शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४२०४ - कर्तव्य ज्यान

भाग: ३२ साल: २०४७ महिना: पौस अंक:

निर्णय नं. ४२०४    ने.का.प. २०४७      अङ्क ९

 

संयुक्त इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

सम्वत् २०४७ सालको फौ.सा.नं. ५२

फैसला भएको मिति : २०४७।९।१७।३ मा

वादी : चेतबहादुर खान ठकुरीको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

प्रतिवादी: जिल्ला तनहुँ दोर फिर्दि गा.वि.स. वा.नं. ८ बस्ने काली भन्ने हनुमाया घर्तिनी

मुद्दा : कर्तव्य ज्यान

(१)   परपुरुषसंगको सहवासबाट गर्भ रहन गई जातक जन्मेको र अभियुक्त हात खुट्टा नचल्ने कुंजी भएको तथा लोकापवादबाट समेत बच्नसम्म कर्तव्य गरी मारेको भन्ने देखिँदा पूर्व योजना बनाई रिसइवी समेतको कारणबाट कर्तव्य गरी मारेको भन्ने देखिँदैन तसर्थ घटी सजायँको लागि राय लगाएको मनासिब देखिँदा अपराध गर्दाको अवस्था समेतको विचारबाट यस्तो स्थितिमा अभियुक्तलाई ज्यानसम्बन्धीको १३(३) नं. का ऐन बमोजिम सर्वश्वसहित जन्मकैद गर्दा चर्को पर्ने देखिन आएको हुँदा अभियुक्तलाई अ.बं. १८८ नं. बमोजिम कैद वर्ष १४ चौध मात्र हुने ।

(प्रकरण नं. १३)

फैसला

प्र.न्या.धनेन्द्रबहादुर सिंह

१.     पश्चिमाञ्चल क्षेत्रीय अदालतले साधक निकासाको लागि जाहेर गरेको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :

२.    अं. वर्ष ३२ की काली घर्तिनी भन्नेले मिति २०३४।४।९ गते साँझ अं. ६ बजेको समयमा अं. ९।१० महीनाको छोरी जातक पैदा गरी ढुंगाले थिची मारेको छ, भन्ने खबर पाई गाउँका पञ्च भलादमी समेत भई निज काली घर्तिनीलाई सोध खोज गर्दा लामीस्वारा बस्ने पूर्णबहादुर राउत क्षेत्रीसंग २०३३ साल कार्तिक महीनामा करणी लिनुदिनु भई गर्भ रहेको थियो सो गर्भ आज अवधि पुगी पैदा भयो नमालुम के बुद्धि आयो ढुंगाले अचेटी मारेको हुँ भनी मुख सावित भएकोले सो जन्मिएको मृतक जातक सुरक्षित राखी जाहेर गर्न आएको छु । कानुन बमोजिम अनुसन्धान समेत गरी पाउँ भन्ने चेतबहादुर खान ठकुरीको मिति २०३४।४।११ गतेको जाहेरी दर्खास्त ।

३.    अभियुक्त काली घर्तिनीलाई सुराक गर्दा फेला परेकीले दाखिल गरेका छौं भन्ने कं. टोलबहादुर मगर समेतको मिति २०३४।४।१२ गतेको प्रतिवेदन रहेछ ।

४.    जाहेरी अनुसारको काली घर्तिनीले जन्माई कर्तव्य गरी मारी फिर्दि गा.पं. वडा नं. ५ चाप स्वाराको मुलबाटोमा फालेको बालकको लाश पछाडि पुठाको भाग सम्म प्रष्ट देखिने शरीरको अन्य संयुक्त भाग फतक्क गली सडी स्याउ स्याउ किरा परेकोबाट शरीरमा कुनै चोट पटक भए नभएको र स्त्री पुरुषको चिन्ह समेतका आकार प्रकार मेटिई छुट्याउन नसकिने भन्ने समेतको मिति २०३४।४।१२ मा भएको लाश प्रकृति मुचुल्का रहेछ ।

५.    पहिलो विवाह भएको लोग्नेसंग छाडी अन्यत्र पोइल गएकी थिए त्यहाँ पनि हेला गरेकोले हिंडी २०३२ साल चैत्र महीना देखि गहतेलामी स्वाराको पूर्णबहादुरको घरमा गोठालो लागि बस्ने गरेकीमा २०३३ साल कार्तिक १७, १८ गते तिर निज पूर्णबहादुर आई मलाई करणी गरे सोही करणी विर्यबाट मेरो पेटमा गर्भ रहन गएछ । गर्भ ६ महीनाको भएपछि पूर्णबहादुरले मलाई घरबाट निकाला गरेकोले गाउँमा मागी खाँदै हिंडिरहेको अवस्था २०३४ साल साउन ९ गते साँझ पर्ने बेला प्रसूती व्यथा लागी ढोर फिर्दि गा.पं. वडा नं. ५ चापा स्वाराको मूल बाटोमा छोरी जातक पैदा भयो । लिई हिंड्नलाई बस्ने खाने ठाउँ नहुँदा मारी फाल्छु भन्ने विचार आएकोले जन्मेको जिउँदो बालकलाई ढुंगाले मुख अचेटी कर्तव्य गरी मारी छाडी गएकी हुँ । कर्तव्य गरी बालक मार्नेमा अरु कसैको मद्दत सहयोग छैन मेरै मात्र बल बुद्धिले मारेको हुँ भन्ने समेत अभियुक्त काली भन्ने हनुमाया घर्तिनी क्षेत्रीको मिति २०३४।४।१३ गतेको प्रहरीमा गरेको कागज रहेछ ।

६.    काली भन्ने हनुमाया घर्तिनी क्षेत्रीनीले पूर्णबहादुर राउत क्षेत्रीसंग करणी लिनु दिनु गरी बोकेको गर्भ अवधि पूरा भई जन्माई निजले कर्तव्य गरी मारेको हो भन्ने विश्वास लाग्छ भनी बुझिएका सबै सरजमीन भई एकै मिलान बकी लेखी दिएको मिति २०३४।४।१५ गतेको सरजमीन मुचुल्का ।

७.    प्रस्तुत केशमा मौका तहकिकात अनुसन्धान भई आएको संकलित सबूद प्रमाण केही विचार गर्दा काली घर्तिनीलाई बालक मारी फालेकोमा सोध खोज गर्दा पूर्णबहादुर राउतको करणी विर्यबाट रहेको गर्भ अवधि पूरा भई मिति २०३४।४।९ गते साँझ पैदा भएकोले कर्तव्य गरी मारेकी हुन् भनी काली घर्तिनी मुख सावित भएकोले कानुनी कारवाही गरी पाउँ भन्ने चेतबहादुर खान ठकुरीको जाहेरी भएकोमा निज अभियुक्त काली भन्ने हनुमाया घर्तिनीलाई पक्राउ गरी कागज गराउँदा पूर्णबहादुरको विर्यबाट रहन गएको गर्भ मास पुगी पैदा भएकोले म आफैंले कर्तव्य गरी मारेकी हुँ भनी साविती भई कागज गरेकीले र बुझिएका सरजमीन समेतले पनि दशमास पूरा भएको गर्भ पैदा गरी कर्तव्य गरी मारेमा विश्वास लाग्छ भनी बकी लेखि दिएका साथै मृतक जातकको लाश प्रकृति विचार गर्दा दशमास पूरा भएको जातक देखिने भन्ने लाश प्रकृति मुचुल्का समेतबाट देखिँदा निज अभियुक्त काली घर्तिनी भन्ने हनुमायाले आफूले बोकेको दशमास पूरा भएको गर्भ पैदा भएपछि ढुंगा समेतले मुखमा अठ्याई तत्कालै कर्तव्य गरी मारेकी रहिछन भन्ने कुरा सबैतिरबाट पुष्टी हुन आएकोले निज काली भन्ने हनुमाया घर्तिनी क्षेत्रीलाई मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १३ नं. को देहाय ३ अनुसार हदैसम्म सजायँ गरी पाउँ । हनुमायालाई गर्भ बोकाउने भनिएका पूर्णबहादुर राउतको हकमा निजले हनुमायासंग करणी गरेको भए पनि कर्तव्य गरी बालक मार्ने मराउनेमा सहमत एवं भाग लिएको भन्ने कही कतैबाट नदेखिँदा यसतर्फ कुनै विचार गरी रहने अवस्था नपरेकोले संकलन भएको निम्न लिखित कागजात र अभियुक्त काली भन्ने हनुमाया घर्तिनी क्षेत्रीलाई यसै साथ पेश गरेका छौं भन्ने समेतको मिति २०३४।४।१६ गतेको प्रहरी प्रतिवेदन रहेछ ।

८.    म १५ वर्षको उमेर हुँदा मेरो बाबुले मलाई पोखरामा खवासे ठकुरीसंग विवाह भएको विवाहिता लोग्ने खवासेले मलाई हेला गरी निकाली दिएकोले माइती घरमा आई बसेकी थिए माइती घरमा बस्ने खानेको राम्रो स्थिति नभएकोले र मेरो बायाँ हात र बायाँ गोडा समेत लुलो कुंजो भएकोले माइतबाट पनि हेला गरेको हुँदा डेढ वर्ष अगाडि देखि पूर्णबहादुर राउतको आमा पोइल गएको ठाउँ ढोर फिर्दि अन्तर्गत लामा गाउँ नगिचको गहते भन्ने ठाउँमा निज पूर्णबहादुरकी आमाको घरमा चाकडी गरी बसेकी थिए पूर्णबहादुर राउत पनि आमा पोइल गएकै आमा बसेको घरमा १५, १६ महीना अगाडि देखि आमासंग बस्न गएका थिए यस्तै अवस्था २०३३ साल कार्तिक महीनाको १२, १३ गते तिर म रजश्वला भई त्यसको ४, ५ दिन पछि रातमा म सुती रहेको ओछ्यानमा पूर्णबहादुर आई मलाई करणी गरे त्यसै दिनको करणी विर्यबाट मलाई गर्भ रहन गएछ मेरो गर्भ ४, ५ महीनाको भएपछि मेरो भुडी बढ्दै आएको देखी मलाई स्वास्नी बुहारी कायम गर्नु पर्ला भन्ने ठानी २०३३ साल चैत्र महीनामा मलाई घरबाट निकाला गरी दिए त्यहाँबाट निस्केपछि गाउँमा घुम्दै ज्याला बोहनी गर्ने खाने समेत गरी जीवित गरी आइरहेको थिएँ यही २०३४ साल साउन ९ गते बेलुकी पख बाडराङ भन्ने ठाउँबाट देउराली भन्ने ठाउँतर्फ आई रहेको अवस्था मलाई सुत्केरी व्यथा लागी हिंडन नसकी बाटोमा अलपत्र परी बसे एकछिन पछि मेरो गर्भबाट छोरी जातक जिउँदो बच्चा जन्मियो त्यही अवस्था मेरो मनमा के बुद्धि आयो अब यो बच्चा मैले कहाँ लगेर राखुँ बच्चालाई के ख्वाउँ आफू के खाउँ आफू त हात खुट्टा नचल्ने कुंजी छु भन्ने मनमा तर्क वितर्क आई यो बच्चालाई यही मारी फाली दिन पाए आफ्नो एउटा जीऊ जसरी भए पनि पालौंला भन्ने मनमा लागी जिउँदो बच्चालाई बारको बीचमा लगी घोप्टो पारी दिएर बच्चा माथि चेप्टो अं. १ धार्नी जति गहकिलो ढुड्डा बालकको पछाडि पट्टी अर्थात डडालुन ढाडमा राखी थिची दिए त्यति गर्दा पनि बालक नमरेकोले फेरि अलि सानो ढुड्डा लगी थपी दिई थिची दिई र बच्चा कराउन पनि छोड्यो अब मरी हाल्यो किन बसूँ भनी मरेको बच्चालाई त्यही छोडी बाटो घर बस्ने दमिनीको घरमा गई सुतें भोलिपल्ट साउन १० गते पनि निज दमिनीको घरमा बसें ऐ.साउन ११ गते बिहान मैले बच्चा पाएको र मारी फालेको कुरा वर परका मानिसले थाहा पाई सोधपुछ गरे मैले जिउँदो बच्चा जन्माएकी हुँ र ढुंगाले थिची मारेकी पनि हुँ भनी म मुख सावित भएपछि मलाई पक्राउ गरी प्रहरीमा दाखिल गरेका हुन म आफू एकले जिउँदो जन्मिएकी बच्चालाई ढुड्डाले थिची मारेकी हुँ अरु कसैको कर्तव्यबाट होइन भन्ने समेत व्यहोराको मिति २०३४।४।१७ गतेको प्रतिवादी काली भन्ने हनुमाया घर्तिनीले तनहुँ जिल्ला अदालतमा गरेको बयान ।

९.    हनुमायाले प्रहरी र तनहुँ जिल्ला अदालतमा समेत सावित भई बयान गरेको देखिएकोले निजकै कर्तव्यबाट जिउँदो जन्मिएको छोरी जातकको जिउँदो बच्चा कर्तव्य गरी ज्यान मारेको ठहर्छ भन्ने समेत तनहुँ जिल्ला अदालतको मिति ०३४।४।१७ गतेको फैसला ।

१०.    मिसिल संलग्न सबूद प्रमाणबाट प्रतिवादी हनुमाना घर्तिनीलाई ज्यानसम्बन्धीको १३(३) नं. अनुसार सर्वश्वसहित जन्मकैद हुने ठहराएको तनहुँ जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ आफ्नो लोग्ने देखि बाहेकको परपुरुष संगको करणी विर्यबाट जन्मेको बच्चीलाई लोकलाज राख्न मारेको भन्ने र निजको हात खुट्टा नचल्ने विक्षिप्त अवस्था भन्ने रहेको भन्ने समेत देखिएकोले प्रतिवादीलाई जन्मकैदको सजायँ गर्दा चर्को पर्ने भनी अ.बं. १८८ नं. बमोजिम राय व्यक्त गरिएको पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४७।४।१० गतेको फैसला ।

११.    नियम बमोजिम साधक निकासाको लागि पेश हुन आएको प्रस्तुत मुद्दामा पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ छैन साधक जाँची निर्णय दिनु पर्ने हुन आएको छ ।

१२.   यसमा निर्णयतर्फ हेर्दा अभियुक्त काली घर्तिनी भन्ने हनुमायाले आफूले बोकेको दसमास पूरा भएको गर्भ पैदा भएपछि ढुड्डा समेतले मुखमा अठ्याई तत्काल कर्तव्य गरी मारेको भन्ने सबैतिरबाट प्रष्ट हुन आएकोले निज काली भन्ने हनुमाया घर्तिनीलाई ज्यानसम्बन्धीको १३ नं. को देहाय ३ अनुसार सजायँ गरिपाउँ भनी प्रहरी प्रतिवेदन दावी परेको देखिन्छ । अभियुक्त प्रतिवादी काली भन्ने हनुमाया घर्तिनीले परपुरुष पूर्णबहादुरसंगको करणी लिनु दिनुबाट गर्भ धारण भई जिउँदो जन्मेको जातक छोरीलाई ढुड्डाले थिची मारेमा प्रहरी र अदालतमा समेत आफूले गरेको अपराधलाई स्वीकारी सावित भई बयान गरेको पाइन्छ । मौका जाहेरी दर्खास्तमा काली घर्तिनीलाई सोद्धा पूर्णबहादुरले करणी गरेबाट गर्भ धारण भई पैदा भएको बच्चालाई ढुड्डाले किची मारेको हुँ भनी मुख सावित भएको भनी किटानी उल्लेख भएको छ । मौकामा भएको सरजमीनका अधिकांश व्यक्तिहरुले काली भन्ने हनुमाया घर्तिनीले कर्तव्य गरी मारेको हो भनी मुचुल्का गरी दिएको देखिन्छ । लाश प्रकृति मुचुल्काबाट लाश रहेको नजिक ढुड्डाहरु समेत रहेको भन्ने पाइन्छ । उक्त लाश प्रकृति मुचुल्का किटानी जाहेरी दर्खास्त मौका सरजमीनका व्यक्तिहरुको लेखाई समेतबाट अभियुक्त प्रतिवादीको साविती बयानको पुष्टी भई राखेको देखिन्छ । निज अभियुक्त प्रतिवादी काली भन्ने हनुमायालाई अपराधी ठहराई सजायँ गरे उपर पुनरावेदन गर्न सकेको पनि छैन । यस स्थितिमा निज अभियुक्त प्रतिवादी काली भन्ने हनुमाया घर्तिनी निर्दोष रहेछ भन्न सकिने अवस्था रहेन । तसर्थ निज अभियुक्त प्रतिवादी काली भन्ने हनुमाया घर्तिनीले जिउँदै जन्मेको छोरी जातक बच्चा कर्तव्य गरी मारेको ठहराई ज्यानसम्बन्धीको १३(३) नं. अनुसार सर्वश्वसहित जन्मकैद गर्ने गरेको तनहुँ जिल्ला अदालतको इन्साफ सदर गरी साधक जाहेर गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ ।

१३.   अब घटी सजायँको लागि अ.बं. १८८ नं. बमोजिम राय लगाएतर्फ हेर्दा अभियुक्त प्रतिवादी काली भन्ने हनुमायाले लोग्नेले सौता ल्याई निकालेपछि माइत बसेको बस्ने खानेको राम्रो स्थिति नभएको मेरो बायाँ हात गोडा लुलो कुंजो भएको माइतीले हेला गरेकोले पूर्णबहादुरको आमाको घरमा गोठालो लागी बसेकी थिएँ र पूर्णबहादुरले राजीखुसीबाट करणी गरेबाट गर्भ रही भुंडी बढ्दै आएको देखी घरबाट निकाला गरी दिएकोले ज्याला बोहनी गरी र मागेर खाने समेत गरी आइरहेकी थिएँ । मिति २०३४।४।९ गते वेथा लागी छोरी जातक जिउँदो जन्मियो । आफू हात खुट्टा नचल्ने कुंजी यो बच्चा कहाँ लगी राख्ने के खुवाउने भनी तर्क आई बच्चालाई मारी फाली दिन पाए आफ्नो एउटा जीऊ जसरी भए पनि पालौंला भन्ने मनमा लागी बच्चालाई ढुड्डाले थिची मारेकी हुँ भनी बयान गरेको देखिन्छ । यसबाट परपुरुषसँगको सहवासबाट गर्भ रहन गई जातक जन्मेको र अभियुक्त हात खुट्टा नचल्ने कुंजी भएको तथा लोकापवादबाट समेत बच्नसम्म कर्तव्य गरी मारेको भन्ने देखिन्छ । पूर्वयोजना बनाई रिसइवी समेतको कारणबाट कर्तव्य गरी मारेको भन्ने देखिँदैन । तसर्थ घटी सजायँको लागि राय लगाएको क्षेत्रीय अदालतको फैसला मनासिबै देखियो । अपराध गर्दाको अवस्था समेतको विचारबाट यस्तो स्थितिमा अभियुक्त प्रतिवादी काली भन्ने हनुमाया घर्तिनीलाई ज्यानसम्बन्धीको १३(३) नं. का ऐन बमोजिम सर्वश्वसहित जन्मकैद गर्दा चर्को पर्ने देखिन आएको हुँदा निज अभियुक्त काली भन्ने हनुमाया घर्तिनीलाई अ.बं. १८८ नं. बमोजिम कैद वर्ष १४ चौध मात्र हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।

तपसील

प्रतिवादी काली भन्ने हनुमाया घर्तिनी के माथि लेखिए बमोजिम अ.बं. १८८ नं. ले कैद वर्ष १४ चौध हुन्छ । निज मिति २०३४।४।१२ गते देखि पक्राउ भई थुनामा परेको भन्ने मिसिलबाट देखिँदा सो मिति देखि कैद कट्टी गरी कानुन बमोजिम गर्नु भनी तनहुँ जिल्ला अदालतमा लेखी पठाउन काठमाडौं जिल्ला अदालतमा लगत दिनु...१, प्रतिवादी काली भन्ने हनुमाया घर्तीके तनहुँ जिल्ला अदालतका मिति २०३४।४।१७ गतेका फैसलाले ज्यानसम्बन्धीको १३(३) अनुसार सर्वश्वसहित जन्मकैदको सजायँ गर्ने गरेकोमा माथि लेखिए बमोजिम मात्र सजायँ लाग्ने भई सो सर्वश्वसहित जन्मकैदको सजायँ नलाग्ने भएकोले सो लगत काटी दिनु भनी तनहुँ जिल्ला अदालतमा लेखी पठाउन काठमाडौं जिल्ला अदालतमा लगत दिनु...२, कैद वर्ष १४ चौध मात्र सजायँ हुने भई साधक निर्णय भएको सूचना अभियुक्त प्रतिवादी काली भन्ने हनुमाया घर्तिनीलाई दिनु...३, मिसिल नियम बमोजिम गरी बुझाई दिनु...४

 

उक्त रायमा म सहमत छु ।

 

न्या.बब्बरप्रसाद सिंह

 

इतिसम्वत् २०४७ साल पौष १७ गते रोज ३ शुभम् ।

 



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु