शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७५१९ - निर्णय वदर ।

भाग: ४७ साल: २०६२ महिना: श्रावण अंक:

निर्णय नं. ७५१९    ने.का.प.२०६२ अङ्क ४

 

 सर्वोच्च अदालत, पूर्ण इजलास

माननीय न्यायाधीश श्री अनूपराज शर्मा

माननीय न्यायाधीश श्री अर्जुनप्रसाद सिंह

माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी

संवत् २०६० सालको दे.पू.ई.नं. .....३८

फैसला मितिः २०६२।१।१५।५

 

मुद्दाः निर्णय वदर ।

 

            पुनरावेदकर/वादीः जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा.वार्ड नं. ६ बस्ने आशकुमार दुगुको           मु.स. गर्ने भक्तबहादुर दुगु समेत

विरुद्ध

            प्रत्यर्थीर/प्रतिवादीः जिल्ला भक्तपुर चपाचो गा.वि.स.वार्ड नं.६ बस्ने तेजबहादुर प्रजापतीको           मु.स. गर्ने कृष्णबहादुर प्रजापती 

 

§  विवादीत कित्ता र अन्य कित्ताहरु समेत एउटै जग्गाधनी दर्ता प्रमाणपूर्जा पाई जग्गा दर्ता भई जग्गाधनी प्रमाणपूर्जा लिए उपर हेराकुमारी जिवित छदै मुलुकी ऐन जग्गा पंजनीको १७ नं. को हदम्याद २ वर्षभित्र यी वादीले नालेस गरी दर्ता बदर गराउने कार्यवाही चलाएको देखिन नआउने ।

§  हेराकुमारीको मृत्युपछि प्रत्यर्थी प्रतिवादी छोरा तेजवहादुरले विवादको जग्गा मिति २०४४।११।१९ मा नामसारी गरेपछि मात्र सो नामसारी वदरतर्फ थाहापाएको मितिले भनी मिति २०५०।२।२४ मा प्रस्तुत फिराद परेकोमा सर्भे नापजाँचको क्रममा एकाको हकभोग दर्ताको जग्गा अर्काको नाममा नापीमा दर्ता भएकोमा त्यस्तो जग्गा नापी भई दर्ता श्रेस्ता खडा भएको मितिबाटै मुद्दा गर्नुपर्ने कारण सिर्जना भएको मान्नुपर्ने ।

(प्रकरण नं.१६)

 

पुनरावेदक वादी तर्फवाटः  विद्वान अधिवक्ता श्री हेमराज अधिकारी

प्रत्यर्थी प्रतिवादीको तफवार्टः विद्वान अधिवक्ताद्वय श्री शम्भु थापा र श्री रमणकुमार श्रेष्ठ

अवलम्वित नजीरःने.का.प. ०४३, अंक १२, नि.नं. २९२३, पृष्ठ ११३८

 

फैसला

न्या.अनपराज शर्माः पुनरावेदन अदालत पाटनबाट भएको मिति २०५३।१०।१४ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत पर्न आएको प्रस्तुत पुनरावेदन निर्णयार्थ पेश हुंदा संयुक्त इजलासको माननीय न्यायाधीशहरु बिचमा मतैक्य हुन नसकी  सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं ठहर यसप्रकार छ :

२.    हामी मध्ये म पंचबहादुरको आमा हेराकुमारीका नाममा साविक दर्ता भएको साविक मौजाको २५ नं. लांचो १५६/११६ को ८ पटिृ सिं खान्गीको अबल खेत रोपनी २ जग्गा हामीहरुले भोग चलन गरी आएकोमा हाल नापीमा भ.पु.जि. दिव्यश्वरी गा.वि.स.वडा नं. ९(ग) कि.नं. १००, १४२ को फिल्डबुकमा मोही महलमा म आशकुमार दुगु र जग्गावाला महलमा बाजे हेराकुमारको नाम लेखिए पनि किसानको व्यहोरामा हेराकुमारीको जग्गा हो भन्ने र बकसपत्रबाट हक भएको २५ नं. लांचो ११६ को रोपनी २ भिडी दर्ता भएको र पंचबहादुर समेतले जोती कमाई खाई पाएका छौं ।  माता हेराकुमारी २०२६।१०।५ मा परलोक भै हामी हकवालाहरुले नामसारी गरि लिन बांकी छंदै विपक्षी तेजबहादुर प्रजापतीले आफ्नो आमा हेरा लक्ष्मी प्रजापतीको नाम थर मिल्न आएकोले आफ्नो नाममा नामसारी गर्न निवेदन दिंदा हाम्रो आमा तथा ठूली आमा हेराकुमारी प्रजापतीको नाम दर्ताको जि. भक्तपुर दिव्येश्वरी गा.वि.स.वडा नं. ९(ग) कि.नं. १०० को ११४२ जग्गा समेत घुसाई निवेदन दिई सो बमोजिम मा.पो.का. भक्तपुरबाट मिति ०४४।११।१९ का दिन नामसारी गरि लिनु भएको कुरा ०५०।२।१९ मा नक्कल सारी थाहा भएकोले सो निर्णय र नामसारी त्रुटीपूर्ण हुंदा बदर गरिपाऊँ भन्ने समेत व्यहोराको पंचबहादुर होना र आसकुमार दुगुको मिति २०५०।२।२४ को संयुक्त फिरादपत्र ।

३.    फिरादमा उल्लेख भएको कि.नं. १०० को जग्गा ०२२ सालमा नापी हुंदा मेरो आमाको नाममा साविक पोता भिडाई नापी दर्ता भएको जग्गा हो । आमाको ०२८ सालमा परलोक भए पश्चात म एक मात्र हकवाला भएको र मेरो हक हुन आएको हो । नामसारी दा.खा. भै नसकेको हुंदा ०४४ सालमा दा.खा. को लागि निवेदन दिई मा.पो.का. भक्तपुरबाट मेरो नाममा दा.खा. भई ज.ध.द.प्र. पूर्जा समेत प्राप्त भएको हो । आमाको नामको दर्ता बदर तर्फ नालेस नपरेकोले प्रस्तुत मुद्दाबाट वादीको हक कायम हुन सक्तैन । ०२२।२३ सालमा नापि दर्ता भई सकेको अवस्थामा २ वर्ष भित्र नालेस गर्नुपर्नेमा सो हदम्याद गुजारी परेको फिराद पत्र हदम्याद विहिन छ । झुठृा वादी दावाबाट फुर्सद गरिपाऊँ भन्ने समेत व्यहोराको तेजबहादुर प्रजापतीको प्रतिउत्तर पत्र ।

४.    नापीमा जग्गा दर्ता भएको हेराकुमारी पंचबहादुरको आमा भएको देखिंएको र हेराकुमारी लाई आफ्नो आमा हेराकुमारी भनि नामसारी गरिपाउँ भनी माग गरेकोमा मा.पो.का. भक्तपुरबाट प्रतिवादीका नाउंमा नामंसारी गरि दिने गरी भएको मिति ०४४।११।१९ को निर्णय दावी हदसम्म बदर हुने ठहर्छ भन्ने समेत व्यहोराको शुरु भक्तपुर जिल्ला अदालतको मिति २०५१।३।१६ को फैसला ।

५.    ०२३ सालमा नै दर्ता भई ज.ध.प्र.पूर्जा लिई सकेको अवस्थामा सो दर्ता कायम छंदा छंदै प्रस्तुत मुद्दाको फिरादपत्रबाट नामसारी निर्णय बदर गरेको शुरु जिल्ला अदालतको फैसला त्रुटीपूर्ण हुंदा बदर गरि वादी दावी खारेज गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी तेजबहादुर प्रजापतीको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।

६.    लगाउको फौ.पु.नं. ७८२ । १२०२ को जालसाज मुद्दामा विपक्षी झिकाउने भन्ने आदेश भएकोले प्रस्तुत मुद्दामा पनि  अ.वं. २०२ बमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने समेत पुनरावेदन अदालत पाटनको मिति २०५२।५।१६ को आदेश ।

७.    पुनरावेदक प्रतिवादीकी आमा हेराकुमारीको नाममा ०२३ सालमा नै अन्य कि.नं.का जग्गा र विवादीत जग्गा समेत दर्ता भै श्रेस्ता कायम भएको देखिएको र हेराकुमारीको मृत्युपछि निजको छोरा तेजबहादुरको निवेदनबाट निजका नाममा दा.खा. नामसारी भएको देखिन्छ । हेराकुमारीको नाममा भएको ०२३ सालको साविक दर्ता बदर तर्फ हदम्यादभित्र नालेस नगरेकोले सो दर्तालाई अन्यथा भन्न नमिल्ने भए समेतबाट नामसारी गर्ने गरेको मालपोत कार्यालयको मिति २०४४।११।१९ को निर्णय बदर गर्ने गरेको शुरु जिल्ला अदालतको फैसला नमिलेको हुँदा उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति २०५३।१०।१४ को फैसला ।

८.    क्षेत्रिय कितावमा हेराकुमारीको छोरा पंचबहादुरले देखिएको तथ्यलाई प्रतिवादी तेजबहादुरको आमा भनी ठहर गरेको मिलेको छैन । साविक दर्तावाला प्रतिवादीकी आमा हो भन्ने कुराको कुनै प्रमाणबाट पनि पुष्टि हुन सकेको छैन । पंचबहादुरकी आमा हेराकुमारीको साविक दर्ता बदर नभएसम्म सो जग्गामा प्रतिवादीको हक लाग्न सक्तैन । नाम मिलेकै कारणबाट विवादित जग्गा प्रतिवादीको नाममा दा.खा. नामसारी गरेको मालपोत कार्यालयको निर्णय बदर गर्नुपर्नेमा शुरुको फैसला उल्टी गरी नामसारी बदर नहुने ठहर्‍याएको पुनरावेदन अदालतको फैसला त्रुटीपूर्ण हुंदा सो फैसला बदर गरी शुरु जिल्ला अदालतको फैसला सदर गरिपाऊँ भन्ने समेत वादीको पुनरावेदन पत्र ।

९.    नापी हुंदा फिल्डबुकमा जग्गाधनी हेराकुमारी जनिएको र साथै निजको छोरा पंचहोना ठिमी, वोडे समेत उल्लेख भएबाट हेराकुमारीको छोराले दर्ता गराएकोलाई प्रत्यर्थी तेजबहादुरको उक्त जग्गामा हक पुग्ने प्रमाणित श्रोतको अभावमा निजको नाउंमा सो जग्गा दर्ता हुन सक्ने कानूनी आधार नै नदेखिंदा निजको नाममा दर्ता गर्ने मालपोत कार्यालयको निर्णयलाई कायम गरेको पु.वे.अ. पाटनको निर्णय नमिलेबाट अ.वं. २०२ नं. बमोजिम छलफलको लागि विपक्षी झिकाउनु भन्ने समेत संयुक्त इजलासको मिति २०५९।२।१३ को आदेश ।

१०.    विवादित कि.नं. १०० को जग्गाको फिल्डबुकको जग्गाधनी महलमा हेराकुमारी प्रजापतीको नाम र कैफियतमा २५ नं. लांचो सि.नं. ११६ को रोपनी २ को भिडी दर्ता भनी सही गर्ने हेराकुमारीको छोरा पंच हुना ठिमी वोडे भनी उल्लेख भएको पाइन्छ । वादीले आफ्नु साविक स्रोत दर्ता लगतसंग भिडि नापीकै वखत आमाको नाममा दर्ता गराएको भन्ने फिराददावी फिल्डबुक व्यहोराबाट समेत समर्थित देखिन्छ । उल्लेखित जग्गा हेराकुमारीले २००७।१।२२ मा शे.व.बाट पाएको देखिन्छ । प्रतिवादीले निजकी आमाले ०१८ सालमा राजिनामा गरी लिएको भनेता पनि राजीनामा पेश गर्न सकेको देखिंदैन । फिल्डबुकमा उल्लेखित हेराकुमारी वादीको आमा होइन भनी प्रतिवादीले खण्डन गर्न नसके समेतबाट विवादीत जग्गाको जग्गाधनी वादीकी आमा रहेको पुष्टि हुन्छ । प्रतिवादीले निजकी आमाको नाम मिलेकोसम्म आधारमा सबुद प्रमाण वेगर गरेको दर्ता दुषित दर्ता भएको र त्यस्तो दर्तालाई वैधानिकता प्रदान गर्न नमिल्ने तथा सम्बत् २०५४ सालको दे.पु.नं. ४६७९ को पुनरावेदक वादी विन्दुमाया श्रेष्ठ भन्ने विन्दु वासिनी हाडा विरुद्ध विपक्षी प्रतिवादी गणेशकुमारी जोन्छे भएको हक कायम मुद्दामा यस अदालतबाट मिति २०५८।७।२७ मा साविक दर्ता श्रोतको कुनै श्रोतनै नभएको दर्तालाई कानूनी दर्ता मान्न नमिली त्यस्तो दर्ता दुषित हुने हुँदा कानूनी मान्यता सुन्य भएको दुषित दर्ता बदर नगरी हदम्यादको प्रश्न उठाई फिराद खारेज गर्ने गरेको शुरु सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेको देखिएन भनी दर्ता समेत बदर गरी निर्णय भई रहेको पाइन्छ । अतः प्रतिवादीको नामको नामसारी बदर गर्ने ठहर्‍याएको शुरुको फैसला उल्टी गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसला उल्टी हुने ठहर्छ। मालपोत कार्यालय भक्तपुरको ०४४।११।१९ को निर्णय वादी दावीको हदसम्म बदर हुने ठह र्‍याएको शुरुको फैसला मनासिव ठहर्छ । पुनरावेदन अदालत पाटनको फैसला सदर गर्ने गरेको माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठको रायसंग सहमत हुन नसकेकोले  सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३(१)(क) अनुसार पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्यायको राय ।

११.    विवादीत जग्गाको फिल्डबुकमा जग्गाधनी महलमा हेराकुमारी प्रजापती उल्लेख भएको र निजले विवादित जग्गा र कि.नं. ३५३, ३६०, ३६२ समेतको जग्गाधनी प्रमाणपूर्जा मिति २०२३।११।१० मा प्राप्त गरेको देखिन्छ । आमा हेराकुमारीको परलोक भएकोले प्रतिवादी तेजबहादुरको नाममा विवादीत जग्गाको मिति २०४४।११।१९ मा नामसारी भएको देखिन्छ । उक्त जग्गा वादीको भए २०२३।११।१० मा जग्गाधनी प्रमाणपूर्जा वितरण भएउपर हदम्यादभित्र दर्ता बदर हक कायममा दावि लिई सक्नुपर्नेमा सो भए गरेको देखिन आउंदैन । लालाबुद्धिमान श्रेष्ठ विरुद्ध पूर्णकला उपाध्याय भएको दर्ता हक कायम मुद्दामा (ने.का.प. २०४३, पृष्ठ ११३८, नि.नं. २९२३) सर्भेनापजाँचका क्रममा एकाको हक भोग दर्ताको जग्गा अर्काको नाममा नापीमा दर्ता भएकोमा त्यस्तो जग्गा नापी भै दर्ता श्रेस्ता खडा भएको मितिबाटै मुद्दा गर्नुपर्ने कारण सिर्जना भएको मान्नु पर्छ भन्ने सिद्धान्त प्रतिपादित भएको पाइन्छ । ०२३ सालको दर्ता बदर तर्फ वादीले दावी लिएको समेत नदेखिंदा दावी नभएको विषयमा अदालतले बोल्न मिल्ने देखिंदैन । यस्तो अवस्थामा प्रतिवादीको नाममा दा.खा. नामसारी गर्ने निर्णय वादी दावी बमोजिम बदर गर्न मिल्ने देखिएन । मालपोत कार्यालय भक्तपुरको विवादित जग्गा प्रतिवादीका नाममा दा.खा. नामसारी गर्ने गरेको मिति २०४४।११।१९ को निर्णय बदर गर्ने गरेको शुरु जिल्ला अदालतको फैसला उल्टी हुने ठह र्‍याएको पुनरावेदन अदालत पाटनको फैसला मनासिव हुंदा सदर हुने ठहर्छ । माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्यायको रायसंग सहमत हुन नसकेकोले  सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम पूर्ण इजलासमा पेश गर्नु भन्ने माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठको राय सहित यस अदालत संयुक्त इजलासको मिति २०६०।५।८ को फैसला ।

१२.   नियमबमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी तर्फका विद्वान अधिवक्ता श्री हेमराज अधिकारीले विवादित जग्गा वादीकी आमा हेराकुमारी समेतले २००७।१।२२ मा शे.व. प्राप्त गरेको र ०२२ सालको नापिमा फिल्डबुकमा हेराकुमारीको जग्गा हो भनी पंचबहादुरले सहिछाप गरेको छ । सो जग्गा वादीको आमा हेराकुमारीको भएको सबुद प्रमाणबाट देखिएको छ । प्रतिवादीको जिकिरअनुसार प्रतिवादीको आमाले राजिनामाबाट प्राप्त गरेको भनेतापनि सो राजिनामा पेश गर्न नसक्नुको साथै जग्गा निजहरुको देखिने अन्य सबुद प्रमाणको अभाव भएकोले दुषित दर्तालाई छुट्टै दावी लिई बदर गराई रहनु नपर्ने । स्वतः बदर हुने हुंदा तत्सम्बन्धमा हदम्यादको प्रश्न उठ्न सक्ने समेत होइन । त्यसमा पनि वादीकै आमाको नाममा रहेको जग्गा प्रतिवादीको आमाको नामको जग्गाधनी प्रमाणपूर्जामा घुसाई सो प्रमाणपूर्जा लिएको हो । यस स्थितिमा प्रतिवादीको नामको नामसारी बदर नगर्ने ठह र्‍याएको पुनरावेदन अदालतको फैसला उल्टी गरेको मा.न्या. श्री हरिश्चन्द्रप्रसाद उपाध्यायको राय सदर गरिनु पर्दछ भनी वहस प्रस्तुत गर्नु भयो ।

१३.   प्रत्यर्थी प्रतिवादीको तर्फका विद्वान अधिवक्ताद्वय श्री शम्भु थापा र श्री रमणकुमार श्रेष्ठले ०२३ सालको प्रतिवादीको आमाको नामको दर्ता बदर गराउन २ वर्षभित्र नालेस गर्नुपर्नेमा सो को हदम्याद भित्र फिराद नपरी ०५० सालमा परेको हदम्याद विहिन फिराद पत्रबाट तथ्यमा प्रवेश गरिरहन पर्ने   होइन । साथै साविकको दर्ता विरुद्धको नालेस   छैन । केवल नामसारी बदरतर्फ फिराद परेको हुँदा सो फिरादबाट नामसारी दर्ता बदर हुन नसक्ने एवं नापीको फिल्डबुकमा उल्लेखित हेराकुमारी प्रतिवादीकै आमा भएको सबुद प्रमाणबाट पुष्टि हुन्छ । तसर्थ नामसारी बदर हुन नसक्ने ठहर गरेको पुनरावेदन अदालतको फैसला सदर गरेको मा.न्या. श्री रामप्रसाद श्रेष्ठको राय सदर गरिनु पर्दछ भनी वहस प्रस्तुत गर्नु भयो ।

१४.   दुवै तर्फका विद्वान कानून व्यवसायीको वहस जिकिर र सम्बन्धित मिसिल अध्ययन गरी पुनरावेदन अदालतले गरेको फैसला मिलेको छ छैन सो कुराको निर्णय दिनुपर्ने देखिन आयो।

१५.   निर्णयतर्फ विचार गर्दा २००७।१।२२ मा वादीका आमा र ठूली आमाले बकसपत्रबाट पाएको साविक मौजाको २५ नं. लांचो १५६।१६६ को जग्गा रोपनी २ हाल नापिमा कि.नं. १०० को ११४२ कायम भई फिल्डबुकमा हेराकुमारी जग्गाधनी जनिएको सो जग्गाको जग्गाधनी दर्ता प्रमाण लिन नपाउंदै प्रतिवादी तेजबहादुरले आफ्नी आमा हेरा लक्ष्मीसंग नाम मिलेको आधारमा नमसारी गरिपाऊँ भनी दिएको निवेदनमा उक्त जग्गा समेत घुसाई मालपोत कार्यालयबाट नामसारी दर्ता गरी दिने भन्ने मिति ०४४।११।१९ को निर्णय त्रुटीपूर्ण हुंदा बदर गरिपाऊँ भन्ने फिराद दावी र विवादित जग्गाको साविक पोता भिडाई आमाको नाममा २०२३ सालमा दर्ता भएको र निजको मृत्युपछि ०४४ सालमा नामसारी गराई लिएको हो वादीको जग्गा भए ०२३ सालको दर्तालाई २ वर्षभित्रमा नालेस गराई बदर गराउन सक्नुपर्नेमा  हदम्यादभित्र नपरेको तथा ०४४ सालको नामसारी बदर गरिपाऊँ भन्ने प्रस्तुत फिराद पत्रबाट इन्साफ गर्न मिल्दैन  भन्ने प्रतिउत्तर जिकिर भएको देखिन्छ । वादी दावी बमोजिम मालपोत कार्यालयको निर्णय बदर गर्ने गरेको शुरु जिल्ला अदालतको फैसला उल्टी गरेको पुनरावेदन अदालतको फैसला उपर वादीको पुनरावेदन पर्न आएकोमा प्रतिवादीका नाउंको नामसारी बदर गर्ने ठहर्‍याएको शुरुको फैसला उल्टी गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसला बदर भई उल्टी हुने ठहर्छ भन्ने माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्यायको राय र विवादित जग्गा प्रतिवादीको आमा हेराकुमारी प्रजापतीको नाममा दर्ता गर्ने गरी जग्गाधनी दर्ता प्रमाणपूर्जा दिने गरेको निर्णय बदर गरी हक कायम गरिपाऊँ भन्ने वादी दावी नभएको अवस्थामा प्रतिवादीको नाममा दा.खा. नामसारी गर्ने निर्णय बदर गर्न नमिल्ने हुंदा मालपोत कार्यालयको निर्णय बदर गरेको शुरुको फैसला उल्टी हुने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको फैसला मनासिव देखिंदा सदर हुने भन्ने माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठको राय भई  सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३(१)(क) अनुसार प्रस्तुत मुद्दा यस इजलास समक्ष पेश हुन आएको देखिन्छ ।

१६.    विवादित कि.नं. १०० को जग्गा तथा कि.नं. ३५३, ३६० र ३६२ समेतका जग्गा २०२३ सालमा प्रतिवादीको आमा हेराकुमारी प्रजापतीको नाममा दर्ता भई ०२३।११।१० मा उक्त जग्गाहरुको जग्गाधनी प्रमाणपूर्जा समेत निज हेराकुमारीले प्राप्त गरेको मिसिलबाट देखिन आउंछ । निज हेराकुमारी प्रजापतीको परलोक भएकोले आमाको नाममा रहेको विवादित  जग्गा आफ्नु नाममा दाखिल खारेज गरिपाऊँ भनी प्रतिवादी तेजबहादुरको निवेदन परेपछि विवादित जग्गा समेत निवेदक तेजबहादुरको नाममा नामसारी गरिदिने भन्ने मालपोत कार्यालय भक्तपुरबाट मिति २०४४।११।१९ मा निर्णय भई यी प्रतिवादीले जग्गाधनी प्रमाणपूर्जा पाएको देखिन्छ । हेराकुमारीको नाममा विवादीत कित्ता १०० समेत अन्य कित्ताहरु समेत एउटै ज.ध. दर्ता प्रमाणपूर्जा पाई मिति २०२३।११।१० मै जग्गा दर्ता भई जग्गाधनी प्रमाणपूर्जा लिए उपर निज हेराकुमारी जिवित छदैं मुलुकी ऐन,जग्गा पंजनीको १७ नं. को हदम्याद २ वर्ष भित्र यी वादीले नालेस गरी दर्ता बदर गराउने कार्यवाही चलाएको देखिन आउंदैन । निज हेराकुमारीको मृत्युपछि प्रत्यर्थी प्रतिवादी छोरा तेजवहादुरले विवादको जग्गा  २०४४।११।१९ मा नामसारी गरे पछि मात्र सो नामसारी वदर तर्फमात्र थाहा पाएको मितिले भनी मिति २०५०।२।२४ मा प्रस्तुत फिराद परेको देखिन्छ । यस्तै प्रश्न समावेश भएको लाला बुद्धिमान श्रेष्ठ विरुद्ध पूर्णकला उपाध्याय भएको दर्ता बदर हक कायम मुद्दामा (ने.का.प. ०४३, अंक १२, नि.नं. २९२३, पृष्ठ ११३८) सर्भे नापजाँचको क्रममा एकाको हकभोग दर्ताको जग्गा अर्काको नाममा नापीमा दर्ता भएकोमा त्यस्तो जग्गा नापी भई दर्ता श्रेस्ता खडा भएको मितिबाटै मुद्दा गर्नुपर्ने कारण सिर्जना भएको मान्नु पर्छ भनी ९ सदस्यीय पूर्ण इजलासबाट सिद्धान्त प्रतिपादन भएको पाइन्छ ।  यसबाट समेत विवादको जग्गा वादीको आमाको नाउंमा दर्ता नभई प्रतिवादीकी आमा हेराकुमारीको नाममा २०२३ सालमा दर्ता भएकोमा विवाद नभएपछि सो दर्ता तर्फ जग्गा मिच्नेको २ वर्ष भित्र सो दर्ता वदर तर्फ नालेश गर्नुपर्नेमा गरेको  देखिन नआएकोले वादी दावीका अन्य कुरामा विचार गरी रहनै  परेन ।

१७.   तसर्थ प्रतिवादीको नाममा कि.नं. १०० को जग्गा दा.खा. नामसारी गर्ने गरेको मालपोत कार्यालय भक्तपुरको ०४४।११।१९ को निर्णय बदर गर्ने गरेको शुरु जिल्ला अदालतको फैसला उल्टी गरेको पुनरावेदन अदालत पाटनको मिति २०५३।१०।१४ को फैसला मिलेकै  देखिंदा सो फैसला सदर गरेको माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठको राय मनासिव हुँदा सदर हुने ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियमानुसार बुझाई दिनु ।

 

उक्त रायमा सहमत छौं ।

 

न्या.अर्जुनप्रसाद सिंह

न्या.राजेन्द्रकुमार भण्डारी

 

इति संवत् २०६२ साल वैशाख १५ गते रोज ५ शुभम् .....

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु