ।

विपक्षी वादीलाई प्रतिवादीले अंश दिनुपर्ने कानूनी अवस्था नभएको पुष्टि हुँदाहुँदै मुलुकी ऐन, अंशबन्डाको महलको १० नं. तथा लोग्ने स्वास्नीको महलको ४ नं. बमोजिमको कानूनी व्यवस्थामा त्रुटि हुने गरी निर्णयाधार लिई अंश चलन मुद्दामा वादीले अंश भाग पाउने सुरू मोरङ जिल्ला अदालतबाट भएको फैसला सदर हुने गरी भएको फैसला स्पष्टसँग त्रुटिपूर्ण रहेको छ । अंशबन्डा हुँदा अंशबन्डा महलको विपरीत हुने गरी अंशदाता बाबु चेतबहादुर श्रेष्ठ र छोरा मानबहादुर श्रेष्ठका बीचमा मिति २०५५।९।२३ मा अंशबन्डा भए पनि, वृद्ध बाबु चेतबहादुर श्रेष्ठको हेरविचार स्याहार सम्भार लालन पालन सगोलमा बसी आइरहेको हुनाले मिति २०६३।४।१४ मा सगोलको घर व्यवहारका लागि रजिस्ट्रेसन महलको १ नं. बमोजिम मानो जोडिएको

लिखत रजिस्ट्रेसन पारित गरी आइबसेको हो । वृद्ध बाबु चेतबहादुर श्रेष्ठलाई हेरविचार स्याहार सम्भार लालनपालन गर्नुपर्ने अन्य छोरा बुहारी नभएको हुनाले मुलकी ऐन, अंशबन्डा महलको १०() बमोजिम वृद्ध बाबु ससुराको हेरविचार स्याहार सम्भार स्वास्थ्य उपचार गर्नुपर्ने दायित्व कर्तव्य विपक्षी वादी बुहारी भगवती श्रेष्ठसमेतको भएको हुनाले मिति २०६३।४।१४ गतेमा र.नं. ३०६() को मानो जोडिएको लिखत रजिस्ट्रेसन पारित गरी एकासगोलमा बसोबास गरी आएपछि विपक्षी वादीले अंशदाताहरूबीचमा भएको मानो जोडिएको लिखत रजिस्ट्रेसन पारित गर्दा कुनै पनि जायजेथा सम्पत्ति हक छाडी हक हस्तान्तरण लेनदेन तथा बिक्री वितरण भई गएको अवस्था छैन । जुन पैतृक सम्पत्तिमा अंशबन्डा भएको हो सोही सम्पत्तिमा मानो जोडिएको लिखत भएको छ । यसरी विपक्षी वादीको मन्जुरी नै लिन नपर्ने अवस्थाको मानो जोडिएको लिखत बदर हुने गरी भएको दे.पु.नं. ००२६८६ को मानो जोडिएको लिखत बदर मुद्दाको निर्णायाधारलाई आधार लिई सुरू मोरङ जिल्ला अदालतबाट भएको फैसला सदर हुने गरी पुनरावेदन अदालत, विराटनगरबाट प्रस्तुत मुद्दामा भएको फैसला त्रुटिपूर्ण रहेको स्पष्ट छ ।

तायदाती फाँटवारीमा उल्लिखित एकासगोलको जायजेथाबाट खरिद गरी सगोलको अंश हकको विपक्षी भगवती श्रेष्ठका नाममा दर्ता कि.नं. ३६४९ र ३६५१ को क्रमश: --८ र ०--३ जग्गा बकसपत्रको लिखतबाट प्राप्त गरेकोले मात्र विपक्षी वादीमध्येकी भगवती श्रेष्ठको एकलौटी हकको जग्गा हुने होइन सगोलको जायजेथाबाट खरिद गरी विपक्षीका नाउँमा दर्ता राखेको मात्र हुनाले सबै अंशियारको हक लाग्ने हो । वादीमध्येकी नै नाबालक छोरी विजया श्रेष्ठको सो किनं. ३६४९ र ३६५१ को जग्गामा पूर्णरूपमा अंशहक लाग्ने हो । सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित नजिर ने.का.. २०६४, नि.नं. ७८१४, पुनरावेदक साबित्रीसमेत प्रत्यर्थी पार्वती थापासमेत भएको अंशचलन मुद्दामा जनुसुकै स्रोतबाट प्राप्त गरेको जायजेथा सम्पत्ति भए पनि स्वास्नी छोराछोरीको हकमा अंशभाग लाग्दछ भन्ने प्रतिपादित नजिरले वादीमध्येकी नाबालक छोरी विजया श्रेष्ठको अंशभागको जग्गा अंशभाग नलाग्ने गरी भएको फैसला प्रत्यक्ष त्रुटिपूर्ण   छ । तसर्थ प्रस्तुत मुद्दा दोहोर्याई हेरी पाउँ भन्ने व्यहोराको प्रतिवादी मानबहादुर श्रेष्ठको तर्फबाट यस अदालतमा दायर भएको निवेदन ।

यसै लगाउको दो.नि.नं. ०७२५ र ०३८२ को मानो जोडिएको लिखत बदर मुद्दामा न्याय प्रशासन ऐन, २०४८ को दफा १२() को खण्ड () अनुसार दोहोर्याई हेर्न निस्सा प्रदान भएको र प्रस्तुत मुद्दा उक्त

मुद्दासँग अन्तरप्रभावी रहेको देखिँदा प्रस्तुत मुद्दामा पनि विपक्षी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०६७।५।२३ को आदेश ।

नियमबमोजिम साप्ताहिक तथा दैनिक मुद्दा पेसीसूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदक प्रतिवादीका तर्फबाट विद्वान्अधिवक्ताद्वय चूडामणि पोख्रेल र विनोद शर्माले अंशदाता बाबु चेतबहादुर श्रेष्ठ र छोरा मानबहादुर श्रेष्ठका बीचमा मिति २०५५।९।२३ मा अंशबन्डा भए पनि वृद्ध बाबु चेतबहादुर श्रेष्ठको हेरविचार स्याहार सम्भार छोरा मानबहादुरले नै गरी सगोलमा बसी आएको हुँदा मिति २०६३।४।१४ मा रजिस्ट्रेसनको १ नं. बमोजिम मानो जोडिएको लिखत रजिस्ट्रेसन पारित गरी सँगै बसेको अवस्था रहेको, अन्य छोरा बुहारी नभएको कारणले वृद्ध ससुराको स्याहार सम्भार गर्नुपर्ने वादी भगवती

श्रेष्ठसमेतको दायित्व रहने हुँदा र उक्त मितिमा गरिएको मानो जोडिएको लिखतबाट कुनै पनि जायजेथा सम्पत्ति हक छाडी हक हस्तान्तरण लेनदेन तथा बिक्री वितरण गरिएको अवस्थासमेत नभएको हुनाले उक्त लिखतबाट वादीको अंश हकमा कुनै असर नपर्ने बरू तायदाती फाँटवारीमा उल्लिखित एकासगोलको जायजेथाबाट खरिद

गरी वादी भगवती श्रेष्ठका नाममा दर्ता कायम रहेको कि.नं.३६४९ र ३६५१ को जग्गा बकसपत्रबाट प्राप्त गरेकै कारणले निजको एकलौटी हुन नहुने, त्यसमा सबै अंशियारको हक लाग्नेमा नाबालक छोरी विजया श्रेष्ठको समेत अंश हक नलाग्ने गरी भएको पुनरावेदन अदालत, विराटनगरको फैसला त्रुटिपूर्ण हुँदा उल्टी हुनुपर्छ भनी गर्नुभएको बहस र प्रत्यर्थी वादीका तर्फबाट विद्वान्अधिवक्ता सुरेन्द्रकुमार खड्काले वादीले आफ्नो फाँटवारीमा देखाएको कि.नं. ३६४९ र ३६५१ को जग्गा निजले लक्ष्मीकुमारी श्रेष्ठबाट हालैदेखिको बकसपत्रबाट प्राप्त गरेको हुँदा उक्त जग्गा निजको निजी जग्गा रहेको र पति ससुराका बीच अघि नै छुट्टी भिन्न भैसकेको अवस्थामा प्रस्तुत अंश मुद्दा पर्दाकै दिनमा निजहरूबीच मानो जोडिएको लिखत रजिस्ट्रेसन पारित भएको अवस्था भएकोले ससुरा चेतबहादुर श्रेष्ठको नाममा रहेको जग्गा बाहेक पतिको नाम दर्तामा रहेको सम्पत्तिबाट ३ भागको २ भाग अंशहक पाउने ठहराएको पुनरावेदन अदालत, विराटनगरको फैसला मिलेको हुँदा सदर होस् भनी गर्नु भएको बहससमेत सुनियो ।

उपरोक्तबमोजिम बहस सुनी मिसिल अध्यनन गरी हेर्दा पुनरावेदन अदालत, विराटनगरको फैसला मिलेको छ छैन र पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन भन्ने सम्बन्धमा नै निर्णय

गर्नुपर्ने देखियो ।

ससुरा चेतबहादुर श्रेष्ठ र विपक्षी पति पिताको बीचमा मिति २०५५।९।२३ मा र.नं. ३१५८ बाट अंशबन्डा पारित भइसकेको र २०५५ सालमा मेरो विवाह विपक्षीसँग भई छोरी विजया श्रेष्ठको जायजन्मसमेत भएकोमा त्यसपछिका दिनमा विपक्षीले मलाई कुटपीट गरी खान लाउनसमेत नदिई घरबाट निकाला गरेकाले र अंश दिनसमेत इन्कार गरेकोले अंशबन्डाको महलको १, २ नं. अनुसार ३ भागको २ भाग अंश दिलाई पाउँ भन्नेसमेत व्यहोराको फिराद दावी र बाबु चेतबहादुर श्रेष्ठसँग २०५५ सालमा अंशबन्डा पारित भएपछि विपक्षीको सल्लाहबमोजिम मोरङ होक्लावारी ३ () को कि.नं. १८२ को जग्गा र सोमा बनेको घर बेची विराटनगर १३, साविक वडा नं. ७ को कि.नं. ३२३९ र ३२४० को जग्गा हामी लोग्ने स्वास्नीको भिन्दाभिन्दै नाममा दर्ता गरी सो दुबै जग्गामा घर बनाई बसेका थियौं । बाबुको नाउँको जग्गामा बाबुले नै खेती गर्दै आए पनि सबै मिली खान्थ्यौँ । विपक्षी वादीकै सल्लाहमा उल्लिखित घर बिक्री गरी आएको रकम निजका पिता कर्णबहादुर श्रेष्ठका नाममा राष्ट्रिय वाणिज्य बैङ्कको खातामा राखेकोमा सो रकमले मोरङ साविक विराटनगर ७ को कि.नं. ३६४६ र ३६४८ को जग्गा राजीनामामार्फत खरिद गरी लिई बाँकी रकमबारे कुनै जानकारी नदिएको, बाबुसँग अंशबन्डा भएको भए पनि सगोलमा नै बसी व्यवहार गर्दै आएकोले २०६३।४।१४ मा मानो जोडिएको लिखत पारित गरी एकसाथ बसोबास गर्दै इज्जत आमद अनुसार खान लाउन र उचित शिक्षा स्वास्थ्य उपचार गरी आएको हुँदा फिराद दावी खारेज गरी पाउँ भन्ने प्रतिउत्तर जिकिर रहेको प्रस्तुत मुद्दामा अंश भिन्न भई अलग बसेको प्रतिवादीका पिताका नाम दर्ताको कि.नं. ५५ र ५६ को जग्गा बाहेक फाँटवारीमा उल्लिखित सम्पत्तिलाई ३ भाग गरी ३ भागको २ भाग अंश छुट्याई लिन पाउने ठहर गरेको मोरङ जिल्ला अदालतको फैसलाउपर प्रतिवादीको पुनरावेदन अदालत, विराटनगरमा पुनरावेदन परेकोमा सुरू इन्साफ सदर हुने ठहर्याई पुनरावेदन अदालत, विराटनगरबाट भएको फैसलामा चित्त नबुझाई प्रतिवादीको यस अदालतमा दोहोर्याई हेरी पाउँ भन्ने निवेदन परेकोमा यस अदालतबाट मिति २०६७।५।२३ मा निस्सा प्रदान भई पुनरावेदनको रोहमा प्रस्तुत मुद्दा दर्ता हुन आएको रहेछ ।

. निर्णयतर्फ विचार गर्दा प्रस्तुत मुद्दामा वादी प्रतिवादीहरूबीच नाता सम्बन्धमा कुनै विवाद देखिँदैन । वादी भगवती श्रेष्ठ र प्रतिवादी बीच २०५५ सालमा विवाह भई निजहरूबाट छोरी विजया श्रेष्ठको जायजन्म भएको देखिन्छ । प्रतिवादी र पिता चेतबहादुर श्रेष्ठका बीचमा मिति २०५५।९।२३ मा र.नं. ३१५८ बाट अंशबन्डाको लिखत पारित भई कानूनतः अलगअलग बस्दै आएको पाइन्छ । प्रतिवादीको प्रतिउत्तर जिकिर अनुसार कानूनतः छुट्टिभिन्न भएको भए पनि बाबुको स्याहार सम्भार गर्ने अन्य छोरा बुहारी

कोही नभएका कारण सँगै बसी बाबुको स्याहार सम्भार आफूले नै गरी आएको र बाबुको अंश भागको सम्पत्तिबाट प्राप्त हुने खती उपति आफूहरूले समेत उपभोग गर्दै आएको अवस्था रहेकाले कानूनतः अलग भिन्न बसिरहनु उपयुक्त नदेखिई बाबु छोराबीच मिति २०६३।४।१४ मा मानो जोडिएको लिखत पारित गरी सँगै बसी आएको र विपक्षी वादीसमेतलाई इज्जत आमद अनुसार खान लाउन दिई शिक्षा, स्वास्थ्य उपचार गर्दै आएको भन्ने देखिन्छ । फिराद दावीको व्यहोराबाट प्रतिवादीले छोरीको जायजन्म पछि वादीलाई कुटपीटसमेत गरी खान लाउन नदिई घरबाट निकाला गरेको र अंश माग्दा नदिई इन्कार गरेकोले अंश मुद्दा दिनुपरेको भन्दै छोरीको हकमा समेत गरी ३ खण्डको २ खण्ड अंशभाग माग गरी फिराद दायर गरेको देखिन्छ । प्रतिवादी र निजका पिता चेतबहादुर श्रेष्ठबीच २०६३।४।१४ मा मानो जोडिएको लिखत पारित भए पनि सोही मितिमा प्रस्तुत अंश चलन मुद्दा दायर भएको देखिएको र अंश चलन मुद्दा दायर हुनुअगावै प्रतिवादी मानबहादुर र निजका पिता चेतबहादुर श्रेष्ठको बीचमा मानो जोडिएको लिखत पारित भई एकासगोलमा बसेको भन्ने देखिन आएन । सो मानो छुट्टिएको मिति २०६३।४।१४ भन्दा अघिल्लो दिनसम्मको सम्पत्तिको तायदाती फाँटवारी दुबै पक्षबाट माग्ने मोरङ जिल्ला अदालतको मिति २०६३।१२।१९ को आदेशबाट कायम हुनु आएको मानो छुट्टिएको मिति २०६३।४।१४ मा नै वादीका पति र ससुराबीच पारित भएको मानो जोडिएको लिखतबाट वादीका ससुरा बाजे चेतबहादुर श्रेष्ठलाई वादीका सगोलका अंशियार मान्न नमिलेबाट चेतबहादुर श्रेष्ठलाई समेत सगोलको अंशियार कायम गर्नुपर्ने भन्ने पुनरावेदन जिकिर मनासिब देखिन आएन ।

. अब वादीको नामको कि.नं. ३६४९ र ३६५१ को जग्गासमेत बन्डा लाग्नुपर्ने भन्ने पुनरावेदन जिकिरको हकमा विचार गर्दा मुलुकी ऐन, स्त्री अंश धनको महलको १ नं. माकन्या, सधवा वा विधवा स्वास्नीमानिसले आफ्नो आर्जनको चल अचल आफ्नो खुस गर्न पाउँछन्भन्ने कानूनी व्यवस्था रहेको र अंश बन्डाको महलको १८ नं. मा “... कुनै अंशियारले आफ्नो ज्ञान वा सीप वा प्रयासबाट निजी आर्जन गरेको वा कसैबाट निजी तवरले दान वा बकस पाएको वा कसैको अपुताली परेको वा स्त्री अंशधनको महलको ५ नं. बमोजिम पाएकोमा त्यस्तो आर्जन वा पाएको सम्पत्ति सो आर्जन गर्ने वा पाउने अंशियारको निजी ठहरी आफूखुसी गर्न पाउँछ । बन्डा गर्न कर लाग्दैन”  भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । वादी भगवती श्रेष्ठका नामको कि.नं. ३६४९ र ३६५१ को जग्गा निजले आफ्नी आमा लक्ष्मीकुमारी श्रेष्ठबाट मिति २०६२।८।८ को र.नं. १५२६() बाट हालैको बकसपत्रद्वारा प्राप्त गरेको सम्पत्ति देखिँदा सो सम्पत्ति अंशबन्डाको १८ नं. बमोजिम वादी भगवती श्रेष्ठको स्वआर्जनको भई निजी ठहरी आफूखुस गर्न पाउने हुँदा उक्त सम्पत्तिबाट समेत बन्डा लगाई पाउँ भन्ने प्रतिवादीको पुनरावेदन जिकिर र यस अदालतबाट मिति २०६७।५।२३ मा निस्सा प्रदान गर्दा भएको आदेशसँग सहमत हुन सकिएन ।

. यसर्थ, फिराद परेको दिनलाई मानो छुट्टिएको मिति कायम गरी सो भन्दा अघिल्लो दिनसम्मको आ-आफ्नो जिम्मामा रहेको बन्डा गर्नुपर्ने सम्पूर्ण चल अचल श्रीसम्पत्तिको तायदाती फाँटवारी लिई पहिले नै अलग भै सकेका प्रतिवादीका पिताका नाममा दर्ता कायम रहेको कि.नं. ५५ र ५६ को जग्गा बाहेक तायदाती फाँटवारीमा उल्लिखित सम्पत्तिलाई ३ भाग गरी ३ भागको २ भाग अंश छुट्याई लिन पाउने ठहर गरेको सुरू मोरङ जिल्ला अदालतको मिति २०६४।३।२४ को फैसला र सोलाई सदर गर्ने ठहर्याएको पुनरावेदन अदालत, विराटनगरको मिति २०६५।१।८ को फैसलामा कुनै कानूनी त्रुटि देखिन आएन ।

. अतः वादी प्रतिवादी पति, पत्नी र छोरी भएको तथ्यमा पक्ष विपक्षबीच कुनै

विवाद नभएको र अंश दिइसकेको भन्ने प्रमाणको अभाव रहेकोले फिराद दावीबमोजिम वादीले प्रतिवादीबाट ३ भागको २ भाग अंश लिन पाउने ठहर गरेको मोरङ जिल्ला अदालतको फैसला सदर हुने ठहर्याएको पुनरावेदन अदालत, विराटनगरको मिति २०६५।१।८ को फैसला मनासिब हुँदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या. रामकुमार प्रसाद शाह

 

इति संवत् २०७१ साल असार २५ गते रोज ४ शुभम् ।

इजलास अधिकृत : दण्डपाणि लामिछाने

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु