शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७५२४ - अंश दर्ता ।

भाग: ४७ साल: २०६२ महिना: श्रावण अंक:

निर्णय नं. ७५२४    ने.का.प.२०६२ अङ्क ४

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली

माननीय न्यायाधीश श्री अर्जुनप्रसाद सिंह

सम्वत् २०५७ सालको दे.पु. नं. ७०४६

फैसला मितिः २०६२।३।१।४

 

मुद्दाःअंश दर्ता  ।

 

            पुनरावेदक/वादी जिल्ला धनुषा जनकपुर नगरपालिका वडा नं. ११ वस्ने दशरथ शाह        हलुवाई

            विरुद्ध

            प्रत्यर्थी/प्रतिवादी ऐ.ऐ. वस्ने लक्ष्मी साह कानू

 

§  वादी प्रतिवादीहरु एकासंगोलमा भए संगोलका अंशियारमा हक हस्तान्तरण गर्नुपर्ने अवस्था र प्रयोजन नआउने ।

§  मुल अंशी मात्र अंशियार नठहरिने हुंदा मुल अंशीकी एकाघरकी पत्नीलाई अंशियार मान्न नहुने र निजका नामवाट अन्य अंशियारमा हक हस्तान्तरण भएको कुरालाई प्रमाणमा लिएर वादी प्रतिवादीहरु छुट्टि भिन्न भएको मान्न नमिल्ने भन्ने जिकिरसँग सहमत हुन नसकिने ।      

(प्रकरण नं.२०)

§  प्रतिवादीहरुले छुट्टाछुट्टै जग्गा दर्ता गरी अलग अलग भोग विक्रि व्यवहार गरेको अवस्थामा अंशवण्डाको ३० नं. ले वण्डापत्रको लिखत आवश्यक हुने अवस्था देखिन नआउने ।      

(प्रकरण नं.२१)

 

पुनरावेदक वादी तर्फवाटः विद्वान अधिवक्ता श्री कमलनारायण दाश

प्रत्यर्थी प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री सुरेन्द्रकुमार महतो

अवलम्वित नजीरः

 

फैसला

            न्या.अर्जुनप्रसाद सिंहः पुनरावेदन अदालत जनकपुरको मिति ०५७।१।१२ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत वादी पक्षको पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छ :

            २.    मुल पुरुष विलट साह कानूनको तीन छोरा मध्ये जेठा छोरा प्र. सखियादेवी कानुको लोग्ने असर्फि साह कानू, माहिला छोरा म फिरादीको वावु अवध साह कानू, र कान्छो छोरा प्र. लक्ष्मी साहकानु समेत भएकोमा विलट साहको मृत्यु पश्चात म फिरादीको वावु र काकाहरु सवै एक साथ सगोलमानै वसि घरको मुख्य प्र. लक्ष्मी साह भएकोमा पारिवारिक संख्या वढेको कारणले आपसमा हितचित्त नमिली २०२० साल वैशाख १ गते जग्गा जमिन सगोलमा राखी मानो छुट्टिई चुल्हो मानो अलग गरी वसेपछि पारिवारीक संख्या वढेकाले केही जग्गा निजि आर्जनवाट खरिद गरी वसि आएकोमा भाग वण्डा गरि दिनु होस भनि विपक्षीलाई पटक पटक भन्दा चुप लाग्दै आएका थिए । २०५१ कार्तिक १ गते का दिन विपक्षीहरुले रिसाई अंश दिन्न भनि जवाफ दिएका हुंदा वाध्य भई यो मुद्दा दिन आएको छु । २०२०।१।१ गतेलाई मानो छुट्टिएको मिति कायम गरी ३ भागको १ भाग अंश छुट्याई पाउँ भन्ने वादीको फिराद पत्र ।

            ३.    असर्फि साह, अवध साह र लक्ष्मी साह सगोलमै रहदाको अवस्थामा श्री जानकी मन्दिर छठ गुठिवाट केही जग्गा लिई घर वनाई वसी आएकोमा ३ अंशियारका बीचमा वाडफाड गरि लेउ भनि अनेकौं पटक भन्दा पनि वण्डा नभएबाट म पनि वैगाशिवपुर गई वसें । विपक्षीसग कुनै वदनियत चिताएको छैन । नापिको समयमा मेरो नाममा ०२ जग्गा मात्र नापि हुंदा देवर लक्ष्मीलाई किन यसरी भएको भनि भन्दा यसले केहि फरक पर्दैन पछि अंशवण्डा हुनेछ भनि भनेकाले विश्वासमा वसेको छु भन्ने प्र. सखियादेवीको प्रतिउत्तरपत्र ।

            ४.    वादी दावि झुठ्ठा हो । २०२० साल वैशाख १ गते मानो छुट्टिई वेग्ला वेग्लै घर वनाई वसेको मानिसले आज सम्म वण्डा भएको छैन भन्ने कुरा फरेवी हो । वादी र प्र. सखिया सँग हाम्रो वण्डा भै सकेको छ । सो कुरालाई पुष्टि गर्न हामीहरुले भरेको छुट्टाछुट्टै ७ नं. फाटवारी, वादी प्रतिवादीले छुट्टाछुट्टै जग्गा जमिन विक्रि गरेको प्रमाण समेत पेश गरेको छु । झुठ्ठा दाविबाट अलग फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्र. लक्ष्मी शाह कानुको प्रतिउत्तरपत्र ।

            ५.    आदेशानुसार वादी तथा प्रतिवादीका साक्षीको वकपत्र भै मिसिल सामेल  रहेको ।

            ६.    प्रतिवादीले पेश गरेको लिखतहरु मेरो अंश मार्ने उद्देश्यले किर्ते जालसाज तरिकावाट तयार गरि पेश गरिएको हो भन्ने वादी वा माधव ढुङ्गानाको वयान ।

            ७.    वादीको वारेशले गरेको वयान वास्तविक हो । घरसारका लिखत सवै जालसाजी हुन् । अंशको छोडपत्र कागज जालसाजी हो । अंश मार्न झुठ्ठा घरसारको कागज बनाई जालसाज गरेका हुन् भन्ने प्र. सखियादेवीको वयान ।

            ८.    वादी तथा प्र. सखिया देवीको वयान झुठ्ठा हो । सवै लिखतहरु सद्दे हुन् भन्ने समेत व्यहोराको प्र. वा प्रद्युम्नलालको वयान ।

            ९.    विवादित लिखत जाँच भै विशेषज्ञको राय प्राप्त भएको ।

            १०.    आदेशानुसार वादी प्रतिवादी जिम्मा रहेको सम्पत्तिको तायदाति फाटवारी पेश भएको ।

            ११.    घरसारको केहि लिखतहरुकै मात्र आधारमा यि वादीले अंश पाइसकेको ठह¥याउन नमिल्ने हुंदा पेश भएको तायदाति फाटवारीमा उल्लेखित ऋणको हकमा शाहुको उजुरी परेका वखत ठहरे बमोजिम गर्ने गरी फाटवारीमा उल्लेखित सम्पूर्ण श्री सम्पत्ति मध्येवाट नरम करम मिलाई वादीले ३ भागको १ भाग अंश पाउने ठहर्छ भन्ने धनुषा जिल्ला अदालतको मिति ०५४।१२।१७ को   फैसला ।            १२.   शुरु धनुषा जिल्ला अदालतको फैसलामा चित्त वुझेन । वादी प्रतिवादीको बीच छुट्टाछुट्टै भोग विक्रि व्यवहार लेनदेन भै अंशवण्डा भै सकेको प्रमाणित भएको अवस्थामा वादी दावि बमोजिम अंश पाउने ठहराएको शुरु जिल्ला अदालतको फैसला त्रुटिपूर्ण भएकोले वदर गरी इन्साफ पाउँ भन्ने प्र. लक्ष्मी साहको पुनरावेदन पत्र ।

            १३.   यसमा प्रतिवादी पुनरावेदकले प्रमाण दिएको ७ नं. हरु र घरसारका लिखतहरु एवं जानकी मन्दिर (छुट गुठि) को च.नं. ७१०५४।०५५ मिति ०५४।१२।६ को पत्र सम्लग्न प्रमाणको मूल्यांकन नगरी भएको शुरु धनुषा जिल्ला अदालतको फैसला प्रमाण ऐन, २०३१ को दफा ५४ को त्रुटि भै फरक पर्न सक्ने भएकोले अ.वं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई पेश गर्नु भन्ने पुनरावेदन अदालत जनकपुरको मिति ०५५।६।२५ को आदेश ।

            १४.   वादी प्रतिवादीहरु २०२० साल भन्दा पनि अघि देखिनै अलग भिन्न भै आआफ्नो सम्पत्ति अलग अलग भोग दर्ता विक्रि व्यवहार गर्दै आएको मिसिल सम्लग्न सवुद प्रमाणबाट परिपुष्टि भै रहेको देखिनाले निजहरु अघिदेखिनै अंश छुट्टिई भिन्न भै सकेको मान्नु पर्ने हुंदा शुरुवाट वादीले प्रतिवादीवाट अंश पाउने ठहराएको फैसला मिलेन । सो नमिल्नाले मिसिल सम्लग्न २०१५।३।५ को लिखत सद्दे ठहराई वादी दावि नपुग्ने ठहराउनु पर्नेमा लिखत तर्फ केही नवोली वादीले अंश पाउने ठहराएको शुरु धनुषा जिल्ला अदालतको मिति ०५४।१२।१७ को फैसला गल्ती हुंदा सो उल्टी भै मिति ०१५।३।५ को लिखत सद्दे ठहर्छ र अंश पाउँ भन्ने वादी दावी समेत नपुग्ने ठहर्छ । लिखत सद्दे ठहर्नाले किर्ते जालसाजी भन्ने वादी दशरथ शाह कानुलाई दण्ड सजायको १८ नं. बमोजिम रु.६२।६३ जरिवाना हुन्छ भन्ने पुनरावेदन अदालत जनकपुरको मिति २०५७।१।१२ को फैसला ।

            १५.   पुनरावेदन अदालतको फैसला चित्त वुझेन । वादी प्रतिवादीहरु २०२० साल भन्दा अघिनै छुट्टि भीन्न भएको भन्ने कुरालाई मिसिल संलग्न प्रमाणले पुष्टि गर्दैन । त्यसरी छुट्टि भिन्न भएको भए कसको भागमा के कति जग्गा परेको हो प्रतिवादीले खुलाउन सकेका छैनन् । ७ नं. फारम भरेको भन्ने आधारमा अंशवण्डा भएको भन्न मिल्ने होइन । रजिष्टेशन नभएको घर सारको लिखत वन्धनकारी हुने होइन । वर्तनियादेवी हाम्रो अंशियार नभएको हुंदा निजको नामवाट म वादीका पिता अवध शाह र काका स्व. असर्फि शाहको नाममा दा.खा. हुंदामात्रै वण्डा भएको अनुमान गर्न नमिल्ने हुंदा पुनरावेदन अदालतवाट दावि पुग्न नसक्ने गरी भएको फैसला त्रुटिपूर्ण हुंदा वदर गरि पाउं भन्ने वादीको यस अदालतमा परेको पुनरावेदन पत्र ।

            १६.    यसमा २०१५।३।५ को घरसारको लिखतको सम्वन्धमा अ.वं. ७८ नं. बमोजिम कारवाही गर्दा वादीले सो लिखत किर्ते जालसाजी भनी वयान गरेको र सो लिखत रजिष्ट्रेशनको १ नं. बमोजिम पारित नभएको कागजवाट चार किल्ला वा क्षेत्रफल समेत नखोलिएको हुंदा हक हस्तान्तरण गरेको भनि कानूनले मान्न नमिल्ने र सो लिखत समेत रेखा तथा लेखा विशेषज्ञवाट परिक्षण गरि राय प्राप्त भएकोमा सो राय दिने विशेषज्ञलाई वकपत्र नगराई प्रमाणको रुपमा ग्रहण गरेको तथा तायदाति फाँटवारीवाट असमान क्षेत्रफल रहेको देखिएको साथै वण्डापत्रको कुनै लिखत नभई घरसारको लिखतको आधारमा व्यवहार प्रमाणवाट वेगल भएको ठहराएको पुनरावेदन दालत जनकपुरको फैसलामा मुलुकी ऐन रजिष्ट्रेशनको १ नं. अंशवण्डाको ३० नं. तथा प्रमाण ऐनको दफा २३ (७) को व्याख्याको गम्भिर कानूनी त्रुटि भै उक्त फैसला फरक पर्न सक्ने देखिंदा छलफलको लागि अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाई नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति ०६०।९।९ को आदेश ।

            १७.   नियमबमोजिम दैनिक मुद्दा पेशीसूचीमा चढि पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीका तर्फवाट उपस्थित विद्वान अधिवक्ता श्री कमलनारायण दाशले वादी प्रतिवादीहरु बीच अंशवण्डा भएको रजिष्ट्रेशन पारित लिखत नभएकोमा विवाद छैन । घरसारमा वण्डापत्र भएको लिखत पनि छैन, ७ नं. फाटवारी अलग अलग भरेकै आधारमा अंशवण्डा भएको भनि मान्न मिल्ने होइन । २०१५ सालमा अवध शाहले गरि दिएको घडेरी जग्गाको हक छाडी दिएको भन्ने लिखतलाई आधार मानेर अंश छुट्टिएको भन्न मिल्दैन । सो लिखतमा चार किल्ला खुलेको छैन, कुन घडेरी हो भन्ने निश्चित हुदैन उक्त लिखत वतासे लिखतको रुपमा रहेको छ । वर्तनिया देवी अंशियार होइनन् निजवाट असर्फि साह र अवध साहका नाममा जग्गा दा.खा. हुदैमा वादीको अंश हक जाने होइन यसलाई प्रमाणमा लिन मिल्ने होईन । २०२० साल पछि कमाएको निजि आर्जनको सम्पत्ति घर व्यवहार चलाउन अरुलाई विक्रि गरेकै आधारमा स्वतन्त्र रुपमा भोग विक्रि व्यवहार गरेको भनि मान्न नमिल्ने हुंदा पुनरावेदन अदालतले गरेको फैसला उल्टी भै जिल्ला अदालतको फैसला सदर हुनुपर्छ भनि वहस प्रस्तुत गर्नुभयो । प्रत्यर्थी प्रतिवादीका तर्फवाट उपस्थित विद्वान अधिवक्ता श्री शुरेन्द्रकुमार महतोले ७ नं. फाटवारी अलग अलग भरिएको छ । प्र. लक्ष्मी शाहको श्रीमती वर्तनियालाई अंशियार होइनन् भन्ने विपक्षीको भनाई उचित होइन । अंशवण्डाको १ नं. अनुसार निज पनि अंशियार हुन् । ०१५ सालको लिखत अंश छोडपत्रको कागज हो । वादी दशरथले राममणिलाई २०२९ सालमा हक हस्तान्तरण गरेको जग्गा स्व आर्जनको भनेतापनि वादीले २०२० साललाई मानो छुट्टिएको मिति कायम गरेर त्यसो भनेका हुन स्व आर्जन भन्दैमा पुष्टि हुने होइन । फिराद परेको अघिल्लो दिनलाई मानु छुट्टिएको मिति कायम भई सकेको छ। तसर्थ प्रमाणको मूल्यांकन गरी पुनरावेदन अदालतवाट भएको फैसला कानून र न्याय संगत हुंदा सदर हुनुपर्छ भनि वहस प्रस्तुत गर्नुभयो ।

            १८.   विद्वान कानून व्यवसायीहरुले प्रस्तुत गर्नु भएको वहस जिकिर सुनि पेश भएको पुनरावेदन सहितको मिसिल कागज अध्ययन गरी हेर्दा पुनरावेदन अदालत जनकपुरको फैसला मिले नमिलेको के रहेछ भनि निर्णय दिनु पर्ने देखिन आयो ।

            १९.    निर्णयतर्फ विचार गर्दा ३ भागको १ भाग अंश छुट्याई पाउँ भन्ने फिराद दावि भएकोमा २०२० साल भन्दा अगाडिनै छुट्टि भिन्न भएको हुंदा अंश दिनु पर्ने होइन भन्ने प्रतिउत्तर जिकिर रहेछ। शुरु जिल्ला अदालतले वादी दावी बमोजिम अंश पाउने ठहराएकोमा पुनरावेदन अदालतले वादी प्रतिवादीहरु २०२० साल अगाडिनै छुट्टि भिन्न भएका भनि शुरु फैसला उल्टी गरी अंश नपाउने ठहराए उपर वादीको पुनरावेदन परेको देखिन आयो । २०१५।३।५ मा यी पुनरावेदक वादी दशरथका वावु अवध साहले निजका दाजु असर्फि र भाई लक्ष्मी शाहवाट रु ५०१ वुझि लिई आफ्नो हकको घडेरी छाडि दिएको लिखत गरि दिएको देखिन्छ । सो लिखत विशेषज्ञ जाँचवाट समेत सद्दे साँचो देखिंदा प्रमाणमा लिन मिल्ने तथा लिखत गर्ने कारणीको हकमा वन्धनकारी हुनेनै देखियो । यसवाट वादी प्रतिवादी बीच लेनदेन भएको कुरा समेत देखिन आउछ । वादीका वावु अवध शाह, प्र. सखियाका पति असर्फि र प्र. लक्ष्मी साहकी श्रीमती वर्तनियाले अलग अलग ७ नं. फाँटवारी भरेकोमा विवाद   छैन । वादी प्रतिवादीहरुका नाममा विभिन्न जग्गाहरु अलग अलग दर्ता भएको मिसिलवाट देखिई रहेको छ । वर्तनियावाट २०३०।१।१५ मा नुरमहमद तथा २०३३।१०।१५ मा विल्टु पण्डित कुम्हारका नाउंमा दा.खा. भएको, ०३५।९।१२ मा सखियाले चन्देश्वरलाई, ०३५।७।२७ मा वादी दशरथले राममणिलाई, २०२९।११।२३ मा अवधले मिश्री पंजियारलाई राजिनामा पास गरि दिएको मिसिल प्रमाणवाट देखिंदा वादी प्रतिवादीहरुले अलग अलग भोग विक्रि व्यवहार गरेको पुष्टि भएको देखिन आउछ ।

            २०.   प्र. लक्ष्मी शाहको श्रीमती वर्तनियाको नाउँमा रहेको जग्गा निजको नामवाट असर्फि शाह र अवध शाहका नाउंमा ०२१।२।२९ मा दाखेल खारेज भई आएको देखिंदा वादी प्रतिवादीहरु एका संगोलमा भए संगोलका अंशियारमा हक हस्तान्तरण गर्नुपर्ने अवस्था र प्रयोजन आउने थिएन । सो को प्रयोजनको वारेमा वादी पक्षले सप्रमाण खुलाउन सकेको पनि देखिदैन । मुल अंशी मात्र अंशियार नठहरीने हुंदा मुल अंशी लक्ष्मी शाहकी एकाघरकी पत्नी वर्तनिया देवीलाई अंशियार मान्न नहुने र निजका नामवाट अन्य अंशीयारमा हक हस्तान्तरण भएको कुरालाई प्रमाणमा लिएर वादी प्रतिवादीहरु छुट्टि भिन्न भएको मान्न नमिल्ने भन्ने पुनरावेदक वादी पक्षका विद्वान कानून व्यवसायीको जिकिर सँग सहमत हुन सकिएन ।

            २१.   यसप्रकार वादी प्रतिवादीहरुले छुट्टाछुट्टै जग्गा दर्ता गरी अलग अलग भोग विक्रि व्यवहार गरेको देखिई रहेको अवस्थामा अंशवण्डाको ३० नं. ले वण्डापत्रको लिखत आवश्यक हुने अवस्था देखिन आएन । यस अदालतबाट मिति ०६०।९।९ मा प्रत्यर्थी झिकाउदा लिइएका आधार बुँदा सँग यो वेञ्च सहमत हुन सकेन । तसर्थ वादी दावि बमोजिम अंश पाउने ठहराएको शुरु जिल्ला अदालतको फैसला उल्टी गरी अगाडिनै छुट्टि भिन्न भै सकेको आधारमा वादी दावि बमोजिम अंश नपाउने ठहराएको पुनरावेदन अदालत जनकपुरको मिति ०५७।१।१२ को इन्साफ मनासिव देखिंदा सदर हुने ठहर्छ । वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरु तपसिल बमोजिम गर्नु ।

 

तपसिल

माथि इन्साफ खण्डमा लेखिए अनुसार पुनरावेदन अदालत जनकपुरको फैसला सदर हुने ठहरेको हुंदा सो फैसला अनुसार प्रतिवादीले वादीवाट भराई पाउने ठहरेको कोर्टफि रु.७८५ वादीले पुनरावेदन पत्र दर्ता गर्दा र.नं. ४६ मिति ०५७।६।९ मा पुनरावेदन अदालत जनकपुरमा धरौटी  राखेको देखिंदा ऐनका म्याद भित्र सो रकम फिर्ता पाउँ भनि प्रतिवादीको दरखास्त पर्न आए फिर्ता खर्च लेखी दिनु भनि पुनरावेदन अदालत जनकपुरलाई लेखि पठाई दिनु –––––––

दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरि बुझाई दिनु ––––

उक्त रायमा सहमत छु

 

न्या.चन्द्रप्रसाद पराजुली

 

 

इति सम्वत् २०६२ साल आषाढ १ गते रोज ४ शुभम––––

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु