शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७५३० - ट्वाइलेट तथा गाहो भत्काई पाउँ ।

भाग: ४७ साल: २०६२ महिना: श्रावण अंक:

निर्णय नं. ७५३०    ने.का.प.२०६२ अङ्क ४

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री अनूपराज शर्मा

माननीय न्यायाधीश श्री हरिजंग सिजापति

संवत् २०६१ सालको दे.पु.नं.८९०३

फैसला मितिः२०६२।१।२।६

 

मुद्दाःट्वाइलेट तथा गाहो भत्काई पाउँ ।

 

            पुनरावेदकः सुकु महर्जनको छोरा ल.पु.जि. ल.पु. उ.म.न.पा. वडा नं.६ सिंचाहिटी बस्ने    सानुलाल महर्जन

बिरुद्घ

            प्रत्यर्थी  : ल.पु.जि.ल.पु.उ.म.न.पा.वडा नं.६ सिंचाहिटी बस्ने प्रेमलाल महर्जन समेत

 

§  पुनरावेदकले स्थानीय स्वायत शासन ऐन, २०५५ आउनु अगावै २०३७।११।१ मा तत्काल प्रचलित नगरपंचायत ऐन, २०१९ बमोजिम नक्सा पास गरी, पास नक्सा अनुसार २०३७ सालमै पर्खाल बनाई नक्सापास अनुसार निर्मित भर्‍याङकै मुनि ट्वाइलेट बनाइ सो ट्वाइलेटको सेफ्टी टैंक समेत आफ्नै पर्खाल सिमानाभित्र बनाई भोगचलन गरी आइ रहेको देखिन आएको हुँदा स्थानीय स्वायत शासन ऐन, २०५५ को दफा १६१ को प्रयोग हुनसक्ने अवस्था नदेखिने ।

(प्रकरण नं.१७)

§  २०३७ सालमा निर्माण गरिदाको अवस्थामा सिमानाबाट १ मिटर छाडी निर्माण कार्य गरिनुपर्नेमा सो नगरी बनाएको हुँदा मापदण्ड विपरीत छ भन्न पनि अगाडि भएको काम कारवाही र त्यस बखत व्यवस्था नै नभएको बिषय र त्यसबाट पुनरावेदकको हकअधिकार सिर्जना भइसकेको स्थितिमा पछि बनेको नीति अनुसार अरुको हक अधिकार हनन हुने गरी निर्णय गर्न पनि नमिल्ने ।

(प्रकरण न.१८)

 

पुनरावेदक तर्फवाटःविद्धान अधिवक्ताहरु श्री चण्डेश्वर श्रेष्ठ श्री मंगल महर्जन

प्रत्यर्थी तर्फबाटः उपस्थित विद्वान अधिवक्ताहरु श्री चन्द्रकान्त ज्ञवाली, श्री विजयकान्त मैनाली

अवलम्वित नजीरः

 

फैसला

न्या.अनपराज शर्माः पुनरावेदन अदालत, पाटनबाट भएको फैसला उपर न्याय प्रशासन ऐन २०४८ को दफा १२ बमोजिम यस अदालतमा दोहोर्‍याई हेर्ने निस्सा प्रदान होस भनी दर्ता हुन आएको प्रस्तुत मुद्दाको निस्सा प्रदान भई पुनरावेदनको रुपमा दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ:

२.    बिपक्षी सानुलाल महर्जनले निजका नाउँ दर्ताको ल.पु.जि. ल.पु.उ.म.न.पा. वडा नं.६(ग) को कि.नं. ३०३ को जग्गामा ट्वाइलेट निर्माण गर्दा हामी छिमेकी निवेदकहरुले परापूर्वकाल देखि प्रयोग गर्दै आइ रहेको बाटोमा पर्ने गरी ट्वाइलेट निर्माण गरेको र सो ट्वाइलेटको सेफ्टीट्यांकी तथा ट्वाइलेट कै साइटमा पर्ने गरी गार्‍हो समेत निर्माण गरी हामी निवेदकहरुले हिडदै आएको बाटो साविक अं.५ फिटको रहेकोमा हाल ३ फिट मात्र हुन गएकोले उक्त ट्वाइलेट गारो तथा सेफ्टी टैंकी समेत भत्काउन लगाई साविक बमोजिम कायम गरिपाऊँ भन्ने समेत व्यहोराको प्रेमलाल महर्जन समेत १२ जनाको उजुरी निवेदन ।

३.    मेरो नाउँमा मालपोत कार्यालय, ललितपुरमा दर्ता प्रमाणित भएको ल.पु.जि.ल.पु.उ.म. न.पा.वडा नं.६ (ग) कि.नं.३०३ क्षेत्रफल ०२ जग्गामा तत्कालीन नगर पंचायतबाट ०३७।११।१ मा नक्सा पास गरी घर पर्खाल लगाएको र सोही समय मै मेरो घरको उत्तर तर्फ र्‍याङ मुनि ट्वाइलेट र उत्तर पुर्व तर्फ सेफ्टी टैंकी समेत निर्माण गरेको छु । मैले बिपक्षीहरुको हक भोग चलनको जग्गामा कुनै निर्माण कार्य गरेको छैन । उक्त कि.नं.३०३ को मेरो जग्गामा साविक बाटो रहेको तथ्य सर्भे नापी नक्साबाट प्रष्ट हुन्छ । मैले तत्कालीन ल.पु.न.पंचायतबाट ०३७।११।१ मा नक्सा पास गरी निर्माण गरेको घर पर्खाल ट्वाइलेट सेफ्टी टैंकीको सम्बन्धमा हाल तत्कालीन नगर पंचायत तथा नगरपालिका ऐन नियमहरु समेत खारेज भै सकेको अवस्थामा म उपर यसरी झुठ्ठा उजुरी दिएको कानूनसम्मत हुन नसक्ने हुँदा गैरकानूनी उजुर खारेज गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीको लिखितजवाफ ।

४.    यसमा प्रतिवादीले निर्माण गरेको ट्वाइलेट तथा गाह्रो विवादित निर्माणको यथास्थितिमा खुलने गरी प्राविधिक (जु.ई.) बाट स्केच नक्सा सहितको प्रतिवेदन पेश गर्न लगाई पेश भए पछि नियमबमोजिम गरी पेश गर्नु भन्ने आदेश ।

५.    मिति २०५७।७।४ को आदेश बमोजिम स्थलगत निरीक्षण गरी हेर्दा प्रतिवादी सानुलाल महर्जनले नक्सा विना स्वीकृति तल्ला थप र थप घर टहरा निर्माण गरेको देखिन्छ । प्रतिवादीले विना स्वीकृति उत्तर तर्फ र्‍याङ मुनि ट्वाइलेट सेफ्टी टैंकी बनाएको देखिन्छ सो मापदण्ड विपरीत भएको देखिन्छ । निर्मित घरको पश्चिम तर्फको बाटोबाट ६५ मी छोडी निर्माण गर्नुपर्नेमा हाल साइटमा क्रमशः ५”.,४.५ मी.मात्र छोडी घर टहरा (विना नक्सा) बनाएको देखिन्छ । सो मापदण्ड विपरीत भएको र प्रतिवादीले मिति २०३७।११।१ मा पास गर्दा पुर्व पश्चिम लम्बाई उत्तर तर्फ ३६पास गरेको भएता पनि हाल साइटमा ४२बनाएको र सोहीघर माथि विनानक्सा दुई तल्ला थप गरेको देखिन्छ । सो मापदण्ड विपरीत देखिन्छ । सो निर्मित ट्वाइलेट उत्तर तर्फको तल्लो बाटोमा आवत जावत गर्ने समेत दुर्घन्ध फैलिइ वातावरणमा समेत प्रतिकूल असर पार्ने देखिन्छ भन्ने समेत व्यहोराको स्केच नक्सा सहितको प्राविधिक प्रतिवेदन पेश भएको ।

६.    प्रतिवादीले बाटोको सिमानासंग जोडी बनाएको ट्वाइलेटबाट वातावरण दुर्गन्धित समेत भएको र बाटोको साँधमा रहेको पर्खाल समेत विना नक्सा पास निर्माण भएको देखिंदा ट्वाइलेट सेफ्टी टेंकी र पर्खाल गार्‍हो समेत स्थानिय स्वायत्त शासन ऐन, २०५५ को दफा १६१(४) बमोजिम भत्काइ हटाई दिने ठहर्छ भन्ने ललितपुर उपमहानगरपालिकाको निर्णय ।

७.    शुरु निर्णयमा चित्त बुझेन । कि.नं.३०३ को घर जग्गामा कुनै पनि प्रमाणहरुद्वारा सार्वजनिक बाटो भएको देखिएको छैन । सो सार्वजनिक बाटो नभएको स्थितिमा मैले २०३७ सालमा निर्माण गरेको ट्वाइलेट र गाह्रो समेत नगरपालिकाले भत्काउन पाउने होइन । २०३७ साल देखि मेरो हक भोगमा रहेको ट्वाइलेट समेत भत्काउने गरेको शुरु निर्णय बदर गरी पुनरावेदन जिकिर बमोजिमको इन्साफ पाउँ भन्ने प्रतिवादीको पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदन पत्र ।

८.    यसमा नक्सा पास विना निर्माण गरेको भनी पुनरावेदकको पर्खाल समेत भत्काउने ठहर भएको तर नगरपालिकाको फाइलबाट पर्खाल निर्माण गर्न पुनरावेदकले नक्सा पास गराएको देखिन आएकोले ललितपुर उपमहा( नगरपालिकाको प्रमुखले गरेको निर्णय त्रुटिपूर्ण देखिनु फरक पर्न सक्ने देखिंदा अ.बं.२०२ नं.बमोजिम बिपक्षीहरुलाई झिकाई पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, पाटनको आदेश ।

९.    नक्साको आकृति प्रकृतिबाट पुर्व तर्फ भन्दा पश्चिम तर्फ बाटो सांघुरिदै गएको सोही सांघुरिएको ठाउँमा ट्वाइलेट सेफ्टी टेंकी र पर्खाल बनाएको देखिन आएको अदालतबाट भएको सर्जमिन समेतबाट सो चर्पि र सेफ्टी टेंकी र पर्खाल बनाएको देखिन आएको अदालतबाट भएको सर्जमिन समेतबाट सो चर्पि र सेफ्टी टंकीबाट दुर्गन्ध फैलिएर वातावरण समेतमा असर पुगेको देखिन आएको र बाटोको अस्तित्वलाई पुनरावेदकले नकार्न सकेको अवस्था देखिन नआएको अवस्थामा स्थानीय स्वायत शासन ऐन, २०५५ को दफा १६१ को उपदफा (४) अनुरुप सम्बन्धित नगरपालिकाको प्रमुखले प्रस्तुत मुद्दामा निर्णय गर्न सक्ने नै देखिंदा नगरपालिकाको प्रमुखले निर्णय गर्न पाउने होइन भन्ने समेतको पुनरावेदन जिकिरसंग सहमत हुन सकिएन तसर्थ वादी दावी बमोजिम चर्पी सेफ्टी टेंकी र पर्खाल समेत भत्काउने गरी ललितपुर महानगरपालिकाबाट मिति २०५७।७।१८ मा भएको निर्णय मिलेके देखिंदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, पाटनको फैसला ।

१०.    नगरपालिकाले मेरो नाममा रहेको जग्गाको ट्वाइलेट गार्‍हो तथा सेफ्टी टेंकी भत्काई साविक बमोजिम बाटो कायम गरी दिन भनी निर्णयमा पुग्दा स्थानीय स्वायत शासन ऐन, २०५५ को दफा १६१(४) को प्रयोग गरेको छ । बिवादित ट्वाइलेट गार्‍हो तथा सेफ्टी टेंकी नगर पंचायत ऐन, २०१९ बमोजिम नक्सा पास गरी २०३७ सालमा बनाएको हो । हाल आउर पछि बनेको ऐन प्रयोग गरी नगरप्रमुखले एाका नामको जग्गार कानून बमोजिम निमित्त गार्‍हो ट्वाइलेट भत्काउने गरी आदेश दिन मिल्दैन । मैले सार्वजनिक जग्गा र बाटो मिचि भवन निर्माण गरेको पनि छैन र सो अनुसार प्राविधिक प्रतिवेदन समेत नगरपालिकामा पर्न आएको देखिदैन । यसरी बिपक्षीहरुको जग्गा मिचि, बाटो मिचि घर पर्खाल पनि बनाएको र हाल प्रचलित कानून पहिल्यै भए गरेको कार्यमा आकर्षित हुन सक्ने नदेखिंदा नगरपालिकाबाट भएको गैरकानूनी निर्णयलाई नै सदर कायम गरी पुनरावेदन अदालत, पाटनबाट भएको फैसला अन्यायपूर्ण हुँदा उल्टी भई हक इन्साफ दिलाई पाउँन मुद्दा दोहोर्‍याउने अनुमति पाउँ भन्ने प्रतिवादीको पुनरावेदन जिकिर ।

११.    यसमा तत्कालिन नगर पंचायत ऐन, २०१९ बमोजिम नक्सा पास गरी बनाएको घरलाई स्थानीय स्वायत शासन ऐन, २०५५ को दफा १६१(४) को अधिकारप्रयोग गरी नगरपालिकाले भत्काउने भनी गरेको निर्णयलाई सदर गर्ने गरी पुनरावेदन अदालत, पाटनले र्निाय गरेको  देखियो । तत्कालीन अवस्थामा लागु रहेको ऐन बमोजिम पाइ सकेको, मागी सकेको अधिकारमा पछि बनेको कानूनले असर पार्न नसक्ने भनी कानून व्याख्या सम्बन्धी ऐन २०१० को दफा ४(ग) मा उल्लेख भएकोले पुनरावेदन अदालत, पाटनको फैसलामा उक्त ऐनको त्रुटि विद्यमान रहेकोले न्याय प्रशासन ऐन २०४८ को दफा १२ (१) (क) अनुसार दोहोर्‍याउने निस्सा प्रदान गरिदिएको  छ  । बिपक्षी झिकाई लगाउको रिट नं.२८७८ र नि.नं.३३७३ समेत साथै राखि पेश गर्नु भन्ने यस अदालतबाट आदेश भई प्रस्तुत मुद्दा पुनरावेदनको रुपमा दर्ता भएको देखिन्छ ।

१२.   यिनै मुद्दामा प्रतिवादी सानुलाल महर्जनले यसै मुद्दामा बिपक्षी प्रेमलाल महर्जन समेत उपर २०५९।८।१९ मा रिट नं.२८७८ को रिट निवेदन दिएको छ भनी निवेदकका कानून व्यवसायीले इजलास समक्ष भन्नु भएको हुँदा सो रिट यस मुद्दासंग सम्बन्धित देखिंदा साथै राखि पेश गर्नु भन्ने यस अदालतको आदेश ।

१३.   नियमबमोजिम पेशी सुचिमा चढी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको सम्पूर्ण मिसिल अध्ययन गरियो । पुनरावेदक तर्फका विद्धान अधिवक्ताहरु श्री चण्डेश्वर श्रेष्ठ, श्री मंगल महर्जनले बिवादित चर्पी, सेफ्टी टेंकी र पर्खाल पुनरावेदकले आफ्नै जग्गाको सिमाना भित्र निर्माण गर्नु भएको हो । सार्वजनिक जग्गा वा बाटो मिचि उक्त चर्पी समेत बनाएको होइन । चर्पीबाट दुर्गन्ध फैलियो भन्ने आधारमा मात्रै एकाको हक अधिकार भित्रको सम्पति निर्माण कार्य भत्काउने नष्ट गर्ने अधिकार नगरपालिकालाई छैन । २०३७ सालमा निर्मित पर्खाल ट्वाइलेट तत्कालीन अवस्थामा लागु रहेको नगर पंचायत ऐन बमोजिम बनाइ सो बमोजिम पाइ सकेको अवस्था हुँदा हाल आएर धेरै समय पछि बनेको स्थानीय स्वायत शासन ऐनको प्रयोग गरी पुनरावेदकको हक अधिकारलाई कुण्ठित गर्ने गरी नगरपालिकाबाट निर्णय भएको छ । सोही निर्णयलाई पुनरावेदन अदालतले समेत सदर कायम गर्नु झनै कानून विपरीत भएको हुँदा उक्त फैसला उल्टी गरी पुनरावेदकको हक अधिकार भित्रको सम्पतिमा हानी हुन नदिई ट्वाइलेट पर्खाल भत्काउने गरी भएका निर्णय बदर हुनुपर्छ भनी वहस प्रस्तुत गर्नुभयो ।

१४.   त्यसै गरी प्रत्यर्थी तर्फबाट उपस्थित विद्वान अधिवक्ताहरु श्री चन्द्रकान्त ज्ञवाली, श्री विजयकान्त मैनालीले बिपक्षी पुनरावेदकले कि.नं.३०३ को जग्गामा बाटो मिचि ट्वाइलेट र सोको साइडमा पर्ने गरी गार्‍हो समेत बनाएकोले ५ फिटको बाटो घटि ३ फिट मात्र भएको हुँदा र चर्पीको दर्गन्धले वातावरणमा समेत असर पुग्न गएको कारण प्रेमलाल महर्जन समेतले नगरपालिकाको कार्यालयमा निवेदन दिंदा उक्त कार्यालयले स्थलगत निरीक्षण समेत गरी यथार्थ बिवरण बुझि, प्राविधिक प्रतिवेदन समेत हेरी पुनरावेदक प्रतिवादीले विना स्वीकृत उत्तर तर्फ र्‍याङ मुनि ट्वाइलेट, सेफ्टी ट्यांकी बनाएको र सो निर्माण कार्यका लागि सिमानाबाट १ मिटर जग्गा छाडि बनाउनु पर्नेमा सिमानामा नै बनाएको हुँदा मापदण्ड विपरीत भएको उक्त कार्य भएको देखिंदा र बाटोको साधमा रहेको पर्खाल समेत विना नक्सा पास निर्माण भएको हुँदा नगरपालिकाले प्रतिवादीले विना नक्सा निर्माण गरेको ट्वाइलेट, सेफ्टी टेंक र सो संग बाटोमा रहेको पर्खाल गार्‍हो समेत स्थानीय स्वायत शासन ऐन, २०५५ को दफा १६१ (४) बमोजिम भत्काउने निर्णय गरेको हुँदा उक्त निर्णय कानूनसम्मत देखिंदा सोही निर्णय सदर हुनु पर्दछ भनी बहस जिकिर प्रस्तुत गर्नुभयो ।

१५.   अव दुवै पक्षका विद्धान कानून व्यवसायीहरुको वहस समेत सुनी इन्साफ तर्फ विचार गर्दा ललितपुर उपमहानगरपालिकाका मेयरले गरेको निर्णयलाई पुनरावेदन अदालत, पाटनले सदर कायम गरेको फैसला मिले नमिलेको के हो ? र प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन भन्ने सम्बन्धमा निर्णय दिनु पर्ने देखिन आयो ।

१६.    निर्णय तर्फ विचार गर्दा प्रतिवादी नाम दर्ताको कि.नं.३०३ को जग्गामा प्रतिवादीले ५ फिट बाटो छाड्न पर्नेमा सो नछाडी ३ फिट मात्र छाडी सार्वजनिक बाटो मिचि सेफ्टी ट्याकं ट्वाइलेट र पर्खाल समेत निर्माण गरेको, निवेदकहरुलाई आवत जावत गर्न कठिनाई उत्पन्न भएको, उक्त चर्पीबाट चुहावट हुने दुर्गन्धले छिमेकमा नराम्रो वातावरण पैदा गरेको हुँदा प्रतिवादीबाट भएका उक्त निर्माण कार्य कानून बमोजिम नक्सा पास नगराई भएको देखिंदा भत्काई पाउँ भनी प्रेमलाल महर्जन समेतका निवेदकहरुले नगरपालिकामा दिएको निवेदन अनुसार नगरपालिकाले अनिधिकृत रुपमा निर्माण भएको ट्वाइलेट, सेफ्टी ट्याकीं र पर्खाल समेत भत्काई दिने गरी गरेको निर्णय उपर चित्त नबुझि यि पुनरावेदक पुनरावेदन अदालत जाँदा सो अदालतबाट समेत नगरपालिकाकै निर्णयलाई सदर कायम गर्ने गरी भएको फैसलामा चित्त नबुझि प्रतिवादी यस अदालतमा मुद्दा दोहोर्‍याउने निस्सा पाउँ भन्ने निवेदन लिई प्रवेश गरेको देखिन्छ ।

१७.   तत्सम्बन्धमा हेर्दा यि पुनरावेदकले स्थानीय स्वायत शासन ऐन, २०५५ आउनु अगावै २०३७।११।१ मा तत्काल प्रचलित नगर पंचायत ऐन, २०१९ बमोजिम नक्सा पास गरी, पास नक्सा अनुसार २०३७ सालमै पर्खाल बनाई नक्सा पास अनुसार निर्मित भर्‍याङकै मुनि ट्वाइलेट बनाइ सो ट्वाइलेटको सेफ्टी टैंक समेत आफ्नै पर्खाल सिमाना भित्र बनाई भोग चलन गरी आइ रहेको देखिन आएको हुँदा स्थानीय स्वायत शासन ऐन, २०५५ को दफा १६१ को प्रयोग हुन सक्ने अवस्था देखिएन।

१८.   स्थानीय स्वायत शासन ऐन लागु भए पछि उक्त स्थानीय स्वायत शासन ऐनको प्रयोग हुन सक्ने अवस्थामा भवन निर्माण गर्न उक्त ऐन बमोजिम अनुमति लिनु पर्नेमा अनुमति नलिएको अथवा उक्त ऐन बमोजिम पास भएको नक्सा अनुसार निर्माण भएको वा भइ रहेको छैन भन्ने प्रश्न उठेमा त्यस्तो भवनले सार्वजनिक जग्गा, बाटो, मन्दिर, चोक, ढल, नाला, पोखरी आदि मिचेको छ, छैन भनी उक्त ऐनको दफा १६१ (१) बमोजिम जाँचबुझ र कारवाही हुन सक्ने अवस्था हो। तर प्रस्तुत बिवादमा उक्त ऐन आउनु अगावै नगर पंचायत ऐन, २०१९ अनुसार २०३७ सालमै भए गरेको काम कारवाही र निर्माणको बिषयमा उक्त दफा १६१ को प्रयोग गरी कारवाही निर्णय गर्न मिल्ने देखिएन । साथै २०३७ सालमा निर्माण गरिदाको अवस्थामा सिमानाबाट १ मिटर छाडी निर्माण कार्य गरिनु पर्नेमा सो नगरी बनाएको हुँदा मापदण्ड विपरीत छ भन्न पनि अगाडि भएको काम कारवाही र त्यस बखत व्यवस्था नै नभएको बिषय र त्यसबाट हक अधिकार पुनरावेदकको सिर्जना भइसकेको स्थितिमा पछि बनेको निति अनुसार अरुको हक अधिकार हनन हुने गरी निर्णय गर्न पनि मिल्ने देखिएन ।

१९.    दुर्गन्ध फैलिएर वातावरण समेतमा असर पुगेको भन्ने ठहरको बिषयमा हेर्दा दुर्गन्धको कारणले भत्काउने निर्णय गर्न सकिने अधिकार उक्त ऐनको दफा १६१ (४) ले नगरपालिकालाई प्रदान गरेको समेत पाइएन । यसप्रकार प्रतिवादीले २०३७ सालमा घरको नक्सा पास गर्दा चारै तर्फ पर्खाल देखाई नक्सा पास गरेकै देखिन्छ । सो स्वीकृत नक्सा विपरीत निर्माण गरिएको अवस्थामा पनि त्यो बेला प्रचलित कानून बमोजिम नै प्रतिवादीलाई कारवाही हुन सक्ने देखिन्छ । हाल नगरपालिकाको निर्णय हेर्दा प्रतिवादीले सिमाना भित्र नै उल्लेखित निर्माण कार्य गरेको भन्ने कुरा स्वीकार गरेको हुँदा मापदण्ड विपरीत भएको भनी निर्णय गरेको देखिन्छ । तर त्यस्तो भनेको मापदण्ड कस्तो मापदण्ड हो नगरपालिकाले आफ्नो निर्णयमा खुलाउन सकेको पनि देखिएन । वादी तर्फका विद्वान अधिवक्ताहरुले नगरपालिका भित्र भवन निर्माण गर्दा २०५० सालको मापदण्ड विपरीत निर्माण कार्य भएको भनी जिकिर लिनु भए तर्फ हेर्दा २०३७ साल मै नक्सा पास गरी त्यो समयमा प्रचलित कानून बमोजिम भएको कार्यलाई २०५० सालको मापदण्ड प्रयोग हुन सक्ने अवस्था पनि देखिन आएन । २०३७ सालमै नक्सा पास गर्दा पुनरावेदक प्रतिवादीले पर्खाल समेत पास गराएकै देखिन्छ । बाटो ३ फिटको हो अथवा ५ फिट को हो त्यस तर्फ नगरपालिकाले कुनै निर्णयनै नगरेको अवस्थामा जग्गा तर्फ नै हक बेहक हुने गरी पुनरावेदन अदालत, पाटनले ठहर गरी नगरपालिकाको निर्णय सदर कायम गरेको देखियो । उक्त निर्णय पनि कानूनसम्मत देखिन आएन । तसर्थ माथि उल्लेखित आधार र कारणबाट ललितपुर उपमहानगरपालिका प्रमुखबाट मिति ०५७।७।१८ मा भएको निर्णय र त्यसलाई सदर गरेको पुनरावेदन अदालत, पाटनको ०५८।१०।९ को निर्णय कानून अनुकुल नहुँदा प्रारम्भ देखिने बदर हुने ठहर्छ । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी वुझाई दिनु ।

 

उक्त रायमा सहमत छु ।                                 

 

न्या.हरिजंग सिजापती

 

इति सम्बत २०६२ साल बैशाख २ गते रोज ६ शुभमः–––

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु