निर्णय नं. ४१८६ - लागू औषध

निर्णय नं. ४१८६ ने.का.प. २०४७ अङ्क ७
संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४५ सालको फौ.पु.नं. ४६८
फैसला भएको मिति : २०४७।३।३१।१ मा
पुनरावेदक/वादी : अस्थायी प्रहरी चेकपोष्ट छोरेपाटनको पत्रले श्री ५ को सरकार
विरुद्ध
प्रत्यर्थी/प्रतिवादी : ध.अं.म्याग्दी राम्चे गा.पं.वा.नं. २ बस्ने खेम भन्ने खरजित पुनसमेत
मुद्दा : लागू औषध
(१) लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा ३ को खण्ड (ख) को (२) मा गाँजा भन्नाले चरेश समेत भन्ने जनाएकोमा ऐ.दफा ४(क) ले गाँजा खेती गर्न मनाही गरेको उक्त ऐनमा २०४३।७।२४ मा भएको संशोधनको ४(क) मा गाँजाको खेती उत्पादन र सेवन गर्नमा प्रतिबन्ध लगाई ऐ.को स्पष्टीकरणमा लागू औषध भन्नाले सो दफाको खण्ड (क) अन्तर्गतको कसूरमा मात्र गाँजा चरेशलाई समावेश गरेको देखिन्छ, प्रस्तुत मुद्दा गाँजा चरेश वसार पसार र बिक्री वितरण सम्बन्धी भएकोबाट सो ऐन अन्तर्गतको अपराध नदेखिने ।
(प्रकरण नं. १७)
पुनरावेदक तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बुद्धरत्न शाक्य
फैसला
न्या.हरगोविन्द सिंह प्रधान
१. प.क्षे.अ. को फैसला उपर पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ ।
२. २०४३।११।१२ गतेका दिन ११.५५ बजेको समयमा भैरहवाबाट पोखरा आएको लु.अं.ख. ८५ नं. को भाडावाला बसमा यात्रा गरी आएका यात्री मध्ये खेम भन्ने खरजित पुनको साथमा रहेको झोला चेक जाँच गर्दा अवैध चरेश २ किलो गाँजा २८० ग्राम फेला परेकोले बरामदी मुचुल्का र मानिस समेत यसै साथ पठाइएको छ कानुन बमोजिम हुन अनुरोध छ भन्ने अस्थायी प्रहरी चेक पोष्ट छोरे पाटनको ०४३।११।१२ को पत्र ।
३. बरामद भएको चरेश २ के.जी. र गाँजा २८० ग्राम नाम थाहा नभएको म्यादी धारा पानीको व्यक्तिबाट प्रति के.जी. रु. १,०००।– का दरले २ के.जी. चरेशको रु. २,०००।– मा र गाँजाको धुलो निःशुल्क निजैबाट लिई पोखरा नाम नजानेको जर्मन नागरिकलाई बिक्री गर्न ल्याएको हुँ भन्ने समेत ०४३।११।१३ को बयान कागज र म्याग्दी जिल्ला अर्थुड्डे गा.पं. वडा नं. १ बस्ने मजरमान श्रेष्ठबाट प्रति के.जी. रु. १,०००।– का दरले २ के.जी.चरेशको रु. २,०००।– र गाँजा निःशुल्क ल्याएको हुँ भन्ने समेत व्यहोराको ०४३।११।२२ मा खेम भन्ने खरजित पुन मगरले प्रहरीमा गरेको ततिम्बा बयान कागज ।
४. बरामद भई आएको चरेश २ के.जी. र गाँजा २८० ग्राम मैले निज खरजितलाई बिक्री गरेको हैन र मैले त्यस्तो गाँजा चरेश साथमा राख्ने बिक्री गर्ने इत्यादि काम हालसम्म गरेको छैन । त्यस्तो अवैध कारोबार गर्दिन भन्ने समेत व्यहोराको मेजरमान श्रेष्ठले प्रहरीमा गरेको बयान कागज ।
५. खेम भन्ने खरजित पुनले बढी मात्रामा अवैध लागू औषध चरेश गाँजा ल्याएको हुँदा बिक्री गरी नाफा कमाउने उद्देश्यबाट लिई आएको विश्वास लाग्छ भन्ने समेत व्यहोराको मौका तहकिकात सरजमीन मुचुल्का ।
६. संकलित सबूद प्रमाणबाट प्र.खेम भन्ने खरजित पुन मगरले लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा (४) को खण्ड (च) को कसूर गरेकोले ऐ.ऐनको दफा १४ को उपदफा (१) को (ग) अनुसार सजायँ हुन र प्र.मेजरमान श्रेष्ठले लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा ४ को (घ) को कसूर गरेकोले ऐ.ऐनको दफा ४ को उपदफा (१)(ग) अनुसार सजायँको माग गरिएको छ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन माग दावी ।
७. म्याग्दी तातो पानी बारी बाटोमा जर्मन नागरिक भेट भयो र यो झोला पोखरासम्म लगि देउ रु. ५००।– दिन्छु भनेकाले, म भारी बोकी खाने मानिस हुँदा झोला बोकी ल्याएको हुँ । २०४३।११।१२ गते प्रहरी चेकपोष्ट छोरे पाटनमा प्रहरीले चेक गर्दा झोलामा चरेश रहेछ भन्ने थाहा भयो । उक्त चरेश समेत खरिद बिक्री गर्न ल्याएको होइन । जर्मन नागरिकको झोला बोकी ल्याई दिएको हुँ । निज हाल कहाँ छन मलाई थाहा छैन । मेजरमान श्रेष्ठलाई पनि चिनेको छैन । प्रहरीमा गरेको बयानमा जबरजस्ती सही गराएका हुन भन्ने समेत व्यहोराको प्रतिवादी खेम भन्ने खरजित पुन मगरले शुरु गण्डकी अञ्चल अदालतमा गरेको बयान ।
८. मलाई पोल गर्ने खेम भन्ने खरजित पुनलाई चिन्दिन मैले चरेश संचय र बिक्री गरेको होइन हाल जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्र.ह.चित्रबहादुरसंग मैले प्रहरीलाई राशन खुवाउने ठेकदार हुँदा भनाभन हुन्थ्यो सोही रिसइवीले फसाउन पोलाएको होलान मेरा विरोधीहरुले स्थानीय गा.पं. को चुनावमा लड्छ भनेर परिबन्ध पारी फसाउन खोजेको हुन सक्छ मैले अवैध गाँजा चरेश संचय बिक्री गरेको होइन भन्ने समेत व्यहोराको प्रतिवादी मेजरमान श्रेष्ठले गण्डकी अञ्चल अदालतमा गरेको बयान ।
९. भैरहवाबाट पोखरा आएको लु.अं.ख. ८५ नं. को भाडावाला बसमा खेम भन्ने खरजित नौडाँडाबाट चढी आएको रहेछ बस चेक गर्दा झोला देखाउनु होस भन्दा चावीवाला झोला भएको र मसंग चावी छैन भनी भनेकोमा पछि चावी खोली झोला चेक गर्दा चरेश २ के.जी. २०० ग्रा. र २०० ग्राम भाङको धुलो (गाँजाको धुलो थियो र पछि खेम भन्ने खरजित पुन र चरेश समेत जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाएको हो भन्ने समेत व्यहोराको जाहेरवाला प्र.स.नि. गोरे तामाङले शुरु गण्डकी अञ्चल अदालतमा गरेको बकपत्र ।
१०. प्रतिवादीका साक्षीहरुको बकपत्र भई मिसिल सामेल रहेछ ।
११. प्रतिवादी खेम भन्ने खरजित पुन मगर अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान कागजमा अपराधलाई स्वीकारेको र सरजमीनका व्यक्तिले पनि निजबाट बरामद भएको कुरालाई समर्थित गरेको हुँदा निजलाई लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा १४(१)(घ) अनुसार कैद वर्ष १ र जरिवाना रु. ५०००। समेत दुवै सजायँ हुने ठहर्छ र प्रतिवादी मेजरमान श्रेष्ठले आरोपित कसूरमा अदालत समेतमा इन्कार भई बयान गर्दै सफाईको सबूद गुजारेको मिसिलबाट देखिए पनि प्रतिवादी खेम भन्ने खरजित पुनले मेजरमानबाट किनेको भनी निजलाई पोल गरेको हुँदा निजलाई ऐन बमोजिम तजबिजी जरिवाना रु. १,०००।– हुने ठहर्छ भन्ने समेत व्यहोराको शुरु गण्डकी अञ्चल अदालतबाट मिति २०४४।२।१९ मा भएको फैसला ।
१२. गण्डकी अञ्चल अदालतको फैसला उपर प्र.मेजरमान श्रेष्ठको प.क्षे.अ.मा परेको पुनरावेदनपत्र ।
१३. लागू औषध नियन्त्रण ऐन, २०३३ को २०४३।७।२४ को संशोधित दफा ४(क) मा गाँजाको खेती गर्न उत्पादन गर्न वा सेवन गर्न मनाही गरेको पाइयो । साथै सोही दफाको स्पष्टीकरणमा लागू औषध भन्नाले खण्ड (ख)(ग)(घ)(ङ) र (च) को प्रयोजनको लागि गाँजालाई जनाउने छैन भन्ने उल्लेख भएको देखिएकोले खण्ड (क) को कसूरमा मात्र गाँजा (चरेश) समावेश भएको पाइएको । प्रस्तुत मुद्दा गाँजा, चरेश, ओसार पसार र बिक्री वितरण सम्बन्धी भई सो ऐन अन्तर्गतको अपराध नदेखिँदा गण्डकी अञ्चल अदालतले अपराध कायम गरी गरेको २०४४।२।१९ को फैसला नमिलेकोले पुनरावेदन नगर्ने प्रतिवादी खरजित पुन मगरका हकमा समेत अ.बं. २०५ नं. बमोजिम उक्त फैसला बदर गरिएको छ भन्ने समेत प.क्षे.अ. को मिति २०४५।३।७ को फैसला ।
१४. प.क्षे.अ. को फैसला उपर श्री ५ को सरकारको यस अदालतमा परेको पुनरावेदनपत्र ।
१५. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदक तर्फबाट रहनु भएका विद्वान सहन्यायाधिवक्ता श्री बुद्धरत्न शाक्यले प्रस्तुत गर्नु भएको बहस जिकिर समेत सुनियो ।
१६. अब प.क्षे.अ. को निर्णय मिले नमिलेको के रहेछ सो को निर्णय दिनु परेको छ ।
१७. निर्णयतर्फ विचार गर्दा यसमा लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा ३ को खण्ड (ख) को (२) मा गाँजा भन्नाले चरेश समेत भन्ने जनाएकोमा ऐ.दफा ४(क) ले गाँजा खेती गर्न मनाही गरेको देखिन्छ । उक्त ऐनमा २०४३।७।२४ मा भएको संशोधनको ४(क) मा गाँजा खेती उत्पादन र सेवन गर्नमा प्रतिबन्ध लगाई ऐ.को स्पष्टीकरणमा लागू औषध भन्नाले सो दफाको खण्ड (क) अन्तर्गतको कसूरमा मात्र गाँजा चरेशलाई समावेश गरेको देखिन्छ । प्रस्तुत मुद्दा गाँजा चरेश वसार पसार र बिक्री वितरण सम्बन्धी भएकोबाट सो ऐन अन्तर्गतको अपराध नदेखिँदा गण्डकी अञ्चल अदालतले अपराध कायम गरेको फैसला नमिलेको ठहर्याई पुनरावेदन नगर्ने प्रतिवादी खरजित पुन मगरका हकमा समेत अ.बं. २०५ नं. बमोजिम उक्त फैसला बदर गरी दिने ठहर गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.प्रचण्डराज अनिल
इतिसम्वत् २०४७ साल असार ३१ गते रोज १ शुभम् ।