शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४१९५ - उत्प्रेषण, परमादेश

भाग: ३२ साल: २०४७ महिना: मंसिर अंक:

निर्णय नं. ४१९५     ने.का.प. २०४७      अङ्क ८

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

२०४६ सालको रिट नम्बर ७९९

आदेश भएको मिति : २०४७।८।१२।४ मा

निवेदक      : का.न.पं. वा.नं. ११ बस्ने अशोकमान सिं बनिया                

                                     विरुद्ध                      

प्रत्यर्थी : श्री महाप्रबन्धक हिमाल सिमेण्ट कम्पनी लिमिटेड, चोभारसमेत

विषय : उत्प्रेषण परमादेश

(१)   कुनै पद आवश्यक नभएको भनी निर्णय भएको छ भने सो कारण उचित र मनासिब हुनुको साथै सो कारण तथ्यमा आधारित हुनुपर्छ, तथ्यरहित कारणको कुनै औचित्य नहुने ।

(प्रकरण नं. १०)

(२)   कुनै कर्मचारीको नोकरीको विषयमा निर्णय गर्दा असल नियतले सदासयपूर्वक गरिनु पर्ने ।

(प्रकरण नं. १०)

(३)   विसंगतिको अवस्थामा मितव्ययिताको जुन कारण देखाई निवेदकको पदलाई खारेज गरेको छ सो पदको खारेजीको कुनै औचित्यपूर्ण आधार नभई अनुचित देखिन आएकोले पद खारेज गर्ने भएको निर्णयलाई सदासयपूर्ण भन्न नमिल्ने ।

(प्रकरण नं. १०)

निवेदक तर्फबाट     : विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल, विद्वान अधिवक्ता श्री प्रकाशमणि शर्मा

प्रत्यर्थीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ

आदेश

न्या.सुरेन्द्रप्रसाद सिंह

१.     नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ ।

२.    निवेदक १९६६ मा चीनबाट सिमेण्ट टेक्नोलजिकल इन्जिनीयरिङ विषयमा स्नातक गरी आई २०२३ सालमा खानी विभाग अन्तर्गत सिमेन्ट टेक्नोलजिष्टमा ज्यालादारी नियुक्त भई २०२५ साल आश्विनमा स्थायी भयो । यही सेवाकालमा पश्चिम जर्मनीमा गई सिमेण्ट उत्पादन र प्रोसेस कन्ट्रोलमा १९६९७० सम्म १४ महीनाको तालिम पाएको छ । २०३१।३।२७ देखि हिमाल सिमेन्ट कं.प्रा.लि. को प्रयोगशाला प्रमुख पदमा सरुवा बढुवा भई सेवा गर्दै आएको थिएँ । निवेदकले १९७९ मा एसियन प्रडक्टिभिटी अर्गनाइजेशन जापानबाट इण्डष्ट्रियल सिष्टम इन्जिनीयरिङ विषयमा १० हप्ताको तालिम र १९८० मा एसियन प्रोडक्टिभिटी अर्गनाइजेशनबाट संचालित इनर्जी कन्जरभेशन इन सिमेण्ट म्यानुफैक्चिरिड्ड विषयक रिजनल सेमिनारमा १९८१, १९८३ मा पनि अन्तर्राष्ट्रिय स्तरमा संचालित सिमेन्ट उत्पादन सम्बन्धी गोष्ठीहरुमा भाग लिई उच्च प्राविधिक ज्ञान हासिल गर्ने मौका प्राप्त भयो । २०३९ सालमा क्वालिटी कन्ट्रोल मैनेजर प्रथम श्रेणीमा पदोन्नति, २०४४ सालमा डिपुटी जनरल मेनेजर विशिष्ट श्रेणीमा पदोन्नति गरियो । रिसर्च डेभलपमेन्ट एण्ड कर्पोरेट एक्सटेन्सनको लागि नायब महाप्रबन्धकको पदमा बहाल रहेकै अवस्थामा म वहाल रहेको उक्त पद कम्पनीको आर्थिक स्थिति र क्षमताको कारणले मितव्ययिता समेत अपनाउनु पर्ने आवश्यक भएकोले हिमाल सिमेण्ट कम्पनी लिमिटेडको कार्यविधि नियमावली, २०४५ परिच्छेद १४ को नियम १४.२(अ) अनुसार खारेज गर्ने र पद खारेज नै भएकोले मलाई सेवाबाट अवकाश दिने कम्पनीको संचालक समितिको मिति २०४६।५।१३ मा बसेको ४८६ औं बैठकले निर्णय गरेको हुँदा जानकारी दिएको छ भन्ने व्यहोरा उल्लेख भएको ०४६।५।२० प.सं. ०४६।४७ च.नं. ३६५ को पत्र दिइयो ।

३.    निवेदकले वर्षौको अनुभव अध्ययन र तालिमबाट हासिल गरेको विशिष्ट ज्ञान पद सापेक्ष नभई सिमेन्ट उत्पादनको सर्वाड्डिण प्रकृयाको लागि नै आवश्यक पर्ने हो । हिमाल सिमेन्ट कम्पनी लिमिटेडको कार्यविधि नियमावली, २०४५ को परिच्छेद १४ को नियम १४.२(अ) ले निर्दिष्ट गरे बमोजिम कम्पनीको सेवाबाट कर्मचारीलाई निज बहाल रहेको पदको सेवा कम्पनीलाई आवश्यक नदेखिएमा र सो पद नै खारेज हुने भएमा मात्र संचालक समितिले अवकाश दिने निर्णय गर्न सक्छ । तर प्रस्तुत विवादमा संचालक समितिले म बहाल रहेको पद कम्पनीलाई आवश्यक नभएको ठहर्‍याएर खारेज गरेको नभई कम्पनीको आर्थिक अवस्थालाई ध्यानमा राखेर मितव्ययिता गर्नुपर्ने भएको हुँदा वाध्यतावश खारेज गरेको छ । कम्पनीको विकास र प्रगतिको निम्ति म बहाल रहेको पदको आवश्यकता छ कि छैन त्यसबारे ज्ञान राख्ने विशेषज्ञको राय पनि लिइएको छैन । मलाई आफू बहाल रहेको पदको र आफ्नो बारेमा भन्ने मौका समेत दिइएको छैन । निर्णयको प्रतिलिपि दिन पनि इन्कार गरियो । उपरोक्त बमोजिम विपक्षी संचालक समितिको मिति ०४६।५।१३ को गैरकानुनी निर्णयबाट निवेदक नियम १४(१) द्वारा व्यवस्थित ६० वर्ष नपुगेसम्म सेवा गर्न पाउने हकबाट वञ्चित हुनुको साथै संविधानको धारा १०(१), ११(१), ११(२)(ङ) र १५ द्वारा प्रदत्त हक अधिकारबाट वञ्चित भएको हुँदा उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी हिमाल सिमेण्ट कम्पनी प्रा.लि. को सेवामा कानुन बमोजिम अटुट नोकरी गर्न पाउने हक अधिकार संरक्षण गरी पाउँ भन्ने समेत रिटनिवेदन ।

४.    यसमा विपक्षीबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेत यस अदालत एक न्यायाधीशको इजलासको मिति २०४६।७।१०।५ को आदेश ।

५.    रिट निवेदक प्रत्यर्थी कम्पनीको रिसर्च, डेभलपमेण्ट एण्ड कर्पोरेट एक्सटेन्सनको लागि नायब महाप्रबन्धकमा कार्यरत रहनु भएकोमा उक्त पद कम्पनीलाई आवश्यक नभएको कारण पद नै खारेज भएकोले हिमाल सिमेन्ट कम्पनी लिमिटेड कार्यविधि नियमावली, २०४५ को परिच्छेद १४ को १४.२(अ) अनुसार विधिवत अवकाश दिइएको हो । संचालक समितिले ०४६।५।१३ गते बसेको आफ्नो ४८६ औं बैठकले पद खारेज गर्ने वा नगर्ने गम्भीर विचार विमर्श पछि सकारण पद खारेज गर्ने र पद खारेज भएकोले रिट आवेदकलाई अवकाश दिने निर्णय भएको छ जुन उल्लेख गरिए अनुसार कानुनसंगत र अधिकारयुक्त छ । सेवामा रहेको पद खारेज गर्दा कुनै विशेषज्ञसंग सल्लाह लिन पर्ने पूर्वावस्था रहे भएको छैन । साथै यस प्रकारको निर्णय पूर्व रिट आवेदकसंग प्रतिवाद लिन कुनै आवश्यक रहेको हुन्न । उक्त विषय संचालक समितिको आन्तरिक र विवेकाधिकारको कुरा हो । अतः रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेत प्रत्यर्थी हिमाल सिमेण्ट कम्पनी लिमिटेड, हिमाल सिमेण्ट कम्पनी लिमिटेडको संचालक समितिको तर्फबाट र कम्पनीको महाप्रबन्धकको संयुक्त लिखितजवाफ ।

६.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनमा निवेदकका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेलले २०४४।७।१३ मा कम्पनीको विस्तार गरिएको तर ०४६।५।१३ मा कम्पनीको आर्थिक स्थिति खराब भएको भनी मितव्ययिताको लागि निवेदकलाई हटाएको तर निवेदकको अतिरिक्त अरु कुनै पद खारेज गरेको छैन । निवेदकको पद बदनियतपूर्ण तरिकाले खारेज गरेकोले निवेदकलाई दिएको अवकाश दुरासयपूर्ण छ । पदको आवश्यकता नपर्नु र मितव्ययिता भन्नु बेग्ला बेग्लै कुरा हो । हिमाल सिमेन्ट कम्पनी, कार्यविधि नियमावलीमा पद आवश्यक नभएमा खारेज गर्ने व्यवस्था छ, मितव्ययिताको लागि पद खारेज गर्ने व्यवस्था छैन । कुनै व्यक्तिलाई अवकाश दिने कार्य असल नियतले (good faith) मात्र हुनुपर्छ । तसर्थ बदनियतपूर्ण तरीकाबाट गरिएको अवकाश दिने निर्णय बदर भई निवेदकलाई काम गर्ने मौका प्रदान हुनुपर्छ भन्ने समेत बहस गर्नु भयो । निवेदकतर्फका अर्का विद्वान अधिवक्ता श्री प्रकाश मणि शर्माले निवेदकलाई सेवाबाट अवकाश दिने निर्णय बदनियतपूर्ण छ । निवेदकलाई तोकेको पदमा बहाल गरेपछि काम गर्ने मौकै दिइएन । संचालक समितिबाट निर्णय गर्दा कम्पनीको हितलाई ध्यानमा राखी गर्नु पर्नेमा त्यसको विपरीत दुराशयपूर्वक अवकाश दिएको छ । कम्पनीको वासलात हेरेमा आर्थिक स्थितिमा सुधार भएकै देखिन्छ । कम्पनीको खर्च समेतलाई ध्यानमा राखी अवकाश दिएको बदनियतपूर्ण छ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो । प्रत्यर्थी हिमाल सिमेन्ट कम्पनीका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठले कुनै सेवा खारेज गर्ने अधिकार कम्पनीलाई प्राप्त छ । कुनै कर्मचारीको सेवा आवश्यक नभएको वा पद खारेज भएको अवस्थामा सेवाबाट अवकाश दिने व्यवस्था नियमले गरेको छ । संचालक समितिको निर्णय बदनियत पूर्ण नभएको हुनाले रिटनिवेदन खारेज हुनुपर्दछ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।

७.    निर्णयतर्फ हेर्दा यसमा निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिल्ने नमिल्ने के हो सो विषयमा निर्णय दिनु पर्ने हुन आयो ।

८.    यसमा २०४४ सालमा निवेदकलाई रिसर्च डेभलपमेण्ट एण्ड कर्पोरेट एक्सेटन्सनको लागि नायब महाप्रबन्धक पदमा पदोन्नति भई बहाल रहेको अवस्थामा मितव्ययिताको कारण देखाई पद आवश्यक नभएकोले कार्यविधि नियमावलीको नियम १४.२(अ) अनुसार खारेज गर्ने र पद खारेज भएकोले मलाई सेवाबाट अवकाश दिने गरेको संचालक समितिको मिति ०४६।५।१३ को निर्णय बदनियतपूर्ण भएको हुनाले सो निर्णय बदर गरी सेवामा बहाल रहने हक संरक्षित गरी पाउँ भन्ने समेत मुख्य रिटनिवेदन जिकिर र संचालक समितिको मिति ०४६।५।१३ मा बसेको ४८६ औं बैठकले कम्पनीलाई सो पद आवश्यक नपरेको भनी कारण सहित पद खारेज गरी निवेदकलाई अवकाश दिएको कानुन अनुरुप नै भएको हुनाले रिटनिवेदन खारेज हुनुपर्दछ भन्ने समेत प्रत्यर्थीबाट पर्न आएको लिखितजवाफ देखिन्छ ।

९.    निवेदक हिमाल सिमेण्ट कम्पनी प्रा.लि.मा २०३१ सालदेखि कार्यरत रही बेला बेलामा सिमेन्ट उत्पादन सम्बन्धी विषयमा विभिन्न अन्तर्राष्ट्रिय तालिम सेमिनारमा सम्मिलित भई दक्ष विशेषज्ञका रुपमा कार्य गर्दै आएको र बेला बेलामा पदोन्नति भई २०४४ सालमा नायब महाप्रबन्धक पदमा पदोन्नति भएको कुरामा विवाद रहेन । निज सोही पदमा बहाल रहेको अवस्थामा मिति ०४६।५।१३ मा बसेको संचालक समितिको ४८६ औं बैठकबाट निर्णय भई निजलाई अवकाश दिइएको रहेछ । संचालक समितिको उक्त निर्णय हेर्दा कम्पनीका स्वीकृत संगठनात्मक तालीका अनुसार रिसर्च डेभलपमेन्ट एण्ड कर्पोरेट एक्स्टेन्सनको लागि नायब महाप्रबन्धकको पद सृजना भई सेवा संचालन भई आए तापनि कम्पनीले उक्त आर्थिक वर्ष पनि आफ्नो कारोवारमा घाटा नोक्सानी सहनु परेकोले उक्त रिसर्च डेभलपमेन्ट एण्ड कर्पोरेट एक्सटेन्सनको संगठनात्मक स्वरुप विस्तार गर्न सकिएको थिएन र कम्पनीको लागि कुनै ठोस रिसर्च डेभलपमेन्ट र करर्पाेरेट एक्सटेन्सनको कार्य भइरहेको पनि छैन । कम्पनीको आर्थिक स्थिति र क्षमताको स्थितिले उक्त संगठनात्मक स्वरुपलाई विस्तार गर्न नसकिने स्थितिमा पुगेको र मितव्ययिता गर्न अत्यावश्यक देखिएको छ । उपयुक्त कारणले गर्दा कम्पनीलाई उक्त रिसर्च, डेभलपमेन्ट एण्ड करर्पाेरेट एक्सटेन्सनको लागि नायब महाप्रबन्धकको पद हिमाल सिमेन्ट कम्पनी लिमिटेडको कार्यविधि नियमावली, २०४५ परिच्छेद १४ को १४.२ (अ.) अनुसार आवश्यक नभएकोले उक्त पद खारेज गर्न संचालक समितिले निर्णय गर्‍यो र उक्त पद खारेज भएकोले सो पदमा सेवारत श्री अशोकमान सिंह बनियालाई सेवाबाट अवकाश दिने पनि संचालक समितिले निर्णय गर्‍योभन्ने उल्लेख गरिएको छ । निवेदक अशोकमान सिंह बनियालाई प्रत्यर्थी हिमाल सिमेन्ट कम्पनीको रिसर्च डेभलपमेन्ट एण्ड करर्पोरेट एक्सटेन्सनको लागि नायब महाप्रबन्धकमा नियुक्त गरेपछि सो सम्बन्धी काम गराउनेतर्फ हिमाल सिमेन्ट कम्पनीले कुनै चासो राखेको फाइलबाट देखिँदैन । मिति ०४६।५।१३ मा कम्पनीको आर्थिक स्थिति र क्षमताको स्थितिले उक्त संगठनात्मक स्वरुपलाई विस्तार गर्न नसकिने स्थितिमा पुगेको र मितव्ययिता गर्न आवश्यक देखिएको भन्ने कुरा दर्शाई उक्त पद कम्पनीको लागि आवश्यक नभएको भनी पद खारेज गर्ने निर्णय भएको छ । हिमाल सिमेण्ट कम्पनी कार्यविधि नियमावली, २०४५ को परिच्छेद १४ को नियम १४.२(अ) हेर्दा कुनै कर्मचारी बहाल रहेको पदको सेवा कम्पनीलाई आवश्यक नदेखिएमा र सो पद नै खारेज हुने भएमा कम्पनीको कुनै पनि कर्मचारीलाई कम्पनीको सेवाबाट अवकाश दिने वा हटाउने वा बर्खास्त गर्ने गरी संचालक समितिले निर्णय गर्न सक्ने देखिन्छ । उक्त नियम बमोजिमको अधिकार प्रयोग गरी संचालक समितिले मिति ०४६।५।१३ मा गरेको निर्णयमा मितिव्ययिताको आधार देखाई रिट निवेदक अशोकमान सिंह बनिया बहाल रहेको नायब महाप्रबन्धकको पद खारेज गर्ने निर्णय गरी पद खारेज भएको कारणले निवेदकलाई अवकाश दिने निर्णय भएको देखिन्छ ।

१०.    हिमाल सिमेण्ट कम्पनी, कार्यविधि नियमावली, २०४५ को नियम १४.२(अ) द्वारा संचालक समितिलाई प्रदान गरेको पद खारेज गर्न सक्ने अधिकारको सम्बन्धमा हेर्दा कम्पनीलाई सो पद आवश्यक नभएको स्थिति हुनु पर्ने देखिन्छ । कम्पनीको लागि कुनै कारण देखाई कुनै आवश्यक नभएको मान्नलाई जुन कारण देखाई कुनै पद आवश्यक नभएको भनी निर्णय भएको छ सो कारण उचित र मनासिब हुनुको साथै सो कारण तथ्यमा आधारित हुनुपर्छ, तथ्यरहित कारणको कुनै औचित्य हुँदैन । कुनै कर्मचारीको नोकरी विषयमा निर्णय गर्दा असल नियतले सदासयपूर्वक गरिनु पर्दछ । प्रस्तुत निवेदनका सन्दर्भमा हेर्दा कम्पनीको आर्थिक स्थितिको कारणले मितव्ययिता अपनाउनु आवश्यक परेको कारण देखाई पद खारेज गरेको देखिन्छ । तर हिमाल सिमेण्ट कम्पनीको ०४६।०४७ र ०४७।०४८ को प्राप्त माइन्यूट बुक अध्ययन गर्दा प्रोत्साहन भत्ता, इन्सेन्टिभ बोनस, कर्मचारी कल्याण रकममा समेत गत वर्ष भन्दा बढी खर्च गर्न बजेट राखिएको देखिन्छ । उक्त आर्थिक वर्षको बजेटमा चन्दाको लागि पनि ठूलो रकम छुट्याइएको र पत्र पत्रिका तथा अतिथी सत्कारको लागि छुट्याइएको खर्च पनि तुलनात्मक रुपमा घटेको देखिँदैन । यस्तो विसंगतिको अवस्थामा मितव्ययिताको जुन कारण देखाई निवेदकको पदलाई खारेज गरेको छ सो पदको खारेजीको कुनै औचित्यपूर्ण आधार नभई अनुचित नै देखिन आएकोले पद खारेज गर्ने भएको निर्णयलाई सदासयपूर्ण भन्न मिल्ने देखिन्न । तसर्थ निवेदक बहाल रहेको पदलाई सदासयपूर्ण किसिमले खारेज गरेको देखिन नआएकोले निवेदकलाई अवकाश दिने गरी भएको संचालक समितिको मिति ०४६।५।१३ को निर्णय उत्प्रेषणको ओदशद्वारा बदर हुने ठहर्छ । निवेदकलाई पुनः सेवामा बहाल गर्नु भनी हिमाल सिमेण्ट कम्पनीको नाममा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । फाइल नियमबमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.त्रिलोकप्रताप राणा

 

इतिसम्वत् २०४७ साल मंसीर १२ गते रोज ४ शुभम् ।

 



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु