शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४२२१ - परमादेश

भाग: ३२ साल: २०४७ महिना: फागुन अंक: ११

निर्णय नं. ४२२१     ने.का.प. २०४७      अङ्क ११

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०४६ सालको रिट नं. ५५८

आदेश भएको मिति: २०४७।८।१८।३ मा

निवेदक      : काठमाडौं बस्ने रेवतीरमण तिमिल्सीना

विरुद्ध

विपक्षी : विराटनगर भन्सार कार्यालय, विराटनगरसमेत

विषय : परमादेश

(१)   कृषि सम्बन्धी किटनाशक औषधिलाई मात्र सीमित गर्न खोजेको भए सोही कुरा स्पष्ट उल्लेख हुनु पर्ने सो नभई अन्य वस्तुहरुको विवरणमा साथै किटनाशक औषधि भनी उल्लेख गरेबाट सबै किसिमका किटनाशक औषधि भनी उल्लेख गरेबाट सबै किसिमका किटनाशक औषधिमा अतिरिक्त भन्सार नलाग्ने देखिँदा निवेदकले आयात गरेको ईन्सेक्टी साईट, एन्टीमास्कीटो क्वायल, एण्टीमास्कीटो टेवलेट्स र सि.सि.डी.एन. मा भन्सार कार्यालय विराटनगरले २५% प्रतिशत थप अतिरिक्त भन्सार महसूल तथा ५% प्रतिशतले बिक्रीकर समेत लगाएको कानुनको प्रतिकूल हुँदा उक्त लगाएको अतिरिक्त भन्सार तथा बिक्रीकर निर्धारण उत्प्रेषणको आदेशद्वारा बदर हुने ।

(प्रकरण नं. १८)

निवेदक तर्फबाट     : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया

विपक्षी तर्फबाट      : विद्वान सहन्यायाधिवक्ता श्री राजेन्द्रप्रसाद कोइराला

आदेश

न्या.बब्बरप्रसाद सिंह

१.     नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार रहेछ ।

२.    श्री ५ को सरकार वाणिज्य विभागबाट नं. सि.डि.वि.ए. आई.यु.बी.ई. । ११२६७८।०४४ ता. २८ अप्रैल १९८८ को आयात इजाजतपत्र प्राप्त गरेको र सो इजाजतपत्रको मालको विवरण महलमा ईनस्केटी साईड (सिसिसियन ३८११ बी.एन्टी मास्कीटो क्वायल्स, एन्टी मास्कीटो टेबलेटस र लोसन) भन्ने समेत उल्लेख भएकोले सो बमोजिमको माल आयात गर्नलाई निवेदकले एल.सी. खोली ओसाका जापानको किंग केमिकल्स कं.लि. बाट ईन्सेकटी साईड एन्टी मास्कीटो टेबलेट्स २२०८० बाकस खरिद गरी आयात गरेको र सो माल विपक्षी नं. १ मा आई पुगे पछि बैंकबाट प्राप्त डकुमेण्ट इन्भ्वायस अनुसार माल वस्तुको विवरण र त्यसको मूल्य समेत खुलाई मिति २०४५।४।३० मा प्रज्ञापन पत्र भरी विपक्षी नं. १ मा पेश गरेकोमा विपक्षी नं. १ को आदेशानुसार भन्दै बिल मूल्यलाई मान्यता दिई त्यसमा भन्सार दरबन्दीको संकेत नं. ३८ अनुसार ५ प्रतिशतले सो भन्सार महसुल १३५०६।३५ निर्धारण गरी सकेपछि विपक्षी नं. २ को निर्देशन तथा परिपत्र बमोजिम २५% ले अतिरिक्त भन्सार महसूल रु. ६७,५३१।७५ समेत लगाई बिक्रीकर प्रयोजनको लागि सो साधारण भन्सार महसूल रु. १३,५०६।३५ तथा अतिरिक्त भन्सार महसूल रु. ६७,५३१।७५ समेतलाई मालको मूल्य रु. २,७०,१२६।१२ मा जोडी रु. ३,५१,१६५।१० कायम गरी त्यसमा ५% ले बिक्रीकर रु. १७,५५८।२५ समेत लगाई जम्मा भन्सार महसूल दर विक्रीकर रु. ९८,५९६।३५ असूल गरी सोही मितिमा सामान छोडेकोले निवेदकलाई सा¥है अन्याय पर्न गएको र निवेदक २०४५ साल भाद्र १६ गते देखि अशक्त बिरामी भई सोही अवस्था देखि लगातार डाक्टरको औषधि उपचार गराई रहेको सो सर्टिफिकेट तथा प्रेस्कृप्सन समेत साथै छ ।

३.    निवेदकले प्राप्त गरेको उक्त आयात इजाजतपत्रमा इन्सेक्टीसाइड (सि.सि.सि. एन ३८.११ डि.एन्टी मस्कीटो क्वायल्स, एन्टीमस्कीटो टेबलेटस र लोसन) भन्ने उल्लेख भएको र सि.सि.सि.एन ३८.११ मा Disinfectants, Insecticides, Fungicides, Rat poisons, Herbicides, Anti-sprouting Products, Phants-growth regulators and similar products, Put-up informs or packings for sale By Retailer as preparations or Articles (For example, Sulphur - Treated Bands, wicks and candles, Fly-paper) भन्ने उल्लेख भएको र सामयिक कर असूल ऐन, ०१२ को दफा ३ को अधिकार प्रयोग गरी श्री ५ को सरकार अर्थ मन्त्रालयले नेपाल राजपत्र खण्ड ३८ अति. १५(क) मिति ०४५।३।२४ मा प्रकाशित गरेको सूचनाको दफा १ को अनुसूची १ मा संकेत नं. ३८.११ उल्लेख नभए पनि सो दफा १ को उपदफा (२) मा यसमा उल्लेख भएको व्यवस्था बाहेक भन्सार महसूल सम्बन्धी अन्य व्यवस्था आर्थिक ऐन, २०४४ बमोजिम हुनेछ भन्ने र अनुसूची १ को अन्तमा यस अनुसूचीमा उल्लेख नभएका माल वस्तुको सम्बन्धमा आर्थिक ऐन, २०४४ को अनुसूची १ बमोजिम हुने छ भन्ने उल्लेख भएको र आर्थिक ऐन, २०४४ को अनुसूची १ को संकेत नं. ३८.११ मा पनि कीटनाशक भन्ने समेत उल्लेख भई संकेत नं. ३८.११(ख) मा अन्य किटनाशक पदार्थहरु भन्ने उल्लेख भई देहाय (२) मा भन्ने भई त्यसमा भन्सार महसूल ५% ले भन्ने लेखिएको र विपक्षी नं. १ ले पनि सोही संकेत ३८११२ को प्रयोग गरी ५% साधारण भन्सार महसूल निर्धारण गरेकोले निवेदकले आयात गरेको उक्त सामान इन्सेक्टीसाइड अर्थात किटनाशक पदार्थ (औषधी) एन्टीमास्कीटो टेबलेटस हो भन्ने कुरा प्रमाणित भई रहेकोले त्यसमा कुनै विवाद उठाउन सकिने तथा शंका गर्न सकिने अवस्था नै छैन र सो संकेत नं. को प्रयोग गरी विपक्षी नं. १ ले लगाएको साधारण भन्सार महसूल कानुन बमोजिम नै छ ।

४.    उल्लेखित राजपत्रमा प्रकाशित सूचनाको दफा १ को अनुसूची १ पृष्ठ २८ मा अतिरिक्त भन्सार महसूल शीर्षकको देहाय (१) मा साधारण भन्सार महसूल लाग्ने माल वस्तुको मूल्यमा देहाय बमोजिमको थप अतिरिक्त भन्सार महसूल लाग्नेछ भन्ने उल्लेख भई सो को देहाय खण्ड (क) मा साधारण भन्सार महसूल ५% र १०% मा २५ अतिरिक्त भन्सार महसूल लाग्ने भन्ने उल्लेख भए पनि सोही अनुसूचीको पृष्ठ २९ को देहाय (२) मा देहायका मालवस्तुहरुको पैठारीमा अतिरिक्त भन्सार महसूल लाग्ने छैन भन्ने उल्लेख भई सो को देहाय खण्ड (ग) मा कृषि औजार तथा किटनाशक औषधि भन्ने लेखिएको र माथि जिकिर लिए बमोजिम निवेदकले आयात गरेको इन्सेक्टीसाइड (एण्टी मास्कीटो टेवलेटस) किटनाशक औषधि पदार्थ अन्तर्गत परेको हुँदा विपक्षी नं. १ ले विपक्षी नं. २ को मिति ०४४।७।२६ को गैरकानुनी तथा अनधिकृत परिपत्र तथा निर्देशन समेतबाट प्रभावित भई उक्त कानुनी व्यवस्थाको २५% का दरले अतिरिक्त भन्सार महसूल लगाई सो रकममा ५% ले बिक्रीकर समेत लगाई असूल गरेको गैरकानुनी भई बदरभागी छ ।

५.    भन्सार ऐन, २०१९ वा प्रचलित अन्य कुनै नेपाल कानुनले विपक्षी नं. २ लाई त्यसरी निर्णय गरी परिपत्र पठाउने वा निर्देशन दिने अधिकार समेत प्रदान नगरेकोले विपक्षी नं. २ को मिति २०४४।७।२६ को परिपत्र तथा दिएको निर्देशन समेत अनधिकृत एवं गैरकानुनी छ । यसरी नै इन्सेक्टीसाइड (एन्टी मास्कीटो टेबलेटस) सि.सि.सि.एन ३८.११ बी भन्ने उल्लेख भएको आयात इजाजतपत्र प्राप्त गरी वडोर ट्रेड इन्टरनेशनल नामक प्राइवेट फर्मले एन्टी मास्कीटो टेबलेटस आयात गरेकोमा बिराटनगर भन्सार कार्यालयले नै भन्सार विभागको मिति २०४४।७।२६ को परिपत्र तथा निर्देशन समेतको आधारमा २५% ले अतिरिक्त भन्सार महसूल तथा सो महसूल रकममा बिक्रीकर समेत लगाई असूल गरेकोमा बडार टे«ड इन्टरनेशनलको बिराटनगर भन्सार कार्यालय समेत माथि क्रमशः ०४४ सालको रिट नं. १८१८ तथा १८१९ रिटनिवेदन परी सो रिटनिवेदनमा सम्मानीत स.अ. बाट मिति २०४६।२।३२ मा निर्णय हुँदा २५% अतिरिक्त भन्सार महसूल लगाई सो रकममा बिक्रीकर समेत लगाई असूल गरेको गैरकानुनी ठहराई सो हदसम्मको कुरा उत्प्रेषणको आदेशबाट बदर गरी सो असूल गरी सकेको रकम फिर्ता दिनु भन्ने परमादेशको आदेश समेत जारी गरी न्यायिक सिद्धान्त समेत प्रतिपादित भइसकेकोले सो प्रतिपादित न्यायिक सिद्धान्तको आधारमा पनि विपक्षी नं. १ को उक्त निर्देशन गैरकानुनी भई बदरभागी छ ।

६.    अतः माथि लिइएको तर्क जिकिर तथा कानुनी बुँदा समेतको आधारमा विपक्षीहरुको उक्त गैरकानुनी निर्धारण तथा अनधिकृत परिपत्र तथा निर्देशन समेतबाट निवेदकको उक्त हकहरुको अतिरिक्त संविधानको धारा १०(१) धारा ११(२)(ङ) धारा १५ तथा धारा ५८ समेतबाट प्रदत्त एवं संरक्षित सम्पत्ति सम्बन्धी मौलिक हक समेत कुण्ठित तथा अवरोधित समेत हुन गएकोले उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरी विपक्षी नं. १ ले प्रज्ञापन पत्र नं. ४३१ मिति २०४५।४।३० मा लगाएको तथा असूल गरेको अतिरिक्त भन्सार महसूल रु. ६७५३१।७५ तथा बिक्री कर प्रयोजनको लागि मूल्य २५११६५।१० कायम गरी त्यसमा मो.रु. ६७५३१।५९ समेत जोडी त्यसमा ५% लगाएको र असूल गरेको बिक्री कर रु. ३३७६।१९ सम्मको सो निर्धारण तथा विपक्षी नं. २ को मिति ०४४।७।२६ को उक्त परिपत्र तथा निर्देशन समेत बदर गरी असूल गरेको अतिरिक्त भन्सार महसूल रु. ६७,५३१।७५ तथा बढी असूल गरेको बिक्रीकर रु. ३३७६।१९ समेत गरी जम्मा रु. ७०९०७।९४ निवेदकलाई अबिलम्ब फिर्ता दिनु भनी विपक्षीहरुका नाउँमा परमादेशको आदेश समेत जारी गरी न्याय पाउँ भन्ने समेत रिटनिवेदन जिकिर ।

७.    यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने समेत यस अदालत एक न्यायाधीशको इजलासको मिति २०४६।४।११ को आदेश ।

८.    रिट निवेदकको दावी कानुनी रुपले पुग्न सक्तैन । अर्थ मन्त्रालयको उक्त सूचनाको अनुसूची १ को परिच्छेद २१ भाग ९९ को संकेत नं. ९९०६ पछिको नम्बर २ को (ग) मा उल्लेखित किटनाशक औषधि बाली नालीमा लाग्ने किराहरु नष्ट गर्ने औषधि भएको र यस्ता औषधि कृषि उत्पादनमा वृद्धि गर्न सहयोग पुर्‍याउने भएको हुँदा यस्ता औषधिमा मात्र अतिरिक्त भन्सार महसूल र बिक्रीकर नलाग्ने भन्ने ऐनमा प्रष्ट व्यवस्था भएको छ । रिट निवेदकले आयात गरेको एन्टीमास्कीटो क्वायल्स र ट्याबलेटस बालीनालीहरुमा लाग्ने किराहरु मार्ने औषधि नभई केवल घरेलु किराहरुमा (लामखुट्टे) धपाउने कार्यमा प्रयोग हुने व्यापारिक प्रयोजनका लागि आयात गरिएको औषधि भएको हुँदा आर्थिक ऐनको संकेत नं. ३८.११(ख) बमोजिम अतिरिक्त महसूल र सोमा लाग्ने बिक्रीकर कानुन बमोजिम लिनु पर्ने नै हुँदा भन्सार कार्यालयबाट असूल गरेको कानुनसंगत नै छ । किटनाशक औषधि भन्नाले मेलाथाईन डि.डि.टी. पाउडर एम.ई.एम.सी.फर्मुलेशन, बी.एच.ई.फर्मुलेशनले कृषि बालीहरुमा लाग्ने किराहरु नष्ट गर्ने गर्छ रिट निवेदकले मस्कीटो क्वायल्स पैठारी गरेकोमा विवाद उत्पन्न नहोस भन्नाको लागि स्पष्ट गर्न भन्सार ऐन, २०१९ को संकेत सहित दफा ४४(क) बमोजिम भन्सार दरबन्दीको संकेत नम्बरमा द्विविधा परेमा भन्सारको मुख्य अधिकारीले तोकी दिए बमोजिम हुने छ भन्ने व्यवस्था भए अनुरुप उक्त मस्कीटो क्वायल्स ३८.११ को (ख) बमोजिम अतिरिक्त भन्सार महसूल लाग्ने भनी यस विभागबाट मिति २०४४।७।१८ मा निर्णय भई मिति ०४४।७।२६ मा सम्बन्धित भन्सार कार्यालयमा परिपत्र भई गएको सो अनुसार आर्थिक ऐनले दिएको संकेत नं. ९९.०६ पछिको २(क) को अतिरिक्त महसूल नलाग्ने तोकिएको किटनाशक औषधि भित्र मस्कीटो क्वायल्स पर्ने भनी दावी गर्नु कानुन विपरीत छ । तसर्थ विपक्षीको संवैधानिक हक कुण्ठित हुन नगएको हुँदा रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेत श्री ५ को सरकार भन्सार विभागको लिखितजवाफ ।

९.    यस आ.ब. ०४५।०४६ को भन्सार महसूल दरबन्दीको संकेत नम्बर ३८.११ अन्तर्गत कृषि उत्पादनको लागि आवश्यक पर्ने किटनाशक औषधिहरु पर्ने हुँदा निवेदकले आयात गरेको एन्टीमास्कीटो ट्याबलेटस उक्त संकेत नम्बरमा मेल नखाने र सो ट्याबलेटहरु किटनाशक नहुँदा संकेत नम्बर ३८.११ को देहाय (क) २ अन्यबाट महसूल असूल गरिएको सम्म हो । उक्त सामानमा अतिरिक्त भन्सार महसूल नलाग्ने भन्ने उल्लेख छ भनी निवेदकले आधार लिनु भएको आर्थिक ऐन, २०४४ को दफा द्वारा निर्दिष्ट भन्सार महसूल दरबन्दीको संकेत नम्बर ९९०६ पछिको देहाय (ग) मा कृषि औजार तथा किटनाशक औषधि भन्ने लेखिएकैबाट प्रष्ट छ कि कृषिसंग सम्बन्धित किटनाशक औषधि सम्बन्धीमा मात्र उक्त दफा (ग) आकृष्ट हुने हो । निवेदकले पैठारी गरेको ट्याबलेट लामखुट्टे लठ्याउने (Repellent mat) पदार्थ मात्र हो । यसलाई किटनाशक औषधि भन्न मिल्दैन । सो कारण र मिति २०४४।७।२६ को विभागीय आदेश तथा आ.व. २०४४।०४५ को भन्सार दरबन्दीमा कृषि औजार तथा किटनाशक औषधिमा अतिरिक्त भन्सार महसूल नलाग्ने भन्ने उल्लेख भएकोमा सो व्यवस्था बाली सम्बन्धित किटनाशक औषधि तथा डि.डि.टी. पाउडर जस्ता औषधिहरुको लागि मात्र व्यवस्था गरिएको हुँदा सो क्वायल्समा अतिरिक्त भन्सार महसूल लाग्ने गरिएकोमा विभागीय आदेश कानुन विपरीत भन्न मिल्ने देखिँदैन ।

१०.    ०४५।४।३० गते निर्धारण गरेको अतिरिक्त भन्सार महसूल दर निवेदकले १ वर्षसम्म चित्त बुझाई बसी बिरामीको बहाना देखाई रिट प्रस्तुत गरेको हुँदा समेत रिटनिवेदन खारेज गरी पाउँ । निवेदकलाई चित्त नबुझेको भए समयमै राजश्व न्यायाधिकरणमा पुनरावेदनको साधारण बाटो छँदा छँदै असाधारण अधिकार क्षेत्र गुहार्न आएको हुँदा समेत खारेजभागी छ । तसर्थ निवेदकको संवैधानिक तथा कानुनी हक सहितमा कुनै किसिमको आघात नपरेको हुँदा प्रस्तुत रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेत विराटनगर भन्सार कार्यालयको लिखितजवाफ रहेछ ।

११.    यसमा २०४४ सालको रिट नं. १८१८ मिति २०४६।२।३।४ मा निर्णय भएको रेकर्ड मिसिल समेत साथै राखी पेश गर्नु भन्ने समेत यस अदालत संयुक्त इजलासको मिति २०४७।३।२५ को आदेश ।

१२.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत रिटनिवेदन सहितको फायल अध्ययन गरी निवेदक तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया तथा विपक्षी कार्यालयतर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री राजेन्द्रप्रसाद कोइरालाले गर्नु भएको बहस समेत सुनियो ।

१३.   प्रस्तुत रिटनिवेदनमा निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिल्ने नमिल्ने के रहेछ सो कुरामा नै मुख्य निर्णय दिनु पर्ने हुन आयो ।

१४.   यसमा, निवेदकले प्राप्त गरेको इजाजतपत्रमा इन्टेक्सीसाइड सि.सि.सि. ऐन ३८११ एन्टी मास्कीटो क्वायल्स, एन्टी मास्कीटो टेबलेट्स र लोसन) भन्ने उल्लेख भएको, श्री ५ को सरकार अर्थ मन्त्रलायले नेपाल राजपत्रमा खण्ड ३८, अति.१५(क) मिति ०४५।३।२४ मा प्रकाशित सूचनामा उल्लेख भए बमोजिम आर्थिक ऐन, २०४४ को अनुसूची १ को संकेत नं. ३८११(ख) मा किटनाशक पदार्थहरु उल्लेख भई त्यसमा भन्सार महसूल ५% ले लाग्ने भन्ने लेखिएको र विपक्षी नं. १ ले सोही संकेत नम्बर प्रयोग गरी साधारण भन्सार महसूल निर्धारण गरेकोले निवेदकले आयात गरेको सामान इन्सेक्टीसाइड अर्थात किटनाशक पदार्थ हो भन्ने प्रमाणित भइरहेको र उल्लेखित सूचनाको दफा १ को अनुसूची १ पृष्ठ २८ मा अतिरिक्त भन्सार महसूल सम्बन्धी व्यवस्था गरी सोही अनुसूचीको पृष्ठ २९ को देहाय (२) मा कृषि औजार तथा किटनाशक औषधिमा अतिरिक्त भन्सार महसूल नलाग्ने भन्ने लेखिएको र निवेदकले आयात गरेको इन्सेक्टीसाइड (एण्टीमास्कीटो टेब्लेटस किटनाशक औषधि पदार्थ अन्तर्गत परेको हुँदा विपक्षी नं. १ ले विपक्षी नं. २ को मिति ०४४।७।२६ को गैरकानुनी तथा अनधिकृत परिपत्र तथा निर्देशन समेतबाट प्रमाणित भई कानुन विपरीत २५% को दरले अतिरिक्त भन्सार महसूल लगाई सो रकममा ५% ले बिक्रीकर समेत लगाई असूल गरेको गैरकानुनी भई बदरभागी छ यस्तै एन्टी मास्कीटो टेबलेट्स आयात गरेको निर्णय ब्रदर्श टे«ड इन्टरनेशनल विरुद्ध विराटनगर भन्सार कार्यालय नै भएको रिट नं. १८१८ को निवेदनमा समेत २५% अतिरिक्त भन्सार महसूल लगाई सो रकममा बिक्रीकर समेत लगाई असूल गरेको गैरकानुनी ठहराई सर्वोच्च अदालतबाट उत्प्रेषणको आदेशद्वारा बदर गरी असूल गरेको रकम फिर्ता दिनु भन्ने परमादेशको आदेश समेत जारी गरी न्यायिक सिद्धान्त समेत प्रतिपादन भइसकेको समेत हुनाले विपक्षी नं. १ ले विपक्षी नं. २ को निर्देशन तथा परिपत्रको आधारमा असूल गरेको हुँदा सो कारवाही बदर गरी असूल गरी सकेको अतिरिक्त भन्सार महसूल रु. ७५३१।७५ र बढी असूल गरेको बिक्रीकर रु. ३३७६।१९ समेत गरी जम्मा रु. ७०,९०७।९४ निवेदकलाई फिर्ता दिनु भन्ने परमादेश समेत जारी गरी पाउँ भन्ने समेत मुख्य रिटनिवेदन जिकिर रहेछ ।

१५.   निवेदकले आयात गरेको एन्टी मास्कीटो टेब्लेट्स कृषि बाली नालीमा प्रयोग हुने किटनाशक औषधि नभई घरेलु किरा लामखुट्टे धपाउने कार्यमा प्रयोग हुने व्यापारिक औषधि भएको हुँदा सो आयात गरेकोमा अतिरिक्त भन्सार महसूल र बिक्रीकर नलाग्ने भन्न मिल्दैन भन्ने समेत श्री ५ को सरकार भन्सार विभाग तथा विराटनगर भन्सार कार्यालयको लिखितजवाफ प्रस्तुत भएको रहेछ ।

१६.    निवेदकले पाएको इजाजतपत्रको मालको विवरणमा Insecticides (CCCN 38.11 B anti Mosquito Coils and anti Mosquito Tab: and lotion भन्ने उल्लेख भएको र प्रज्ञापनपत्र भर्दा विराटनगर भन्सार कार्यालयबाट भनी संकेत नं. भरिएको देखिन्छ । अतः निवेदकले आयात गरेको यस्तो इन्सेक्टीसाइड एन्टीमास्कीटो टेबलेट्समा अतिरिक्त भन्सार महसूल सो बिक्रीकर समेत लगाउन मिल्ने नमिल्ने के रहेछ भनी हेर्दा श्री ५ को सरकार अर्थ मन्त्रालयको नेपाल राजपत्र खण्ड ३७, अतिरिक्ताड्ढ १५(क) मिति २०४५।३।२४ मा प्रकाशित सूचनाको दफा १ को अनुसूची १ मा संकेत नं. ३८.११ को उल्लेख नभए पनि सो दफा १ को उपदफा २ मा यसमा उल्लेख भएको व्यवस्था बाहेक भन्सार महसूल सम्बन्धी अन्य व्यवस्था आर्थिक ऐन, २०४४ बमोजिम हुनेछ भन्ने र अनुसूची १ को अन्तमा यस अनुसूचीमा उल्लेख नभएका माल वस्तुको सम्बन्धमा आर्थिक ऐन, ०४४ बमोजिम हुनुपर्छ भन्ने उल्लेख भएको देखिन्छ ।

१७.   अब निवेदकले आयात गरेको मालवस्तु आर्थिक ऐन, २०४४ को अनुसूची १ भित्र पर्छ पर्दैन भन्ने तर्फ हेर्दा सोही ऐनको अनुसूची १ को संकेत नं. ३८.११ मा किटनाशक भन्ने उल्लेख भई संकेत नं. ३८.११(ख) मा किटनाशक पदार्थहरुभन्ने उल्लेख भएको र निवेदकको माल वस्तु इन्सेक्टीसाइड, एन्टीमस्कीटो क्वायल्स, एन्टीमास्कीटो ट्यावलेट्स र लोसन पनि किटनाशक नै भएकोले यस्तो मालवस्तुमा आर्थिक ऐन, २०४४ बमोजिम के कति भन्सार महसूल लाग्ने हो सो तर्फ हेर्दा श्री ५ को सरकार, अर्थ मन्त्रालयको नेपाल राजपत्र खण्ड ३७, अतिरिक्ताड्ढ १५(क)(२) मिति २०४४।३।२५ मा प्रकाशित उक्त सूचनाको दफा १ अन्तर्गतको अनुसूची १ को संकेत नं. ३८.११(ख) मा किटनाशक पदार्थहरुको माल वस्तुको पैठारीमा अतिरिक्त भन्सार महसूल लाग्ने छैन भन्दै देहाय (ग) मा कृषि औजार तथा किटनाशक औषधि भनी उल्लेख गरेको पाइन्छ ।

१८.   यसरी कृषि सम्बन्धी किटनाशक औषधिलाई मात्र सीमित पार्न खोजेको भए सोही कुरा स्पष्ट उल्लेख हुनु पर्ने सो नभई अन्य वस्तुहरुको विवरणमा साथै किटनाशक औषधि भनी उल्लेख गरेबाट सबै किसिमका किटनाशक औषधिमा अतिरिक्त भन्सार नलाग्ने देखिँदा निवेदकले आयात गरेको इन्सेक्टीसाइड एन्टी मस्कीटो क्वायल, एन्टी मास्कीटो टेवलेट्स र सि.सि.डी. एनमा भन्सार कार्यालय विराटनगरले २५% थप अतिरिक्त भन्सार महसूल तथा ५% ले बिक्रीकर समेत लगाएको कानुनको प्रतिकूल हुँदा उक्त लगाएको अतिरिक्त भन्सार तथा बिक्रीकर निर्धारण उत्प्रेषणको आदेशद्वारा बदर गरी दिएको छ । साथै सो बमोजिम निवेदकबाट असूल गरेको अतिरिक्त भन्सार महसूल तथा बढी असूल गरेको बिक्रीकर समेत निवेदकलाई फिर्ता दिनु भनी विपक्षी विराटनगर भन्सार कार्यालयका नाउँमा परमादेश समेतको आदेश जारी हुने ठहर्छ । जानकारीको लागि आदेशको प्रतिलिपि महान्यायाधिवक्ता कार्यालय मार्फत सम्बन्धित कार्यालयमा पठाई मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.गजेन्द्रकेशरी बास्तोला

 

इतिसम्वत् २०४७ साल मंसीर १८ गते रोज ३ शुभम् ।



 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु