शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४२१० - आगलागी कर्तव्य ज्यान

भाग: ३२ साल: २०४७ महिना: माघ अंक: १०

निर्णय नं. ४२१०     ने.का.प. २०४७           अङ्क १०

 

संयुक्त इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

सम्वत् २०४७ सालको फौ.सा.नं. ५१

फैसला भएको मिति: २०४७।९।१७।३ मा

वादी : प्रेमबहादुर गोदार समेतको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

प्रतिवादी: कारागार शाखा, कास्कीमा थुनामा रहेकी घ्यूकुमारी भन्ने घ्यूमाया गोदार क्षेत्री

मुद्दा : आगलागी कर्तव्य ज्यान

(१)   मर्ने घरभित्र सुती निदाएका अवस्थामा मार्ने नियतबाट प्रतिवादीले घरमा आगो लगाई दिई सो आगोले पोलेको पीरबाट मृत्यु भएको देखिँदा ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैद गर्ने ठहराएको इन्साफ मनासिब हुने ।

(प्रकरण नं. १५)

फैसला

प्र.न्या.धनेन्द्रबहादुर सिंह

१.     पश्चिमाञ्चल क्षेत्रीय अदालतले साधक निकाशाको लागि जाहेर गरेको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :

२.    मेरा दाजु बलबहादुर गोदारका २ श्रीमतीमा जेठी पहिले नै परलोक भएकी कान्छी घ्यूकुमारी जीवित छन् । घरमा अमेल भएको कारणबाट घरमा आगो लगाई दिन्छु भनी भनेकी थिइन भन्ने कुरा सुनिएको थियो । यस्तैमा मिति २०४४।८।२५ गते राती करिब १०।३० बजेको समयमा दाजु बलबहादुरको घरमा आगो लागी भएको थाहा पाई जाँदा आगो निभाउन लागेको रहेछन् । दाजु बलबहादुरको सम्पूर्ण शरीर खग्रास भएको अवस्थामा निकालियो । अस्पतालमा भर्ना भई उपचार भइरहेको छ । मार्ने नियतबाट आगो लगाएको हुँदा कारवाही गरी नोक्सानी भएको बिगो रु. २१,७८५।समेत दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको मिति २०४४।८।२७ गतेको धनबहादुर गोदारको जाहेरी ।

३.    मेरा पति बलबहादुरले मलाई खान लाउन नदिने कुटपिट गर्ने गरी आएकोले बेग्लै घरसारमा बस्ने गरी आएकी थिएँ । लोग्नेको अन्यायपूर्ण व्यवहार सहन नसकी सुतेको मौकामा घरमा आगो लगाई लोग्ने बलबहादुरलाई मार्छु भन्ने मनमा तरड्ड उठी मिति २०४४।८।२५ गते राती १० बजे आगो लगाएकी हुँ लोग्नेको उपचार हुँदा हुँदै मृत्यु भएको हो भन्ने समेत व्यहोराको घ्यूकुमारी भन्ने घ्यूमायाले प्रहरीमा गरेको ततिम्बा बयान सहितको बयान ।

४.    मेरो आमा घ्यूकुमारीले मेरो बाबु बलबहादुर सुतेको बेलामा घरमा आगो लगाएको कारणबाट बाबु बलबहादुर आगोले डढी अस्पतालमा भर्ना हुनु भएकोमा मिति २०४४।९।५ गते साँझ ९.४५ बजे मृत्यु भएको हो ज्यानसम्बन्धी महल बमोजिम घ्यूकुमारीलाई कारवाही र सजायँ गरी पाउँ भन्ने समेत व्यहोराको मिति २०४४।९।६ गतेको प्रेमबहादुर गोदारको जाहेरी ।

५.    आगोले पोलिएको कारणबाट बलबहादुरको मृत्यु भएको भन्ने समेत पोष्टमार्टम फाराम मृतक बलबहादुरको घरमा आगो लागी भएको देखिँदा जाँदा मूल ढोकामा रिबनले बाँधिएको रहेछ, ढोका फोरी भित्रबाट बलबहादुरलाई पोलिएको अवस्थामा बाहिर निकालिएको हो । उपचार हुँदा हुँदै बलबहादुरको मृत्यु भएको हो आगो लागीबाट रु. ३०,०००।क्षेती भएको छ । घ्यूकुमारीले घरमा आगो लगाएकी हुन् भन्ने समेत व्यहोराको सूर्यबहादुर गोदारसमेतले प्रहरीमा गरेको बयान ।

६.    सरजमीन मुचुल्का भई मिसिल सामेल रहेछ ।

७.    घ्यूकुमारीले घरमा आगो लगाएको कारणबाट बलबहादुर डढी सख्त घाइते भई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार हुँदा हुँदै मिति २०४४।९।५ गते मृत्यु भएको भन्ने कुरा देखिन आएकोले घ्यूकुमारीलाई ज्यानसम्बन्धी महलको १३(३) नं. अनुसार सजायँ गरी नोक्सानी भएको बिगो रु. ३०,०००।घ्यूकुमारीबाट जाहेरवाला प्रेमबहादुरलाई भराई दिन माग दावी भएको प्रहरी प्रतिवेदन ।

८.    पति बलबहादुरले मलाई कुटपिट गर्ने खान लाउन नदिने दुव्र्यवहार गरेको हुँदा मिति २०४४।८।२५ गते राती १०:३० बजे भन्दा केही बेर अगाडि मेरै साथमा भएको कोरी घरको ढिकी पट्टिको पालीबाट आगो लगाई दिएकी हुँ । घरभित्र बुहारी र पति बलबहादुर सुतेका थिए भित्र भएका मानिस सुती निदाई सकेका नहुँदा घर बल्न थालेपछि उज्यालो हुन्छ र उठी हाल्लान भन्ने ठानी घरमा मात्र आगो लगाउने विचारले आगो लगाएकी हुँ मानिस मार्ने नियत थिएन पति बलबहादुर मैले लगाएको आगोको पोलाइको बेदनाबाट मरेका हुन भन्ने समेत व्यहोराको घ्यूकुमारी गोदार क्षेत्रीको अदालतमा गरेको बयान ।

९.    जाहेरवाला धनबहादुर, कृष्णबहादुर सरजमीनका मानिस लालबहादुर प्रहरीमा कागज गर्ने भीमबहादुर गोदार समेतको बकपत्र भएको ।

१०.    प्रतिवादी घ्यूमायाले खान लाउन दिएन भन्ने रिसइवी लिई बलबहादुर समेतका घरभित्र सुतेका मानिस मर्छ भन्ने जानी जानी आगो लगाएको कारणबाट बलबहादुर मरेको देखिँदा निजले ज्यानसम्बन्धी महलको १ नं. अनुसार कसूर गरेको ठहर्छ । निजलाई ज्यानसम्बन्धीको १३(३) नं. अनुसार सर्वश्व सहित जन्मकैद हुने ठहर्छ । नोक्सानी बिगोको हकमा निजको समेत हक लाग्ने हुँदा आमाबाट छोरालाई क्षतिपूर्ति दिलाउने प्रहरी प्रतिवेदन दावी पुग्न सक्दैन भन्ने समेत व्यहोराको मिति २०४५।११।२६ गतेको कास्की जिल्ला अदालतको जाहेरी फैसला ।

११.    मलाई जन्मकैद गर्ने गरेको कास्की जिल्ला अदालतको फैसला अन्यायपूर्ण छ उक्त फैसला उल्टी गरी आरोपित कसूरबाट सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी घ्यूमाया गोदार क्षेत्रीको गण्डकी अञ्चल अदालतमा परेको पुनरावेदन जिकिर ।

१२.   प्रहरी प्रतिवेदनमा अभियोगमा प्रतिवादी सावित रही बयान गरेकी र सो सावितीलाई अन्य प्रमाणबाट पुष्टि भएको हुँदा दावी बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहराएको शुरुको फैसला मनासिब ठहर्छ । निजको उमेर आदिलाई विचार गर्दा सर्वश्वसहित जन्मकैदको सजायँ चर्को पर्न जाने महसूस भई अ.बं. १८८ नं. बमोजिम प्रतिवादीलाई कैद वर्ष १५ (पन्ध्र) गर्नु मनासिब देखिँदा साधक जाहेरीको लागि राय पठाई दिनु पर्ने ठहर्छ भन्ने समेत गण्डकी अञ्चल अदालतको मिति २०४६।१०।१ गतेको फैसला ।

१३.   प्रतिवादीले घरमा आगो लगाएमा सावित रहेको र आगोले डढी बलबहादुरको मृत्यु भएको कुरा पोष्टमार्टम समेतबाट पुष्टि हुन आएकाले प्रतिवादीलाई प्रहरी प्रतिवेदन माग दावी बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहराएको शुरु फैसला सदर गरेको गण्डकी अञ्चल अदालतको फैसला मनासिब ठहर्छ । प्रतिवादीको वृद्धावस्था समेतबाट सर्वश्वसहित जन्मकैदको सजायँ चर्को पर्न जाने देखि अ.बं. १८८ नं. बमोजिम कैद वर्ष १५ गर्ने गरी राय गरेको समेत मनासिब देखिँदा साधक जाहेर गरेको छु भन्ने समेत पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४७।४।१० गतेको फैसला ।

१४.   नियम बमोजिम साधक निकाशा निमित्त पेश हुन आएको प्रस्तुत मुद्दामा पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ, छैन ? सो कुरा हेरी साधक निर्णय दिनु पर्ने हुन आएको  छ ।

१५.   यसमा निर्णयतर्फ हेर्दा लोग्नेले खान लाउन नदिएकाले घरमा आगो लगाई दिन्छु भनी भनेकी थिइन भनी बलबहादुरकी श्रीमती उपर आगो लगाएमा शंका गरी धनबहादुर गोदारको जाहेरी परी कारवाही भई रहेको अवस्था निज बलबहादुर गोदार आगलागीले पोलेको चोट पीरबाट मृत्यु भएकोले आगो लगाउने घ्यूकुमारीलाई ज्यानसम्बन्धीको महल बमोजिम कारवाही सजायँ गरिपाउँ भन्ने मर्ने बलबहादुरको छोरा प्रेमबहादुर गोदारको जाहेरी दर्खास्त परेको देखिन्छ । मर्ने बलबहादुर गोदार क्षेत्री घर आगलागीमा परी आगोले पोलेको चोट पीरबाट मरेको भन्ने कुरामा विवाद देखिएन । अभियुक्त घ्यूकुमारी भन्ने घ्यूमाया गोदार क्षेत्रीले प्रहरीमा बयान गर्दा लोग्ने बलबहादुरले खान लाउन नदिई हेला गरेकाले मरे मरोस भनी घरमा आगो लगाई दिएको हुँ सोही आगोले जली मरेको हो भनी सावित भई बयान गरेको छ । अदालतमा बयान गर्दा लोग्ने बलबहादुरले कुटपिट गर्ने खान लाउन नदिने पीडित भई लोग्नेलाई मार्ने नियत लिई आगो लगाएको नभई घर नै बाधक भएको कारणले घर नै जलाई दिन्छु भनी ढिकी पट्टीको पालीबाट आगो लगाएको हुँ भनी भनेको पाइन्छ । सो आगो लगाएको घरमा मर्ने प्रतिवादीका लोग्ने बलबहादुर निजकी बुहारी सुतेकी भन्ने कुरा प्रतिवादीले आफ्नो बयानमा स्वीकारेको पाइन्छ । बुझिएका सरजमीनका मानिस लालबहादुर गोदारले दिन दिन कलह झगडाको कारण बलबहादुरलाई मार्ने नियतले घ्यूकुमारीले आगो लगाएको सो आगोले पोलेको पीडाबाट बलबहादुरको मृत्यु भएको हो भनी अदालतमा बकपत्र गरी दिएको छ । मौकामा आगो निभाउन जम्मा भएका आगलागी देख्ने कृष्णबहादुर गोदार र भीमबहादुर गोदारले बलबहादुरको घरतिर उज्यालो भई के रहेछ भनी दौडी जाँदा घर बलिरहेको रहेछ । बलबहादुर भित्रै भएकोले बाँसको बेरा भत्काई निकाली हेर्दा डढी सकेको रहेछ । मरेका भने थिएनन् । बुहारी पनि हाम्रै सहायताबाट निस्कीन घ्यूकुमारीलाई किन आगो लगाइन भनी सोद्धा बुढाले खान लाउन दिएन मार्नका लाग सुती निदाएको अवस्था आगो लगाई दिएको भनी आफैं सावित भएको र सोही आगलागीको पीडाबाट बलबहादुर मरेको भनी अदालतमा बकपत्र गरी दिएका छन् । जाहेरवाला धनबहादुर गोदारले घ्यूकुमारीले खान लाउन नदिएमा झगडा भएको कारणबाट मार्ने नियतले सुतिरहेका अवस्था आगो लगाई दिएको हुँ । सोही कारणबाट दाजु बलबहादुरको मृत्यु भएको भनी बकपत्र गरी दिएका छन् सो बकपत्रहरुबाट सुती निदाएको अवस्थामा मार्ने नियतले घरमा प्रतिवादीले आगो लगाई दिएकोबाट मर्ने बलबहादुरलाई आगोले पोली सोही चोट पीर कर्तव्यबाट मरेको भन्ने प्रतिवादीले प्रहरीमा गरेको साविती बयानको पुष्टि भएको पाइन्छ । अभियुक्त प्रतिवादीले अञ्चल अदालतको फैसला उपर पुनरावेदन गर्न सकेको पनि छैन । यस स्थितिमा मर्ने बलबहादुरलाई मार्ने नियत थिएन भन्ने सकिने अवस्था हुँदैन । मर्ने बलबहादुर समेत घरभित्र सुती निदाएका अवस्थामा मार्ने नियतबाट प्रतिवादी घ्यूकुमारी भन्ने घ्यूमाया गोदार क्षेत्रीले घरमा आगो लगाई दिई सो आगोले पोलेको पीरबाट बलबहादुर गोदार क्षेत्रीको कर्तव्यबाट मृत्यु भएको भन्ने देखिन आयो । तसर्थ कास्की जिल्ला अदालतले प्रतिवादी घ्यूकुमारी भन्ने घ्यूमाया गोदार क्षेत्रीलाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैद गर्ने ठहराएको इन्साफ सदर गरेको गण्डकी अञ्चल अदालतको फैसलालाई सदर गरी साधक जाहेर गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । घरभित्र मानिस सुति निदाएका अवस्था मार्ने नियतबाट घरमा आगो लगाई दिएकोबाट बलबहादुर गोदार क्षेत्री कर्तव्यबाट मृत्यु भएको स्थितिमा घटी सजायँको लागि राय लगाएको सम्म मिलेको देखिएन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.बब्बरप्रसाद सिंह

 

इतिसम्वत् २०४७ साल पौष १७ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु