निर्णय नं. ७५१३ - उत्प्रेषण परमादेश ।

निर्णय नं.७५१३ ने.का.प.२०६२ अङ्क ३
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली
माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ
सम्बत २०५५ सालको रिट नं. ३५६४
आदेश मितिः २०६२।३।२८।३
विषयः– उत्प्रेषण परमादेश ।
निवेदकः जि.खोटाङ्ग वुइपा गा.वि.स.वडा नं. ५ वस्ने नारायण दत्त राई समेत
विरुद्ध
प्रत्यर्थीः का.जि. गोठाटार गा.वि.स.वडा नं. १ वस्ने हरिप्रसाद पुडासैनी समेत
§ विवादित जग्गाको दोहोरो श्रेस्ता कायम भएको वा वेपत्ते दर्ता भएको भए सोको लगत कट्टा गर्दा सो निर्णयवाट प्रत्यक्ष असर पर्ने दर्तावाला यी निवेदकहरुलाई वुझी सो सम्बन्धमा निजहरुको आफ्नो भनाई राख्ने मौका समेत प्रदान गरी कानूनबमोजिमको निर्णय गर्नुपर्ने ।
§ दर्तावालाको हक भोगमा असर पर्ने गरी मालपोत कार्यालयवाट भएको निर्णयलाई मालपोत ऐन, २०३४ को दफा ७(३) को आधारमा सामान्य त्रुटीसम्म सच्याइएको भनी मान्न मिल्ने अवस्था नदेखिने ।
(प्रकरण नं.१७)
§ मालपोत कार्यालयवाट रैकर लगत कट्टा गरी विवादित जग्गाहरु पशुपती भण्डार तहविलका नाममा दर्ता गर्ने गरी भएको निर्णय र पशुपती भण्डार तहसिल कार्यालयलाई सोही मितिमा लेखेको पत्र समेत प्राकृतिक न्याय सिद्धान्त विपरीत भएको देखिएकोले निवेदकहरुको हक स्वामित्वमा असर पर्ने गरी भएको उक्त निर्णय लगायतका पत्रहरु समेत उत्प्रेषणको आदेशद्वारा वदर हुने ।
(प्रकरण नं.१८)
निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री प्रकाश राउत
प्रत्यर्थी तर्र्फवाटः विद्वान अधिवक्ताद्वय श्री कमलवहादुर वोगटी र श्री नारायणप्रसाद भट्टराई
अवलम्वित नजीरः
आदेश
न्या.चन्द्रप्रसाद पराजुलीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा ८८(२) अन्तर्गत यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र आदेश यसप्रकार रहेको छः–
२. वागमती गुहेश्वरी घाटदेखि माथि दक्षिण धिको पाखा, उत्तर आवादी, पश्चिम गुहेश्वरी घाट, पूर्व आवादी समेत ४ किल्ला भित्रको वागमती खोला सोभ्mयाई उकास भएको जग्गा दर्ता गरी पाउन २००९ सालमा श्री ५ मा विन्तिपत्र चढाएकोमा व्यहोरा वुझी हुने रहेछ भने ऐन सवाल बमोजिम निवेदक (हाम्रा दाता समेत)का नाउंमा दर्ता गरी दिनु भन्ने हुकुम वक्से बमोजिम सो दर्ताको लागि माग गर्ने पूर्ण हलुवाई समेतका जवान २१ का नाममा ५,५ रोपनीका दरले तिरो लिने गरी लगत कायम गर्न चलनपूर्जि दिनु भन्ने विभागीय मन्त्रालय समितिवाट भएको आदेशानुसार कारवाही टुङ्गीई ०२१ सालमा वहाली पाउदा तिरो ठेकि चलन नपाई जग्गाको तिरो कायम गरि वहाली नपाएको, पाएको वाहाली अनुसार लालपूर्जा पनि नपाएकोले सो बमोजिम जनही ५ रोपनीका दरले पाउन मेरो दाता योगमाया र वच्चुराम डंगोलको आमा हिरादेवी समेत २० जना र आप्mना हकमा समेत ज्ञानमान महर्जनको मिति २०२८।७।२८ मा विन्तिपत्र चढाएकोमा आवश्यक कारवाहीको लागि हु.प्र. वक्स भई भूमी प्रशासन कार्यालयमा वयान गरी निवेदकहरु तारेखमा रही आएको र वाहाली बमोजिम हाम्रा नाममा दर्ता पाउँ भनी उजुर गर्दा हाम्रो नाममा दर्ता नगरी अरुकै नाममा गुठी जनाई नापीमा लेखाई दिएकोमा २०२८।१०।५ मा हाम्रो दाताका वा ले एक किसिम्बाट दर्ता भई सकेको उकासको मूख्य जग्गाधनीको हकै मेटाउने गरी के कस्तो निस्सावाट गुठी हो भन्ने जनाई नापी गराएको हो निजहरुलाई झिकाई बुझि पाउँ भनि निवेदन दिएका । यसै आधारमा सर्भे उजुरी शाखाले आवश्यक छानविनको प्रक्रिया पुरा गरी हाम्रा दाताका नाममा मिति २०३०।७।६ मा का.जि. बौद्ध वडा नं. ४ (क) कि.नं.२०० समेतको जग्गा दर्ता प्रमाणित गर्ने निर्णय गरे बमोजिम दर्ता प्रमाणितभै दाता हिरादेवी, योगमायाका नाउंमा सर्भे उजुरी शाखाको मिति २०३०।७।६ को निर्णयानुसारनै दर्ता भएको हो । नापजाँचबाटै भएको श्रेस्तामा हिरादेवी र योगमायाका नाउंमा रैकर दर्ता प्रमाणित भई सकेको व्यहोरा जनिदा जनिदै १३ वर्ष पछि दर्तावाला ज.ध. समेतलाई नवुझी गोप्य तवरले पशुपती भण्डारको च.नं.१५१ मिति २०५३।३।१७।३ र च.नं. १५६ मिति २०४३।९।७ को पत्र र २०४३।९।२१ को स.टी.ले कि.नं. २०० को जग्गा ठेली १/२५८ ठेली १/१४/१६ मा आएको भन्ने जनाई मालपोत कार्यालय काठमाडौं पशुपती भण्डार तहविल कार्यालय देउपतनको नाउंको अर्कै श्रेस्ता खडा गरेको रहेछ । उक्त कि.नं. २०० कि.का. भई कायम नं. ७८८ क्षेत्रफल ३–४–० जग्गा कि.का. हुंदा कि.नं. ७९८, ७९९, ८०० को क्षेत्रफल ०–१२–०, १–०–०, १–८–० र.नं. १५००, १५०१ र १५०२ को हा.व.को लिखतवाट मिति २०५२।६।११ मा हामी रिट निवेदक क्रमशः कमला शाह, पुनम राई, नारायण दत्त राईका नाउंमा दाता योगमाया र वच्चुराम डंगोल दिने हामी लिने भै हामीहरुको छुट्टाछुट्टै दर्ता श्रेस्ता कायम गरी निर्विवाद हक भोग गर्दै आएका थियौ । यसै क्रममा विपक्षी नं. १ ले उक्त जग्गाहरुको जग्गाधनी पशुपतीनाथ भण्डार र मोही खड्ककुमारी कायम भै तपाईहरुको श्रेस्ता खारेज भै सकेको भनी सुनाएकोले विपक्षी नं. ४ मा गै वुझदा हामीहरुलाई थाहा जानकारी नदिई हाम्रो निर्विवाद हक भोगको जग्गा पशुपती भण्डार तहविलको मिति २०५२।८।२१ च.नं. २९८ को रैकर तर्फको श्रेस्ता कट्टा गरी गुठी कायम गर्ने भन्ने समेतको पत्रको आधारमा मालपोत कार्यालय चावहिल शाखाको मिति २०५२।८।२१ को टिप्पणी आदेश सदरले हाम्रो श्रेस्ता कट्टा गरि ज.ध. पशुपतीनाथ भण्डार मोही खड्गकुमारी पुडासैनी कायम गरिएको रहेछ ।
३. हाम्रो निर्विवाद हक भोग दर्ता समाप्त गर्ने गरी विपक्षीबाट भएका काम कारवाहीवाट हामी निवेदकको संवैधानिक तथा कानूनी हकमा आघात पर्न गएकोले यस अदालतको शरणमा आएका छौ । २०३०।७।६ को सर्भे उजुरी शाखाको निर्णय बमोजिम हिरादेवी र योगमायाका नाउंमा भएको दर्ता श्रेस्तालाई २०४३।९।२१ को मालपोत कार्यालय काठमाडौंको सदर टिप्पणीले गुठीको श्रेस्ता खडा गरेको मालको कार्य अ.वं. ३५ नं. विपरीत छ । निर्विवाद दर्ता श्रेस्ता कायम हुँदाहुँदै गुठीको पत्रलाई आधार बनाई दोहोरो श्रेस्ता कायम गर्न मिल्ने होइन । विवादित जग्गा गुठीको हो भन्ने कुनै व्यक्तिको उजूरी परेको भए रैकर तर्फको जग्गाधनीलाई पनी बुझी सफाईको मौका दिई गुठीको वा रैकर के हो ? छानविन गरी निर्णय गर्नुपर्नेमा सो विपरीत कपटपूर्ण तरिकाले उक्त पत्रको आधारमा भएको २०४३।९।२१ को निर्णय र रैकर जग्गाको दर्ता श्रेस्ता खारेज गर्ने गरि भएको २०५२।८।११ को निर्णयबाट नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११(१) तथा १७ (१) ले हामी निवेदकहरुलाई प्रदत्त हकमा प्रत्यक्ष आघात पुगेकोले मालपोत कार्यालय काठमाडौंको मिति २०५२।८।२१ को निर्णय र सो अनुरुप हाम्रो रैकर श्रेस्ता खारेज गरि पशुपती भण्डार तहविललाई जग्गाधनी र खड्गकुमारी पुडासैनीलाई मोही कायम गरिएको मालपोत कार्यालयको सम्पूर्ण काम कारवाही हामी रिट निवेदकहरुको हकमा उत्प्रेषणको आदेशद्वारा वदर गरि पुनः का.जि. बौद्ध वडा नं. ४ (क) कि.नं. ७९८,७९९ र ८०० को हामीहरुको दर्ता श्रेस्ता पहिलाकै अवस्थामा राखी पशुपती भण्डार तहविल ज.ध. खड्गकुमारी मोही र हरिप्रसाद पुडासैनी जोताहा मोही जनाई पछि तयार पारीएको दोहोरो श्रेस्ता तथा लगत कट्टा गरि आइन्दा त्यस्तो गैर कानूनी काम कारवाही नगर्नु नगराउनु भन्ने मालपोत कार्यालय शाखा चावहिल र मा.पो.का. काठमाडौंका नाउंमा आदेशात्मक एवं निषेधाज्ञा प्रकृतिको परमादेश वा अन्य उपयुक्त आज्ञा आदेश जारी गरिपाऊँ भन्ने व्यहोराको रिट निवेदन ।
४. यसमा के कसो भएको हो ? निवेदन माग बमोजिम आदेश किन जारी हुन नपर्ने हो ? सोको कारण भए वाटोको म्याद वाहेक १५ दिनभित्र लिखितजवाफ पेश गर्नु भनी विपक्षीहरुलाई सूचना पठाई लिखितजवाफ परेपछि वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने यस अदालतको आदेश ।
५. मालपोत ऐन, २०३४ को दफा ७ (३) अनुसार जग्गावालाको नाम, थर वतन उमेर वा निजको काका वाजे, पति वा ससुराको नाम थर वा जग्गाको कित्ता नम्वर क्षेत्रफल वा किसिम फरक परेको वा दोहोरो दर्ता हुन आएकोमा मा.पो.का.ले आवश्यक जाँचवुझ गरि सो कुरा सच्याई दर्ता गर्न सक्नेछ भन्ने कानूनी व्यवस्था रहेको र जग्गाको दोहोरो दर्ता कायम रहन नसक्ने हुंदा मालपोत कार्यालयले गुठीका नाममा दर्ता कायम गरेको मिति ०४३।९।२१ को मालपोत कार्यालयको उक्त निर्णय कानूनसम्मत छ । गुठी संस्थान ऐन, २०३३ को दफा २६ (१) अनुसार यो ऐन प्रारम्भ भएपछि काठमाडौं उपत्यका र पहाड इलाकामा जोताहाले दर्तावालालाई कुत वुझाई दर्तावाला मोहीले राजगुठीलाई पुरै जिन्सी वा आंशिक जिन्सी र आंशिक गुठीको भाउले नगदीमा वुझाउनु पर्ने गुठी अघिनस्थ जग्गामा दर्तावालाको सवै हक समाप्त भई त्यस्तो जग्गामा संस्थानको पूर्ण स्वामित्व कायम हुनेछ र त्यस्तो जग्गामा खास जोताहा र किसानले प्रचलित कानूनबमोजिम मोहियानी हक पाउने छैनन् भन्ने व्यवस्था भएको गुठीको जग्गालाई आफ्नो वनाउने नियतले दिएको विपक्षीको निवेदन दावि खारेज गरिपाऊँ भन्ने व्यहोराको भूमिसुधार तथा व्यवस्था मन्त्रालयको लिखितजवाफ ।
६. प्रस्तुत निवेदनवाट मालपोत विभागलाई प्रत्यर्थी बनाउनु पर्ने खास कारण उल्लेख गर्न सकेको देखिदैन । तसर्थ विभागको हकमा खारेजभागी छ भन्ने व्यहोराको मालपोत कार्यालय विभागको लिखितजवाफ ।
७. गुठी जग्गाको जग्गा प्रशासन गुठी तहसिललेनै गर्ने र सोको अनुरोधमा मालपोत कार्यालयहरुले कार्यान्वयन गरि दिने सिलसिलामा यस कार्यालयबाट मिति २०५२।८।२१ मा पशुपती भण्डार तहविल गुठीवाट दोहोरो लगत काटी गुठीको जग्गा गुठीमै कायम गर्न लेखि आए अनुसार यस कार्यालयमा रहेको श्रेस्तालाई मा.पो. ऐन, २०३४ को दफा ७ (३) बमोजिम अद्यावधिक गरि गुठी कायम गरि चित्त नवुझने पक्षलाई अदालत जान जानकारी दिनु भनि गुठीमा लेखि पठाउने गरी भएको निर्णय कानूनको परिधिभित्र रही गरिएको हुँदा निवेदन खारेजभागी छ भन्ने मालपोत कार्यालय चावहिलको लिखितजवाफ ।
८. विवादित कि.नं. २०० को जग्गा २०२१ सालको नापीमा जग्गाधनी गुठी जनिई नापी दर्ता श्रेस्ता भएको हो । रैकर तर्फ दोहोरो श्रेस्ता खडा भएको जानकारी पाएपछि गुठी संस्थान ऐन, २०३३ को दफा ३९ बमोजिम वेपत्ते दोहोरो श्रेस्ता खडा हुन गएकोले रैकर तर्फको लगत कट्टा गरि यस गुठीको साविक श्रेस्ता यथावत राख्ने निर्णय भएको हो । वेपत्ते रुपमा २०३० सालमा रैकरमा खडा भएको दोहोरो दर्ता श्रेस्ता वाहेक यो प्रमाण परिवन्धले विवाद उठाएको उक्त कित्ता नम्वरका जग्गा दाताले हु.प्र.बाट वक्स पाएको भनि कुनै प्रमाण गुजार्न सकेका छैनन् । दोहोरो वेपत्ते दर्ताको आधारमा वकस पाएको एकमात्र आधारमा जग्गा दर्ता हुन सक्ने देखिदैन । गुठी संस्थान ऐन, २०३३ को दफा ३९ (२) बमोजिम गुठीको निर्णय उपर पुनरावेदन गर्नुपर्नेमा कानूनबमोजिम अपनाउनु पर्ने कार्यविधिनै नअपनाई कानूनसम्मत तरिकालेक्षेत्राधिकार सम्पन्न निकायवाट वदर भै सकेको श्रेस्तालाईनै आफ्नो हकाधिकार देखाई विवादास्पद हक प्रचलन गराई माग्न सम्मानित अदालतको असाधारण अधिकारक्षेत्र गुहार्न मिल्ने होइन । पुनरावेदनको वाटो छोडी आएको निवेदन खारेजभागी छ । गुठीको निर्णयमा चित्त नवुझे म्याद भित्र पुनरावेदन गर्नु भनि निर्णयमा उल्लेख गर्दा गर्दै जानकारीनै नदिने गरि निर्णय ग¥यो भन्ने दावी झुठा हो । कि.नं. २०० साविक देखिनै गुठीको हो । ०४३ सालमा मात्रै गुठी कायम गरेको भन्ने व्यहोरा झुठा हो । निवेदन खारेज गरिपाऊँ भन्ने व्यहोराको पशुपती भण्डार तहविल कार्यालयको लिखितजवाफ ।
९. २०३०।७।६ मा सर्भे उजुरी शाखाले विवादित जग्गा विना आधार प्रमाण वेपत्ते दर्ता गराएको हो । साविक देखि पशुपती भण्डार तहविल गुठीको लगतमा दर्ता रहेको जग्गा सर्भे नापीमा उक्त गुठीको भनि स्पष्ट रुपमा लेखिएको व्यहोराको आधारमा २०४३ सालमा दर्ता प्रमाणित समेत भै सकेको जग्गालाई निजका दाता वच्चुरामको आमा हिरादेवी र योगमायाले वौद्ध गा.वि.स.वडा नं. ४ (क) कि.नं. २०० र २२९ जग्गाको नाम संशोधन गरिपाऊँ भनि निवेदन गरेकोमा कि.नं. २०० गुठीमा दोहोरो श्रेस्ता भएको भन्ने वुझीएकोले उक्त कित्ता स्थगित भएकोमा गुठीको जग्गा भनी निजका दातालेनै हक दावि छाडि सकेको हुंदा विपक्षीलाई निवेदन दिने हकदैया छैन । उक्त कि.नं. २०० को जग्गा कि.का. गरि गुणप्रसाद पुडासैनीको नाममा लालपूर्जा पाउँ भनि मोही खड्गकुमारीले राजिनामा दिएको राजिनामा अनुसार पशुपती गुठी तहविलवाट योगमाया समेतका नाममा ७ दिने सूचना र गोरखापत्रमा २१ दिने सार्वजनिक सूचना समेत प्रकाशित भएकोमा विपक्षीका तर्फवाट कुनै दावि उजूरी गरेको पाईदैन । कि.नं. २०० कि.का. भै कायम भएको कि.नं. ७८७ को २–०–० र वांकी कि.नं. ७८८ को ३–४–०–० नाम गुणप्रसाद र हामीहरुको नाममा कायम भै रहेको अवस्थामा वच्चुराम डंगोलको निवेदनका आधारमा वच्चुरामकी आमा हिरादेवीको नाममा समेत कि.नं. ७८८ को जग्गा जालसाज गरि मा.पो.का. र मेन्टिनेन्स नापी शाखा समेत सँगको अनुचित मिलेमतोवाट नामसारी गराइ लिएको हो ।
१०. पशुपती भण्डार तहविललाई हामीले वाली वुझाउदै आएका छौ । विपक्षीका दाता वच्चुराम डंगोल र योगमायाका नाउँको दोहोरो श्रेस्ता कट्टा गरि गुठीको जग्गा गुठीमै कायम गर्ने निर्णय कानूनसम्मत छ । रैकरमा दर्ता भएको लगत कट्टा भै सकेपछि उक्त निर्णय उपर ३५ दिन भित्र पुनरावेदन अदालतमा पुनरावेदन गर्न जानु पर्नेमा गएको छैन । उक्त जग्गा विना आधार प्रमाण दर्ता श्रेस्ता खडा गरिएको हो । गुठीको नाउँको कित्ताको ज.ध.प्र.पुर्जालाई जानीजानी रैकर श्रेस्तावाट कि.का. गराई लिने विपक्षीहरुले निजका दाताको नै निर्विवाद हक भोग रहेको भन्ने प्रमाण पु¥याउन नसकेको अवस्थामा उक्त गुठीको दर्ता श्रेस्ता वदर गरी रैकर दर्ता श्रेस्ता बमोजिम हक कायम गरिपाऊँ भनि गराएको प्रस्तुत निवेदन खारेजभागी छ । गुठीले आफ्नो लगतमा कायम भएको जग्गा रैकरमा दर्ता भएको प्रमाणीत हुन आएमा त्यस्तो जग्गा गुठीको कायम गरी रैकर लगत कट्टा गर्न सक्ने कानूनी व्यवस्था छ । साथै गुठीको दर्ता गुठी कायम भएपछि दिएको पुनरावेदन म्यादमा पुनरावेदन गरि हक कायम गराउन सकेको पाईदैन । उल्लेखित वौद्ध ४ (क) कि.नं. २०० को ५–४–०–० जग्गा पशुपती भण्डार तहविलको लगतमा दर्ता भएको कुरा विपक्षीका दाताले २०५०।८।९ भन्दा अगावै थाहा जानकारी पाई उक्त गुठीको दर्ता वदर गरी आफ्नो हक कायम नगराई गुठीको दर्तालाई स्वीकार गरी वसेको अवस्थामा उक्त जग्गा २०५२।४।१८ को पशुपती भण्डारको पत्रका आधारमा मा.पो.का. चावहिलवाट मिति २०५२।४।१९ मा कि.का. भै कि.नं. ७८७ को २–०–० जग्गा गुणप्रसाद पुडासैनी र कि.नं. ७८८ को ३–४–०–० जग्गा साविकमा वाँकी भन्ने जनिएको र रैकर तर्फको श्रेस्ता कट्टा सम्बन्धमा सोही मा.पो.का. चावहिलमा कारवाही हुँदा हुँदै ज.ध. पशुपती भण्डार तहविल र हामी प्रत्यर्थी मध्येका दर्तावाला मोही समेतलाई नवुझी कि.नं. ७८८ मा दिने योगमाया र वच्चुराम लिने कमला शाह, पुनम राई, नारायण दत्त राई भई लिनु दिनु गराएको कार्य कानूनी त्रुटिपूर्ण भएकोले सो दर्ता श्रेस्ता स्वतः वदर भागि छ । पशुपती भण्डारी तहविलको च.नं. २९८ मिति २०५२।८।२१ को विपक्षीका नाउंको रैकर तर्फको कि.नं. ७८८ वाट कि.का. भै कायम भएको कि.नं. ७९८,७९९ र ८०० को दर्ता श्रेस्ता कट्टा गरि उक्त कि.नं. ७८८ को ३–३–०–० जग्गाको ज.ध. पशुपती भण्डारी तहविल गुठी र दर्तावाला मोही हामी प्रत्यर्थीलाईनै कायम गर्ने गरी भएको निर्णय मालपोत ऐन, २०३४ गुठी संस्थान ऐन, २०३३ र स.अ. वाट प्रतिपादित सिद्धान्त समेतको आधारमा कानूनसम्मत भएको हुँदा रिट खारेज गरिपाऊँ भन्ने व्यहोराको खड्गकुमारी पुडासैनी समेतको लिखितजवाफ ।
११. मिति २०५९।८।१० को पशुपती भण्डार तहविल कार्यालयको पत्रवाट २०४३।९।२१ मा मा.पो.का.ले गरेको निर्णय मिसिल मा.पो.का. डिल्लीवजार काठमाडौंमानै हुने भनि लेखि आएको र हिरादेवी डंगोल र योगमाया महर्जनका नाउंको ज.ध.द.प्र.पु. शिरमा दर्ता सर्भे उजुरी शाखाको ०३०।७।६ को निर्णयअनुसार वडा नं. ४ (क) कि.नं. २०० को जग्गा प्रमाणित भएको भन्ने ठे.न.. १३।३१४२ भन्ने उल्लेख भएकोले सो मिति ०४३।९।२१ र मिति २०३०।७।६ को निर्णय सहितको सक्कल मिसिल मालपोत कार्यालय काठमाडौंवाट झिकाई पेश गर्ने भन्ने यस अदालतको आदेश ।
१२. मिति २०५२।६।११ को मालपोत कार्यालय चावहिलले रिट निवेदकहरुको दाता वच्चुराम डंगोल र योगमायाको नामवाट निवेदकहरुको नाउंमा दर्ता गर्ने गरेको मि.नं. ९९ उल्लेख भएको मिसिल थान १ मा.पो.का. चावहिलको मिति २०५२।८।२१ को रैकर कट्टा गरि पशुपती भण्डारी तहविल गुठीको जग्गा कायम गरेको निर्णय मिसिल थान १ तथा यस अदालतको मिति २०५९।३।३२ र मिति २०५९।८।१० को आदेशानुसारको मिसिलहरु झिकाई पेश गर्नु भन्ने यस अदालतको मिति ०६१।११।४ को आदेश ।
१३. २००९ सालदेखि उठान भएको प्रस्तुत जग्गा कारवाहीमा वौद्ध ४ (क) कि.नं. २०० वाट हिरामाया तथा योगमायाका नाउंमा मा.पो.का.ले रैकर दर्ता गरी ज.ध.द.प्र.पु. उपलव्ध गराएकोमा रिट निवेदकलाई प्रतिरक्षा र प्रतिवाद गर्ने मौका समेत नदिई प्राकृतिक न्याय सिद्धान्त विपरीत एकपक्षिय रुपमा हामी निवेदकलाई जग्गाधनीवाट वेदखल गर्ने गरि मिति २०४३।३।१७ तथा २०४३।९।७ का निर्णय कानून त वदरभागी छन् । गुठीले २०२१ सालमा दावि लिएको जग्गा २००९ सालमानै कारवाही चलि हक स्वामित्वको किटानी समेत सम्बन्धित कार्यालयले गरि २०२१ साल पूर्वनै जग्गाहरुको प्रमाणपूर्जाको अस्थायी निस्सा दिने निर्णय भएको र सोही निर्णयका आधारमा हाम्रा दाताका नाउंमा २०३० सालमा जग्गा दर्ता भएको हो । साविक देखि गुठीको जग्गा भए र मोही खडगकुमारी भए ०३० सालमा जग्गा दर्तानै हुन सक्ने थिएन । सो जग्गा २०५२।६।११ मा हामीले राजिनामा पारीत गरि लिन सक्ने थिएनौ । मालपोत कार्यालयले २००९ साल देखि निरन्तर कारवाहीको सिलसिलामा रहेको आप्mनै अड्डामा रहेका मिसिल प्रमाण र तत्पश्चात सोही प्रमाणका आधारमा २०३० सालमा जग्गा दर्ता गर्न पूर्व निर्णय प्रमाणका आधारमा जग्गाधनी जनिएको तथ्यलाई कार्यालयले लुकाई छिपाई गुठीको पत्रको हवाला दिदै साविक प्रमाण र निर्णयलाई लोप गरि हामी निवेदकहरुको नागरिक एवं सम्बैधानिक हक समाप्त गर्न पूर्व सुनुवाईको मौका समेत नदिई हाम्रो हकको समाप्ती र नयाँ हकको श्रृजना गर्ने कुनै कानूनले अधिकार दिएको छैन । २००९ साल अघि तथा २०२१ साल अघि उपरोक्त कि.नं. को जग्गा पशुपती तहसिल गुठी जग्गाधनी र विपक्षी खडगकुमारी मोही रहे भएको प्रमाण निजहरुले पेश गर्न सकेका छैनन । २०४३ सालमा स्वघोषणा मार्फत एकजना जग्गाधनी र अर्को मोही वन्ने वनाउने काम आप्mनै निर्णयबाट गरेका छन् । २०३० सालमा ज.ध.प्र.पु पाएको व्यक्तिवाट २२ वर्षपछि २०५२ सालमा हामी निवेदकले राजिनामा पारीत गरि लिएको हो । लाभ हानीका आधारमा भएको विपक्षीको निर्णय वदर गरी हाम्रो हक स्वामित्व यथास्थितिमा राखि पाउन विपक्षीका नाममा उत्प्रेषण मिश्रित परमादेशको आदेश लगायत जो चाहिने आज्ञा आदेश विपक्षीहरुका नाममा जारी गरिपाऊँ भन्ने निवेदक तर्फवाट पेश भएको वहसनोट व्यहोरा ।
१४. नियमबमोजिम पेश भएको प्रस्तुत रिट निवेदन सहितको मिसिल कागज अध्ययन गरी निवेदक तर्फवाट विद्वान अधिवक्ता श्री प्रकाश राउतले श्री ५ महाराजाधिराजवाट भएको हुकुम प्रमाङ्गीबाट यी निवेदकका दाता योगमाया र वच्चुरामको आमा हिरादेवी डगोलको नाममा मिति २०३०।७।६ को सर्भे उजुरी शाखाको निर्णय बमोजिम रैकर दर्ता हुन आएको का.जि. वौद्ध वडा नं. ४(क) कि.नं. २०० को कित्ताकाट भै कायम कि.नं. ७८८ को कि.का. भै कायम कि.नं. ७९८,७९९,८०० को जग्गाहरु दाता योगमाया र वच्चुराम डंगोलको हा.व.को लिखतवाट मिति २०५२।६।११ मा यी निवेदकले प्राप्त गरी हक भोग गरी आएको जग्गा हो । यसरी कानूनबमोजिम यी निवेदकहरु नारायण दत्त राई, कमला शाह र पुनम राईका नाममा रैकर दर्ता भएको जग्गालाई पशुपती भण्डार तहविलको मिति ०४३।३।१७ समेतको पत्रवाट मालपोत कार्यालय काठमाडौंले विपक्षी पशुपती भण्डार तहविल कार्यालयका नाममा अर्को दोहोरो श्रेस्ता खडा गरी मिति ०५२।८।२१ मा साविक रैकर लगत कट्टा गरी ज.ध. पशुपती भण्डार तहविल र मोही खड्गकुमारी पुडासैनी कायम गरी निर्णय गर्दा साविक जग्गाधनीलाई बुझेको र सुनुवाईको मौका दिएको छैन । कानूनबमोजिम व्यक्तिका नाममा दर्ता भएको जग्गा दर्तावाला जग्गाधनीको हक स्वामित्वमा असर पर्ने गरी दर्ता लगत कट्टा गर्नु प्राकृतिक न्याय सिद्धान्तको विपरीत भै वदरभागी छ । यी निवेदकका नाममा रैकर दर्ता भएको जग्गा गुठीको भै हक वेहकमा निर्णय गर्नुपर्ने अवस्था भएमा समेत गुठीलाई निर्णय गर्ने अधिकार छैन । २०३० सालमा रैकर दर्ता भएको कुरामा विपक्षीहरुले अन्यथा भन्न सकेको अवस्था छैन । यसरी यी निवेदकहरुको निर्विवाद हकभोग हुन आएको जग्गालाई कपटपूर्ण तरिकावाट निवेदकहरुलाइ नवुझी, सुनुवाईको मौका नदिई जग्गाको हकस्वामित्वमा नै असर पर्ने गरी पशुपती भण्डार तहविलका नाउंमा दोहोरो दर्ता श्रेस्ता खडा गर्ने गरी भएको मिति २०४३।९।२१ मा गरेको टिप्पणी आदेश र यी निवेदकहरुको दर्ता श्रेस्तानै खारेज गरी जग्गाधनी पशुपती नाथ भण्डार तहविल र मोही खडगकुमारी पुडासैनी कायम गर्ने गरी भएको मालपोत कार्यालयको मिति ०५२।८।२१ को निर्णय र सो अनुरुप रैकर श्रेस्ता खारेज गर्ने गरी भएका काम कारवाही उत्प्रेषणको आदेशद्वारा वदर गरी निवेदकको नाममा दर्ता रहेको का. जि. वौद्ध वडा नं. ४(क) कि.नं. ७९८, ७९९, ८०० को जग्गा साविककै अवस्थामा कायम राखी आइन्दा त्यस्तो गैरकानूनी कार्य नगर्नु नगराउनु भनी परमादेश समेत जारी हुनु पर्छ भनी गर्नु भएको वहस सूनियो ।
१५. विपक्षी पशुपती भण्डार तहविलको तर्फवाट विद्वान अधिवक्ता श्री कमलवहादुर वोगटीले विवादित कि.नं. २०० को जग्गा २०२१ सालको नापिमा जग्गाधनी गुठी जनिई नापी दर्ता श्रेस्ता भएको जग्गा हो । उक्त जग्गा ०३० सालमा रैकर तर्फ दोहोरो श्रेस्ता खडा भएकोले रैकरतर्फको लगत कट्टा गरी २०५२।८।२१ मा गुठीको साविक श्रेस्ता यथावत राख्ने निर्णय भएको हो । गुठी संस्थान ऐन, २०३३ को दफा ३९ बमोजिम त्यस्तो निर्णय दर्ता गर्ने अधिकार गुठी प्रशासकलाई भएको पाइन्छ। विपक्षी निवेदकले हुकुम प्रमाङ्गीबाट प्राप्त गरेको भनी कुनै प्रमाण पेश गर्न सक्नु भएको छैन । वेपत्ते दर्ता भएको जग्गा वकस पाएको भन्ने आधारले मात्र निवेदकका नाउंमा दर्ता हुन सक्ने होईन । गुठीको निर्णय उपर चित्त नवुझेमा सो निर्णय उपर पुनरावेदन जान सक्ने अधिकार निवेदकलाई रहे भएको अवस्थामा सो तर्फ नगई असाधारण अधिकारक्षेत्रको गैर वाटो प्रवेश गरेको प्रस्तुत रिट खारेजभागी छ । २०२१ सालको नापी बमोजिम २०२२ सालमा दर्ता गरी ०४३ सालमा जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेको जग्गामा हक वेहकको विवाद रहेको भन्न नमिल्ने हुंदा प्रस्तुत रिट खारेज हुनुपर्छ भनी र खड्गकुमारी पुडासैनी समेतको तर्फवाट विद्वान अधिवक्ता श्री नारायणप्रसाद भट्टराईले २०१० साल देखि गुठीमा वाली बुझाउदै आएको विवादित जग्गालाई २०३० सालमा रैकर दर्ता गर्दा गुठीलाई वुझेको वा सुनुवाईको मौका दिइएको छैन । उक्त जग्गा विपक्षी निवेदकका दाता योगमाया र हिरादेवीको नाउंमा कसरी दर्ता हुन गयो भन्ने कुरा निवेदकले खुलाउन सकेको छैन । वेपत्ते दर्ता भएको जग्गा हा.व. भएको आधारले मात्र निवेदकको हक स्वामित्व हुन सक्दैन । दाताको नै हक नभएको जग्गामा यी निवेदकको निवेदन दिने हकदैया छैन । विवादित जग्गा वौद्धको जग्गा नभै गुहेश्वरी घाटको जग्गा हो । मूल कित्ता नं. २०० गुठीको भएको अवस्थामा सो वाट फुटेको कित्ताहरु रैकर हुन सक्दैन । २०५२ सालमा विपक्षी निवेदकले हा.व. गरी लिंदा कुनै कित्ता नै उल्लेख छैन । साविकदेखि पशुपती भण्डार तहविल गुठीको लगतमा दर्ता रहेको कि.नं. २०० को जग्गा कि.का. गरी गुणप्रसाद पुडासैनीको नाममा लालपूर्जा पाउं भनी दिएको मिति २०५०।९।४ को निवेदनका आधारमा पशुपती गुठी तहविलवाट योगमाया समेतका नाममा ७ दिने सूचना र गोरखापत्रमा २१ दिने सार्वजनिक सूचना समेत प्रकाशित भएको अवस्थामा विपक्षीका दाताका तर्फवाट उपस्थित भै कुनै उजुर नगरी वसेको अवस्थामा मलाई नवुझी प्राकृतिक न्यायको विपरीत भयो भन्न मिल्दैन । साथै गुठीको निर्णय उपर पुनरावेदन गर्न सक्ने कानूनी व्यवस्था रहेको अवस्थामा गैर मार्ग प्रवेश गरेको रिट निवेदनवाट रिट जारी हुन मिल्ने नहुंदा रिट खारेज हुनु पर्छ भनी गर्नु भएको वहस सुनियो ।
१६. विद्वान कानून व्यवसायीहरुको वहस जिकिर सुनी मिसिल संलग्न सम्पूर्ण कागजात अध्ययन गरी विचार गर्दा श्री ५ महाराजाधिराजवाट हुकुमप्रमाङ्गी बमोजिम निवेदकका दाता योगमाया समेतका नाममा सर्भे उजुरी शाखाको मिति २०३०।७।६ को निर्णयबमोजिम रैकर दर्ता हुन आएको जग्गाहरु निजको हा.व.को लिखतवाट ०५२।६।११ मा यी निवेदकको नाममा रैकर दर्ता हुन आएको कि.नं. ७९८,७९९, ८०० का जग्गाहरु समेतमा काठमाडौं मालपोत कार्यालयले पशुपती भण्डारी तहविलको नाममा अर्को दोहोरो श्रेस्ता खडा गरी मिति ०५२।८।२१ मा यी निवेदकहरुको साविक रैकर लगत कट्टा गरी ज.ध. पशुपती तहविल र मोही खडगकुमारी कायम गरी मिति ०५२।८।२१ मा भएको निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीत भएकोले वदर गरी परमादेश समेत जारी गरिपाऊँ भन्ने मुख्य निवेदन व्यहोरा देखिन्छ । विपक्षीहरुको लिखितजवाफ हेर्दा विवादित जग्गा २०२१ सालमा नापी हुंदा गुठीको नाम कायम भएको, उक्त जग्गा २०१० साल देखिनै गुठीलाई वाली बुझाई आएको जग्गालाई २०३० सालमा रैकर तर्फ दर्ता गर्दा साविक दर्तावाला गुठीलाई कुनै जानकारी नदिएको र २०५० सालमा खड्गकुमारीवाट गुणप्रसाद पुडासैनीले मोही लालपूर्जा पाउं भनी दिएको निवेदनका आधारमा विपक्षी निवेदकलाई ७ दिने म्याद समेत दिएकोमा सो म्यादमा उपस्थित हुन नआई म्यादै गुजारी वसेका हुंदा थाहा जानकारी नभएको भन्ने कुरा तथ्यपरक नभएको ०३० सालमा वेपत्ते दोहोरो दर्ता हुन गएको हुंदा मालपोत ऐन, २०३४ को दफा ७ (३) बमोजिम साविक जग्गाधनी पशुपती भण्डार तहविलको नाममा मिति ०५२।८।२१ मा कायम हुन गएको हो । सो निर्णयमा चित्त नवुझे साधारण अधिकारक्षेत्र मार्फत आउनु पर्नेमा सो तर्फ नगई गैर मार्ग प्रवेश गरेको प्रस्तुत रिट खारेज गरिपाऊँ भन्ने व्यहोरा उल्लेख भएको देखिंदा निवेदन माग बमोजिमको आदेश जारी हुनुपर्ने हो होईन भन्ने सम्बन्धमानै निर्णय दिनुपर्ने देखियो ।
१७. निर्णयतर्फ विचार गर्दा का.जि. वौद्ध वडा नं. ४(क) कि.नं. २०० को कि.का. भै कायम ७८८ को कि.का. भै कायम हुन आएको कि.नं. ७९८, ७९९, ८०० का जग्गा दाता योगमाया र वच्चुराम डंगोलको आमा हिरादेवीका नाममा रैकर दर्ताको जग्गा हो योगमाया समेतले वाग्मती नदी सोभ्mयाई खोला उकास जग्गा दर्ता गरिपाऊँ भनी दिएको निवेदनमा हुकुमप्रमाङ्गी भै कारवाही चली मिति ०३०।७।६ को तत्कालीन सर्भे उजुरी शाखाको निर्णय बमोजिम उक्त जग्गा दाता योगमाया र हिरादेवीको नाउंमा दर्ता हुन आएको हो । यसरी मिति २०३०।७।६ मा दाताको नाउमा रैकर दर्ता भएको विवादित जग्गानै दाता योगमाया र वच्चुराम डंगोलको मिति ०५२।६।११ को हा.व. को लिखतवाट हामी निवेदकहरुको नाममा नामसारी भै हामीहरुकै भोग चलन रहेको जग्गाको हाम्रो नामको दर्ता लगत कट्टा गरी पशुपती भण्डार तहविललाई जग्गाधनी र खड्गकुमारी पुडासैनीलाई मोही कायम गर्ने गरी भएको मिति २०५२।८।२१ को मालपोत कार्यालयको निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीत भएको भन्ने निवेदन दावी देखिन्छ । सर्भे उजुरी शाखाको मिति ०३०।७।६ को निर्णयबमोजिम यी निवेदकका दाता योगमाया समेतका नाममा रैकर दर्ता भएको भन्ने कुरालार्ई विपक्षीहरुले लिखितजवाफमा समेत अस्विकार गरेको पाईदैन भने मिति २०३०।७।६ मा सर्भे उजुरी शाखावाट वेपत्ते दोहोरो दर्ता हुन गएको हुँदा मालपोत ऐन, २०३४ को दफा ७(३) बमोजिम श्रेस्ता सम्म सच्याईएको भन्ने कुरा विपक्षी मालपोत कार्यालयको लिखितजवाफ देखिन्छ । मालपोत ऐन, २०३४ को दफा ७(३) मा जग्गावालाको नाम थर वतन उमेर वा निजको वावु वाजे पति वा ससुराको नाम थर वा जग्गाको कित्ता नम्वर क्षेत्रफल किसिम फरक परेकोमा वा दोहोरो दर्ता हुन गएकोमा मालपोत कार्यालयले आवश्यक जाँचवुझ गरी सो कुरा सच्याई दर्ता कायम गर्न सक्नेछ भन्ने व्यवस्था भएको पाइन्छ । २०३० सालको निर्णयवाट दाताको नाममा रैकर दर्ता भएको जग्गानै दाताले २०५२।६।११ मा यी निवेदकहरुलाई हा.व.को लिखत गरी दिएकोले यि निवेदकको नाममा दर्ता हुन आएको विवादित जग्गाको जग्गाधनी यी निवेदकलाई थाहा जानकारी सम्म नदिई निजहरुको नामको दर्ता श्रेस्ता लगत कट्टा गरी मिति ०५२।८।२१ मा पशुपती भण्डार तहविल कार्यालयलाई जग्गाधनी र खड्गकुमारीलाई मोही कायम गरेको देखियो । विवादित जग्गाको दोहोरो श्रेस्ता कायम भएको वा वेपत्ते दर्ता भएको भए सोको लगत कट्टा गर्दा सो निर्णयवाट प्रत्यक्ष असर पर्ने दर्तावाला यी निवेदकहरुलाई वुझी सो सम्बन्धमा निजहरुको आफ्नो भनाई राख्ने मौका समेत प्रदान गरी कानूनबमोजिमको निर्णय गर्नुपर्ने हुन्छ । उक्त ऐनको दफा ७ (३) बमोजिम सामान्य व्यहोरा सम्म सच्याउन पाउने अधिकार रहेको भन्दैमा त्यस निर्णयवाट जग्गाको हक स्वामित्वनै जाने भै गम्भिर असर पर्ने यी निवेदकहरुलाई सुनुवाईनै नगरी प्रतिवादको मौकानै नदिई गरेको निर्णयलाई न्यायिक निर्णय मान्न मिलेन । त्यस्तो निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीतको हुन जान्छ । दर्तावालाको हक भोगमा असर पर्ने गरी मालपोत कार्यालयवाट भएको उक्त निर्णयलाई मालपोत ऐन, २०३४ को दफा ७ (३) को आधारमा सामान्य त्रुटी सम्म सच्याइएको भनी मान्न मिल्ने अवस्था देखिदैन । यस्तै विषयवस्तु समावेश रहेको निवेदक मुकुन्दप्रसाद खनाल विरुद्ध मालपोत कार्यालय महोत्तरी भएको उत्प्रेषणको रिट निवेदनमा मालपोत ऐन, २०३४ को दफा ७ (३) को व्यवस्थावाट व्यक्तिको हक स्वामित्वमा असर नपर्ने गरी सामान्य व्यहोरा सम्म सच्याउन सक्ने देखिने र जग्गा दर्तावालाको दर्ता लगत कटाई दिंदा निजको हक स्वामित्वमा असर पर्दैन भन्न सकिने अवस्था देखिन नआउने भनी ( ने.का.प. २०५२, अंक ८ नि.नं. ६०५८, पृष्ठ ७३१) सिद्धान्त समेत प्रतिपादन भएको पाइन्छ ।
१८. यसरी पशुपती भण्डार तहविल कार्यालयको मिति २०५२।८।२१ समेतको पत्रबाट विवादित कि.नं. ७९८, ७९९, ८०० समेतका गुठीको नाममा दर्ता गरी गुठी कायम गर्न माग गरिएका जग्गाहरु योगमाया र वच्चुराम डंगोलको नाममा दर्ता भै निजहरुवाट यि निवेदकहरुले हालैको वकसपत्र गरी लिएको भन्ने देखिएपछि ती व्यक्तिहरुलाई समेत वुझी निर्णय गर्नुपर्नेमा सो नगरी निवेदकहरुलाई प्रतिवाद गर्ने मौका समेत नदिई मालपोत कार्यालय चावहिलवाट रैकर लगत कट्टा गरी विवादित जग्गाहरु पशुपती भण्डार तहविलका नाममा दर्ता गर्ने गरी भएको मिति ०५२।८।२१ को निर्णय र पशुपती भण्डार तहसिल कार्यालयलाई सोही मितिमा लेखेको पत्र समेत प्राकृतिक न्याय सिद्धान्त विपरीत भएको देखिएकोले निवेदकहरुको हक स्वामित्वमा असर पर्ने गरी भएको उक्त निर्णय लगयतका पत्रहरु समेत उत्प्रेषणको आदेशद्वारा वदर गरि दिएको छ ।
१९. अव विवादित जग्गाको सम्बन्धमा निवेदकहरुलाई समेत वुझी जे जो गर्नुपर्ने गरी कानूनबमोजिम निर्णय गर्नु भनी विपक्षी मालपोत कार्यालयको नाममा परमादेश समेत जारी हुने ठहर्छ । आदेशको जानकारी माहान्यायाधिवक्ताको कार्यालय मार्फत विपक्षीलाई दिनु । मिसिल नियमानुसार गरी वुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या.शारदा श्रेष्ठ
इति सम्बत् २०६२ साल आषाढ २८ गते रोज ३ शुभम––––––––––