शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४२३८ - जग्गा खिचोला

भाग: ३२ साल: २०४७ महिना: चैत्र अंक: १२

निर्णय नं. ४२३८    ने.का.प. २०४७          अङ्क १२

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०४५ सालको दे.पु.नं. ७६४

फैसला भएको मिति: २०४७।११।१३।२ मा

पुनरावेदक/प्रतिवादी : नुवाकोट जि.कालिका गा.पं. वा.नं.५ देउराली बस्ने मुरली तामाङनी

विरुद्ध

प्रत्यर्थी/वादी: ऐ.ऐ.बस्ने उजेली तामाङको मु.स.गर्ने नरबहादुर लामा

मुद्दा : जग्गा खिचोला

(१)   सबूद प्रमाणको समुचित मूल्याड्ढनबाट वादी दावी बमोजिमको जग्गामा प्रतिवादीहरुले खिचोला गरेको ठहर्‍याएको फैसलामा परिवर्तन गरिरहन नपर्ने ।

(प्रकरण नं. १८)

पुनरावेदक/प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ता श्री रेवन्तबहादुर कुंवर

प्रत्यर्थी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री बोर्णबहादुर कार्की

फैसला

न्या.गजेन्द्रकेशरी बास्तोला

१.     मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर न्याय प्रशासन सुधार ऐन, २०३१ बमोजिम पुनरावेदन परी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ ।

२.    ००९।११।५ मा मैले ४०० मा राजीनामा पास गरी लिई ०२८ सालको बालीतक भोगचलन गरी आएको छु । म बाचुन्जेल मैले खाने र मृत्यु पश्चात एकासगोलका छोरा नरबहादुर लामाले खाने भनी शेषपछिको बकसपत्र ०१७।२।१७ मा नुवाकोट मालबाट पास गरी पूर्व उत्तर नरबहादुरकै बारी पश्चिम बाटो मलखाद मेरै बारी राम बहादुरको वारी दक्षिण मुलबाटो यति चारकिल्लाभित्रको घरगोठसमेत भएको झिम्कीको बारी श्रेणीको हुँदा हाल मालमा मेरो नाउँमा दर्ता हुने मेरो उपभोगको जग्गा ०२९।५।१९ गते मकै बाली लुटपिट गरी लगेकोले फिराद दिई सकेको हुँदा गोठ घर र जग्गामा समेत खिचोलामा मेटाई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।

३.    झिम्कीको घरवारी भन्ने जग्गा र वादी दावीको चार किल्ला भित्रको जग्गा छुट्टै छ । वादीको जग्गामा बाली लुटपिट गरेको छैन जग्गा खिचोला पनि गरेको छैन भन्ने समेत व्यहोराको प्रतिवादी मध्येको सन्तलाल तामाङ र मुरली तामाङनीको प्रतिउत्तरपत्र ।

४.    मुरली तामाङनीको चार किल्लाको जग्गा चौतारिया खान्गीको हुँदा ०१७।१८ साल देखि तिरो बुझाई भोगचलन गरी आएकी छिन, वादी दावीको जग्गा छुट्टै छ वादीको जग्गामा खिचोला गरेको छैन भन्ने समेत व्यहोराको हेमबहादुर र फिष्टी भन्ने विष्णुकुमारीको प्रतिउत्तरपत्र ।

५.    वादी दावीको जग्गामा प्रतिवादी मुरली तामाङनी भई बसी आएकी छिन् । वादीले राजीनामा गरी लिएको जग्गा झगडा परेको जग्गाको पूर्व पट्टि पर्दछ भन्ने समेत व्यहोराको समौनाथ खनाल समेत जना १२ को बयान रहेछ ।

६.    वादी दावीको जग्गामा ०२८ साल देखि नरबहादुर लामा नै कमाई आएका थिए हाल झगडा नै छ भन्ने समेत व्यहोराको सरजमीनका व्यक्ति शेषराज सेढाई समेतको बयान रहेछ ।

७.    झगडा जनिएको नक्शा नं. १२ मा प्र.मुरली तामाङ्नीको घर जग्गा भई भोगचलन गर्दै आएको भन्ने साक्षी र सरजमीनको भनाई भएको र सो बाहेक निजको अन्त कतै घर जग्गा नभएको भन्ने हुँदा निजको भोगचलन नभएको भन्न मिलेन । बिना दर्ता तिरोको जग्गामा वादी पक्षको हक पुग्छ भन्न पनि मिल्दैन । तसर्थ हकै नपुगेको जग्गामा उजूर गर्न अ.बं. ८२ नं. ले नमिल्ने हुँदा अ.बं. १८० नं. ले वादी दावी खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको ०३६।३।२१ को नुवाकोट विशेष अदालतको फैसला रहेछ ।

८.    उपयुक्त फैसला चित्त बुझेन भन्ने समेतको ०३६।४।२२ को मध्यमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदनपत्र ।

९.    ०१३ साल देखि ०३५ साल सम्मको तिरी भरो नरबहादुरले बुझाएको भन्ने देखिन आएकोले राजीनामा दर्ता नामसारी समेतको प्रमाण आएको अवस्थामा प्रस्तुत नालेश अ.बं. ८२ नं. ले नालेश गर्ने हकदैया नभएको भनी अ.बं. १८० नं. ले नालेश खारेज गर्ने गरेको विशेष अदालत नुवाकोटको फैसला मिलेको नदेखिदा बदर हुन्छ कानुन बमोजिम हक बेहकमा इन्साफ तहकिकात गरिदिनु भनी मिसिल बागमती अञ्चल अदालतमा पठाई दिने ठहर्छ भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०३८।१०।२१ को फैसला रहेछ ।

१०.    नुवाकोट जिल्ला मदानपुर गा.पं. कार्यालयको मिति ०३८।४।१६ को पत्रबाट झिम्कीवारीको ०१३ सालदेखि ०३५ साल सम्म तिरो भरी वादी नरबहादुरले बुझाएको देखिन्छ । यस अदालतको आदेशानुसार भई आएको नक्शा नं. ४ को विवादित जग्गा सर्भे नापीमा मदानपुर गा.पं. वडा नं. ५ कि.नं. २०५ मा जग्गा रोपनी ९० नापी भई नापीको कैफियतमा झगडा जनिएको छ, सो नक्शाको चार किल्ला वादीको ००९।११।५ र ०१७।२।२७ को लिखतको चार किल्लासंग मिल्न भिड्न आई वादी नरबहादुर लामाको जग्गा नै देखिंदा वादीको फिराद दावी बमोजिम प्रतिवादीहरुले खिचोला गरेको ठहर्छ भन्ने समेत व्यहोराको बा.अं.अ. को मिति ०४३।२।६ को फैसला रहेछ ।

११.    बा.अं.अ. ले गरेको उक्त त्रुटिपूर्ण फैसलामा चित्त बुझेन । सो फैसला बदर गरिपाउँ भन्ने समेत व्यहोराको मुरली तामाङ्नीको म.क्षे.अ. मा परेको पुनरावेदनपत्र ।

१२.   विवादास्पद घर जग्गाको अधिकारको श्रोत भनी वादीले ००९ सालको राजीनामा र ०१७ सालको शेषपछिको बकसपत्र पछि ०३५ सालमा भएको नामसारी ०३५ साल सम्म तिरो बुझाएको प्रमाण समेत प्रस्तुत गरी प्रमाणित गराएका र प्रतिवादीहरुबाट प्रतिउत्तर जिकिर बमोजिम ठुली आमा र ठुली आमा सासुको मृत्युपछि प्रतिवादीको हक भएको भनिएका मृतकहरुकै हकको र निजपछि प्रतिवादीहरुको हकको लिखत प्रमाणको अभावमा प्रतिवादीको भनाइलाई सत्यमा ठहराउन नमिल्ने । साथै वादीको राजीनामा, बक्सपत्रको जग्गा विवादास्पद जग्गा नभए कुन जग्गा हो ? सो पनि प्रतिवादीहरुले लेखाउन देखाउन नसकेको हुँदा सबूद प्रमाणको समुचित मूल्यांकनबाट वादी दावी बमोजिमको जग्गामा प्रतिवादीहरुले खिचोला गरेको ठहराएको बा.अं.अ. को फैसला मनासिब ठहर्छ भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला रहेछ ।

१३.   मध्यमाञ्चल क्षेत्रीय अदालतले मेरो प्रमाणहरुको मूल्याड्ढन नै नगरी बुझ्नु पर्ने प्रमाण नै नबुझी मलाई हराई गरेको फैसला कानुनी त्रुटिपूर्ण हुँदा बदर गरी विवादित जग्गाको पुनः नक्शा गरी मेरो पुनरावेदन जिकिर अनुरुप गरिपाउँ भन्ने समेत व्यहोराको प्रतिवादी मुरली तामाङनीको यस अदालतमा पर्न आएको अनुमतिको निवेदन ।

१४.   विवादित जग्गा वादीको हक भएको भनेको २००९ सालको राजीनामा ०१७ सालको शेषपछिको बकसपत्र ०३५ सालको नामसारी दा.खा. र तिरो तिरेको ०१३ साल देखिका रसिद भन्ने मुख्य वादी जिकिर भएकोमा सो कागजातहरु प्र.लाई कानुन अनुरुप सुनाएको पनि पाइँदैन । विवादित जग्गामा भएको नक्शा मुचुल्कामा पनि दुवै पक्षको व्यहोरा अलग अलग लेखी राजीनामाको चारकिल्ला यो हो, प्रतिवादीको यो हो भन्ने प्रष्ट खुलाई नक्शा गरी निर्णय गरेको पनि देखिँदैन । यस्तो स्थितिमा वादी दावी बमोजिमको जग्गामा प्रतिवादीले खिचोला गरेको ठहर्‍याई म.क्षे.अ. ले गरेको निर्णय अ.बं. ७८ र अ.बं. १८४(क), १८५ र अ.बं. १७१ नं. समेतको कानुनको व्याख्या त्रुटि गरेको देखिन आएकोले न्या.प्र.सु. (संशोधन सहित) ऐन, ०३१को दफा १३(५)को खण्ड (ख) अनुसार प्रस्तुत निवेदनमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत व्यहोराको यस अदालतको सं.इ.को आदेश ।

१५.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री रेवन्तबहादुर कुँवर तथा प्रत्यर्थी वादी तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री बोर्णबहादुर कार्कीले गर्नु भएको बहस समेत सुनियो ।

१६.    अब पुनरावेदन सहितको मिसिल अध्ययन गरी मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला मिले नमिलेको सम्बन्धमा निर्णय गर्नु पर्ने देखिन आयो ।

१७.   यसमा २००९।११।५ मा राजीनामा पास गरी लिएको जग्गा अविछिन्न रुपमा भोग गरी आएको सो जग्गा समेत ०१७।२।१७ मा छोरा नरबहादुरले खाने गरी शेषपछिको बकसपत्र पारित गरिदिएको सो जग्गाको वाली सम्बन्धमा मुद्दा दायर गराई सकेकोमा हाल आएर जग्गामा खिचोला गरेकोले खिचोला मेटाई पाउँ भन्ने समेतको फिरादपत्र भएको विवादास्पद जग्गा अघि देखि नै झिम्कीको हो, झिम्की ठुली आमा र ठुली आमा सासू भएको र उहाँको सन्तान नभएबाट निजको मृत्युपश्चात भोग गरिआएको छु भन्ने सन्तलाल र मुरली, सेती समेतको संयुक्त प्रतिउत्तरपत्र भएकोमा वादीले प्रमाण स्वरुप अंगालेको मिति ००९।११।५ को साहू यिनै वादी उजेली तामाङ्नी भएको पारित राजीनामाको प्रतिलिपि हेर्दा पूर्व नरबहादुरको बारी, पश्चिम ठाडो बाटो, उत्तर खरिमाको रुख, दक्षिण नरबहादुर कै बारी यति चार किल्ला भित्रको मकै बिजन पाथी २ जाने तिरो रु. १। लागेको मु.हेमबहादुर तामाड्ड चौतारिया तहविलमा तिरो बुझाउनु पर्ने, पाखो बारी र सो बारीमा भएको फुसको छाना भएको ७।११ को कच्ची घर सहित भन्ने जनिएको ०१७।२।१७ को वादी उजेलीले नरबहादुरलाई गरिदिएको पारित भएको शेषपछिको बकसपत्रमा पूर्व नरबहादुरको बारी भन्ने जनिएको देखिन्छ । यसरी ०४२ सालमा भएको नक्शा नं. ४ को विवादको भनेको कि.नं. २०५ जग्गामा घर भएको र ०४७ सालमा भएको नक्शाको नं. ४ को विवादको जग्गामा घर भएको देखिएको, र विवादित जग्गाको पश्चिम तर्फ हेर्दा ०४२ सालमा भएको नक्शा र ०४७ सालमा भएको नक्शामा पश्चिमतर्फ रामबहादुरको जग्गा देखिएको तथा उपरोक्त दुवै साल मितिमा भएको विवादित जग्गाको नक्शाको दक्षिणतर्फ मुलबाटो देखिन्छ । साथै विवादास्पद जग्गा सित ००९ सालको राजीनामा र ०१७ सालको शेषपछिको बकसपत्रमा उल्लेखित चार किल्ला मिलाई भिडाई हेर्दा मिल्न भिड्न आएको देखिन्छ । विवादास्पद जग्गामा बनेको कच्ची घर ००९ सालको राजीनामामा समेत उल्लेख भएकै प्रतिवादीहरुले जिकिर लिए बमोजिम पुष्टिको लागि कुनै लिखत सबूद पेश गर्न सकेको देखिँदैन । मालपोत कार्यालय नुवाकोटको नामसारी कित्ताबाट वादी दावीमा उल्लेखित झिम्कीवारीको मोहीमा उजेली तामाङनीको नाम जनिएको भई मिति ०३५।३।२८।२ मा बकसपत्रको आधारमा नरबहादुरको नाममा नामसारी समेत भएको देखिन्छ । ०३५ साल सम्म मालपोत असूल गर्ने कार्य सम्बन्धित गा.पं. मा रहेको र सम्बन्धित मदानपुर गा.पं. कार्यालयको ०३८।४।१६ को पत्रबाट समेत झिम्कीवारीको ०१३ साल देखि ०३५ सालसम्मको तिरो वादी नरबहादुरले बुझाएको भन्ने लेखिएको विवादित कि.नं. २०५ को जग्गाको नापी उतारमा विरह मकै भन्ने जनिएकोबाट सो जग्गा वारी नै भएको स्पष्ट हुन्छ ।

१८.   उपर्युक्त उल्लेखित विवादित जग्गाको अधिकारको श्रोत भनी वादीले ००९ सालको राजीनामा ०१७।२।१७ को शेषपछिको बकसपत्र ०३५ सालमा भएको नामसारी तथा ०३५ साल सम्म तिरो बुझाएको प्रमाण समेत प्रस्तुत गरी दर्ता हकभोग भएको प्रमाणित गराएका र प्रतिवादीहरुबाट प्रतिउत्तर जिकिर बमोजिम ठुली आमा र ठुली आमा सासूको मृत्युपछि प्रतिवादीहरुको हक भएको भन्ने लिखत प्रमाणको अभावमा प्रतिवादीहरुको भनाइलाई सत्य मान्न ठहर्‍याउनु नमिल्ने र साथै वादीको राजीनामा बकसपत्रको जग्गा विवादित जग्गा नभए अरु कुन जग्गा हो, सो प्रतिवादीहरुले, लेखाउन देखाउन नसकेको हुँदा सबूद प्रमाणको समुचित मूल्याड्ढनबाट वादी दावी बमोजिमको जग्गामा प्रतिवादीहरुले खिचोला गरेको ठहर्‍याएको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा परिवर्तन गरिरहन नपर्ने देखिँदा सो इन्साफ मनासिब ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.बब्बरप्रसाद सिंह

 

इतिसम्वत् २०४७ साल फाल्गुण १३ गते रोज २ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु