निर्णय नं. ४२३३ - लेनदेन

निर्णय नं. ४२३३ ने.का.प. २०४७ अङ्क १२
संयुक्त इजलास
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
सम्वत् २०४४ सालको दे.पु.नं. ६८०
फैसला भएको मिति : २०४७।१०।८।३ मा
पुनरावेदक/प्रतिवादी : का.न.पं. वा.नं. ३१ बस्ने कबिर चित्रकार
विरुद्ध
विपक्षी/वादी : का.न.पं. धर्मपथ स्थित नेपाल बैंक लि.काठमाडौं अफिसका तर्फबाट नायब महाप्रबन्धक तथा मुख्य प्रबन्धक ब्रम्हलाल श्रेष्ठ
मुद्दा : लेनदेन
(१) वाणिज्य बैंक ऐन, ०३१ को दफा ४२ मा “यस ऐन अन्तर्गतको मुद्दा मामिलामा शुरु कारवाही र किनारा गर्ने अधिकार अञ्चल अदालतलाई हुनेछ” भन्ने उल्लेख भएबाट यस ऐन अन्तर्गतका बैंक पक्ष वा विपक्ष भएका मुद्दाको शुरु कारवाही र किनारा गर्ने अधिकार अञ्चल अदालतलाई रहे भएको पाइन्छ भनी व्याख्या भई सिद्धान्त समेत प्रतिपादन भइसकेको देखिँदा प्रस्तुत मुद्दामा ने.बै.लि. काठमाडौं अफिसको तर्फबाट नायब महाप्रबन्धक तथा मुख्य प्रबन्धकलाई फिराद दायर गर्ने हकदैया नभएको र मुद्दामा शुरु कारवाही र किनारा गर्ने अधिकार अञ्चल अदालतलाई नभई जिल्ला अदालतलाई रहेको भन्ने पुनरावेदन जिकिर पुग्न नसकी खारेज हुने ।
(प्रकरण नं. ९)
पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल
अवलम्बित नजीर : वादी निवेदक ने.बैं.लि. विरुद्ध आल्मोनियम फैक्ट्रीको विहारीलाल तुल्स्यान समेत भएको मुद्दामा स.अ.पू.ई. बाट २०४७।३।१९।३ मा प्रतिपादित सिद्धान्त ।
फैसला
न्या.बब्बरप्रसाद सिंह
१. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर न्याय प्रशासन सुधार ऐन, ०३१ बमोजिम पुनरावेदन परी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ ।
२. यस नेपाल बैंक लिमिटेड काठमाडौं अफिसबाट निज पार्टी कविर चित्रकारले रु. ३१,५००।– (एकतीस हजार पाँचसय) रुपैयाँ कर्जा लिनु भई सोको संरक्षण बापत २२१५ को त्रिपाल थान ४० (चालीस) धितो राखी वार्षिक १४% ले लाग्ने ब्याज समेत ३ महीनाभित्र चुक्ता गरी बुझाउने छु नबुझाए जमानतमा राखेको माल बिक्री गरी लिनु सो बिक्री गर्दा धेरै मोल जाने माल थोरै मोलमा बिक्री भएछ भनी उजूर गर्ने छैन सो बमोजिम गर्दा साँवा ब्याज उपर नभएजति रकम मेरो घर घरानाको जाय जेथाबाट असूल उपर गरी लिनु भनी लिखतको पिठमा रहेको शर्तनामालाई समेत मन्जूर गरी बैंक नियमानुसार ०३१।५।२७ मा कर्जा ३७। को तमसुक समेत लेखिदिनु भए अनुसार उक्त लिखतको म्याद ३ महीना भनेको ०३१।८।१६ गते सम्म साँवा ब्याज चुक्ता गरी बुझाई छिटो मालहरु निखनी लिनु पर्नेमा सिर्फ ब्याज बापत भनी ०३३।८।१६ मा रु. ६२४५ जम्मा गर्नु भएको र २०३४।५।१५ मा १० थान त्रिपाल पार्ट पेमेन्ट र ब्याज बापत भनी रु. १७,०९९।१९ र मिति २०३६।३।३१ मा रु. २०,०००।– पार्ट पेमेन्ट गर्नु भई यस पछि कुनै पनि बैकिड्ड रकम नबुझाई चुपचाप रही बसेकोले साँवा तथा ब्याज चुक्ता गर्न विपक्षी कविर चित्रकारलाई समय समयमा ताकेता पत्र लेख्दा समेत नबुझाएकोले सो बैंकको नियमानुसार बाँकी रहेको त्रिपाल थान १८ लिलाम बिक्री गर्नको लागि २०४१।१।१६ गते बढाबढमा लिलाम बिक्रीको कार्य समाप्त भएको हुनाले सो माल कबोलवालालाई दिनु अगावै धितो रहेको माल साँवा ब्याज तिरी फिर्ता लानु भनी पत्र व्यवहार गर्दा विपक्षीले ३५ दिनको लागि डेलीभरी रोकी पाउँ भनी भाखाभित्र चुक्ता गर्न नल्याउनु भएकोले २०४१।५।११ गतेको गोरखापत्रमा प्रकाशित सूचना बमोजिम २०४१।५।३१ गते लिलाम बढाबढ हुँदा सन्तोषजनक नभएको हुनाले अन्य व्यापारी ग्राहक वर्गहरु तहसील गरी सबैभन्दा बढी मोलमा भैरव कन्सट्रक्सनलाई बिक्री भई गए तापनि निजले साँवा तथा ब्याज भनी गरेको पार्ट पेमेन्ट कटाउँदा लिखत मिति २०३१।५।१७ देखि २०४१।९।२६ गते तकको साँवा ब्याज तर्फ रु. १२,७९९।४८ र साँवा सरहकै बीमा र गोदाम भाडा समेत रु. ५,५५५।३७ र ब्याज रु. ५७४।२५ समेत जम्मा रु. १८,८९९।१० (अठार हजार आठसय उनानसय पैसा दश) बाँकी हुन् आएकोले यो नालीस गर्न आएको छु । अतः विपक्षीलाई झिकाई उक्त साँवा तथा ब्याज सहितको रु. १८,८९९।१० र साँवा बीमा चार्ज गोदाम भाडा समेत रु. १८,३२४।८५ को उक्त लेखिए बमोजिम सयकडा १६% ले यो फिराद दायर मिति २०४१।९।२७ देखि मुद्दा किनारा लागी बिगो भराउ हुने दिन सम्मको साँवा ब्याज समेतको थैली असूल उपर गरिपाउँ भन्ने समेत व्यहोराको नेपाल बैंक लिमिटेड काठमाडौंका मुख्य प्रबन्धक विश्वम्भरमान सिंह प्रधानको मिति २०४१।१०।३।४ को फिराद दावी ।
३. मैले मिति २०३१।५।१७ मा रु. ३१,५००।– विपक्षीबाट कर्जा लिएपछि पटक पटक साँवा ब्याज र लिलाम बिक्रीबाट आएको रकम समेत जम्मा रु. ५६,४३४।९१ बुझाई सकेको छु । जुन तथ्य विपक्षीबाट पेश भएको स्टेटमेन्टबाट पनि प्रष्ट हुन्छ मैले बैंकमा राखेको धितो त्रिपाल साविक गोदामबाट अन्यत्र बैंकले सारी धेरै नोक्सान गरी दिएकोले सो कुराको निवेदन गर्दा समेत कारवाही नगरी दिए तापनि मैले अब बैंकलाई रु. ६,५५५।०९ भन्दा बढी बुझाउनु पर्ने हुँदैन त्यसको अलावा ब्याज दर मिलेको छैन किनभने कर्जा लिंदाको अवस्थामा मात्र १४% मात्र ब्याज भएकोले पछि बढेको ब्याज दर मुताविक मैले बुझाउनु पर्ने समेत छैन र त्रिपाल उचित ढड्डबाट नराखी असुरक्षित भई नोक्सान हुन गएको समयमा नै यस बारेमा निवेदन गर्दा बैंकले कारवाही नगरी दिएकोले म प्रतिवादीको कुनै दायित्व उत्पन्न हुँदैन भन्ने समेत व्यहोराको कबिर चित्रकारको मिति २०४२।१।११।३ को प्रतिउत्तरपत्र ।
४. संचालक समितिले बैंकको तर्फबाट मुद्दा दायर गर्ने अधिकार मुख्य प्रबन्धकलाई गरेको नदेखिँदा अधिकार विहीन मुद्दा दायर भएको देखिँदा इन्साफ गर्न नमिली खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको बा.अं.अ.को मिति ०४२।५।३०।१ को फैसला ।
५. काठमाडौं शाखाबाट प्रतिवादी कविर चित्रकारले कर्जा लगेको सम्बन्धमा कुनै विवाद देखिँदैन । जुन बैंकको शाखाबाट कर्जा प्रदान गरिएको छ सोही शाखा कार्यालयको प्रमुखले प्रस्तुत फिरादपत्र दायर गरेको देखियो उक्त नालेश दायर गर्ने अधिकार नेपाल बैंक लिमिटेड काठमाडौं शाखाको मुख्य प्रबन्धकलाई छैन भन्ने कुराको सम्बन्धमा विचार गर्दा २०४१ सालको दे.पु.नं. ५२९ को पुनरावेदक प्रतिवादी रामनाथ माडवारी विरुद्ध नेपाल बैंक लिमिटेड श्रीपुर वीरगंज भएको लेनदेन मुद्दामा र ०३७ सालको दे.पु.नं. २०३६ को पुनरावेदक सिताराम अग्रवाल र ने.बैं.लि. गौर उपशाखा भएको लेनदेन मुद्दामा बैंकले शाखा तथा उपशाखा प्रमुखलाई समेत नालिश दिन पाउने हक अधिकार छ भनी सर्वोच्च अदालतबाट सिद्धान्त प्रतिपादन भएको नजीर बेञ्च समक्ष पेश हुन आएकोले बागमती अञ्चल अदालतले नेपाल बैंक लिमिटेड काठमाडौंको तर्फबाट दायर गरेको प्रस्तुत फिरादपत्र खारेज गर्ने गरेको इन्साफ मिलेन । बागमती अञ्चल अदालतको मिति ०४२।५।३० को निर्णय बदर गरिएको छ । अब कानुन बमोजिम निर्णय गर्नु भनी दुवै थर झगडियालाई तारेख तोकी मिसिल समेत बागमती अञ्चल अदालतमा पठाउने भन्ने म.क्षे.अ.को मिति ०४४।६।२१ को फैसला ।
६. विपक्षीले फिराद दायर गर्दा लेनदेन व्यवहारको २ नं. को हदम्याद भित्र भनी दायर गर्नु भएको छ । यसरी लेनदेन व्यवहारको महल अन्तर्गतको हदम्याद पक्री फिराद दायर गर्दा न्याय प्रशासन सुधार ऐन, ०३१ को दफा ९ अनुरुप जिल्ला अदालतमा फिराद दायर गर्नु पर्नेमा बागमती अञ्चल अदालतमा दायर गरेकोमा फिराद खारेज गर्ने गरी गरेको बागमती अञ्चल अदालतको फैसला मनासिब हुँदा सोही अनुरुप न्याय पाउँ भन्ने प्रतिवादी कविर चित्रकारको पुनरावेदनपत्र ।
७. नियम बमोजिम पेशी सूचीमा चढी निर्णयार्थ इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको मिसिल अध्ययन गरी पुनरावेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री हरिहर दहालले गर्नु भएको बहस जिकिर समेत सुनियो ।
८. यसमा मुल रुपमा प्रस्तुत मुद्दाको फिराद बागमती अञ्चल अदालतमा दायर भएको मिलेको छैन उक्त मुद्दा लेनदेन सम्बन्धी हुँदा जिल्ला अदालतमा दायर हुनुपर्छ भनी र वाणिज्य बैंक ऐन, ०३१ को दफा ६ बमोजिम सञ्चालक समितिबाट अधिकार प्रत्यायोजित व्यक्तिले फिरादपत्र दायर गर्नु पर्नेमा सो नगरी अधिकार विहीन नायब महाप्रबन्धक तथा मुख्य प्रबन्धकबाट मुद्दा दायर गरेको भन्ने प्रतिवादीले जिकिर लिएको पाइन्छ ।
९. निवेदक वादी ने.बैं.लि. विरुद्ध अल्मोनियम फैक्ट्रीको विहारीलाल तुल्स्यान समेत भएको मुद्दामा सर्वोच्च अदालत पूर्णइजलासबाट मिति ०४७।३।१९।३ मा फैसला हुँदा ने.बै.लि. को सञ्चालक समितिले ०१४।४।७ मा निर्णय गरी बैंकका शाखा प्रशाखा प्रबन्धकहरुलाई बैंकको तर्फबाट कानुनी रुपमा प्रतिनिधित्व गर्न र बैंकको ऋण तथा कारोबारको सम्बन्धमा कानुनी कारवाही गर्न समेतको लागि अधिकार प्रत्यायोजन गरी सकेको र वाणिज्य बैंक ऐन, ०३१ को दफा ४२ मा “यस ऐन अन्तर्गतको मुद्दा मामिलामा शुरु कारवाही र किनारा गर्ने अधिकार अञ्चल अदालतलाई हुनेछ” भन्ने उल्लेख भएबाट यस ऐन अन्तर्गतका बैंक पक्ष वा विपक्ष भएका मुद्दाको शुरु कारवाही र किनारा गर्ने अधिकार अञ्चल अदालतलाई रहे भएको पाइन्छ भनी व्याख्या भई सिद्धान्त समेत प्रतिपादन भइसकेको देखिँदा प्रस्तुत मुद्दामा ने.बै.लि. काठमाडौं अफिसको तर्फबाट नायब महाप्रबन्धक तथा मुख्य प्रबन्धकलाई फिराद दायर गर्ने हकदैया नभएको र मुद्दामा शुरु कारवाही र किनारा गर्ने अधिकार अञ्चल अदालतलाई नभई जिल्ला अदालतलाई रहेको भन्ने पुनरावेदन जिकिर पुग्न नसकी खारेज हुने ठहर्छ ।
१०. अतः कानुन बमोजिम निर्णय गर्न दुवै पक्षलाई तारेख तोकी मिसिल बागमती अञ्चल अदालतमा पठाउने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.त्रिलोकप्रताप राणा
इतिसम्वत् २०४७ साल माघ ८ गते रोज ३ शुभम् ।