निर्णय नं. ७५२५ - जीउ मास्ने वेच्ने ।

निर्णय नं. ७५२५ ने.का.प.२०६२ अङ्क ४
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली
माननीय न्यायाधीश श्री वलराम के.सी.
सम्वत् २०६० सालको फौ.पु. नं. ३२३२
फैसला मितिः २०६२।३।१७।६
मुद्दाः– जीउ मास्ने वेच्ने ।
पुनरावेदक/वादीः सुमित्रा अर्यालको जाहेरीले वादी श्री ५ को सरकार
विरुद्ध
प्रत्यर्थी/प्रतिवादीः जिल्ला मकवानपुर खेरान गा.वि.स.वडा नं. २ घर भई हाल कारागार शाखा जगन्नाथ देवल काठमाडौंमा थुनामा रहेको रघु भन्ने राजेश लामा
§ प्रतिवादीको उमेर १६ वर्षभन्दा वढी भएकोले पूरै सजाय हुनुपर्छ भनी जिकिर लिने वादी तर्फवाट निजको उमेर सम्वन्धमा यकीन गर्न नसकेको अवस्थामा चिकित्सक विशेषज्ञ भएको कारण निजको रायलाई नै आधिकारिक राय मान्नुपर्ने ।
§ कुनै व्यक्तिको उमेर १६ वर्ष पूरा भएको हो होइन भन्ने सम्वन्धमा यही नै र यति नै हो भनी ठीक तवरले वैज्ञानिक परीक्षणबाट समेत भन्न नसकिने भनी विशेषज्ञलेनै भनेको उमेर प्रमाणीत हुने अन्य शैक्षिक, कानूनी आदि आधारसमेत वादीले पेश गर्न नसकेको अवस्थामा प्रतिवादीले खुलाएको उमेरलाई नमानी प्रतिवादी १६ वर्ष पूरा भएको व्यक्ति हो भनी ठहर गर्न नमिल्ने ।
§ उमेरका आधारमा कानूनबमोजिमको कुनै अपराधमा सजायमा कमि वा वढि हुन्छ र मुद्दा चलाउने वादी नै आफूले अभियोग लगाई मुद्दा चलाएको अभियुक्तको उमेर यकीन गर्न आवश्यक प्रमाण संकलन गर्न सक्तैन भने विनाआधार अनुमानको भरमा अदालतले अभियुक्त १६ वर्ष पूरा गरेको भनी ठहर गर्नु फौज्दारी न्यायको मान्य सिद्धान्त विपरीत हुने ।
(प्रकरण नं. २१)
§ उमेर जाँच गर्ने डाक्टरको प्रतिवेदन र वकपत्रवाट प्रतिवादीको उमेरका सम्वन्धमा यकिन हुन नसकेको र वादीले भरपर्दो प्रमाण पेश गर्न नसकेको अवस्थामा यस अदालतले प्रतिवादीको उमेर १६ वर्ष पुरा भएको ठहर गर्ने हो भने फौज्दारी न्यायको सिद्धान्त विपरीत शंकाको सुविधा वादीलाई प्राप्त हुन जाने ।
(प्रकरण नं. २३)
पुनरावेदक वादी तर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री सरोजप्रसाद गौतम
प्रत्यर्थी प्रतिवादी तर्फवाटः
अवलम्वित नजीरः
फैसला
न्या.वलराम के.सी : पुनरावेदन अदालत पाटनबाट मिति २०६०।१।२ मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ उपदफा (१) को (ग) अन्तर्गत वादी श्री ५ को सरकार तर्फवाट पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छ :–
२. म घरबाट काठमाडौं आई चावहिलमा घरमा रङ्ग लगाउने काम गर्दै आएकोमा मिति २०५६।८।१३ मा विकास भन्ने संग चावहिलमा भेट भई परिचय भएकोमा निज विकास भन्ने रुद्रे भन्ने व्यक्ति समेतले मलार्ई हामी संग हिड दार्जलिङ्गमा मेरो भिनाजु कुइरेकोमा काम गर्नु हुन्छ त्यहाँ काममा लगाई दिन्छौ भनि १६ गते विकास, रुद्रे र राजेश भन्ने भएर पशुपति नगर जाने रात्री वसमा टिकट काटी सिलगुडी हुदै भारतको पुना भन्ने ठाउंमा पुर्याई साठी हजारमा वेश्यालयमा विक्रि गरी आएकोमा म वाध्य भई वेश्यावृत्तिमा संलग्न हुन परेको र दश महिना पछि माईती नेपालको सहयोगमा गत असोज ३० गते नेपाल आउन सफल भएको हुंदा निज अपराधीहरुको खोजतलास गरि कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको पीडित सुमित्रा अर्यालको जाहेरी दर्खास्त साथै सोहि व्यहोराकै मिलानमा अनुसन्धान अधिकृत समक्ष गरेको वयान ।
३. रघु भन्ने राजेश लामाले मलाई वेश्यालयमा विक्रि गरेको भनि चिनी सनाखत गरेको ।
४. सुमित्रा भन्ने केटीलाई भारत लगी वेश्यालयमा विक्रि गर्ने सल्लाह गरी म र रुद्रे थानकोटमा वसेकोमा विकास भन्ने व्यक्तिले सुमित्रालाई लिएर आए पछि सोहि वसमा म र रुद्रे चढी पशुपतिनगर हुदै भारतको पुना स्थित वेश्यालयमा विक्रि गरी आएको हो मलाई नेपाल आए पछि रु ५०००। दिएका थिए भन्ने रघु भन्ने राजेश लामाको वयान ।
५. सुमित्रालाई राजेश लामा भन्ने व्यक्ति समेतले काममा लगाई दिन्छौ भनि प्रलोभन देखाई झुक्याई भारत वेश्यालयमा रु.६०,०००। मा विक्रि गरेका हुन भन्ने वुझिएका कल्पना गुरुङ्गको कागज ।
६. यी प्रतिवादीले जाहेरवालीलाई विक्रि गरेको भन्ने प्रष्ट हुन आएवाट प्र. राजेश भन्ने रघु समेतले जिउ मास्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ३ र दफा ४ (क) को वर्खिलापको कसूर हुंदा प्र. रघु भन्ने राजेश लामा उपर ऐ. ऐनको दफा ८ (१) अनुसार सजाय हुन तथा ऐ. ऐनको दफा ८ (५) अनुसार थप सजाय हुन समेतको अभियोग माग दावी ।
७. विवेकको कोठामा काम गरी वसेको वेला ०५७।८।१ गते मलाई पक्राउ गरी हनुमान ढोका लगेको हो मैले जाहेरवालालाई विक्रि गर्ने कुनै कार्यमा संलग्न छैन । जाहेरी झुठा हो मैले त्यस्तो काम गरेको छैन प्रहरीमा लेखिएका कुराहरु मैले भनेको होइन प्रहरीले सही गर भने मैले कुटपीट हुन्छ भन्ने डरले गर्दा सही गरेको हुं भनी अदालतमा प्र. रघु भन्ने राजेश लामाले गरेको वयान ।
८. The age of Mr.Rajesh Lama is in between 16 and 17 years भन्ने उमेर प्रमाणित प्रतिवेदन ।
९. यि प्रतिवादीको उमेर १६ वर्ष भन्दा माथि नै देखिएको र कसूरसिद्ध हुन आएकोले जिउ मास्ने वेच्ने कार्य ( नियन्त्रण) ऐन, २०४३ को दफा ८ (१) र (५) अनुसार प्रतिवादी रघु भन्ने राजेश लामालाई कैद वर्ष १० र विगो बमोजिम रु ६०,०००। ( साठी हजार) जरिवाना समेत हुने ठहर्छ भन्ने काठमाडौं जिल्ला अदालतको मिति २०५९।२।१४ गतेको फैसला ।
१०. शुरु अदालतवाट वुझ्नु पर्ने प्रमाण नवुझेको र मेरो सत्य भनाइलाई प्रमाणको रुपमा नलिई मैले जाहेरवालीलाई विक्री गर्न कुनै भूमिका नखेलेको प्रष्ट हुंदा हुँदै मलाई सजाय गर्ने गरि भएको फैसला अन्याय पूर्ण हुंदा उक्त काठमाडौं जिल्ला अदालतको फैसला उल्टी गरी सफाई पाउँ भन्ने प्रतिवादीको पुनरावेदन अदालत पाटन समक्ष पुनरावेदन पत्र ।
११. उसमा उमेर सम्वन्धमा पुनरावेदन अदालतले वयानमा १४ वर्ष भनि लेखाएको र Institute of Medicine Maharajgunj Campus बाट प्राप्त प्रतिवेदनमा १६–१७ वर्षको भनि उल्लेख भई आएको देखिएकोमा उमेर जाँच गर्ने विशेषज्ञको परीक्षण नगराई भएको शुरुको इन्साफ फरक पर्न सक्ने देखिंदा छलफलको निमित्त विपक्षीलाई झिकाउनु भन्ने पुनरावेदन अदालत पाटनको मिति ०५९।९।९ को आदेश ।
१२. परीक्षणको आधारमा १६ देखि १७ वर्षको उमेर पाएँ । यसको मतलव निज १५ वर्ष पुगी १६ वर्ष लागि सकेको अथवा १६ वर्ष पुग्दै गरेको तर १७ वर्ष भने पुरा गरेको मैले जाँच गरेको अवस्थामा छैन भन्ने समेत व्यहोराको प्रतिवादी राजेश लामाको उमेर प्रमाणित गर्ने विशेषज्ञले गरेको वकपत्र ।
१३. प्रतिवादी राजेश लामाले अभियोग दावी बमोजिम अपराध गरेको ठहर गरी शुरु काठमाडौं जिल्ला अदालतबाट भएको फैसला मिलेको भए पनि प्रतिवादीको उमेर वारदात भएको अवस्थामा १४ वर्ष भन्दा माथि तथा १६ वर्ष भन्दा कम रहेको देखिनाले निजलाई वाल वालिका सम्वन्धी ऐन, २०४८ को दफा ११(३) अनुसार आधि मात्र सजाय अर्थात ५ वर्ष कैद र रु ३०,०००। मात्र जरिवाना हुने ठहर्छ भनी पुनरावेदन अदालत पाटनवाट मिति २०६०।१।२।३ मा भएको फैसला ।
१४. द्धिविधाग्रस्त वकपत्रको आधार लिएर कसूर ठहर भै सकेको जीउ मास्ने वेच्ने जस्तो गम्भिर प्रकृतिको मुद्दामा मिसिल संलग्न प्रमाणहरुलाई न्यायपूर्ण रुपमा विवेचना नगरी प्रतिवादीलाई घटी सजाय हुने गरी भएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुंदा सो हद सम्म वदर गरी शुरु फैसला सदर गरिपाऊँ भन्ने वादी श्री ५ को सरकार तर्फवाट परेको पुनरावेदन पत्र ।
१५. नियमबमोजिम पेशीसूचीमा चढी पेश हुन आएको पुनरावेदन सहितको मिसिल कागजात अध्ययन गरी वादी श्री ५ को सरकार तर्फवाट रहनु भएका विद्वान सहन्यायाधिवक्ता श्री सरोजप्रसाद गौतमले उमेर प्रमाणित गर्ने चिकित्सकले दिएको प्रतिवेदनमा १६ र १७ वर्षको वीचमा भन्ने उल्लेख भई अदालतमा १५ वर्ष पुगी १६ वर्ष लागि सकेको १७ वर्ष भने पुरा गरेको नपाएको भन्ने जस्तो द्धिविधाग्रस्त वकपत्र गरेको अवस्थामा अन्य तथ्य तर्फ हेर्दै नहेरी गलत उमेर विश्लेषण गरिएको पुनरावेदन अदालतको फैसला त्रुटीपूर्ण छ भनी गर्नु भएको वहस समेत सुनी प्रस्तुत मुद्दामा पुनरावेदन अदालत पाटनवाट मिति २०६०।१।२ मा भएको फैसला मिलेको छ, छैन भनी निर्णय दिनु पर्ने हुन आयो ।
१६. निर्णयतर्फ विचार गर्दा पिडित सुमित्रा अर्याललाई भारतको पुना स्थित वेश्यालयमा विक्रि गरेको कसूरमा प्रतिवादी रघु भन्ने राजेश लामालाई जीउ मास्ने वेच्ने कार्य ( नियन्त्रण ) ऐन, २०४३ को दफा ३ र ४ (क) विपरीत कसूरमा ऐजनको दफा ८ (१) र ८ (५) अनुसार सजाय समेत हुन अभियोगपत्र दायर भएको यस मुद्दामा दावी बमोजिम कसूरदार ठहर्याई कैद वर्ष १० (दश) र विगो बमोजिम रु ६०,०००। जरीवाना समेत हुने ठहर गरेको शुरु काठमाडौं जिल्ला अदालतको फैसला सजायको हदसम्मकेही उल्टी गरी वाल वालिका सम्वन्धी ऐन, २०४९ को दफा ११ (३) अनुसार आधि सजाय अर्थात ५ वर्ष कैद र रु ३०,०००। मात्र जरीवाना हुने ठहर गरेको पुनरावेदन अदालतको फैसला उपर वादी श्री ५ को सरकार तर्फवाट प्रस्तुत पुनरावेदन परेको देखिन्छ ।
१७. जीउ मास्ने वेच्ने कार्य ( नियन्त्रण ) ऐन, २०४३ को दफा ३ र ४ (क) विपरीतको कसूरमा दफा ८(१) र (५) बमोजिम सजाय गर्ने गरेको पुनरावेदन अदालतको फैसलालाई प्रतिवादी राजेश लामाले स्वीकार गरी पुनरावेदन नगरी वसेको हुंदा प्रतिवादी कसूरदार हो होइन भन्नेतर्फ विचार गरिरहनु परेन । वालवालिका सम्वन्धी ऐन, २०४८ को दफा ११(३) अनुसार निजलाई आधा मात्र सजाय हुने ठहर गरे तर्फ मात्र पुनरावेदन अदालतवाट भएको फैसला उपर प्रतिवादीलाई पुरै सजाय हुनु पर्ने भनी वादी श्री ५ को सरकार तर्फवाट प्रस्तुत पुनरावेदन परेको हुँदा यस सम्वन्धमानै विचार गर्नुपर्ने देखियो ।
१८. प्रतिवादी राजेशलामाको उमेर सम्वन्धमा मिसिल अध्ययन गर्दा निजले अनुसन्धान अधिकारी समक्ष वयान गर्दा आफु वर्ष १६ को भए भनी वयान गरेको देखिन्छ भने अदालत समक्ष वयान गर्दा वर्ष १४ को भए भनी लेखाएको देखिन्छ । यसरी निजको उमेर सम्वन्धमा विरोधाभाष भएपछि शुरु जिल्ला अदालतको आदेशले त्रिभूवन विश्व विद्यालय, शिक्षण अस्पताल, महाराजगंजमा उमेर जाँचको लागि पठाउँदा डा. हरिहर वस्तीले आफ्नो रायमा On the basis of general physical development, development of secondary sexual characters, dentition and ( radiological evidences (X-ray of skeleton) the age of Mr.Rajesh Lama is in between 16-17 years भन्ने उल्लेख गरेको देखियो । यसै सन्दर्भमा पुनरावेदन अदालतवाट मिति २०५९।९।३ मा भएको आदेशानुसार उमेर सम्वन्धमा राय पेश गर्ने विशेषज्ञ डा. श्री हरिहर वस्तीले अदालतमा उपस्थित भई वकपत्र गर्दा राजेश लामाको उमेर १६ देखि १७ वर्षको पाएँ । यसको मतलव निज १५ वर्ष पुगी १६ लागि सकेको अथवा १६ वर्ष पुग्दै गरेको तर १७ वर्ष भने पुरा गरेकै मैले जाँच गर्दाको अवस्थामा छैन” भन्ने व्यहोरा समेत उल्लेख गराउनु भएको पाइन्छ ।
१९. मिसिलबाट प्रतिवादीको उमेर सम्वन्धमा देखिएका उपरोक्त तथ्यहरुको परिप्रेक्ष्यमा निजलाई पुरै सजाय हुने हो वा वाल वालिका सम्वन्धी ऐन, २०४८ को दफा ११ को उपदफा ३ बमोजिम आधिमात्र सजाय हुने हो भन्ने सम्वन्धमा विचार गर्दा उक्त उपदफामा “चौध वर्ष वा सो भन्दा माथि र सोह् वर्ष भन्दा मुनिको वालकले कुनै अपराध गरे निजलाई कानून बमोजिम उमेर पुगेका व्यक्तिलाई हुने सजायको आधा सजाय हुन्छ ” भन्ने उल्लेख भएको पाइन्छ ।
२०. चिकित्सकको रायमा १६–१७ वर्ष भन्ने उल्लेख भएकोमा उमेर सम्वन्धी अनुसन्धान गरी राय व्यक्त गर्ने चिकित्सक स्वयंले अदालतमा उक्त राय सम्वन्धमा वकपत्र गर्दा १५ वर्ष पुगी १६ वर्ष लाग्दै गरेको अथवा १६ वर्ष पुग्दै गरेको भन्ने उल्लेख गरेको देखिन्छ । यसबाट अन्य प्रमाणको अभावमा प्रतिवादीको उमेर १६ वर्ष पुगेको भन्न सकिने कानूनी आधार देखिएन । वरु वकपत्र गर्ने विशेषज्ञको वकाइ हेर्दा प्रतिवादी १६ वर्ष पुरा नभएको १६ वर्ष मुनिकै हो कि भन्ने जस्तो देखिन्छ ।
२१. प्र. राजेश लामाको उमेर १६ वर्ष भन्दा वढी भएकोले पुरै सजाय हुनुपर्छ भनी जिकिर लिने वादी श्री ५ को सरकार तर्फवाट निजको उमेर सम्वन्धमा यकीन गर्न सकेको देखिदैन । प्रतिवादीले १६ वर्ष उमेर पुरा गररिसकेकोले पुरा सजाय गरिनु पर्ने व्यक्ति हो भन्ने कुराको संकारहित प्रमाण पुर्याउने भार वादीको हो । यस्तो अवस्थामा चिकित्सक विशेषज्ञ भएको कारण निजको रायलाईनै आधिकारिक राय मान्नु पर्ने हुन्छ । प्रतिवादीको उमेर सम्वन्धमा राय दिने विशेषज्ञ डा. श्री हरिहर वस्तीले आफ्नो बकपत्रमा उमेर परीक्षण गर्ने विभिन्न वैज्ञानिक पद्घतिहरुको वर्णन गर्दै कुनै पनि पद्धतिबाट यकिन उमेर पत्ता नलाग्ने व्यहोरा समेत उल्लेख गर्नु भएको देखिन्छ । यसरी कुनै व्यक्तिको उमेर १६ वर्ष पुरा भएको हो होइन भन्ने सम्वन्धमा यहीनै र यतिनै हो भनी ठिक तवरले वैज्ञानिक परीक्षणबाट समेत भन्न नसकिने भनि विशेषज्ञलेनै भनेको उमेर प्रमाणीत हुने अन्य शैक्षिक, कानूनी आदि आधार समेत वादीले पेश गर्न नसकेको अवस्थामा प्रतिवादीले खुलाएको उमेरलाई नमानी प्रतिवादी १६ वर्ष पुरा भएको व्यक्ति हो भनि ठहर गर्न मिल्ने देखिएन । उमेरका आधारमा कानून बमोजिमको कुनै अपराधमा सजायमा कमि वा वढि हुन्छ र मुद्दा चलाउने वादीनै आफुले अभियोग लगाई मुद्दा चलाएको अभियुक्तको उमेर यकिन गर्न आवश्यक प्रमाण संकलन गर्न सक्तैन भने विना आधार अनुमानको भरमा अदालतले अभियुक्त १६ वर्ष पुरा गरेको भनि ठहर गर्न हुदैन । यस्तो ठहर गर्नु फौज्दारी न्यायको मान्य सिद्धान्त विपरीत हुन्छ । चिकित्सकलेनै आवश्यक परीक्षण गरी व्यक्त गरेको रायमा प्रतिवादीको उमेर १६ वर्ष भन्दा वढी भएको भनि भन्न नसकेको हुंदा निजको उमेर १६ वर्ष पुरा नगरेको मान्नु पर्छ ।
२२. वालवालिका सम्वन्धी ऐन, २०४८ को दफा २ को (क) मा बालक भन्नाले सोह् वर्ष उमेर पुरा नगरेको वाल वालिका सम्झनु पर्छ भन्ने परिभाषा गरेको पाइन्छ । यस परिभाषाबाट पनि प्रतिवादी १६ वर्ष पुरा नगरेको मान्नुपर्ने देखियो ।
२३. तसर्थ माथि उल्लेख भए बमोजिम प्रतिवादी राजेश लामाको उमेर १६ वर्ष पुरा भएको भन्न सक्ने प्रमाण संकलन हुन नसकेको हुंदा प्रतिवादीको उमेरको सम्वन्धमा शंकाको सुविधा प्रतिवादी अभियुक्तलाईनै दिनुपर्छ वादी श्री ५ को सरकारलाई होइन । उमेर जाँच गर्ने डाक्टरको प्रतिवेदन र वकपत्रवाट प्रतिवादीको उमेरका सम्वन्धमा यकिन हुन नसकेको र वादीले भरपर्दो प्रमाण पेश गर्न नसकेको अवस्थामा यस अदालतले प्रतिवादीको उमेर १६ वर्ष पुरा भएको ठहर गर्ने हो भने फौज्दारी न्यायको सिद्धान्त विपरीत शंकाको सुविधा वादीलाई प्राप्त हुन जान्छ । अतः जिउ मास्नेवेच्ने कार्य (नियन्त्रण र सजाय ऐन, २०४३ को दफा ८(१) अनुसार पुरा सजाय नहुने भै वाल वालिका सम्वन्धी ऐन, २०४८ को दफा ११(३) अनुरुप उमेर पुगेका व्यक्तिलाई हुने सजायको आधा सजाय हुने हुनाले शुरु जिल्ला अदालतवाट भएको फैसला केही उल्टी गरी निज प्र. राजेश लामालाई ५ वर्ष कैद र रु ३०,०००। मात्र जरिवाना हुने ठहर्याएको पुनरावेदन अदालत पाटनको मिति ०६०।१।२ को फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या.चन्द्रप्रसाद पराजुली
इति सम्वत् २०६२ साल आषाढ १७ गते रोज ६ शुभम––––––––––