शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७५१२ - अंश ।

भाग: ४७ साल: २०६२ महिना: असार अंक:

निर्णय नं.७५१२     ने.का.प.२०६२ अङ्क ३

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली

माननीय न्यायाधीश श्री अर्जुनप्रसाद सिंह

सम्वत् २०५६ सालको दे.पु. नं. ५४८०

फैसला मितिः २०६२।३।१

 

मुद्दाःअंश ।

 

            पुनरावेदक/वादीः मोरङ्ग जिल्ला डागिहाट गा.वि.स. वडा न.. ७ वस्ने लालविर खवास    समेत

विरुद्ध

            प्रत्यर्थी/प्रतिवादीः ऐ.ऐ. वस्ने चेची खवासनी

 

§  २०२४ सालमा वादी रन्थु खवास र लालविर खवासको नाममा केहि जग्गा दर्ता भएको देखिएकै आधारमा यी वादी प्रतिवादीहरु बीच अंश वण्डा भई छुट्टि भिन्न भै सकेका भनि मान्नु न्याय र कानून संगत हुने देखिन नआउने ।

(प्रकरण नं.१६)

§  अंशवण्डा नभएको व्यहोरा लेखि गा.वि.स.मा दिएको निवेदनलाई प्रस्तुत मुद्दाका प्रतिवादीले अन्यथा भन्न सकेको नदेखिंदा समेत वादी प्रतिवादीहरु छुट्टि भिन्न भएका भन्ने प्रतिवादीको भनाई प्रतितलायक नदेखिने ।       

(प्रकरण नं.१७)

 

पुनरावेदक वादी तर्फवाटः विद्वान अधिवक्ताहरु श्री प्रभुनारायण चौधरी, श्री हरिहर दाहाल

प्रत्यर्थी प्रतिवादी तर्फवाटः

अवलम्वित नजीरः

 

फैसला

            न्या.अर्जुनप्रसाद सिंहः पुनरावेदन अदालत विराटनगरवाट भएको मिति ०५२।१।५ को फैसला उपर दोहर्‍याई हेरी पाउँ भनि वादी पक्षले दिएको निवेदनमा यस अदालतको मिति ०५६।५।१६ को आदेशले न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम मुद्दा दोहर्‍याई हेर्ने निस्सा प्रदान भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छः

            २.    स्व. ढोढन खवासका चार छोराहरु मध्ये जेठो स्व. जगजित खवासको एक मात्र छोरा म वादी लालविर खवास हुँ । माईला स्व. जितलाल खवासको कुनै सन्तान नभएको र प्रतिवादी चेची खवासनी निजकी श्रीमती हुन् । साइलो वादीहरु मध्येको म रन्थु खवास हुँ । कान्छो स्व. धुम नारायणको पत्नीको पनि मृत्यु भएको र निजहरुको एकमात्र छोरी कलरनी खवासको विवाह भै सकेको छ । हामीहरुको २०२३ साल देखि मानु छुट्टिई भात भान्सा अलग भएपनि आयस्ता भाग शान्ति खादै भोग्दै आएकोमा स्व. धुम नारायणकी छोरी कलरनीले विपक्षी चेची खवासलाई प्रतिवादी वनाई २०४४ सालको अंश मुद्दा दिई मिति ०४४।११।१० मा दुवै पक्षले मिलापत्र गरी निज कलरनीले पिताको अंश भाग पाई चित्त वुझाई वसेकी हुँदा विपक्षी तथा हामी वादीहरु २ जना समेत ३ जनाको बीचमा अंशवण्डा हुन वाँकी छ । विपक्षीलाई  हामी बीच कानून बमोजिम अंश वण्डा गरौ भन्दा इन्कार गरेकी हुंदा ०२३।१।१लाई मानु छुट्टिएको मिति कायम गरि विपक्षीबाट तायदाती फाटवारी लिई ३ भाग लगाई सो मध्ये २ भाग हाम्रो अंश छुट्याई चलन समेत चलाई पाउँ भन्ने वादीहरुको फिराद दावि ।

            ३.    विपक्षीको फिराद दावी झुठा हो । जेठा जगजित खवासको परलोक भएपछि निजको छोरा विपक्षी वादी मध्येको लालविर, विपक्षी रन्थु खवास, मेरो श्रीमान जितलाल र धुमनारायण एकासंगोलमा वसि आएको र सगोलको जग्गा मेरो श्रीमान जितलाल खवासको नाउमा रहेकोमा यी वादी र मेरो श्रीमानको हित्त चित्त नमिल्दा २०२३ साल फाल्गुनमा चल सम्पत्ति हात हातै बुझि लिई आफ्नो परिवार लिई वेग्लै वसी मेरो श्रीमान र देवर धुम नारायण सगोलमै वसि मिति ०२४।२।६ मा अचल जग्गा पनि नरम गरम मिलाई घरसारमा अंश वण्डा गरी सो बमोजिम विपक्षीहरुले पाउनु भएको आआफ्नो अंश भागको जग्गा जिम्दारी पटवारीको श्रेस्तामा मेरो लोग्नेको नामवाट खारेज गराई आआफ्नो नाउंमा दाखेल दर्ता गराई लिनु भएको छ । सो अनुसार विपक्षी रन्थु खवासले मौजे वहिराखोनीको रैति नं. २६५ र लालविर खवासले सोही मौजाको रैति नं. २६६ मा दाखेल दर्ता गराई एकलौटी भोगी आउनु भई सर्भे नापि हुंदा आआफ्नो नाममा दर्ता गराई भोग व्यवहार गर्दै आउनु भएको छ । मेरो लोग्ने जितलाल र देवर धुम नारायण खवासको अंश भागको जग्गा मात्र मेरो लोग्नेको नाममा रहेकोमा निज धुम नारायणकी छोरी कलरनी खवासनीले वावुको भागको अंश छुट्याई पाउ भनि मुद्दा दिई २०४४।११।१० मा मिलापत्र भई निजले अंश भाग लिई सकेकी छन् । मेरो लोग्नेको अंश भाग निजको नामवाट मेरो नाममा नामसारी गरी भोगी आएकी छु । विपक्षीहरुलाइ अंश दिन वाँकि छैन । निजहरुले आफ्नो अंश भाग लिई सकेका हुंदा झुठ्ठा वादी दाविवाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र ।

            ४.    विपक्षीबाट हामीले अंश लिई अलग भिन्न भै रै.न.. अलग अलग गरि जग्गा दर्ता गरी भोगि आएका छैनौ । रै.नं. २६५ र २६६ को जग्गा विपक्षीकै नाउंमा दर्ता भएको होला कुनै रै.नं.वाट हाम्रो नाउंमा जग्गा आएको छैन । हामीले अलग भिन्न भै जग्गा खाए भोगेको र प्राप्त गरी सर्भे  दर्ता समेत भएको नहुँदा विपक्षीले के कसरी जालसाजी गरेका हुन् खुलाउन सक्दिन भनि वादी वा.स.लालविरले गरि दिएको कागज ।

            ५.    रै.नं. ३० मेरो पती जितलालमा रहेको, सो मध्येबाटै २०२४ साल जेठमा रै.नं. २६५ वाट रन्थुलाई ४९२ ।।। ३ र रै.नं. २६६ वाट लालविरलाई  २ ।.।।।.२ ।। गएको, धुम नारायण र मेरो पति जितलालको २ अंशमा जम्मा ९ ।।. ।२ ।। वाँकी रहेकोमा कलवरनीले २० लिई मिलापत्र गरेकी र वाँकी जग्गा सर्भेमा जीतलालको नाममा नापी भै भोग चलन गरी रहेकी छु भनी प्र. चेची खवासले गरि दिएको कागज ।

            ६.    प्र.बाट पेश भएको ज.ध.प्र.पू.वाट वादीहरुका नाउँमा जग्गा दर्ता समेत भएको देखिन आएकोले दर्ता र भोग समेत छैन भन्ने वादीको भनाई पत्यार लाग्दो भएन । प्रतिवादीको पति जितलालवाट रै.नं. २६५ रन्थु र २६६ लालविरको नाउंमा अंशवाट नआएको भए के आधारमा पाए दर्ता गराएको हो सो कुरा फिरादीले खुलाउन नसकेको र अंशी हुंदा पति जितलालवाटै भिन्न भै अंश जग्गा जिमिदारी पटवारीमा दर्ता गराई लिई भोगेको भन्ने प्र. जिकिर हाल सर्भेको ज.ध.प्र.पुर्जा समेतको दर्ता श्रेस्तावाट देखिदा अंश वण्डाको ३० नं. ले पुन अंश वण्डा गराई दिन नमिल्ने हुंदा अंश पाउँ भन्ने वादी दावि पुग्न सक्दैन भन्ने मोरङ्ग जिल्ला अदालतको मिति ०४९।३।२५ को फैसला ।

            ७.    शुरु मोरङ्ग जिल्ला अदालतको फैसला चित्त वुझेन । प्रतिवादीले २०२४।२।६ को घरसारमा भएको भनेको अंश वण्डा लेखत नभई दरखास्त नामको एउटा कागजात छ जुन कसले कसलाई दिएको हो स्पष्ट छैन र सो कागजलाई अंश वण्डाको लिखत भन्न मिल्ने होइन । सो कागजमा अंशियारको भाग समेत देखिएको छैन । रितपूर्वकको अंश वण्डाको लिखत नभए सम्म अंश वण्डा भएको भन्न नमिल्ने हुंदा केवल अनुमानको भरमा अंश नपाउने गरी भएको मोरङ्ग जिल्ला अदालतको फैसला वदर गरि वादी दावि बमोजिमको इन्साफ पाउँ भन्ने समेत व्यहोराको वादीहरुको पुनरावेदनपत्र ।

            ८.    वादी प्रतिवादीका नाउँमा रहेको जग्गा घटिवढि देखिने र वण्डा भएको प्रमाण समेतको अभाव देखिएको अवस्थामा वादी दावि पुग्न नसक्ने ठहर्‍याएको शुरुको फैसला फरक पर्न सक्ने देखिंदा अ.वं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई पेश गर्नु भन्ने पुनरावेदन अदालत विराटनगरको मिति ०५०।३।२० को आदेश ।

            ९.    वादी प्रतिवादीका नाउमा वर्षौ देखि अलग अलग जग्गा दर्ता भै भोग विक्रि व्यवहार समेत अलग अलग रुपमै गर्दै आएको र नामसारी तथा वकसपत्रका लिखतहरुमा समेत आफ्नो एकलौटी हक भोगको अरु कसेको हक नभएको जस्ता वाक्यांश प्रयुक्त भएको समेतका कारण प्रमाणवाट पुनरावेदक वादीहरु अगाडिनै छुट्टि भिन्न भै सकेको होइन छैन भनि भन्न मिल्ने अवस्था देखिएन । तसर्थ मिसिल संलग्न सवुद प्रमाणको मूल्यांकन गरि वादीहरुको आआफ्नो नाउमा जग्गा दर्ता भै भोग विक्रि व्यवहार समेत भएको देखिएको आधारमा अंश वण्डाको ३० नं. ले पुनः अंश गराई दिन नमिल्ने भनि अंश पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहराएको शुरु मोरङ्ग जिल्ला अदालतको इन्साफ मनासिव हुंदा सो सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत विराटनगरको मिति २०५२।१।५ को फैसला ।

            १०.    २०२४ सालमा वादी रन्थु खवास र लालविरको नाममा जग्गा जिमदारी पटवारीमा दर्ता गर्दा अंश वापत भनि दा.खा. गरि दिएको वा कुनै घरसारको लेखत गरि दिएको भन्ने समेत देखिदैन । २०२२ सालमा ७ नं. फाटवारी भर्दा जितलाल मुख्य भई  भरेको र त्यसवाट वण्डा लाग्ने सम्पत्ति साढे २५ विगाहा भन्दा वढि देखिएकोमा रन्थु खवासको नाममा ज.वि. ४१८ र लालविरको नाममा ज.वि. २१७१/२ जग्गा दा.खा. गरि दिदैमा चार अंशियार बीच भाग शान्ति अंशवण्डा भएको मान्न सकिन्न । वादी प्रतिवादी बीच अंश वण्डा भएको रित पूर्वकको लिखत भएको कहि कर्तैवाट देखिएको छैन । व्यवहार प्रमाणवाट अंश वण्डा भएको ठहरिनलाई प्रतिवादी र हामी वादी बीच वा वादीहरुकै बीच जग्गाको लेनदेन सुक्रि विक्रि हुनुपर्नेमा त्यस्तो भएको छैन। तसर्थ पुनरावेदन अदालत विराटनगरको फैसला अंश वण्डाको ३० नं. प्रमाण ऐन, २०३१ को दफा ६ (क) तथा सर्वोच्च अदालतवाट ने.का.प. ०४४ नि.नं. ३०५१ पृ. ३९५ मा प्रतिपादित शिद्धान्त समेतको विपरीत हुंदा मुद्दा दोहर्‍याई हेरी इन्साफ पाउँ भन्ने वादीहरुको यस अदालतमा परेको निवेदन पत्र ।

            ११.    यसमा ७ नं. फाँटवारीवाट जम्मा ज.वि. २२।।४।।२ देखिएको तर वादी लालविरले २ विघा र रन्थुले ४ विघा चानचुन जग्गा अंश वापत पाएको भन्ने प्रतिवादी कथन रहेछ । अंश वण्डाको लिखत खडा भएको देखिदैन । लिखतनै खडा नभएकोमा लिखत पारित हुने प्रश्न उठेन । वादीहरुले अंश पाई सकेको प्रमाणित हुने प्रमाणको अभावमा अंश पाई सकेको भनि ठहराएको फैसलामा अंश वण्डाको ३० नं. को कानूनी त्रुटि विद्यमान भएको मान्नु पर्ने हुंदा दोहर्‍याई हेर्ने निस्सा प्रदान गरिएको छ । कानून बमोजिम गर्नु भन्ने यस अदालतको मिति ०५६।५।१६ को आदेश ।

            १२.   यस अदालतको मिति २०६०।९।२ को आदेशानुसार तायदाती फाटवारी माग भएकोमा वादी प्रतिवादी दुवै पक्षको तायदाति फाटवारी वादी पक्षवाट दाखेल भै मिसिल सामेल रहेको ।

            १३.   नियम बमोजिम मुद्दा पेशी सूचीमा चढि इजलास समक्ष पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीका तर्फबाट उपस्थित हुनु भएका विद्वान अधिवक्ताहरु श्री प्रभुनारायण चौधरी एवं श्री हरिहर दाहालले वादी प्रतिवादी बीच वण्डापत्र भएको छैन । अंश वण्डाको ३० नं. बमोजिम व्यवहार प्रमाणवाट छुट्टि भिन्न भएको कुरा प्रमाणित हुन अंशियारले भाग शान्ति जग्गा आआफ्नो नाममा दर्ता गराई छुट्टाछुट्टै विक्री व्यवहार स्वतन्त्र रुपवाट गरेको देखिनु पर्नेमा सो केहि देखिएको छैन । प्रस्तुत मुद्दामा ७ नं. फाटवारीवाट अंश वण्डा लाग्ने सम्पत्ति करिव २५ विघा देखिएकोमा लालविरको नाउँमा करिव २ विघा ६ कठ्ठा र रन्थुको नाममा करिव ४ विघा जग्गा दर्ता भएको देखिदैमा निजहरु बीच नरम करम मिलाई अंश भाग लगाएको भन्न मिल्ने होईन । अंशीयारहरु बीच समानुपातिक रुपमा जग्गा दर्ता भएको देखिएको छैन । केही जग्गाहरु अंशियारका नाममा छुट्टाछुट्टै दर्ता हुदैमा अंश वण्डा भएको मान्न मिल्ने होइन । तसर्थ पुनरावेदन अदालत विराटनगरको फैसला त्रुटिपूर्ण भएको हुंदा वदर भई वादी दावि बमोजिम अंश पाउने ठहर हुनु पर्दछ भनि वहस प्रस्तुत गर्नु भयो ।

            १४.   पेश भएको पुनरावेदन सहितको मिसिल कागजात अध्ययन गरी विद्वान कानून व्यवशायीहरुले प्रस्तुत गर्नु भएको वहस जिकिरलार्ई दृष्टिगत गर्दा पुनरावेदन अदालत विराटनगरको फैसला मिले नमिलेको के रहेछ भनी निर्णय दिनुपर्ने देखिन आयो ।

            १५.   निर्णय तर्फ विचार गर्दा हामी वादी र प्रतिवादीहरु सगोलका अंशियार भएको र अंश वण्डा नभएको  हुंदा ३ खण्डको २ खण्ड अंश छुट्याई पाउँ भन्ने वादी दावि भएकोमा २०२४ सालमै अंश वण्डा भई वादीहरुले आआफ्नो नाउंमा दर्ता भोग व्यवहार समेत गरेको हुंदा अंश दिनुपर्ने होइन भन्ने प्रतिउत्तर जिकिर रहेछ । शुरु मोरङ्ग जिल्ला अदालतले वादी दावि नपुग्ने ठहराएको फैसला सदर गर्ने पुनरावेदन अदालत विराटनगरको फैसला उपर दोहर्‍याइ हेरी पाउँ भनि वादीहरुको निवेदन पर्न आएको देखिन आयो । यसमा वादी प्रतिवादीहरु अंशीयार भएको कुरामा र पुस्तावली तर्फ कुनै विवाद देखिन आएन । निजहरु बीचमा अंश वण्डा भएको कुनै पनि प्रकारको लिखत खडा भएको नदेखिंदा लिखत पारित हुने प्रश्ननै आएन । ०२२ सालमा जितलाल मुख्य भई ७ नं. फाटवारी भरेको र सो फाटवारीवाट साढे पच्चीस विगाहा भन्दा वढि जग्गा संगोलमा रहेको देखिन आयो । ०२२ साल देखि २०२४ साल सम्म जग्गा विक्रि वा नामसारी भएर गएको देखिदैन । २०२४ सालमा वादी रन्थु खवासका नाममा रैति नं. २६५ वाट ४।२.।।।३ र लाल विरको नाममा रैति नं २६६ वाट २।.।।.।। जग्गा दर्ता  भएको देखिन आयो । सो अनुसार रन्थु खवासले ज.वि. ४१८ र लालविरको नाममा ज.वि. २१७१/२ जग्गा आएको भन्ने देखिन्छ।  २०२४।२।६ मा जग्गा दा.खा. दर्ता गर्नको लागि दिएको निवेदनमा सो जग्गा अंश वापत पाएको हो भनि उल्लेख गरेको देखिन आउदैन । यसप्रकार वादी प्रतिवादीहरु चार अंशि देखिएकोमा एक अंशियारको भागमा ६ विघा भन्दा वढि जग्गा पर्ने देखिन आउछ । २०२४ सालमा यी वादी रन्थु र लालविरको भागमा क्रमशः लगभग ४ विघा र २ विघा जग्गा दर्ता भएको देखिंदा वादी प्रतिवादीहरुका बीचमा समानुपातिक रुपमा जग्गा दर्ता भएको देखिन आएन । असमान रुपमा जग्गा दर्ता गर्दा त्यती मात्रै जग्गा अंश भागमा परेको वा सो जग्गा निजहरुको अंश भागमा परि दर्ता गराएको हो भनि खुलाएको पनि मिसिल संलगन कागज प्रमाणवाट देखिन आएको छैन ।

            १६.    वादी प्रतिवादीहरु बीच व्यवहार प्रमाणवाट अंश वण्डा भएको देखिनका लागि आआफ्नो अंश भाग भाग शान्ति बमोजिम पाई आआफ्नो भागको अचल सम्पत्ति स्वतन्त्र रुपमा छुट्टाछुट्टै भोग विक्रि व्यवहार गरेको हुनुपर्ने तथा अंशियारहरु बीचमा लेनदेन सुक्रि विक्रि भएको देखिनु पर्ने हुन्छ । अंशियारहरु मध्ये कसैको नाममा केहि जग्गा दर्ता भएकै मात्र कारणले निजहरु छुट्टि भिन्न भै सकेको भन्नु कानून संगत हुदैन । यस अदालतवाट सर्भे नापिमा विभिन्न अंशियारका नाममा नापि भै दर्ता भएकोले व्यवहार प्रमाणवाट अंश वण्डा भएको भन्ने प्रतिवादीहरुको कथनलाई अंश वण्डाको ३० नं. बमोजिम विक्रि व्यवहार भै दाखिल खारेज समेत भएको भनि मान्न नमिल्नेभनि ने.का.प. २०५३ नि.नं. ६०९३, पृष्ठ ९०८ मा शिद्धान्त समेत स्थापीत भएको देखिन्छ । तसर्थ २०२४ सालमा वादी रन्थु खवास र लालविर खवासको नाममा केहि जग्गा दर्ता भएको देखिएकै आधारमा यी वादी प्रतिवादीहरु बीच अंश वण्डा भई छुट्टि भिन्न भै सकेका भनि मान्नु न्याय र कानून संगत हुने देखिन आएन ।

१७.   प्रस्तुत मुद्दाका प्रतिवादी चेची खवासका पति जितलाल मण्डलले २०३९।१२।९ मा डागिहाट गा.वि.स.मा दिएको निवेदनमा हामी दाजु भाईहरु संगोलमानै वसेको वखत भाई धुमनारायण मण्डल परलोक भएको र अंश वण्डा छुटपुट नै नभएको मेरै नाउंमा भाइ रन्थु खवास भतिजो लालविर खवास समेतलाइ केहि जग्गा दिए पनि वाँकी सम्पत्ति अंश भाग वण्डा रही रहेको भन्ने व्यहोरा उल्लेख भएको देखिन्छ । यसरी अंश वण्डा नभएको व्यहोरा लेखि गा.वि.स.मा दिएको निवेदनलाई प्रस्तुत मुद्दाका प्रतिवादीले अन्यथा भन्न सकेको नदेखिंदा समेत वादी प्रतिवादीहरु छुट्टि भिन्न भएका भन्ने प्रतिवादीको भनाई प्रतितलायक देखिन आएन ।

            १८.   माथि विवेचना गरिएका आधार प्रमाणवाट वादी प्रतिवादीहरु संगोलमा रहेका र निजहरु बीच अंश वण्डा भई सकेको नदेखिंदा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी वादीहरुले आफ्नो जिम्मामा रहेको सम्पत्ति र प्रतिवादीको जिम्मामा रहेको सम्पत्तिको हकमा समेत दिएको तायदातिमा उल्लेखित सम्पत्ति मध्येबाट वादी दावी बमोजिम ३ खण्डको २ खण्ड वादीहरुले अंश छुट्याई लिई चलन समेत चलाई पाउने ठहर्छ । सो बमोजिम अंश पाउने ठहर गर्नुपर्नेमा अंश नपाउने ठहराएको शुरु फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत विराटनगरको मिति ०५२।१।५ को फैसला उल्टी हुन्छ । अरुमा तपसिल बमोजिम गर्नु ।

 

तपसिल

 

माथि इन्साफ खण्डमा लेखिए बमोजिम पेश भएको तायदातिमा उल्लेखित सम्पत्तिवाट ३ भागको २ भाग वादीहरुले अंश छुट्याई लिई चलन समेत चलाई पाउने ठहरेको हुंदा दण्ड सजायको ४६ न.. का म्याद भित्र अंश छुट्याई पाउँ भनि वादीहरुको दरखास्त पर्न आए अढाई प्रतिशत दस्तुर लिई देहाय बमोजिमको तायदाति फाँटवारीमा उल्लेखित सम्पत्तिवाट नरम करम मिलाई ३ भागको २ भाग अंश वादीहरुलाई छुट्याई चलन समेत चलाई दिनु भनि शुरु मोरङ्ग जिल्ला अदालतमा लगत दिनु .... १

लालविर खवास, थुवि खवास, वुध नारायण खवास र विरवल खवासले मिति २०६०।११।१ मा पेश गरेको तायदाति फाँटवारीः

 

स्व. रन्थु खवासको मु.स. गर्ने थुवि खवासको पति रन्थु खवासको नाममा गुठि तहसिल तथा खर्च कार्यालय मोरङ्गमा दर्ता रहेको :

 

मोरङ्ग जिल्ला, डागिहाट गा.वि.स वडा न. ७(क)

कि.नं.       क्षेत्रफल

१           २

६           ०

७           ०१०

८१          ०

 

मोरङ्ग जिल्ला, डागिहाट गा.वि.स वडा न.७(ख)

 

कि.नं.       क्षेत्रफल

१३७         ०१३

१३८         ०

१३९         ०७     घरवास

१४०         ०१०    घरवास

१४२         ०१५

  कुल ३

 

प्रतिविगाहा रु. एक लाखका दरले हुने जम्मा रु ३,१६,७५०। वादी लालविर खवासको नाममा गुठि संस्थान गुठी तहसिल तथा खर्च कार्यालय मोरङ्गमा दर्ता रहेको :

 

मोरङ्ग जिल्ला, डागिहाट गा.वि.स वडा न. ७(क)

 

कि.नं.              क्षेत्रफल

८                 ०२ १/

४                 ०१५

३८                ०१०

 

मोरङ्ग जिल्ला, डागिहाट गा.वि.स वडा न. ७(ख)

 

कि.नं.             क्षेत्रफल

१५                ११११०

१४६               ०१५

१४७               ०१२

१९४               ०१२

जम्माः–                       ९१/

 

प्रति विगाहा एक लाखका दरले हुने जम्मा  –––      रु ३,३२,३७५।

 

लालविर खवास, थुवि खवास, वुधनारायण खवास र विरवल खवासले मिति ०६१।६।१८ मा पेश गरेको तायदाती फाँटवारीः

स्व. जितलालकी पत्नी चेची खवासनीको नाममा गुठी संस्थान गुठी तहसिल तथा खर्च कार्यालय मोरङ्गमा चतरा गुठि तर्फ दर्ता रहेको

 

मोरङ्ग जिल्ला, डागिहाट गा.वि.स वडा न.७(क)

 

कि.नं.       क्षेत्रफल

२           ०

३           ०

६३          ०१०

८०          ०९ १/

८२          ०

९०          ०१९

११०         १७ १/

१३१         ०११

१३२         ०११

१३४         ११३६ १/

१७६        ०१८

१७७        ०१२ १/

 

लालपुर्जा लिन वाँकी

 

कि.नं.       क्षेत्रफल

५          ०११ 

१८         ०

२३          ०

२३९         ०

२७०         ०१२

 

मोरङ्ग जिल्ला, डागिहाट गा.वि.स वडा न.७(ख)

 

कि.नं.       क्षेत्रफल

१४३         ०

१४४         ०

१४५         ०

१७०         ०१३

 

मोरङ्ग जिल्ला, डागिहाट गा.वि.स वडा न. ७(ख)

 

कि.नं.       क्षेत्रफल

१६          १५१०

 

मोरङ्ग जिल्ला, डागिहाट गा.वि.स वडा न.६(क)

 

कि.नं.       क्षेत्रफल

१६३         ०१४१०

कुल         १११०

 

प्रति विगाहा रु एक लाखका दरले हुने जम्मा रु.११,५०,०००। एधारलाख पचास हजार

 

स्व. जितलालकी पत्नि चेची खवासनीको नाममा मालपोत कार्यालय मोरङ्गमा दर्ता रहेको ः

 

मोरङ्ग जिल्ला, डागिहाट गा.वि.स वडा न.७(क)

 

कि.नं.       क्षेत्रफल

१४५         ०१०१०

२७९        ०८ १/

जम्मा       ०१६१८१/

 

 

            प्रतिविगाहा रु एक लाखका दरले हुने जम्मा –––––– रु.८४,६२५।

 

पुनरावेदक वादीहरुले शुरु मोरङ्ग जिल्ला अदालतमा राखेको कोर्टफि रु २५, पुनरावेदनपत्र दर्ता गर्दा राखेको कोर्टफि रु २५। र यस अदालतमा दाखेल गरेको कोर्टफि रु.१६,३३२।०९ समेत जम्मा रु.१६,३८२।०९ प्रतिवादीवाट भराई पाउने हुंदा यसै सरहदको जेथा देखाई ऐनका म्याद भित्र भराई पाउँ भनि दरखास्त दिन आए केही दस्तुर नलिई प्रतिवादीवाट वादीहरुलाई उक्त कोर्टफिको विगो भराई दिनु भनि शुरु मोरङ्ग जिल्ला अदालतमा लगत दिनु

दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनु ––

 

उक्त रायमा सहमत छु

 

न्या.चन्द्रप्रसाद पराजुली

 

इति सम्वत् २०६२ साल आषाढ १ गते रोज ४ शुभम––––––––––––––––––––––

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु