निर्णय नं. ७९५९ - अंश ।

निर्णय नं.७९५९ ने.का.प. २०६५ अङ्क ४
सर्बोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह
माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ
सम्वत् २०६१ सालको दे.पु.नं. ––८६९०
फैसला मितिः २०६४।११।२२।४
मुद्दाः अंश ।
पुनरावेदक प्रतिवादीः जिल्ला कपिलबस्तु बिजुवा गा.वि.स. वडा नं. ६ घर भई हाल कपिलवस्तु जिल्ला, कपिलबस्तु गा.वि.स. जगहेवा वार्ड नं. २ बस्ने नन्दकिशोर शुक्ल
बिरुद्ध
प्रत्यर्थी वादीः साविक जिल्ला कपिलबस्तु बिजुवा गा.वि.स. वडा नं. ६ घर भई हाल भारत राष्ट्र सोहरतगढ बस्ने सरस्वती शुक्ल
शुरु फैसला गर्नेः
मा.न्या. श्री रामकृष्ण भट्ट
पुनरावेदन फैसला गर्नेः
मा.मु.न्या. श्री राजेन्द्रकुमार भण्डारी
मा.न्या. श्री चन्द्रबहादुर कार्की
§ अंश लिए पाएका लिखत, सम्पत्तिको दा.खा. दर्ता भोग, बिक्री ब्यवहारको कुनै तथ्य र प्रमाण पेश हुन नआएको अवस्थामा मौखिक जिकिरको आधारमा अथवा अन्यत्र रहे बसेको आधारमा मात्र अंश लिएको मान्ने अवस्था नहुने ।
§ एकासंगोलमा नरहेको भन्ने कानून बमोजिमको तथ्य र अवस्था कहिं कतैबाट खुल्न नआएको अवस्थामा आफु संगोलमा नरहेको र राजीनामाबाट खरीद गरेको सम्पत्तिलाई निजी आर्जनवाट खरीद गरेको सम्पत्ति हो भनी लिएको जिकिर तदनुसारको कुनै वैध लिखत वा अन्य कानून बमोजिमको कुनै ग्रहणयोग्य प्रमाणबाट पुष्टि भएको देखिन नआउँदा प्रमाण ऐन, २०३१ को दफा ६(क) अनुसार अन्यथा प्रमाणित नभएसम्म जुनसुकै अंशियारका नाममा रहेको सम्पत्ति संगोलको सम्पत्ति भएको भनी अदालतले अनुमान गर्नुपर्ने ।
(प्रकरण नं.२)
§ जग्गा खरीद बिक्रीको कारोवार गरी आर्जन गरेको रकमबाट खरीद गरेको भन्ने जिकिर लिएपनि संगोलमा रहेकै अवस्थामा संगोलको कुनै अंशियारले व्यापार, व्यवसाय अन्य कुनै कारोबार गरी त्यसरी आफ्नो नाममा खरीद गरेको सम्पत्ति सो खरीद गर्ने अंशियारको निजी हुने र अन्य अंशियारको अंश नलाग्ने भन्न नमिल्ने ।
§ संगोलको अंशियारले आफ्नो नाममा रहेका सम्पत्तिमा आफ्नो Exclusive right अर्थात अन्य अंशियार वाहेकको आफ्नो निजी हक भनी दावी गर्नका लागी कानूनले निजी हकको मानिने अपुताली वा बकसपत्रको लिखत अथवा वादी लगायत अन्य अंशियार समेत साक्षी बसेको जग्गा खरीद सम्बन्धी कानून बमोजिमको लिखत समेत पेश गरी सो कुरा स्थापित गराउन सक्नु पर्ने ।
(प्रकरण नं.३)
पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री सतिशकृष्ण खरेल
प्रत्यर्थी वादी तर्फंवाटः
अवलम्वित नजीरः सिद्धान्त ने.का.प. २०५१, नि.नं. ५००९, पृष्ठ ९१२
फैसला
न्या.रामकुमारप्रसाद शाहः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत बुटवलबाट मिति २०६०।१०।१३ मा भएको फैसला उपर पर्न आएको पुनरावेदन यस अदालतको कार्यक्षेत्र भित्र पर्ने भई मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः–
वंशमणि शुक्लाको ३ भाई छोराहरु केदार शुक्ल, त्रियुगी नारायण शुक्ल र दशरथ शुक्ल रहनु भएकोमा यी तीन भाई वीच अंशबण्डा भई सकेको छ । ससुरा त्रियुगी नारायण शुक्लाका तीन छोरा जेठा दिपनारायण शुक्ला, माइला नन्द किशोर शुक्ला र कान्छा म वादीका पति जनार्दन शुक्ला रहनु भएकोमा बिपक्षी मध्येका पति जनार्दन शुक्ला संग म वादीको ०४३ सालमा विवाह भई हामीबाट एक छोरी शशी शुक्लाको जन्म भई हाल १३ बर्षकी छन् । हामी अंशियार सासु, ससुरा, जेठाजु, पति समेत संगोलमा बस्दै आएका छौं । यसरी संगोलमा बस्दै आएकोमा बिपक्षी पतिले काठमाडौ तिरबाट २०५०।३।२० गते नाम थाहा नभएकी एक अर्की श्रीमति ल्याएका र मैले सोध खोज गर्दा सबैजना एकजुट भई मलाई घरमा वस्न दिन्नौ भनी घरबाट निकाला गरिदिएकाले अन्यायमा परी नालेश गर्न आएको छु । तसर्थ बिपक्षीहरुबाट तायदाती माग गरी सम्पूर्ण सम्पत्तिको ५ भाग लगाई ५ भागको १ भाग मध्ये छोरीको विवाह भाग पर सारी लोग्नेको अंश भागबाट आधा अंश दिलाई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।
वादी दावी सम्पूर्ण झुठ्ठा हो, त्रियुगी नारायणको तीन छोरा भएकोमा जेठा दिप नारायण, माहिलो म नन्दकिशोर र कान्छो वादीको लोग्ने जनार्दन शुक्ल हुन् । जनार्दनका २ वटा श्रीमती जेठी सरस्वती र कान्छी भगवती शुक्ल हुन् । सरस्वती तर्फबाट १ छोरी र भगवती तर्फबाट २ सन्तान १ छोरा र १ छोरीको जन्म भएको छ । तीन छोरा मध्ये २ वटा छोरा जनार्दन र नन्दकिशोर जागिरे भएका र पैत्रृक सम्पत्ति कम भएकाले २०३४।२।१४ गते घरसारमा आ आफनो खती उपति गर्ने गरी छुट्टी भिन्न भएको र हामी प्रतिवादी त्रियुगीनारायण र दिपनारायण संगै बसेका छौं । छुट्टी भिन्न भएका जागिरे भएकाले आ–आफ्नो कमाईले आ–आफनो सम्पत्ति आर्जन गरेका छन् । वुहारी सरस्वती माइतीमा बसेकी छिन् । छुट्टि भिन्न भएको छोराको श्रीमती भएकीले हामीले अंश दिनुपर्ने होइन । आफ्नो लोग्नेबाट मात्र अंश पाउने वा माग गर्नुपर्ने हो भन्ने समेत व्यहोराको त्रियुगी नारायण र दिपनारायणको संयुक्त प्रतिउत्तर पत्र ।
हामी तीन भाई दिपनारायण शुक्ला, नन्द किशोर शुक्ला र कान्छो म जनार्दन शुक्ला हौं । म र मेरो दाजु नन्दकिशोर शुक्ल २०३४।२।१४ गते नै घरसारमै छुट्टी भिन्न भै अलग–अलग वसी खति उपति गर्दै आएका छौं । दाजुको नाउँको सम्पत्ति वहाँको स्व–आर्जनको हो । अंश दिनुपर्ने भए मेरो श्रीमतीलाई मैले मात्र दिनुपर्ने हो । अरुले होइन । बिपक्षीले अंशियार समेत लोप गरेकी छिन । मेरो २ वटा श्रीमती भएकी र जेठी सरस्वती बिपक्षी र कान्छी भगवती हुन् । सरस्वती तर्फबाट १ छोरी र कान्छी भगवतीसंग २०४९।११।२६ मा विवाह भई निजबाट १ छोरा हिमांशु शुक्ला र १ छोरी सुधाको जन्म भएको छ । ४ अंशियार हुँदाहुँदै २ अंशियार मात्र देखाएको दावा झुठ्ठा हो । उनलाई खान लगाउन नदिई घरबाट निकाला गरेको होइन छैन । बिपक्षी समेतको मन्जुरी अनुसार रु.१,५००।– प्रति महिना मैले दिने गरी करार भएको छ । निज भारत बस्ने भएकाले अंश निजको नाउँमा दर्ता नहुने भएकाले रुपैयामा करार भएको हो । वादीको दावा झुठ्ठा हुँदा फूर्सत पाउँ भन्ने समेत जनार्दन शुक्लाको प्रतिउत्तर जिकिर ।
वादी दावी झुठ्ठा हो । वादीले वास्तविक व्यहोरालाई लोप गरी फिराद दिएकी छन् । वादीको लोग्ने अर्थात जनार्दन र म नन्दकिशोर वावु तथा दिपनारायण संग २०३४।२।१४ गते नै घरसारमा छुट्टि भिन्न भई आ–आफ्नो आर्जन अनुसारको सम्पत्ति जोडी भोग चलन गर्दै आएका छौं । वादीले अंश आफ्नो लोग्ने संगबाट मात्र पाउनु पर्ने हो । जसमा उनले करार समेत गरेकी छिन । मासिक रु. १५००।– लिने गरी निज भारतमा बस्ने हुनाले निजलाई अंश समेत दिन मिल्दैन । साथै उनले अंशियार समेत लोप गरेकी छिन । जनार्दनको २ श्रीमती भएका जसमा जेठी निज वादी सरस्वती भएकी र निजबाट १ छोरीको जन्म भएको र कान्छी भगवती भएकी र निजबाट १ छोरा तथा १ छोरीको जन्म भई निजहरु ४ अंशियार छन् । मैले कमाएको सम्पत्ति स्वं–आर्जनको मेरो एक्लौटी भएको तथा छुट्टी भिन्न समेत भई सकेकाले मबाट निजले अंश पाउनु पर्ने होइन । दावी झुठ्ठा हुँदा फुर्सद पाउँ भन्ने समेत नन्दकिशोर शुक्लको प्रतिउत्तर पत्र ।
आदेशानुसार बुझिएका वादी प्रतिवादीका साक्षीको बकपत्र भई अ.बं. ७८ नं. बमोजिम गरेको बयान समेत मिसिल सामेल रहेको ।
आदेशानुसार वादी प्रतिवादीहरुले पेश गरेको तायदाती फाँटवारी मिसिल सामेल रहेको ।
नातामा विवाद नदेखिएको, प्र. नन्दकिशोर र दिपनारायण व्यवहारबाट अगल भई बसेका र संगोलको पैतृक सम्पत्ति प्र. त्रियुगीनारायण शुक्लको नाउँमा रहेको र वण्डा पनि भई नसकेको देखियो । यी वादीले आफना पति प्र. जनार्दनबाट अंश पाउने देखिन आयो । पेश भएका फाँटवारी सम्पत्ति विवरण मध्ये प्र. त्रियुगीनारायणले पेश गरेको फाँटवारी विवरणको सम्पत्तिमा ५ भागको १ भाग जनार्दनको हुने र सो एक भाग सम्पत्ति र जनार्दनले पेश गरेको फाँटवारीको सम्पत्ति समेतमा फिरादीले सत्य तथ्य ढाँटे पनि प्र. जनार्दनका २ पत्नी एक छोरा र २ छोरी समेत विवाह नभएका ३ छोरा छोरी समेत भई ४ अंशियार हुँदा विवाह खर्च कानून बमोजिम पर सारी ४ भागको १ भाग अंश प्रतिवादी जनार्दनबाट वादीले पाउने ठहर्छ भन्ने समेत कपिलबस्तु जिल्ला अदालतको मिति २०५९।१।१६ को फैसला ।
प्रतिवादी नन्दकिशोर र दिपनारायणले व्यवहारबाट पहिले नै छुट्टी भिन्न भएको भने पनि सो को पुष्टि हुने प्रमाण पेश गर्न सकेका छैनन् । मुलुकी ऐन अंशवण्डाको ३० नं. अनुसार सबै अंशियारले सम्पत्ति बण्डामा पाई आफूखुशी भोग बिक्री व्यवहार गरेको अवस्था पनि प्रमाणबाट देखिदैन । प्रमाण ऐन, २०३१ को दफा ६(क) अनुसार अन्यथा प्रमाणित नभएसम्म एकाघरका अंशियार मध्ये जुनसुकै अंशियारको नाउँमा रहेको सम्पत्ति संगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्ने र त्यस्तो अनुमान खण्डन गर्न चाहनेले प्रमाण पुर्याउनु पर्नेछ भन्ने व्यवस्था अनुसार प्रमाण पुर्याउन नसकेको अवस्थामा प्र. मध्ये त्रियुगी नारायण र जनार्दनको सम्पत्तिमा मात्र अंश कायम गरी अन्य प्रतिवादीहरुको तायदाती अनुसारको सम्पत्तिमा अंश नठहर्ने गरी भएको शुरु फैसला सो हदसम्म वदर गरी सबै प्रतिवादीहरुको नाउँमा रहेको संम्पूर्ण चल अचल सम्पत्तिमा दावी अनुसार अंश हक कायम गरी पाउँ भनी वादीको तर्फबाट पुनरावेदन अदालत बुटवलमा परेको पुनरावेदनपत्र ।
यसमा स्वआर्जनको सम्पत्ति भन्ने कुराको वस्तुनिष्ठ रुपमा प्रमाणित हुनु पर्नेमा प्रस्तुत मुद्दामा सो कुराको पुष्टि भएको पाइदैन । यस स्थितिमा प्रमाण ऐन, २०३१ को दफा ६(क) अनुसार एकासंगोलको आर्जन भनी अदालतले अनुमान गर्नुपर्नेमा कानूनी प्राबधान विपरीत यो यति कारणले स्वआर्जन ठहर्छ भन्ने व्याख्या समेत नगरी आत्मनिष्ठ रुपमा स्व–आर्जनको सम्पत्ति ठहराई पुनरावेदिकालाई सो सम्पत्तिको अंश भागबाट विमुख गराउने गरी भएको फैसला फरक पर्ने देखिंदा अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई पेश गर्नु भन्ने पुनरावेदन अदालतको मिति २०६०।४।१८ को आदेश ।
बकसपत्रको लिखतबाट प्राप्त गरेको सम्पत्ति वाहेक अन्य राजीनामा लिखतका जग्गाहरु पैतृक सम्पत्तिबाट आर्जित होइन भन्न सकिने आधार नपाईदा ऋणको हकमा मुद्दा परेका अवस्थामा कानून बमोजिम हुने नै हुँदा दावी बमोजिम प्रतिवादी दिपनारायण शुक्ल र नन्दकिशोर शुक्लले प्रस्तुत गरेको तायदाती फाँटवारीमा उल्लेखित सम्पत्तिलाई ५ भाग लगाई सो मध्ये १ भागबाट प्रतिवादी जनार्दन निजका २ श्रीमती र एक छोरा २ छोरी समेत विवाह नभएका ३ जनाको कानून बमोजिमको विवाह खर्च पर सारी वाँकी रहेको सम्पत्तिलाई पुनः ४ भाग लगाई सोको १ भाग सम्पत्ति वादीले प्रतिवादीबाट अंश पाउने ठहर्छ भन्ने पुनरावेदन अदालत बुटवलबाट मिति २०६०।१०।१३ गते भएको फैसला ।
मैले शिक्षण पेशाबाट आय आर्जन गरी खरीद गरेको तथा जग्गा खरीद बिक्रीबाट प्राप्त भएको मुनाफा समेत मिलाई म पुनरावेदकले आफ्नो ज्ञान, सीप, मेहनत प्रयासबाट आर्जन गरेको सम्पत्ति मुलुकी ऐन अंशवण्डाको १८ नं. अनुसार मैले पेश गरेको प्रमाणबाट निजी ठहर भएकोमा कपिलबस्तु जिल्ला अदालतको फैसला समेतलाई कुनै मुल्यांकन नगरी पुनरावेदन अदालतबाट फैसला भएकोले सो फैसला उल्टी गरी मेरो सम्पत्ति अंशवण्डा नलाग्ने गरी स्व आर्जनको ठहर होस् । साथै २०३४ सालमै मानो छुट्टिएको तथ्यलाई मुल्यांकन गरी शुरु जिल्ला अदालतबाट भएको फैसला सदर गरी पुनरावेदन अदालत बुटवलबाट भएको फैसला उल्टी होस भनी प्रतिवादीको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल अध्ययन गरी पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री सतिशकृष्ण खरेलले बिपक्षी वादी पुनरावेदक प्रतिवादी संग २०३४ सालमै घरसारमै छुट्टी भिन्न भई आफ्नो आफ्नो आर्जन अनुसारको सम्पत्ति जोडी भोग चलन गरी आएको अवस्था छ । यी पुनरावेदक बिपक्षी वादीका ससुरा नाताका ब्यक्ति हुन । यसरी २०३४ सालमै छुट्टी भिन्न भएको अवस्थामा बिपक्षी वादीले निजको लोग्ने जनार्दन शुक्लबाट मात्र अंश पाउनु पर्ने यी पुनरावेदक ससुराबाट अंश पाउनु पर्ने होइन । प्रत्यर्थी वादी सावीक घरमा नवसी भारतमा बस्ने हुनाले अंश वापत मासिक रुपमा रु.१,५००।– पाउने गरी निजको लोग्ने जनार्दन संग करार समेत गरेकी छिन् । प्रत्यर्थी वादीकी सौता पनि रहेकी छन् । सौता तर्फ १ छोरा र १ छोरीको जायजन्म भएको छ । निजले फिराद दिंदा ती अंशियारहरु समेत लोप गराएकी छन् । तसर्थ यी पुनरावेदकले कमाएको सम्पत्ति एकलौटी हुने हुँदा प्रत्यर्थी वादीले निजकै लोग्ने अर्थात जनार्दन शुक्लबाट मात्र अंश पाउने पर्नेमा सो नभई वादीको दावी अनुसार यी पुनरावेदकको सम्पत्तिबाट समेत अंश पाउने ठहराएको पुनरावेदन अदालत बुटवलको फैसला उल्टी गरी प्रतिवादीको पुनरावेदन जिकिर अनुसार हुनुपर्दछ भनी वहस प्रस्तुत गर्नुभयो ।
उपर्युक्त बमोजिम विद्वान अधिवक्ताको वहस समेत सुनी पुनरावेदन अदालत बुटवलबाट भएको फैसला मिले नमिलेको के रहेछ? र प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ? भन्ने संम्बन्धमा ठहर निर्णय दिनुपर्ने देखिन आयो ।
बिपक्षी पतिले अर्की श्रीमती ल्याई मलाई घरबाट निकाला गरेकोले सम्पूर्ण पैत्रिक सम्पत्तिको ५ भागको १ भाग मध्ये अविवाहीत छोरीको बिवाह खर्च परसारी बिपक्षी पतिबाट आधा अंश दिलाई भराई पाउँ भन्ने वादी दावी भएकोमा अन्य प्रतिवादीहरुले आफूले अंश दिन नपर्ने भनी इन्कार रही मैले मात्र दिनुपर्ने हो । बिपक्षी वादीले अंशियार लोप गरेकी छिन, मेरी कान्छी श्रीमती पट्टी २ छोरा र छोरी समेत छन् । म र मेरो दाजु नन्दकिशोर २०३४ सालमै घरसारमा अलग भिन्न भएको र वादी भारतमा बस्ने हुँदा निजलाई खान लाउन मासिक रु.१,५००।– दिने करार भएको भन्ने वादीका पतिको प्रतिउत्तर जिकिर रहेको छ । प्रतिवादी मध्येका नन्दकिशोर शुक्लले मबाट वादीले अंश पाउनु पर्ने होइन । बिपक्षी वादीले आफ्नो पतिसंग मात्र अंश पाउनु पर्ने हो भनी प्रतिउत्तर फिराएको प्रस्तुत मुद्दामा कपिलबस्तु जिल्ला अदालतले फैसला गर्दा प्रतिवादी जनार्दन शुक्लका २ श्रीमती एक छोरा र २ छोरी समेत बिवाह नभएका ३ छोरा छोरी समेत ४ अंशियार हुँदा बिवाह खर्च पर सारी ४ भागको १ भाग अंश प्रतिवादी जनार्दनबाट वादीले पाउने ठहराई भएको फैसला उपर चित्त नबुझी वादीको पुनरावेदन अदालत बुटवलमा पुनरावेदन पर्दा सो अदालतले पहिले नै छुट्टी भिन्न भएको आधार प्रमाण प्रतिवादीहरुले खुलाउन सकेको नदेखिंदा प्रतिवादी दीपनारायण र नन्दकिशोरका नाउँमा रहेको सम्पत्ति समेतलाई ५ भाग लगार्ई सो मध्ये १ भागबाट प्रतिवादी जनार्दन निजका २ श्रीमती र छोरा २ छोरीको समेत विवाह नभएको हुँदा ३ जनाको कानून बमोजिमको विवाह खर्च पर सारी बाँकी रहेको सम्पत्तिलाई पुनः ४ भाग लगाई सो को १ भाग वादीले प्रतिवादीबाट अंश पाउने ठहराई भएको शुरुको इन्साफ केही उल्टी हुने गरी भएको पुनरावेदन अदालतको फैसला उपर प्रतिवादी मध्येका नन्दकिशोर शुक्लको पुनरावेदन यस अदालतमा पर्न आएको देखिन्छ ।
२. निर्णय तर्फ बिचार गर्दा यी वादी आफ्नो अंशियार पत्नी र भाईबुहारी भएको तथ्य प्रतिवादीहरुले स्वीकार गरी आफूहरु छुट्टि भिन्न भईसकेकोले वादीले आफ्नो पति जनार्दन संग मात्र अंश पाउने भन्ने जिकिर लिएको छ । मुल पुर्खा बंशमणि शुक्लका ३ भाई छोराहरु केदार, त्रियुगी नारायण र दशरथ भई यी तिनै जनाको अंश भइसकेको देखिन्छ । माइला त्रियुगी नारायणका पनि ३ छोरामा जेठा दीप नारायण, माइला नन्दकिशोर र कान्छा फिरादीका पति जनार्दन रहेको देखिन्छ र निज पति जनार्दनले अर्की श्रीमती ल्याएपछि हेला होचो गरेको कारण ५ भागबाट लोग्नेको १ भाग लगाई लोग्नेको अंशबाट अंश दिलाई पाउँन अंश मुद्दाको प्रस्तुत फिराद परेको छ । प्रतिवादीहरुले हामीहरु बीच २०३४ सालमै घरसारमा अंशवण्डा भएको र त्यसपछि केही सम्पत्ति जागिरबाट र जग्गा बेचविखनबाट कमाएको सम्पत्ति हुँदा सोबाट अंशवण्डा लाग्न नपर्ने स्वआर्जनको हो र वादीले आफ्नो लोग्नेबाट मात्र अंश पाउनु पर्ने भन्ने प्रतिवादीले जिकिर लिएको छ । तर प्रतिवादीहरुले जिकिर लिएको मिति २०३४।२।१४ मा घरसारमा छुट्टीएको तथ्य पुष्टि हुने लिखत वा अन्य वस्तुनिष्ट आधार प्रमाण प्रतिवादीहरुले खुलाउन सकेको पाइएन । लिखत नभएपनि अंशमा लिए पाएको सम्पत्तिको दा.खा. दर्ता भोग, बिक्री ब्यवहारको कुनै तथ्य र प्रमाण निज प्रतिवादीबाट पेश हुन आएको देखिदैन । त्यस्तो आधारभूत प्रमाणको अभावमा मौखिक जिकिर मात्रको आधारमा अथवा यी वादी अन्यत्र रहे बसेको मात्र आधारमा अंश लिएको मान्ने अवस्था हुँदैन । जहाँ सम्म वादी समेत अलग्गै घरमा गई बसेकी छिन्, निजलाई खान लाउन मासिक रु.१,५००।– दिने करार भएको छ भन्ने प्रतिवादीको जिकिर छ, सो तथ्य पुष्टि हुने भरपर्दो आधार निजले पेश गर्न सकेको देखिदैन । वादी र निजको लोग्ने प्रतिवादी एकासंगोलमा नरहेको भन्ने कानून बमोजिमको तथ्य र अवस्था कहिं कतैबाट खुल्न आएको पनि छैन । आफु संगोलमा नरहेको र राजीनामाबाट खरीद गरेको सम्पत्तिलाई निजी आर्जन र शिक्षण पेशाको आयबाट खरीद गरेको सम्पत्ति हो भनी लिएको निज प्रतिवादी पुनरावेदकको जिकिर पनि तदनुसारको कुनै वैध लिखत वा अन्य कानून बमोजिमको कुनै ग्रहण योग्य प्रमाणबाट पुष्टि भएको देखिन आउँदैन । प्रमाण ऐन, २०३१ को दफा ६(क) अनुसार अन्यथा प्रमाणित नभएसम्म जुनसुकै अंशियारका नाममा रहेको सम्पत्ति संगोलको सम्पत्ति भएको भनी अदालतले अनुमान गर्नुपर्ने हुन्छ र सो बमोजिम यी पुनरावेदकले अदालतको अनुमानलाई अन्यथा प्रमाणित गरी खण्डन गर्न सकेको पाइदैन । निजी आर्जन हो भन्ने कुरा कानून बमोजिमको कुनै लिखतबाट प्रमाणित नभएसम्म एकाघरका अंशियारहरु मध्ये जुनसुकै अंशीयारको नाउँमा रहेको सम्पत्ति भएतापनि त्यस्तो सम्पत्तिलाई प्रमाण ऐन, २०३१ को दफा ६(क) अनुसार संगोलको सम्पत्ति मान्नुपर्ने सिद्धान्त ने.का.प. २०५१, नि.नं. ५००९, पृष्ठ ९१२ मा यस अदालतबाट प्रतिपादित भएको समेत देखिन आउँछ ।
३. यसप्रकार यी पुनरावेदक प्रतिवादी अंशियार रहेको र अंश दिनुपर्ने कुरा स्वीकार गरेको तर निजले तायदातीमा निजी आर्जनको भनी देखाएको सम्पत्तिमा समेत अंश लगाएको पुनरावेदन अदालतको फैसला उपर तत्सम्बन्धमा मात्र पुनरावेदन गरेको छ । तायदातीमा निजी आर्जनको भनी उल्लेख गरेको उक्त सम्पत्ति निजले आफ्नो ज्ञान सीपले आर्जन गरेको निजी सम्पत्ति हो भन्ने जिकिर लिएको छ । तर कानूनले निजी मानिने र देखिने आधारभूत प्रमाण निजले पेश गर्न सकेको देखिदैन । जग्गा खरीद बिक्रीको कारोवार गरी आर्जन गरेको रकमबाट खरीद गरेको भन्ने जिकिर लिएपनि संगोलमा रहेकै अवस्था संगोलको कुनै अंशियारले व्यापार, व्यवसाय वा अन्य कुनै कारोबार गरी त्यसरी आफ्नो नाममा खरीद गरेको सम्पत्ति सो खरीद गर्ने अंशियारको निजी हुने र अन्य अंशियारको अंश नलाग्ने भन्न मिल्ने देखिदैन । साथै आफु जागिरमा रहेको र संचयकोषबाट रकम निकाली खरीद गरेको जग्गा निजी हुने भन्ने जिकिरको हकमा निज पुनरावेदकले कहिले कुन मितिमा कति रकम संचयकोषबाट निकालेको र तत्काल सोही रकमबाट तायदाती भित्रको कुन जग्गा खरीद गरेको हो सो देखिने निश्चयात्मक जिकिर लिन र तत्सम्बन्धी कुनै अकाट्य प्रमाणबाट समर्थित गराउन सकेको समेत देखिदैन । संगोलको अंशियारले आफ्नो नाममा रहेका सम्पत्तिमा आफ्नो Exclusive right अर्थात अन्य अंशियार वाहेकको आफ्नो निजी हक भनी दावी गर्नका लागि कानूनले निजी हकको मानिने अपुताली वा बकसपत्रको लिखत अथवा वादी लगायत अन्य अंशियार समेत साक्षी बसेको जग्गा खरीद सम्बन्धी कानून बमोजिमको लिखत समेत पेश गरी सो कुरा स्थापित गराउन सक्नु पर्ने हुन्छ । सो वाहेक पक्षको मौखिक कथन मात्रले सो जिकिर अदालतले स्वीकार गर्न नसक्ने हुन्छ।
४. तसर्थ तायदातीमा उल्लेखित सम्पत्ति आफ्नो ज्ञानसिपले आर्जन गरेको र अन्य अंशियारको अंश नलाग्ने निजी हकको सम्पत्ति हो भन्ने पुनरावेदकको जिकिर तत्सम्बन्धी लिखतको आधारभूत र निश्चयात्मक प्रमाणबाट समर्थित नभएको अवस्थामा प्रतिवादीको पुनरावेदन जिकिर मान्य हुन नसक्ने हुँदा पुनरावेदक प्रतिवादीबाट वादीलाई अंश दिने ठहराएको पुनरावेदन अदालत बुटवलको मिति २०६०।१०।१३ को फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनु ।
उक्त रायमा सहमत छु ।
न्या.कल्याण श्रेष्ठ
इति सम्वत् २०६४ साल ११ महिना २२ गते रोज ४ शुभम् ––
शाखा अधिकृतः परशुराम भट्टराई