शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७५०७ - जवर्जस्ती करणी ।

भाग: ४७ साल: २०६२ महिना: असार अंक:

निर्णय नं. ७५०७    ने.का.प.२०६२ अङ्क ३

 

सर्वोच्च अदालत, पूर्ण इजलास

माननीय न्यायधीश श्री केदारप्रसाद गिरी

माननीय न्यायधीश श्री अनूपराज शर्मा

माननीय न्यायाधीश श्री बलराम के.सी.

सम्वत २०६१ सालको फौ.पू.ई.नं. १८

फैसला मितिः २०६२।३।२।५

 

मुद्दाः जवर्जस्ती करणी  ।

 

            पुनरावेदक/ प्रतिवादीः जिल्ला चितवन वछौली गा.वि.स. वडा नं ३ वस्ने जनक त्रिपाठी    समेत

विरुद्ध

            प्रत्यर्थी/वादीः लेखकुमारी गिरीको जाहेरीले श्री ५ को सरकार

 

§  अनुसन्धान अधिकारीबाट हुने कानूनअनूरुपको अनुसन्धानबाट संकलित यथार्थपरक र वस्तुनिष्ठ प्रमाणहरु नै कसूर ठहर गर्न मद्दत पुग्ने पहिलो खुट्किलो हो । त्यो खुट्किलो नै कमजोर, आधारविहिन र कानूनअनुरुप भएको छैन र जाहेरवाला र स्वयं पीडित पनि अनुसन्धानको क्रममा प्रहरीमा वयान गर्दा एकै व्यहोरा उल्लेख नगरी अदालतमा वकपत्र गर्दा फरक फरक वयान गरी आफु उपर अपराध नै नभएको भन्ने वकपत्र गर्दछन् भने अन्य प्रमाणको अभावमा अनुमान र शंकाको भरमा कसूर कायम गरी पीडित व्यक्तिलाई समेत न्याय प्रदान गर्न  सरल र सुगम हुन नसक्ने ।

§  निश्चय पनि कुनै आमाले आफ्नु छोरीको अस्मिता र भविश्यमाथि प्रश्न चिन्ह लाग्ने गरी उजूर गर्ने अवस्था आउदैंन । तर यसको अर्थ पीडितको आचरण र व्यवहार तथा अनुसन्धान अधिकारीबाट कानून अनुरुपको अनुसन्धान भएको छैन भने अनुमानका भरमा कसूरदार कायम गर्न नमिल्ने ।

§  घटनाको विश्वसनियता पुष्टी हुने आधार र पीडितले आफूले वच्न गरेको प्रयास देखिने वस्तुनिष्ठ आधारमा कसूर प्रमाणित हुने हुन्छ । यी सवै कुराको अभावमा जाहेरी पिडक वा निजको आमा वा नजिकको नातेदारको परेको भन्ने आधारमा मात्र कसैलाई कसूरदार प्रमाणित गर्नु न्याय र कानूनको मान्य सिद्धान्त भित्र नपर्ने ।

(प्रकरण नं.३३)

§  जवरजस्तिकरणी अपराधमा मूल चश्मदिद गवाह अर्थात प्रत्यक्ष प्रमाण साधारणतया प्राप्त हुन सक्दैन । खास गरी करणीसम्बन्धी अपराधमा करणी गरिएकी पीडित नै प्रमुख प्रमाण हो । प्रमाण ऐनले जवरजस्ती करणीवाट पीडित व्यक्तिलाई नै प्रमुख प्रमाण मानेको छ । सो ऐनको दफा १०(१)(ख) मा कुनै काम घटना वा अवस्थावाट पीडित व्यक्तिले व्यक्त गरेको कुरा प्रमाणमा लिइने प्रमाण मानेको छ । तर यस मुद्दामा पीडितले प्रहरीमा वयान गर्दा आफु उपर प्रतिवादीहरुले जवरजस्ती करणी गरिएको भनेको तर अदालतमा वकपत्र गर्दा त्यस्को ठीक बिपरीत वकपत्र गरेको देखिन्छ । पीडितले अदालत समक्ष गरेको वकपत्रलाई प्रमाणमा लिन नमिल्ने अवस्था नदेखिने ।

§  फौजदारी अपराधमा साक्षीहरुलाई डर, धाक, धम्की दिएर वा कुनै आर्थिक प्रलोभनमा पारेर प्रतिवादी वा अभियुक्तहरुले Hostile बनाउंछन् र यस्तोमा साक्षीलाई ध्ष्ललष्लन बधबथ गरेको भनिन्छ । अन्य प्रमाण भएमा साक्षीलाई Winning away गर्दैमा अपराध कायम नहुने वा प्रतिवादी अभियुक्तलाई सफाई प्राप्त हुने होइन । त्यस्तोमा झुठ्ठा वकपत्र ( Perjury )  गरेमा साक्षी वा पीडित स्वयंलाई पनि सजाय हुन सक्ने ।

(प्रकरण नं.३४)

§  प्रस्तुत मुद्दाको जाहेरी दरखास्तदेखिको व्यहोरा  सच्चिएको पाइएको, उपयुक्त समयमा पीडित भनिएकी व्यक्तिको शारिरीक परिक्षण नभएको, आरोपित व्यक्तिहरु प्रकाउ परी प्रहरी कार्यालयमा वुझाएको देखिन आएकोमा सो कुरा लुकाउने प्रयास गरी पछि प्रकाउ परेको भनी प्रतिवदेन पेश गरेको, तत्काल आरोपित व्यक्तिहरुको  अनिवार्य रुपमा गराउनु पर्ने शारिरीक परिक्षण नगराई घटनाको वास्तकिता लुकाउने प्रयास गरेको र जाहेरवाली र पीडित भनिएकी व्यक्तिको परिक्षण उपयुक्त तरिकावाट नगरी अनुसन्धान प्रकृयालाई प्रभावित पुर्‍याई घटनाको यथार्थता माथि नै प्रतिकूल प्रभाव पर्न गएको अनुसन्घानबाट संकलित कागजबाट देखिन आएकोले अनुसन्धान अधिकृत प्रहरी नायव नीरिक्षक दिलीप गुरुङले कानून अनुरुप तोकिएको जिम्वेवारी पूरा गरेको नदेखिदा निजलाई सचेत गराई सो को जानकारी यस अदालतलाई   गराउने ।

(प्रकरण नं.३६)

 

पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री शम्भुप्रसाद पोखरेल

प्रत्यर्थी वादी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री सुरेन्द्रबहादुर थापा

अवलम्वित नजीरः

 

फैसला

न्या.अनूपराज शर्माः न्या.अनूपराज शर्माः पुनरावेदन अदालत हेटौडाको मिति २०५७।८।१४ फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ख) अन्तर्गत  परेको  प्रस्तुत मुद्दामा संयुक्त इजलासका माननीय न्यायाधीशहरुका बीच मत्तैक्य नभई सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) अनुसार यस इजलाश समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा एवं ठहर यस प्रकार छ :

२.    म जाहेरवालीको छोरी वर्ष १४ की जानुका गिरी पद्मपुर गा.वि.स. वडा नं. गड्यौलीबाट काका टीका गिरीको घर रत्ननगर नगरपालिका वडा नं. ५ चित्रसारी तर्फ जान भनी २०५४ साल कार्तिक १ गते बेलुका अन्दाजी ५ वजे घरबाट हिडेकीमा चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नं. ५ चित्रसारी बस्ने अन्दाजी वर्ष २५ को  सन्जय अधिकारीले बाटामा भटी फोटो खिच्न जाउँ भनी मोहना तर्फ लिई जादा निज संजयका साथीहरू जनक त्रिपाठी र अन्य नचिनेका जना ४ भै ललाई फकाई फोटो खिच्ने वहाना वनाई चितवन रत्ननगर न.पा.वडा नं ६ स्थित नहरमा लगी विपक्षीहरू मध्ये कसैले मुख थुन्ने कसैले हात समाउने गरी पालैपालो छोरीको मन्जुरी वेगर जवरजस्ती करणी गरेको हुँदा अन्यायीहरूलाई पक्राउ गरी मुलुकी ऐन जवर्जस्ती करणीको महलको १ नं अन्तर्गतको कसूर गरेको हुंदा सोही महलको ३ नं. बमोजिम सजाय गरी १० नं. बमोजिम पीडित छोरी जानुकालाइ अंश दिलाई पाउँ भन्ने  समेत व्यहोराको लेखकुमारी गिरीको जाहेरी दरखास्त  ।

३.    पूर्व पन्चकन्या मूल नहर, पश्चिम कालीदाशको खेत, दक्षिण नहरकै कच्ची देवौली तर्फजाने वाटो, उत्तर निपनी जाने कच्ची सडक यती चार किल्ला भित्र रहेको झारहरू माडिएको,इटामा रहेको वालुवा समेत घसारिएको भने व्यहोराको मिति २०५४।७।२ को  घटनास्थल प्रकृति मुचूल्का ।

४.    निज जानुका गिरीको वायाँ व्रेष्ट र वायाँ आँखाको भाग कोतरिएको, योनीवाट रगत वहेको, झिल्ली च्यातिएको योनीमा दुखाई भएको भन्ने समेत व्यहोराको मेडिकल अधिकृतको मिति २०५४।७।३ को  परीक्षण प्रतिवेदन ।

            ५.    सन्जय अधिकारीले मलाई फोटो खिच्ने वाहाना वनाई घटनास्थल नहरमा पुग्दा जनक त्रिपाठी समेत जना ४ संग भेट भयो । सोही ठाउँमा केही समय वसी फोटो खिच्ने भनि मलाई संजय अधिकारीले समाते । जनक त्रिपाठीले मुखथुनी भुईमा लडाई पालैपालो संग चारै जनाले जवरजस्ती करणी गरेका हुन भन्ने समेत व्यहोराको पीडित जानुका गिरीको कागज ।

६.    मिति २०५४।७।१ गतेको दिन वेलुका म सन्जय अधिकारी टाँडी सौराहाचोक घर हुने राजकुमार चौधरी र राजकुमारको साथी समेत जना ४ भै पीडित जानुका गिरीलाई पालैपालो जवरजस्ती करणी गरेको हो भन्ने समेत व्यहोराको प्रतिवादी जनक त्रिपाठीले अनुसन्धान अधिकारी समक्ष गरेको वयान कागज ।

७.    मिति २०५४।७।१ गते अन्दाजी १७.००वजेको समयमा टाँडी वजार घुमी घर तर्फ फर्कन लाग्दा जनक त्रिपाठीसंग भेट भयो । जनक र म नहरको वाटो भै जाँदा घटनास्थल निर पुग्दा २ वटा साइकलमा ३,४ जना मानिसहरू भागेको देखेको र १ जना केटी कराई रहेको थियो । स्थानिय मानिसहरू आई मलाई र जनक त्रिपाठीलाई समाई ई. .प्र.का. टाँडीमा लगेका हुन । मैले र जनक त्रिपाठीले पीडित जानुका गिरीलाई जवरजस्ती करणी गरेको होइन भन्ने समेत व्यहोराको प्रतिवादी सन्जय अधिकारीले अनुसन्धान अधिकारी समक्ष गरेको वयान कागज ।

८.    मिति २०५४।७।१ गते वेलुका हाल पक्राउमा परेका सन्जय अधिकारी, जनक त्रिपाठी र फरार रहेका अन्य २ जना समेत भै पीडित जानुकालाई जवरजस्ती करणी गरेका हुन् भन्ने समेत व्यहोराको इश्वरी रेग्मी समेतका व्यक्तिले लेखाई दिएको स्थलगत वस्तुस्थिती मुचुल्का ।

९.    प्रतिवादीहरूले मुलुकी ऐन जवरजस्ती करणीको महलको १ नं. मा उल्लेखित कसूर अपराध गरेको हुँदा सो कसूरको अभियोगमा  सवै प्रतिवादीहरूलाई सोही ऐनको ३ नं. बमोजिम हदै सम्म सजाय हुने मांग दावी लिइएको छ । साथै पीडित जानुका गिरीलाई ऐ.ऐनको १० न. बमोजिम प्रतिवादीहरू सवैको अंशवाट आधा अंश दिलाई पाउन समेत मागदावी लिइएको छ भन्ने समेत व्यहोराको अभियोग पत्र  ।

१०.    २०५४।७।१ गते वेलुका अं ८.३० वजेको समयमा टाँडी वजारवाट घरजान लाग्दा वाटोमा त्यो घटना भएका रहेछ । अचानक म त्यही पुगे । गाउँले घटना घटाउने मानिस समाउन त्यहा आएका रहेछन । उनिहरूको पख पख भन्ने आवाज आयो र म अगाडि गै रहेको मानिस पनि साइकल रोकी किन पख भनेको हो भनि रकीई वसे । मलाई पनि शंका गरी समाई गाउँमा लगे । केही वेरमा केटीको चरित्र यस्तै हो घरजाउ भने । यो कुराको छिनोफानो गरी दिनुहोस भन्दा प्रहरी वोलाई २०५४।७।२ गते जिल्ला प्रहरी कार्यालयमा ल्याएको हो । त्यो दिन म सौराहामा काम गर्ने भएकोले वेलुका ५ वजेसम्म सौराहामा थिए । विगे्रको क्यामरा वनाउन पर्‍यो भनि वजार आएको थिए । पीडित केटीलाई चिनेको छैन । म घर वाट टाँडी वजारमा आउदा उक्त केटी संग आएको होइन । म घटनास्थलमा पुगेकाले शंकाको भरले जाहेरी दिएको हो। मुचुल्काका मानिस जाहेरवालाका आफन्त मानिस भएकाले मैले उक्त जवरजस्ती करणी गरेको हो भनि रिसइवीले त्यस्तो लेखाएको हो । मैले जवरजस्ती करणी गरेको होइन । म पेशाले पर्यटक व्यवसायमा संम्लग्न भएको हो । उक्त जवरजस्ती करणी गरेको नहुँदा मलाई दावी बमोजिम साजय हुन पर्ने होइन । सो कार्यमा म निर्दोष हुँदा दावी बमोजिम अंश दिन पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी संजय अधिकारीले शुरु अदालतमा गरेको वयान ।

११.    मैले पीडित जानुका गिरीलाई चिनेको छैन । म उपर जाहेरी दिनाको कारण पहिला पहिला संजय अधिकारी र म सगै हिडेको कारणले म समेत उपर जाहेरी दिएका हुन । २०५४।७।१ गते म साँझ पाँच वजे देखि भोली पल्ट सम्म म घरमा नै थिए । म कही गएको छैन । संजयले करणी गरेको कुरा मलाई थाहा भएन । घटना घटेको सम्वन्धमा केही थाहा भएन। उक्त दिन संजय संग भेटघाट भएन । मलाई प्रहरी कार्यालयमा आएपछि मात्र जवरजस्ती करणीको सम्वन्धमा पक्राउ गरेको भन्ने कुरा थाहा भयो । अरु कुरा थाहा भएन, अनुसन्धान अधिकारीहरूले कुटपिट गरौला झैं गरी मैले गरेको वयान मलाई पढन नै नदिई सहीछाप गराएका हुन् । घटनास्थलका मानिसहरूले के कारण मलाई करणी गरेको स्थानमा देखे भने सो कुरा थाहा भएन । मैले उक्त कार्य गरेको नहुँदा मैले सजाय पाउनु पर्ने होइन । उक्त दिनभर घरमै भएको कारण सजाय नपाउनु पर्ने हो भन्ने समेत व्यहोराको प्रतिवादी जनक त्रिपाठीले शुरु अदालतमा गरेको वयान ।

१२.   मैले जानुका गिरीलाई चिनेको छैन । २०५४ साल कार्तिक १ गते म स्कुलवाट १.१५ वजे छुट्टि भई घरमा गई पढेर वसेको थिएँ ।  अन्यत्र कही गएको छैन ।  मैले जानुका गिरीलाई चिन्दै नचिनेको हुँदा जवरजस्ती करणी गरेको छैन । जनक त्रिपाठीको वयान झुठ्ठा हो । म सो ठाउँमा गएको पनि छैन । मैले उक्त कार्य गरेको होइन । निजहरूसंग कुनै प्रकारको रिसइवी भैm झगडा केही छैन । २०५४ साल कार्तिक १ गते निजहरूसंग मेरो भेटघाट भएको छैन। मेडिकल अधिकृतको प्रतिवेदन सम्वन्धमा मलाई केही पनि थाहा छैन । म निर्दोष छु । तसर्थ मैले अभियोग पत्र माग दावी बमोजिम सजाय पाउनु पर्ने होइन तथा मेरो आधा अंश समेत म निर्दोष भएकाले म वाट दिलाउनु पर्ने होइन सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी राजकुमार चौधरीले शुरु अदालतमा गरेको वयान ।

१३.   निज प्रतिवादीले जवर्जस्ती करणी गरेको होइन । अरु नचिनेका केटाहरू घटनास्थलमा थिए भन्ने समेत व्यहोराको संजय अधिकारीको साक्षी कृष्णलामाले गरेको वकपत्र ।

१४.   संजय अधिकारी राम्रो चालचलनका व्यक्ति हुन् । जाहेरवालीकी छोरीलाई निजले जवरजस्ती करणी गरेको होइन भन्ने समेत व्यहोराको निज संजय अधिकारीको साक्षी जंगे चौधरीले गरेको वकपत्र ।

१५.   मोहना भन्ने ठाउँमा घटना भएको हो । म घरमा भएकीले घटना कहा भयो थाहा भएन । केटा र केटीलाइ समाएर ल्याएछन् । अहिले गाउँ वुझ्दा यी केटाहरू होइनन् भन्ने कुरा वुझियो । गाउँले समाजले भनेका आधारमा सो मितिमा जाहेरी लेखेर लेख्न लगाई दिएको हुं भन्ने समेत व्यहोराको जाहेरवाली लेखकुमारी गिरीले गरेको बकपत्र ।

१६.    मलाई ३  मानिसले करणी गरेका हुन् । आँखाले मान्छे चिनिन । करणी गर्नेको नाम  चिन्दिन । गाउँलेले भनेका आधारमा जनक त्रिपाठी संजय अधिकारी समेतको नाउँ लेखाएको हो भन्ने समेत व्यहोराको पीडित जानुका गिरीले गरेको वकपत्र ।

१७.   जनक त्रिपाठी उक्त दिन ४/५ वजे देखि ९/१० वजेसम्म आफ्नै घरमा थिए भन्ने समेत व्यहोराको जनक त्रिपाठीको साक्षी हरिहर सैंजूले गरेको वकपत्र ।

१८.   जनक त्रिपाठी राम्रो चालचलनका व्यक्ति हुन् । जानूका गिरीलाई निजले जवरजस्ती करणी गरेको होइन भन्ने समेत व्यहोराको निज जनक त्रिपाठीको साक्षी रामविलाश पाठक र सोही मिलानको कृष्ण खतिवडा र गणेश खतिवडाले गरेको वकपत्र ।

१९.    २०५४।७।१ गते  राजकुमार चौधरी वेलुका ५ वजे देखि घरमै पढी वसेका थिए । निजलाई रिसइवीबाट पोल गरेको हो भन्ने समेत व्यहोराको राजकुमार चौधरीको साक्षी दुखाराम चौधरीले गरेको वकपत्र ।

२०.   घटनास्थलमा केटा केटी कसैलाई देखिन । गाउँलेले भनेर थाहा पाएको हो । मौकामा लेखाएको कागज मैले लेखेको होइन । लेखाएको कागजमा सही गराएका हुन् भन्ने समेत व्यहोराको घटनास्थल मुचुल्काका मानिस वुद्धीबहादुर तामांगले गरेको वकपत्र ।

२१.   घटनास्थलमा म थिइन । मैले लेखाएको मुचुल्का होइन । गाउँलेहरूले साक्षी वस्ने भनेर वसेको मात्र हुं भन्ने समेत व्यहोराको घटनास्थल मुचुल्काका मानिस शंकर गिरीले गरेको वकपत्र ।

महेन्द्र आर्दश चिकित्सालयले पीडितलाई जाँच गरी दिएको प्रतिवेदनमा योनी परीक्षण गर्दा रगत वगेको झिल्ली च्यातिएको र दुखाई भएको भन्ने उल्लेख भएको देखिनुको साथै योनिरस (Vaginal swab) मा शुक्रकिट (sperm) नदेखिएको भन्ने उल्लेख भएको पाइयो । सवै प्रतिवादीहरूले अदालत समक्ष कसूर अस्विकार गरी वयान गरेको अवस्था र स्वयम जाहेरवाली र पीडित भनिएकी व्यक्ति समेतले यी प्रतिवादीहरूले कसूर गरेका हुन भनि अदालतमा वकपत्र गर्न नसकि कसूर नगरेको भन्ने समेत लेखाई दिएको देखिएपछि यी प्रतिवादीहरूले नै जवरजस्ती करणी गरी पीडित लाई पिडा पुर्‍याए भन्ने अवस्था नहुँदा यी प्रतिवादीहरूले आरोपित कसूरवाट सफाई पाउने ठहर्छ भन्ने शुरु जिल्ला अदालतको मिति २०५६।४।१८।३ को फैसला ।

२२.   घटनास्थल प्रकृति मुचुल्का, पीडितको योनी परीक्षण प्रतिवेदन जाहेरी दरखास्त र पीडित समेतको वकपत्रवाट वारदात पुष्टी भएको अवस्था देखिन्छ । प्रस्तुत मुद्दामा प्रतिवादी जनक त्रिपाठीले अधिकार प्राप्त अधिकारी समक्ष वयान गर्दा घटनाको शुरु देखिको विवरण उल्लेख गर्दै जवरजस्ती करणी गरेकोमा सावित भई अन्य प्रतिवादीहरूलाई समेत पोल गरेको देखिई सो वयानलाई निजले अन्यथा प्रमाणित गराउन कुनै प्रमाण पेश गर्न सकेको समेत नपाइएको वाट अधिकार प्राप्त अधिकारी समक्षको निजको वयान अन्यथा प्रमाणित हुन सकेको छैन । यसर्थ आधार प्रमाण विनाको अदालतको इन्कारी वयानलाई सफाईको आधार वनाई भएको फैसला सर्वोच्च अदालतवाट ने.का.प. २०४५ अंक १० नि.नं. ३६१० पृष्ठ १०४६ मा प्रतिपादित सिद्धान्त विपरीत भएको हुँदा त्रुटिपूर्ण छ । प्रस्तुत घटनाको पीडित जानुका गिरीले शुरुमा गरेको कागजमा यि प्रतिवादीहरू उपर किटान गरी ३ जना व्यक्तिहरूले जवरजस्ती करणी गरेका हुन भनी लेखाउनुका साथै अदालतमा समेत सोही व्यहोरा उल्लेख गर्दै शुरु कागजलाई समर्थन गर्दै ३ जना प्रतिवादी भएको कुरामा विवाद नदेखिई तथ्यहरूमा एकआपसमा मेल खाईरहेको अवस्था छ । प्रतिवादी संजय अधिकारी र निजका साक्षीहरूको भनाई एक आपसमा वाझिएको पाइएको र पीडित जानुकाकी आमा लेखकुमारीले अदालतमा वकपत्र गर्दा स.ज.५ मा जाहेरीमा लेखिएको व्यहोरा ठिक छ भनि लेखाई दिनुका साथै घटनाको अवस्था देखि छोरीको होस छैन, झस्केको झस्कै गर्छे भनी लेखाई दिएवाट पीडितको वकपत्र गर्दा स्वस्थ अवस्था भएको भन्ने नदेखिएवाट जवरजस्ती करणी गर्नेहरूको डर त्रासमा नाउ उल्लेख गर्न नसकेको स्पष्ट भै यिनै प्रतिवादीहरूले वारदात घटाएको कुनै विवाद नहुँदा नहुदै पनि शुरु अदालतवाट प्रतिवादीहरूलाई सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला वदर गरी प्रतिवादीहरूलाई शुरु माग दावी अनुसार सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको  वादी श्री ५ को सरकारको तर्फबाट पुनरावेदन अदालत हेटौंडामा परेको पुनरावेदन पत्र ।

२३.   पीडित जानुका गिरीले अदालतमा वकपत्र गर्दा समेत ३ जना व्यक्तिले जवरजस्ती करणी गरेको भनी लेखाई दिएको र चिकित्सकको प्रतिवेदनवाट पीडित केटीको रगत वगेको र झिल्ली समेत च्यातिएको भन्ने देखिएको अवस्थामा जवरजस्ती करणी गर्ने व्यक्तिलाई हाल चिनीन भनेको आधारमा मात्र प्रतिवादीलाई अभियोग दावी वाट सफाई दिने ठहर गरेको शुरु चितवन जिल्ला अदालतको मिति २०५६।४।१८ को फैसला नमिली फरक पर्न सक्ने देखिंदा अ.वं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकार्इं आए वा अवधि नाघेपछि नियमानुसार गरी पेश गर्नु भन्ने समेत व्यहोराको  पुनरावेदन अदालत हेटौडाको मिति २०५६।१२।३ को आदेश ।

            २४.   घटनावाट पीडित व्यक्तिको मौकाको कथन, शारीरिक परीक्षणवाट देखिएको कसूर सम्बन्धी चिन्हहरू समेतवाट प्रतिवादीहरू उपरको अभियोग दावी प्रमाणित भै पीडित जानुका गिरीलाई जवर्जस्ती करणी गरेको देखिंदा अभियोग दावीवाट सफाई दिने ठहराएको शुरुको फैसला त्रुटीपूर्ण देखिंदा उल्टी भै प्रतिवादीहरूले पीडितलाई जवर्जस्ती करणी गरेको ठहर्छ । प्रतिवादीहरूलाई जनही ३ वर्षका दरले कैद र पीडितले प्रतिवादीहरूवाट आधा अंश समेत पाउने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत हेटौडाको मिति २०५७।८।१४ को फैसला ।

            २५.   पुनरावेदन अदालतले कसूर कायम गरी सजाय गर्ने गरेको फैसलामा चित्त वुझेन । अधिकार प्राप्त अधिकारी समक्ष म जनक त्रिपाठीले गरेको भनेको वयान मैले भने बमोजिम नगराइएको र कुटपिट गरौला झैं गरी लेखी ल्याएको कागज नसुनाई सहीछाप गराएका हुन् । मेरो भएको व्यहोराको वयान अदालतमा गरेको छु । म संजय अधिकारी वारदातमा संलग्न नभएको र जवर्जस्ती करणी जस्तो गम्भिर अपराध गरेको छैन भनी अनुसन्धान अधिकारी र अदालतमा समेत वयान गरेको छु । त्यस्तै म राजकुमार चौधरी उक्त घटनामा संलग्न नभएको र कसूर अपराध नगरेको भनी म्यादमा हाजिर भै अदालतमा प्रष्ट पारेकै छु । पीडित भनिएकी जानुका गिरीले मौकामा वयान गर्दा हामी सो घटनामा छौ भनी पोल उजुर गरेको अवस्था छैन । पीडितले अदालतमा आई वयान गर्दा जवर्जस्ती करणी गर्ने मानिसको नाम चिन्दिन र प्रतिवादी जनक, राजकुमार र संजयले वदमासी जवर्जस्ती गरेका होइनन् भनी भनेकी र जाहेरवाली लेखकुमारी गिरीले अदालतमा आई वकपत्र गर्दा हामीलाई यी केटाहरू होइनन् भन्ने वुझिन आयो भनी भनेको अवस्था छ । हाम्रा साक्षीले हामी कसूरदार होइनन् भनी वकपत्र गरेका र सरकार पक्षका गवाह वुद्धीबहादुर तामाङ्ग र शंकर गिरीले प्रतिवादीहरूलाई घटनास्थलमा देखेको छैन जवर्जस्ती करणी गरेका होइनन निर्दोष छन् भनी अदालतमा आई वकपत्र गरेको हुँदा शुरुले हामीवाट जवर्जस्ती करणीको अपराध नगरेको प्रष्ट छ भनी सफाई दिएकोमा सो न्यायपूर्ण फैसला उल्टी गरी हामीलाई कसूरदार ठहराउनु त्रुटीपूर्ण र अन्यायपूर्ण फैसला हुँदा पुनरावेदन अदालतको फैसला उल्टी गरी न्याय पाउँ भन्ने  समेत व्यहोराको प्रतिवादी जनक त्रिपाठी, संजय अधिकारी र राजकुमार चौधरीको यस अदालतमा पर्न आएको संयुक्त पुनरावेदन पत्र ।

            २६.   प्रतिवादी जनक त्रिपाठी प्रहरीमा सावित भएपनि अदालत समक्षको वयानमा अभियोग दावीको कसूरमा इन्कार रहेको, अन्य प्रतिवादीहरू प्रहरी र अदालतमा वयान गर्दा जानुका गिरीलाई जवर्जस्ती करणी गरेकोमा इन्कार रहेका र पीडित भनिएकी जानुका गिरी अदालत समक्ष उपस्थित भै गरेको वकपत्रमा यी प्रतिवादीहरूले आफूलाई जवरजस्ती करणी गरेको होइनन् र अरु कसले गरे थाहा भएन चिन्दिन भनी उल्लेख गरेकी छन् भने जाहेरवालीले पनि आफूले दिएको जाहेरीलाई खण्डन गरी गाउँले समाजले भनेको आधारमा जाहेरी दिएकी हुँ । टोल वुझ्दा यी प्रतिवादीहरू जवरजस्ती करणी गर्ने केटाहरू होइनन् भनी वकपत्र गरिदिएको स्थितिमा पुनरावेदक प्रतिवादीहरूलाई जवरजस्ती करणी गरेको ठहराई सजाय गर्ने ठहराएको पुनरावेदन अदालत हेटौडाको फैसला फरक पर्ने देखिंदा छलफलको लागी अ.वं.२०२ नं. बमोजिम महान्यायाधिवक्ताको कार्यालयलाई पेशीको सूचना दिई नियमानुसार गरी पेश गर्नु भन्न समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०५९।१।५ को आदेश ।

            २७.   यी प्रतिवादीहरूले पीडित जानुका गिरीलाई फोटो खिच्ने वहानामा एकान्तस्थल नहरको डिलमा लगी साँझ पख संजय अधिकारीले समाई, जनक त्रिपाठीले मुख थुन्ने गरी जवर्जस्ती करणी गरेको भन्ने किटानी जाहेरी देखिन्छ । मौकामा पक्राउ परेका प्रतिवादीहरू सजय अधिकारी र जनक त्रिपाठीले तत्काल पक्राउ परी जिल्ला प्रहरी कार्यालयमा सनाखत कागज गराउँदा जाहेरवालीको छोरी जानुका गिरीलाई हामी २ जना लगायत अन्य साथीहरू भै जवर्जस्ती करणी गरेका हौ भनी मौकैमा सावित भै कागज गरेको देखिन्छ । त्यस्तै प्रतिवादी जनक त्रिपाठीले अधिकार प्राप्त अधिकारी समक्षको वयानमा नहरको डिलमा पहिले मैले अनि राजकुमार चौधरी त्यसपछि संजयले र नचिनेको राजकुमारको साथीले करणी गरेका हौ भनि सावित भएको पाइन्छ । पीडित जानुका गिरीले फोटो खिच्ने वहानामा नहरको डिलमा लगी साँझ पर्न लागेपछि प्रतिवादीहरू मिली समाई मुख थुनी करणी गर्दा म वेहोस भएँ भनि अनुसन्धानको क्रममा गरेको कागजमा किटानी साथ प्रतिवादीहरूलाई कसूरदार देखाएको पाइन्छ । प्रतिवादी जनक त्रिपाठीले आफू समेत भै पालैपालो पीडित जानुका गिरीलाई जवर्जस्ती करणी गरेका हौ भनि अधिकार प्राप्त अधिकारी समक्ष सावित भै वयान कागज गरेको र  पीडित जानूका गिरीको शारीरिक परीक्षण गर्दा वाँया व्रेष्ट र वाँया आँखाको वाहिरी भाग (कोष) मा कोतरिएको, योनीवाट रगत वहेको, झिल्लि (Hymen) च्यातिएको र योनीमा दुखाई भएको भन्ने उल्लेख भएको देखिन्छ । त्यस्तै २०५४।७।१ गते वेलुकी हाल पक्राउमा परेका संजय अधिकारी, जनक त्रिपाठी र फरार रहेका अन्य २ जना समेत भै पीडित जानुका गिरीलाई जवर्जस्ती करणी गरेका हुन् भनि इश्वरी रेग्मी समेतका व्यक्तिहरूले वस्तुस्थिति मुचुल्कामा लेखाई दिएको समेतको कारण र आधारवाट यी प्रतिवादीहरू कसूरदार होइनन् भन्न सक्ने अवस्था भएन । प्रतिवादीहरू जना ३ लाई जवर्जस्ती करणीको ३ नं. बमोजिम जनही ३ वर्ष कैद हुने ठहर गरी सोही ऐनको १० नं. बमोजिम प्रतिवादीहरूवाट आधा अंश पीडितलाई दिलाई भराई दिने  ठहराएको पुनरावेदन अदालत हेटौडाको मिति २०५७।८।१४ को फैसला मनासिव हुँदा सदर हुने ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्तैन ।  माननीय न्यायाधीश श्री वद्रीकुमार वस्नेतको प्रतिवादीहरूलाई आरोपित कसूरवाट सफाई दिने ठहर गरेको राय संग सहमत हुन नसक्दा सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३(१)(क) वमोजम पूर्ण इजलासमा पेश गर्नु  भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्सालको राय ।

            २८.   जाहेरवाली लेखकुमारी गिरीले  जाहेरी दरखास्तमा प्रतिवादीहरूले आफ्नी वर्ष १४ की छोरी जानुका गिरीलाई नहरको डिलमा लगी जवर्जस्ती करणी गरे भनी किटानी जाहेरी दिएता पनि गाउँलेले भनेर जाहेरी दिएकी हुँ । अहिले गाउँ वुझ्दा यी केटाहरू होइनन भन्ने कुरा वुझियो भनि प्रतिवादीहरूले कसूर गरेको तथ्यमा सफाई दिई अदालतमा वकपत्र गरेको देखिन्छ । त्यस्तै पीडित भनिएकी जानुका गिरीले अनुसन्धानको क्रममा प्रतिवादीहरूले आफूलाई जवर्जस्ती करणी गरेको भनी लेखाई दिएता पनि अदालतमा उपस्थित भई वकपत्र गर्दा तीन जना मान्छेले जवरजस्ती करणी गरेर गए, नाम चिन्दिन । यी प्रतिवादीहरूको नाम गाउँलेले भनेको आधारमा लेखाएकी हुँ जवर्जस्ती करणी गर्ने व्यक्तिलाई हाल देखेमा चिन्दिन, प्रतिवादीहरूले त्यतिखेर वदमाशी गरेका थिएनन् भनी वकपत्र गरेको देखिन्छ । वादी पक्षका गवाह वुद्धीबहादुर तामाङ्ग र शंकर गिरीले प्रतिवादीहरू घटनास्थलमा देखिएका थिएनन् , जवरजस्ती करणी नगरेको हुँदा निर्दोष छन् भनी लेखाई दिएको स्थितिमा प्रतिवादीहरूलाई आरोपित कसूरवाट सफाई दिने ठहयाएको चितवन जिल्ला अदालतको फैसला मिलेको देखिंदा सो सदर गर्नुपर्नेमा कसूरदार ठहर गरेको पुनरावेदन अदालत हेटौडाको मिति २०५७।८।१४ को फैसला मिलेको नदेखिंदा उल्टी हुने ठहर्छ । माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्सालको प्रतिवादीहरूलाई अभियोग दावी बमोजिम सजाय गर्ने गरेको पुनरावेदन अदालतको फैसला सदर गरेको राय संग सहमत हुन नसक्दा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१) (क) बमोजिम पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री बद्रीकुमार वस्नेतको राय सहितको यस अदालत संयुक्त इजलासको मिति २०६१।३।२१ को फैसला ।

२९.   नियमबमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी तर्फका विद्वान अधिवक्ता श्री शम्भुप्रसाद पोखरेलले प्रतिवादी संजय अधिकारी अधिकार प्राप्त अधिकारी र अदालतमा समेत र प्रतिवादी जनक त्रिपाठी तथा राजकुमार चौधरी अदालतमा आई कसूरमा इन्कार रही वयान गरेको अवस्था छ । पीडित भनिएकी जानुका गिरीले मौकैमा वयान गर्दा प्रतिवादीहरू सो घटनामा रहे भएको भन्न सकेकी छैनन् । अदालतमा समेत जवर्जस्ती करणी गर्नेको नाम चिन्दिन भनी वकपत्र गरेको र जाहेरवालीले अदालतमा आई वकपत्र गर्दा वारदात कहा भएको थाहा छैन । गाउँलेले भनेकोले थाहा पाई जाहेरी दिएको भन्ने उल्लेख गरेको समेतवाट प्रतिवादीहरूले अभियोग दावी बमोजिमको कसूर गरेको पुष्टी हुन आएको छैन । अतः प्रतिवादीहरूलाई  सफाई दिने ठहर गरेको माननीय न्यायाधीश श्री बदीकुमार वस्नेतको राय मिलेकै हुंदा सदर हुनु पर्दछ भन्ने समेत व्यहोराको वहस जिकिर प्रस्तुत गर्नुभयो । प्रत्यर्थी वादी श्री ५ को सरकारको तर्फबाट विद्वान उप न्यायाधिवक्ता श्री सुरेन्द्रबहादुर थापाले प्रतिवादी मध्ये जनक त्रिपाठी अधिकार प्राप्त अधिकारी समक्ष अन्य प्रतिवादीहरू सहित आफूले पीडितलाई जवर्जस्ती करणी गरेको भन्नेमा सावित रहेका छन् । पीडितको शारीरिक परीक्षणवाट जर्वजस्ती करणी भएको भन्ने देखिइ रहेको छ । प्रतिवादीहरू उपर किटानी जाहेरी परेको र जवर्जस्ती करणी नभएको भए भएको भनी पीडितकी आमाले जाहेरी दिनुपर्ने अवस्था थिएन र जवर्जस्ती करणी मुद्दामा सानोतिनो प्रमाणको त्रुटीको  आधारबाट  सफाई दिन नमिल्ने भन्ने यस अदालतबाट कतिपय मुद्दाहरूमा सिद्धान्त समेत प्रतिपादन भएको अवस्था हुंदा पुनरावेदन अदालतको फैसला सदर गर्ने गरेको माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्सालको राय सदर हुनुपर्दछ भन्ने समेत व्यहोराको वहस जिकिर प्रस्तुत गर्नुभयो ।

            ३०.   विद्धान कानून व्यवसायीहरूको वहस जिकिर समेतलाई विचार गरी सम्बन्धित मिसिल कागजात अध्ययन गरी हेर्दा प्रस्तुत मुद्दामा देहायका प्रश्नका सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

 

 (१)  जाहेरी दरखास्त र अभियोग दावी अनुरुप पुनरावेदक प्रतिवादीहरूले पीडित                                    भनिएकी जाहेरवालीकी छोरी जानुका गिरीलाई निजको मन्जूरी वेगर मुलुकी ऐन                          जवर्जस्ती करणीको महलको १ नं.मा वर्णित प्रक्रिया अनुरुप जवर्जस्ती करणी                                   गरेको अवस्था पुष्टी हुने आधार विद्यमान छ, छैन ?

  (२) अभियोग दावी बमोजिम पुनरावेदक प्रतिवादीहरूलाई सजाय गर्ने ठहर गरेको                                 पुनरावेदन अदालत हेटौंडाको फैसला मिलेको छ, छैन ?

 

३०.   पहिलो प्रश्नतर्फ विचार गर्दा प्रतिवादीहरूले पीडित १४ वर्षकी जानुका गिरीलाई फोटो खिच्ने वहानामा ललाई फकाई गरी भर विश्वासमा पारी नहरको एकान्तस्थलमा पीडितको मन्जूरी वेगर जवरजस्ती हातहाली कसैले हात ,कसैले मुख,कसैले खुटृा तथा शरीरको अन्य भाग समेत समाई जनक त्रिपाठी , राजकुमार चौधरी, संजय अधिकारी र अर्का नाम नखुलेका व्यक्ति समेतले पालै पालो जवरजस्ती करणी गरी मुलुकी ऐन जवरजस्ती करणीको महलको १ नं. मा उल्लिखित कसूर गरेको हुंदा सवै प्रतिवादीहरूलाई सोही महलको ३ नं. बमोजिम हदैसम्म सजाय गरी ऐ. ऐनको दफा १० नं. बमोजिम प्रतिवादीहरू सवैको अंशबाट आधा अंश दिलाइ पाउँन समेतको मांग दावी लिई पुनरावेदक प्रतिवादीहरूको उपर अभियोग पत्र दायर भएको देखिन्छ । प्रस्तुत मुद्दाको उठानको प्रमाणको रुपमा रहेको जाहेरी दरखास्त अध्ययन गर्दा काकाको घर जान भनी छोरी घरबाट हिडेकीमा मेरी छोरीले चिनेकी संजय अधिकारी बाटामा भेट भै छोरीले टांडी तर्फ जान लागेको भन्दा म पनि संगै जान्छु भनी बाटाम मसंग क्यामरा छ फोटो खिच्न मोहना तर्फ  जाउँ भनी भनेबाट छोरी मोहना तर्फ निज संजयसंग गएकीमा मोहनामा पुग्दा छोरीले नचिनेकी निज संजयका अरु साथीहरू पनि त्यही रहेछन् । सांझ परिसकेकोले घर जान्छु भनी छोरीले भन्दा निज संजयले हात समाई जनक त्रिपाठीले मुख थुन्ने अन्य नाम नचिनेका २ जना समेतले लडाई छोरीको मन्जूरी वेगर पालैपालो जवर्जस्ती करणी गरी सकेपछि दोस्रो पटक दोहर्‍याई करणी गर्न लाग्दा छोरीले हार गुहार गर्दा घटनास्थल वरपर घर भएका मानिसहरू घटनास्थल तर्फ जादा भागी गएको हुदा संजय अधिकारी र जनक त्रिपाठीलाई तत्काल पक्रकाउ गरी अन्य नाम नखुलेका अन्यायीहरूको नाम थर वतन जनक त्रिपाठी र संजय अधिकारीबाट खुलाउन लगाई सजाय गरिपाऊँ भन्ने समेत व्यहोरा उल्लेख गरेको पाइन्छ । साथै सो जाहेरी दरखास्तमा छोरी विछिप्त अवस्थामा लडेको देखी गाउँलेहरूले इ.प्र.का. टाडीमा वुझाएको भन्ने मेरा देवर टिका गिरीले भनी थाहा पाएको भन्ने व्यहोरा समेत उल्लेख गरेको देखिन्छ । अनुसन्धानको सिलसिलामा गरिएको काम कार्यवाहीको क्रममा प्रतिवादीहरूलाई खोज तलाश गर्दा फेला परी दोखेला गरेका छौं भनी पेश गरेको प्र.ज.देवीलाल गुरुङ्ग समेतले पेश गरेको पक्राउ गरी दाखिला गरेको भन्ने प्रतिवेदनबाट प्रतिवादीहरू संजय अधिकारी र जनक त्रिपाठी मिति २०५४।७।६ मा पक्राउ परेको भन्ने देखिन आई सो मितिमा निजहरूले सनाखत कागज समेत गरेको देखिन्छ । सो सनाखत कागजमा जाहेरीमा लेखिएको नामथर वतन हामीहरूको ठीक साँचो छ । जाहेरवालीको छोरी वर्ष १४ की जानुका गिरीलाई हामी २ लगायत अन्य साथीहरू भै जवरजस्ती करणी गरेका हौं, फरक छैन । फरक वा झुठा व्यहोरा लेखाएको ठहरे ऐन कानूनबमोजिम सहुला वुझाउँला भन्ने व्यहोरा उल्लेख भएको देखिन्छ । मिति २०५४।७।३ गते दिउंसो १२.३० वजे परीक्षण गरी रिपोर्ट पेश गरेको भन्ने श्री महेन्द्र आदर्श चिकित्सालय भरतपुर चितवनको मिति २०५४।७।३ को मिसिल संलग्न पत्रबाट निज जानुका गिरीको वाहिरी अंग परीक्षण गर्दा वाया ब्रेष्ट र वायां आँखाको वाहिरी भागमा ( कोष) मा कोतरिएको, योनी परीक्षण गर्दा रगत वहेको, झिल्ली च्यातिएको र योनीमा दुखाई भएको भन्ने र सोही मितिको Vaginal Swab को रिपोर्टमा Sperm not seen भन्ने उल्लेख भएको देखिन्छ । पीडित जानुका गिरीले अनुसन्धानका क्रममा गरेको कागजमा जाहेरी व्यहोरामा उल्लेख भए बमोजिम संजय अधिकारी समेतले जवरजस्ती करणी गर्दा तिनीहरूको पन्जाबाट फुत्कन नसकी चोट पिडाले गर्दा वेहोश भएछु केटाहरूले कतीखेर छोडे थाहा भएन,एकैचोटी आफूलाई इ.प्र.का टांडीमा रहेको अवस्थामा होस आएको भन्ने व्यहोरा उल्लेख गरेको देखिन्छ । प्रतिवादी जनक त्रिपाठीले निजका साथी रामकुमार चौधरीले पहिले त्यसपछि  आफूले र संजय अधिकारीले पीडितलाई करणी गरेको भनी सावित रही राजकुमार र निजका साथी साइकल चढी भागी गएका र केटी रोई कराइ गरेकोले हामी दूईजनालाई गाउँलेले समातेका हुन् भन्ने व्यहोरा उल्लेख गरेको पाइन्छ । प्रतिवादी संजय अधिकारी अनुसन्धानको क्रममा भएको वयानमा २०५४।७।१ गतेका दिन १७.०० वजेको समयमा सौराहाबाट टांडीबजार तर्फ आई घुमी घर तर्फ फर्किन लाग्दा हाल पक्राउ परेका प्रतिवादी जनक त्रिपाठी भेट हुँदा नहरको बाटो घटनास्थल पुग्दा २ वटा साइकल चढी भागेको देखेको र एक जना केटी रुन कराउन लागेको अवस्थामा स्थानिय व्यक्ति आई म र जनक त्रिपाठीलाई समाती इ.प्र.का. टांडीमा वुझाई दिएको हुन् मैले र जनक त्रिपाठीले जवरजस्ती करणी गरेको होइन । राजकुमार चौधरीलाई चिनेको छैन भन्ने व्यहोरा उल्लेख गरेको पाइन्छ । माथि टिपोट खण्डमा उल्लेख भएबमोजि प्रतिवादीहरू सवै अदालतमा कसूर गरेमा इन्कार रहेका देखिन्छन् भने जाहेरवाली लेखकुमारी गिरी तथा पीडित जानुका  गिरी र घटनास्थलका मानिस शंकर गिरी र वुद्धीबहादुर लामाले घटनास्थलको व्यहोरा आफूले लेखाए बमोजिमको होइन गाउँलेले सही गर्न भनेकोले गरेको प्रतिवादीहरूले जवरजस्ती गरेका होइनन् भनी वकपत्र गरेको  देखिन्छ ।

            ३१.   माथि उल्लेख  भएबमोजिम प्रस्तुत मुद्दाको अनुसन्धानबाट संकलित सवूद प्रमाण र सो सवूद प्रमाणको अदालतद्वारा गरिएको परीक्षण समेतबाट प्रस्तुत मुद्दामा देहाय बमोजिमको स्थिति विद्यमान रहेको देखिन आउँछ ।

 

१)    पीडितलाई घटना भएको २०५४।७।१ कै दिन अपराध अनुसन्धान गर्ने अधिकार                            प्राप्त निकाय प्रहरी कार्यालयमा दाखेल गरिएकोमा तुरुन्त पीडितको शारीरिक                             परीक्षण नगरी चितवन जिल्लाको सदर मुकाम मै भएको भनिएको वारदातको                                सम्बन्धमा २०५४।७।३ मा मात्र स्वास्थ परीक्षण गरिएको पाइएको ।

२)     प्रतिवादीहरू संजय अधिकारी र जनक त्रिपाठीको अनुसन्धान अधिकारी समक्षको                          वयानमा घटनास्थलबाटै प्रकाउ गरी प्रहरीमा वुझाएको भन्ने वयान भएको                                                 देखिएकोमा खोज तलाश गरी २०५४।७।६ मा पक्राउ परेको भन्ने प्रतिवेदन दिइ                            वयान प्रतिकूल हुने प्रतिवेदन तयार पारिएको ।

            ३)    प्रतिवादीहरू संजय अधिकारी र जनक त्रिपाठी तत्काल पक्राउ परेकोमा निजहरूको                                    तत्काल शारीरिक परीक्षण गर्ने गराउने प्रक्रिया पुरा नगरी पछि पक्राउ परेको भन्ने                      देखाएको र पक्राउ पछि पनि निजहरूको शारीरिक परीक्षण नगरिएको ।

            ४)    प्रकाउ परी दाखेला गरेपछिको सनाखत कागज निज प्रतिवादीहरू संजय अधिकारी                                    र जनक त्रिपाठीलाई गराएकोमा दुवैजनाले पीडितलाई जवर्जस्ती करणी गरेको हो                                     भनी कागज भएकोमा पछि वयान हुंदा एकजना सावित रहेका र एकजना इन्कारी                                रहेबाट वयान कागज वा सनाखत कागज कुनमा भर पर्ने दुविधा रहनुका साथै दुवै                      कागज प्रतिवादीहरूको भनाइ अनुरुप भएको भन्ने विश्वसनिय आधार रहन गएको                                    नपाइएको ।

५)    जाहेरी दरखास्तमा नाम उल्लेख भएको देखिएको र मुलुकी ऐन अदालती                                       वन्दोवस्तको १७३ नं. बमोजिम प्रक्रिया अनुरुप सनाखत गराउनु पर्नेमा स्वयं                               प्रतिवादीहरूलाई जाहेरीमा उल्लेखित मानिस हामी नै हौं भनी र अपराध गरेको                             कुरा स्वीकार गरी कानून विपरीतको कागज गराएको देखिएको र यसबाट                                              अनुसन्धान अधिकारीले पहिले नै प्रतिवादीहरूलाई गैरकानूनी दवाव दिन खोजेको                                  देखिन आएको ।

६)    घटनास्थल मुचुल्काका मानिस र जाहेरवाली तथा पीडितको सही परीक्षण वादी                             तर्फबाट  हुन नसकी घटनाको सत्यता माथि प्रश्न खडाहुन गएको अवस्था देखिन                          आएको ।

७)    जाहेरी दरखास्त हेर्दा दोश्रो पेजको अन्तिम हरफको अन्यायीहरू पछिको मध्येका                           काटी ल्याप्चे सही भएको सो पछि संजय अधिकारी र जनक त्रिपाठीलाई                                       घटनास्थल मै भेटिएका र अन्य दुइजना भागी गएको भन्ने व्यहोरामा भेटिएका र                  अन्य दुइजनालाई भन्ने शब्द काटी ल्याप्चे लगाएको देखिएको तर काटिएको वा                           सो ठाउँमा अन्य व्यहोरा थप गरेको कैफियत खोलेको नदेखिएको ।

८)    पक्राउ गरी दाखिला गरेको भनी दिएको प्र.ज. देवीलाल गुरुंग र शिव गिरीको                                प्रतिवेदनमा २०५४।७ पछि टिपेक्सलगाइ ६ लेखिएको देखिएको । थपिएको ठाउँमा                       प्रतिवेदकहरूको हस्ताक्षर भएको नदेखिएको ।

९)    सनाखत गरिएको भनिएको कागजमा इति सम्बत् को हरफमा कार्तिक पछिको ६                                    र रोज पछि को ४ अंक सच्चिएको देखिएको त्यसमा सम्बन्धित प्रतिवादीहरू वा                                     कागज प्रमाणित गर्ने अधिकारी समेत कसैको हस्ताक्षर भएको नदेखिएको ।

 

            ३२.   माथि उल्लेख गरिएका ९ नम्बरसम्मका अवस्था र स्थितिबाट प्रस्तुत मुद्दामा वास्तविकमा के भएको हो पीडित पक्षको प्रतिवादीहरूलाई अनावश्यक हैरानी दिने उद्देश्य रहेको हो वा अनुसन्धान अधिकारीको व्यापक लापरवाहीबाट सत्य तथ्यकुरालाई भ्रमित पार्न खोजिएको भन्ने अवस्था देखिन आएको छ ।

            ३३.   जवरजस्ती करणी सम्बन्धी अपराध महिलाहरू अर्थात पीडित र तिनका परिवारहरू समेतका  लागि  कुनै पनि तवरबाट पूरा गर्न नसकिने मानसिक पिडाप्रदायक महिला विरुद्ध हुने जघन्य अपराध हो र यस्ता अपराधले सिंगो समाजलाइ नै प्रभाव पार्ने गर्दछ । तथापी पीडित भनिएकी व्यक्ति स्वयंको वा पीडित पक्षको तर्फबाट आमा वा नजिकका नातेदारले जाहेरी गर्दैमा कसूरदार ठहर भने भई हाल्ने पनि होइन । अनुसन्धान अधिकारीबाट हुने कानून अनूरुपको अनुसन्धानबाट संकलित यथार्थपरक र वस्तुनिष्ठ प्रमाणहरू नै कसूर ठहर गर्न मद्दत पुग्ने पहिलो खुट्किलो हो । त्यो खुट्किलो नै कमजोर, आधार विहिन र कानून अनुरुप भएको छैन र जाहेरवाला र स्वयं पीडित पनि अनुसन्धानको क्रममा प्रहरीमा वयान गर्दा एकै व्यहोरा उल्लेख नगरी अदालतमा वकपत्र गर्दा फरक फरक वयान गरी आफु उपर अपराध नै नभएको भन्ने वकपत्र गर्दछन् भने अन्य प्रमाणको अभावमा अनुमान र शंकाको भरमा कसूर कायम गरी पीडित भनिएकी व्यक्तिलाई समेत न्याय प्रदान गर्न  सरल र सुगम हुन सक्दैन । निश्चय पनि कुनै आमाले आफ्नु छोरीको अस्मिता र भविश्य माथि प्रश्न चिन्ह लाग्ने गरी उजूर गर्ने अवस्था आउदैंन । तर यसको अर्थ पीडितको आचरण र व्यवहार तथा अनुसन्धान अधिकारीबाट कानून अनुरुपको अनुसन्धान भएको छैन भने अनुमानका भरमा कसूरदार कायम गर्न मिल्दैन ।  अनुसन्धान अधिकारीबाट यथेष्ठरुपमा अनुसन्धान भई चश्मदिद व्यक्तिहरूको भनाई, अभियुक्तहरूको अनुसन्धानका क्रममा भएको विश्वसनीय वयान, पीडित र पिडक दुवैको शारीरिक परीक्षणको प्रतिवेदनबाट जवरजस्ती करणी भएको यथार्थ र वस्तुनिष्ठ आधार देखिन आउँछ भने यस्तो अवस्थामा साना तिना प्राविधिकत्रुटी  वा कमी कमजोरीबाट यस्ता प्रकृतिका अपराधमा उन्मुक्ती दिन नमिल्ने सिद्धान्तहरूलाई अदालतले स्वीकार गरी आएको छ । अझ भन्नु पर्दा अभियुक्तहरूको अनुसन्धानका क्रममा भएको साविती वयान , पिडक र  पीडितको शारीरिक परीक्षणबाट देखिएको घटनासंग तादात्म्यता देखाउने आधारहरू साक्षी सर्जमिनका भनाईबाट घटनाको विश्वस्नियता पुष्टी हुने आधार र पीडितले आफूले वच्न गरेको प्रयास देखिने वस्तुनिष्ठ आधारमा कसूर प्रमाणित हुने हुन्छ । यी सवै कुराको अभावमा जाहेरी पिडक वा निजको आमा वा नजिकको नातेदारको परेको भन्ने आधारमा मात्र कसैलाई कसूरदार प्रमाणित गर्नु न्याय र कानूनको मान्य सिद्धान्त भित्र पर्दैन ।

            ३४.   प्रस्तुत मुद्दामा जाहेरवाली स्वयं अदालतमा उपस्थित भर्ई यी प्रतिवादीहरूले करणी गरेको भनी गाउँलेहरूले नाम भन भनेकोबाट जाहेरीमा निजहरूको नाम उल्लेख गरेको अहिले वुझ्दा निजहरूबाट कसूर भएको होइन रहेछ भनी प्रतिवादीहरू माथिको निर्दोषिता देखाउन खोजेको पाइन्छ भने जाहेरी दिदा घटनाको यथार्थ देवर टिका गिरीले भनेकोले थाहा पाएको भन्ने उल्लेख गरेको देखिन्छ भने जाहेरीमा उल्लेख भएको टिका गिरीलाई अनुसन्धानका क्रममा वुझिएको पनि देखिदैंन । घटनास्थलका मानिसहरू शंकर गिरी, कृष्ण लामा समेतले घटनास्थलमा आफूहरू उपस्थित नभएको भनी वकपत्र गरेको पाइन्छ यसबाट र माथि गरिएको विश्लेषणबाट प्रस्तुत विवादमा जाहेरी दरखास्तमा लेखिएको व्यहोरा भ्रमपूर्ण र विश्वसनीय रहेको देखिन नआउनुका साथै सम्पूर्ण अनुसन्धानको कार्य कानून अनुकूल र कानूनी आधारमा पनि भएको देखिन आएन। यी सवै कारण र आधारबाट  पीडित भनिएकी जाहेरवालीकी छोरी जानुका गिरीलाई यी पुनरावेदक प्रतिवादीहरूले निजको मन्जूरी वेगर जवरजस्ती करणी गरेको हो भन्न सकिने वस्तुनिष्ठ आधारहरू विद्यमान रहेको देखिन आएन । प्रमाण ऐन २०३१ को दफा २५ ले कसूर प्रमाणित गर्ने भार बादीको रहने कानूनी व्यवस्था गरेको छ । अभियुक्तले अदालत समक्ष आफू दोषी रहेको  भन्ने तथ्य स्विकार नगरेको अवस्थामा वादीले मात्र प्रत्यक्ष प्रमाण या परिस्थितिक प्रमाण दुई मध्ये एक प्रमाणवाट आफ्नो दावी प्रमाणित गर्नुपर्दछ । प्रस्तुत मुद्दा जवरजस्ति करणी अपराध भएको कारण यस्ता प्रकारका अपराधमा मूल चश्मदिद गवाह अर्थात प्रत्यक्ष प्रमाण साधारणतया प्राप्त हुन सक्दैन । खास गरी करणी सम्बन्धी अपराधमा करणी गरिएकी पीडित नै प्रमुख प्रमाण हो । प्रमाण ऐनले जवरजस्ती करणीवाट पीडित व्यक्तिलाई नै प्रमुख प्रमाण मानेको छ । सो ऐनको दफा १०(१)(ख) मा कुनै काम घटना वा अवस्थावाट पीडित व्यक्तिले व्यक्त गरेको कुरा प्रमाणमा लिइने प्रमाण मानेको छ । तर यस मुद्दामा पीडितले प्रहरीमा वयान गर्दा आफु उपर प्रतिवादीहरूले जवरजस्ती करणी गरिएको भनेको तर अदालतमा वकपत्र गर्दा त्यस्को ठीक बिपरीत वकपत्र गरेको देखिन्छ । पीडित जानुका गिरीले अदालत समक्ष गरेको वकपत्रलाई प्रमाणमा लिन नमिल्ने अवस्था देखिंदैन । फौजदारी अपराधमा साक्षीहरूलाई डर, धाक, धम्की दिएर वा कुनै आर्थिक प्रलोभनमा पारेर प्रतिवादी वा अभियुक्तहरूले Hostile बनाउंछन् र यस्तोमा साक्षीलाई ध्ष्ललष्लन बधबथ गरेको भनिन्छ । अन्य प्रमाण भएमा साक्षीलाई Winning away गर्दैमा अपराध कायम नहुने वा प्रतिवादी अभियुक्तलाई सफाई प्राप्त हुने होइन । त्यस्तोमा झुठ्ठा वकपत्र (Perjury)  गरेमा साक्षी वा पीडित स्वयंलाई पनि सजाय हुन सक्छ । मुद्दामा केहि साक्षीहरूले झुठ्ठा वकपत्र गरेको  आधारमा मात्र अपराध नै माफ हुने होइन तर प्रस्तुत मुद्दामा पीडित मूल प्रमाणले Hostile वकपत्र गरेतापनि अनुसन्धानका क्रममा प्रतिवादी अभियुक्तहरूलाई पनि जँचाई तिनिहरूले लगाएको कपडा जाँच गराई तिनिहरूको लिङ्ग जाँच गर्ने, अदालतमा वकपत्र गर्दा Hostile हुने पीडित एवं जाहेरवालीलाई सरकारी वकिलले शुरु जाहेरी र प्रहरीमा उल्लेख गरेको व्यहोरा र अदालतको वकपत्रमा फरक पर्नाको कारण प्रमाण ऐन, २०३१ को दफा ५०(१) बमोजिम र मुलुकी ऐन अदालती वन्दोवस्तको १५८ नं. बमोजिम जिरह गरी साँचो कुरा निकाल्न पर्नेमा सो पनि गरेको देखिएन । यसले गर्दा प्रस्तुत मुद्दा शकामा आधारित देखिन्छ । यस्तो मुद्दामा कसूर प्रमाणित गर्ने भार वादीको हुनेमा ठोस प्रत्यक्ष प्रमाण वा अन्य परिस्थितिक प्रमाणबाट समेत समर्थित नभएको हुदां शंकाको सुविधा अभियुक्तहरूले पाउने (Benefit of doubt goes to the Accused) भन्ने फौजदारी न्यायको मान्य सिद्धान्त समेत अनुसार  प्रस्तुत  अभियोग दावी बमोजिम प्रतिवादीहरूले पीडित जानुका गिरीलाई जवरजस्ती करणी गरेको भन्ने अभियोग दावीसंग सहमत हुन सकिएन ।

            ३५.   अव अभियोग दावी बमोजिम पूनरावेदक प्रतिवादीहरूलाई कसूरदार कायम गरी सजाय गर्ने गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला मिलेको छ छैन भन्ने सम्बन्धमा विचार गर्दा माथि पहिलो प्रश्नका सम्बन्धमा भएको विवेचना र विश्लेषणबाट पुनरावेदक प्रतिवादीहरूले पीडित भनिएकी जानुका गिरीलाई मुलुकी ऐन जवरजस्ती करणीको महलको १ नं.मा  वर्णित प्रक्रिया अनूरुप निजको मन्जूरी नलिई जवरजस्ती करणी गरेको भन्ने कुरा पुष्टी हुन नआएकोले पुनरावेदक प्रतिवादीहरूलाई आरोपित कसूरबाट सफाई दिनुपर्नेमा कसूरदार ठहर गरी उल्लेखित ऐनको ३ नं. बमोजिम सजाय र १० न. बमाजिम आधा अंश दिलाउने समेत गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला कानून अनुरुपको देखिन आएन । अतः पुनरावेदन अदालत हेटौंडाको फैसला उल्टी गरी पुनरावेदक प्रतिवादीहरूलाई सफाई दिने ठहर गरेको माननीय न्यायाधीश श्री बद्रीकुमार वस्नेतको राय मिलेकै देखिदां सो राय सदर हुन्छ । पुनरावेदन अदालत हेटौंडाको मिति २०५७।८।१४ को फैसला उल्टी भै पुनरावेदक प्रतिवादीहरूले आरोपित कसूरबाट सफाई पाउने ठहर्छ।

            ३६.   माथि गरिएको विश्लेषणबाट प्रस्तुत मुद्दाको जाहेरी दरखास्त देखिको व्यहोरा  सच्चिएको पाइएको, उपयुक्त समयमा पीडित भनिएकी व्यक्तिको शारीरिक परीक्षण नभएको, आरोपित व्यक्तिहरू प्रकाउ परी प्रहरी कार्यालयमा वुझाएको देखिन आएकोमा सो कुरा लुकाउने प्रयास गरी पछि प्रकाउ परेको भनी प्रतिवदेन पेश गरेको, तत्काल आरोपित व्यक्तिहरूको  अनिवार्य रुपमा गराउनु पर्ने शारीरिक परीक्षण नगराई घटनाको वास्तकिता लुकाउने प्रयास गरेको र जाहेरवाली र पीडित भनिएकी व्यक्तिको परीक्षण उपयुक्त तरिकावाट नगरी अनुसन्धान प्रक्रियालाई प्रभावित पुर्‍याई घटनाको यथार्थता माथि नै प्रतिकूल प्रभाव पर्न गएको अनुसन्घानबाट संकलित कागजबाट देखिन आएकोले अनुसन्धान अधिकृत प्रहरी नायव नीरिक्षक दिलीप गुरुङले कानून अनुरुप तोकिएको जिम्मेवारी पूरा गरेको नदेखिदा निजलाई सचेत गराई सो को जानकारी यस अदालतलाई गराई निजको व्यक्तिगत विवरणमा यो व्यहोरा जनाउन र प्रस्तुत मुद्दाको अनुसन्धानको क्रममा सरकारी वकिलबाट समेत उचित निर्देशन र नियन्त्रण गरेको देखिन नआएकोले महान्यायाधिवक्ताको कार्यालयको समेत ध्यानकर्षण गरी यो न्यायिक टिप्पणी गरिएको छ । फैसला सहितको जानकारी प्रहरी प्रधान कार्यालय र महान्यायाधिवक्ताको कार्यालयलाई दिनु। अरु तपसिल बमोजिम गर्नु ।   

 

तपसिल

 

पुनरावेदक प्रतिवादीहरू के माथि इन्साफ खण्डमा लेखिए बमोजिम पुनरावेदक प्रतिवादीहरूलाई आरेपित कसूर गरेको ठहर गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला उल्टी भै प्रतिवादीहरूले सफाई पाउने ठहर भएकोले पुनरावेदन अदालतको फैसलाको तपसिलको १ को देहाय बमोजिमको लगत कसी असूल उपर गर्नुपर्ने नभएकोले सो लगत कटृा गरी दिनु भनी शुरु चितवन जिल्ला अदालतमा लेखी पठाई दिनु ............ १

पुनरावेदक प्रतिवादीहरू के माथि इन्साफ खण्डमा लेखिए बमोजिम निजहरूले सफाई पाउने ठहरेकोले पुनरावेदन अदालतको फैसला उपर यस अदालतमा पुनरावेदन गर्दा यस अदालतमा राखेको नगद धरौटी निजहरूले नै फिर्ता पाउने हुंदा देहाय बमोजिम कानूनका म्याद भित्र फिर्ता पाउँ भनी मांग गर्न आएमा फिर्ता दिनु भनी शुरु चितवन जिल्ला अदालतमा लेखी पठाईदिनु .....२

 

पुनरावेदक प्रतिवादी

संजय अधिकारी धरौटी रु. १०९५०।

जनक त्रिपाठी  –  धरौटी रु. १०९५०।

राजकुमार चौधरी– ,,       रु.१४२५०।

 

नियमानुसार गरी मिसिल वुझाई दिनु ....३

 

उपर्युक्त रायमा सहमत छौं ।

 

न्या.केदारप्रसाद गिरी

न्या.वलराम के.सी.

 

इति सम्वत २०६२ साल आषाढ २ गते रोज ५ शुभम् .............

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु