निर्णय नं. ४२२९ - कर्तव्य ज्यान

निर्णय नं. ४२२९ ने.का.प. २०४७ अङ्क ११
संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
सम्वत् २०४६ सालको फौ.पु.नं. २८७, ३३६
फौ.सा.नं. १०४
फैसला भएको मिति : २०४७।११।२७।२ मा
पुनरावेदक/वादी : पूर्णकुमार विश्वकर्माको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
प्रत्यर्थी/प्रतिवादी : जि.उदयपुर लाफा गा.पं. वा.नं. ७ सार्खु बस्ने फौदबहादुर विश्वकर्मासमेत
पुनरावेदक/प्रतिवादी : जिल्ला कार्यालय कारागार शाखा ललितपुर नखुमा थुनामा बसेको नैनबहादुर विश्वकर्मासमेत
विरुद्ध
प्रत्यर्थी/वादी : पूर्णकुमार विश्वकर्माको जाहेरीले श्री ५ को सरकार
मुद्दा : कर्तव्य ज्यान
(१) कैद ठोस सबूद प्रमाणको अभावमा कर्तव्य गरी मारेको भन्न नमिल्ने ।
(प्रकरण नं. ४४)
(२) लाश बोकेकोमा इन्कार रहे तापनि घटनास्थलमा मौजूदै रहेको भनी सावित भएको र प्रतिवादी लाश बोकी फालेकोमा सावित भएको हुनाले यी प्रतिवादीहरुलाई ज्यानसम्बन्धी महलको १७(३) नं. बमोजिम सजायँ गरेको क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्ने ।
(प्रकरण नं. ४४)
वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी.
प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री होमनाथ ढुंगाना
फैसला
न्या.त्रिलोकप्रताप राणा
१. पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४६।३।४ को फैसला उपर वादी श्री ५ को सरकार प्रतिवादी नैनबहादुर समेतको पुनरावेदन परी तथा साधकको रोहबाट समेत पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ ।
२. जिल्ला उदयपुर गाउँपञ्चायत देउरी बस्ने मेरा काका तुलमान विश्वकर्मा दाजुभाइ भेट्न भनी माघ १३ गते घरबाट हिंडी १४ गतेको बेलुकी जिल्ला उदयपुर लाफा गाउँ वा.नं. ७ सोर्खु भन्ने गाउँको पुछारमा फुपु सासूको घरमा बास बसेका, सो दिन कर्तव्य गरी ज्यान मरेको थाहा पाएँ । खोजतलास गर्दा २०४२ साल माघ २३ गते जंगलको बीचमा मारी फालेको भेटेछन् । उदयपुर जिल्ला लाफा गाउँ वा.नं. ७ बस्ने पहले कामीको छोरा फौदबहादुर कामी, ऐ.बस्ने ललितबहादुरको छोरा वृखबहादुर राई समेतलाई शंका लागी पक्राउ गरी प्र.पं. तथा प्रहरी चौकीमा जिम्मा राखी जाहेर गर्न आएको छु । काका तुलमानको लाश जाँच गरी अपराधी पत्ता लगाई कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको मिति २०४२।१०।२९।३ को जाहेरी दर्खास्त ।
३. मृतकको देब्रे आँखा फुटेको र दुलो परेको, दाहिने आँखा चिम्लेको, निधारमा चोट परी छाला खुइलिएको, लाश सडीगली औंसा समेत परेको लाश पोष्टमार्टम गर्ने स्थितिमा नभएको भन्ने समेत मिति २०४२।११।३।६ को लाश प्रकृति मुचुल्का ।
४. मिति २०४२ साल माघ १४ गते बेलुका मेरो भिनाजु नाताको मृतक तुलमान विश्वकर्मा रक्सीको नसाको सुरमा आई साली केटी हो भन्दै मेरो दिदी नाता पर्ने मसिनीलाई संकेत गर्दै ओछ्याई राखेको गुन्द्रीमा सुतेको त्यही बान्ता गरे वायु पनि चलाए झ्यालबाट निस्की तलतिरको बाटो लागेका थिए । मेरो दाजु कर्णबहादुरसंग म समेत निस्की आउँदा हाम्रै गाउँको नैनबहादुर विश्वकर्मा, मेरो दाजु थिरमान विश्वकर्मा, हाम्रै घर पछाडिबाट भिनाजु गएतर्फ लागे मेरो दाजुको हातमा सती बहेरको अं. २ हातको लाठी थियो । उक्त लाठीले मृतक भिनाजुको टाउकोमा एक चोट कसेर हानेको नैनबहादुरले टाउकोमा आँखा नजिकै ढुंगाले कसेर हान्दा लडेको म र मेरो साइला दाजु कर्णबहादुरले ५।६ गज फरकबाट देखेका हौं । लाशलाई दाजु थिरमान, नैनबहादुर, कर्णबहादुर र म समेतले बोकी जंगल हुँदै सिमल खोलाको तीरमा फालेको हो भन्ने समेत प्रतिवादी फौदबहादुर विश्वकर्माको मिति २०४२।११।१२।१ मा प्रहरीमा भएको बयान ।
५. दाजु थिरमान विश्वकर्माले मलाई वनपाले किन ल्याइस भनेकोमा मर्ने तुलमानले मैले ल्याएको छैन भनी वाद विवाद हुँदा हुँदै तुलमान झ्यालबाट निस्के, पछि पछि थिरमान, नैनबहादुर, फौदबहादुर, कर्णबहादुर समेत लागे । १० दिन पछि घाँस काट्ने मानिसहरुले निधारमा चोट लागेको छ खोलामा लाश छ भनेको हल्ला सुनी गाउँका अध्यक्षहरु हेर्न गएका थिए । दाजु तुलमान विश्वकर्मालाई दाजु थीरमान विश्वकर्मा, फुफाज्यू नैनबहादुर विश्वकर्मा, फौदबहादुर विश्वकर्मा, कर्णबहादुर विश्वकर्मा समेतले कर्तव्य गरी ज्यान मारेको हो भन्ने समेत मसिनी कामीले मिति २०४२।११।१७ गते प्रहरीमा गरेको कागज ।
६. मर्ने तुलमानसंग मेरो परिचय थिएन । २०४२ साल माघ १४ गते रात म आफ्नो गोठ घरमा छु । लाश फेला परेपछि प्र.पं. र गाउँलेहरु भई फौदे भन्ने कामी केटालाई पक्राउ गरेपछि मेरो नाम लिएको हो । मैले मारेको होइन भन्ने समेत वृखबहादुर राईको प्रहरीमा भएको बयान ।
७. माघ १४ गते नरबहादुर राईको दोकानमा मर्ने तुलमान, म र थिरमान विश्वकर्मा भई रक्सी खाई हिंड्दा बाटोमा झगडा भयो । मर्ने तुलमान, हामीलाई छाडी आफ्नो फुपु सासूको घरमा गयो । हामी पनि त्यहाँ गई जाँड खायौं तुलमानले त्यहीं उल्टी गर्दा झगडा हुँदा हुँदै तुलमान झ्यालबाट निस्केर भाग्यो । हामी पनि लखेट्दै गई थीरमानले सतीवरको मुठी भरको मोटो २, २।। हात जति लामो लठ्ठीले हिर्कायो, मैले लात्ती र ढुड्डाले हिर्काएँ, कर्णबहादुर, फौदबहादुरले लाती र मुडकीले हिर्काई तुलमानको मृत्यु भयो । हामीले पालो पालो गरी नजिकको सीमले खोलामा फालेको हो भन्ने समेत नैनबहादुर विश्वकर्माको प्रहरी समक्ष भएको बयान ।
८. २०४२ साल माघ १४ गते बेलुका मेरो घरमा भिनाजु तुलमान, दाजु थिरमान र फुफाजु नैनबहादुर बसेकोमा झगडा भई भिनाजु भागेको, पछि पछि गई दाजु थिरमानले सतिवरको लठ्ठीले टाउकोमा हिर्कायो, फुफाले बायाँ आँखा माथि ढुंगाले हिर्काउँदा भिनाजुको मृत्यु भयो । हामी सबैले सिमले खोलामा पुर्याएको हो भन्ने समेत कर्णबहादुर विश्वकर्माको प्रहरी समक्ष भएको बयान ।
९. २०४२ साल माघ १४ गते पैलादेखि काठको ठेक्का बनाई चिस्पा खोलामा बसेकोमा फरेष्टर आयो भन्ने सुनी भागी आउँदा लाफा गाउँ नजिक मर्ने मेरो भिनाजु नाताको तुलमानसंग भेट भई किन फोरेष्टर ल्याएको भनी झगडा गर्दै जाँदा म र फुफा पर्ने नैनबहादुरकै घरमा बस्यौं । तुलमान फुफु सासूको घरमा गयो । बेलुका हामी दुवै आमाको घरमा गयौं त्यहाँ पनि भनाभन हुँदा हुँदै तुलमान झ्यालबाट भाग्दा कर्णबहादुर र फौदबहादुर लखेट्दै लग्यो, पछि पछि म र नैनबहादुर समेत जाँदा फौदबहादुर र कर्णबहादुरले भेटी पक्री राखेको ठाउँमा मैले त्यहाँ भेट्टाएको सतिवरको आधा मुठ्ठी मोटो अं. २, २।। हात लामो लठ्ठीले हिर्काएँ, फुफाले ढुंगाले हिर्काउनासाथ लडेर मर्यो । हामी चारै जना मिलेर लाश सिमले खोलामा फालेको हो भन्ने समेत प्रहरी समक्ष भएको थिरमान विश्वकर्माको बयान ।
१०. तुलमान विश्वकर्मा फुफु सासूको घरमा २०४२।१०।१४ गते भेट्न आउँदा को को भई कर्तव्य गरी ज्यान मारेको हो थाहा छैन फौदबहादुर विश्वकर्मा, कर्णबहादुर विश्वकर्मा, नैनबहादुर विश्वकर्मा, थिरमान विश्वकर्मा समेत जना ४ ले हामीहरुले तुलमानलाई कुटपिट गरी मारेको हो भनी साविती बयान गरेकोले निजहरुले मारे मराएकोमा शंका लाग्छ र वृष बहादुर राईले मारे मराएकोमा विश्वास लाग्दैन र अरु कसैमाथि शंका छैन भनी दफा १ देखि ११ सम्मका सरजमीनका मानिसहरुले गरी दिएको २०४२।११।३० को सरजमीन मुचुल्का ।
११. २०४२ साल माघ १४ गते मृतक तुलमान विश्वकर्मा मेरो घर आएपछि ज्वाई तुलमानलाई जाँड खान दिएँ । मृतक ज्वाइको साथमा नैनबहादुर विश्वकर्मा र थीरबहादुर विश्वकर्मा पनि थियो । मृतक तुलमानले छाद्दै पाद्दै गरेको सुनी मेरो छोरा फौदबहादुर विश्वकर्माले भन्दा तिमीहरु पाद्दैनौं भनी झ्यालबाट बाहिर निस्के, पछि पछि नैनबहादुर विश्वकर्मा, थिरबहादुर विश्वकर्मा, फौदबहादुर विश्वकर्मा, कर्णबहादुर विश्वकर्मा गएका थिए । उनीहरुले ज्यान मारेकोमा शंका लाग्छ भन्ने समेत धनसरी कमिनीको मिति २०४२।१२।३।१ मा प्रहरी समक्ष भएको कागज ।
१२. थिरमान विश्वकर्मा र नैनबहादुर विश्वकर्मालाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) बमोजिम सर्वश्वसहित जन्मकैद र कर्णबहादुर विश्वकर्मा र फौदबहादुर विश्वकर्मालाई मुलुकी ऐन दण्ड सजायँको १ नं. बमोजिम ज्यानसम्बन्धीको १३(३) बमोजिम जन्मकैदको आधा सजायँ हुन अनुरोध छ भन्ने समेत मिति २०४२।१२।६ को प्रहरी प्रतिवेदन ।
१३. २०४२ साल पौष ३ गते देखि मेरै गाउँका नैनबहादुर विश्वकर्मा र म यसै जिल्लाको गा.पं. पोखरी चिस्पा खोलामा काठको ठेका भाँडाहरु बनाउने काममा २०४२ माघ १४ गतेसम्म बसी माघ १५ गते मात्र घर गएका थियौं । माघ २३ गते घरमा नै थिएँ । सिमले भन्ने खोलामा लाश छ भन्ने हल्ला हुँदा हेर्न गएँ । कसले कर्तव्य गरी मार्यो मलाई थाहा छैन भन्ने समेत मिति २०४२।१२।७ मा प्रतिवादी थिरमान विश्वकर्माले अदालतमा गरेको इन्कारी बयान ।
१४. २०४२ साल माघ १४ गते चिस्पा खोलामा काठको ठेक्का भाँडा बनाउने काममा थिएँ माघ १५ गते राती आफ्नो घरमा पुगेको हुँ । माघ २३ गते मृतक तुलमानको लाश सिमले खोलामा घाँस काट्न जानेले देखी हल्ला भएको मैले २४ गते सुनी हेर्न जाँदा कर्तव्यबाटै मारिएको देखियो । मैले निजलाई कुटपिट गरी मारेको होइन भन्ने समेत प्रतिवादी नैनबहादुर विश्वकर्माको अदालतमा भएको इन्कारी बयान ।
१५. मृतक तुलमान विश्वकर्मा २०४२ साल माघ १४ गते लाफा गाउँतर्फबाट रक्सी खाई बेलुका हाम्रो घरमा पस्दा ए साली केटी भनी मसिनीलाई ढाप मारेपछि मसिनी रिसाई हाम्रै घर नजिक भएका अध्यक्ष हमबहादुर राइको घरमा गई अध्यक्षलाई लिएर आई तुलमानलाई देखाएपछि तुलमान झ्यालबाट निस्की भाग्न लाग्दा मसिनी र हमबहादुरले खेद्दै गई मसिनीले मृतकको टाउकोमा दाउराले कुटपिट गर्न लाग्दा हमबहादुरले मृतकलाई लडाई लात्तीले लिंगमा हिर्काएपछि तुलमानको मृत्यु भयो । म समेत भई लाश बोकी लगेको होइन भन्ने समेत अदालत समक्ष प्रतिवादी कर्णबहादुर विश्वकर्माको बयान ।
१६. २०४२ साल माघ १४ गते मृतक तुलमान रक्सी खाएर हाम्रो घरमा आई ए साली केटी भनी मसिनीलाई हात हालेपछि मसिनीले अध्यक्ष हमबहादुर राईलाई लिएर आई तुलमानलाई खेद्दै गई कुटपिट गरी मारेको हो मसिनी र हमबहादुर राइले म र मेरो साइलो दाजुलाई पनि तर्साई लासको खुट्टा काँधमा हाली घिसार्दै खोलामा पुर्याएको हो । मृतकलाई मैले कुटपिट गर्नमा साथ दिएको छैन । डरत्रासले लाश बोक्न मात्र साथ दिएको हो भन्ने समेत अदालत समक्ष भएको प्रतिवादी फौदबहादुर विश्वकर्माको बयान ।
१७. मृतक धनसरीको घरमा बास बसी मृत्यु भएबाट धनसरी फौदबहादुर, कर्णबहादुर ३ जना उपर शंका लाग्छ भन्ने समेत सरजमीनका व्यक्ति चन्द्रबहादुर राईको अदालतमा भएको बकपत्र ।
१८. फौदबहादुर र कर्णबहादुरको घरमा बास बसेकोले निजहरुले नै मर्ने तुलमानलाई कर्तव्य गरी मारेमा शंका लाग्छ । प्रतिवादी थिरमान, नैनबहादुरको घर पनि फरक भएको हुनाले निजहरुले मारेमा शंका लाग्दैन भन्ने समेत सरजमीनका मानिस वसन्तबहादुर राइको बकपत्र ।
१९. मृतक कर्तव्यबाटै मरेको हो, धनसरी, फौदबहादुर, कर्णबहादुरकै घरमा बास बसेकाले निजहरु नै जानुन भन्ने समेत सरजमीनका साक्षी दलबहादुर तामाङको बकपत्र ।
२०. मृतक तुलमान प्रतिवादी फौदबहादुर, कर्णबहादुर समेतको कर्तव्यबाट मरेको हुनुपर्छ भन्ने समेत सरजमीनका साक्षी धर्मध्वज तामाङको बकपत्र ।
२१. धनसरी, फौदबहादुर, कर्णबहादुर कामी उपर शंका लाग्दछ भन्ने समेत सरजमीनका साक्षी देवीबहादुर राइको बकपत्र ।
२२. फौदबहादुर, कर्णबहादुर तथा धनसरीको घरमा बास बसेको हुनाले निजहरुमाथि शंका लाग्छ भन्ने समेत सरजमीनका प्रेमबहादुर राइको बकपत्र ।
२३. मृतक के भई मर्यो सो कुरा धनसरीको घरमा बास बसेकाले धनसरी, फौदबहादुर, कर्णबहादुरलाई नै थाहा होला भन्ने समेत सरजमीनका खड्गबहादुर तामाङको बकपत्र ।
२४. धनसरी, फौदबहादुर, कर्णबहादुर उपर शंका लाग्छ । नैनबहादुर थिरमान माथि कर्तव्य गरेमा शंका लाग्दैन भन्ने समेत सरजमीनका डिल्लीमान तामाङको बकपत्र ।
२५. नैनबहादुर र थिरमान उपर शंका छैन, अरुसंग शंका लाग्छ भन्ने समेत सरजमीनका जितबहादुर राइको बकपत्र ।
२६. धनसरी, फौदबहादुर, कर्णबहादुर उपर शंका लाग्छ भन्ने समेत सरजमीनका धनबहादुर तामाङको बकपत्र ।
२७. मृतक मेरा काकालाई मारेकोमा विर्षबहादुर तथा फौदबहादुर उपर शंका लागी जाहेरी दिएको हुँ, नैनबहादुर तथा थिरबहादुर माथि शंका छैन भन्ने समेत जाहेरवाला पूर्णकुमार विश्वकर्माको बकपत्र ।
२८. प्रतिवादी थिरमान माघ १४, १५ गतेतिर चिप्सा खोलामा नै हुँदा निजले मर्ने तुलमानलाई कर्तव्य गरी मार्यो भन्न सक्तिन भन्ने समेत प्रतिवादी थिरमानको साक्षी गम्बरबहादुर राय क्षेत्रीको बकपत्र ।
२९. प्रतिवादी नैनबहादुर, थिरमान समेत २०४२ साल पौष महीना देखि नै मेरै खेती नजिकको चिप्सा खोलामा काठ कुद्ने काम गर्दै आई २०४२ साल माघ १५ गते बिहान आफ्नो घर सोल्खुतर्फ गएको हुँ निजहरुले तुलमानलाई मारेको होइन भन्ने समेत प्रतिवादी नैनबहादुरको साक्षी धनबहादुर कार्कीको बकपत्र ।
३०. नैनबहादुर र थिरमानले मृतकलाई मारेको होइन भने समेत प्रतिवादी नैनबहादुरको साक्षी पूर्णबहादुर विश्वकर्माको बकपत्र ।
३१. वारदातको दिन प्रतिवादी थिरमान तथा नैनबहादुर चिस्पा खोलामा हुँदा निजहरुले ज्यान मारेको होइन भन्ने समेत प्रतिवादी थिरमानको साक्षी हस्तबहादुर खत्रीको बकपत्र ।
३२. प्रतिवादी थिरमान र नैनबहादुर उपर जाहेरवालाको किटानी उजूरी नभएको सरजमीनका व्यक्तिहरुले पनि किटान गरी भन्न नसकेबाट निजहरु प्रहरी समक्ष सावित भएका सहअभियुक्त कर्णबहादुर, फौदबहादुरले पोल गरे बाहेक अरु कुनै ठोस प्रमाणका अभावमा शंकाको सुविधा अभियुक्तले पाउने देखिँदा सफाई पाउने ठहर्छ । प्रतिवादी फौदबहादुर विश्वकर्मा, कर्णबहादुर विश्वकर्माले प्रहरीमा र अदालतमा बयान गर्दा मृतक तुलमानको मृत शरीर निजहरु समेत भई फालेको सावित भएकाले ज्यानसम्बन्धीको १३ नं. अन्तर्गतको कसूर गरेको देखिन नआई सोही महलको १७(३) नं. को कसूर गरेको ठहर्छ । सोही नं. ले कैद वर्ष ३ का दरले हुनेमा नाबालक हुँदा दण्ड सजायँको १ नं. बमोजिम कैद वर्ष १।६ हुन्छ भन्ने समेत उदयपुर जिल्ला अदालतको जाहेरी फैसला ।
३३. जिल्ला अदालतले गरेको फैसलामा चित्त बुझेन प्रहरी प्रतिवेदन दावी बमोजिम गरी पाउँ भन्ने समेत वादी श्री ५ को सरकारको तर्फबाट सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चमा परेको पुनरावेदनपत्र ।
३४. यसमा प्रहरीमा कागज गर्ने भनिएका व्यक्तिहरु धनसरी कमिनी तथा मसिनी कमिनीलाई नबुझी नहुने स्थिति देखिँदा अ.बं. ११५ नं. को प्रकृया अपनाई निजहरुलाई बुझी पठाई दिनु भन्ने समेत सगरमाथा अञ्चल अदालत (राजविराज) बेञ्चको आदेश बमोजिम उदयपुर जिल्ला अदालतले बुझी पठाएको माघ १४ गतेका दिन मेरा घरमा कोही आएको छैन, मृतक आफ्नो कालगतिले मरेका हुन् भन्ने समेत धनसरी कमिनीको बकपत्र र मसिनी पोइल गइसकेकीले घरद्वार फेला नपरेको भन्ने प्रतिवेदन ।
३५. प्रतिवादीहरु चारैजना वारदातमा सम्मिलित भएको निजहरुको प्रहरीमा भएको बयान र लाश प्रकृति मुचुल्का समेतबाट देखिएको हुँदा चारै जनाले मर्ने तुलमानलाई कर्तव्य गरी मारेको ठहर्छ, ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैद हुन्छ, कर्णबहादुर विश्वकर्मा र फौदबहादुर विश्वकर्मा नाबालक हुँदा द.सं. का १ नं. ले आधी सजायँ हुन्छ भन्ने समेत सगरमाथा अञ्चल अदालत राविराज बेञ्चको जाहेरी फैसला ।
३६. सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चको इन्साफमा चित्त बुझेन, निर्दोष हुँदा सफाई पाउँ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतमा परेको नैनबहादुर र थिरमान विश्वकर्माको संयुक्त र कर्णबहादुर र फौदबहादुर विश्वकर्माको संयुक्त पुनरावेदनपत्र ।
३७. यसको चोटको पिरबाट मरेको हो भनी खुल्न नआएको अवस्थामा पुनरावदेक नैनबहादुर र थिरमान विश्वकर्माको हकमा ज्यानसम्बन्धीको १३(१) बमोजिम सर्वश्वसहित जन्मकैद गरेको मिलेन १३(३) बमोजिम जन्मकैद हुने ठहर्छ । फौदबहादुर तथा कर्णबहादुरका हकमा ज्यानसम्बन्धीको १७(३) बमोजिम सजायँ हुन्छ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला ।
३८. प्रतिवादी कर्णबहादुर विश्वकर्मा र फौदबहादुर विश्वकर्मालाई पूर्वाञ्चल क्षेत्रीय अदालतबाट ज्यानसम्बन्धीको १७(३) बमोजिम अपराध गरेको ठहर्याई भएको फैसला त्रुटिपूर्ण हुँदा प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ हुन अनुरोध गरिन्छ भन्ने समेत वादी श्री ५ को सरकारको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।
३९. पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त बुझेन भन्ने समेत यस अदालतमा पर्न आएको प्रतिवादीहरु नैनबहादुर विश्वकर्मा र थिरमान विश्वकर्माको संयुक्त पुनरावेदनपत्र ।
४०. नियम बमोजिम पेशी सूचीमा चढी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकारको तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी.ले प्रतिवादी कर्णबहादुर विश्वकर्मा र फौदबहादुर विश्वकर्मा वारदात शुरु भए देखि नै घर देखि नै उपस्थित भई लखेट्दै जाँदा समेत पछि पछि गएको र लाश बोक्न समेत सक्रिय रहेको देखिएको हुनाले पूर्वाञ्चल क्षेत्रीय अदालतबाट ज्यानसम्बन्धीको १७(३) अन्तर्गत सजायँ गरेको मिलेको छैन भन्ने बहस गर्नु भयो । पुनरावेदक प्रतिवादीहरु नैनबहादुर विश्वकर्मा र थिरमान विश्वकर्माको तर्फबाट विद्वान अधिवक्ता श्री होमनाथ ढुंगानाले जाहेरीमा किटानी नाम उल्लेख नभएको प्रहरीमा सहअभियुक्तहरुले पोलेको आधारमा मात्र पक्राउ गरेको अदालतमा बयान गर्दा अपराध गरेमा इन्कार रहेको अवस्थामा प्रहरीमा भएको बयान मात्रको आधारमा ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम जन्मकैदको सजायँ गरेको मिलेको छैन भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।
४१. यसमा प्रतिवादी कर्णबहादुर विश्वकर्मा र फौदबहादुर विश्वकर्मालाई पूर्वाञ्चल क्षेत्रीय अदालतले ज्यानसम्बन्धी महलको १७(३) नं. बमोजिम कसूर गरेको ठहराई सजायँ गरेकोमा सो फैसला उपर श्री ५ को सरकारको र प्रतिवादी नैनबहादुर विश्वकर्मा र थिरमान विश्वकर्मालाई पूर्वाञ्चल क्षेत्रीय अदालतले ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जन्मकैद हुने ठहराई सजायँ गरेकोमा सो फैसला उपर प्रतिवादी नैनबहादुर विश्वकर्मा र थिरमान विश्वकर्माको पुनरावेदन परेको प्रस्तुत मुद्दामा निर्णयतर्फ विचार गर्दा पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिले नमिलेको के छ सो विषयमा निर्णय दिनु पर्ने हुन आयो ।
४२. प्रतिवादीहरु फौदबहादुर विश्वकर्मा र कर्णबहादुर विश्वकर्माले प्रहरी समक्ष बयान गर्दा मृतक तुलमान विश्वकर्मालाई प्रतिवादी नैनबहादुर विश्वकर्मा र थिरमान विश्वकर्माले कुटपिट गरी मारेको र लाश बोकी फाल्नमा आफूहरु समेतले सहयोग गरेकोमा सावित भई बयान गरेका छन् । निज प्रतिवादीहरुले आफुले मर्ने तुलमानलाई कर्तव्य गरी मारेमा प्रहरीमा र अदालतमा समेत इन्कार रहेको देखिन्छ । यी प्रतिवादीहरु कर्णबहादुर विश्वकर्मा र फौदबहादुर विश्वकर्मा समेतले कर्तव्य गरी मृतक तुलमान विश्वकर्मालाई मारेको हो भनी वादी पक्षबाट कुनै सबूत प्रमाण प्रस्तुत हुनसकेको देखिँदैन ।
४३. तुलमान विश्वकर्मालाई थिरमान विश्वकर्मा नैनबहादुर विश्वकर्मा, कर्णबहादुर विश्वकर्मा, फौदबहादुर विश्वकर्मा समेतले कर्तव्य गरी ज्यान मारेको हो भनी प्रहरीमा बयान कागज हुँदा लेखी दिने मसिनी कमिनीले भने पनि निजले यसरी ज्यान मारेको हो भनी भन्न सकेको पाइन्न । अदालतबाट निज मसिनी कमिनीलाई बुझ्न भनी म्याद गएकोमा पनि निज पोइल गई सकेकोले घरद्वार पत्ता नलागेको भनी आएको र सो म्यादमा वादी पक्षबाट पनि निजलाई अदालतमा हाजिर गराउन सकेको पाइन्न ।
४४. प्रतिवादी कर्णबहादुर र प्रतिवादी फौदबहादुरको हकमा कुनै ठोस सबूद प्रमाणको अभावमा निज प्रतिवादीहरुले मृतक तुलमान विश्वकर्मालाई कर्तव्य गरी मारेको भन्न मिलेन । लाश बोकेकोमा सम्म यी प्रतिवादीहरु प्रहरी समक्ष सावित भएको, अदालत समक्ष पनि प्रतिवादी कर्णबहादुर विश्वकर्मा लाश बोकेकोमा इन्कार रहे पनि घटनास्थलमा मौजुद रहेको भनी सावित भएको र प्रतिवादी फौदबहादुर विश्वकर्माले आफू र प्रतिवादी कर्णबहादुर भई लाश बोकी फालेकोमा सावित भएको हुनाले यी प्रतिवादीहरु कर्णबहादुर विश्वकर्मा र फौदबहादुर विश्वकर्मालाई ज्यानसम्बन्धी महलको १७(३) नं. बमोजिम सजायँ गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ होस् भन्ने पुनरावेदक वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन ।
४५. पुनरावेदक प्रतिवादीहरु नैनबहादुर विश्वकर्मा र थिरमान विश्वकर्माको हकमा विचार गर्दा मृतक तुलमान विश्वकर्मालाई कर्तव्य गरी मारेमा दुवै प्रतिवादीहरु प्रहरीमा सावित भए तापनि अदालतमा इन्कार रहेको पाइन्छ । प्रतिवादी फौदबहादुर र कर्णबहादुरले प्रहरी समक्ष बयान गर्दा प्रतिवादी नैनबहादुर विश्वकर्मा र प्रतिवादी थिरमान विश्वकर्माको कर्तव्यबाट मृतक तुलमान विश्वकर्माको मृत्यु भएको हो भनी लेखाई दिएपनि अदालतमा बयान हुँदा प्रहरीमा राजीखुशीबाट बयान गरेको होइन भन्दै तुलमानलाई यी प्रतिवादी नैनबहादुर विश्वकर्मा र प्रतिवादी थिरमान विश्वकर्माले मारेको भनी पोलेको पाइँदैन । प्रहरी समक्ष बयान कागज गरिदिने मसिनी कमिनी अदालतबाट बुझ्न झिकाएकोमा निज अदालतमा उपस्थित हुनसकेको पाइन्न । प्रहरी समक्ष प्रतिवादी नैनबहादुर र प्रतिवादी थिरमानले कर्तव्य गरी मारेकोमा शंका लाग्छ भनी बयान कागज गरी दिने धनसरी कमिनीलाई अदालतबाट बुझिएकोमा प्रहरीमा भएको कागज राजीखुशीबाट भएको होइन भन्दै मृतक तुलमानलाई प्रतिवादी थिरमान र प्रतिवादी नैनबहादुरले मारेको होइन भनी बकपत्र गरेको पाइन्छ ।
४६. यी प्रतिवादीहरु नैनबहादुर र थिरमानको साक्षीहरुको बकपत्रबाट पनि वारदातको समयमा निज प्रतिवादीहरु घटनास्थलमा नभएको भनी यी प्रतिवादीहरुको अदालतमा भएको बयानलाई समर्थित भएको देखिन्छ । अदालत समक्ष उपस्थित भई बकपत्र गर्ने सरजमीनका साक्षीहरुले पनि पुनरावेदक प्रतिवादीहरु नैनबहादुर विश्वकर्मा र थिरमान विश्वकर्माले कर्तव्य गरी तुलमानलाई मारेको भन्न सकेको छैन ।
४७. प्रहरी समक्ष प्रतिवादी फौदबहादुर र प्रतिवादी कर्णबहादुरको पोल तथा पुनरावेदक प्रतिवादी नैनबहादुर र पुनरावेदक प्रतिवादी थिरमान विश्वकर्माको प्रहरी समक्ष भएको साविती बयान समेत निजहरुको अदालतमा भएको बयान लगायत अन्य स्वतन्त्र प्रमाणबाट समर्थित नभएको अवस्थामा पुनरावेदक प्रतिवादी नैनबहादुर विश्वकर्मा र पुनरावेदक प्रतिवादी थिरमान विश्वकर्मालाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जन्मकैद हुने ठहर्याएको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको देखिएन । पुनरावेदक प्रतिवादीहरु थिरमान विश्वकर्मा र नैनबहादुर विश्वकर्माले सफाई पाउने ठहर्छ । सो हदसम्म पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ उल्टी हुने ठहर्छ । यसमा पुनरावेदन सुनी निर्णय भएको हुनाले साधकतर्फ विचार गरी रहन परेन । अरु तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम पुनरावेदक प्रतिवादी नैनबहादुर विश्वकर्मा र थिरमान विश्वकर्माले सफाई पाउने ठहरेकाले पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४६।३।४।२ को फैसला बमोजिम राखिएको जन्मकैदको लगत कट्टा गर्नु भनी शुरु उदयपुर जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु...१
पुनरावेदक प्रतिवादी नैनबहादुर विश्वकर्मा र थिरमान विश्वकर्माले सफाई पाउने ठहरेकोले निजहरुलाई तुरुन्त थुनाबाट छाडि दिनु भनी निजहरु थुनामा रहेको जिल्ला कार्यालय, कारागार शाखा काठमाडौं र कारागार शाखा ललितपुरमा लेखी पठाउनु...२, मिसिल नियम बमोजिम गरी बुझाई दिनु...३
उक्त रायमा सहमत छु ।
न्या.सुरेन्द्रप्रसाद सिंह
इतिसम्वत् २०४७ साल फाल्गुण २७ गते रोज २ शुभम् ।