शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४२०७ - उत्प्रेषण

भाग: ३२ साल: २०४७ महिना: पौस अंक:

निर्णय नं. ४२०७    ने.का.प. २०४७      अङ्क ९

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

२०४६ सालको रिट नं. ९५४

आदेश भएको मिति : २०४७।२।२।४ मा

निवेदक      : इनरुवा न.पं. वा.नं. २ बस्ने प्रेमकुमार कटुवाल

विरुद्ध

विपक्षी : प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी प्रधान कार्यालय नक्सालसमेत

विषय : उत्प्रेषण

(१)   नोकरीबाट बर्खास्त गर्ने गरी निर्णय गर्दा स्पष्टीकरणको माग गर्नु पर्नेमा शुरुमा तल्लो अभियोगमा स्पष्टीकरण सोधेको कुरालाई आधार मानी स्पष्टीकरण माग गरी रहनु नपर्ने भनी खडा गरेको पर्चा मनासिब नभएको र निवेदकलाई बर्खास्त गर्ने सजायँ गर्ने अधिकारी नियमावलीमा प्रहरी नायब महानिरीक्षक भएकोमा अधिकार नै नभएको प्रहरी अतिरिक्त महानिरीक्षकले नोकरीबाट हटाउने गरी गरेको निर्णय र सो निर्णयलाई सदर गर्ने गरेको निर्णय मिलेको नदेखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ।

(प्रकरण नं. १३)

निवेदक तर्फबाट     : विद्वान अधिवक्ता श्री शम्भु थापा

विपक्षी तर्फबाट      : विद्वान का.मु.सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ

आदेश

न्या.पृथ्वीबहादुर सिंह

१.     नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत निवेदनमा संक्षिप्त विवरण यस प्रकार छ ।

२.    निवेदक प्रहरी सेवामा प्रवेश गरेको अवस्था देखि प्रहरी ऐन तथा नियमावली बमोजिम आफ्नो कर्तव्य बहन गरी आएको छु र प्रहरी सेवामा प्र.स.नि. पदसम्म पदोन्नति भएको थिएँ । निवेदक प्र.स.नि. पदमा प्रहरी चौकी बरियापट्टिमा कार्यरत रहेको अवस्था प्रत्यर्थी प्र.ना.उ. ले २०४५।२।२२ मा मलाई स्पष्टीकरण पेश गर्न पत्र दिनु भयो । त्यसमा म उपर मिथ्या आरोप लगाई चार घण्टा भित्र स्पष्टीकरण पेश गर्नु भनियो । मैले स्पष्टीकरण पेश गरेपछि २०४५।२।२३ मा प्र.ना.उ.ले पुनः ४ घण्टा भित्र नै स्पष्टीकरण पेश गर्ने भनी पत्र दिइयो । २०४६।३।२ मा प्रत्यर्थी प्रहरी उपनिरीक्षकज्यूले स्पष्टीकरण पेश गर्न भनियो उक्त पत्रमा प्रहरी नियमावली, ०३३ को नियम ९ ९.४ को (क)(ख)(छ) र नियमावलीको नियम ३.५ को देहाय (झ) भन्ने कानुनी प्रावधानसम्म उल्लेख गरी स्पष्टीकरण माग गरिएको छ । निवेदकले वास्तविक र यथार्थ व्यहोरा उल्लेख गरी स्पष्टीकरण पेश गरी आई नै रहेको अवस्थामा २०४६।३।२० मा प्रत्यर्थी प्रहरी प्रधान कार्यालयको निर्णय बमोजिम निवेदकलाई सेवाबाट हटाउने निर्णय गरिएछ । निर्णयकर्ता प्रहरी अतिरिक्त महानिरीक्षकज्यू हुनुहुन्छ । प्रहरी नियमावली, २०३३ को परिच्छेद ९ को नियम ९.५ को देहाय (ग)(ङ) र (ज) को कसूर गरेको स्पष्ट हुन आएकोले जि.प्र.का. सिरहा र अञ्चल प्रहरी कार्यालय राजविराजबाट समेत सफाई पेश गर्ने मौका दिइसकेको मिसिलबाट देखिन आएको हुँदा सफाई पेश गर्न मौका दिई रहन मनासिब नपर्ने व्यहोरा यसै पर्चामा उल्लेख गरी निजलाई प्रहरी नियमावली, २०३३ को परिच्छेद ९ को नियम ९.५ को देहाय (ग)(ङ)(ज) को कसूरमा नियम ९.१० को उपनियम (३) को देहाय (ग) ले दिएको अधिकार प्रयोग गरी नियम ९.१ को देहाय (ज) बमोजिम नियम ९.५ अनुसार प्रहरी सेवाबाट हटाई दिने निर्णय पर्चा खडा गरी दिनु भएको निर्णय र सो उपर गरेको पुनरावेदन समेतबाट सो निर्णय कायमै राखेको निर्णय प्रहरी नियमावली, २०३३ को नियम ९.५ को (घ)(ङ)(ज), ९.१० क्र.सं. ३ प्रहरी ऐन, २०१२ को दफा १०(२) समेतको विरुद्ध हुँदा २०४६।३।२० को निर्णय पर्चा तथा सो लाई सदर गर्ने गरी प्रहरी महानिरीक्षकज्यूबाट २०४६।७।२० मा गरेको पुनरावेदन निर्णय पर्चा लगायत प्रत्यर्थीहरुको सम्पूर्ण काम कारवाही समेत बदर गरी सेवामा यथावत बहाल गराउनु भन्ने परमादेश समेत जारी गरी पाउँ भन्ने समेत रिटनिवेदन जिकिर ।

३.    यसमा के कसो भएको विपक्षीहरुसंग लिखितजवाफ झिकाई आएपछि पेश गर्नु भन्ने समेत २०४६।९।२६ मा एक न्यायाधीशको इजलासको आदेश ।

४.    निवेदक प्रेमकुमार कटुवाल आफ्नो इलाकामा हुने गैरकानुनी काम कारवाही रोकथाम तथा नियन्त्रण गर्नुपर्नेमा सो नगरी उल्टै आफैं त्यस्ता कार्यहरुमा सरीक रही गैरकानुनी तरिकाले लकडी भारत निकासी गराई आर्थिक लाभ उठाएको, स्थानीय व्यापारीहरुको उधारो तथा सापटी खाई रकम नतिरेको र बिना इजाजत कार्यालय छाडी हिंडी प्रहरी नियमावली, २०३३ को परिच्छेद ९ को नियम ९.५ को देहाय (ग)(ङ)(ज) अनुसार कसूर गरेको पुष्टि हुन आए अनुसार अधिकारप्राप्त अधिकारीबाट कानुन बमोजिम नै निर्णय पर्चा खडा गरी प्रहरी सेवाबाट हटाइएको र सो निर्णय उपर पुनरावेदन परी अधिकारप्राप्त अधिकारीबाट पुनरावेदन अस्वीकार गरिएको हुँदा रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेत प्रहरी प्रधान कार्यालयको लिखितजवाफ ।

५.    निवेदकले प्रहरी नियमावली, २०३३ को परिच्छेद ९ को नियम ९.५ को देहाय (ग)(ङ) र (ज) अनुसार कसूर गरेको पुष्टि हुन आए अनुसार ऐ.नियमावलीको ९.१ देहाय (च) बमोजिम प्रहरी सेवाबाट २०४६।३।२० को निर्णयले हटाइएको हुँदा रिटनिवेदन खारेज गरी पाउन अनुरोध छ भन्ने समेत प्रहरी अतिरिक्त महानिरीक्षकको लिखितजवाफ ।

६.    प्रेमबहादुर कटुवाल उपर प्रहरी नियमावली, २०३३ को परिच्छेद ९ को नियम ९.५ को देहाय (ग)(ङ) र (ज) अनुसारको कसूरमा ऐ.नियम ९.१ को देहाय (च) बमोजिम प्रहरी सेवाबाट हटाई दिन प्रहरी प्रधान कार्यालयको निर्णयमा कानुनी त्रुटि नदेखिएको हुँदा निजको पुनरावेदन प्रहरी नियमावलीको नियम ९.१२(२) बमोजिम पुनरावेदन सुन्ने अधिकारीबाट निर्णय भएको हुँदा रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेत प्रहरी महानिरीक्षकको लिखितजवाफ ।

७.    यस कार्यालयबाट निजलाई २०४६।३।२।६ मा स्पष्टीकरण सोधी सफाइको मौका दिइएको निजले गरेको अपराध अनुसार नियमावली अन्तर्गत कारवाही भई सजायँ हुन जरुरी भएकोले अख्तियारवाला पू.क्षे.प्र.का. मा राय ठहरसाथ पेश गरिएको । पू.क्षे.प्र.का. बाट प्र.प्र.का. मा निजलाई हुने सजायँका राय ठहर साथ प्रस्तुत गरिएकोमा प्र.प्र.का. बाट निजलाई भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी प्रहरी सेवाबाट हटाइएको । निवेदकले गरेको भ्रष्ट कृयाकलापबाट निजलाई सेवामा कायमै राख्दा प्रहरी संगठनमा असर भई बदनाम हुने भएकोले सेवाबाट हटाइएकोले निजको रिट खारेज गरी पाउँ भन्ने समेत अञ्चल प्रहरी कार्यालय स.अं. राजविराजको लिखितजवाफ ।

८.    विपक्षी प्रेमकुमार कटुवालले यस कार्यालय मातहत वरियारपट्टि प्रहरी चौकीमा कार्यरत रहँदाका अवस्थामा प्रहरी नियमावली, २०३३ को नियम ३.५(झ) बमोजिम स्पष्टीकरण पेश गर्ने भन्ने निजको निवेदनमा उल्लेख भएको देखिन्छ । तर यस कार्यालयबाट निजसंग स्पष्टीकरण माग गर्दा उक्त नियमावलीको नियम ९.५ को (झ) बमोजिम स्पष्टीकरण माग गरिएको हो निजले पेश गरेको स्पष्टीकरणमा सन्तोषजनक एवं विश्वसनीय नभएबाट निज उपर नियमावली बमोजिम कारवाहीको माग गर्दै सम्बन्धित कागजात अञ्चल प्रहरी कार्यालयमा पठाइएको थियो । प्रहरी नियमावली बमोजिम निज विपक्षीले गर्नु पर्ने काम कारवाही नगरी विपरीत काम गरेको स्पष्ट भएको हुँदा र प्रहरी नियमावली बमोजिम यस कार्यालयबाट निज उपर कारवाही गरी सजायँ गर्न नसकिने हुँदा सम्बन्धित कार्यालयमा पठाइएकोमा निजको आचरण अनुसार प्रहरी कार्यालयमा आफ्नो पद सुहाउँदो कामकाज नगरेको हुँदा निजलाई अवकाश गरिएकोले रिट खारेज गरी पाउँ भन्ने समेत प्रहरी नायब उपरीक्षकको लिखितजवाफ ।

९.    निवेदकले अनेक प्रकारका अनैतिक काम गरेकोले आवश्यक कारवाहीको लागि यस कार्यालयमा दाखिल भएको र यस कार्यालयबाट समेत निजलाई सफाइको मौका दिई प्राप्त सम्पूर्ण कागजात समेत अध्ययन गरी हेर्दा निजलाई साधारण सजायँ गरेर मात्र नहुने देखिएकोले यस कार्यालयबाट खडा भएको २०४६।३।७ को निर्णय पर्चा अनुसार सजायँ हुनु पर्ने र सो सजायँ गर्ने अधिकार यस कार्यालयलाई नभएको हुँदा सो सक्कल निर्णय पर्चा समेत सम्पूर्ण सक्कल कागजात कार्यवाहीको लागि स.अं.प्र.का. को पत्रसाथ प्राप्त मिसिल हेर्दा कसूर अनुसार सजायँ गर्ने अधिकार यस कार्यालयलाई नभएको हुँदा २०४६।३।११।१ को पत्रसाथ प्रहरी प्रधान कार्यालय कानुन शाखामा पठाइएको व्यहोरा अनुरोध छ भन्ने समेत पू.क्षे.प्र.का. विराटनगरको लिखितजवाफ ।

१०.    नियम बमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत रिटनिवेदनमा निवेदक तर्फबाट बहसको लागि उपस्थित विद्वान अधिवक्ता श्री शम्भु थापाले गर्नु भएको बहस जिकिर तथा विपक्षी तर्फबाट बहसको लागि उपस्थित विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठले गर्नु भएको बहस जिकिर समेत सुनियो ।

११.    निवेदक माग दावी अनुसारको रिट जारी गर्नु पर्ने हो होइन ? निर्णय दिनु परेको छ ।

१२.   निर्णयतर्फ विचार गर्दा यसमा निवेदक प्रेमकुमार कटुवाललाई जिल्ला प्रहरी कार्यालय सिरहाले २०४६।२।२२ मा पहिलो पटक र २०४५।२।२३ मा पुनः स्पष्टीकरण माग गर्दा कुन कानुन अन्तर्गतको कसूरको अभियोग लागेको हो भन्ने उल्लेख नगरेको सगरमाथा अञ्चल प्रहरी कार्यालयले २०४६।३।२ मा निवेदकसंग प्रहरी नियमावली, २०३३ को परिच्छेद ९ को नियम ९.४ को देहाय (क)(ख)(छ) र ऐ.नियमावलीको नियम ९.५ को देहाय (झ) बमोजिम कार्यवाही गरिने भनी स्पष्टीकरण माग गरेको पाइन्छ । पूर्व क्षेत्रीय प्रहरी कार्यालयको मिति २०४६।३।११ को पत्रमा निवेदकलाई अञ्चल प्रहरी कार्यालय राजविराजको राय अनुसार एक तह घटुवा गरी दिन राय साथ प्रहरी प्रधान कार्यालयमा फाइल पठाएको देखिन्छ ।

१३.   निवेदक, प्रहरी सहायक निरीक्षक भएको कुरामा विवाद देखिँदैन । निवेदकलाई स्पष्टीकरणको माग गर्दा प्रहरी नियमावली, २०३३ को नियम ९.४ को देहाय (क)(ख) र (छ) र ऐ.नियम ९.५ को देहाय (झ) बमोजिम स्पष्टीकरणको माग गरिएको छ । निवेदकलाई प्रहरी प्रधान कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षकले जि.प्र.का. सिरहा र अञ्चल प्रहरी कार्यालय राजविराजबाट समेत सफाई पेश गर्ने मौका दिइसकेको देखिँदा सफाइको मौका दिनु नपर्ने व्यहोरा उल्लेख गर्दै प्रहरी नियमावली, २०३३ को परिच्छेद ९ को नियम ९.५ देहाय (ग)(ङ)(ज) को ९.१० को कसूरमा उपनियम ३ को देहाय (ग) ले दिएको अधिकार प्रयोग गरी ऐ.नियम ९.१ को देहाय (च) बमोजिम नियम ९.५ अनुसार भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय गरेको देखिन्छ । नोकरीबाट बर्खास्त गर्ने गरी निर्णय गर्दा निजलाई स्पष्टीकरणको माग गर्नु पर्नेमा शुरुमा तल्लो अभियोगमा स्पष्टीकरण सोधेको कुरालाई आधार मानी स्पष्टीकरण माग गरिरहनु नपर्ने भनी खडा गरेको पर्चा पनि मनासिब नभएको र निवेदकलाई बर्खास्त गर्ने सजायँ गर्ने अधिकारी नियमावलीमा प्रहरी नायब महानिरीक्षक भएकोमा अधिकार नै नभएको प्रहरी अतिरिक्त महानिरीक्षकले नोकरीबाट हटाउने गरी २०४६।३।२० मा गरेको निर्णय सो निर्णयलाई सदर गर्ने गरेको २०४६।७।२० को निर्णय मिलेको नदेखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । निवेदकलाई साविक बमोजिमको पदमा बहाल गराउनु भनी विपक्षी कार्यालयका नाउँमा परमादेश समेत जारी हुने ठहर्छ । विपक्षीको जानकारीको लागि आदेशको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयमा पठाई फाइल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.हरगोविन्द सिंह प्रधान

 

इतिसम्वत् २०४७ साल ज्येष्ठ २ गते रोज ४ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु