निर्णय नं. ४५२२ - बन्दीप्रत्यक्षीकरण

निर्णय नं. ४५२२ ने.का.प. २०४७ अङ्क ११
संयुक्त इजलास
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
सम्वत् २०४७ सालको रिट नं. १२५६
आदेश भएको मिति : २०४७।९।२२।१ मा
निवेदक : जि.का.कारागार शाखामा थुनामा रहेको नारायणकुमार तिमिल्सीना
विरुद्ध
विपक्षी/प्रत्यर्थी : प्र.ह.दिलबहादुर थापाको जाहेरीले श्री ५ को सरकारसमेत
विषय : बन्दीप्रत्यक्षीकरण
(१) अरुको जिम्मामा रहेको सरकारी हात हतियार खरखजानाको बदनियत चिताई दुरुपयोग गर्ने अभिप्राय लिएको देखिएकोले प्रहरी ऐन, २०१२ को दफा ३६ बमोजिम गठन भएको प्रहरी विशेष अदालतबाट भएको कैदको सजायँलाई सदर गर्ने गरेको अञ्चल प्रहरी विशेष अदालतको निर्णय कानुन बमोजिम भएको देखिँदा निवेदकको रिटनिवेदन खारेज हुने ।
(प्रकरण नं. १५)
विपक्षी/प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी.
आदेश
न्या.बब्बरप्रसाद सिंह
१. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार रहेछ ।
२. जिल्ला प्रहरी कार्यालय दोलखाको क्वाटर गार्ड कोठाबाट राइफल र गोली झिकी गोली भरी बाहिर राखेको भन्ने अभियोग म माथि लगाई प्रहरी ऐन, २०१२ को दफा ३४(क) अनुसार सजायँको माग गरी म विरुद्ध जिल्ला प्रहरी विशेष अदालतमा मुद्दा चलाएको र सोही अदालतको ०४५।६।३ को फैसलाले मलाई सोही ऐन बमोजिम मेरो अपराध ठहर गरी मलाई कैद वर्ष ३ हुने गरी सजायँ गरेकोमा सो फैसला बदर गरिपाउँ भनी अञ्चल प्रहरी विशेष अदालतमा पुनरावेदन गरेकोमा शुरुको फैसलालाई सदर गरी ०४५।१२।३ मा पुनरावेदन फैसला भयो ।
३. जिल्ला प्रहरी विशेष अदालत र अञ्चल प्रहरी विशेष अदालतको फैसलामा प्रत्यक्ष कानुन विरुद्ध भएको कानुनमा अन्य उपचारको बाटो नभएकोले सम्मानीत अदालतको असाधारण क्षेत्र अन्तर्गतको बन्दी प्रत्यक्षीकरणको रिटनिवेदन गर्न आएको छु । मेरो संवैधानिक प्रदत्त हक अधिकार वञ्चित भएको कुरा निम्न अनुसार दर्शाउछु ।
४. प्रहरी ऐन, २०१२ को दफा ३४(क) अन्तर्गतको अभियोगमा मलाई सजायँ गरिएको छ तर मबाट सो ऐनले निर्दिष्ट गरे बमोजिमको अपराध नै भएको छैन एकत मैले आफ्नो जिम्मामा रहेको राइफल र गोली लिए दिएको वा दुरुपयोग गरेको छैन मैले अरुको जिम्मामा रहेको राइफल र गोली पनि लिएको वा कसैलाई दिएको पनि छैन न त दुरुपयोग नै गरेको छु । पालोमा रहेको प्रहरी समक्ष नै राइफल निजकै जिम्मामा रहिरहेकोमा कसैले विवाद गरेको छैन । त्यसरी पालोमा बसेको प्रहरी जवान बच्चानारायण सिंहको सामुन्ने निजको अधिकार भित्र रहिरहेको राइफललाई हटाउने र चलाउने प्रहरी जवान ईश्वरीप्रसाद होमागाई हुन भन्नेमा पनि कुनै विवाद नभएको यस्तो आफ्नो जिम्मामा राइफल समेत हटाउन दिने प्र.ज.बच्चानारायण सिं भएको र सो राइफल हटाउने र चलाउने ईश्वरीप्रसाद होमागाईले गरेको अपराधमा म निर्दोष व्यक्तिलाई सजायँ गरेकोबाट प्रहरी ऐन, २०१२ को दफा ३४(क) को कानुनी त्रुटि भएको छ ।
५. एक त मैले राइफल लिएकै छैन र गोली लिएकै छैन एकछिन राईफललाई बाहिर रहेको भन्ने हो भनेपनि जिम्माबाट प्रहरीले पुनः कोर्ट गार्डमा राख्न सक्ने थिएँ । त्यसलाई ईश्वरीप्रसादले आफूखुस गर्न पाउने होइन । अतः मेरो परोक्षमा राईफल र गोली बच्चा सिंको स्वीकृतिबाट प्र.ज.ईश्वरीप्रसादले चलाएकोमा मेरो कुनै दोष नभएको प्रत्यक्ष छ । मैले रक्सी खाएकोमा यसै रिस लिई मैले नगरेको अपराधमा फसाएको हो राईफल लिने दिने प्र.ज.बच्चानारायण सिंह तथा प्रयोग गर्ने ईश्वरीप्रसादलाई कुनै सजायँ नगरी जाँड खायो भन्दै म निर्दोषलाई हदैसम्म हुने गरी ३ वर्ष कैद गरेकोबाट म प्रति कानुनी विपरीत फैसला भएकोले उक्त जिल्ला प्रहरी विशेष अदालत दोलखा तथा अञ्चल प्रहरी विशेष अदालत जनकपुरको गैरकानुनी फैसला बदर गरी म बन्दीबाट मुक्त पाउँ भन्ने समेत व्यहोराको नारायणकुमार तिमिल्सीनाको रिटनिवेदन।
६. यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? विपक्षीहरुबाट लिखितजवाफ झिकाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत एक न्यायाधीशको इजलासबाट मिति २०४७।२।१० मा भएको आदेश ।
७. प्रहरी ऐन, २०१२ को दफा ३६(२)(क) बमोजिम विशेष अदालत गठन भएको र सोही विशेष अदालतबाट कानुन बमोजिम कारवाही गरी सजायँ गरेको कानुन बमोजिम नै भएको हुँदा प्रस्तुत विषयमा रिट निवेदकको माग अनुसार आदेश जारी हुनु पर्ने होइन रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको जिल्ला प्रहरी कार्यालय चरिकोटको लिखितजवाफ ।
८. कानुनको रीत पुर्याई फैसला भएकोले निवेदकको माग बमोजिम आदेश जारी नभई रिटनिवेदन खारेज होस भन्ने समेत व्यहोराको प्र.ह.दिलबहादुर थापाको लिखितजवाफ ।
९. जिल्ला प्रहरी विशेष अदालतको फैसलामा चित्त नबुझी अञ्चल प्रहरी विशेष अदालतमा पुनरावेदन गर्न आई तत्सम्बन्धमा गठन भएको यस अदालतबाट मिसिल झिकाई शुरु अदालतको फैसला मिले नमिले तर्फ विचार गर्दा प्र.ज.नारायणकुमार तिमिल्सीनाले गरेको कसूर अनुसार मिसिल संलग्न रहेको प्रमाणको आधारमा शुरु जिल्ला प्रहरी विशेष अदालतले गरेको फैसला मिलेकै देखिँदा मनासिब ठहराई ०४५।१२।३ मा फैसला भएकोले निवेदकको मौलिक हकमा कुनै आघात गरेको नहुँदा रिटनिवेदन खारेज होस भन्ने समेत व्यहोराको अञ्चल प्रहरी विशेष अदालतको तर्फबाट प्रहरी उपरीक्षक रामकाजी वान्तवाले प्रस्तुत गर्नु भएको लिखितजवाफ ।
१०. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिटनिवेदनमा निवेदक नारायणकुमार तिमिल्सीना तथा विपक्षी प्रत्यर्थीका तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी.ले गर्नु भएको बहस जिकिर समेत सुनियो ।
११. प्रस्तुत रिटनिवेदनमा रिट निवेदकको माग बमोजिम आदेश जारी हुने नहुने के रहेछ हेरी निर्णय दिनु पर्ने हुन आयो ।
१२. जिल्ला प्रहरी विशेष अदालतबाट मिति ०४५।६।३ मा मलाई ३ वर्ष कैद गर्ने गरेको फैसला बदर गरेको अञ्चल प्रहरी विशेष अदालतको ०४५।१२।३ को फैसला समेत दोषपूर्ण भई मेरो नागरिक हकमा आघात पुगेकोले सो फैसला बदर गरी कैद मुक्त हुन पाउन उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरी थुनाबाट मुक्ति पाउँ भन्ने व्यहोराको रिटनिवेदन भएकोमा कानुन बमोजिम भएको फैसलामा तथ्यगत कुरालाई लिएर रिट क्षेत्रमा प्रवेश गर्न पाउने हक रिट निवेदकको नहुँदा झुठ्ठा रिटनिवेदन खारेज गरिपाउँ भन्ने प्रत्यर्थीहरुको लिखितजवाफ देखिन्छ ।
१३. प्रहरी ऐन, २०१२ को दफा ३६ बमोजिम गठन भएको जिल्ला प्रहरी विशेष अदालत समक्ष बयान गर्दा निवेदक अपराध गरेमा साविती भएको र मादक पदार्थ सेवन गरेको सम्बन्धमा अस्पतालबाट समेत पुष्टि गरेको देखिन्छ ।
१४. अब प्रहरी ऐन, २०१२ मा कस्तो अपराधमा कति सजायँ गर्न सकिन्छ भन्ने तर्फ हेर्दा ऐ.ऐनको दफा ३४ मा अरु अपराधहरु भन्ने महलमा प्रहरी कर्मचारीले देहायको कुनै अपराध गरेमा पाँच वर्ष सम्म कैद वा एक वर्षको तलब बराबरसम्म जरिवाना वा दुवै सजायँ हुने छ भन्दै देहाय (क) मा आफ्नो जिम्मामा रहेको सरकारी वा अरु कसैको संयन्त्र, ज्यावल, सरसामान, वर्दि तानामाना तक्मा, पदक, नगदी, जिन्सी, सवारीको साधन ईन्धन इत्यादि जानी जानी वा लापरवाही गरी बिगारेमा, नासेमा, हराएमा वा दुरुपयोग गरेमा वा बदनियतले आफ्नो वा अरु कसैको निमित्त लिएमा दिएमा भन्ने उल्लेख भएको पाइन्छ ।
१५. निवेदकले मादक पदार्थ सेवन गरी जिल्ला प्रहरी कार्यालय दोलखाको हातहतियार गोलीगठ्ठा समेत रहेको कोत गारदमा प्रवेश गरी सो कोतभित्र रहेको राइफलमा ५ राउण्ड गोली लोड गरी कोतबाट बाहिर कोठामा ल्याई राखेको अवस्थामा फेला परेकोले अरुको जिम्मामा रहेको सरकारी हातहतियार खरखजानाको बदनियत चिताई दुरुपयोग गर्ने अभिप्राय लिएको देखिएकोले प्रहरी ऐन, २०१२ को दफा ३६ बमोजिम गठन भएको प्रहरी विशेष अदालतबाट भएको कैदको सजायँलाई सदर गर्ने गरेको अञ्चल प्रहरी विशेष अदालतको निर्णय कानुन बमोजिम भएको देखिँदा निवेदकको रिटनिवेदन खारेज हुने ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.गजेन्द्रकेशरी बास्तोला
इतिसम्वत् २०४७ साल पौष २२ गते रोज १ शुभम् ।