शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८७५४ - सरकारी छाप दस्तखत कीर्ते

भाग: ५४ साल: २०६९ महिना: बैशाख अंक:

ने.का.प. २०६९,            अङ्क १

निर्णय नं. ८७५४

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह

माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय

फैसला मितिः २०६८।७।२२।३

संवत् २०६५ सालको CR०६५२

संवत् २०६६ सालको CR२३७

मुद्दाःसरकारी छाप दस्तखत कीर्ते 

पुनरावेदक/वादीः त्रिभुवन विमानस्थल भन्सार कार्यालयको पत्रले नेपाल सरकार

विरुद्ध

प्रत्यर्थी प्रतिवादीः काठमाडौँ जिल्ला, का.म.न.पा.वडा नं.१२ टेकु वस्ने अशोकमान शाक्य समेत

 

पुनरावेदक/प्रतिवादीः काठमाडौ जिल्ला का.म.न.पा. वार्ड नं. १२ वस्ने राजेन्द्र शाही

विरुद्ध

प्रत्यर्थी/वादीः त्रिभुवन विमानस्थल भन्सार कार्यालयको पत्रले नेपाल सरकार

 

शुरु अदालतः

मा.न्या.श्री शुष्मालता माथेमा

पुनरावेदन फैसला गर्नेः

मा.न्या.श्री हरिराम कोइराला

मा.न्या.श्री बुद्धिप्रसाद रेग्मी

 

§  ब्लुबुक यातायात कार्यालयबाट जारी नभै त्यसमा भरिएका विवरण नक्कली भएको भन्ने तथ्य यातायात व्यवस्था कार्यालयको पत्र र विशेषज्ञको लिखत परीक्षण प्रतिवेदनबाट समेत समर्थित भएकाले त्यस्तो नक्कली कागजमा सरकारी अड्डाको छाप समेत लगाइएको अवस्थामा उक्त लिखत बनाउने कार्यबाट मुलुकी ऐन, कीर्ते कागजको प्रावधानबमोजिम कसूर भएको पुष्टि हुने 

§  कसूरमा इन्कार रहेको मात्र कथनले कुनै अभियुक्तलाई निर्दोष मान्न नसकिने, सो इन्कारी बयानलाई तथ्यपूर्ण ठोस एवं विश्वासप्रद प्रमाणबाट पुष्टि गर्नुपर्ने 

§  कीर्ते जस्तो फौजदारी अपराधमा कीर्ते गर्ने कार्यमा संलग्न रहेको भनी प्रमाणित हुन नसकेका व्यक्तिहरूलाई अभियोगदावी मात्रको भरमा सजाय गर्नु फौजदारी न्यायको सिद्धान्तको प्रतिकूल हुने 

(प्रकरण नं.३)

 

पुनरावेदक वादी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता योगराज बराल

प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताहरू बालकृष्ण नेउपाने, राजेश्वर अधिकारी र नेत्र आचार्य

अवलम्बित नजीरः

सम्बद्ध कानूनः

§  कीर्ते कागजको महलको १,,१२ नं.

 

फैसला

            न्या.रामकुमार प्रसाद शाहः पुनरावेदन अदालत पाटनको मिति २०६४।७।१२ को फैसलाउपर वादी प्रतिवादी दुवै पक्षबाट दायर भएको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम मुद्दा दोहोर्‍याई हेर्न निस्सा प्रदान भै पुनरावेदनको रोहमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :

            नक्कली कागजात तयार गर्ने कार्यमा संलग्न संजीव तुलाधर, अशोकमान शाक्य, रघुराज पन्त, राजेन्द्र शाही र अरुण सेढाईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मिति २०६२।३।५को निर्णयअनुसार अनुसन्धान कारवाहीका लागि पठाएको छ भनी जिल्ला प्रहरी कार्यालय काठमाडौँलाई त्रिभुवन बिमानस्थल भन्सार कार्यालयले लेखेको च.नं १३७ मिति २०६२।४।२३ को पत्र 

            यातायात व्यवस्था कार्यालय एकान्तकुना ललितपुरमा लाइसेन्स सम्बन्धी लेखापढी गर्ने काम गर्दाका अवस्था चिनजान भएका राजेन्द्र शाही म भएको ठाउँमा आई मलाई एउटा ब्लुबुक दिनु पर्यो भनेकाले यातायात कार्यालयको भर्‍याङ मुनी फालेको ब्लुबुक मैले दिएको एक हप्तापछि ब्लुबुकमा गाडीको विवरण भरी छाप लगाई दिनु भनी राजेन्द्र शाही आएकाले मैले कार्यालयको छाप लगाई दिएपछि मलाई रु.४,०००।राजेन्द्रले दिएकाले प्रदूषण जाँच कार्डको स्टीकर समेत लगाई दिएको हुँ । पछि भन्सार नतिरी ल्याएको गाडीको विवरण भरी राजेन्द्र शाहीले लगेको थाहा पाएको हुँ । मैले बा.४ च.४५०७ नं को गाडीको विवरण कीर्ते गरी भरेको होइन । मैले यातायात कार्यालयबाट दिएको ब्लुबुकमा राजेन्द्र शाही समेत को को भै भरे मलाई थाहा भएन । राजेन्द्र शाहीले ल्याएको ब्लुबुकमा मैले यातायात व्यवस्था कार्यालयको छाप लगाई दिएको सम्म हो भनी प्रतिवादी अरुण सेढाईले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान 

            बुझिएसम्मको संकलित सबूद प्रमाणको आधारमा रु.४,०००।लिई यातायात व्यवस्था कार्यालयबाट ब्लुबुक लिई कीर्ते गरी बा.४ च ४५०७ नं को गाडीको विवरण भरी यातायात व्यवस्था विभागको छाप लगाई प्रतिवादी अरुण सेढाईले राजेन्द्र शाहीलाई दिई संजीव तुलाधर, राजेन्द्र शाहीले सो प्रमाणपत्र सम्बद्ध कुराहरू हुन् भन्ने बिश्वास दिलाउने विवरणहरू लेखी अशोकमान शाक्यलाई सवारी दर्ता प्रमाणपत्र दिई सोही प्रमाणपत्रका आधारमा नयाँ बा.३ चं. ६२८६ नं कायम गरी भन्सार नतिरी ल्याएको मारुती गाडी प्रतिवादी रघुराज पन्तले प्रयोग गरी प्रतिवादीहरूले कीर्ते कागजको १, ९ र १२ नं बमोजिमको कसूर गरेको पुष्टि हुन आएकाले प्रतिवादीहरूलाई ऐ.ऐनको ९ नं. बमोजिम र ऐ.को १२ नं बमोजिम थप सजाय गरिपाऊँ भन्ने अभियोग माग दावी 

            यातायात व्यवस्था बिभागमा बिदाको समयमा गई लेखन्दासी गर्ने गरेको र त्यसरी लेखन्दासी गर्दाको सिलसिलामा गाडीको जाँच पास भरी दिंदाका अवस्था एकछिन मात्र राजेन्द्र शाहीसँग भेट भएको हो । अन्य प्रतिवादीहरूलाई मैले देखेको र चिनेको पनि छैन । मैले राजेन्द्र शाहीलाई ब्लुबुक दिएको र सो ब्लुबुकमा बा.४.च.४५०७ नं को गाडीको बिवरण भरी कीर्ते नक्कली सवारी प्रमाणपत्र मैले बनाएको होइन को कसले के कसरी कीर्ते गरे मलाई थाहा छैन भनी प्रतिवादी अरुण सेढाईले अदालतमा गरेको बयान 

            प्रतिवादीमध्येका राजेन्द्र शाहीबाट मैले रुपैया लिनुपर्ने भएको र निजले सेतो रंगको बा.४.च.४५०७ नं. को मारुतीकार मलाई दिने कुरा भै मेरो नाममा दर्ता गराउन कार्यालयमा जाँदा केही काम भएन । पछि मेरो फोटो टाँसी कार्यालयको छाप लगाई ब्लुबुक घरमा ल्याइदिएकाले सो ब्लुबुकमा मैले मेरो सही गरेको हुँ । पछि शंका लागि कार्यालयमा गई बुझ्दा गाडी नै दर्ता नभएको कुरा थाहा पाई गाडी राजेन्द्र शाहीलाई नै फिर्ता दिएं । मैले सरकारी छाप दस्तखत समेत कीर्ते गरी गाडीको ब्लुबुक बनाउन राजेन्द्र शाहीलाई फोटो नदिएको मेरो विवरण राजेन्द्र शाहीलाई थाहा भएकाले निजैले मेरो फोटो टाँसी विवरण भरी कीर्ते गरेका हुन् । मेरो यसमा कुनै संलग्नता छैन भन्ने समेत व्यहोराको अशोकमान शाक्यले अदालतमा गरेको बयान 

            प्रतिवादी राजेन्द्र शाही गाडीको काम गर्ने भएकाले मलाई रुपैयाको आवश्यक प¥यो । सक्कल फाइनान्समा राखेको छु भनी वा.३ च.२६५२ नं को गाडीको ब्लुबुकको फोटोकपी देखाएकाले विश्वासमा परी गाडी बन्धकी राखी राजेन्द्र शाहीलाई रुपैया दिएको हुँ । पछि मैले बन्धकी राखेको गाडी सम्बन्धमा चर्चा चली अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान समेत गरेको छु । बा.४ च ४५०७ नं. को ब्लुबुक बनाउने कार्यमा मेरो कुनै संलग्नता छैन को कसले सरकारी छाप दस्तखत कीर्ते गरे मलाई थाहा छैन भन्ने समेत व्यहोराको संजीव तुलाधरले अदालतमा गरेको बयान 

            मेरो अफीसमा काम गर्ने राजेन्द्र शाहीले अशोकमान शाक्यबाट फिर्ता लिएको बा.३ च.६२८६ नं को गाडी मलाई केही दिनको लागि चलाउन दिएकाले केही दिन गाडी चढेको हुँ । बा.४ च.४५०७ नं को ब्लुबुक सरकारी छाप दस्तखत कीर्ते गरी मैले बनाएको होइन यसमा मेरो संलग्नता छैन भनी प्रतिवादी रघुराज पन्तले म्यादमा उपस्थित भै अदालतमा गरेको बयान 

            मैले कुँवर भन्ने बुटवलतिरको मानिसबाट खरीद गरी लिएको गाडी अशोकमान शाक्यले खरीद गर्ने कुराकानी भै गाडी नामसारी गर्ने सिलसिलामा कुँवर भन्ने व्यक्तिले अरुण सेढाईसँग भेट गराई कुँवर भन्ने व्यक्तिको भनाइअनुसार अशोकमान शाक्यको नाममा गाडी दर्ता गराई ब्लुबुक तयारगरी ल्याई दिन्छन् भनेको र त्यसको केही दिनपछि बा.४ च ४५०७ नं को गाडीको ब्लुबुक अशोकमान शाक्यको नाममा बनाई नगरपालिकामा बुझाएको करको रसीद समेत अरुण सेढाइले ल्याई मलाई दिएकाले सोही कागज अशोकमान शाक्यलाई दिएको हुँ । मैले अरुण सेढाईबाट ब्लुबुक ल्याई भरी सरकारी छाप दस्तखत कीर्ते मैले गरेको छैन भनी म्यादमा उपस्थित भै राजेन्द्र शाहीले अदालतमा गरेको वयान 

            प्रतिवादी संजीव तुलाधरको साक्षी सुवास थापा, प्रतिवादी अशोकमानको साक्षी हिमालरत्न शाक्य, प्रतिवादी राजेन्द्र शाहीको साक्षी रविन्द्र कपाली, प्रतिवादी रघुराज पन्तको साक्षी शिवलाल श्रेष्ठले गरेको बकपत्र मिसिल सामेल रहेछ 

            यसमा विवादित बा.४ च. ४५०७ नं को सवारी दर्ता प्रमाणपत्र आधिकारिक निकायबाट प्राप्त गरेको नभई सो प्रमाणपत्रको विभिन्न महलमा सच्याउनुको साथै मोटर साइकलको लागि प्रदान गरिएको प्रमाणपत्र गाडीको लागि प्रयोग गरिएको समेतबाट कीर्ते काम भएको देखिन आएको र सो कीर्ते कार्य गर्ने गराउने कार्यमा प्रतिवादी राजेन्द्र शाहीले रकम दिई प्रतिवादी अरुण सेढाईले पुरानो ब्लुबुक उपलब्ध गराई छाप समेत लगाईदिएको देखिन आएकोले निज प्रतिवादीद्वय राजेन्द्र शाही र अरुण सेढाईले अभियोग दावीबमोजिम कीर्ते कागजको १, , १२ नं को कसूर गरेको ठहर्छ । सो ठहर्नाले निजहरूलाई कीर्ते कागजको ९ नंं बमोजिम जनही रु.५०।जरीवाना र १२ नं बमोजिम थप जनही एकवर्ष कैद समेत हुन्छ । प्रत्यक्ष प्रमाणको अभावमा प्रतिवादीहरू अशोक मान शाक्य, संजीव तुलाधर र रघुराज पन्तले कसूर गरेको पुष्टि भएको नदेखिंदा निजहरूले अभियोग दावीबाट सफाइ पाउने ठहर्छ भन्नेसमेत व्यहोराको शुरु काठमाडौ जिल्ला अदालतको मिति २०६३।७।२०।२ को फैसला 

            अरुण सेढाईउपर मात्र जाहेरी परेकोमा म पुनरावेदक समेतलाई मुद्दा चलाई सजाय गरिएको, म पुनरावेदकले त्रिभुवन बिमान भन्सार कार्यालयबाट गाडी चोरी पैठारीमा सजाय पाईसकेको अवस्थामा आफूले कीर्ते गर्दै नगरेको कार्यमा सरकारी छाप दस्तखत कीर्ते गरेको भनी कुनै कारणबाट पनि प्रमाणको पुष्टि नभएको अवस्थामा जरीवाना र कैद गर्ने गरी काठमाडौँ जिल्ला अदालतबाट फैसला भएको त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरी अभियोग दावीबाट सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी राजेन्द्र शाहीको पुनरावेदन जिकीर 

            प्रतिवादी रघुराज पन्तले विवादित गाडी राजेन्द्रबाट लिएर चढी हिड्दाकै अवस्थामा पक्राउ परेको र के कुन अवस्थाको गाडी हो भनी जानकारी नलिई प्रयोग गरेको अवस्था छ भने प्रतिवादी संजीव तुलाधरले बयान गर्दा नक्कली कागजात बनाई प्रयोग गरेको गाडी आफूले बन्धकी राखेको कुरामा साविती रही बयान गरेको र प्रतिवादी अशोकमान शाक्यले बयान गर्दा निजका नामको बा.४ च.४५०७ को गाडी दर्ता भएको र सो गाडी संजीव तुलाधर र राजेन्द्र शाही भई बिक्री गरेको भन्ने कुरा खुलेको अवस्था छ भने गाडीको रकम बारे ताकेता गरेको स्वीकारेका छन् । यस्तो क्रियाकलापबाट निज संजीव तुलाधरको कीर्ते कार्यमा संलग्नता देखिंदादेखिदै कीर्ते ब्लुबुक तयार भएको अवस्थामा निजको संलग्नता र सहमति बेगर ब्लुबुक कीर्ते तयार हुन सक्ने अवस्था देखिंदैन । तसर्थ यी प्रतिवादीहरू अशोकमान शाक्य, रघुराज पन्त र संजीव तुलाधर समेतको मिलेमतो, सहमतिबाट राजेन्द्र शाही र अरुण सेढाईबाट ब्लुबुक तयार भएको अवस्था हुँदाहुँदै दुई जना प्रतिवादीलाई सजाय गरी अन्य प्रतिवादीहरूलाई सफाइ दिनेगरी गरेको शुरु काठमाडौँ जिल्ला अदालतको फैसला त्रुटियुक्त भई बदरभागी छ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारको पुनरावेदन पत्र 

सहअभियुक्त राजेन्द्र शाहीले अदालतमा बयान गर्दा गाडी नामसारीको क्रममा कुँवर भन्ने व्यक्तिले भेट गराई दिएका र अरुण सेढाईले सबै कागज बनाई दिएको भनी अरुण सेढाईलाई पोल गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि सोहीअनुसार उल्लेख गरेको । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय हेर्दा बा.४ च.४५०७ को सवारी दर्ता प्रमाणपत्र गाडीलाई नभई मोटर साइकललाई प्रदान गरिएको भन्ने व्यहोरा देखिएको । विवादित बा.४ च.४५०७ नं को सवारी दर्ता प्रमाणपत्र आधिकारिक निकायबाट प्रतिवादीहरूले प्राप्त गरेको नदेखिएको सो प्रमाणपत्रका विभिन्न ठाउँमा सच्याएको र खुर्केको भनी विशेषज्ञको राय आएकोबाट कीर्ते भएको देखिन आएको । प्रतिवादी राजेन्द्र शाहीले रकम दिई प्रतिवादी अरुण सेढाईले पुरानो ब्लुबुक उपलब्ध गराई छाप समेत लगाई दिएको प्रमाणित हुन आएकोले अभियोग माग दावीबमोजिम कसूर गरेको ठहराएको काठमाडौँ जिल्ला अदालतको मिति २०६३।७।२० को फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको फैसला 

            सवारी दर्ता प्रमाणपत्र बन्ने बनाउने कार्यमा मेरो कहिकतै संलग्नता छैन । म निवेदक एउटा सीधासादा नेपाली नागरिक भएको नाताले मलाई मेरो मित्र कुँवरजी भन्नेले यातायात व्यवस्था कार्यालयका कर्मचारीहरू बस्ने ठाउँमा लगेर प्रतिवादी मध्येका अरुण सेढाईलाई सम्बन्धित कार्यालयको कर्मचारी हुन् भनी चिनाई दिनु भएको थियो । अरुण सेढाईले नै उक्त कार्यालयको सबै काम सम्पन्न गरी दिएका हुन् । कामको सन्दर्भमा निजले नै सरकारी राजश्व दस्तूर लाग्छ भनेकाले मैले निजमार्फत् दस्तूर बुझाई उक्त ब्लुबुक लिई आएको हुँ 

            ब्लुबुक बनाउने कार्यमा अरुण सेढाईको मात्र संलग्नता छ भन्ने कुरा अरुण सेढाईको बयानको स.ज.४, , , , १०, ११, १२, १३, १४, १६ र १९ मा त्यस कार्यालयको लेखन्दास हुँ भनी ब्लुबुक सम्बन्धी सम्पूर्ण काम गरेको भनेबाट र निजले ब्लुबुक बनाई मलाई दिएको भनेबाट प्रष्ट प्रमाणित हुन्छ । उक्त कार्यमा निजको मात्रै संलग्नता रहेको भन्ने कुरा पुष्टि भइसकेपछि म निवेदकको समेत संलग्नता थियो कि भन्ने आशंकाको भरमा सजाय गरिएकोले शुरु तथा पुनरावेदन अदालतको फैसला आत्मगत र त्रुटिपूर्ण छ भन्ने स्पष्ट हुन्छ । यसरी विवादित सवारी दर्ता प्रमाणपत्र बनाउने अरुण सेढाई मात्रै रहे भएको अवस्थामा अरुण सेढाईले मलाई प्रदान गरेको सवारी दर्ता प्रमाणपत्र गाडीको नभै मोटरसाइकलको भएको पाइएको भन्ने हचुवा तर्कको आधारमा मलाई समेत कसूरदार ठहर गर्ने गरेको शुरु काठमाडौँ जिल्ला अदालतको मिति २०६३।७।२० तथा पुनरावेदन अदालतको मिति २०६४।७।१२ को फैसला बिल्कुल हचुवा एवं आत्मनिष्ट तथा कानून एवं नजीर विपरीत छ 

            कथित विधिविज्ञान प्रयोगशालाको प्रतिवेदनमा अंक अक्षर भौतिक रुपमा खुर्किएकोले के कुन अंक अक्षर लेखिएको थियो भन्न नसकिने र सवारीको किसिम महलमा फरक मसी प्रयोग भएको समेतको राय पाइयो भनी उल्लेख गरेको पाइन्छ । उल्लिखित राय व्यक्त गर्ने भनिएका विशेषज्ञ व्यक्तिको रायलाई मेरो विरुद्धमा प्रमाण लगाइएको छ तर निजलाई सम्मानित अदालतमा झिकाई बयान गराएको पनि छैन । मैले जीरह गर्न पाएको पनि छैन । तसर्थ बुझ्न पर्ने प्रमाण नबुझी भएको उक्त फैसला प्रमाण ऐन, २०३१ को दफा ३, ९ र ५४ को प्रत्यक्ष विपरीत भै बदरभागी छ 

            अतः विद्यमान कानून, तथ्य, प्रमाण र नजीर सिद्धान्त तथा निवेदन जिकीरबमोजिम आरोपित कसूरमा मेरो कहिकतै संलग्नता नरहेको, अभियोग दावीका कसूरजन्यकार्य मबाट हुँदै नभएको, यातायात व्यवस्था कार्यालयका कर्मचारी बताउने अरुण सेढाईले नै सम्पूर्ण कार्य गरेको भन्ने कुराको तथ्य धु्रवसत्य रुपमा स्थापित भै सकेको परिप्रेक्ष्यमा निरपराध निर्दोष व्यक्तिलाई कसूरदार कायम गर्ने गरेको काठमाडौ जिल्ला अदालतको फैसला प्रमाण ऐन,२०३१ तथा अन्य प्रचलित कानून, फौजदारी न्यायको मान्य सिद्धान्त एवं समय समयमा सम्मानित सर्वोच्च अदालतबाट स्थापित कानूनी सिद्धान्त समेतको प्रत्यक्ष विपरीत भै त्रुटिपूर्ण रहेको हुँदा शुरु काठमाडौँ जिल्ला अदालतको मिति २०६३।७।२० को फैसला र सो फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको मिति २०६४।७।१२ को फैसला त्रुटिपूर्ण भई बदरभागी भएकोले प्रस्तुत मुद्दा दोहो¥याई हेरी सफाइ दिलाई पूर्ण न्याय पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी राजेन्द्र शाहीको यस अदालतमा दायर भएको निवेदन 

            त्रिभुवन विमानस्थल भन्सार कार्यालयले लेखेको पत्रमा नक्कली कागजात तयार गर्ने व्यक्तिहरू भनी यी पाँचैजना व्यक्तिको नाम स्पष्ट रुपमा उल्लेख गरिएको छ । ब्लुबुक कीर्ते भन्ने तथ्य यातायात कार्यालयको पत्र तथा बिशेषज्ञको परीक्षण प्रतिवेदनबाट पुष्टि भैरहेको अवस्था छ । प्रतिवादी अशोकमान शाक्यको व्यहोरा जस्ताको तस्तै फोटो समेत टाँसेको अवस्थामा उनको सम्लग्नता बिना यो कार्य सम्भव हुने थिएन । ब्लुबुक कीर्ते भएको गाडी चढिराखेको अवस्थामा प्र रघुराज पन्तले अज्ञानमा गाडी चढे होलान भनेर मान्न मिल्दैन । प्र. संजिब तुलाधरले त्यस्तो किर्तै ब्लुबुक भएको गाडी जानाजान बन्धकी राखी ऋण दिएको देखिंदा यी सबै प्रतिवादीहरूको सरकारी कागजात कीर्ते गर्ने कार्यमा प्रत्यक्ष संलग्नता रहेको पुष्टि भै राखेको अवस्थामा दुईजनालाई मात्र कसूरदार ठहराई अन्य तीनजनालाई सफाइ दिने गरी भएको काठमाडौ जिल्ला अदालतको फैसला सदरगरेको पुनरावेदन अदालतको फैसलामा सो हदसम्म मुलुकी ऐन, कीर्ते कागजको १ नं को ब्याख्यामा गम्भीर त्रुटि भएको हुँदा मुद्दा दोहोर्‍याउने निस्सा प्रदान गरी सफाइ पाएका प्रतिवादीहरूलाई समेत अभियोग दावीबमोजिम सजाय होस् भन्ने समेत व्यहोराको नेपाल सरकारको यस अदालतमा परेको निवेदन 

            यसमा प्रतिवादीमध्ये राजेन्द्र शाही र अरुण सेढाईलाई मात्र दावी कसूरमा सजाय हुने ठहरेउपर निजहरू मुद्दा दोहोर्‍याई पाउँ भनी निवेदन दिन आएको देखिएको छैन । तर तिनै प्रतिवादीहरूले सहयोग गरी प्रतिवादी अशोकमान शाक्यको नाममा निजको फोटो टाँसी दस्तखत समेत गरी बनेको ब्लुबुक के कसरी निजको सहयोगको अभावमा तयार भएको हो सोतर्फ विश्लेषणसम्म पनि नगरी निज अशोकमान समेतलाई सफाइ दिने ठहराएको पुनरावेदन अदालत पाटनको फैसला प्रमाण ऐन,२०३१ को दफा ३,५४ अ.बं. १८४क नं. को ब्याख्यात्मक त्रुटिका साथै सर्वोच्च अदालत बुलेटिन २०६४ पूर्णाङ्क ३६४ पृष्ठ ४ नेपाल सरकार बिरुद्ध लोकसाङ्ग नोर्वु लामा भएको सरकारी छाप दस्तखत कीर्ते मुद्दामा प्रतिपादित सिद्धान्तको प्रतिकूल भएको देखिंदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१)(क) र (ख) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरी दिएकोछ । कानूनबमोजिम गर्नु भन्ने समेत व्यहोराको यस अदालतको मिति २०६६।२।१३ को आदेश 

            यसमा यसै मुद्दाको विषयमा मुद्दा दोहोर्‍याई हेरिपाऊँ भनी नेपाल सरकारका तर्फबाट परेको निवेदनउपर सुनुवाई हुँदा दोहो¥याउने निस्सा प्रदान भई फौ.पु.नं ३८६।०६५२ मा दर्ता भई कारवाहीयुक्त अवस्थामा रहेको भन्ने देखिंदा प्रस्तुत निवेदन पनि सोही मुद्दासँग अन्तरप्रभावी भएको तथा पुनरावेदन अदालत पाटनबाट प्रमाण ऐन,२०३१ को दफा ५४ को त्रटिगरी फैसला समेत भएको देखिंदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा १ को खण्ड (क) र (ख) को आधारमा मुद्दा दोहो¥याउने निस्सा प्रदान गरिदिएको छ । लगाउको उल्लिखित मुद्दा साथै राखी नियमबमोजिम पेश गर्नु भन्ने समेत यस अदालतको मिति २०६६।७।१७।३ को आदेश 

            नियमबमोजिम पेशी सूचीमा चढी यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन पत्रसहित मिसिल कागजातहरू अध्ययन गरी पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान उपन्यायाधिवक्ता योगराज बरालले कीर्ते कागज बनाउन लगाई त्यसबाट लाभ लिने व्यक्तिलाई सफाइ दिएको शुरु तथा पुनरावेदन अदालतका फैसला त्रुटिपूर्ण छन् भन्ने र प्रतिवादीहरूको तर्फबाट विद्वान अधिवक्ताहरू बालकृष्ण नेउपाने, राजेश्वर अधिकारी र नेत्र आचार्यले प्रतिवादीहरूबाट सरकारी छाप दस्तखत लागेको कागजमा कीर्ते गरेको निर्विवाद रुपमा पुष्टि नभएको अवस्थामा कीर्ते जस्तो गम्भीर अपराधमा सजाय गर्न नमिल्ने हुँदा सबैले सफाइ पाउनु पर्दछ भन्ने समेत बहस गर्नुभयो 

            विद्वान अधिवक्ताहरूको उल्लिखित बहस बुँदाहरू समेत मनन गरी प्रतिवादी अरुण सेंढाइ र राजेन्द्र शाहीलाई सरकारी छाप दस्तखत लागेको कागज कीर्ते गरेको भनी कीर्ते कागजको महलको १,,१२ नं. को कसूरदार ठहराई ऐ. ९ नं बमोजिम जनही रु ५० जरीवाना र ऐ. १२ नं बमोजिम जनही एक वर्ष कैद हुने, अन्य प्रतिवादीहरू अशोक शाक्य, रघुराज पन्त र संजीव तुलाधरले आरोपित कसूरबाट सफाइ पाउने ठहराएको शुरु काठमाडौ जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालतको फैसला मिलेको छ छैन । पुनरावेदन जिकीरबमोजिम गर्नुपर्ने हो होइन भन्ने सम्बन्धमा निर्णय दिनु पर्ने देखियो 

यसमा रु.४,०००।लिई यातायात व्यवस्था कार्यालयबाट ब्लुबुक लिई कीर्ते गरी बा.४ च ४५०७ नं को गाडीको विवरण भरी यातायात व्यवस्था विभागको छाप लगाई प्रतिवादी अरुण सेढाईले राजेन्द्र शाहीलाई दिई अशोकमान शाक्य, संजीव तुलाधर, र रघुराज पन्तले गाडी मालिक बन्ने, ऋण दिने तथा गाडी प्रयोग गरी मुलुकी ऐन, कीर्ते कागजको १, ९ र १२ नं बमोजिमको कसूर गरेको पुष्टि हुन आएकाले प्रतिवादीहरूलाई ऐ.ऐनको ९ नं. बमोजिम र ऐ.को १२ नं बमोजिम थप सजाय गरिपाऊँ भन्ने अभियोग माग दावी देखिन्छ । शुरु अदालतबाट प्रतिवादी राजेन्द्र शाही र अरुण सेढाईलाई अभियोग दावीबमोजिम कसूरदार ठहराई जनही ५०।जरीवाना र १ वर्ष कैद हुने, अन्य तीन जना प्रतिवादीहरूले आरोपित कसूरबाट सफाइ पाउने फैसला भएकोमा पुनरावेदन अदालतबाट उक्त फैसला सदर भएपश्चात् नेपाल सरकारको र प्रतिवादी राजेन्द्र शाहीको अलग अलग मुद्दा दोहो¥याउने निवेदन दायर भै निस्सा समेत प्रदान भैसकेको अवस्थामा पुनरावेदन अदालतको फैसला मिलेको छ, छैन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो 

            २. निर्णयतर्फ विचार गर्दा प्रतिवादीले यातायात ब्यवस्था कार्यालयको ब्लुबुकमा कीर्ते नाम नम्बर भरी कीर्ते कागजको १,,१२ नं समेतको कसूरमा सजाय गरीपाउ भनी वादी नेपाल सरकारको अभियोगदावी रहेको छ । प्रतिवादी मध्येका अरुण सेढाईले अधिकार प्राप्त अधिकारी समक्ष बयान गर्दा पुनरावेदक राजेन्द्र शाहीले मलाई भेटी एउटा ब्लुबुक बनाई दिनु प¥यो भनेकोले यातायात व्यवस्था कार्यालयको भर्‍याङ मुनि पुराना कागजपत्र फालीराखेको ठाउँमा पुरानो ब्लुबुक फेला पारी राजेन्द्र शाहीलाई दिएको र निजले एक हप्तापछि गाडीको विवरण भरी छाप लगाई दिनु प¥यो भनी भनेकोले मैले सो कार्यालयको टेबुलमा रहेको छाप कर्मचारीले नदेख्ने गरी लगाई दिएको र राजेन्द्र शाहीले रु.४,०००।दिएकोले प्रदूषण जाँच कार्डको स्टीकर समेत लगाई दिएको हुँ । पछि भन्सार नतिरी ल्याएको गाडीको विवरण भरी राजेन्द्रले ल्याएको रहेछ भन्ने थाहा पाएको हुँ । बा.४ च ४५०७ नं को गाडीको विवरण मैले भरेको होईन भन्ने बयान गरेको छ । यि प्रतिवादी अरुण सेढाई यातायात व्यवस्था कार्यालयमा लेखापढीको काम गर्ने व्यक्ति रहेको र ब्लुबुक बनाइदिएवापत रु.४,०००। लिएको कुरामा साबित नै देखिन्छन् । शुरु जिल्ला अदालत तथा पुनरावेदन अदालतले निजलाई कसूरदार ठहराएकोमा उक्त फैसलाउपर पुनरावेदन नगरी चित्त बुझाइ बसेको देखिन्छ । यि प्रतिवादीहरूले चोरीका गाडी पैठारी गरी ल्याएकोमा कानूनबमोजिम त्रिभुवन बिमानस्थल भन्सार कार्यालयबाट छुट्टै कारवाही भएको अवस्था छ । प्रतिवादी राजेन्द्र शाहीले कसूरमा इन्कार रही बयान गरे पनि उनको अनुरोधमा उनैले पैसा दिई अरुण सेढाइबाट बा.४ च ४५०७ नं को गाडीको ब्लुबुक बनाउन लगाइ त्यसमा छाप समेत लगाएको कुरा देखिन आउँछ । उक्त ब्लुबुक यातायात कार्यालयबाट जारी नभै त्यसमा भरिएका विवरण नक्कली भएको भन्ने तथ्य यातायात ब्यवस्था कार्यालयको पत्र र बिशेषज्ञको लिखत परीक्षण प्रतिवेदनबाट समेत समर्थित भएको देखिन्छ । त्यस्तो नक्कली कागजमा सरकारी अड्डाको छाप समेत लगाइएको अवस्थामा उक्त लिखत बनाउने कार्यबाट मुलुकी ऐन, कीर्ते कागजको प्रावधानबमोजिम कसूर भएको पुष्टि हुन आयो 

            ३. अब को को व्यक्ति भै उक्त कीर्ते कागज गरे गराएका हुन् भन्ने सन्दर्भमा विचार गर्दा माथि उल्लेख भए बमोजिम सो आपराधिक कार्यमा प्रतिवादी अरुण सेंढाइको प्रत्यक्ष सम्लग्नता देखियो भने उनलाई प्रतिवादी राजेन्द्र शाहीले पैसा दिई उक्त कार्य गराउन लगाएको देखिएको छ । कसूरमा इन्कार रही बयान गरेपनि निज सह अभियुक्तको पोल अन्य प्रमाणबाट समर्थित भै  राखेको र उनको इन्कारी बयान कुनै पनि तथ्यपूर्ण एवं ठोस प्रमाणबाट समर्थित नभएको अवस्थामा प्रतिवादी राजेन्द्र शाहीको इन्कारी बयानमा सत्यता देखिन आएन । कसूरमा इन्कार रहेको मात्र कथनले कुनै अभियुक्तलाई निर्दोष मान्न नसकिने र आफूले सो इन्कारी बयानलाई तथ्यपूर्ण ठोस एवं विश्वासप्रद प्रमाणबाट पुष्टि गर्नुपर्ने हुन्छ । यस्तो प्रमाणको अभावमा तथा सहअभियुक्त अरुण सेढाईको निज उपरको पोल स्वतन्त्र एवं ठोस प्रमाणबाट समर्थित भएको देखिएकोले निज राजेन्द्र शाहीलाई उक्त कीर्ते कार्यमा संलग्नता रहेको भनी कसूरदार ठहराएको फैसलामा कुनै त्रुटि देखिन आंउदैन । गाडी मालिक भनी उल्लेख भएका प्रतिवादी अशोकमान शाक्य, ऋण दिने भनिएका प्रतिवादी संजीव तुलाधर र गाडी चढ्ने प्रतिवादी रघुराज पन्तहरूको उक्त ब्लुबुक कीर्ते गर्ने गराउने कार्यमा कुनै संलग्नता रहेको प्रतिवादी अरुण सेढाई समेतको कथन र मिसिल संलग्न कुनै पनि प्रमाणबाट देखिन आउदैन । सहअभियुक्त अरुण सेंढाईले समेत यी प्रतिवादीहरूको उक्त कार्यमा संलग्नता थियो भन्न सकेको देखिदैंन । कीर्ते जस्तो फौजदारी अपराधमा कीर्ते गर्ने कार्यमा संलग्न रहेको भनी प्रमाणित हुन नसकेका व्यक्तिहरूलाई अभियोगदावी मात्रको भरमा सजाय गर्नु फौजदारी न्यायको सिद्धान्तको प्रतिकूल हुने हुँदा प्रतिवादी अरुण सेंढाइ र प्रतिवादी राजेन्द्र शाहीलाई कसूरदार ठहराई सजाय गरी अन्य प्रतिवादीलाई सफाइ दिएका शुरु तथा पुनरावेदन अदालतका फैसला न्याय तथा कानूनसम्मत नै देखियो । मुद्दा दोहो¥याउने निस्सा दिंदा लिइएको आधारसंग सहमत हुन सकिएन 

            ४. तसर्थ, माथि उल्लिखित आधार कारणबाट बा. ४ च ४५०७ को ब्लुबुक कीर्ते गर्ने गराउने कार्यमा प्रतिवादी अरुण सेढाई र प्रतिवादी राजेन्द्र शाहीको मात्र संलग्नता देखिंदा निजहरूलाई सजाय गरी अन्य प्रतिवादीहरू अशोकमान शाक्य, संजीव तुलाधर र रघुराज पन्तलाई सफाइ दिेने ठहराएको शुरु काठमाडौ जिल्ला अदालतको मिति २०६३।७।२०।२ को फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको मिति २०६४।७।१२ को फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । प्रतिवादी राजेन्द्र शाही र वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइ दिनू 

उक्त रायमा म सहमत छु 

न्या.वैद्यनाथ उपाध्याय

इति संवत् २०६८ साल कात्तिक २२ गते रोज ३ मा शुभम्

 

इजलास अधिकृत : विष्णुप्रसाद उपाध्याय

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु