निर्णय नं. ९२२६ - बन्दीप्रत्यक्षीकरण

नेकाप २०७१, अङ्क ८, नि.नं.९२२६
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ
माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ
आदेश मिति : २०७१।३।३।२
०७०-WH-००६३
विषय : बन्दीप्रत्यक्षीकरण ।
निवेदक : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, रानीबारी, सामाखुसी, घरमा बन्दी बनाई राखिएको अलि सैद अैफानको छोरी मिसाल अली अैफानको हकमा निजको बुबा भारत, हैदरावाद बारकस घर भै काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, भाटभटेनीस्थित हैदरावाद हाउस (फ्रेन्चाइस सउद फुड्स प्रा.लि.) मा कार्यरत अलि सैद अैफान
विरूद्ध
विपक्षी : जिल्ला दाङ, हापुर गाउँ विकास समिति वडा नं. ३ स्थायी घर भै हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, रानीबारी, सामाखुसी, बस्ने नीमा के.सी.समेत
§ बालमनोवृत्तिलाई असर पुग्ने गरी बाबु भएकै नाताले निजको जिम्मा लगाउँदा निज नाबालिकाको कलिलो बाल मस्तिष्कमा सदैव भय, त्रास रहिरहन सक्ने एक्लो अवस्थामा रहेका यी निवेदकको मागबमोजिम नाबालिकालाई विपक्षी नीमा के.सी.को जिम्माबाट अलग गरी निवेदकलाई बुझाउन सक्ने अवस्था नदेखिने ।
(प्रकरण नं. ७)
निवेदकको तर्फबाट : विद्वान् अधिवक्ता रत्नकुमार खरेल
विपक्षीको तर्फबाट : विद्वान् अधिवक्ता टीकाराम पोखरेल
अवलम्बित नजिर :
सम्बद्ध कानून :
आदेश
न्या.कल्याण श्रेष्ठ : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२, १०७ (२) बमोजिम यस अदालतको असाधारण अधिकारक्षेत्र अन्तर्गत दायर हुन आएको प्रस्तुत निवेदनको तथ्य एवम् आदेश निम्नबमोजिम
छ :
१. निवेदनको व्यहोरा :
म निवेदकको विपक्षीमध्येकी रीता के.सी. श्रीमती र विपक्षी नीमा के.सी. मेरो सासु आमा हुनुहुन्छ । निवेदक वैदेशिक रोजगारीको लागि दुबईमा गै दुबई प्रहरीमा कार्यरत रहँदा विपक्षी रीता के.सी. पनि वैदेशिक रोजगारीको लागि २०६६ सालमा दुबईको डान्सबारमा कार्यरत रहँदा हामी दुबैजनाबीच गहिरो माया बसी विदेशमा नै विवाह भै दाम्पत्य सम्बन्ध कायम भएको हो । हामीहरूबीच विवाह भएपश्चात विपक्षी रीता के.सी.को पेटमा गर्भ रही २०६७ साल चैत महिनाको २४ गते छोरी मिसाल अली अैफानको थापाथली प्रसुती अस्पतालमा जायजन्म भयो । छोरीको जन्मपश्चात हामीहरूले सुखी जिन्दगी बिताइरहेकोमा म नेपालमा आएपश्चात दरबारमार्ग स्थित अलदजाज होटेल एन्ड रेष्टुरेन्टमा मुख्य सेफको रूपमा र हाल भाटभटेनी स्थित हैदरावाद हाउसमा प्रबन्धकको रूपमा कार्यरत छु । मैले मेरो परिवारको हेरचाह र पालन पोषण गर्दै आएको अवस्थामा विपक्षी नीमा के.सी.ले आफ्नो छोरीलाई अनेक कुरा गरी मेरो परिवार भाँड्ने अनेकौँ प्रयास गरी मउपर नराम्रो आरोप र नराम्रा कुराहरू गरी मेरी श्रीमती र मेरा बच्चालाई मबाट अलग गराउने प्रयास गर्नुभयो । यसैबीच विपक्षी नीमा के.सी.ले अनेकौँ गलत कुराहरू गरी रीता के.सी. तथा मेरो नाबालक छोरी मिसाल अली अैफानलाई समेत मबाट अलग गरी मलाई थाहा नदिई म अफिस गएको मौकामा मेरो डेरा कोठाबाट सामान सहित लगी अन्यत्रै निज विपक्षी नीमा के.सी.को साविकको डेरा कोठासमेत सारी अन्यत्रै बस्न थाल्नुभयो ।
लामो समयपश्चात मैले विपक्षीहरू र मेरो नाबालक छोरी बसेको स्थान पत्ता लगाई निजहरू भएको ठाउँमा गै आफ्नो श्रीमती र बच्चालाई आफूसँग लैजाने कुरा गर्दा निज नीमा के.सी. र निजको आफन्तहरूसमेतले मलाई कुटपीट गरी उल्टै मलाई प्रहरी बोलाई पक्राउ गराउनुभयो । मउपर प्रहरीलाई गलत कुराहरू लगाई उल्टै ममाथि ज्यान मार्ने उद्योगको मुद्दा चलाई सम्मानित काठमाडौं जिल्ला अदालतबाट उक्त मुद्दामा दावी नपुग्ने गरी हाल खारेजसमेत भैसकेको छ । उक्त मुद्दामा पुर्पक्षको लागि थुनामा कारागार कार्यालय, जगन्नाथदेवल, काठमाडौंमा बसेको अवस्थामा मैले नख्खु कारागारबाट फोन गरी डर, धाक, धम्की दिएको भन्ने गलत आधार बनाई विपक्षी नीमा के.सी.को पहलमा मेरी श्रीमती रीता के.सी.ले मउपर काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेद मुद्दा दायर गर्नुभएकोमा सम्मानित अदालतबाट मिति २०७१ साल जेठ २ गते सम्बन्ध विच्छेद हुने गरी फैसला भएको छ ।
म निवेदकको छोरीको हालको उमेर तीन वर्ष दुई महिना मात्र भएको र विपक्षी रीता के.सी. ले मसँग सम्बन्ध विच्छेद माग गरी अदालतबाट सम्बन्ध विच्छेद हुने गरी फैसला भएको छ । मुलुकी ऐन, लोग्ने स्वास्नीको महलको ३ नं. ले नाबालक पाल्ने विषयमा उल्लेख गरेको, त्यस्तै बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ४(१) ले आमाबुबाले बालबालिका पालन पोषण गर्नुपर्नेलगायतको व्यवस्था तथा दफा ८ मा सम्बन्ध विच्छेद भएको अवस्थामा समय समयमा बाबुआमाले भेटघाट गर्न र केही समय साथै बस्न दिनुपर्ने कुरा उल्लेख छ । तर विपक्षी नीमा के.सी. समेतबाट मलाई मेरी छोरीसँग हालसम्म पनि भेटघाटसम्म पनि गर्न दिनुभएको छैन । यसैबीच विपक्षीमध्येकी मेरो नाबालक छोरीको आमा रीता के.सी. सम्बन्ध विच्छेद मुद्दाको फैसला हुनासाथ वैदेशिक रोजगारको लागि यही जेठ महिनाको पहिलो सातामा ओमानमा गएको र मेरो नाबालक छोरीलाई विपक्षी रीता के.सी.ले आफ्नो आमा विपक्षी नीमा के.सी.को जिम्मेवारीमा छोडेकोमा म आफ्नो नाबालक छोरीलाई भेट्न विपक्षीहरू बसोबास गरेको ठाउँमा गै सम्पर्क गर्दा निज विपक्षी नीमा के.सी.ले मलाई मेरो नाबालक छोरी मिसाल अली अैफानलाई भेट्न नदिएको र तत्पश्चात पनि मेरो बच्चालाई मैले भेट्न तथा मेरो जिम्मा दिनुपर्यो भनी आग्रह गर्दा विपक्षीहरूले दिनुभएन । बच्चालाई निरन्तररूपमा लुकाई बच्चाको पालन पोषण, आधारभूत स्वास्थ्य प्राप्त गर्न पाउने हकबाट वञ्चित गरी अबोध बालिकालाई बन्दी बनाई राखेको अवस्था छ ।
मेरो नाबालक छोरीलाई विपक्षी रीता के.सी. ले माइतीमा छाडी गएको अवस्थामा नेपालमा रहेको म निवेदकले आफ्नो छोरीलाई भेटघाट गर्न र पालन पोषण गर्न नपाएको, नाबालक बच्चालाई आमाले पालन पोषण तथा संरक्षण नगरेमा बाबुको जिम्मा लगाउनुपर्नेमा बच्चालाई भेटघाट गर्नसम्म नदिइएको तथा आमा नहुँदा बच्चाप्रतिको हक बाबुमा रहने कुरामा कानूनमा प्रष्ट उल्लेख छ । बालबालिकाको प्राकृतिक संरक्षण सर्वप्रथम आमाको हो, कुनै कारणवश आमा नभए बाबु हुने भन्ने ने.का.प. २०६१, अङ्क ५, पृष्ठ ६७६ मा सम्मानित सर्वोच्च अदालतबाट सिद्धान्त कायम भएकोसमेत छ । प्रस्तुत विषयमा मेरो नाबालक छोरीलाई निजको आमाले पालन पोषण नगरी मावली हजुरआमा विपक्षी नीमा के.सी.को साथमा छोडेर गएको, नाबालक छोरी म निवेदक बुबाको साथमा नरहेको, यस्तो अवस्थामा बच्चाको आमाले प्राकृतिक संरक्षकको हैसियतले आफ्नो भूमिका निभाउन नसक्ने र सो हैसियतले बच्चाको पालन पोषण गर्न नसक्ने अवस्थामा बाबुले संरक्षकत्व ग्रहण गर्न पाउने नै हुन्छ ।
अतःमेरो नाबालिका छोरी मिसाल अली अैफानलाई विपक्षीले कानूनविपरीत बन्दी बनाई प्राकृतिक संरक्षक म निवेदक बाबुसँग भेटघाटसम्म पनि गर्न नदिएको हुँदा उल्लिखित कानूनी तथा संवैधानिक हकहरूमा आघात पुगेको र नाबालक बच्चालाई यसै अवस्थामा राखिराख्दा मेरो छोरीको शिक्षा, स्वास्थ्य तथा जीउ ज्यानमा नै असर पर्न सक्ने अवस्था हुँदा नाबालक छोरीलाई विपक्षीको कब्जा तथा जिम्माबाट छुटाई सम्मानित श्री सर्वोच्च अदालतका रजिस्ट्रारज्यूको रोहबरमा म रिट निवेदकको जिम्मा लगाई दिने गरी बन्दीप्रत्यक्षीकरणलगायतको उपयुक्त आज्ञा आदेश जारी गरिपाउँ भन्नेसमेतको निवेदकको यस अदालतसमक्ष परेको निवेदनपत्र ।
२. यस अदालतबाट भएको प्रारम्भिक आदेश :
यसमा के कसो भएको हो, निवेदकको मागबमोजिम बन्दीप्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो, यो आदेश प्राप्त भएको मितिले बाटाको म्याद बाहेक ३(तीन) दिनभित्र लिखितजवाफ र बन्दी बालिकासहित उपस्थित हुनु भनी यो आदेश र रिट निवेदनको एक प्रति नक्कलसमेत साथै राखी विपक्षीहरूलाई निवेदकको सहयोग लिई सूचना दिई नियमानुसार गरी पेस गर्नु भन्नेसमेतको २०७१।२।२७ मा यस अदालत एक न्यायाधीशको इजलासबाट भएको आदेश ।
३. विपक्षीहरूको तर्फबाट परेको लिखित जवाफ :
रीता के.सी. मेरी कान्छी छोरी हुन् । घरको आर्थिक अवस्था कमजोर भएको कारणले उनले वैदेशिक रोजगारमा जाने निर्णय गरी मिति २०६६ सालमा वैदेशिक रोजगारको सिलसिलामा उनी दुबई गएकी र सोही क्रममा विपक्षी निवेदकसँग भेट भई निज विपक्षीले प्रेमको नाटक गरी विभिन्न प्रलोभन देखाई निजको शारीरिक सम्पर्कबाट गर्भ रहन गयो । गर्भवती अवस्थामा नै निजले कुनै पनि हेरचाह नगर्ने उल्टै कुटपीट गर्ने भएपछि र निज विपक्षी निवेदक अर्को अपराधको मुद्दामा दुबईमा नै जेलसमेत परेपछि छोरी रीता ५ महिनाको गर्भ लिएर मिति २०६७ साल मङ्सिर महिनामा नेपाल फर्किइन् । नेपाल फर्केपछि रीता के.सी.को गर्भबाट मिति २०६७ साल चैत २४ गते एक छोरीको जायजन्म भयो । छोरीलाई आफैसँगै राखी छोरी तथा नातिनीको स्याहार सुसार गर्दै रहेका बखत निज निवेदकसमेत दुबईको जेलबाट छुटी नेपाल फर्केर आए । निज विपक्षी निवदेकले रक्सी खाएर छोरी रीता तथा हामी सम्पूर्ण परिवारलाई कुटपीट गर्ने गरी विभिन्न प्रकारको हिंसा गर्ने गर्दथे । उक्त यातना सहन नसकी ज्यान बचाउन हामीले निज विपक्षीले नदेख्ने ठाउँमा पटकपटक कोठा सरेर बसेको, कोठा सरेर बस्दासमेत कोठा पत्ता लगाई विपक्षीले छोरी रीता, नाबालक नातिनी तथा हामी सम्पूर्ण परिवारलाई मारिदिन्छु भनी ज्यान मार्ने गरी कुटपीट गर्ने गर्दथे । पछिल्लो समय मिति २०७० साल आषाढ ३ गते दिउँसो ४ बजेको समयमा ज्यान मार्ने नै उद्देश्यले निज विपक्षी हाम्रो कोठामा आई छोरी रीता, नातिनी तथा मलाईसमेत कुटपीट गरी छोरी रीतालाई निज विपक्षीले हलाल गरिदिन्छु भन्दै नयाँ ब्लेडसमेत खल्तीबाट झिकी घाँटीबाट सेर्न लागेको अवस्थामा घरवेटीसहित वरिपरिका मानिसहरू जम्मा भई छुट्याई ज्यान बच्न सफल भएको थियो ।
निज विपक्षीले ज्यान मार्ने उद्देश्यले कुटपीट गरेको हुनाले मिति २०७० साल असार ४ गते नै महानगरीय प्रहरी वृत्त बालाजुमा जाहेरी दिई ज्यान मार्ने उद्योगमा अभियोग दर्ता भई काठमाडौं जिल्ला अदालतबाट रू. १५,०००।– धरौटी माग भएकोमा उक्त रकम बुझाउन नसक्दा यी निवेदक थुनामा गएका थिए । यसरी निज विपक्षीले ज्यान मार्ने उद्देश्यले नै कुटपीट गरेपछि छोरीलाई आफ्नै साथमा राखी हुर्काउने गरी निज विपक्षीसँगको पति पत्नीको सम्बन्ध विच्छेद गरिपाउँ भनी छोरी रीता के.सी. ले मिति २०७० साल पौष १७ गते सम्मानित काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरिएकोमा मिति २०७१ साल वैशाख २२ गते काठमाडौं जिल्ला अदालतबाट निज विपक्षी रिट निवेदकसँगको पति पत्नीको सम्बन्ध विच्छेद हुने गरी फैसला भइसकेको अवस्था छ । सम्बन्ध विच्छेद भइसकेपछि पनि निज विपक्षी निवेदकले हामी सम्पूर्ण परिवारलाई नै मारिदिन्छु भनी पटकपटक धम्कीसमेत दिने गरेकाले यहाँ बस्दा निज विपक्षीबाट सुरक्षाको गम्भीर खतरा भएपछि हामी परिवारको बीचमा सरसल्लाह गरी नातिनीलाई मैले नै हालसम्म मेरै काखमा राखी हुर्काउने र पढाउने गरी हाल छोरी रीता वैदेशिक रोजगारको सिलसिलामा विदेशमा गएको अवस्था छ । निज विपक्षी निवेदकलाई मेरी नातिनी जिम्मा लगाएर पठाउने हो भने निजको जीउ ज्यानमाथि नै गम्भीर खतरा रहेको र निजबाट यी बालिकाको संरक्षण हुन नसक्ने कुरा निजको यसअघिको व्यवहारबाट नै पुष्टि भइसकेको अवस्था छ । यी विपक्षीलाई बालिका दिएर पठाउने हो भने यिनले लगेर कतै बेचबिखन गर्ने तथा भारततिर लगी सर्कसमा लगाउने गम्भीर सम्भावनासमेत रहेको छ । नातिनी निज विपक्षीलाई देख्नेबित्तिकै कहालिने र डराउने गर्दछिन् । एउटा बालिकाले नचाहँदा नचाँहदै जबर्जस्ती विपक्षीको हातमा सुम्पने हो भने निजको तत्काल मानसिक विकासमा गम्भीर असर पर्ने देखिएको र अदालतले समेत बालबालिकासँग सम्बन्धित मुद्दामा निर्णय गर्दा बालबालिकाको सर्वोत्तम हितलाई ध्यानमा राखी निर्णय गर्नुपर्ने हुँदा विपक्षीको बन्दीप्रत्यक्षीकरणको रिट निवेदन खारेज गरिपाउँ भन्नेसमेतको विपक्षी नीमा के.सी. को तर्फबाट यस अदालतसमक्ष पेस भएको लिखितजवाफ ।
नियमबमोजिम पेसीसूचीमा चढी पेस हुन आएको प्रस्तुत निवेदनमा निवेदकका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री रत्नकुमार खरेलले निवेदक र रीता के.सी.का बीचमा वैवाहिक सम्बन्ध कायम रही निजबाट जन्मेको नाबालक सन्तानलाई विपक्षीहरूले भेटघाट गर्नसमेत नदिएको निजलाई विपक्षी रीता के.सी.ले पालन पोषण नगरी विपक्षीमध्येकी नीमा के.सी. ले आफूसाथ राख्ने गरेको र निज बच्चाको शारीरिक तथा मानसिक अवस्थासमेत कमजोर भई निजको स्वास्थ्य तथा जीउ ज्यान नै तलमाथि पर्न सक्ने अवस्था हुँदा निज नाबालक छोरीलाई विपक्षीको कब्जाबाट छुटाई निवेदकको जिम्मा लगाउने गरी बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो ।
त्यस्तै विपक्षी नीमा के.सी. का तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री टीकाराम पोखरेलले निवेदकले उल्लेख गरेजस्तो अवस्था नभएको, निज निवेदकसँग नाबालिका नै जान डराउने र यी नाबालिकालाई निवेदकले पटकपटक खोस्ने हातपात गर्ने जस्ता कार्य गर्ने तथा पक्ष नीमा के.सी.उपरसमेत धम्कीपूर्ण व्यवहार गर्ने गरेका कारण यी नाबालिकालाई पक्ष नीमा के.सी. ले पालन पोषण गर्नुपरेको हो । रीता के.सी. विदेशमा काम गर्न गएको कारण नाबालिकाकी हजुरआमा नीमा के.सी. ले यी नाबालिकाको संरक्षकतत्त्व दिनुपर्ने भएबाट यसरी संरक्षणमा राखिएकी नाबालिकालाई बन्दी बनाई राखिएको अवस्था नहुँदा निवेदकको मागबमोजिम बन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्नुपर्ने अवस्था छैन, रिट निवेदन खारेज हुनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो ।
पक्ष विपक्षीका तर्फबाट उपस्थित विद्वान् कानून व्यवसायीहरूको बहस सुनी निवेदकको मागबमोजिम बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी यी नाबालिकालाई निजका बाबु अलि सइद अैफानको जिम्मा लगाउनुपर्ने अवस्था छ छैन निर्णय दिनुपरेको छ ।
२. निवेदकले मूलतः आफ्नो निवेदन जिकिरमा नाबालिका छोरी मिसाल अली अैफानलाई विपक्षीले कानूनविपरीत बन्दी बनाई प्राकृतिक संरक्षक म निवेदक बाबुसँग भेटघाटसम्म पनि गर्न नदिई नाबालिका तथा म निवेदकको कानूनी तथा संवैधानिक हकहरूमा आघात पुगेको र नाबालक बच्चालाई यही अवस्थामा राखिराख्दा निज छोरीको शिक्षा, स्वास्थ्य तथा जीउ ज्यानमाथि नै असर पर्न सक्ने हुँदा निज नाबालक छोरीलाई विपक्षी नीमा के.सी. को कब्जा तथा जिम्माबाट छुटाई यस अदालतका रजिस्ट्रारको रोहबरमा निवेदकको जिम्मा लगाई दिने गरी बन्दीप्रत्यक्षीकरणलगायतको उपयुक्त आज्ञा आदेश जारी गरिपाउँ भन्नेसमेतको मुख्य निवेदन जिकिर लिई प्रस्तुत बन्दीप्रत्यक्षीकरणको निवेदन दायर गरेको देखिन आयो ।
३. विपक्षी नीमा के.सी. को लिखित जवाफ व्यहोरा हेर्दा विपक्षीलाई बालिका दिएर पठाउने हो भने निवेदकले लगेर कतै बेचबिखन गर्ने वा सर्कसमा लगाउने सम्भावना रहेको, नातिनी निज निवेदकलाई देख्नेबित्तिकै कहालिने र डराउने गरेको, त्यसरी निज नाबालिकाले नचाहँदा नचाहँदै जबर्जस्तीरूपमा विपक्षीको जिम्मा लगाउने हो भने तत्काल निजको मानसिक विकासमा असर पर्ने हुँदा आफ्नो जिम्मामा राखिएको भन्नेसमेतको मुख्य जिकिर लिई प्रतिवाद गरेको देखिन्छ ।
४. मिसिल संलग्न कागजात अध्ययन गर्दा यी रिट निवेदक र विपक्षी रीता के.सी. बीचको वैवाहिक सम्बन्ध कायम नरहने गरी सम्बन्ध विच्छेद भइसकेको देखिन्छ । त्यस्तै निवेदकउपर रीता के.सी. को जाहेरीले नेपाल सरकारसमेत भएको ज्यान मार्ने उद्योग मुद्दासम्म चलेको विपक्षीका तर्फबाट उपस्थित विद्वान् अधिवक्ताले इजलाससमक्ष पेस गरेको काठमाडौं जिल्ला अदालतसमक्ष पेस भएको अभियोगपत्र, आदेशपत्र एवम् बयानसमेतको छायाप्रतिबाट देखिएको छ ।
५. निवेदक र विपक्षी रीता के.सी. को सहवासबाट जन्मिएकी नाबालिका हाल रीता के.सी.की आमा नीमा के.सी. को जिम्मा रही निज रीता के.सी.की आमा तथा नाबालिकाकी हजुरआमाले हेर विचार गरिरहेकी र नाबालिका विद्यालयमा भर्ना भएको भन्नेसमेत जिकिर लिएकोमा निज नाबालिका विद्यालयमा भर्ना भई अध्ययन गरिरहेको भन्ने विद्यालयको प्रमाणपत्र पेस गरेको तथ्यबाट देखिएको छ । यी नाबालिकाको बाबु निवेदक विदेशी भई हाल एक्लो अवस्थामा अरूको व्यवसायमा काम गरी बसेको अवस्था रहेको देखिन्छ र सो अवस्थालाई निवेदकले अन्यथा भन्न सकेको देखिन्न । विपक्षी रीता के.सी. र आफूबीच सम्बन्ध विच्छेद भइसकेको अवस्थामा निजहरूबाट जन्मेकी नाबालिकालाई आफूले आफ्नो साथमा राख्न पाउनुपर्ने मुख्य जिकिरसहित प्रस्तुत निवेदन दायर भएको
छ । यी निवेदक अरूको व्यवसायमा नेपालमा एक्लो अवस्थामा रहेको र निजले चाहँदा पनि यी कम उमेरकी नाबालिकाको समुचित हेरचाह, संरक्षण, रेखदेख तथा संरक्षकत्वसमेत दिन सक्ने अवस्था देखिएन । यस्तो अवस्थामा नाबालिकाको बाबु आफू भएको भन्ने नाताले मात्र यी नाबालिकालाई निवेदकका साथमा तत्काल हस्तान्तरण गर्नुपर्ने अवस्था पनि देखिएन ।
६. नाबालिकाकी आमा हाल विदेश गएकोसम्म कारणले आमाले हेरचाह नगरेको भन्ने अवस्था रहेको देखिन्न । विदेशमा नगएसम्म नाबालिकाकी आमाले नै निजलाई स्याहार सुसार गरेको र निज नाबालिकाकी आमा विदेश गएका अवस्थामा यी नाबालिका हजुरआमा नीमा के.सी. को साथ रहेको देखिएको छ । आमाको तर्फबाट आमाको बाबुआमाले प्रदान गरेको हेरविचार र संरक्षणलाई आमाको संरक्षणको निरन्तरताको रूपमा हेर्नुपर्ने हुन्छ । इजलाससमक्षको छलफलको क्रममा सोधपुछ गर्दा नाबालिकालाई हजुरआमाले अदालतसमक्ष उपस्थित गराएको र निज नाबालिकाउपर हेरचाह तथा पालन पोषण सम्बन्धमा कहीँ कतै त्रुटि देखिने अवस्थासमेत रहेको देखिएन ।
७. अतिसय कलिलो अवस्थाको बालिकालाई स्वाभाविकरूपमा मातृवात्सल्यको आवश्यकता रहने र सो वात्सल्यता दिन आमासँग सम्बन्ध विच्छेद भएका बाबुले सक्ने अवस्था देखिँदैन । प्रस्तुत विवादमा निवेदक र विपक्षीमध्येकी रीता के.सी. बीच सम्बन्ध विच्छेदसमेत भइसकेको, परिस्थितिवश तत्कालको लागि नाबालिकालाई आफ्नी आमाको काखमा छोडी काम विशेषको लागि विदेशमा जानुपरेको यथार्थतालाई नजर अन्दाज गर्न सकिन्न । रीता के.सी. स्वदेश मै रही नाबालिकालाई उचित हेरचाह नगरी मातृवात्सल्यबाट विमुख गराई जथाभावी हिँड्ने गरेको अवस्था भए यी नाबालिकालाई निवेदकले दावी गरे जस्तो निजकै जिम्मा लगाउनुपर्नेसम्म हुनसक्थ्यो । इजलाससमक्ष उपस्थित गराइएकी निज नाबालिकाको मनस्थिति हेर्दा यी निवेदकसँग जान डराउने, रूने र मलिन हुने जस्ता अतिसय बालमनोवृत्ति इजलासले महसुस गर्यो । यस्तो अवस्थामा बालमनोवृत्तिलाई असर पुग्ने गरी बाबु भएकै नाताले निजको जिम्मा लगाउँदा निज नाबालिकाको कलिलो बाल मष्तिष्कमा सदैव भय, त्रास रहिरहन सक्ने एक्लो अवस्थामा रहेका यी निवेदकको मागबमोजिम नाबालिकालाई विपक्षी नीमा के.सी.को जिम्माबाट अलग गरी निवेदकलाई बुझाउन सक्ने अवस्थासमेत देखिएन ।
८. अतः माथि विवेचित आधार, परिस्थिति र कारणसमेतबाट आमासँग सम्बन्ध विच्छेद भएका बाबुले नाबालिकाको वात्सल्यता दिन सक्नेसमेत नदेखिएकोले निवेदकको मागबमोजिम निज नाबालिकालाई निवेदकलाई जिम्मा लगाउन सक्ने अवस्था देखिएन । प्रस्तुत रिट निवेदन खारेज हुन्छ । निवेदनको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या. देवेन्द्र गोपाल श्रेष्ठ
इति संवत् २०७१ साल असार ३ गते रोज २ शुभम् ।
इजलास अधिकृत : विष्णुप्रसाद गौतम