शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४१७४ - डाँका

भाग: ३२ साल: २०४७ महिना: कार्तिक अंक:

निर्णय नं. ४१७४    ने.का.प. २०४७      अङ्क ७

 

पूर्णइजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४६ सालको फौ.पु.ई.नं. ३१

फैसला भएको मिति : २०४७।६।२।३ मा

निवेदक/प्रतिवादी : रौतहट जि.सरुअठ्ठा गा.पं. वा.नं. ८ बस्ने राजेन्द्रप्रसाद सिंह राजपुत

विरुद्ध

विपक्षी/वादी : तेजनारायण कापडको जाहेरीले श्री ५ को सरकार

मुद्दा : डाँका

(१)   पुनरावेदन तहबाट बिगोको अंक घटी भई जरिवाना समेत घट्न गई शुरु इन्साफ केही उल्टी भएको अवस्थामा पुनरावेदन गरेबापत थप सजायँ हुने भन्न नमिल्ने ।

(प्रकरण नं. २७)

(२)   पुनरावेदन परी सो पुनरावेदनबाट बिगोको अंक घटी जरिवाना समेत घट्न गएको अवस्थामा पुनरावेदनको प्रयोजन नरहेको भन्न नमिल्ने ।

(प्रकरण नं. २७)

विपक्षी/वादी तर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री ध्रुवलाल राज

अवलम्बित नजीर : मार्टस पिटर समेत विरुद्ध मध्यमाञ्चल क्षेत्रीय अदालत भएको रि.पु.ई.नं. ५० को बन्दीप्रत्क्षीकरणको मुद्दामा स.अ. पूर्णइजलासबाट मिति ०४६।१२।७।३ मा प्रतिपादित सिद्धान्त ।

फैसला

प्र.न्या.धनेन्द्रबहादुर सिंह

१.     श्री ५ महाराजाधिराजका हजुरमा यस सर्वोच्च अदालत संयुक्त इजलासबाट मिति २०४३।१२।२६ मा भएको फैसला दोहर्‍याई हेरी दिनु भन्ने हु.प्र. बक्स पाउँ भनी प्रतिवादी राजेन्द्रप्रसाद सिंहले विशेष जाहेरी विभाग मार्फत चढाएको बिन्तिपत्रमा लेखिएको व्यहोरा साँचो भए त्यस अदालत संयुक्त इजलासबाट छिनिएको बिन्तिपत्रमा लेखिएको डाँका मुद्दाको मिसिल झिकी पूर्णइजलासबाट दोहर्‍याई हेरी कानुन बमोजिम निर्णय गर्नु भनी मौसूफ सरकारबाट हुकुम प्रमांगी बक्स भई आए बमोजिम पूर्णइजलासको लगतमा दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :

२.    २०३६।११।२०।२ गते राती खानपिन गरी मेरो भएको परिवार सुती निदाई रहेको अवस्थामा करीब १०१२१२ बजेको समयमा २१, २२ जना डाँकाहरु आई घरभित्र पसी मलाई समाई कुटपिट गर्न लाग्दा ज्यान बचाउनको लागि बल प्रयोग गरी घरबाट बाहिर निस्कें र सो रात चाँदनीको उज्यालो भएको र डाँकाहरुले बालेको टर्चको उज्यालोबाट समेत राजेन्द्र सिंह, हिरामान सिंह, जगत सिंह, ठगरमियाँ, चन्द्रेश्वर सोनार, रसुल मियाँ, खहेरु राउत, पलट कापडलाई चिने अरुलाई पहिचान गर्न सकिन । डाँकाहरुले जम्मा रु. ९१,३४०।को धनमाल डाँका गरी भागी गएकोले डाँकाहरु पत्ता लगाई कारवाही गरी डाँका गरी लगेको बिगो दिलाई सजायँ समेत गरिपाउँ भन्ने समेत व्यहोराको जाहेरी दर्खास्त ।

३.    जाहेरवालाको घरमा डाँकाहरु आई डकैती वारदात गरेको हो । सो डाँका वारदात हुँदा म आफ्नो घरमा नभई श्रीमतीलाई ल्याउनको लागि २ दिन अगावै सरुअठ्ठा गएको थिएँ । भोलिपल्ट मात्र श्रीमतीलाई लिएर फर्केको हुँ । वारदात भएको ठाउँदेखि मेरो ससुराली २ कोश फरकमा पर्दछ । कहाँका डाँकाहरु आई डाँका गरे मलाई थाहा छैन । जाहेरवालासंग मेरो जग्गा मुद्दा परी मैले जितेको हुँदा रिसइवीले गर्दा उजूर दिएको हो भन्ने समेत व्यहोराको पलट कापडको प्रहरीमा भएको कागज ।

४.    जाहेरवाला तेजनारायणको घरमा डाँका वारदात भएको र डाँकाहरु भाग्दा प्रहरीहरु आई पुगी गोली फायर समेत गरेको कुरा मैले भोलिपल्ट सुनेको हुँ फागु पुर्णिमाको रात म घरमा छु । रातको १० बजे फागु खेलेको छु । जाहेरवालासंग मेरो कुनै रिसइवी छैन जाहेरवाला र मेरो गाउँ बस्ने जि.स.स. चन्द्रिकाप्रसाद सिंहको बीच दोस्ती भएकोले चन्द्रिकाको दवावबाट जाहेरवालाले मेरो नाउँ समावेश गरेको हुनुपर्दछ । दर्खास्तमा उल्लेख भएका प्रतिवादीहरुसंग मेरो कुनै सम्पर्क छैन । राम्ररी चिनेको पनि छैन भन्ने समेत व्यहोराको राजेन्द्र सिंहको प्रहरीमा भएको बयान ।

५.    जाहेरवालाको जाहेरी अनुसारको डाँका वारदात भएको हो र जाहेरी दर्खास्तमा लेखिएका प्रतिवादीहरुलाई रात चाँदनी भएको हुँदा त्यसको प्रकाशले चिनेको भन्ने समेत व्यहोराको सरजमीनका अधिकांश मानिसहरुले लेखाई दिएको सरजमीन मुचुल्का ।

६.    राजेन्द्र सिंह राजपुत समेत आठजना उपर मुद्दा चलाउन सबूत पुग्ने हुँदा निजहरु माथि मुलुकी ऐन चोरीको १४ नं. को देहाय ४ बमोजिम सजायँ हुनु पर्ने भन्ने माग दावी गर्दै प्रतिवादीहरु समेत दाखेल गरेको छु भन्ने समेत व्यहोराको दावी भएको प्रहरी प्रतिवेदन ।

७.    २०३६।११।१७ देखि नै मलाई आउँको बिरामीले गर्दा गौर अस्पतालको डाक्टरसंग औषधि गराई औषधि खाई घरमै बसी रहेको थिएँ । मैले डाँका गरेको भन्ने मेरो उपरको उजूरी झुठ्ठा हो प्रतिवादीहरु कसैलाई म चिन्दिन र निजहरुसंग मेरो भेटघाट पनि छैन साक्षी बुझी पोल उजूरबाट फुर्सद गरिपाउँ भन्ने समेत व्यहोराको प्रतिवादी राजेन्द्र सिंहको अदालतमा भएको बयान ।

८.    २०३६।११।२० गते दिन म आफ्नो घरमा छैन । जहानलाई बोलाई ल्याउन ०३६।११।१८ गते घरबाट हिंडी सरुअठ्ठा ससुराली पुगी २ दिन बसी ऐ.२१ गते घर आएको छु । वारदात गरेको छैन । म निर्दोष छु साक्षी प्रमाण बुझी पाउँ भन्ने पलट कापड यादवको अदालतमा भएको  बयान ।

९.    २०३६।११।२० गते राती म आफ्नो गाउँ घरमा नभई गाउँकै सुरतसिंहको बयलगाडी लिई जंगलबाट लकडी ल्याउनको लागि ४ दिन अगावै घरबाट हिंडी जंगल गई लकडी कटान गरी रंगपुर बस्ने वेचु थारुको दरवाजामा लकडी ओसार्ने काम गरेको थिएँ । वारदात भएको १५ दिन पछि घर फर्की आएको छु । डाँका गरेको छैन । म निर्दोष छु । मेरो साक्षी प्रमाण बुझी झुठ्ठा उजूरबाट सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी रसुल मियाँ फकिरको अदालतमा भएको बयान ।

१०.    बहिनी बिरामी परेको भनी खबर आएकोले बहिनीलाई हेर्न भनी ०३६।११।१६ मा घरबाट भात खाई हिंडी बहिनीको घर मिठअवागै ६, ७ दिन त्यही बसी बहिनी निको भए पछि ऐ.फाल्गुण २३ गते मात्र म आफ्नो घरमा आएको छु । जाहेरवालाको घरमा म डाँका गर्न गएको छैन । म निर्दोष हुँदा साक्षी प्रमाण बुझी सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी ठगा मियाँले अदालतमा गरेको बयान ।

११.    ०३६ साल फाल्गुण २० गतेका दिन र रात म बारा जिल्ला बारा गढी पञ्चायतमा थिएँ । जाहेरवालाको घरमा डाँका वारदात गरेको छैन । म निर्दोष हुँदा साक्षी बुझी झुठ्ठा पोल उजूरबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको हिरामान सिंह राजपुतले अदालतमा गरेको बयान ।

१२.   म धनुषा जि.गोदार पञ्चायत कमला प्रोजेक्टमा पेटी कन्टेक्टमा ग्राभेल ढुवानीको काम १ वर्ष देखि गर्दै आएको छु । गोदार पञ्चायतमा नै परसुराम सुवेदीको घरमा भाँडा माझी आएकोमा ०३६।११।१४ देखि ऐ.२४ गतेसम्म पेटको रोग लागेकोले औषधि उपचार गराई बसेको छु । मैले डाँका गरेको छैन । म निर्दोष हुँदा साक्षी प्रमाण बुझी सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी जगतसिंहले अदालतमा गरेको बयान ।

१३.   भाँडा वर्तन बेचबिखन गर्न २०३६ साल फाल्गुण १८ गते घरबाट हिंडी सर्लाही जिल्ला, मौजे मानपुर लौकाहाटोल बस्ने बुनी भगत यादवको घरमा गई भाँडा वर्तन बिक्री गर्ने काम गरेको थिएँ । ऐ.फाल्गुण २५ गते मात्र घर फर्किएको छु । डाँका गर्न गएको छैन । निर्दोष हुँदा साक्षी बुझी सफाई पाउँ भन्ने समेत व्यहोराको प्र.चन्द्रेश्वर सोनारको अदालतमा भएको बयान ।

१४.   २०३६।११।२० मा म आफ्नो घरमा छैन ०३६ साल माघ महीना भारत जिल्ला मधुवनी सुजातपुर बस्ने ललनसिंहको घरमा निजको हलो जोत्ने घाँस काट्ने काम गरी बसेको थिएँ । ०३७।१२।१० मा मात्र म घर आएको हुँ । डाँका गर्न गएको छैन म निर्दोष छु भन्ने समेत व्यहोराको खहेरु राउतको अदालतमा भएको बयान ।

१५.   प्र.ठगाले ०३७।१२।२३ को र प्र.चन्द्रेश्वर सोनारले ०३७।११।१ को तारेख गुजारी बसेको ।

१६.    किटानी जाहेरी मौका घटनामा देखे चिनेको भनी सरजमीन र अदालतमा बकपत्र भएको समेत आधारमा जाहेरवालाको घरमा ०३६।११।२० गतेका रात प्र.राजेन्द्र सिंह, हिरामान सिंह, जगत सिंह, ठगा मियाँ, चन्द्रेश्वर सोनार, रसुलमियाँ, खहेरु राउत कुर्मी, पलट कापड यादव समेत जना ८ ले डाँका वारदात गरी जाहेरीमा लेखिएको बिगो डाँका गरेको ठहर्छ भन्ने समेत व्यहोराको रौतहट जि.अ. को मिति ०३८।९।१२ को फैसला ।

१७.   शुरु रौतहट जिल्ला अदालतको फैसलामा चित्त बुझेन उक्त फैसला उल्टाई मेरा भएका सबूत प्रमाणहरुको मूल्यांकन गरी सफाई पाउने गरी इन्साफ पाउँ भन्ने समेत व्यहोराको राजेन्द्रप्रसाद सिंहको म.क्षे.अ. मा परेको पुनरावेदन ।

१८.   राजेन्द्र सिंह समेतका आठ जवान प्रतिवादीहरुलाई चिनेको भनी किटानी जाहेरी, सो जाहेरीलाई पुष्टि हुने गरी सरजमीनले लेखाई दिएको र सोही व्यहोरालाई सरजमीन मध्येका ६ जवान व्यक्तिहरुले अदालतमा आई बकपत्र समेत गरी दिएको समेतबाट यी पुनरावेदक समेतले कसूर गरेको देखियो । तर प्रहरी प्रतिवेदन दावी बमोजिम रु. ९१,३४०।को बिगो मध्ये आफू नसुतेको घरमा सेफमा रहेको भनिएको रु. ७५,०००।बिगो डकैती गरेको देखिएन काठको आलमारीमा आफू सुतेको पश्चिमपट्टि रहेको भनिएको रु. १६,३४०।रुपैयाँ र मालसामान मात्र राजेन्द्रप्रसाद सिंह राजपुत समेतले डकैती गरेको ठहर्छ । स.जि.अ. को इन्साफ केही उल्टी हुन्छ भन्ने समेत व्यहोराको ०४२।६।१७।५ को म.क्षे.अ. को फैसला ।

१९.    मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा प्रमाण ऐन, २०३१ को दफा २५५४, अ.बं. १८४(क) १८५ समेतको त्रुटि भएको हुँदा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादी राजेन्द्र सिंह राजपुतको निवेदन यस अदालतमा परेको निवेदनपत्र ।

२०.   प्रस्तुत मुद्दाको वारदातको मौका तहकिकात वा सरजमीन गर्दा सम्बन्धित गाउँपञ्चायतको प्रधानपञ्च वा उपप्रधानपञ्चलाई समावेश गरेको देखिन नआएकोले उक्त सरजमीन सरकारी मुद्दा सम्बन्धी ऐन, ०१७ को दफा ३(२) को प्रतिकूल भएकोले त्यस्तो सरजमीन मुचुल्कालाई मान्यता दिई भएको शुरु रौतहट जिल्ला अदालतको फैसलालाई मान्यता दिई पुनरावेदक प्रतिवादी समेतलाई सजायँ गर्ने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा उक्त सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को दफा ३(२) को प्रत्यक्ष गम्भीर कानुनी त्रुटि भएको देखिँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ, भन्ने समेत व्यहोराको यस अदालत डिभिजनबेञ्चको मिति ०४२।६।२४।५ को आदेश ।

२१.   यसमा वारदातमा डाँकाहरुले बालेको टर्च लाइट र जुनको उज्यालोबाट राजेन्द्रप्रसाद सिंह समेतका व्यक्तिहरुलाई चिनेको भनी किटानी जाहेरी परेको प्रतिवादी राजेन्द्रप्रसाद सिंह समेतका व्यक्तिहरुलाई वारदातमा देखेको भनी सरजमीनमा लेखाई दिएको तथा सरजमीनका व्यक्तिहरुले अदालतमा आई किटानी बकपत्र गरिदिएको समेतबाट प्रतिवादी राजेन्द्रप्रसाद सिंह समेतका व्यक्तिहरुले डाँका गरेको ठहर्‍याएको तथा बिगोको हकमा जाहेरवालाले आफू सुतेको ठाउँ नजिक राखेको भनिएको रु. १६,३४०।मात्र डाँका गरेको ठहर्‍याएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने समेतको यस सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४३।११।२६ को फैसला ।

२२.   श्री ५ महाराजाधिराजको हजूरमा उक्त फैसला दोहर्‍याई हेरी दिनु भनी हुकुम प्रमांगी बक्स पाउँ भनी प्रतिवादी राजेन्द्रप्रसाद सिंहले विशेष जाहेरी विभाग मार्फत चढाएको बिन्तिपत्रमा यसमा व्यहोरा साँचो भए बिन्तिपत्रमा लेखिएको डाँका मुद्दाको मिसिल झिकी पूर्णइजलासबाट दोहर्‍याई हेरी कानुन बमोजिम निर्णय गर्नु भनी हुकुम बक्सेको छ भनी विशेष जाहेरी विभाग राजदरबारबाट लेखी आए बमोजिम पूर्णइजलास लगतमा दर्ता हुन आएको रहेछ ।

२३.   नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा प्रत्यर्थी वादी श्री ५ को सरकारका तर्फबाट बहस गर्न खटिई आउनु भएका विद्वान उपन्यायाधिवक्ता श्री ध्रुवलाल राजले प्रतिवादी राजेन्द्रप्रसाद सिंह समेतले डाँका गरेको भनी किटानी जाहेरी परेको छ । सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को दफा ३(२) बमोजिम सरजमीन गर्न तथा मौका तहकिकातको लागि सरकारी वकील स्वयं उपस्थित भई संचालन गर्न सक्ने र सरकारी वकील उपस्थित नभएमा मात्र प्रधानपञ्च वा उपप्रधानपञ्च उपस्थित हुनु पर्ने हुँदा सरकारी वकील उपस्थित भएको अवस्थामा प्रधानपञ्च वा उप प्रधानपञ्च उपस्थित नभए पनि सो सरजमीन सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को दफा ३(२) को विपरीत हुँदैन । प्रतिवादी राजेन्द्रप्रसाद सिंह समेतले वारदात गरेको भनी सरजमीन र अदालतमा समेत आई साक्षीहरुले बकपत्र गरेको समेतबाट निजहरुले डाँका गरेको ठहर्‍याएको म.क्षे.अ. को इन्साफ सदर गरेको सर्वोच्च अदालत संयुक्त इजलासको इन्साफ सदर होस भन्ने समेतको बहस गर्नु भयो ।

२४.   प्रस्तुत मुद्दामा यस सर्वोच्च अदालत संयुक्त इजलासको इन्साफ मिलेको छ छैन सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।

२५.   यसमा निर्णयतर्फ हेर्दा २०३६।११।२०।२ गते राती डाँकाहरु आई घरभित्र पसी रु. ९१,३४०।बराबरको धनमाल डाँका गरी लगेको र सो रात चाँदनीको उज्यालो भएको तथा डाँकाहरुले बालेको टर्चको उज्यालोबाट डाँका गर्नेहरु मध्ये राजेन्द्रप्रसाद सिंह समेतका व्यक्तिहरुलाई चिनेको भनी किटानी जाहेरी परेको देखिन्छ । प्रतिवादी राजेन्द्रप्रसाद सिंहले सो रात फागु पूर्णिमाको दिन घरै मै छु र रातको १० बजे फागु खेलेको छु भनी कसूरमा इन्कार रही प्रहरी समक्ष बयान गरेको देखिन्छ । निजैले अदालत समक्ष बयान गर्दा २०३६।११।१७ गते देखि नै आउँको बिरामीले गर्दा गौर अस्पतालको डक्टरसंग औषधि गराई बिरामीको हालतमा घरमै बसिरहेको छु भनी बयान गरेकोबाट निजको बयान एक आपसमा विरोधाभाषपूर्ण देखिन्छ । निज उक्त वारदातको रातभन्दा अघि देखि नै बिरामी परी औषधि गरिरहेको भनी प्रहरी समक्ष भएको बयानमा समेत खुलाएको देखिन्न । प्रहरी समक्ष भएको बयान स्वेच्छा विपरीत भएको हो भन्ने जिकिर लिन सकेको पनि देखिँदैन । सरजमीनका समस्त मानिसहरुले प्रतिवादी राजेन्द्रप्रसाद सिंहले समेत डाँका गरेको भनी लेखाई दिएको पाइन्छ र सोही व्यहोरालाई समर्थन गरी सरजमीनका मानिसहरु मध्ये चस्मदिद व्यक्तिहरु झागरु राय यादव, रामवृक्ष राय, देवी वैठा धोवी, राम विलास, राम वीर राय यादव तथा राम स्वार्थ कापड यादव समेतले अदालतमा आई बकपत्र गरिदिएको देखिन्छ । निजहरुले अदालतमा बकपत्र गर्दा वारदातमा राजेन्द्रप्रसाद सिंहलाई देखे चिनेको र त्यस बखत निजको हातमा बन्दूक थियो भनी किटानी गरिदिएको पाइन्छ । जाहेरवाला तेजनारायण कापडले राजेन्द्रप्रसाद सिंह समेतले वारदात गरेको र निजलाई वारदात स्थलमै देखे चिनेको भनी जाहेरी व्यहोरालाई समर्थित हुने गरी अदालतमा आई बकपत्र गरिदिएको समेतबाट प्रतिवादी राजेन्द्रप्रसाद सिंह वारदातमा संलग्न रहेको भन्ने कुरा पुष्टि हुन आएकोले सफाई पाउँ भन्ने निजको जिकिर पुग्न सक्दैन । निजले डाँका गरेको ठहर्‍याएको शुरु इन्साफ सदर गरेको म.क्षे.अ. को इन्साफ सदर गरेको यस सर्वोच्च अदालत संयुक्त इजलासको इन्साफ मनासिब देखिन्छ ।

२६.   अब बिगोको हकमा विचार गर्दा प्रतिवादीहरुले बिगो रु. ९१,३४०।बराबरको धनमाल डाँका गरेको ठहर्‍याई शुरु रौतहट जिल्ला अदालतले फैसला गरेकोमा प्रतिवादी राजेन्द्रप्रसाद सिंहको पुनरावेदन परी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट फैसला हुँदा डाँकातर्फ सम्म शुरु इन्साफ सदर गरेको र बिगो तर्फ भने रु. ९१,३४०।बराबरको डाँका गरेको नभई रु. १६,३४०।बराबरको धनमाल मात्र डाँका गरेको ठहर्‍याई बिगोतर्फ इन्साफ केही उल्टी हुने ठहर्‍याई फैसला गरेको देखिन्छ । प्रतिवादी राजेन्द्रप्रसाद सिंहको पुनरावेदनबाट मध्यमाञ्चल क्षेत्रीय अदालतले बिगो घटाए पनि कायम हुन आएको बिगो रु. १६,३४०।को डेढी जरिवाना रु. २४,४५०।६० को अ.बं. २०३ नं. बमोजिम सयकडा दशले हुन आउने रु. २,४४५।०६ पुनरावेदन गरे बापत थप जरिवाना गरेको देखिन्छ र म.क्षे.अ. को सोही इन्साफ सर्वोच्च अदालत संयुक्त इजलासबाट सदर भएको देखिन्छ ।

२७.   अ.बं.नं. २०३ को प्रावधानलाई हेर्दा पुनरावेदन फैसला हुँदा अघिको इन्साफ सदर भई पुनरावेदन दिने झगडिया हार्‍यो भने पुनरावेदन दिएबापत देहायमा लेखिए बमोजिम गर्नुपर्छभन्दै सोही नम्बरको देहाय (१) मा शुरु अड्डाबाट कैद वा जरिवानाको सजायँ तोकी छिनिएकोमा पुनरावेदनबाट सदर भएजति कैद जरिवानाको पहिला पुनरावेदनमा सयकडा दश, दोश्रो पुनरावेदनमा सयकडा पाँचका दरले कैद जरिवाना गर्नु पर्छभन्ने उल्लेख भएको पाइन्छ । उक्त अ.बं. २०३ नं. को शीर्ष भाग र देहाय (१) को प्रावधानलाई समष्टिगत रुपमा हेर्दा पुनरावेदन फैसला हुँदा अघिको इन्साफ सदर भएको खण्डमा पहिलो पुनरावेदन भए सयकडा दश र दोस्रो पुनरावेदन भए सयकडा पाँचका दरले थप कैद जरिवाना हुने भन्ने देखिन्छ । तर पुनरावेदन तहबाट बिगोको अड्ढ घटी भई जरिवाना समेत घट्न गई शुरु इन्साफ केही उल्टी भएको अवस्थामा पुनरावेदन गरे बापत थप सजायँ हुने भन्न मिल्दैन । पुनरावेदनमा इन्साफ सदर भएमा थप सजायँ गर्नुको मनसाय अनावश्यक रुपमा औचित्यहिन पुनरावेदन दिई मुद्दा लम्व्याउने प्रवृत्तिलाई निरुत्साहित पार्नु पनि हो । तर जब पुनरावेदन परी सो पुनरावेदनबाट बिगोको अंक घटी जरिवाना समेत घट्न गएको अवस्थामा त्यस पुनरावेदनको प्रयोजन नरहेको भन्न मिल्दैन । पुनरावेदन नगरेको भए सो बिगो तथा जरिवानाको अंक समेत घट्ने थिएन । पुनरावेदन तहबाट शुरुको इन्साफ सदर भएको खण्डमा मात्र पुनरावेदन गरे बापत थप सजायँ हुन सक्ने देखिन्छ । शुरु अदालतको इन्साफ सदर नभई उल्टी वा केही उल्टी भई शुरुको सजायँ भन्दा थप वा घट हुने ठहर्‍याई पुनरावेदन अदालतबाट निर्णय भएको खण्डमा अ.बं. २०३ नं. बमोजिम थप सजायँ हुन सक्ने देखिन्न भनी निवेदक मार्टस पिटर समेत विरुद्ध मध्यमाञ्चल क्षेत्रीय अदालत भएको रि.पु.इ.नं. ५० को बन्दीप्रत्यक्षीकरणको मुद्दामा यस सर्वोच्च अदालत पूर्णइजलासबाट मिति २०४६।१२।७।३ मा सिद्धान्त समेत प्रतिपादन भइसकेको देखिन्छ । तसर्थ प्रस्तुत मुद्दाको हकमा शुरु इन्साफ उपर प्रतिवादी राजेन्द्रप्रसाद सिंहको पुनरावेदन परी इन्साफ हुँदा डाँकातर्फ शुरुको इन्साफ मनासिब ठहरी बिगोको हकमा बिगोको अंक घटी भई जरिवाना समेत घट्न गई शुरु इन्साफ केही उल्टी भएको अवस्थामा पुनरावेदन गरे बापत थप जरिवाना गर्न अ.बं. २०३ नं. ले मिल्ने नदेखिँदा प्रतिवादी राजेन्द्रप्रसाद सिंहलाई पुनरावेदन गरे बापत थप जरिवाना गरेको हदसम्म मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर गरेको सर्वोच्च अदालत संयुक्त इजलासको इन्साफ गल्ती देखिँदा केही उल्टी हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।

तपसील

प्रतिवादी राजेन्द्रप्रसाद सिंह के माथि इन्साफ खण्डमा लेखिए बमोजिम जरिवानाको हकमा म.क्षे.अ. को इन्साफ सदर गरेको सर्वोच्च अदालत संयुक्त इजलासको इन्साफ केही उल्टी हुने ठहरेकोले शुरु इन्साफ उपर पुनरावेदन गरे बापत म.क्षे.अ. को मिति २०४२।४।१७।५ मा फैसलाले गर्ने गरेको थप जरिवाना रु. २,४४५।०६ र यस सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४३।११।२६ का फैसलाले लाग्ने गरेको थप रु. १,२२२।५३ समेत जरिवाना गर्नु परेन सो लगत कट्टा गरी दिनु भनी शुरु रौतहट जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ. मा लगत दिनु...१, प्रतिवादी राजेन्द्रप्रसाद सिंह के माथि इन्साफ खण्डमा लेखिए बमोजिम डाँकातर्फ संयुक्त इजलासको इन्साफ मनासिब ठहरेकोले मुद्दा दोहर्‍याई ल्याए बापत अ.बं. २०४ नं. बमोजिम कैद वर्ष ।७।१९ सात महीना उन्नाइस दिन थप कैद हुन्छ बेरुजू हुँदा कानुन बमोजिम लगत कसी असूल गर्नु भनी शुरु रौतहट जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ. मा लगत दिनु...२, मिसिल नियमानुसार गरी बुझाई दिनु...३

 

उक्त रायमा हामी सहमत छौं ।

 

न्या.त्रिलोकप्रताप राणा,

न्या.प्रचण्डराज अनिल

 

इतिसम्वत् २०४७ साल आश्विन २ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु