निर्णय नं. ४१९८ - बाली भराई जग्गाबाट निष्काशन गरी पाउँ

निर्णय नं. ४१९८ ने.का.प. २०४७ अङ्क ८
संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
सम्वत् २०४६ सालको दे.पु.नं. ८४५
फैसला भएको मिति : २०४७।८।५।४ मा
पुनरावेदक/वादी : बनेपा न.पं. वा.नं. ५ बस्ने भवानीभक्त सैंजू
विरुद्ध
प्रतिवादी : भ.पु.न.पं. वा.नं. ९ बस्ने तुल्सीभक्त दुवाल
मुद्दा : बाली भराई जग्गाबाट निष्काशन गरी पाउँ
(१) तजबिजी अधिकार प्रयोग गरी मोही निष्काशन नहुने ठहर गर्दा पनि के कति कारणले मोही निष्काशन नहुने हो सो को कारण उल्लेख हुनुपर्ने र त्यस्तो कारण समेत उचित हुनुपर्ने । इच्छा लागे निष्काशन गर्ने र इच्छा नलागे निष्काशन नगर्ने भनी निर्णय गर्न नमिल्ने ।
(प्रकरण नं. १२)
(२) बाली नबुझाएको कुरालाई स्वीकारै गरी प्रतिवादीले भूमिसुधार कार्यालयको निर्णयलाई मन्जूर गरी बसेको समेतबाट बाली नबुझाएकोमा विवाद नदेखिँदा विवादित जग्गाबाट वादी दावी बमोजिम मोही निष्काशन हुने ।
(प्रकरण नं. १३)
पुनरावेदक/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री सुरेशप्रसाद श्रेष्ठ
फैसला
न्या.त्रिलोकप्रताप राणा
१. मध्यमाञ्चल क्षेत्रीय अदालतको ०४५।१०।२० को आदेशमा चित्त नबुझी न्या.प्र.सु.ऐन, ०३१ को दफा १३(५)(ख)(ग) तथा उपदफा (७) अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ ।
२. फिरादीका नाउँमा भ.पु. मालपोत कार्यालयमा जग्गा धनी दर्ता भई रहेको झौखेल गा.पं. वा.नं. ८(ख) कि.नं. ४५० को दोयम रोपनी १–०–२ जग्गाको तिर्नु पर्ने कूत विपक्षी जोताहा मोहीले कुनै सालमा तिर्न ल्याउने कुनै सालमा नतिर्ने गर्दै आएको, ०४० साल देखि मलाई कूत नतिरेकोले ०४२ सालको फिराद गर्ने म्याद गुज्रन गई फिराद गर्न नपाएको र ०४३ सालको कूत पनि विपक्षले बुझाउन नल्याएको र कतै धरौट राखेको सूचना पनि नपाएकोले ०४३ सालको चाहिने धान १९–२–५ को बजार भाउ मुरी १ को ३००।– का दरले हुने रु. २८९।६८ विपक्षबाट भराई भू.सु.ऐनको दफा २९ बमोजिम पञ्चकीर्ते मोल रु. १०,०००।– जाने सो जग्गाबाट निष्काशन समेत गरी पाउँ भन्ने समेत भू.सु. कार्यालय भक्तपुरमा परेको फिराद ।
३. फिरादीलाई बुझाउनु पर्ने कूत बाली हरसाल चुक्ता पारी बुझाई आएको छु । फिरादीले जग्गा बेच्नु पर्यो ४ खण्डको ३ खण्डको जोत हक छाडी देऊ भन्दा मैले मन्जूर नगरेको जग्गा मलाई नै किन भन्दा मैले ५०००।– मात्र दिन्छु भनेको थिए । २०२१ सालमा जग्गा नापजाँच भएपछि २०२२ सालको कूत बालीसम्म खेस्रा जस्तो कागजमा बाली बुझे भनी विपक्ष वादीले लेखी दिएको छ । त्यसपछि कुनै सालमा पनि भर्पाई दिने गरेको छैन । विपक्षको बही किताबमा सम्म यो सालको कूत आयो भनी जनाउने गरेको छ । विपक्षलाई २०४३ सालको कूत बाली २०४३।९।१७ गते चुक्ता गरी नगदीमा परिणत गरी धान ।१९।२।५ को मुरीको रु. २५०।– को दरले हुने रु. २४०।४१ बुझाई विपक्षीको बही किताबमा चुक्ता भयो भनी लेखेको छ भन्ने समेत प्रतिउत्तरपत्र ।
४. विपक्षले पक्षको दावी अनुसारको बाली बुझाएको प्रमाण पेश गर्न नसकेकोले पक्षको माग बमोजिम ०४३ सालको बाली ।१९।२।५ को प्रति मुरी रु. ३००।– का दरले रु. २८९।६८ मात्र दावी भए तापनि खाद्यान्न मोल निर्धारण समितिले कायम गरेको दर रु. २५०।– बाट हुने रु. २४१।४१ विपक्षबाट भराई दिने ठहर्छ । बाली नै भराई दिने भएकोले निष्काशन गर्न मिलेन भन्ने समेत भूमिसुधार कार्यालय भक्तपुरको मिति २०४४।९।२६।१ को फैसला ।
५. मोही निष्काशन नगरेको भू.सु.का. भक्तपुरको निर्णय बदर गरी वादी दावी अनुसार गरी पाउँ भन्ने समेत बागमती अञ्चल अदालतमा परेको पुनरावेदनपत्र ।
६. मोही र जग्गा धनी बीच २०२२ साल देखि २०४२ सालसम्म कुनै विवाद नरही सुसम्बन्ध कायम रही रहेको देखिएको छ । यस्तो सुसम्बन्ध कायम रहेको अवस्थामा एक वर्षको बाली नबुझाएको कारणबाटै मोहियानी हकबाट निष्काशन गर्नु न्यायोचित नहुने देखिँदा शुरु भू.सु.का. भक्तपुरबाट भएको निर्णय मनासिब ठहर्छ भन्ने समेत बा.अं.अ. को मिति २०४५।९।१५ को फैसला ।
७. बागमती अं.अ. को निर्णय भूमिसम्बन्धी ऐन तथा प्रमाण ऐन विपरीत भएकोले पुनरावेदनको अनुमति पाउँ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतमा परेको निवेदन ।
८. बा.अं.अ. ले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९(१) अन्तर्गत तजबिजी अधिकार प्रयोग गरी फैसला भएको देखिएबाट न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(४) को खण्ड (ख)(घ)(ङ) समेतको कानुनी त्रुटि विद्यमान भएको देखिन नआएबाट पुनरावेदनको लागि अनुमति दिन मिलेन भन्ने समेत म.क्षे.अ. को मिति २०४५।१०।२०।५ को आदेश ।
९. भू.सं. ऐन, २०२१ को दफा २९(२) बमोजिम तजबिजी अधिकार प्रयोग गर्दा आधार खुलाउनु पर्नेमा कुनै प्रमाण नबुझी एक साल मात्र बाली नबुझाएको भन्ने आधार लिई गरेको प्रमाण ऐनको दफा ५४ विपरीत भएको निर्णय उपर म.क्षे.अ. बाट पुनरावेदन गर्ने अनुमति प्रदान नगरेको हुनाले पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत यस अदालतमा पर्न आएको निवेदनपत्र ।
१०. ने.का.प. २०४४, पृ. ११७६ नि.नं. ३२७२ निवेदक मनोहरनाथ उप्रेती विरुद्ध भू.सु.अ. मोरंग समेत भएको उत्प्रेषण विषयमा प्रतिपादित सिद्धान्त विपरीत म.क्षे.अ. को आदेश भएको देखिएकोले न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५) को खण्ड (ग) को अवस्थामा उपदफा (७) अधीनस्थ पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत यस अदालतको मिति २०४५।१२।१८।६ को आदेश ।
११. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री सुरेशप्रसाद श्रेष्ठ र प्रतिवादीका वारेस रामराजा कायस्थको बहस समेत सुनी यसमा भूमिसुधार कार्यालयका निर्णय सदर गरेको बागमती अञ्चल अदालतको फैसला उपर पुनरावेदन गर्ने अनुमति प्रदान नगरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको आदेश मिलेको छ छैन सो विषयमा निर्णय दिनु पर्ने हुन आयो ।
१२. यसमा भक्तपुर जिल्ला झौखेल गा.पं. वा.नं. ८(ख) कि.नं. ४५० को दोयम रोपनी १–०–२ को कित्ताको जग्गाको २०४३ सालको कूत बाली नबुझाएकोले विपक्षीबाट दिलाई भराई भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९ बमोजिम जग्गाबाट निष्काशन गरी पाउँ भन्ने वादी दावी भएकोमा उक्त सालको धानप्रति मुरी रु. २५०।– को दर भाउ कायम भएकोले सो दर भाउबाट हुने रु. २४१।४१ विपक्षीबाट भराई दिने र बाली नै भराई दिने भएकोले निष्काशन गर्न मिलेन भनी भूमिसुधार कार्यालय भक्तपुरबाट फैसला भएकोमा सो फैसला उपर प्रतिवादीको पुनरावेदन नपरी वादीको बागमती अञ्चल अदालतमा पुनरावेदन परेकोमा मोही निष्काशन नगर्न न्यायोचित नहुने देखिँदा भूमिसुधार कार्यालय भक्तपुरको निर्णय मनासिब भनी बागमती अञ्चल अदालतबाट फैसला भएको पाइन्छ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९(१) मा दैवी परी बाली नास भएमा वा उब्जा हुन नसकेकोमा बाहेक मोहीले कूत बुझाएन भन्ने कुराको जग्गावालाले उजूरी दिएमा तोकिएको अधिकारीले त्यस्तो मोहीलाई निष्काशन गर्ने आदेश दिन सक्नेछ भन्ने उल्लेख भएको पाइन्छ । तजबिजी अधिकार प्रयोग गरी मोही निष्काशन नहुने ठहर गर्दा पनि के कति कारणले मोही निष्काशन नहुने हो सो को कारण उल्लेख हुनुपर्ने र त्यस्तो कारण समेत उचित हुनुपर्ने कुरामा विवाद छैन । इच्छा लागे निष्काशन गर्ने र इच्छा नलागे निष्काशन नगर्ने भनी निर्णय गर्न मिल्दैन । उपरोक्त भूमिसुधार कार्यालय भक्तपुरको निर्णय र बागमती अञ्चल अदालतको पुनरावेदन निर्णयमा समेत मोही निष्काशन नहुनेतर्फ उचित कारण समेत उल्लेख भएको नदेखिँदा मोही निष्काशन नहुने ठहराएको शुरु भूमिसुधार कार्यालय भक्तपुरको निर्णय मनासिब ठहराएको हदसम्म बागमती अञ्चल अदालतको निर्णय र सो उपर पुनरावेदन गर्ने अनुमति नदिएको मध्यमाञ्चल क्षेत्रीय अदालतको आदेश मिलेन । सो हदसम्म बागमती अञ्चल अदालतको इन्साफ उल्टी हुन्छ ।
१३. मोही निष्काशन नहुने तर्फ प्रतिवादीले कुनै उचित कारण दिनसकेको पाइन्न । बाली नबुझाएको कुरालाई स्वीकारै गरी प्रतिवादीले भूमिसुधार कार्यालयको निर्णयलाई मन्जूर गरी बसेको समेतबाट बाली नबुझाएकोमा विवाद नदेखिँदा विवादित जग्गाबाट वादी दावी बमोजिम मोही निष्काशन हुने ठहर्छ । सो हदसम्म भूमिसुधार कार्यालय भक्तपुर र बागमती अञ्चल अदालतको इन्साफ उल्टी हुन्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम बागमती अञ्चल अदालतको मिति २०४५।९।१५ को इन्साफ केही उल्टी हुने ठहरी पुनरावेदक वादीको पुनरावेदन जिकिर मनासिब ठहरेकोले निजले यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रु. १।५० प्रतिवादीबाट भराई पाउने हुँदा भराई पाउँ भनी ऐनका म्यादभित्र दर्खास्त दिए कानुन बमोजिम भराई दिनु भनी का.जि.अ.त.मार्फत सम्बन्धित जि.अ.मा लगत दिनु...१, मिसिल नियम बमोजिम गरी बुझाई दिनु...१
उक्त रायमा म सहमत छु ।
न्या.सुरेन्द्रप्रसाद सिंह
इतिसम्वत् २०४७ साल मंसीर ५ गते रोज ४ शुभम् ।