निर्णय नं. ७५२८ - लिखत वदर गरी हक कायम गरी दर्ता दा.खा. गरिपाऊँ ।

निर्णय नं. ७५२८ ने.का.प.२०६२ अङ्क ४
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी
माननीय न्यायाधीश श्री परमानन्द झा
सम्वत् २०५८ सालको दे.पु.नं.....७१७७
फैसला मितिः२०६२।१।१९
मुद्दाः– लिखत वदर गरी हक कायम
गरी दर्ता दा.खा. गरिपाऊँ ।
पुनरावेदक/वादीः तनहुं जिल्ला काहुँ शिवपुर गा.वि.स. वडा नं. ९ वस्ने रविन्द्र कामी
विरुद्ध
प्रत्यर्थी/प्रतिवादीः तनहुं जिल्ला काहुँ शिवपुर गा.वि.स. वडा नं. ९ वस्ने तिलत्मा कामी समेत
§ घरको ब्यबहार चलाउनुपर्ने व्यक्तिले व्यवहार चलाउनलाई अचल पैतृक सम्पतिको आधामा एकासगोलका स्वास्नी, छोरा वा बिधवा बुहारीको मंजुरी लिइरहनु पर्ने अनिवार्यता नहुने ।
§ प्रतिबादीको लोग्नेको मृत्युपछि निजको एक मात्र छोरा यी पुनराबेदक पनि बिदेशमा रहने बस्ने गरेकोमा प्रतिबादी बाहेक घरमा अरु कुनै अंशियार नभएको अबस्थामा घरको ब्यबहार चलाउनु पर्ने जिम्मेवारी स्वतः प्रतिबादीको हुने ।
§ लोग्ने नभएको र छोरा पनि बिदेशमा रहे भएको अबस्थामा घर ब्यबहार चलाउनु पर्ने दायित्व भएकी स्वास्नीमान्छेले घरको ब्यबहार चलाउनको लागि अंशबण्डाको १९ को देहाय १ को कानूनी ब्यबस्था बमोजिम आफ्नो नामको अचल पैतृक सम्पत्ति मध्ये आधि आफुखुसी गर्न नपाउने भन्न कानूनसंगत नहुने ।
(प्रकरण नं.१२)
फैसला
न्या.मीनवहादुर रायमाझीः पुनरावेदन अदालत पोखराको मिति २०५७।९।१० को फैसला उपर वादी पक्षको न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ग) वमोजिम यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :-
२. भिमवहादुर कामी तथा तिलत्मा कामीवाट जन्मेको एक मात्र छोरा म हुं । वावु भिम वहादुर कामीको नाउंमा श्रेस्ता कायम भएको जग्गा आमा तिलत्मा कामीको नाममा नामसारी भएको हो । हामी दुई मात्र अंशियार हौं । म भारतमा सेवारत रहदै आएको छ । विपक्षी आमाले मेरो समेत अंश हक लाग्ने तनहुं काहुं शिवपुर गा.वि.स. वडा नं. ९(झ) कि.नं. ६५ को ०–५–१–१ पाखो जग्गा र सो जग्गामा वनेको घर समेत रु.४५०००।– मा मेरो मंजुरीको लिखत नलिई मलाई साक्षी पनि नराखी लेनदेन व्यवहारको १० नं. विपरीत अंश हक मेट्ने उद्देश्यले मिति २०५५।७।१८ मा हक छाडी दिएको कुरा म भारतवाट आई नक्कल सारी हेर्दा थाहा पाएकोले सो कि.नं. ६५ को जग्गाको पूर्वतर्फवाट आधा जग्गा र सो जग्गामा वनेको घरको पूर्व तर्फको आधा लिखत वदर गरी लिखत वदर भएको आधा जग्गा र घरमा हक कायम गरी मेरो नाममा दर्ता गरी दा.खा. गरिपाऊँ भन्ने व्यहोराको फिराद पत्र ।
३. विपक्षी वादी मेरो एका घर सगोलका छोरा हुन । निज र म वाहेक अन्य अंशियारा छैनौं । वादी भारतमै रहने वस्ने र आफुले कमाएको कुनै रकम घरमा नपठाउने, मेरो हेरचाह पालन पोषणको लागि घर आउंदा पनि कुनै वास्ता व्यास्ता नगर्ने भएकोले मैले जीवन धान्न घर व्यवहार चलाउन औषधि उपचार गर्दा ऋण लिई व्यवहार चलाउदै आएकोले साहुको ऋण तिर्न विर वहादुर कामीलाई मैले कि.नं. ६५ को क्षेत्रफल ०–५–१–१ को पाखो जग्गा र त्यसमा वनेको घर समेत रु. ४५,०००।– मा मिति २०५५।७।१८ मा राजिनामा पारित गरि दिएको हुं । मैले विक्री गर्दा विपक्षी वादीले अंश वापत पाउने भन्दा वढि जग्गा विक्री नगरेकी र आफुले अंशमा पाउने जति जग्गा निजको मंजुरी विना पनि विक्री व्यवहार गर्न पाउने नै हुंदा लिखत सदरै कायम राखि पाउं भन्ने समेत व्यहोराको प्रतिवादी तिलत्मा कामीको प्रतिउत्तर पत्र ।
४. विपक्षी वादीले २०५५ साल वैशाख महिनामा जग्गा आमाले पास गरि दिनु हुन्छ । म नभए पनि केही फरक पर्दैन । अहिले रु. १५००।– दिनु होस अरु आमाले पास गरि दिएका वखत दिए हुन्छ भनी सल्लाह भै म वाट रु. १५००।– वैना लिनु भएको र वैना लिएपछि वादी भारततर्फ जानु भएको हुंदा वाकी पैसा वुझाई उक्त कि.नं. ६५ को घर जग्गा मैले राजिनामा गरि लिएको हुं । प्रतिवादी तिलत्मा कामीको नाउंमा उक्त कि.नं. ६५ को जग्गा वाहेक अन्य निजको नाउंमा १७–८–३–३ वांकी भएकोले अंशवण्डाको १९(१) वमोजिम आफखुस गर्न पाउने घर जग्गा विक्री गरेको हुंदा लिखत सदरै कायम राखिपाउं भन्ने व्यहोराको प्रतिवादी विर वहादुर कामीको प्रतिउत्तर पत्र ।
५. प्रतिवादी तिलत्मा घरको मुख्य भन्ने कुरा फिरादवाट देखिएको र प्रतिवादी तिलत्मा कामीको नाममा विवादित जग्गा वाहेक वढि जग्गा वांकी नै रहेको देखिंदा विवादित जग्गाको आफ्नो हक जति लिखत वदर गरि पाउं भन्ने वादी दावी पुग्न सक्दैन भन्ने शुरु तनहु जिल्ला अदालतको फैसला ।
६. सम्पत्तिको मूल्यांकन गर्दा क्षेत्रफल नहेरी मुल्यवान वस्तु हेरिनु पर्छ । तसर्थ आधि भन्दा वढि जग्गा वांकी छ भन्ने आधार समेत देखाएर वादी दावा नपुग्ने भनी मलाई हराइएको तनहुं जिल्ला अदालतको त्रुटिपूर्ण फैसला उल्टी गरी फिराद दावी वमोजिम गरी न्याय पाउं भन्ने समेत व्यहोराको वादीको पुनरावेदन अदालत पोखरामा परेको पुनरावेदन पत्र ।
७. वादी दावी नपुग्ने गरी शुरु तनहुं जिल्ला अदालतवाट भएको फैसला फरक पर्ने देखिंदा अ.वं. २०२ नं. वमोजिम प्रत्यर्थीलाई झिकाउनु भन्ने पुनरावेदन अदालत पोखराको आदेश।
८. वादीले दावी गरेको मिति २०५५।७।१८ को पारित लिखत मध्ये आधि सम्मको सदरै कायम भई आधि मध्यवाट वादीको भाग जति आधि अर्थात समुच्चा लिखतको चार भागको एक भाग सम्मको लिखत वदर भई वादीको हक कायम भई निजको नाउंमा दर्ता कायम समेत हुने ठहर्छ भन्ने पुनरावेदन अदालत पोखराको मिति २०५७।९।१० को फैसला ।
९. आमाले विक्री गरेको घर जग्गामा आधि हक आमाको र आधि हक मेरो भएको हुंदा आधि आफ्नो हक सम्मको घर जग्गा आमाले आफुखुस गर्न पाउने र वांकी आधि नपाउनेमा पुनरावेदन अदालत पोखराले ४ भागको १ भाग मात्र लिखत वदर हुने ठहर गरेको फैसलामा कानूनी त्रुटि रहेको हुंदा पुनरावेदन अदालत पोखराको फैसला उल्टी गरी मेरो फिराद दावी वमोजिम विपक्षी तिलत्मा कामी दिने र विपक्षी विर वहादुर कामी लिने गरी मालपोत कार्यालय तनहुंवाट मिति २०५५।७।१८ मा पारित भएको राजिनामा लिखत मध्येको आधि घर र आाधि जग्गाको लिखत वदर गरी सो वदर भए जतिको घर जग्गा मेरो नाममा दा.खा. गरी मेरो नाउंमा दर्ता श्रेस्ता कायम गराई जग्गाधनी दर्ता प्रमाण पूर्जा उपलव्ध गराई पाउं भन्ने व्यहोराको वादीको यस अदालतमा परेको पुनरावेदन पत्र ।
१०. नियमवमोजिम पेश भएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरियो । पुनरावेदकको वारेस अमृतवहादुर नेपालीले यस अदालतवाट तोकी पाएको मिति २०५८।८।१५ को तारेख गुजारे पनि मुलुकी ऐन अदालती वन्दोवस्तको २०१ नं. को व्यवस्था वमोजिम इन्साफ नै गर्नुपर्ने भयो ।
११. प्रतिवादी तिलत्मा कामीले प्रतिवादी विर वहादुर कामीलाई तनहुं जिल्ला काहुं शिवपुर गा.वि.स. वडा नं. ९(झ) कि.नं. ६५ को ०–५–१–१ जग्गा मिति २०५५।७।१८ मा राजिनामा गरि दिएको देखियो । आफु र आमा तिलत्मा समेत जम्मा दुई अंशियार मात्र भएकोमा आफ्नो वावुको नामवाट आमा तिलत्माको नाममा नामसारी भै आएको घर जग्गा आफ्नो मंजुरी वेगर आमा तिलत्माले राजिनामा गरि दिएको अवस्था हुंदा लेनदेन व्यवहारको १० नं. वमोजिम सो राजिनामाको लिखत मध्ये आफ्नो हकको २ खण्डको १ खण्ड लिखत वदर गरी आफ्नो नाममा दर्ता गरी दाखेल खारेज गरि पाउं भन्ने वादीको फिराद दावी भएको पाइन्छ । घर व्यवहार चलाउन र ऋण तिर्न समेतको लागि वादीले अंश वापत पाउने भन्दा कम जग्गा विक्री गरेको र विक्री गरेको जग्गा भन्दा बढि जग्गा विक्री गर्ने प्रतिवादी तिलत्मा कामीको नाममा बाँकी रहेको हुंदा अंशवण्डाको १९(१) को व्यवस्था वमोजिम आफुखुस गर्न पाउने अचल सम्पत्ति विक्री गरेको हुंदा लिखत वदर हुनु नपर्ने भन्ने प्रतिउत्तर जिकिर भएको पाइयो । प्रतिवादी तिलत्मा कामी घरको मुख्य व्यक्ति भएको र विवादित जग्गा वाहेक वढि जग्गा बांकी नै रहको भन्ने आधारमा वादी दावी पुग्न नसक्ने गरी शुरु तनहुं जिल्ला अदालतवाट फैसला भएकोमा पुनरावेदन अदालत पोखरावाट अलग अलग ठाउंमा रहेको जग्गाको हैसियत र अवस्था पनि अलग अलग प्रकृतिको हुने भै वादीले दावी गरेको जग्गा वाहेक प्रतिवादी तिलत्माको नाममा अरु जग्गा रहेको भन्ने आधारवाट वादी दावी पुग्न नसक्ने भन्नु कानूनसंगत नदेखिने भन्दै प्रतिवादी तिलत्माले घर व्यवहार चलाउन आधि सम्मको अचल सम्पति आफुखुसि गर्न पाउने भन्ने आधारमा विवादको लिखत मध्ये आधि सम्मको लिखत सदरै भई आधि मध्यवाट वादीको भाग जति आधि अर्थात समुच्चा लिखतको चार भागको एक भाग सम्मको लिखत वदर भई सोमा वादीको हक कायम हुने र निजको नाममा दर्ता कायम समेत हुने ठहर्याई फैसला भएको देखियो। प्रतिउत्तर जिकिरवमोजिम विवादको सम्पूर्ण लिखत सदर नहुने गरी पुनरावेदन अदालत पोखरावाट भएको उक्त फैसला उपर प्रतिवादीहरुको यस अदालतमा पुनरावेदन नपरेकोले अचलमा आधिसम्म आफुखुस गर्न पाउने भन्ने अंशवण्डाको १९(१) को व्यवस्था वमोजिम प्रतिवादी तिलत्माले सम्पूर्ण अचल सम्पत्तिको आधि भन्दा कम जग्गा नै विक्री गरेको भन्ने आधारमा विवादको सम्पूर्ण लिखत सदर हुनुपर्ने भन्ने प्रतिउत्तर जिकिरतर्फ केही विचार गरिरहनु पर्ने अवस्था भएन ।
१२. विवादित लिखतको आधि लिखत वदर हुनुपर्ने भन्ने वादीको पुनरावेदन जिकिरतर्फ विचार गर्दा प्रतिवादी तिलत्मा कामी वादी रविन्द्र कामीको आमा भएको र निजहरु दुई जना मात्र अंशियार भएको भन्ने कुरामा विवाद छैन । वादी भारतमा रहेको अवस्थामा घर व्यवहार चलाउन तिलत्माले आफ्नो नाममा रहेको घर जग्गा विक्री गरेको भन्ने देखिएको छ । विवादको कि.नं. ६५ को क्षेत्रफल रोपनी ०–५–१–१ जग्गा भन्दा वढि रोपनी १७–८–३–३ जग्गा प्रतिवादी तिलत्माको नाममा रहेको भन्ने प्रतिउत्तर जिकिरलाई वादीले अन्यथा भन्न सकेको अवस्था छैन । विक्री गरेको कि.नं. ६५ को घर जग्गाको मूल्य भन्दा प्रतिवादी तिलत्माको नाममा रहेको अरु जग्गाको मूल्य कम भएको भन्न सकेको अवस्था पनि देखिदैन । अंशवण्डाको १९ नं. को देहाय दफा १ मा पिता पुर्खा पालाको चल अचल गैह्र सम्पत्तिको हकमा चलमा सवै र अचलमा आधिसम्म व्यवहार चलाउनलाई स्वास्नी, छोरा वा विधवा वुहारीको मन्जुरी नभए पनि आफुखुस गर्न पाउंछ । अचलमा आधि भन्दा वढि भने व्यवहार चलाउनै परे पनि एक्काइस बर्ष नाघेका स्वास्नी, छोरा र विधवा वुहारीको मन्जुरी लिई मात्र खर्च गर्न हुन्छ । मन्जुरी नलिई गरेको सदर हुदैनू भन्ने व्यवस्था भएको पाइन्छ । उक्त व्यवस्था वमोजिम घरको ब्यबहार चलाउनु पर्ने व्यक्तिले व्यवहार चलाउनलाई अचल पैतृक सम्पतिको आधा एका सगोलका स्वास्नी, छोरा वा बिधवा बुहारीको मंजुरी लिइरहनु पर्ने अनिवार्यता हुदैन । बादी भारतमा रहने बस्ने गरेको कुरामा बिबाद छैन । बादीले आफनी आमा तिलत्माले घरको ब्यबहार चलाउने गरेको भन्ने कुरालाई अन्यथा भन्न सकेको पाइदैन । प्रतिबादी तिलत्माको लोग्नेको मृत्युपछि निजको एक मात्र छोरा यी पुनराबेदक पनि बिदेशमा रहने बस्ने गरेकोमा प्रतिबादी तिलत्मा बाहेक घरमा अरु कुनै अंशियार नभएको अबस्थामा घरको ब्यबहार चलाउनु पर्ने जिम्मेवारी स्वतः प्रतिबादी तिलत्माको हुने देखिन आउछं। लोग्ने नभएको र छोरा पनि बिदेशमा रहे भएको अबस्थामा घर ब्यबहार चलाउनु पर्ने दायित्व भएकी स्वास्नीमान्छेले घरको ब्यबहार चलाउनको लागि अंशबण्डाको १९ को देहाय १ को कानूनी ब्यबस्था बमोजिम आफ्नो नामको अचल पैतृक सम्पत्ति मध्ये आधि आफुखुसी गर्न नपाउने भन्न कानूनसंगत नहुने देखिदा उपरोक्त अबस्थाकी स्वास्नीमान्छेको हकमा पनि अंशबण्डाको १९(१) आकर्षित हुने नै हुन्छ । प्रतिवादी तिलत्माले आफ्नो नाममा दर्ता रहेको अचल सम्पति मध्ये आधा भन्दा वढि विवादित लिखतवाट हक छाडी दिएको भन्ने देखिन आएको छैन । अंशवण्डाको १९(१) वमोजिम घर व्यवहार चलाउनलाई अचल सम्पतिमा आधासम्म आफुखुस गर्न पाउने छुट घर ब्यबहार चलाउन प्रतिवादी तिलत्माले पाउन सक्ने देखिएको र प्रतिवादी तिलत्माले आफ्नो नाममा रहेको अचल सम्पति मध्ये आधा भन्दा कम अचल सम्पति राजिनामा गरि दिएको अवस्था हुंदा पुनरावेदन जिकिर वमोजिम प्रतिवादी तिलत्मा कामीले विरवहादुर कामीलाई गरि दिएको विवादित राजिनामाको लिखत मध्ये आधा लिखत वदर हुने अवस्थाको देखिन आएन । यस स्थितिमा वादी दावी वमोजिम विवादित लिखतको दुई भागको एक भाग लिखत वदर नगरी दुई भागको एक भाग सदर कायम गरी वाकी एक भागवाट दुई भागको एक भाग अर्थात समुच्चा लिखतको चार भागको एक भाग लिखत वदर गरी वादीको हक कायम भै निजको नाममा दर्ता कायम हुने समेत ठहर गरेको पुनरावेदन अदालत पोखराको फैसलामा वादीको पुनरावेदन जिकिर वमोजिम परिवर्तन गर्नुपर्ने अवस्था नभएकोले सदर हुने ठहर्छ । वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार वुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या.परमानन्द झा
इति सम्वत् २०६२ साल वैशाख १९ गते रोज २ शुभम्..........