निर्णय नं. ७५२९ - अंश दर्ता ।

निर्णय नं. ७५२९ ने.का.प.२०६२ अङ्क ४
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री रामनगिना सिंह
माननीय न्यायाधीश श्री बलराम के.सी.
सम्बत् २०५५ सालको दे.पु.नं.५३१८
फैसला मितिः २०६२।१।१४।४
मुद्दाः अंश दर्ता ।
पुनरावेदक/प्रतिवादीः पर्सा जिल्ला बहुअरी पिडरी गा.वि.स.वडा नं.९ बस्ने लक्ष्मीनिया अहिरनी
बिरुद्ध
विपक्षी/वादीः पर्सा जिल्ला बहुअरी पिडरी गा.वि.स.वडा नं.९ बस्ने देवकी अहिरनी समेत
§ वादीहरुले लक्ष्मीनिया र देवा राउत समेत उपर अंश मुद्दा दिंदा देवा राउतले संगोलको अंशियार भई अंश पाउनुपर्ने भन्ने प्रतिउत्तर जिकिर लिएपनि अघिल्लो मुद्दामा वादीहरुलाई अंशियार नस्वीकारेकोले प्रस्तुत मुद्दामा अंशियार स्वीकार्न प्रमाण ऐन, २०३१ को दफा ३४ बमोजिम निज विवन्धित हुने ।
(प्रकरण नं.१६)
§ वादी प्रतिवादीका बीच २०२० साल देखि मानो चुलो अलग गरी बसेको कुरामा वादी सावितै देखिएको र निजले विधिवत् अंशवण्डा नभएको भन्ने जिकिर लिएपनि नापीमा आआफ्नो नाममा जग्गा दर्ता प्रमाणित भै आआफुले भोग बिक्री व्यवहार समेत गरी आएको मिसिल संलग्न लिखत प्रमाणहरु समेतबाट प्रमाणित भैरहेको देखिंदा अंशवण्डाको लिखत कै अभावको कारणले मात्र वादी प्रतिवादी बीच अंशवण्डा नभएको भनी मान्न नमिल्ने ।
(प्रकरण नं.१७)
पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री इन्द्र खरेल
विपक्षी वादी तर्फवाटः विद्वान अधिवक्ता श्री रामवन्धु शर्मा
अवलम्वित नजीरः
फैसला
न्या.रामनगिना सिंहः प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः–
२. मुल पुर्खा स्व.नकछेद राउतको २ छोराहरुमा जेठा हामी फिरादीहरुको ससुरा बाजे इनर राउत र कान्छा विपक्षीहरुको पिता ससुरा भिम राउत सहोदर दाजुभाई भै साथ संगोलमा रही बसी खाई कमाई आउनु भएको थियो । हाम्रो ससुरा बाजे इनर राउत र निजको जहान परिवार समेत अघिपछि भै परलोक भएपनि उहाँको छोरा जना २ मा जेठो प्रेम राउत, कान्छा जैराम राउत भै निजहरु र उहाँको परिवार समेत कान्छो ससुरा बाजे भिम राउतको साथ संगोलमा रहे बसी आएकोमा धेरे परिवार बढ्दै गएकोले सँगै बस्न नसक्नु भै २०२० सालमा चुलो मानो छुट्याई अलगअलग घर गरी अलगअलग खाई आएको र जग्गा जमिन साविक बमोजिम कान्छा ससुरा बाजे भिम राउत विपक्षी देवा राउत तथा हाम्रो पिता पति प्रेम राउतका नाउँमा दर्ता रहे अनुसार नाप नक्सा भए पनि जग्गा संगोलमा रही भोग चलन गरी आउँदा करिव १३।१४ वर्ष पहिले जेठो प्रेम राउत आफ्नो कालगतिले परलोक हुनु भएको हुँदा उहाँको श्रीमती म देवकी अहिरनी र छोरा वंका राउत एक जना मात्र भएको र कान्छो जैराम राउत र निजको पत्नी समेत अघि पछि भै १५।१६ वर्ष भयो आफ्नो कालगतीले परलोक हुनु हुँदा निजहरुको छोरा मिश्री राउत एक जना मात्र भएको र आज भन्दा अघि करिव ८।९ वर्ष पछि कान्छा ससुरा भिम राउत र उहाँ भन्दा अगावै उहाँको पत्नी र कान्छो छोरा रुदल राउत समेत परलोक हुनु हुँदा वहाँको जेठो छोरा विपक्षी देवा राउत र कान्छा स्व.रुदल राउतको छोरा नभै पत्नी विपक्षी लक्ष्मीनीया अहिरनी भै सबै अंशियारहरु एकसाथ संगोलमा बसी आउँदा हामीहरुको बीच अंशवण्डा नभएकोले अंशवण्डा छुट्याई दिनुहोस् भनी भन्दा अंश छुट्याउन इन्कार गरेकोले सम्पूर्ण सम्पत्तिको तायदाती लिई २ खण्डको १ खण्ड अंश छुट्याई हाम्रो नाउँमा दर्ता समेत गरी लागेको कोर्टफी समेत दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको वादीको फिराद पत्र ।
३. वादी दावी बमोजिम वादीहरुले म समेतबाट अंश पाउनु पर्ने होईन छैन । वादी दावी झुठ्ठा हो । अंशियार नभएको र निजसँग हाम्रो कुनै नाता सरोकार समेत छैन । देवा राउत अहिर र म लक्ष्मीनीया अहिरनीमात्र अंशियार भएकाले यसै अदालतमा २०३८।०३९ सालमा दे.नं.२२७९ को अंश मुद्दा परेकोमा वादी दावी नपुग्ने ठहरी २०४०।१२।७ मा फैसला भए उपर म लक्ष्मीनीया अहिरनीको मध्यमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन परी २०४३।७।२८ मा अंश लिई दिई मिलापत्र भएको छ । वादी हामीहरुको अंशियार भएको भए सो मुद्दामा उपस्थित भै उजुर गर्नुपर्नेमा सो नगरी बसेकोले वादी दावी बमेजिम अंश दिनुपर्ने होइन छैन भन्ने समेत व्यहोराको प्रतिवादी लक्ष्मीनीया अहिरनीको प्रतिउत्तर पत्र ।
४. वादीले आफ्नो फिरादमा उल्लेख गरेको पुस्तेवारी ठिकै हो । वादी हामीहरुको अंशियार हो ठिकै हुन् । वादी दावी बमोजिम निजहरुलाई २ खण्डको १ खण्ड अंश छुट्याई दिलाई दावीबाट फुर्सद गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी देवा राउत अहिरले दिएको प्रतिउत्तर पत्र।
५. वादी वंका राउतले नातातर्फ गरेको बयान ।
६. प्रतिवादी वा शिवजी गिरीले नातातर्फ गरेको बयान
७. वादी साक्षी रामाधार पण्डित प्रतिवादी लक्ष्मीनीयाको साक्षी हेवन्चल राउत र प्रतिवादी देवा राउतको साक्षी जिमदार महतोले गरेको बकपत्र ।
८. वादी वा.स.वं. का राउत अहिर, प्रतिवादी देवा राउत अहिर, प्रतिवादी लक्ष्मीनीया अहिरनीले दाखेल गरेको तायदाती फाँटवारी ।
९. २०२० सालमा मानो छुट्टिएको भनी उल्लेख गरेको त्यसपछि सर्भे नापीमा वादीका बाबु काका तथा पतिले आ–आफ्ना नाउँमा छुट्टा–छुट्टै दर्ता गराई बिक्री व्यवहार समेत गरेको देखिएकोले यी वादी र प्रतिवादी व्यवहार प्रमाणबाट अलग भएको भन्ने देखिएकोले अंशको वादी दावी पुग्न सक्दैन भन्ने शुरु जिल्ला अदालतको फैसला ।
१०. प्रमाण ऐनको दफा ६(क) विपरीत प्रस्तुत शुरु जिल्ला अदालतको फैसला त्रुटीपूर्ण भएकोले बदर गरी इन्साफ पाउँ भन्ने पुनरावेदन ।
११. प्रतिवादी देवा राउत अहिरले अश नभएको कुरा स्वीकार गरी प्रतिउत्तर जिकिर लिईसकेपछि अंश नपाउने ठहर्याई गरेको शुरुको इन्साफ फरक पर्न सक्ने भएकोले प्रत्यर्थी झिकाई आए वा अवधि गुजारेपछि नियम बमोजिम पेश गर्नु भन्ने पुनरावेदन अदालतको आदेश ।
१२. वादी प्रतिवादीहरु अंशियार भै वादीतर्फका इनर राउतले अंश लिई छुट्टिईसकेको लिखत प्रमाण केही देखिंदैन । व्यवहार प्रमाणबाट अंशवण्डा भएको हो कि भन्नलाई प्रतिवादीले तायदाती पेश गर्दा २–१९–९ को सम्पत्तिको तायदाती पेश गरेको र वादीले पेश गरेको तायदातीमा ज.वि.१–१०–१७ देखिएबाट सम्पत्तिको रोखपोख मिलेको भन्न मिलेन साथै प्रतिवादी देवा राउतले अंशवण्डा नभएको कुरालाई स्विकार गरेको र पेश भएको तायदातीलाई अन्यथा भन्न नसकेबाट व्यवहार प्रमाणबाट अंश छुट्टिएको पुष्ठी नभएकोले वादी दावी बमोजिम २ भागको १ भाग अंश दिलाई दिनुपर्नेमा दावी नपुग्ने ठहराएको शुरु जिल्ला अदालतको फैसला बदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत हेटौंडाको फैसला ।
१३. तायदातीमा वादी प्रतिवादीबाट पेश भएको सम्पत्तिमा असमानता देखिएपनि कसले कति खरिद बिक्री भोग गरेको हो भन्ने सम्बन्धका प्रमाणको मूल्याङ्कन गरिएको छैन । वादीहरुको ससुरा बाजे इनर राउतले आफ्नो अंश हक बुझी निजको मृत्युपछि निजका छोरा प्रेम राउतले नापीमा आफ्नो घर घडेरी लगायतका जग्गा अलग नापी गराउनु भै १ र ७ नं.फाराम समेत छुट्टै भर्नु भएको छ । नकछेद राउतका २ छोरामा इनर राउतलाई अंश दिई आफ्नो कान्छो छोरा भिम राउतसँग बस्नु भएकोले उहाँहरुबीच २ अंश भएबाट हाल भिम राउतको छोरा प्रतिवादी देवा राउतको अंश बढी देखिन गएको हो । तसर्थ, प्रमाणको मूल्याङ्कन नगरी भएको पुनरावेदन अदालतको फैसला बदर गरिपाऊँ भन्ने समेत लक्ष्मीनीया अहिरनीको पुनरावेदन पत्र ।
१४. यसमा मध्यमाञ्चल क्षत्रीय अदालतबाट भएको २०४३।७।२८ को मिलापत्रबाट यस मुद्दाको प्रतिवादी लक्ष्मीनीयाले प्रतिवादी देवा राउतबाट २ भागको १ भाग अंश लिएको देखिन्छ । यी वादी र प्रतिवादीले आ–आफ्नो नाउँको जग्गा समेत अलग–अलग बिक्री व्यवहार गरेको कुरा मिसिल संलग्न लिखतहरुबाट देखिन आउँछ । मिसिल संलग्न ७ नं.फारामबाट आ–आफ्नो जग्गा अलग–अलग भरेको र उक्त मिलापत्र भएको मुद्दामा देवा राउतले यस मुद्दाका वादीहरुलाई समेत संगोलको अंशियार देखाई प्रतिवादी गरेको नभै आधा–आधा जग्गा लिने दिने गरी मिलापत्र गरेको देखियो । पुनरावेदन अदालतबाट प्रतिउत्तरका उक्त कुरा र मिसिल संलग्न प्रमाणहरुको समुचित मूल्याङ्कन नगरी पुनरावेदन अदालतले गरेको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ५४ तथा अ.वं.१८४क र १८५ को त्रुटी देखिंदा अ.वं.२०२ नं.बमोजिम छलफलको लागि विपक्षी झिकाई पेश गर्नु भन्ने यस अदालतको आदेश ।
१५. नियमबमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम प्रतिवादीको यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दामा पुनरावेदकतर्फका विद्वान अधिवक्ता श्री इन्द्र खरेलले वादी र प्रतिवादी बीच २०२० साल देखि नै मानो चुलो अलग गरी बसेकोमा वादीले स्विकारै गरेको अबस्था भएको र अंशवण्डाको लिखत नभएपनि सोही मितिबाट आ–आफ्नो सम्पत्ति आ–आफुले हक भोग बिक्री व्यवहार गर्नुका साथै नरम गरम मिलाई नापी समेत गराइएको प्रमाणको आधारमा वादी प्रतिवादीहरु अंश लिई छुट्टिई भिन्न भएको प्रमाणित भएको हुँदा अंश नछुट्टिएको भनी वादी दावी बमोजिम अंश पाउने ठहराएको पुनरावेदन अदालतको फैसला बदर हुनुपर्छ भन्ने र विपक्षीतर्फका विद्वान अधिवक्ता श्री रामवन्धु शर्माले अंशवण्डाको लिखत तत्कालिन अबस्थामा पारित नभएको र अंशियार अंशियार बीच जो जसको नाममा सम्पत्ति दर्ता भएपनि वण्डा भएको प्रमाणित नभएको अबस्थामा सो सम्पत्ति संगोलकै मानिने र वण्डा गर्नुपर्ने अबस्था भएको हुँदा वादी दावीबमोजिम अंश पाउने ठहराएको पुनरावेदन अदालतको फैसला सदर हुनुपर्दछ भनी गर्नु भएको बहस समेत सुनी मिसिल अध्ययन गरी हेर्दा दावी बमोजिम अंश नपाउने ठहराएको शुरु जिल्ला अदालतको फैसला बदर गरी अंश पाउने ठहराएको पुनरावेदन अदालतको फैसला मिले नमिले सम्बन्धमा नै निर्णय दिनुपर्ने देखियो ।
१६. निर्णयतर्फ विचार गर्दा मुल पुर्खा नकछेद राउतको २ छोरा इनर राउत र भिम राउत, इनर राउतको २ छोरामा जेठा प्रेम राउत र जयराम राउत भै जयराम राउत र निजको श्रीमती अगी नै परलोक भै सकेको, प्रेम राउतको छोरा र श्रीमतीमा यी वादीहरु भएको साथै नकछेदको अर्को छोरा भिम राउततर्फ देवा राउत र प्रतिवादी लक्ष्मीनीयाको श्रीमान रुदल राउत देखिई वादी र प्रतिवादी बीच नातातर्फ विवाद देखिएन । हाल वादीहरु नकछेद राउतको जेठा छोरा इनर राउतपट्टिको सन्तान र प्रतिवादी भिम राउतपट्टिको सन्तान देखिई हाल वादीले २ भागको १ भाग अंश दावी गरेको अबस्था देखिन्छ । वादी र प्रतिवादी बीच २०२० साल देखि नै मानो छुट्टिई अलग बसेको भन्ने कुरामा वादी स्वयं सावितै रहेको देखिन्छ । वादीले २०२० सालमा मानो छुट्टिई अलगसम्म भएको तर अंशवण्डा नभएको भन्ने लिएको दावीमा प्रतिवादी पूर्णतया इन्कार रहि २०२० सालमा अंशवण्डा भै नरम गरम मिलाई आफ्नो नाउँमा जग्गा नापी दर्ता तिरो भरो बिक्री व्यवहार समेत भएको भन्ने जिकिर लिएको पाईन्छ । शुरु जिल्ला अदालतको आदेशानुसार वादीले पेश गरेको तायदातीमा निजहरुका पति पिता प्रेम राउत अहिरको नाममा दर्ता भएको विभिन्न जग्गाको विवरण पेश गरेको र त्यस्तै प्रतिवादी देवा राउतले पेश गरेको तायदातीमा निजका पिता भिम राउत र निजको नाउँको जग्गाको छुट्टाछुट्टै विवरण पेश गरेको देखिन्छ । यसबाट वादी प्रतिवादीका पति पिता समेतको नाउँमा नापीमा अलग– अलग जग्गा दर्ता भएकोमा विवाद देखिदैन । मिसिल संलग्न २०२४।३।२१ को लिखतबाट वादीका पति पिता प्रेम राउतले आफ्नो नाउँमा दर्ता भएको कि.नं.२०६ को जग्गा मध्ये एक कट्टा साढे एघार धुर जग्गा नारायण पण्डितलाई सुक्री बिक्री लिखत गरिदिएको देखिन्छ । सो लिखतलाई वादीले अन्यथा भन्न सकेको पाईदैन । साथै प्रतिवादी लक्ष्मीनीयाका पति रुदल राउतले आफ्ना नाउँको कि.नं.६७, ८० को जग्गा २०३१।१२।५ मा जुमाई मिया हजामलाई राजिनामा गरिदिएकोमा सो लिखत उपर वादीले दावी लिन सकेको अबस्था समेत देखिदैन । मुल पुर्खा नकछेद राउतका २ छोरामा इनर राउत तर्फका यी वादीका पति पिता प्रेम राउत र भिम राउततर्फका यी प्रतिवादी देवा राउत र रुदलकी श्रीमती लक्ष्मीनीया संगोलकै अंशियार भएको भन्ने वादीले जिकिर लिएपनि रुदल राउतकी श्रमिती लक्ष्मीनीयाले देवा राउत उपर दिएको अंश मुद्दामा देवा राउतले यी वादीहरुलाई अंशियार नदेखाई प्रतिउत्तर दिई यी दुई बीच चलेको अंश मुद्दामा तत्कालिन मध्यमाञ्चल क्षत्रीय अदालतबाट मिति २०४३।७।२८ मा अंश लिनु दिनु गरी मिलापत्र भएको देखिन्छ । प्रतिवादी लक्ष्मीनीयाले उल्लेखित मिलापत्र भएको अंश मुद्दा देवा राउतमाथि दायर गर्दा यी वादीहरु पनि संगोलको अंशियार हुन् । अंश लिन बाँकी छ भन्ने व्यहोरा देवा राउतले उल्लेख गर्न सकेको देखिदैन । तर अहिले यी वादीहरुले लक्ष्मीनीया र देवा राउत समेत उपर अंश मुद्दा दिंदा देवा राउतले यी वादीहरु पनि संगोलको अंशियार भई अंश पाउनु पर्ने भन्ने प्रतिउत्तर जिकिर लिएपनि अघिल्लो मुद्दामा यी वादीहरुलाई अंशियार नस्वीकारेकोले प्रस्तुत मुद्दामा अंशियार स्वीकार्न प्रमाण ऐन, २०३१ को दफा ३४ बमोजिम निज विवन्धित हुने देखिन्छ । साथै वादीहरुले पेश गरेको तायदातीमा उल्लेखित कतिपय सम्पत्तिहरु वादीका पति पिता प्रेम राउत अहिरका नाममा फिल्डबुक र जग्गाधनी दर्ता प्रमाणित पूर्जामा प्रमाणित रहेको समेत देखिन्छ । प्रतिवादी मधयेका देवा राउतले वादीहरु अंशियार भई अंश नछुटिएको भनी वादी मिलानको प्रतिउत्तर दिएपनि तथ्यगत रुपमा सो प्रमाणित भएको अबस्था देखिंदैन ।
१७. अंशवण्डाको ३० नं. मा अंशवण्डा गर्दा साक्षी राखी कानूनबमोजिम वण्डा छुट्टाई वण्डा पत्रको कागज खडा गरी लिने दिनेको र साक्षीको समेत सहिछाप गरी रजिष्ट्रेशन गर्नुपर्नेमा सो गरी राख्नुपर्छ ।तर यो ऐन प्रारम्भ हुँदासम्ममा वण्डा पत्र खडा गरी वा नगरी घरसारमा नरम गरम मिलाई अचल अंशवण्डा गरी छुट्टिई आफ्नो–आफ्नो हिसाब भाग शान्ति बमोजिम लिई पाई दाखिल खारेज समेत गराई सकेको वा वण्डा बमोजिम आफ्नो–आफ्नो भागको अचल छुट्टाछुट्टै भोग बिक्री व्यवहार गरेकोमा व्यवहार प्रमाणबाट वण्डा भै सकेको ठहरेमा पछि वण्डा पत्र रजिष्ट्रेशन भएको छैन वा वण्डा घटी बडी असल कमसल भयो भन्न पाउँदैन ... भन्ने कानूनी व्यवस्था भएको पाईन्छ । प्रस्तुत विवादमा वादी प्रतिवादीका बीच २०२० साल देखि मानो चुलो अलग गरी बसेको कुरामा वादी सावितै देखिएको र निजले विधिवत् अंशवण्डा नभएको भन्ने जिकिर लिएपनि नापीमा आ–आफ्नो नाममा जग्गा दर्ता प्रमाणित भै आ–आफुले भोग बिक्री व्यवहार समेत गरी आएको मिसिल संलग्न लिखत प्रमाणहरु समेतबाट प्रमाणित भै रहेको अबस्था देखिएकोले अंशवण्डाको लिखत कै अभावको कारणले मात्र वादी प्रतिवादी बीच अंशवण्डा नभएको भनी मान्न मिल्ने देखिदैन । तसर्थ, वादी र प्रतिवादी बीच एक पटक अंशवण्डा भएको प्रमाणित भैसकेकोमा पुनः अंशवण्डा हुनसक्ने अबस्था नहुँदा दावी बमोजिम अंश पाउने ठहराएको पुनरावेदन अदालत हेटौंडाको फैसला मिलेको नदेखिंदा उल्टी भै अंश पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहर्छ । अरु तपसिल बमोजिम गर्नु ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिए बमोजिम वादीको अंश पाउँ भन्ने दावी पुग्न नसक्ने ठहराकोले पुनरावेदन अदतलको फैसालको तपसिल खण्डको अंश छुट्टाउने तर्फको लगत कायम रहन नसक्ने हुँदा सो लगत कट्टा गर्नु भनी शुरु पर्सा जिल्ला अदालतमा लेखि पठाई दिनु ...१
पुनरावेदक प्रतिवादी लक्ष्मीनीया अहिरनीले पुनरावेदन अदालतको फैसला बमोजिम वादीलाई भराई दिने गरेको कोर्टफी रु.४,५४९।– निजले पुनरावेदन अदालत हेटौंडामार्फत यस अदालतमा पुनरावेदन गर्दा पुनरावेदन अदालत हेटौंडामा धरौट राखेको र.नं.०१८२६ मिति २०५५।८।२३ को रसिदबाट देखिंदा सो धरौट रकम निजले नै फिर्ता पाउने हुँदा नियमानुसार निजलाई फिर्ता दिनु भनी पुनरावेदन अदालत हेटौंडामा लेखि पठाई दिनु र पुनरावेदन अदालतको फैसला बमोजिम कोर्टफीको सम्पूर्ण लगत समेत कट्टा गर्नु भनी शुरु जिल्ला अदालतमा लेखी पठाई दिनु –––––२
पुनरावेदक प्रतिवादी लक्ष्मीनीया अहिरनीले यस अदालतमा पुनरावेदन गर्दा राखेको र्काटफी रु.६९४।– वादीहरुबाट भराई पाउने हुँदा कोर्टफी ऐनबमोजिम सो ऐनका म्याद भित्र निजको दर्खास्त परे देहायका वादीहरुबाट दामासाहीले कोर्टफी भराई दिन लगत राख्नु भनी पर्सा जिल्ला अदालतमा लेखी पठाई दिनु –––––३
वादी देवकी अहिरनीबाट रु.२३१।३३
वादी मिश्री राउत अहिरबाट रु.२३१।३३
वादी वंका राउत अहिरबाट रु.२३१।३४
मिसिल नियमानुसार बुझाई दिनु ...४
उक्त रायमा सहमत छु ।
न्या.वलराम के.सी.
इति सम्वत् २०६२ साल वैशाख १४ गते रोज ४ शुभम्–––––