निर्णय नं. ७५०५ - लिखत बदर

निर्णय नं.७५०५ ने.का.प.२०६२ अङ्क २
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री खिलराज रेग्मी
माननीय न्यायाधीश श्री बद्रीकुमार वस्नेत
सम्वत २०५८ सालको दे.पु. नं. –७८३१
फैसला मितिः २०६२।२।३१
मुद्दा :– लिखत बदर
पुनरावेदक / प्रतिवादी बारा जिल्ला कलैया नगरपालिका वडा नं. २ बस्ने शंकरलाल साह कानु
विरुद्ध
प्रत्यर्थीः / वादीः ऐ. तेतरीया गा.वि.स. वडा नं. २ बस्ने केशी चोधरी
§ दाताले क्रेतालाई जुनसुकै अवस्थामा बिक्री गरेको वा हकछाडि दिएको सम्पत्ति उपलब्ध गराउनु निजको दायित्व हुने ।
§ दर्ता श्रेस्तामा कट्टा हुन बाँकी रहेको आधारमा दोहरो लिखत दर्ता गर्नु दुषित कृया हुने र त्यस्तोमा हदम्यादले छेकवार गर्न नसक्ने ।
(प्रकरण नं.११)
§ लिखतबाट हकछाडि सकेको जग्गा साविक दर्तावालाले आफ्नो हकै नरहेको अवस्थामा पछि गरिदिएको लिखत र सो लिखतको आधारबाट पछि भएको दर्ता समेत बदर हुने देखिंदा एउटै जग्गामा दोहोरो दर्ता भएकोमा पछिल्लो दर्ताले कानूनी मान्यता प्राप्त गर्न नसक्ने कानूनी व्यवस्था समेत रहेकाले त्यस्तो पछिल्लो मितिको लिखतको अस्तित्व कायम रहन नसक्ने स्थितिमा हदम्यादको कारण देखाई फिराद खारेज गर्ने ठहराएको शुरु जिल्ला अदालतको फैसला उल्टी गरी विवादको जग्गाको सम्बन्धमा भएको लिखत तथा सोको आधारमा भएको दर्ता समेत बदर हुने ।
(प्रकरण नं.१५)
पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री श्यामराज ढुंगेल
प्रत्यर्थी वादी तर्फवाटः
अवलम्वित नजीरः
फैसला
न्या.खिलराज रेग्मीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तर्गत पुनरावेदन अदालत हेटौंडाको ०५७।३।२६ को फैसला उपर प्रतिवादीको तर्फबाट पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :–
२. जिल्ला बारा गा.वि.स. उमजन वार्ड नं. ९ बस्ने विपक्षी हरि चौधरीको पिता विपत चौधरीको नाममा दर्ता रहेको जिल्ला बारा गा.वि.स. तेतरिया वार्ड नं. ६ को कि.नं. २९४ को ०–१–१५ र कि.नं. २९२ को ०–१५–१० मध्ये उत्तर तर्फको ०–८–० मिति ०३१।२।१६ मा मलाई हालैको बकसपत्र गरिदिएबाट कि.नं. २९२ को जग्गा कित्ताकाट भई कि.नं. ३४४ को ०–८–० र २९४ को ०–१–१५ दाखेल खारेज भई मेरा नाममा जग्गाधनी दर्ता श्रेस्ता कायम भई मैले जग्गाधनी दर्ता प्रमाण पूर्जा पाएको छु । कि.नं. २९२ को ०–१–१५ मध्ये दक्षिण तर्फबाट ०–७–१० सोही मितिमा चुनी चौधरीलाई बकसपत्र गरिदिएको हुँदा कि.नं. ३४५ मा चुनी चौधरीको नाममा दर्ता श्रेस्ता कायम हुन गएको र जग्गाधनी दर्ता प्रमाण पूर्जा प्रदान भएको छ र मैले जोतभोग तिरो तिरान गरी आएको छु । कलैया नगरपालिका वार्ड नं. ५ बस्ने माधव प्रसाद उपाध्यायले कि.नं. ३४५, २९४ को जग्गाबाट टण्टा खिचोला गरे भनि वृजकिशोरबाट मिति ०५४।१०।२१ मा थाहा भएकोले के कति भएको रहेछ भनि लेखतको नक्कल ०५४।१०।२२ मा लिई हेर्दा कि.नं. २९४ को जग्गा मेरा नाममा दा.खा. दर्ता भई जग्गाधनी दर्ता श्रेस्ता कायम भई जग्गाधनी दर्ता प्रमाण पूर्जा मलाई दिएपछि विपत चौधरीको नामको दर्ता श्रेस्ता कट्टा गर्नुपर्नेमा कर्मचारीको गल्तीले दर्ता श्रेस्ता खडै रहन गएको कारणबाट उल्लेखित कि.नं. २९४ को जग्गा विपत चौधरीले शंकरलाल साह कानुलाई मिति ०४६।९।११ मा राजिनामा पारित गरिदिएको र निज शंकरलाल साहले माधव प्रसाद उपाध्यायलाई ०५१।२।३ मा राजिनामा पारित गरिदिएको कुरो थाहा हुन आएकोले मेरो नाममा दर्ता कायम रहेको कि.नं. २९४ को जग्गा विपत चौधरीले शंकरलाल साहलाई गरिदिएको ०४६।९।११ को राजिनामा लेखत र दर्ता समेत अनाधिकार तथा दुषित दर्ताको देखिएकोले सबै दुषित लेखत दर्ता बदर गरी पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।
३. प्रतिवादी हरि चौधरी थारुका नाउँमा शुरु अदालतबाट जारी भएको ३० दिने इतलायनामा मिति ०५४।१२।२२ गते आफ्ना हातैले बुझि तामेल भएको म्यादभित्र प्रतिउत्तर नदिई शुरु म्यादै गुजारी बसेको रहेछ ।
४. वादीले विपत चौधरीबाट ०३१।२।१६ मा बकसपत्र पारित गराइएको जग्गा तेतरिया गा.वि.स. वार्ड नं. ६ को होइन, वार्ड नं. ३ को जग्गा हो सो लेखत पेश गर्दा फिराद नैं दर्ता नहुने देखि अदालतलाई समेत झुक्याई वादीले प्रस्तुत फिराद दिएको हो आफ्नो हक पुगेको लेखत प्रमाण अ.वं. ७७ नं. बमोजिम पेश नगरी सो लेखत यस ठाउँमा छ भनि भन्न नचाही मौन रहेबाट पनि वादी दावी सरासर झुठा हो र वार्ड नं. ३ को जग्गालाई वार्ड नं. ६ भनि कर्मचारीको गल्तीबाट श्रेस्ता कायम हुँदैमा मान्य हुँदैन । वादीलाई ३ नं. वार्डको जग्गाको लेखत छ भने ६ नं. वार्डको जग्गा देखाई दावी गर्ने अधिकार अ.वं. ८२ नं. ले नहुँदा वादीको फिराद खारेजभागी छ भन्ने समेत व्यहोराको प्र. शंकरलाल साह कानुको प्रतिउत्तरपत्र ।
५. मिति ०४६।९।११ मा कि.नं. २९४ को जग्गाको लिखत पारित भएपछि मात्र सोही लिखतको आधारमा सो जग्गा प्रतिवादीका नाउँमा दर्ता हुन आएको देखिनाले मूल लिखत बदर मुद्दा नैं जग्गा पजनीको १७ नं. को हदम्याद नाघी करीब १० वर्षपछि लिखत बदर गरी पाउँ भन्ने नालिश परेको देखिंदा मुलुकी ऐन, जग्गा पजनीको १७ नं. को हदम्याद नाघी दर्ता हुन आएको प्रस्तुत फिरादमा अन्य प्रमाण बुझी रहन नपर्ने भएकाले प्रस्तुत फिराद हदम्यादको अभावमा मुलुकी ऐन, जग्गा पजनीको १७ नं. र अ.वं. १८० नं. अनुसार खारेज हुने ठहर्छ भन्ने बारा जिल्ला अदालतको ०५५।३।१० को फैसला ।
६. मेरा दाता विपत चौधरीले कि.नं. २९४ को जग्गा मलाई बकसपत्र गरिदिएबाट मेरो नाममा श्रेस्ता कायम भै मैले पूर्जा पाइसकेपछि विपत चौधरीको श्रेस्ता निष्क्रिय भै जग्गामा विपत चौधरीको हक नैं नभएकोले निजले शंकरलाललाई गरिदिएको लिखत दुषित एवं अनाधिकार भएकोले बदर गर्नुपर्नेमा हदम्यादको प्रश्न उठाई जग्गा पजनीको १७ नं. को गलत अर्थ लगाई दावी खारेज गर्ने ठहराएको फैसला न्याय संगत नभएकोले उक्त फैसला बदर गरी न्याय पाउँ भन्ने समेत व्यहोराको पुनरावेदन जिकिर ।
७. प्रस्तुत मुद्दा दे.पु.नं. १८७० को अन्तरप्रभावी भएको र सो मुद्दामा आजै प्रत्यर्थी झिकाउने आदेश भएकोले यसमा पनि छलफलका लागि अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ बमोजिम प्रत्यर्थी झिकाउनु भन्ने ०५६।९।१९ को आदेश ।
८. यसमा एउटै जग्गा दोहोरो दर्ता भएकोमा पछिल्लो दर्ताले कानूनी मान्यता प्राप्त गर्न नसक्ने कानूनी व्यवस्था समेत रहेकाले त्यस्तो पछिल्लो मितिको लिखतको अस्तित्व कायम रहन नसक्ने हुँदा हदम्यादको आधार देखाई फिराद दावी खारेज गर्ने ठहराएको बारा जिल्ला अदालतको फैसला मिलेको नदेखिंदा उल्टी हुने र विवादको जग्गाको ०४६।९।११ को लिखत तथा सोको आधारमा भएको दर्ता समेत बदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत हेटौंडाको मिति ०५७।३।२६।२ को फैसला ।
९. हदम्याद सम्बन्धमा केही नबोली पुनरावेदन अदालतबाट फैसला भएको हुँदा उक्त फैसला बदर गरी फिराद खारेज गर्ने गरेको शुरु फैसला बमोजिम गरी इन्साफ पाउँ भन्ने व्यहोराको प्रतिवादीको पुनरावेदन जिकिर ।
१०. नियमबमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री श्यामराज ढुङ्गेलले ०४६।९।११ मा विपतबाट शंकरले कि.नं. २९४ को जग्गा रा.पा. गरी लिएकोमा हदम्याद नाघी दायर भएको फिराद खारेज हुनुपर्छ भनि गर्नुभएको बहस सुनी मिसिल संलग्न कागज प्रमाणको मूल्याङ्कन गर्दा वादी दावी बमोजिम कि.नं. २९४ को जग्गा लिखत पारित गरी विपतबाट शंकरलाल साह कानुले लिएको ०४६।९।११ को लिखत र सोको आधारमा भएको दर्ता समेत बदर हुने ठहराएको पुनरावेदन अदालत हेटौंडाको फैसला मिलेको छ, छैन निर्णय दिनुपर्ने देखियो ।
११. निर्णयतर्फ विचार गर्दा यसमा विवादित कि.नं. २९४ को जग्गा मिति ०३१।२।१६ को लिखतबाट विपत चौधरीले हालैको बकसपत्र गरी केशी चौधरीलाई हकछाडि दिएको देखिन्छ । यसरी उक्त कि.नं. २९४ को जग्गा वादी केशी चौधरीको हक कायम हुन आएको देखिन्छ । अर्कोतर्फ सोही कि.नं. २९४ को जग्गा साविक जग्गाधनी विपत चौधरीले नैं मिति ०४६।९।११ मा शंकरलाल साह कानुलाई राजिनामा पारित गरिदिएबाट उक्त जग्गाको दोहोरो दर्ता कायम हुन गएको देखिन्छ । यस स्थितिमा साविक जग्गाधनी विपत चौधरीले दोहोरो लिखत गरिदिएको कारणबाट एउटै जग्गाको दोहोरो दर्ता कायम हुन गएको भएपनि त्यस्तो दोहोरो दर्ता भएको स्थितिमा पछिल्लो दर्ताले मान्यता पाउन नसक्ने भै पहिलेको दर्ताले नैं मान्यता पाउने देखिन्छ। अतः मिति ०३१।२।१६ को लिखतको आधारमा केशी चौधरीको नाउँमा भएको दर्ताले मान्यता पाएको स्थितिमा ०४६।९।११ मा विपतले शंकरलाई गरिदिएको लिखतले कानूनी मान्यता प्राप्त गर्न सक्ने अवस्था नहुँदा उक्त लिखत बदर हुने देखिन्छ । जहाँसम्म हदम्यादको प्रश्न छ, दाताले क्रेतालाई जुनसुकै अवस्थामा बिक्री गरेको वा हकछाडि दिएको सम्पत्ति उपलब्ध गराउनु निजको दायित्व हुन्छ । दर्ता श्रेस्तामा कट्टा हुन बाँकी रहेको आधारमा दोहरो लिखत दर्ता गर्नु दुषित कृया हुने र त्यस्तोमा हदम्यादले छेकवार गर्न सक्दैन ।
१२. तसर्थ उपरोक्त आधार कारणहरुबाट मिति ०३१।२।१६ को लिखतबाट हकछाडि सकेको जग्गा साविक दर्तावालाले आफ्नो हकै नरहेको अवस्थामा पछि गरिदिएको लिखत र सो लिखतको आधारबाट पछि भएको दर्ता समेत बदर हुने देखिंदा एउटै जग्गामा दोहोरो दर्ता भएकोमा पछिल्लो दर्ताले कानूनी मान्यता प्राप्त गर्न नसक्ने कानूनी व्यवस्था समेत रहेकाले त्यस्तो पछिल्लो मितिको लिखतको अस्तित्व कायम रहन नसक्ने स्थितिमा हदम्यादको कारण देखाई फिराद खारेज गर्ने ठहराएको शुरु बारा जिल्ला अदालतको फैसला उल्टी गरी विवादको कि.नं. २९४ को जग्गाको सम्बन्धमा भएको मिति ०४६।९।११ को लिखत तथा सोको आधारमा भएको दर्ता समेत बदर हुने ठहर्छ भनि गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला मनासिब देखिंदा सदर हुने ठहर्छ। पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार बुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या.वद्रीकुमार वस्नेत
इति सम्बत् २०६२ जेष्ठ ३१ गते रोज ३ शु्भम्–