शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७५०३ - दर्ता बदर अपुताली हक कायम ।

भाग: ४७ साल: २०६२ महिना: जेष्ठ अंक:

निर्णय नं.७५०३     ने.का.प.२०६२ अङ्क २

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री अनूपराज शर्मा

माननीय न्यायाधीश श्री बलराम के.सी.

संवत् २०५८ सालको दे.पु.नं.८१६९

फैसला मितिः२०६२।२।२४।३

 

मुद्दाःदर्ता बदर अपुताली हक कायम ।

 

            पुनरावेदक र प्रतिवादीः मोरङ्ग जिल्ला विराटनगर उपमहानगरपालिका वडा नं.४ बस्ने    उद्धवबहादुर रोकाय

बिरुद्घ

            प्रत्यर्थी  र वादीः ऐ.ऐ. बस्ने डम्बरबहादुर रोकाहा

 

§  कुन हकवाला नजिक कुन हकवाला टाढा भन्ने बिवाद उठेमा जुन व्यक्ति मरि अपुताली परेको  हो । निजको आफ्नै पुरुषतर्फको हाँगामा सन्तान भए मर्नेको मुल पुरुषको अरु हाँगाको हकवाला नजिक नहुने ।

§  मृतक गुमान सिंहको निजको हकवाला निजको सहोदर दाजु जिवित हुँदाहुँदै भतिजा नाताका यि पुनरावेदकले मृतकको अपुताली पाउन सक्ने अवस्था अपुतालीको १ नं.मा भएको प्रावधान मुताविक नदेखिने ।

§  पुस्ताको हिसावले विचार गर्दा पनि लोग्ने स्वास्नी समान पुस्तामा पर्दछन भने छोरा दोश्रो पुस्तामा पर्न आउछ । अपुताली पहिला समान पुस्तामा र त्यस पछि मात्र दोश्रो पुस्तामा जान्छ भनी उल्लेख भएको पाइयो । अपुतालीको १ नं. समेतको आधारमा पुनरावेदक प्रतिवादी मृतकका भतिजा नाताका देखिंदा सहोदर दाजु जिवित छँदाछँदै निजले अपुताली पाउने नदेखिने । 

(प्रकरण नं.१३)

 

पुनरावेदक प्रतिवादी तर्फवाटः विद्धान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी र विद्धान अधिवक्ताद्वय श्री कृष्णप्रसाद भट्टराई र श्री बालमुकुन्द श्रेष्ठ

प्रत्यर्थी वादी तर्फवाटः

अवलम्वित नजीरः ने.का.प.२०४५, अंक २, नि.नं.३३५२, पृष्ठ ९६

     

फैसला

न्या.अनूपराज शर्माः न्याय प्रशासन ऐन २०४८ को दफा ९(१) अन्र्तगत पुनरावेदन अदालत, विराटनगरको मिति २०५७।१०।२ गतेको  फैसला उपर यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ:

२.    जंगबिरका २ छोरामा जेठा म फिरादी डम्बरबहादुर र कान्छो मृतक गुमान सिंह रोक्काहा हुन । गुमान सिंह तर्फ कुनै छोरा छोरीको जन्म नभै निजको श्रीमती २०१३ सालमा नै स्वर्गवास भएकी र भाई गुमान सिंहको २०५३।९।६ गते मृत्यु भएको हुँदा निजको अपुताली खाने नजिकको हकवाला एक मात्र म फिरादी   हुँ । निज भाई नामका जग्गाहरु भाईको मृत्यु पछि मैले नै भोगी आएको छु । बिपक्षी मृतकका भतिजा नाताका हुन । मृतक भाई नामको जि.सुनसरी राजगन्ज सिनुवारी गा.बि.स.वडा नं.९ क कि.नं.८२ को ज.बि.०११५ ऐ.९(ख) कि.नं.७५ को ज.बि.१६ र ऐ.९ (ङ) कि.नं.३२ को ज.बि.०१० धुर समेत जग्गाहरु मेरा नाममा नामसारी गरिपाऊँ भनी मालपोत कार्यालय, सुनसरीमा निवेदन दर्ता गरी कारवाही भै रहेको अवस्था बिपक्षीले पनि आफ्नो नाममा उक्त जग्गा नामसारी गरिपाऊँ भनी निवेदन दिएछन, मालपोत कार्यालय, सुनसरीले मिति २०५३।१२।५ का दिन उल्लेखित जग्गाहरु बिपक्षी उद्धवबहादुर रोकाहाका नाममा नामसारी गरी दिई सकेको हुँदा नामसारी भइ गएको जग्गामा हक बेहकको प्रश्न खडका भएकोले सुनसरी जिल्ला अदालतमा हक कायम गर्न नालेस गर्न ३५ दिन भित्र जानु भन्ने मालपोत कार्यालय, सुनसरीबाट निर्णय भएकोले उल्लेखित जग्गा अपुताली हक कायम गरी बिपक्षीले आफ्ना नाममा दा.खा.दर्ता गराएको जग्गाको नामसारी दर्ता बदर गरी मेरा नाममा दर्ता कायम गरिपाऊँ भन्ने समेत व्यहोराको फिरादपत्र ।

३.    काका गुमान सिंह रोकाहालाई पालन पोषण र हेरचाह औषधोपचार लगायतका सम्पूर्ण कर्तव्यहरु मैले गरेको हुँ, काकाको मृत्यु भए पछि मेरा आमा बाबु जिवित हुनु भएको कारणले गर्दा बिपक्षी बाबु डम्बरबहादुर कोरा भित्र बस्नु सम्म भएको हो । पालन पोषणको हैसियतबाट अपुतालीको हक भएकोले आफ्नो नाममा उक्त जग्गाहरु नामसारी दा.खा.गराएको हुँ । स्व.काका गुमानसिंह रोक्काहाको अपुताली हक मैले स्वतः पाउने हुँदा बिपक्षी डम्बरबहादुरको झुठ्ठा दावीबाट अलग फुर्सद गरी न्याय निरोपण गरिपाऊँ भन्ने समेत प्रतिउत्तर जिकिर ।

४.    आदेशानुसार वादीका साक्षी शेरबहादुर सुवेदी र प्रतिवादीका साक्षी सरयुग पासवानको बकपत्र भएको र सर्जमिन मुचुल्का भई मिसिल सामेल  रहेको ।

५.    वादीले मृतक गुमान सिंहको संग साथमा बसि पालन पोषण स्याहार संभार समेत गरेको तथ्य प्रमाणबाट पुष्टि हुन नसकेकोले प्रतिवादीका नाउँको नामसारी दर्ता समेत बदर गरी अपुताली हक कायम गरिपाऊँ भन्ने वादी दावी पुग्न नसक्ने ठर्हछ भन्ने सुनसरी जिल्ला अदालतको  फैसला ।

६.    शुरुले गरेको कानूनी त्रुटिपूर्ण  फैसला बदर गरी वादी दावी बमोजिम गरिपाऊँ भन्ने वादीको पुनरावेदन पत्र ।

७.    मृतक गुमान सिंहको नजिकका हकदार दाजु नाताका व्यक्ति पुनरावेदक डम्बरबहादुर रोकाहा अपुताली खाने समान पुस्ताका सव भन्दा नजिकको हकवाला हुँ भनी फिराद दायर गरेको अवस्थामा दोश्रा पुस्ताका छोरा भतिजा नाताका प्रत्यर्थी उद्धवबहादुर रोकाहाका नाउँमा नामसारी भएको क्रियालाई कानून सम्मत भनि वादी दावी पुग्न नसक्ने ठहराएको शुरुको निर्णय कानूनी त्रुटि गरी भएको हुँदा अ.बं.२०२ नं.बमोजिम बिपक्षी झिकाई पेश गर्नु भन्ने पुनरावेदन अदालत, विराटनगरको आदेश ।

८.    गुमान सिंह रोकाहा वादी डम्बरबहादुर रोकाहाका भाई भन्नेमा बिवाद नभै वादी र मृतक गुमान सिंह एकै पुस्ताका अंशियार नाताका व्यक्ति देखिएको छ । मृतक गुमान सिंहले आफ्नो अंश भाग कानून बमोजिम प्रत्यर्थी प्रतिवादी उद्धवबहादुरसंग मिसाई बसेको भन्ने समेत देखिएन । मृतक गुमान सिंहलाई पालन पोषण गरेको भन्ने निर्बिवाद रुपमा प्रमाणित हुने स्वतन्त्र प्रमाण प्रतिवादीले प्रस्तुत गर्न समेत नसकेको स्थितिमा मृतकको अपुताली हक अपुतालीको १ र २ नं.समेतको आधारमा मृतकका दाजु वादी डम्बरबहादुर रोकाहाले पाउने देखिएकोले वादी दावी बमोजिम बिवादित जग्गा प्रतिवादी उद्धवबहादुरका नउाँमा नामसारी दर्ता गर्ने गरेको मालपोत कार्यालय, सुनसरीको मिति २०५३।१२।५ को निर्णय समेत बदर भै वादीका नाउँमा हक कायम हुने ठहर्छ । वादी दावी पुग्न नसक्ने ठहराएको शुरु सुनसरी जिल्ला अदालतको मिति २०५५।११।२३ को  फैसला मिलेको नदेखिंदा उल्टी हुन्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालतको फैसला  ।

९.    पुनरावेदन अदालत, विराटनगरबाट भएको  फैसला कानूनी त्रुटिपूर्ण छ । मेरा काका गुमान सिंह रोकाहालाई मैले पालन पोषण र सेवा सुसुश्रा गरेको हुँ । काकाको मृत्यु पश्चात निजको पत्नी पनी नभएको अन्य छोरा छोरी पनि नभएको हुँदा निजको अपुताली मैले पाउनु पर्ने हो । शुरु जिल्ला अदालतले  फैसला गर्दा मलाई इन्साफ प्रदान गरेको थियो । अपुताली हक मेरो पिता डम्बरबहादुर नजिकको हकदार भएको भनि मेरा नाममा नामसारी हक हुन आएको काका गुमान सिंहको जग्गा पिताको नाममा दर्ता गर्ने गरी भएको पुनरावेदन अदालतको इन्साफ कानूनी त्रुटिपूर्ण हुँदा सो  फैसला बदर गरी शुरु इन्साफ सदर कायम गरिपाऊँ भन्ने प्रतिवादी उद्धवबहादुर रोकाहाको यस अदालतमा पर्न आएको पुनरावेदन ।

१०.    नियमबमोजिम पेशी सूचीमा चढी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको सम्पूर्ण मिसिल अध्ययन गरियो । पुनरावेदक तर्फका विद्धान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी र विद्धान अधिवक्ता श्री कृष्णप्रसाद भट्टराई र श्री बालमुकुन्द श्रेष्ठले पुनरावेदक प्रतिवादीले आफ्ना काका गुमान सिंहको बाचुन्जेल सेवा गरेकोले निजका नाममा भएको जग्गाहरु निजको श्रीमती छोरा छोरी कोही नभएकोले आफ्नो नाममा दा.खा.नामसारी गरी लिएका हुन । सो कुराको पुष्टि गा.बि.स.ले गरि दिएको सिफारिस, सर्जमिन, साक्षी बकपत्र समेतले पुष्टि गरेको छ । शुरु जिल्ला अदालतले सोही प्रमाणको मुल्याङ्कन गरी वादी दावी नपुग्ने ठहर गरी यि पुनरावेदक प्रतिवादीले हक इन्साफ पाएको अवस्थामा पुनरावेदन अदालतले सो इन्साफ उल्टी गरी मृतक गुमान सिंहका नजिकका हकदार पुनारवेदन प्रतिवादी नभई निजका दाजु डम्बरबहादुर हुन भनि मृतक गुमान सिंहको सम्पूर्ण श्री सम्पत्ति मृतकका दाजु डम्बरबहादुरले पाउने भनी शुरु इन्साफ उल्टी गरी पुनरावेदकको हक विपरीत भएको इन्साफ कानूनी त्रुटिपूर्ण भएको हुँदा उल्टी हुन बिपक्षी जोडि इन्साफ गरिपाऊँ भनी बहस प्रस्तुत गर्नु भयो । विद्वान कानून व्यवसायीहरुको बहस पश्चात इन्साफ तर्फ विचार गर्दा शुरु अदालतको  फैसलालाई उल्टी गर्ने गरी भएको पुनरावेदन अदालतको  फैसला मिले नमिलेको के रहेछ ? पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ? भन्ने सम्बन्धमा निर्णय गर्नुपर्ने देखिन  आयो ।

११.    निर्णयतर्फ विचार गर्दा भाइ गुमान सिंहको श्रीमती पहिल्यै मरि सकेकी र भाइको पनि मृत्यु भइ सकेको निजको कुनै सन्तान नभएको हुँदा निजको अपुताली खाने हकवाला नजिकको म डम्बरबहादुर थिए । भाईलाई उनको जीवनकाल भर मैले नै पालन पोषण गरी आएकोमा बिपक्षी उद्धवबहादुरले भाइका नाउँका जग्गा आफ्ना नाममा नामसारी गराउन मालपोत कार्यालयमा निवेदन दिई आफ्नो नाममा नामसारी गराएको अवस्था छ । मेरो निवेदनको हकमा हक बेहकमा अदालत जानु भनी सुनाएकोले उक्त बिपक्षीका नाममा भएको जग्गाको नामसारी दर्ता बदर गरी मेरो नाममा हक कायम दर्ता गरिपाऊँ भन्ने फिराद दावीमा प्रतिवादी इन्कार रही मृतक काका गुमान सिंहको हेरचाह औषधोपचार मैले गरेको हुँदा मैले नै काकाको अपुताली पाउनु पर्ने हुँदा सोही अनुसार मेरा नाममा नामसारी भएको काकाको जग्गाको दर्ता बदर हक कायम वादीको नाममा हुनुपर्ने होइन भन्ने प्रतिउत्तर जिकिर भएको प्रस्तुत बिवादमा शुरु सुनसरी जिल्ला अदालतले  फैसला गर्दा वादी दावी पुग्न नसक्ने ठहर्‍याई  फैसला गरे उपर वादीको चित्त नबुझि पुनरावेदन अदालत, विराटनगरमा पुनरावेदन पर्दा सो अदालतबाट वादी डम्बरबहादुर मृतक गुमान सिंहका दाजु नाताका व्यक्ति देखिएको हुँदा सव भन्दा नजिकको हकदार वादी डम्बरबहादुरले नै बिवादित जग्गा वादी दावी बमोजिम अपुताली हक कायम हुने देखिंदा मालपोत कार्यालयको ०५३।१२।५ को दर्ता समेत बदर गरी शुरुको वादी दावी नपुग्ने ठहर्‍याई भएको  फैसला उल्टी हुने ठहर्‍याई भएको निर्णय उपर चित्त नबुझि प्रतिवादी उद्धवबहादुरको यस अदालतमा पुनरावेदन पर्न आएको देखिन्छ ।

१२.   तत्सम्बन्धमा हेर्दा मृतक गुमान सिंह र वादी डम्बरबहादुर सहोदर दाजु भाई नाताका व्यक्तिहरु हुन भन्ने तथ्यमा कतैबाट बिवाद आएको देखिएन । साथै वादी डम्बरबहादुर र पुनरावेदक प्रतिवादी उद्धवबहादुर पनि बाबु छोरा नाताका व्यक्तिहरु भएको तथ्यमा समेत बिवान देखिदैन । प्रतिवादी पुनरावेदकले आफ्नो पुनरावेदन जिकिरमा आफु आफ्ना बाबु डम्बरबहादुरसंग २०५० सालमा अंश बण्डा लिई छुट्टि भिन्न भई अलग व्यवहार गरी बसेको स्वीकार गरेको देखिन्छ । यस स्थितिमा आफ्नो बाबुसंग अंश बण्डा गरी अलग बसेको व्यक्ति काकासंग सगोल बसि पहिल्यै देखि मृतक काकालाईसंग साथ बसि पालन पोषण गरेको भन्ने जिकिर आपैmमा पुष्टि हुन सक्दैन । जहाँ सम्म गा.बि.स.को सिफारिसको कुरालाई विद्वान कानून व्यवसायीहरुले उठाई इजलासको ध्यान आकृष्ट गर्नु भएको छ । त्यस तर्फ हेर्दा कानूनमा स्पष्ट रुपमा उल्लेख भएको प्रावधानलाई गा.बि.स.को सिफारिसले काट्न सक्ने अवस्था पनि देखिदैन ।

१३.   कानूनी प्रावधानतर्फ हेर्दा सर्वप्रथम मुलुकी ऐन अपुतालीको १ नं.हेर्दा हकवाला भनेको सात पुस्ता सम्मको पुरुष तर्फको हाँगामा सबै भन्दा नजिको अंशियार हुन्छ । सात पुस्ता नाघेको टाढाको दाजु भाई हुन्छ । नजिक र टाढाको हकवालामा छुट्याउँदा जो मरि अपुताली परेको हो उसको आफ्नै पुरुष तर्फको हाँगामा सन्तान भए मर्नेको मुल पुरुषको अरु हाँगाको हकवाला नजिकको ठहर्दैनभनी उल्लेख भएको देखिन्छ । यो न..अनुसार अपुतालीको परिभाषा गर्दा छोरा वा सन्तान नभएको व्यक्तिको जायजेथामा दावी गर्ने व्यक्ति हो भन्ने बुझिन्छ अर्थात सो निसन्तान व्यक्तिको जायजेथा निजको मृत्यु पश्चात नजिकको उत्तराधिकारीको हुन्छ भन्ने जनाउछ । जसअनुसार हेर्दा हकवाला हुन सात पुस्तासम्मको पुरुषतर्फको हाँगामा सबैभन्दा नजिकको अंशियार हुनुपर्ने देखिन्छ । कुन हकवाला नजिक कुन हकवाला टाढा भन्ने बिवाद उठेमा जुनव्यक्ति मरि अपुताली परेको हो निजको आफ्नै पुरुष तर्फको हाँगामा सन्तान भए मर्नेको मुल पुरुषको अरु हाँगाको हकवाला नजिक हुने देखिदैन । यसप्रकार मृतक गुमान सिंहको नजिकको हकवाला निजको सहोदर दाजु जिवित हुँदा हुँदै भतिजा नाताका यि पुनरावेदकले मृतकको अपुताली पाउन सक्ने अवस्था अपुतालीको १ नं.मा भएको प्रावधान मुताविक पाउन सक्ने अवस्था देखिएन । साथै यस्तै प्रकृतिको बाबुलाल साहु तेली बिरुद्ध गुनिया तेलिन भएको अपुताली मुद्दामा (ने.का.प.२०४५ अंक २ नि.नं.३३५२ पृष्ठ ९६ मा यसै अदालतबाट प्रतिपादित सिद्धान्त हेर्दा अंश र अपुताली भन्ने दुई बेग्लाबेग्लै अवधारणा हुन । पुस्ताको हिसावले विचार गर्दा पनि लोग्ने स्वास्नी समान पुस्तामा पर्दछन भने छोरा दोश्रो पुस्तामा पर्न आउछ । अपुताली पहिला समान पुस्तामा र त्यस पछि मात्र दोश्रो पुस्तामा जान्छ भनी उल्लेख भएको पाइयो । उपरोक्त अपुतालीको १ नं.र नजीर समेतको आधारमा पुनरावेदक प्रतिवादी मृतकका भतिजा नाताका देखिंदा सहोदर दाजु जिवित छँदाछँदै निजले पाउने देखिनआएन ।

१४.   त्यसै गरी अपुतालीको दुई नं.हेर्दा अपुताली पर्दा मर्नेको लोग्ने स्वास्नी, छोरा वा छोराका छोरा भए सम्म छोरीले अपुताली पाउदैन । त्यस्ता कोही नभए छोरीले अपुताली पाउँछ । छोरीहरु मध्ये कोही कन्या र कोही बिवाह भएकी वा पोइल गएकी भए प्रत्येक कन्या छोरीले दुई खण्ड र प्रत्येक बिवाह भएकी वा पोइल गएकी छोरीले एक खण्डको हिसावले अपुताली पाउँछभन्ने प्रावधान मृतकका श्रीमती छोरा छोरी कोही नभएकोले आकर्षित हुने देखिएन । सो बाहेक सोही २ नं.को अन्तिम वाक्यमा बर्णित व्यवस्था हेर्दा छोरी नभए संगै बसेका हकवाला भए त्यस्ता हकवालाले र त्यस्ता हकवाला नभए अरु हकवालाले अपुताली पाउँछभन्ने उल्लेख भए तर्फ हेर्दा वादी डम्बरबहादुर र मृतक गुमान सिंह सहोदर दाजु भाई भई समान हाँगाको समान हकवाला भएको देखिंदा मृतक गुमान सिंहको अपुताली समान हाँगाका वादी डम्बरबहादुरले नै पाउने देखिन आयो । पुनरावेदक प्रतिवादी भतिजा नाताका देखिंदा र समान हाँगाका नदेखिंदा निजले पाउने भनी व्याख्या गर्न मिलेन ।

१५.   वादीले मालपोत कार्यालय, सुनसरीमा ०५३।११।१९ मा मृतकका नाउँको जग्गा आफ्नो नाममा नामसारी गरिपाऊँ भनी दिएको निवेदनको टुङ्गो नलगाई प्रतिवादीले मिति २०५३।११।२१ मा दिएको बिवादित जग्गाको नामसारी सम्बन्धी निवेदनमा टुङ्गो लगाई मृतकका नाउँका जग्गा मालपोत कार्यालयले प्रतिवादीका नाममा नामसारी गर्ने गरी ०५३।१२।५ मा निर्णय गरेको देखिंदा मालपोत कार्यालयको उक्त निर्णय पनि स्वभाविक देखिन आएन ।

१६.    पुनरावेदक तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ताले अपुतालीको १२ नं.को व्याख्या गरी इजलासको ध्यानाकर्षण गराउनु भए तर्फ हेर्दा सो नं.को व्यवस्था हेर्दा कुनै भाई अंश लिई भिन्न बसेको र कुनै भाइ संग बसेकोमा संग बसेको भाइ मरि अपुताली प¥यो भन्ने भिन्न भएको भाइले पाउदैन । विमातृक भए पनि संग बसेकाले मात्र पाउँछ । संग बसे पनि खानु पिउनु आफ्ना अंशबाट आफ्ना हिस्सा बमोजिम राखी खाएका रहेछन भने संग बसेको भए पनि त्यस्तोमा र भिन्न बसेका भाइ भाइको अपुतालीमा समेत मर्ने भाईको सहोदर भाइहरुले पाउँछन । विमातृक पट्टिकाले पाउदैननभनी उललेख भएको देखिन्छ । यो नं.अनुसार प्रस्तुत बिवादमा सो नम्बर भतिजाको सम्बन्धमा आकर्षित हुन नसक्ने हुँदा प्राशगिंक हुन आउदैन । मृतक गुमान सिंहले आफ्नो अंश भतिजासंग मिसाई बसेका भन्ने समेत देखिदैन । साथै यो नं.को व्यवस्था दाजु भाइको अपुताली परेकोमा सगोलको र भिन्न भइ बसेकोमा अपुताली पाउने रोल क्रम नजिक र टाढा देखाउन गरिएको हो । यस अनुसार हेर्दा पनि पुनरावेदक मृतक काकाको दाजु छँदा छँदै अपुताली पाउने नजिकको रोलक्रमका व्यक्ति देखिन आएनन् ।

१७.   यसप्रकार दाजु भाई नातामा बिवाद नदेखिएको, मृतकलाई गुमान सिंहले पालन पोषण गरेको भन्ने स्वतन्त्र प्रमाण पेश हुन नसकेको स्थितिमा उपरोक्त आधार र कारणबाट मृतक गुमान सिंहको अपुताली निजका सहोदर दाजु वादी डम्बरबहादुरले पाउने देखिएकोले वादी दावी बमोजिम बिवादित जग्गा प्रतिवादी उद्धवबहादुरका नाउँमा नामसारी दर्ता गर्ने गरेको मालपोत कार्यालयको ०५३।१२।५ को निर्णय समेत बदर भई वादी डम्बरबहादुरका नाउँमा हक कायम हुने ठहर्छ साथै वादी दावी नै पुग्न नसक्ने ठहर्‍याइएको शुरु इन्साफ मिलेको नदेखिंदा उल्टी  हुने  ठहर्‍याई  भएको  पुनरावेदन अदालत, विराटनगरको मिति २०५७।११।२ को इन्साफ मिलेकै देखिंदा सदर हुने  ठहर्छ । अन्य कुराको हकमा पुनरावेदन अदालतबाट भएको  फैसलाको तपसिल खण्ड बमोजिम गर्ने गरी प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी वुझाई दिनु ।

 

उक्त रायमा सहमत छु ।

 

न्या.वलराम के.सी.

इति सम्बत २०६२ साल जेष्ठ २४ गते रोज ३ शुभमः––––––

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु