शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७५३६ - उत्प्रेषणयुक्त प्रतिशेध ।

भाग: ४७ साल: २०६२ महिना: भाद्र अंक:

निर्णय नं.७५३६     ने.का.प.२०६२       अङ्क ५

 

सर्वोच्च अदालत, पूर्ण इजलास

माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ

माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित

माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ

सम्वत २०६१ सालको रि.पू.ई.नं. .......१९

आदेश मितिः २०६२।५।२।५

 

विषयः उत्प्रेषणयुक्त प्रतिशेध ।

 

निवेदकः का.जि.का.म.न.पा.वडा नं. ३ महाराजगञ्ज स्थित श्री किरण सुज म्यानुफैक्चर्सको तर्फबाट साझेदार फर्मको तथा साझेदार स्वयं तथा ऐ. को अख्तियार प्राप्त नूरप्रताप राणा

बिरुद्ध

विपक्षीः उद्योग विभाग त्रिपुरेश्वर काठमाडौं समेत

 

§  पेटेन्ट, डिजायन र ट्रेडमार्क ऐन, २०२२ को दफा २१(क) को उपदफा (१) बमोजिम प्रकाशित विवरण उपरभन्ने शब्दावली प्रयुक्त भएबाट विवरण प्रकाशित गर्नुपर्ने बन्धनकारी व्यवस्था रहेको नहुँदा विवरण प्रकाशित गर्ने निर्णय उपर उजुर गर्ने वा पुनरावेदन गर्न सक्ने भन्ने नदेखिने ।                           

(प्रकरण नं. २१)

§  रिट निवेदकलाई विभाग वा पुनरावेदन अदालतले झिकाई विभागका समक्ष वा पुनरावेदन अदालतका समक्ष कुनै रुपबाट सरिक गराइएको वा सरिक भएको अवस्था पनि देखिँदैन । यसरी जुन निर्णय वा सम्बन्धमा पक्ष विपक्षको रुपमा वा अरु कुनै रुपमा सो विवादमा संलग्न नै नरहेका व्यक्ति वा कम्पनीको तर्फबाट सिधै सो दफा २७ बमोजिम पुनरावेदन लाग्ने अवस्थै देखिँदैन । यस स्थितिमा दफा २७ को कानूनी व्यवस्थाले निवेदकले प्रभावकारी उपचार प्राप्त गर्न सक्ने भन्न सकिने अवस्था  नदेखिने ।

(प्रकरण नं. २४)

 

§  ट्रेडमार्क स्वभावैले कुनै उद्योगको उत्पादित सामानको पहिचान गराउन र अरुबाट अलग देखाउने प्रयोजनको लागि प्रयोग हुने यो स्थापित मान्यता हो । पेटेन्ट डिजायन र ट्रेडमार्क ऐन, २०२२ को दफा २(ग) समेतले सो कुरा पुष्टि गरेको छ । कुनै कम्पनीले प्रयोग गरी आएको मान्यता प्राप्त ट्रेडमार्कहरुसँग मिल्दो जुल्दो भएमा उपभोक्ता झुक्किदैनन् भन्ने अवस्था नरहने ।

(प्रकरण नं. ४५)

§  कानूनबमोजिम दर्ता गराई अदालतद्वारा हक प्राप्त गरेको ट्रेडमार्कसँग मिल्दो जुल्दो डमार्क दर्ता गर्न नमिल्ने स्पष्ट कानूनी व्यवस्थाको प्रतिकूल हुने गरी पुनरावेदन अदालतबाट विपक्षीले माग गरेको ट्रेडमार्क दर्ता गरिदिनु भनी भएको फैसलालाई कानूनसँगत फैसला मान्न नसकिने ।                            

(प्रकरण नं. ५५)

§  निवेदकले दर्ता गराएको Gold Star, Super Star, Seven Star सँग विपक्षीले दर्ता माग गरी दर्ता गराएको Good Star, Gold Super, Eleven Star ट्रेडमार्कले निवेदक कम्पनीले दर्ता प्रमाण प्राप्त गरेको ख्यातिमा समेत प्रतिकूल प्रभाव पर्नसक्ने भनी विपक्षी कम्पनीले दर्ता गर्न माग गरेको उल्लेखित तीनप्रकारका ट्रेडमार्कहरु दर्ता गर्न नमिल्ने भनी उद्योग विभागले गरेका निर्णय उल्टी गर्न ट्रेडमार्क दर्ता गरिदिन भनी पुनरावेदन अदालतले गरेको फैसला पेटेन्ट डिजायन र ट्रेडमार्क ऐन, २०२२ को दफा १८ समेतको प्रतिकूल रहेको    पाईने ।

(प्रकरण नं.५७)

निवेदक तर्फवाटः अधिवक्तात्रय श्री अग्नी खरेल, श्री शैलेन्द्र दाहाल र श्री शम्भु थापा

विपक्षी वस्नेत फुटवेयरको तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री गणेशराज शर्मा र विद्वान अधिवक्ताहरु श्री बालकृष्ण नेउपाने तथा श्री मिथिलेश कुमार सिंह

विपक्षी तर्फवाटः विद्वान नायव महान्यायाधिवक्ता श्री नरेन्द्रप्रसाद पाठक र विद्वान उपन्यायाधिवक्ता श्री ब्रजेश प्याकुरेल

अवलम्वित नजीरः

ने.का.प.२०४८, नि.न. ४३००, पृष्ठ २३३, ने.का.प. २०५२, नि.नं. ६०३२, पृष्ठ ५४२,

 

आदेश

न्या.रामप्रसाद श्रेष्ठः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) अन्तर्गत परेको प्रस्तुत रिट निवेदनमा संयुक्त इजलासका माननीय न्यायाधीशहरुका वीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) अन्तर्गत यस इजलास समक्ष पेश हुन आएको रिट निवेदन सहितको व्यहोरा एवं ठहर यसप्रकार छ :

२.    उद्योग विभागबाट विपक्षी बस्नेत फुटवेयरले ट्रेडमार्क दर्ता सम्बन्धमा विपक्षीले माग गरेको Gold Super, Good StarEleven Star निवेदकले दर्ता गराएको ट्रेडमार्कसँग मिल्दो जुल्दो भई निवेदक उद्योगको ख्यातिमा असर पर्न जाने हुँदा दर्ता गर्न नमिल्ने भनी ०५९।६।१८ मा निर्णय भएको थियो । विपक्षीको पुनरावेदन अदालत पाटनमा पुनरावेदन परी उद्योग विभागको निर्णय उल्टी गरी पुनरावेदकले माग गरेको ट्रेडमार्क दर्ता गरिदिनु भन्ने मिति ०६०।१।३० मा भएको निर्णय ०६०।५।१६ मा नक्कल सारी यथार्थ जानकारी पाएको छु । Gold Star वाक्यांश भएको ट्रेडमार्क निवेदकले साविक देखि नै दर्ता गरी उक्त ट्रेडमार्क नै प्रयोग गरी स्पोर्ट जुत्ता उत्पादन गरी रहेको छ । उद्योग विभागले ०५८।१०।१० मा वर्ग २५ अन्तर्गत पर्ने स्पोर्ट जुत्तामा प्रयोग गरिने ट्रेडमार्कहरु मध्ये कुनैपनि शब्दको अगाडि पछाडि Star नराख्ने र Star शब्दयुक्त ट्रेडमार्कको अगाडि वा पछाडि कुनैपनि शब्द राखी  ट्रेडमार्क दर्ता नगर्ने भन्ने निर्णय लिएकोमा विपक्षीले माग गरेको Gold Super, Eleven Star, Good Star दर्ता नगर्ने भनी गरेको निवेदकलाई समेत नबुझी पुनरावेदन अदालत पाटनले गरेको निर्णय प्राकृतिक न्याय सिद्धान्तको अवज्ञा हुनुका साथै पेटेण्ट डिजायन र ट्रेडमार्क ऐन, २०२२ को दफा १६ द्वारा प्राप्त हकमा आघात पुग्ने पूर्ण अवस्था विद्यमान रहेको पुनरावेदन अदालतको फैसला बदर गर्न पर्याप्त उचित तथा अन्य प्रभावकारी वैकल्पिक कानूनी माध्यम नरहेकोले नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ द्वारा संरक्षित रहेको हक प्रचलनको लागि धारा ८८(२) अन्तर्गत सम्मानित अदालत समक्ष उपस्थित भएको छु । निवेदकले Gold Star भन्ने ट्रेडमार्क दर्ता गरी त्यसमा हक प्राप्त गरेकोमा विवाद छैन । यो हक निवेदकले ०४८।८।१७ को दर्ताबाट प्राप्त गरेको छु । त्यसै गरी Side Trim Device को हक पनि ०५५।४।१९ मा प्राप्त गरेको छु । Gold Star भन्ने शब्द माथि अगाडि पछाडि शब्द थपिएपछि निवेदकको Gold Star भन्ने ट्रेडमार्कको हक पूर्णतः अपहरण हुने गरी गरेको फैसला पेटेण्ट डिजायन र ट्रेडमार्क ऐन, २०२२ को दफा १६ को विपरीत छ । Gold Star भन्ने शब्दमा अन्य शब्द थपिनु र मूल शब्दलाई विभक्त गरी अन्य शब्दसँग मिश्रण गरी नयाँ शब्दको रुप दिएको कारणले फरक नहुने भई समान हुने भएकोले फैसला ऐनको दफा २(ग) को विपरीत छ । निवेदकले लामो समयदेखि बजारमा ल्याई Gold Star शब्दबाट विश्वास, ख्याति, बजार आर्जन, प्रतिस्पर्धा आर्जन गरी आफ्नो उत्पादित सामान ग्राहक वर्गमा पुर्‍याई आएको छ । निवेदकको ख्याति, विश्वास, बजार, र प्रतिस्पर्धालाई प्रभाव पर्ने गरी विपक्षी उद्योगले Gold Star शब्द राखी प्रतिस्पर्धा नै गर्न पाउदैन । Gold Star शब्द निवेदककै उपज हो । यो ट्रेडमार्क पत्ता लगाई रोज्नमा निवेदकको ठूलो धनराशी खर्च भएको छ । यो शब्दमा निवेदकको एकाधिकार कायम छ । विपक्षीले Gold Star बाहेक अन्य शब्द तथा शब्दको जुनसुकै समूह रोज्न सक्ने अवस्था छ । एकै आकृति तथा शब्द प्रयोग भएको दुई अलग अलग उद्योगको ट्रेडमार्क हुन सक्दैन । ट्रेडमार्कको प्रकृतिले वस्तु विशेषको पृथकता अलग्याउने हो भन्ने बुझिन्छ । ट्रेडमार्क दर्ता गर्ने निकायले GoldStar शब्दांस भएको ट्रेडमार्कलाई मान्यता नदिने भन्ने निर्णय भइसकेको अवस्थामा उक्त निर्णयको प्रतिकूल भएको निर्णयमा पेटेण्ट डिजायन र ट्रेडमार्क ऐन, २०२२ को दफा १८(१) को प्रतिबन्धात्मक वाक्यांशको त्रुटी रहन गएको छ । विपक्षी फुटवयेरले प्रस्तावित गरेको ट्रेडमार्क Gold Super, Good Star, Eleven Star सम्बन्धमा ती वाक्यांशयुक्त ट्रेडमार्क राखी व्यवसाय संचालन गर्न उद्योग विभागसँग माग गरेकोमा उद्योग विभागले अन्य कम्पनीहरुले राखेको ट्रेडमार्क दुई शब्द संयुक्त गरी अरुमा मिल्दो जुल्दो देखिने बुझिने व्यहोराबाट ट्रेडमार्क दिन नमिल्ने भनी गरेको निर्णयको तथ्य पुनरावेदन अदालतको फैसलामा अभिव्यक्त भएको  छ । पुनरावेदन अदालत पाटनले मिति २०६०।१।३० मा गरेको निर्णयबाट पेटेण्ट डिजायन र ट्रेडमार्क ऐन, २०२२ को दफा १६ द्वारा संरक्षित हकमा प्रतिकूल असर परी नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११, १२(२)(ङ), धारा १६ द्वारा प्रत्याभूत हकमा आघात पर्न गएकोले पुनरावेदन अदालतले म सरोकारवालालाई  बुझ्दै नबुझी गरेको सम्बत् २०५९ सालको दे.पु.नं. २३२३ को वादी विपक्षी बस्नेत फुटवेयर इण्डष्ट्रिज विरुद्ध महानिर्देशक उद्योग विभाग भएको ट्रेडमार्क दर्ता मुद्दाको मिति २०६०।१।३० को फैसला बदर गरी विपक्षी बस्नेत फुटवेयरले प्रस्ताव गरेको उल्लेखित ट्रेडमार्क दर्ता नगर्नु भन्ने प्रतिषेधको आदेश जारी गरिपाऊँ । साथै प्रारम्भमा उद्योग विभागले प्रत्यर्थी फुटवेयरले प्रस्ताव गरेको ट्रेडमार्क दर्ता गर्न इन्कार गरेतापनि पुनरावेदन अदालतले मिति २०६०।१।३० मा उक्त ट्रेडमार्क दर्ता गर्नु भन्ने फैसला गरे पश्चात हाल उद्योग विभागले उक्त ट्रेडमार्क दर्ता गर्ने सम्बन्धमा प्रारम्भिक कार्यविधि आरम्भ गरी ट्रेडमार्क दर्ता गर्नु भन्ने फैसला गरे पश्चात हाल उद्योग विभागले उक्त ट्रेडमार्क दर्ता सम्बन्धी कार्यविधि सम्पन्न गर्न सक्ने पूर्ण अबस्था विद्यमान रहेकोले पुनरावेदन अदालतको मिति २०६०।१।३० को फैसला प्रस्तुत रिट निवेदन किनारा नहुन्जेलसम्म कार्यान्वयन नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली २०४९ को नियम ४१ बमोजिम अन्तरिम आदेश समेत जारी गरिपाऊँ भन्ने समेत व्यहोराको रिट निवेदन  ।

३.    यस्मा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो बाटाका म्याद वाहेक १५ दिन भित्र  लिखितजवाफ पठाउनु भनी विपक्षीहरुका नाउँमा सूचना पठाई नियमानुसार पेश गर्नु । साथै निवेदनमा अन्तरिम आदेशको माग भएकोले लिखितजवाफ परेपछि पुनः विचार गर्ने गरी पुनरावेदन अदालत पाटनबाट मिति २०६०।१।३० मा भएको फैसला कार्यान्वयन नगर्नु नगराउनु भनी विपक्षीहरुका नाउँमा अन्तरिम आदेश समेत जारी गरिदिएको छ भन्ने समेत  व्यहोराको यस अदालत एक न्यायाधीश इजलासको मिति २०६०।६।५ को आदेश ।

४.    पुनरावेदन अदालत पाटनको २०६०।१।३० को फैसलाको कार्यन्वयन भैसकेपछि मिति २०६०।५।३१ मा विपक्षीको रिट परेकोले ३ महीना भन्दा बढी अनुचित विलम्ब गरी रिट परेको । साथै यसै विषयवस्तुलाई लिएर २०५८।०५९ को दे. पु. नं. २६६४ को पुनरावेदन मैले पुनरावेदन अदालत पाटनमा गरेको र सो सम्बन्धमा मिति ०५९।२।९ मा भएको फैसलाको सन्दर्भमा रिट निवेदकले बदर गराई पाउन कुनै माँग दाबी नगरेकोले यो रिट निवेदन खारेजभागी छ । खारेज गरिपाऊँ भन्ने समेत व्यहोराको विपक्षी वस्नेत फुटवेयर इण्डष्ट्रीजको प्रो. चिरन्जीवी वस्नेतको लिखितजवाफ ।

५.    मिति ०६०।६।५ को यस अदालतको अन्तरिम आदेश रद्द गरिपाऊँ भन्ने समेत व्यहोराको विपक्षी बस्नेत फुटवेयर इण्डष्ट्रिजका प्रो चिरन्जीजी वस्नेतको यस अदालतमा परेको निवेदन ।

६.    लिखितजवाफ परेपछि पुनः विचार गर्ने गरी अन्तरिम आदेश जारी भएको र सो अन्तरिम आदेश वदर गरिपाऊँ भनी पर्न आएको निवेदनमा रिट निवेदकलाई समेत राखी सुनुवाई गर्नुपर्ने अबस्था देखिदा रिट निवेदकलाई सो कुराको जानकारी दिई पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति ०६०।७।१७ को  आदेश ।

७.    पुनरावेदन अदालतको फैसला कार्यान्वयन गर्ने सन्दर्भमा यस विभागवाट भएका काम कारवाहीहरु कानून बमोजिम भए गरेको र सो कार्यले विपक्षीको कानूनी तथा संवैधानिक हकमा कुनै आघात पुगेको भन्न नमिल्ने हुँदा पुनरावेदन अदालत पाटनबाट मिति २०६०।१।३० मा भएको फैसला कार्यान्वयन नगर्नु नगराउनु भनी सम्मानीत अदालतवाट भएको अन्तरिम आदेश समेत खारेज गरिपाऊँ भन्ने समेत  व्यहोराको उद्योग विभागको लिखित जवाफ ।

८.    यस अदालत एक न्यायाधीशको इजलासबाट मिति २०६०।६।५ मा जारी भएको अन्तरिम आदेशमा परिवर्तन गर्नुपर्ने अबस्था विद्यमान देखिन नआएकोले अन्तरिम आदेश जारी गर्ने गरी गरेको आदेशलाई निरन्तरता प्रदान गरिएको छ । विषय वस्तुको प्रकृतिबाट विवादको किनारा छिटो लगाउनु उपयुक्त हुने देखिन आएकोले सबै लिखितजवाफ परेपछि अग्राधिकार दिई नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०६०।८।१५ को आदेश ।

९.    उद्योग विभागले गरेको निर्णय उपर यस अदालतमा वस्नेत फुटवेयरको पुनरावेदन परी यस अदालतवाट आफ्नोक्षेत्राधिकारको प्रयोग गरी हालसम्म कुनै उद्योगले दर्ता गराई नसकेका पुनरावेदकको माग अनुसार ट्रेर्डमार्क दर्ता गर्न नमिल्ने भनी उद्योग विभागले गरेको ०५९।६।१८ को निर्णय मिलेको नदेखिदा उल्टी गरी माग गरेको ट्रेर्डमार्क दर्ता गराई लिन पाउने ठहर्छ भनी यस अदालतवाट मिति २०६०।१।३० मा कानून बमोजिम भएको फैसला र सो फैसला उपर बैकल्पिक उपचारको मार्ग अवलम्वन नगरी रिटक्षेत्रमा प्रवेश गरेको देखिदा रिट निवेदन खारेज गरिपाऊँ भन्ने समेत  व्यहोराको पुनरावेदन अदालत पाटनको लिखितजवाफ ।

१०.    पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन, २०२२ को दफा २(ग) मा ट्रेडमार्क भन्नाले कुनै फर्म, कम्पनी वा व्यक्तिले आफ्नो उत्पादित मालसामान वा आफुले प्रदान गर्ने सेवालाई अरुको माल सामान वा सेवावाट फरक देखाउन प्रयोग गरिने शव्द चीनह वा चित्र वा शव्द चीनह र चित्र तीनै कुराले संयोग सम्झनु पर्छ भनि परिभाषित गरेको देखिन्छ । सोहि ऐनको दफा १६ ले कुनै व्यक्तिको नाउँमा दर्ता भएको ट्रेडमार्क सो व्यक्तिको लिखित मन्जुरी विना कसैले आफ्नो उपयोगमा ल्याउन वा सर्वसाधारण जनतालाई झुक्याउने किसिमबाट त्यस्को नक्कल गरी ट्रेडमार्क चलाउन नपाउने कानूनी व्यवस्था गरेको छ । साथै सोही ऐनको दफा १८(१) को प्रतिवन्धात्मक वाक्यांसमा निम्न व्यवस्था गरेको देखिन्छ तर त्यस्तो ट्रेडमार्कबाट कुनै व्यक्ति वा संस्थाको प्रतिष्ठामा धक्का पर्ने वा सर्वसाधारण जनताको सदाचार वा नैतिकता वा राष्ट्रिय हितमा नराम्रो असर पर्ने वा अरु कसैको ट्रेडमार्क ख्यातिमा धक्का पर्ने संभावना छ, भन्ने लागेमा वा सो ट्रेडमार्क पहिले अरु कसैको नाममा दर्ता भै सकेको देखिएमा सो ट्रेडमार्क दर्ता गरिने छैन ।पेटेन्ट डिजायन र ट्रेडमार्कहरुलाई वौद्धिक सम्पत्तिको रुपमा लिइने गरिन्छ । कुनैपनि उत्पादनहरुको खास पहिचान उसले प्रयोग गर्ने ट्रेडमार्कबाट चिनिन्छ र त्यस्तो ट्रेडमार्कको निरन्तर प्रयोगवाट वजारमा त्यस्तो बस्तुले एक खास पहिचान प्राप्त गर्दछ । कानून बमोजिम हक प्राप्त भई वजारमा प्रचलनमा आएका ट्रेडमार्कलाई अर्को कुनै त्यस्तै ट्रेडमार्कको प्रयोगले प्रतिकूल असर पर्न सक्ने नै हुन्छ । मिल्दो जुल्दो ट्रेडमार्क दुई प्रकारबाट हेरिने गरिन्छ । (क) आकार प्रकृति उस्तै उस्तै हुनु (ख) वस्तुमा प्रयोग गरिने ट्रेडमार्कको ध्वन्यात्मक समानता (Phonetic Similarity) निवेदकले दर्ता गरेको Gold Star, Good Star, Seven Star सँग विपक्षीले दर्ता गराएको ट्रेडमार्कको ध्वन्यात्मक समानता समेत रहि त्यस्तो ट्रेडमार्क मिल्दोजुल्दो रहेको कुरा उद्योग विभाग र स्वयं पुनरावेदन अदालतवाट मिति ०६०।१।३० मा भएको फैसलामा नाम वा ट्रेडमार्क उस्तै उस्तै देखिनुभनि निवेदकले दर्ता गरेको ट्रेडमार्कसँग विपक्षी दर्ता गर्न खोजेको ट्रेडमार्क मिल्दो जुल्दो रहेको स्वीकारै गरेको देखिन्छ । यस स्थितिमा पेटेन्ट डिजायन र ट्रेडमार्क ऐन, २०२२ को दफा १६(२) अनुसार विपक्षीले प्रयोग गर्न खोजेको ट्रेडमार्कसँग सर्वसाधारण जनता झुक्किन सक्ने र सो को दफा १८(१) को प्रतिवन्धात्मक वाक्यांश अनुसार विपक्षीको ट्रेडमार्क दर्ता गर्न इन्कार गरि उद्योग विभागले मिति २०५९।६।१८ मा गरेको निर्णय कानूनसँगत हुँदा हुँदै त्यसलाई वदर गरि विपक्षीको निवेदन अनुसारको ट्रेडमार्क दर्ता गर्ने आदेश सहित पुनरावेदन अदालत पाटनको मिति ०६०।१।३० को निर्णय उपरोक्त कानूनी व्यवस्थाको विपरीत भएको मान्नु पर्ने देखिन्छ । त्यस्तो फैसलाले असर पर्ने व्यक्ति किरण सुज म्यानुफेक्चर्सलाई समेत राखी आफ्नो कुरा भन्ने सुनुवाईको मौका दिई निर्णय गर्नुपर्ने हुन्छ । यसरी असर पर्ने पक्षलाई सुनुवाईको मौका नदिई फैसला भएकोमा त्यस्तो फैसलाले असर पर्ने पक्ष निवेदकले अ. वं. ८६ नं. अनुसार फैसला वदर गराउनको लागि कुनैपनि निर्णय वा फैसलावाट असर पर्ने पक्षले नालिस गरी इन्साफ पाउनको लागी सम्वन्धित पक्ष त्यस्तो फैसला वा निर्णय गर्ने शुरुक्षेत्राधिकार भएको निकायमा जानु पर्ने हुन्छ । प्रस्तुत रिट निवेदन सन्दर्भमा शुरु उद्योग विभागको निर्णय उपर पुनरावेदन अदालतमा पुनरावेदन गरी राखेको अबस्था देखिन्छ । उद्योग विभाग देखिएको उद्योग विभाग न्यायिक निकाय नभै प्रशासनिक निकाय भएको र त्यस्तो निकायमा पक्ष विपक्ष भै मुद्दा चली त्यस्तो मुद्दामा संलग्न विवाद निरोपणको सिलसिलामा निर्णय भएको समेत नदेखिएको, केवल प्रशासकिय निकायवाट प्रशासकिय काम कारवाहीको सिलसिलामा मात्र निर्णय भएको देखिदा प्रस्तुत रिट निवेदनमा रिट निवेदकलाई अ. वं. ८६ नं. को प्रक्रिया अनुसार वैकल्पीक उपचारको मार्ग प्रशस्त भएको मान्न सक्ने देखिएन । पुनरावेदन अदालतको फैसला बमोजिम उद्योग विभागबाट ट्रेर्डमार्क दर्ता गर्ने कार्य रोक्नको लागि उक्त फैसलावाट असर पर्ने पक्ष निवेदकलाई अर्को कुनै वैकल्पीक उपचारको व्यवस्था भएको नदेखिदा यसवाट निवेदकको जिकिर बमोजिम संविधान प्रदत्त हकमा आघात पर्ने हुँदा उद्योग विभागको मिति ०५९।६।१८ को निर्णय उल्टी गरी पुनरावेदन अदालतवाट मिति २०६०।१।३० मा भएको फैसला बदर गरी सो फैसला बमोजिम उद्योग विभागले विपक्षी बस्नेत फुटवेयरका नाममा प्रस्तावित ट्रेर्डमार्क दर्ता गर्ने कार्य समेत नगर्नु भनी रिट निवेदन जिकिर बमोजिम रिट जारी हुने ठहर्छ । माननीय न्यायाधीश श्री परमानन्द झाको रिट खारेज हुने रायसँग सहमत हुन सकिएन । तसर्थ प्रस्तुत रिट निवेदन सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री अनूपराज शर्माको राय ।

११.    पेटेन्ट डिजायन र ट्रेडमार्क ऐन, २०२२ को दफा १८(१) को प्रतिवन्धात्मक वाक्यांश बिषय सन्दर्भमा पुनरावेदकीय स्तरवाट पुनरावेदन अदालत पाटनले एकपटक निर्णय गरि सकेको अबस्थामा पुनः सो विषय सन्दर्भहरुमा सक्कल प्रमाणको मूल्यांकन गरि विवादित ट्रेडमार्कको मिल्दो जुल्दो (Similarity) सम्बन्धी विवाद रिटक्षेत्रवाट टुंगो लगाउन मिल्ने बिषय पनि देखिँदैन । पेटेन्ट डिजायन र ट्रेडमार्क ऐन, २०२२ को दफा २१(क)(१) अनुसार दफा १८ बमोजिम दर्ता भएको ट्रेडमार्क दर्ता गर्ने विभागले सर्वसाधारणको जानकारी प्रकाशन गर्न सक्ने दफा २१(क) (२) ले सो प्रकाशित विवरण उपर कसैको विरोध भएमा विभागमा उजुर दिन सक्नेछ भन्ने प्रावधान एकातिर रहेको छ भने अर्कोतिर दफा २७ मा विभागको आदेशमा चित्त नबुझ्ने व्यक्तिले पुनरावेदन अदालतमा पुनरावेदन दिन सक्ने व्यवस्था रहेको देखिन्छ । वस्नेत फुटवेयरको निवेदन अनुसार उद्योग विभागले ०५९।६।१८ मा ट्रेडमार्क दर्ता गर्न इन्कार गरी विभागले पनि निवेदकलाई बुझिएको अबस्था देखिँदैन र सो इन्कारी निर्णय गर्ने निकाय उपर ऐनकै प्रावधान अनुसार परेको पुनरावेदनबाट पनि निवेदकलाई वुझ्न पर्ने ऐनको वाध्यात्मक व्यवस्था नहुँदाको अबस्थामा मुलुकी ऐन अदालती बन्दोवस्तको ८६ नं. अनुसार असर महसूस गर्ने पक्षले आफ्नो हक हितमा असर परेको फैसलालाई बदर तर्फ समेत जान सक्ने नै हुन्छ । पुनरावेदन अदालतको फैसलावाट उद्योग विभागले दर्ता गर्ने गरेको ट्रेडमार्कहरु उपरको सम्बन्धित ऐनमा व्यवस्थित कानूनी उपचार र अदालती वन्दोवस्तको ८६ नं. समेतको उपचारको मार्ग अवलम्वन नगरि रीटक्षेत्रको असाधारण अधिकारक्षेत्रबाट उपचार खोज्न आएको अबस्थामा उपरोक्तानुसार वैकल्पिक कानूनी उपचार रहेको अबस्थामा असाधारणक्षेत्रवाट उपचार दिन मिल्दैन भन्ने सम्बन्धमा प्रतिपादित न्यायिक सिद्धान्त समेत अनुसार प्रस्तुत रिट निवेदनमा विचार गरि रहनु  परेन । रिट निवेदन खारेज हुने ठहर्छ । माननीय न्यायाधीश श्री अनूपराज शर्माको रिट जारी हुने रायसँग सहमत हुन सकिएन । सर्वोच्च अदालत नियमावली, २०४९ को नियम३(१)(क) बमोजिम प्रस्तुत रिट निवेदन पूर्णइजलासमा पेश गर्नु  भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री परमानन्द झाको राय सहित यस अदालत संयुक्त इजलासको मिति २०६१।११।१२ को आदेश ।

१२.   नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी पेश भएको प्रस्तुत रिट निवेदनमा मिति २०६२।१।२९, ०६२।२।१३ र ०६२।३।१६ मा समेत गरी दुवैतर्फका विद्वान कानून व्यवसायीहरुको वहस जिकिर सुनियो ।

१३.   निवेदकतर्फबाट विद्वान अधिवक्तात्रय श्री अग्नी खरेल, श्री शैलेन्द्र दाहाल र श्री शम्भु थापाले ट्रेडमार्क खास कुनै उद्योगको उत्पादनको पहिचान र ख्यातिको लागि प्रदान गरिने गरिन्छ । एउटा उद्योगले लिई सकेको ट्रेडमार्कसँग मिल्दो जिल्दो शब्द, चीनह वा चित्र वा शब्द चीनह र चित्र अर्को उद्योगलाई दिन नहुने कुरा ऐनले नै व्यवस्था गरेको  छ । पुनरावेदन अदालतले ती कुराहरु प्रति ध्यान नदिई असर पर्ने पक्ष निवेदकलाई वुझ्दै नवुझी नाम राख्न नमिल्ने भन्न नमिल्ने भनी निर्णय गरेबाट सो निर्णय पेटेन्ट डिजायन र ट्रेडमार्क ऐन, २०२२ को व्यवस्था विपरीत हुन गएको छ । विपक्षी वस्नेत फुटवेयरले दर्ता माग गरेको ट्रेडमार्कहरु निवेदकले पहिले नै दर्ता गरेको चीनहसँग मिल्दो जुल्दो रहेको भन्ने कुरा उद्योग विभागको पूर्व निर्णय र पुनरावेदन अदालतको फैसला समेतबाट स्पष्ट भई रहेको छ । कसैले ट्रेडमार्क दर्ताको लागि मांग गरेमा त्यस्तो ट्रेडमार्कले कुनै व्यक्ति वा संस्थाको प्रतिष्ठामा धक्का पर्ने वा अरु कसैको ट्रेडमार्कको ख्यातिमा धक्का पर्ने सम्भावना भए दर्ता गर्न समेत निषेध सोही ऐनको दफा १८ को उपदफा (१) को प्रतिवन्धात्मक वाक्यांशले गरेको छ । निवेदक उद्योगले दर्ता गरी सोही ट्रेडमार्क प्रयोग गरी सामान उत्पादन गरिरहेको र सो सामानले ख्याति प्राप्त समेत गरिरहेको अवस्था छ । निवेदककै ट्रेडमार्कको शब्द, चीनह, चित्रसँग मिल्दो जुल्दो ट्रेडमार्क राखी अरुले सोही वस्तु उत्पादन गरेमा सर्वसाधारण उपभोक्तामा समेत दुविधा पर्न जाने र संस्थाको विश्वसनियता र जनविश्वासमा समेत धक्का पर्न जान्छ । यसैले कुनै कम्पनीले प्रयोग गरी आएको ट्रेडमार्कसँग मिल्दो ट्रेडमार्क अर्को उद्योगका नाउँमा प्रदान नगरिने विश्वव्यापी प्रचलन र कानूनी व्यवस्था रही आएको छ । माननीय न्यायाधीश श्री परमानन्द झाले वैकल्पिक उपचार रहेको भनी रिट निवेदन खारेज गर्ने गरी प्रस्तुत गर्नु भएको राय मिलेको छैन । प्रस्तुत विवाद मुलुकी ऐन अदालती बन्दोवस्तको ८६ नं.ले व्यक्त गरेको भावना र मनसाय अनुरुपको होइन । सो कानूनी मार्ग अपनाउने भन्ने हो भने पनि पुनरावेदन अदालतको फैसला उद्योग विभागले बदर गर्न सक्ने अवस्था देखिँदैन । उद्योग विभागमा निवेदक पक्ष विपक्षको रुपमा नरहेको र उद्योग विभागले पुनरावेदन अदालतको फैसला अनुसार निर्णय गरेकोले पुनरावेदन अदालतको फैसला कायम रही रहेसम्म सो ऐनको दफा २१ वा २७ अन्तर्गतको पुनरावेदकीय मार्गबाट निवेदकले प्रभावकारी उपचार प्राप्त गर्न सक्दैन । तसर्थ प्रस्तुत विवादमा वैकल्पिक उपचारको मार्ग रहेको भन्ने भनाइसँग सहमत हुन सकिने अवस्था छैन । विपक्षीले माग गरेको ट्रेडमार्क निवेदकले दर्ता गरी प्रचलनमा ल्याएको ट्रेडमार्कसँग मिल्दो जुल्दो देखिई रहेको अवस्थामा पनि दर्ता गरि दिनु भनी गरेको पुनरावेदन अदालत पाटनको निर्णय मिलेको नहुँदा सो निर्णय समेत बदर गर्ने गरेको माननीय न्यायाधीश श्री अनुपराज शर्माको राय मिलेकै हुँदा माननीय न्यायाधीश श्री अनूपराज शर्माको राय सदर हुनु पर्दछ भन्ने समेत व्यहोराको वहस प्रस्तुत गर्नु भयो ।

१४.   उद्योग विभागकोतर्फबाट विद्वान नायव महान्यायाधिवक्ता श्री नरेन्द्रप्रसाद पाठक र विद्वान उपन्यायाधिवक्ता श्री ब्रजेश प्याकुरेलले पुनरावेदन अदालतको फैसला कार्यान्वयनको सिलसिलामा उद्योग विभागले निर्णय गरेको हुँदा उद्योग विभागलाई विपक्षी बनाईनु पर्ने अवस्था छैन भन्ने समेत व्यहोराको वहस प्रस्तुत गर्नु भयो ।

१५.   विपक्षी वस्नेत फुटवेयरको तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री गणेशराज शर्मा र विद्वान अधिवक्ताहरु श्री बालकृष्ण नेउपाने तथा श्री मिथिलेश कुमार सिंहले निवेदकले दर्ता गराएको ट्रेडमार्क र हाम्रो पक्ष बस्नेत फुटवेयरले दर्ता गराएको ट्रेडमार्क मिल्दो जुल्दो छैन । वस्नेत फुटवेयरलाई शब्द मात्र दिएको छ । निवेदकलाई शब्द, चीनह, आकार समेत तोकिदिएको छ । उद्योग विभागले दुवैलाई आआफ्नु दर्ता अनुसार जुत्ता उत्पादन गर्नु भन्ने हो भने विवाद केही रहदैन । शब्दसम्म मिलेकोले नाम राख्न किन नपाउनु भनी पुनरावेदनले निर्णय गरेको हो । सो निर्णय कानूनसम्मत छ । उद्योग विभागले नै दोहोर दर्ता भएको देखिएमा बदर गर्ने हुँदा पेटेण्ड डिजायन र ट्रेडमार्क ऐन, २०२२ को दफा २१क. बमोजिम विवरण प्रकाशित भएपछि ३५ दिन भित्र विभागमा नै उजूर गर्न पाउन् उपचारको मार्ग रहेकोछ  । साथै सोही ऐनको दफा २७ बमोजिम समेत पुनरावेदन गर्न सकिने व्यवस्था छ । ट्रेडमार्क सम्बन्धी विवाद उद्योग विभागले नै निप्टारा गर्ने विषय भएकोले निवेदक त्यहि जानु पथ्र्यो । उद्योग विभागमा जाने वैकल्पिक उपचारको बाटो छंदा छंदै रिट निवेदन लाग्न सक्दैन । साथै पुनरावेदन अदालतको फैसलाले असर परेको भए मुलुकी ऐन अदालती बन्दोवस्तको ८६ नं. बमोजिम फैसला बदरतर्फ उजूर लिई जानु पर्ने अर्को कानूनी बाटो समेत विद्यमान रहेको छ । रिटक्षेत्रबाट पुनरावेदन अदालतको फैसलामा बिचार गर्ने हो भने अ.वं. ८६ नं. निष्कृय हुन जान्छ । विभागको निर्णय अर्ध न्यायिक प्रकृतिको हुँदा अ.वं. ८६ नं. आकर्षित नहुने होइन । पेटेन्ट डिजायन र ट्रेडमार्क ऐन, २०२२ को दफा २१क. अनुसार प्रकाशित सूचना उपर उजूर सुन्ने र निर्णय गर्ने अधिकारी उद्योग विभाग भएकोले विभागले तथ्य र प्रमाणको मूल्यांङ्कन गरी निर्णय गर्नुपर्ने हुँदा विभागको निर्णय अर्ध न्यायिक नै हो । अर्धन्यायिक निर्णयमा पक्ष विपक्ष हुनै पर्छ भन्ने छैन । पुनरावेदन अदालतले निवेदकलाई अदालती बन्दोवस्तको १३९ नं. बमोजिम नबुझी निर्णय गरेको र बुझ्नै पर्ने अवस्था रहेछ भने फेरि निर्णय गर्न पठाउन सकिन्छ । विभागको निर्णय उल्टी गरेको अवस्थामा विभागले पनि पुनरावेदन गर्न सक्नु पर्नेमा चित्त बुझाई बसेको छ । वैकल्पिक उपचारको बाटो छंदा छंदै परेको प्रस्तुत रिट निवेदनबाट सुनुवाई गर्न नमिल्ने हुँदा वैकल्पिक उपचारको बाटो रहेको भनी रिट निवेदन खारेज गर्ने गरेको माननीय न्यायाधीश श्री परमानन्द झाको राय मिलेकै हुँदा सदर हुनु पर्दछ भन्ने समेत व्यहोराको वहस प्रस्तुत गर्नु भयो ।

१६.    आज निर्णय सुनाउन तोकिएकोमा प्रस्तुत रिट निवेदन सहितको मिसिल कागजात अध्ययन गरी दुवैतर्फका विद्वान कानून व्यवसायीहरुको वहस जिकिर र वहसनोट समेत अध्ययन गरी बिचार गर्दा प्रारंभिक रुपमा विपक्षीतर्फका कानून व्यवसायीहरुको वहस जिकिर  र लिखितजवाफ समेतबाट नै प्रस्तुत विवादमा वैकल्पिक उपचारको बाटो विद्यमान रहेकोले रिटक्षेत्राधिकार आकर्षित हुने अवस्था छैन भनी जिकिर लिएको देखिंदा अरु प्रश्नका सम्बन्धमा बिचार गर्नु पूर्व प्रस्तुत विवादमा वैकल्पिक उपचारको व्यवस्था रहेको छ, छैन ? सो सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

१७.   विपक्षीतर्फबाट प्रस्तुत विवादमा मुलतः निम्नकानूनी व्यवस्था अनुरुप वैकल्पिक उपचारको बाटो विद्यमान रहेको भनी जिकिर लिएको पाइन्छ ।

(१)    पेटेन्ट डिजायन र ट्रेडमार्क ऐन, २०२२ को दफा २१ क. को उपदफा (१) र     (२) दफा २७ तथा,

(२)   मुलुकी ऐन अदालती बन्दोवस्तको ८६ नंवर

 

१८.   यी कानूनी व्यवस्थाहरुको विश्लेषण गर्नु पूर्व निवेदक यस अदालतमा प्रवेश गर्दा आधार लिएको नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) को उल्लेख हुनु जरुरी देखिएको छ । जो यसप्रकार छ :

धारा ८८(२): यस संविधानद्वारा प्रदत्त मौलिक हकको प्रचलनको लागि वा अर्को उपचारको व्यवस्था नभएको वा अर्को उपचारको व्यवस्था भए पनि सो उपचार अपर्याप्त वा प्रभावहीन देखिएको अन्य कुनै कानूनी हकको प्रचलनको लागि वा सार्वजनिक हक वा सरोकारको कुनै विवादमा समावेश भएको कुनै सवैधानिक वा कानूनी प्रश्नको निरुपणको लागि आवश्यक र उपयुक्त आदेश जारी गरी त्यस्तो हकको प्रचलन गराउन वा विवादको टुङ्गो लगाउने असाधारण अधिकार सर्वोच्च अदालतलाई हुनेछ  .......

१९.    यही धारा ८८(२) को व्यवस्था अनुरुप निवेदक कम्पनीको नाममा दर्ता भै वौद्धिक संपत्तिको रुपमा कानूनले हक संरक्षित गरेको ट्रेडमार्कको प्रतिकूल हुने गरी अथवा सो वौद्धिक संपत्ति माथि अतिक्रमण हुने गरी गरिएको निर्णय आदेश बदर गरिपाऊँ भन्ने माग गरी निवेदक यस अदालतमा प्रवेश गरेको देखिन्छ ।

२०.   अव विपक्षीतर्फका विद्वान कानून व्यवसायीहरुले वैकल्पिक उपचारको बाटो रहेको भनी लिएको जिकिर तथा संयुक्त इजलासका माननीय न्यायाधीश श्री परमानन्द झाले वैकल्पिक उपचार रहेको भनी आफ्नो राय व्यक्त गर्नु भै रिट खारेज हुने ठहर गरेको रायतर्फ बिचार गर्दा विपक्षीतर्फबाट वैकल्पिक उपचार रहेको भनी आधार लिइएका माथि उल्लिखित कानून व्यवस्था यसप्रकार रहेको देखिन्छः

 

(क)   पेटेन्ट डिजायन र ट्रेडमार्क ऐन, २०२२ को व्यवस्थाः

 

दफा २१क को उपदफा (१):

दफा १४ बमोजिम दर्ता भएको डिजायन र दफा १८ बमोजिम दर्ता भएको ट्रेडमार्क, त्यसको नवीकरण तथा दर्ता बदर सम्बन्धी विवरण विभागले सर्वसाधारणको जानकारीको लागि प्रकाशन गर्न सक्ने छ ।

 

उपदफा (२): उपदफा (१) बमोजिम प्रकाशित विवरण उपर कसैको विरोध भएमा त्यस्तो व्यक्तिले उक्त विवरण प्रकाशित भएको मितिले पैंतीस दिन भित्र विभागमा उजूरी दिन सक्ने छ । त्यसरी परेको उजूरी उपर विभागले जांचबुझ गरी आवश्यक कार्यवाही गर्नुपर्नेछ ।

 

दफा २७: पुनरावेदन लाग्न सक्नेः

यस ऐनबमोजिम विभागको आदेशमा चित्त नबु्झ्ने व्यक्तिले ३५ दिन भित्र पुनरावेदन अदालतमा पुनरावेदन गर्न सक्ने छ ।

 

(ख) मुलुकी ऐन अदालती बन्दोवस्तको ८६ नम्बरः

फैसला डिसमिस मिलापत्र खारेज भएका मुद्दामा सो फैसला डिसमिस मिलापत्र खारेज भएकाले अर्काको हक समेत जाने भएको रहेछ भने जसको हक जाने छ त्यसले थाहा पाएको पैंतीस दिनभित्र यसमा हाम्रो पनि हक लाग्छ यसले मात्र हारी वा डिसमिस खारेज मिलापत्र गराएकोले हाम्रो हक जाने  होइन भनी आफ्नो हक जतिमा झगडीयाका नाउँमा नालिश दिए एन्साफ गरिदिनुपर्छ ।

 

२१.   अव विपक्षी बस्नेत फुटवेयरतर्फका विद्वान कानून व्यवसायीहरुले जिकिर लिनु भएबमोजिम उल्लेखित पेटेन्ट डिजायन र ट्रेडमार्क ऐन, २०२२ को दफा २१क.(२) को व्यवस्था प्रस्तुत विवादमा विद्यमान छ, छैन भनी बिचार गर्दा माथि उल्लेख भए बमोजिम सो  दफामा उपदफा (१) बमोजिम प्रकाशित विवरण उपरभन्ने शब्दावली प्रयुक्त भएको देखिन्छ । सो बाट यो उपदफा कृयाशिल हुन पहिले विभागले विवरण प्रकाशित गरिएको अवस्था हुनुपर्छ । विवरण प्रकाशित गरिएको भन्ने भनाई विपक्षीहरुको रहेको नदेखिनुका साथै विवरण प्रकाशित भएको अवस्था पनि देखिँदैन । विवरण प्रकाशित गर्नुपर्ने बन्धनकारी व्यवस्था रहेको पनि छैन । विभागले प्रकाशित  गर्न सक्ने सम्म देखिन्छ । विवरण  प्रकाशित भएकै अवस्थामा पनि सो कानूनी व्यवस्थाले विवरण माथिको उजूरीलाई संकेत गरेको छ । विवरण प्रकाशित गर्ने निर्णय उपर उजूर गर्ने वा पुनरावेदन गर्न सक्ने भन्ने देखिँदैन । दफा २७ को जस्तो प्रभावकारी उपचार यस दफा २१क (२) ले प्रदान गर्न सक्ने नसक्ने मौन देखिन्छ । यसबाट सो उपदफा (२) अनुरुपको उपचारको मार्ग रहेको भन्ने विपक्षीतर्फको जिकिरसँग सहमत हुन  सकिने अवस्था देखिएन ।

२२.   विपक्षी वस्नेत फुटवेयरतर्फका विद्वान कानून व्यवसायीहरुले सोही ऐनको दफा २७ अनुरुप पुनरावेदन अदालतमा पुनरावेदन लाग्ने कानूनी उपचारको वैकल्पिक मार्ग रहेको भनी लिएको जिकिरको निवारणको लागि विपक्षी विभागले गरेको काम कार्यवाहीको संक्षिप्त चर्चा हुनुपर्ने    देखिन्छ ।

२३.   विपक्षी वस्नेत फुटवेयरको तर्फबाट Gold Super Sport Shoes, Eleven Star ShoesGood Star Sport Shoes नामक ट्रेडमार्क दर्ताको लागि उद्योग विभागमा मिति २०५७।११।११ मा छुट्टा छुट्टै निवेदन परेको पाइन्छ । सो उपर विभागबाट कार्यवाही हुँदा विपक्षी वस्नेत फुटवेयरको माँग बमोजिमका ट्रेडमार्कहरु दर्ता नहुने गरी मिति २०५८।२।१२ मा निर्णय भएको र सो उपर विपक्षीको पुनरावेदन अदालतमा पुनरावेदन परी पुनः निर्णय गर्नु भनी पुनरावेदन अदालत पाटनको मिति २०५९।२।९ को निर्णय बमोजिम विभागबाट पुनः निर्णय हुँदा विभिन्न कारण देखाई निज वस्नेत फुटवेयरको माग बमोजिमको ट्रेडमार्कहरु दर्ता हुन नसक्ने निर्णय ०५९।६।१८ मा विभागबाट भएको देखिन्छ । सो निर्णय उपर विपक्षी बस्नेत फुटवेयरको पुनरावेदन अदालतमा पुनरावेदन परेकोमा विभागको ०५९।६।१८ को निर्णय उल्टी भई विपक्षी उद्योगले ट्रेडमार्क दर्ता गराई लिन पाउने फैसला मिति २०६०।१।३० मा पुनरावेदन अदालत पाटनबाट भए अनुरुप सोही फैसलाको आधारमा विभागले मिति २०६०।५।३० मा विपक्षी उद्योगको माग बमोजिमका ३ वटा ट्रेडमार्कहरु दर्ता गरिदिने निर्णय भएको पाइन्छ ।

२४.   यसरी हेर्दा विभागले आफूले स्वतन्त्र रुपमा निर्णय गरेको नभई पुनरावेदन अदालत पाटनको फैसला कार्यान्वयन प्रयोजन स्वरुप निर्णय गरिएको देखिन्छ । विभागले पुनरावेदन अदालतको फैसला बमोजिम निर्णय गरेको अवस्था भएबाट पुनरावेदन अदालतको  फैसला यथावत रहेसम्म विभागको निर्णयलाई अन्यथा गर्न सकिदैन । प्रस्तुत विवादमा निर्णय हुँदाका अवस्थामा रिट निवेदकलाई विभाग वा पुनरावेदन अदालतले झिकाई विभागका समक्ष वा पुनरावेदन अदालतका समक्ष कुनै रुपबाट सरिक गराइएको वा सरिक भएको अवस्था पनि  देखिँदैन । यसरी जुन निर्णय वा सम्बन्धमा पक्ष विपक्षको रुपमा वा अरु कुनै रुपमा सो विवादमा संलग्न नै नरहेका व्यक्ति वा कम्पनीकोतर्फबाट सिधै सो दफा २७ बमोजिम पुनरावेदन लाग्ने अवस्थै देखिंदैन । यस स्थितिमा दफा २७ को कानूनी व्यवस्थाले निवेदकले प्रभावकारी उपचार प्राप्त गर्न सक्ने भन्न सकिने अवस्था  देखिएन ।

२५.   उपर्युक्त उल्लेखित संविधानको धारा ८८(२) ले पनि वैकल्पिक उपचारको मार्ग प्रभावकारी नभएको अवस्थामा सो धारा अनुरुप न्याय माग्न यस अदालतमा आउन पाउने मार्ग प्रसस्त गरेको देखिन्छ । यी कुरालाई यस अदालतबाट निवेदक प्रदिपकुमार अग्रवाल (ने.का.प. २०५२, नि.नं.६०३२, पृष्ठ ५४२) तथा निवेदक परशुराम झां (ने.का.प.२०४८, नि.न.४३००, पृष्ठ २३३)  को मुद्दामा समेत स्वीकार गरिएको छ ।

२६.   अतः प्रस्तुत विवादमा पेटेन्ट डिजायन र ट्रेडमार्क ऐन, २०२२ को दफा २१क (२) र दफा २७ अनुरुपको वैकल्पिक उपचारको प्रभावकारी मार्ग रहेको भन्ने विपक्षीतर्फका विद्वान कानून व्यवसायीको वहस जिकिर  तथा संयुक्त इजलासका माननीय न्यायाधीश श्री परमानन्द झाको रायसँग  यो इजलास सहमत हुन सकेन ।

२७.   अव मुलुकी ऐन अदालती वन्दोवस्तको ८६ नं.को कानूनी व्यवस्था अनुसार फैसला बदरमा नालेश लिई जानु पर्ने भन्ने विपक्षी बस्नेत फुटवेयरतर्फका विद्वान कानून व्यवसायीहरु र रिट खारेज हुने भन्ने माननीय न्यायाधीशको रायतर्फ बिचार गर्दा माथि उल्लेख भए बमोजिम उक्त ८६ नं.को पहिलो वाक्यांशमा नै फैसला डिसमिस मिलापत्र खारेज भएको मुद्दामा .......... भन्ने उल्लेख भएबाट सो नम्बर आकर्षित हुँन पहिलो शर्त नै विवादको उठान भई सो विवादमा साधिकार निकाय वा अदालतबाट फैसला डिसमिस मिलापत्र खारेज हुने प्रकृतिको विवाद वा कार्यविधि आकर्षित हुने अवस्था रहेको हुनु पर्दछ । फैसला डिसमिस मिलापत्र र खारेज हुने प्रकृतिको प्रस्तुत विवाद होइन । कोही व्यक्ति पक्ष विपक्ष भई मुद्दा चलेको अवस्था पनि छैन । त्यसमा पनि माथि विश्लेषण गरिए अनुसार पुनरावेदन अदालतको फैसला कार्यान्वयनको सिलसिलामा विभागले निर्णय गरेको देखिंदा निवेदकले सो विभागको निर्णय बदरमा मुद्दा कंहा गर्ने र पुनरावेदन अदालतको  फैसलको आधारमा गरेको कार्यवाही निर्णय उपर उपचार कहांबाट पाउने  स्पष्ट छैन । त्यसमा पनि विभागको निर्णय बदर गर्न पुनरावेदन अदालतमा पुनरावेदन गरेपनि सो मुद्दाबाट निवेदकले प्रभावकारी उपचार पाउने अवस्था देखिंदैन । पुनरावेदन अदालतको फैसला बदरमा जानु पर्ने भन्नेतर्फ पनि जुन निकायबाट मुद्दाको उठान भएको त्यहि निकायमा फैसला मिलापत्र बदरमा जानु पर्ने भन्ने यस अदालतबाट स्थापित सिद्धान्त रहि आएको छ । यसबाट पुनरावेदन अदालतको फैसला बदरतर्फ विपक्षी उद्योग विभागमा जानु पर्ने हुन्छ । जुन कुरा न्यायिक मान्यता, सिद्धान्त र कानूनी परिपाटीको विपरीत एकातिर हुन जान्छ भने अर्कातिर अदालतको फैसला बदर विभागले गर्न सक्छ भन्ने तर्क पनि स्वयंमा कानूनसम्मत मान्न सकिदैन । सो ८६ नं.को बनौट पनि विपक्षीतर्फका विद्वान कानून व्यवसायीहरुले भन्न खोज्नु भए जस्तो होइन र देखिंदैन ।

२८.   माथि विश्लेषण गरिए अनुसार वैकल्पिक उपचारको मार्ग प्रभावकारी नभएमा रिटक्षेत्राधिकार आकर्षित हुने भएबाट निवेदक कानूनद्वारा प्रदान गरिएको कानूनी हकलाई अवरुद्ध हुने गरी विपक्षीहरुद्वारा गरिएको कार्य बदर गरिपाऊँ भनी संवैधानिक उपचारको बाटो खोजी आएको अवस्थामा वैकल्पिक उपचारको बाटो नरहेको भनी सुनुवाई गर्न इन्कार गर्न मिल्ने देखिएन ।

२९.   अतः प्रारंभिकरुपमै विपक्षीहरुकातर्फबाट उठाइएको बैकल्पिक उपचारको बाटो रहेकोले रिट निवेदन लाग्न नसक्ने भन्ने जिकिर र यस सम्बन्धमा माननीय न्यायाधीश श्री परमानन्द झाको रायसँग सहमत हुन सकिएन । कानूनद्वारा प्राप्त र संरक्षित हक प्रचलनको लागि भनी निवेदक आएको देखिंदा रिट सुनुवाई गरी उचित न्याय प्रदान गर्न वाधा पर्ने देखिन आएन।

३०.   अव प्रस्तुत रिट निवेदनमा देहायका प्रश्नका सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

 

(१)    विपक्षी बस्नेत फुटवेयरले दर्ता गरेको भनेको ट्रेडमार्क र निवेदकले दर्ता गरेको ट्रेडमार्क एकै किसिमको छ वा फरक फरक छ ? के हो ?

(२)   विपक्षी बस्नेत फुटवेयर इण्डष्ट्रिजले माग गरे अनुरुपको ट्रेडमार्क दर्ता गरिदिनु भनी गरेको पुनरावेदन अदालत पाटनको फैसला कानूनसम्मत छ छैन ?

(३)   विपक्षीहरुको काम कार्यवाहीबाट निवेदकको कानूनी वा संवैधानिक हकमा आघात पुगेको छ, छैन ?

(४)   माग बमोजिम रिट जारी हुने अवस्था विद्यमान छ, छैन ?

 

३०.   उल्लिखित प्रश्नहरुको निराकरण पूर्व प्रस्तुत रिट निवेदनमा विपक्षी बस्नेत फुटवेयरका विद्वान कानून व्यवसायी श्री बालकृष्ण नेउपानेले कसको ट्रेडमार्क कस्तो रहेको छ भनी हेर्ने कुरा ती तथ्यगत कुराहुन्, तथ्यगत कुराहरु रिटबाट निराकरण नगरिने हुँदा अरु प्रश्नमा बिचार गर्नु पर्दैन भन्ने जिकिर लिनु भएकोले सर्व प्रथम सो जिकिरको समेत समाधान हुनु पर्ने देखिन आएको छ ।

३१.   रिट निवेदन जिकिर हेर्दा निवेदकले Gold Star भन्ने ट्रेडमार्क दर्ता गरी सो ट्रेडमार्क प्रयोग गरी जुत्ता उत्पादन गरी  पेटेन्ट डिजायन र ट्रेडमार्क ऐन, २०२२ को दफा १६ बमोजिम सो ट्रेडमार्कमा कानूनी हक समेत प्राप्त गरेको अवस्थामा सो को विपरीत हुने गरी विपक्षीहरुद्वारा सो हकमा समेत असर पुग्ने गरी सोही नामसँग मिल्दोजुल्दो ट्रेडमार्क विपक्षी वस्नेत फुटवेयरका नाउँमा दर्ता गर्ने गरेको कार्य वदर गरिपाऊँ भन्ने मूल जिकिर रहेको देखिन्छ । ट्रेडमार्क कस्तोलाई मानिने भन्ने कुरा सोही पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन, २०२२ को दफा २(ग)ले पारिभाषित गरिएको छ । अगाडि नै दर्ता भएको ट्रेडमार्क दर्ता नगरिने भन्ने सोही ऐनको दफा १८(१) को प्रतिवन्धात्मक वाक्यांशले निषेधित व्यवस्था गरेको पाइन्छ । सो परिभाषा भित्र पर्ने ट्रेडमार्कसँग मिल्दोजुल्दो ट्रेडमार्क विपक्षीले सोही ऐनको दफा १८(१) को प्रतिवन्धात्मक वाक्यांशको प्रतिकूल दर्ता गराएको भन्ने भै विवाद सिर्जना भएको देखिएकोले सो कानूनी व्यवस्था र ट्रेडमार्क सम्बन्धी प्रचलित मान्य सिद्धान्त समेतका विपरीत विपक्षी कम्पनीका नाउँमा ट्रेडमार्क दर्ता भएको हो होइन भनी कानूनी सीमा भित्र रही निर्णय गर्नुपर्ने अवस्था प्रस्तुत विवादमा देखिन आएको छ । दुवैपक्षकातर्फबाट पेश भएका जिकिर र कानूनी व्यवस्थाको रोहमा निर्णयमा पुग्न सकिने विवाद प्रस्तुत रिट निवेदनमा देखिएकोले प्रचलित कानून बमोजिम प्रमाण संकलन गरी तथ्यको विश्लेषण गरी निर्णय गर्नुपर्ने अवस्था पनि देखिंदैन । अतः यस सम्बन्धमा विपक्षीतर्फको जिकिरसँग सहमत हुन सकिएन ।

३२.   अव उल्लिखित बिचाराधिन प्रश्नहरु मध्ये पहिलो प्रश्न विपक्षी बस्नेत फुटवेयरले दर्ता गरेको भनिएको ट्रेडमार्क र निवेदकले दर्ता गरेको ट्रेडमार्क एकै किसिमको छ वा फरक फरक छ ? के हो ? भन्ने सम्बन्धमा बिचार गर्दा सर्व प्रथम ट्रेडमार्क के हो र यस सम्बन्धी दर्ता यसको प्रयोग सम्बन्धी प्रचलित नेपाल कानून तथा यसको विश्वव्यापी रुपमा गरिएको विश्लेषण समेतको सन्दर्भमा बिचार गर्नुपर्ने देखिन आएको छ ।

३३.   सर्वसाधारण जनताको सुविधा तथा आर्थिक हितको निमित्त पेटेण्ट डिजायन र ट्रेडमार्कका सम्बन्धमा समयोचित कानूनी व्यवस्था गर्न बनेको पेटेण्ट डिजायन र ट्रेडमार्क ऐन, २०२२ को दफा २(ग) ले ट्रेडमार्कको परिभाषा गरेको पाइन्छ । जसमा – “ट्रेडमार्कभन्नाले कुनै फर्म, कम्पनी वा व्यक्तिले आफ्नो उत्पादित मालसामान वा आफूले प्रदान गर्ने सेवालाई अरुको माल सामान वा सेवाबाट फरक देखाउन प्रयोग गरिने शब्द चीनह वा चित्र वा शब्द, चीनह र चित्र तिनै कुराको संयोग संझनु पर्ने ।भनिएको छ ।

३४.   सोही ऐनले ट्रेडमार्क सम्बन्धमा विभिन्न दफाहरुमा गरेको व्यवस्था मध्ये यस विवादसँग सम्बन्धित व्यवस्था यसप्रकार छ:

 

दफा १६. ट्रेडमार्कमा हक प्राप्त गर्ने : 

(१) कसैले आफ्नो बन्द व्यापार वा कारोवारको ट्रेडमार्क दफा १८ बमोजिम विभागमा दर्ता गराई सो ट्रेडमार्क उपर यस ऐन बमोजिमको हक प्राप्त गर्न सक्ने छ ।

(२)   दफा १८ बमोजिम कुनै व्यक्तिको नाममा दर्ता भएको ट्रेडमार्क सो व्यक्तिको लिखित मन्जूरी बिना कसैले आफ्नो उपयोगमा ल्याउन वा सर्वसाधारण जनतालाई झुक्याउन सकिने किसिमबाट त्यसको नक्कल गरी ट्रेडमार्क चलाउन हुँदैन ।

 

दफा १८ ट्रेडमार्कको दर्ता :

(१)    दफा १७ बमोजिम ट्रेडमार्कको दर्ताको निमित्त कसैको दरखास्त परेमा सो ट्रेडमार्क दरखास्तवालाको नाममा दर्ता गरी अनुसूची २(ग) बमोजिम प्रमाणपत्र दिन पर्दछ ।

तर, त्यस्तो ट्रेडमार्कबाट कुनै व्यक्ति वा संस्थाको प्रतिष्ठामा धक्का पर्ने वा सर्वसाधारण जनताको सदाचार वा नैतिकता वा राष्ट्रिय हितमा नराम्रो असर पर्ने वा अरु कसैको ट्रेडमार्कको ख्यातिमा धक्का पर्ने संभावना छ भन्ने लागेमा वा सो ट्रेडमार्क पहिले अरु कुनैको नाममा दर्ता भै सकेको देखिएमा सो ट्रेडमार्क दर्ता गरिने छैन ।

(३)   उपदफा (१) को प्रतिवन्धात्मक वाक्यांशमा लेखिएको कुनै अवस्था छ भन्ने लागेमा विभागले दर्ता भएको कुनै ट्रेडमार्कको दर्ता बदर गर्न  सक्नेछ ।

तर सो बमोजिम कुनै ट्रेडमार्क बदर गर्नु भन्दा अगावै विभागले सो ट्रेडमार्कवालालाई सो ट्रेडमार्क बदर हुनु नपर्ने कुनै कारण भए देखाउन मनासिव माफिकको मौक दिनु पर्छ ।

 

३५.   निवेदक मयुर विस्कुट एण्ड फुड इण्डष्ट्रिजका प्रोपाइटर किशन धनावत विपक्षी उद्योगविभाग समेत भएको ०५५ सालको रिट नं. ३२४० को मुद्दामा यस अदालत संयुक्त इजलासको मिति २०५६।७।२९ को आदेशमा निम्न निर्णय भएको  देखिन्छ ।

 

वस्तुको गुण जाहेर गर्ने शब्द (Discriptive Word), सामान्य शब्दहरु (Common Words) वा पूर्व प्रयोग भइसकेका शब्द, चीनह (used Word or Mark) मा ट्रेडमार्क प्राप्त नहुने र ट्रेडमार्क प्राप्त हुन नविनता लगाइएको (Invented) शब्द वा चीनह हुनु तथा अलग पहिचान (Distinctiveness) राखेको अवस्था हुन आवश्यक हुन्छ भन्ने प्रचलित ट्रेडमार्क सम्बन्धी सिद्धान्त रहेको छ । पेटेण्ड डिजाइन र ट्रेडमार्क ऐन, २०२२ उल्लिखित सिद्धान्त विमुख छ भन्ने होइन

 

३६.   निरन्तररुपमा लामो समयसम्म प्रयोग भई उपभोक्ताहरु माझमा उत्पादित वस्तुले ख्याति प्राप्त गरी सकेको अवस्थामा सामान्य शब्दहरु संयोजनलाई पनि अलग पहिचान राखेको रुपमा ग्रहण गरी मान्यता दिने र ट्रेडमार्कमा दर्ता गरिने कानूनी व्यवस्थाको प्रचलन देखिन्छ । (पृष्ठ ८)  भन्दै क्वालिटि विस्कुटले टेस्टी टेस्टीशब्द राखी क्वालिटी टेस्टी ट्रेडमार्क रहने गरि दर्ता गरेको कार्यलाई सो निर्णयले स्वीकार गरेको देखिन्छ ।

३७.   भारतीय सर्वोच्च अदालतद्वारा PIKNIKट्रेडमार्क सन् २९।७।१९९४ मा दर्ता गरी सो ट्रेडमार्क राखी आलुद्वारा निर्मित समेतका खाद्य सामग्रीहरु उत्पादन गर्दै आएकोमा PIKNIK”  ट्रेडमार्क सँग मिल्दो जुल्दोजस्तै गरी PIKNIK”   ट्रेडमार्क प्रयोग गरी सामान उत्पादन गरी कानूनी हकमा आघात (Infringement) पारेको भनी M/S S.M. Dyechem Ltd, V. M/S Cadbury (India) Ltd  को मुद्दामा ट्रेडमार्कको विशिष्टता वा भिन्नता देखिनको लागि निम्न आधारहरुको विश्लेषणको शन्दर्भमा यसप्रकार भनिएको छ This is the Crucial part of the case. It is here that sufficient care is to be taken in applying the principles. In our opinion, in the present case, three tests to which reference has been made above, have to be applied. The first one is this: Is there any special aspect of the common feature which has been copied ? The second test will be with reference to the 'made' in which the parts are put together differently ? That is to say whether the dissimilarity of the part or parts is enough to mark the whole thing dissimilar. The third test is whether when there are common elements, should one not pay more regard to the parts which are not common, while at the same time not disregarding the common parts ? What is the first impression ? (AIR, 2000 SC 2114)  

३८.   त्यसैगरी भारतीय सर्वोच्च अदालतद्वारा नै "DROPOVIT" "DROPOVIT" ट्रेडमार्क एकै हो वा अलग के हो ? र दुइ उस्तै उस्तै ट्रेडमार्कको प्रयोगबाट सर्वसाधारण उपभोक्ता कसरी झुकिन्छन् तथा वा भ्रममा पर्न सक्छन् भन्ने सम्बन्धमा विवादको निरोपण गर्दा विद्वानहरुको कथन र पूर्व निर्णयहरुको समेत विवेचना गरिएको पाइन्छ । जसमा भनिएको छ :

 

"In Parker Knoll Ltd V. Knoll International Ltd, 1962 RPC 265 at p 274, Lord Denning explained the words " to deceive" and the phrase " to cause confusion" as follows:

 

"Secondly to deceive is one thing. To 'cause confusion' is another. The difference is this: when you deceive a man, You tell him a lie. You make a false representation to him and there – by cause him to believe a thing to be true which is false. You may not do it knowingly, or intentionally, but still you do it, and so you deceive him. But you may cause confusion without telling him a lie at all, and without making any false representation to him. You may indeed tell him the truth, the whole truth and nothing but the truth, but still you may cause confusion in his mind, not by any fault of yours, but because he has not the knowledge or ability to distinguish it from the other pieces of truth known to him or because he may not even take the trouble to do so. "

"The tests for comparison of the two word marks were formulated by Lord Parker in Pianotist Co, Ltd, ' application (1906) 23 RPC 774 at p.777 as follows:

" You must take the two words. you must judge of them, both by their look and by their sound. You must consider the goods to which they are to be applied. You must consider the nature and the kind of customer who would be likely to buy those goods. In fact, you must consider all the surrounding circumstances; and you must further consider what is likely to happen if each of those trade marks is used in a normal way as a trade mark for the goods of the respective owners of the marks. It, considering all those circumstances, you come to the conclusion that there will be a confusion – that is to say, not necessarily that one man will be injured and the other will gain illicit benefit, but there will be a confusion in the mind of  the public which will lead to confusion in the goods - then you may refuse the registration, or rather you must refuse the registration in that case "

-AIR 1970 sc 2062)

३९.   साथै सोही मुद्दामा सोही AIR मा दुई ट्रेडमार्कको भिन्नता छुट्याउन "It is necessary to apply both the Visual and phonetic tests" अर्थात् दुई ट्रेडमार्कको प्रयोग गरी उत्पादित सामान हेर्दा कति समानता र असमानता देखिन्छ र ती दुवैमा प्रयोग भएको ट्रेडमार्कका शब्दहरुको उच्चारण गर्दा समान प्रकृतिको ध्वनी निस्कन्छ निस्कदैन सो कुराको समेत परीक्षण हुनुपर्ने भन्ने कुरालाई स्वीकार गरेको देखिन्छ ।

४०.   माथि उल्लेख गरेका भारतीय सर्वोच्च अदालतको निर्णय प्रासंगिक रुपमा प्रस्तुत गरिए पनि हाम्रो कानूनी व्यवस्थाद्वारा परिभाषित र नियन्त्रित ट्रेडमार्क सम्बन्धी विशेषताहरुको रोहमा ती सिद्धान्तहरु पनि शान्दर्भिक र अनुशरणीय नै देखिन आउछन् ।

४१.   अब बिपक्षी वस्नेत फुटवेयरले दर्ता गर्न माँग गरेका तीनवटा ट्रेडमार्कहरुका सम्बन्धमा बिपक्षी वनाइएका उद्योग विभागको निर्णय हेर्नु पर्ने भएको छ । विभागको मिति ०५९।६।२४ को वस्नेत फुटवेयरलाई लेखेको पत्रमा देहायवमोजिमको निर्णय ०५९।६।१८ मा भएको भन्ने उल्लेख भएको देखिन्छ ।

 

त्यस उद्योगले Gold Super Sport Shoes, Eleven Star Sport shoes Good Star Sport Shoes नामक ट्रेडमार्क दर्ताको लागि दिएको निवेदन सम्बन्धमा सम्मानित पुनरावेदन अदालत पाटनको संयुक्त इजलासवाट मिति २०५९।२।५ मा भएको आदेशानुसार पुनः निर्णयका लागि प्रस्तुत केश महानिर्देशक समक्ष पेश हुँदा मिति ०५९।६।१८ मा निम्नानुसार निर्णय भएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।

           

४२.   उक्त तीनवटै ट्रेडमार्कको अन्त्यमा प्रयोग भएको Sport Shoes भन्ने शब्दहरुले उत्पादित वस्तुलाई इङ्गिंत गर्ने भएको हुँदा वस्तु जनाउने शब्दहरु ट्रेडमार्कका अभिन्न भाग होइनन् । अतः यस किसिमको वस्तु उत्पादन गर्ने सवै उद्योगले प्रयोग गर्न  पाउछन् । अतः Gold Super, Good Star, Eleven Star लाई निवेदक पक्षको मांग वमोजिम ट्रेडमार्कको रुपमा दर्ता गरिदिने वा नगरिदिने भन्ने कुरा मूलभूत बिषय हुन् ।

 

१.     Gold Super सम्बन्धमा साविकमा किरण सुज प्रा.लि.का नाममा Gold Star  र क्गउभच कतबच ट्रेडमार्कहरु दर्ता रहेका छन् । निवेदकले अर्काको अधिकार र प्रचलनमा रहेका दुई ट्रेडमार्कहरुको मुख्य पहिचान दिने अंश GoldSuper लाई संयुक्त रुपमा प्रस्तुत गरेर Gold Super भनी प्रस्तावित गरेको एवं Gold Super शब्द Gold Star शब्दवीच अक्षरहरु र उच्चारणमा पनि धेरै समानता रहेको हुँदा सो ट्रेडमार्कले ऐनको दफा २(ग), १८(१) को प्रतिवन्धात्मक वाक्यांशमा उल्लेख भए वमोजिम अर्काको ट्रेडमार्कको ख्यातिमा धक्का पुर्‍याउने देखिएकोले दर्ता गरिदिन नहुने ।

२.    निवेदकले प्रस्ताव गरेको Good Star सम्बन्धमा यो ट्रेडमार्क सोही वस्तुमा प्रयोग हुने गरी किरण शु म्यानुफ्क्याच्चर्सको नाममा दर्ता भएको Gold Star सँग मिल्दो जुल्दो छ । साविकमा दर्ता भई प्रचलनमा रहेको Gold Star ट्रेडमार्कसँग Good Star ट्रेडमार्क राखेर सर्वसाधारण जनतालाई झुक्याउन सकिने र सो Gold Star ट्रेडमाकको ख्यातिमा असर पर्न जाने स्पष्ट देखिन्छ । तसर्थ यो ट्रेडमार्क पेटेण्ट डिजायन र ट्रेडमार्क ऐन, २०२२ को दफा २(ग), १६(२) र १८ (१) को प्रतिवन्धात्मक वाक्यांश समेतको प्रतिकूल हुने हुँदा दर्ता गर्न उचित देखिंदैन ।

३.    यसै गरी निवेदकद्वारा प्रस्ताविक ट्रेडमार्क Eleven Star का हकमा सो ट्रेडमार्कसँग साविकमा किरण शु म्यानुफ्याच्चर्सकै नाममा दर्ता भएको Seven Star ट्रेडमार्कसँग तुलना गर्नुपर्ने हुन्छ । ती दुई बीच केवल "S" "EL" अक्षरहरु मात्र फरक छन् उच्चारणमा पनि धेरै भिन्नता छैन । तसर्थ प्रस्तावित ट्रेडमार्कबाट उपभोक्ता झुक्किन सक्ने एवं पूर्व दर्ता ट्रेडमार्कको ख्यातिमा समेत असर पर्न जाने हुँदा ऐनको दफा २(ग), १६(२) र दफा १८(१) बमोजिम दर्ता गरिदिन नमिल्ने ।

 

४३.   यसरी बस्नेत फुटवेयरले दर्ता गर्न माँग गरेको ट्रेडमार्क दर्ता नगर्ने निर्णय उपर विपक्षीको पुनरावेदन परेकोमा पुनरावेदन अदालत पाटनबाट भएको फैसला स्पष्टताको लागि यहाँ पनि प्रस्तुत गर्नु उपयुक्त देखिन आएको छ । जसमा भनिएकोछ :

 

“........ पुनरावेदकले माँग गरेको ट्रेडमार्क अन्य उद्योगले दर्ता गरी व्यवसाय संचालन गरी आएको छ भन्ने कुरा उद्योग विभागले उल्लेख गर्न सकेको छैन । नाम वा ट्रेडमार्क उस्तै उस्तै देखिनु लाग्नु बुझिनु जस्ता कुराले उद्योग संचालन गर्ने व्यक्तिले नाम राख्न पाउने अधिकारमा असर पर्न सक्ने  होइन । यी ट्रेडमार्क दर्ता गराउँदा अन्य उद्योगको ख्यातिमा असर पर्न सक्ने अवस्था पनि देखिँदैन । यस अवस्थामा हालसम्म कुनै उद्योगले दर्ता गराई नसकेका पुनरावेदकका माग अनुसारका ट्रेडमार्क दर्ता गर्न नमिल्ने भनी उद्योग विभागले गरेको मिति २०५९।६।१८ को निर्णय मिलेको नदेखिंदा उल्टी भई माँग गरेको उल्लिखित ट्रेडमार्क दर्ता गराई लिन पाउने ठहर्छ ।

 

४४.   विपक्षी बस्नेत फुटवेयरले दर्ता गर्न माँग गरेको र अदालतको निर्णय पछि दर्ता भएको तीन प्रकारका ट्रेडमार्कहरु निवेदकले पूर्व दर्ता गराई सो प्रयोग गरी जुत्ता उत्पादन गरी पेटेण्ट डिजायन र ट्रेडमार्क ऐन, २०२२ को दफा १६ र दफा १८घ. द्वारा प्राप्त र संरक्षित हकमा आघात पुग्ने अवस्था रहे नरहेको, विपक्षीद्वारा प्रयोग गरिएको ट्रेडमार्क र उत्पादित जुत्ता झट्ट हेर्दा सर्वसाधारण जनता निवेदक कम्पनीद्वारा  उत्पादित जुत्ता हो वा अन्य कम्पनीद्वारा उत्पादित जुत्ता हो भन्ने कुरालाई सहज र सरल तरिकाबाट भिन्न रहे नरहेको भनी छुट्याउन सकिने अवस्था रहे नरहेको भन्ने कुरा नै यस मुद्दाको विवादित विषय हो ।

४५.   माथि विवेचित AIR 1970 2000 को मुद्दाको विश्लेषणबाट र यस अदालत संयुक्त इजलासको आदेशमा उल्लेखित आधारबाट समेत ट्रेडमार्कहरु समान रहे नरहेको दाज्नु पर्दा उत्पादित सामान र त्यसमा रहेको ट्रेडमार्कहरुका बीचको सामञ्जस्यता र ती ट्रेडमार्कद्वारा सर्वसाधारण जनता सजिलै भ्रमित हुने अवस्था रहेको छ छैन ती कुराहरुतर्फ सजग रहनुपर्ने देखिन्छ । ट्रेडमार्क स्वभावैले कुनै उद्योगको उत्पादित सामानको पहिचान गराउन र अरुबाट अलग देखाउने प्रयोजनको लागि प्रयोग हुने यो स्थापित मान्यता हो । हाम्रै पेटेण्ट डिजायन र ट्रेडमार्क ऐन, २०२२ को माथि उल्लिखित दफा २(ग) समेतले सो कुरा पुष्टि गरेको छ । कुनै कम्पनीले प्रयोग गरी आएको मान्यता प्राप्त ट्रेडमार्कहरुसँग मिल्दो जुल्दो भएमा उपभोक्ता झुक्किदैनन् भन्ने अवस्था रहदैन ।

४६.   निवेदकले प्राप्त गरेको Gold Star, Super StarSeven Star ट्रेडमार्कहरु र विपक्षीले दर्ता गरेका ट्रेडमार्कका बीच तुलनात्मक रुपबाट यो यति भिन्नता रहेको भन्ने पुनरावेदन अदालतले विश्लेषण गरेको छैन । जो गरिनु पर्थ्यो । उल्लिखित ट्रेडमार्क ऐन, २०२२ को दफा १८(१) को प्रतिबन्धात्मक वाक्यांशले निषेध गरेको अवस्था विद्यमान छ छैन सो पनि विश्लेषण गरिएको छैन ।

४७.   निवेदक कम्पनीले दर्ता गरेको भनेको ट्रेडमार्कहरु प्रयोग गरी जुत्ता उत्पादन भएको भन्ने देखिन आएको छ । इजलास समक्ष नमूनाका लागि प्रस्तुत भएका दुवै कम्पनीका जुत्ताहरु झट्ट हेर्दा समान देखिएका छन् । दुवै कम्पनीबाट एकै प्रकृतिको जुत्ता उत्पादन भएको देखिन्छ । विपक्षी कम्पनीले प्रयोग गरेको ट्रेडमार्क र निवेदक कम्पनीले प्रयोग गरेको ट्रेडमार्क उही स्थान र रुपबाट समेत प्रयोग भएको देखिन आएको छ ।

४८.   ट्रेडमार्क सम्बन्धी विवाद हेर्ने उद्योग विभागको निर्णयमा उल्लेख भएका आधार र अवस्था पेटेण्ट डिजाइन र ट्रेडमार्क ऐनकै परिधिभित्र रहेको देखिन्छ ।

४९.   निवेदक कम्पनीले मूलतः 'Gold''Star' शब्द ट्रेडमार्कका रुपमा विपक्षीले भन्दा पहिले नै दर्ता गरेको देखिन आउँछ । त्यही शब्दसँग सामञ्यस्य राख्ने शब्दहरु चयन गरी निवेदक कम्पनीकै उत्पादन हो भन्ने जनसाधारणमा भ्रम पर्ने गरी ती शब्दहरु नै ट्रेडमार्कको रुपमा विपक्षी बस्नेत फुटवेयरले दर्ता र प्रयोग गरेको भन्ने मिसिल संलग्न कागजबाट देखिन आएको छ ।

५०.   यस अदालत संयुक्त इजलासको माथि उल्लेख भएको मयूर विस्कुट सम्बन्धी विवादको निर्णयमा पनि ट्रेडमार्क प्राप्त गर्न नविनता हुनु पर्ने भन्ने कुरा स्वीकार गरेको छ । विपक्षी कम्पनीले माँग गरेको ट्रेडमार्कहरु निवेदकले प्राप्त गरेको ट्रेडमार्कका शब्दहरुलाई नै समायोजन गरी सोही अर्थ र ध्वनात्मक लक्षण देखाउने प्रकृतिका ट्रेडमार्कहरु होइनन् भन्न सकिने अवस्था छैन । विपक्षीतर्फका विद्वान कानून व्यवसायी श्री बालकृष्ण नेउपानेले निवेदकले नै बस्नेत फुटवेयरसँग मिल्दोजुल्दो ट्रेडमार्क प्रयोग गरी जुत्ता उत्पादन गरेकोले आफूले खरिद गर्दा बस्नेत फुटवेयरको जुत्ता भनी लिंदा किरण सुजको परेछ भनी यी दुई उत्पादनमा समानता रहेको भन्ने कुरा स्वीकार गर्नु भएको छ । निवेदक कम्पनीले पहिले नै ट्रेडमार्क दर्ता गरी जुत्ता उत्पादन गर्दै आएको अवस्था हुँदा निवेदकले विपक्षी कम्पनीको ट्रेडमार्कको नक्कल गरी जुत्ता उत्पादन गरेको भनी लिनु भएको जिकीर विश्वसनीय र ट्रेडमार्क सम्बन्धी कानूनी व्यवस्था अनुकूल रहेको देखिँदैन।

५१.   माथि विश्लेषण गरिएको सर्वोच्च अदालतको फैसलाले ध्वनात्मक उच्चारण (Phonetic Pronunciation) बाट मात्र दुई ट्रेडमार्कको सही पहिचान नहुने भन्ने कुरालाई आत्मसात् गर्दा पनि त्यस फैसलाले यस्ता विवादको निरोपण प्रत्येक मुद्दामा समाहित प्रत्येक अवस्था र परिस्थितिको मूल्याङ्कन हुनु पर्ने कुरा स्वीकार गरेको छ । त्यस पृष्ठभूमिबाट पनि निवेदक कम्पनीले प्राप्त गरेको ट्रेडमार्क (साइड ट्रिम डीभाइस) रहेकै स्थानमा विपक्षी कम्पनीले पनि ट्रेडमार्क प्रयोग गरी जुत्ता उत्पादन गरेको भन्ने निवेदकतर्फको जिकिरलाई होइन भनी ठोस रुपमा विपक्षी कम्पनीतर्फबाट खण्डन गर्न सकिएको छैन । निवेदक कम्पनीकै Gold Star (Side Trim Device)  ट्रेडमार्कको नक्कल गरी NEW GOLD STAR ट्रेडमार्क राखी जुत्ता उत्पादन तथा बिक्री वितरण गरेको सम्बन्धमा किरण शुज म्यानुफ्याक्चर्सको नाममा दर्ता भै हक कायम भएको ट्रेडमार्कको नक्कल गरी सर्वसाधारण जनतालाई झुक्याउने किसिमले ट्रेडमार्क प्रयोगमा ल्याएको देखिन आएकोले पेटेण्ट डिजायन र ट्रेडमार्क ऐन, २०२२ को दफा १६ को उपदफा (२) विपरीत हुने गरी काम गरेको हुँदा दफा १९ बमोजिम रु. १०००।जरिवाना र सबै मालसामान जफत हुने निर्णय ०५६।३।११ मा उद्योग विभागबाट भएको समेत देखिन आउँछ । सो उपर विपक्षीको पुनरावेदन परेकोमा पुनरावेदन अदालत पाटनबाट सो निर्णय सदर भई मिति ०५७।८।७ मा भएको फैसला अन्तिम अवस्थामा रहेको भन्ने समेत देखिन्छ । यसबाट पनि Gold Star ट्रेडमार्कसँग मिल्ने गरी अरु शब्द थपी अर्को उद्योग वा कम्पनीले ट्रेडमार्क प्रयोग गर्न नपाउने रहेछ भन्ने कुरा पुष्टि   हुन्छ ।

५२.   अतः निवेदक कम्पनीले प्राप्त गरेको ट्रेडमार्क र विपक्षी बस्नेत फुटवेयरले दर्ता माग गरी पुनरावेदन अदालत पाटनका फैसला बमोजिम विपक्षी बस्नेत फुटवेयरका नाउँमा दर्ता गरिएका ट्रेडमार्कहरु उस्तै उस्तै रहेनछन् भन्न सकिएन ।

५३.   अव विपक्षी बस्नेत फुटवेयर इण्डष्ट्रिजले माँग गरे अनुरुपको ट्रेडमार्क दर्ता गरि दिन भनी गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ छैन भन्ने दोश्रो प्रश्नका सम्बन्धमा बिचार गर्दा माथि पहिलो प्रश्नको निराकरणबाट निवेदक कम्पनीले र विपक्षी बस्नेत फुटवेयरले प्राप्त गरेको सो ट्रेडमार्क र उत्पादित सामान समेत एकै प्रकृतिको रहे भएको भन्ने पुष्टि हुन आएको छ। पेटेण्ट डिजायन र ट्रेडमार्क ऐन, २०२२ को दफा १६ (१) अनुरुप त्यस्तो ट्रेडमार्कमा हक प्राप्त हुने कानूनी व्यवस्था रहेको देखिन्छ । यसरी दफा १६(२) बमोजिम हक प्राप्त गरेको ट्रेडमार्कलाई निजको वौद्धिक संपत्ति समेत मानिने कानूनी प्रचलन रही आएको छ । त्यस्तो कानूनद्वारा हक प्राप्त ट्रेडमार्कसँग मिल्दो जुल्दो ट्रेडमार्क कसैले दर्ता गर्न माँग गरी आएमा दर्ता गर्न नपाउने भन्ने कुरा माथि प्रकरण नं. (१) मा उल्लेख भएको सोही ऐनको दफा १८(१) को प्रतिबन्धात्मक वाक्यांशमा प्रयुक्त“ ...... सो ट्रेडमार्क अरु कसैको नाममा दर्ता भै सकेको देखिएमा सो ट्रेडमार्क दर्ता गरिने छैनभन्ने वाक्यांशबाट पुष्टि भएको छ ।

५४.   निवेदकले दर्ता गराएको र विपक्षी बस्नेत फुटवेयरले दर्ताको लागि माँग गरेको ट्रेडमार्कहरु निवेदक कम्पनीको ट्रेडमार्कसँग अक्षरहरुको साथै उच्चारणमा समेत समानता देखिएको र माग गरेको ट्रेडमार्क दर्ता गरेमा निवेदक किरण शुजको ख्यातिमा असर पर्ने, साधारण जनमानसमा भ्रम पर्नजाने भन्ने निश्कर्ष निकालेको उद्योग विभागको निर्णयको आधारलाई अन्यथा भन्न सकिने अवस्था छैन ।

५५.   यसरी निवेदकले कानून बमोजिम दर्ता गराई कानूनद्वारा हक प्राप्त गरेको ट्रेडमार्कसँग मिल्दोजुल्दो ट्रेडमार्क दर्ता गर्न नमिल्ने स्पष्ट कानूनी व्यवस्थाको प्रतिकूल हुने गरी पुनरावेदन अदालतबाट विपक्षीले माग गरेको ट्रेडमार्क दर्ता गरिदिनु भनी भएको फैसलालाई कानूनसम्मत  फैसला मान्न सकिएन ।

५६.   अब उल्लेखित (१) र ( २) को प्रश्नहरुको निराकरणको लागि गरिएको विश्लेषण र रायबाट प्रश्न नं. (३) को निवेदकको संबैधानिक र कानूनी हकमा आघात पुगे नपुगेको सम्बन्धमा  र प्रश्न नं. (४) को रिट जारी हुने वा नहुने भन्ने सम्बन्धमा अरु  विवेचना गरिरहनु पर्ने अवस्था देखिन आएन ।

५७.   तसर्थ प्रकरण (२) को विश्लेषणबाट निवेदकले प्राप्त गरेका ट्रेडमार्कहरु निजको कानूनी हक प्राप्त ट्रेडमार्कहरु रहे भएको देखिन आयो । त्यस्तो हक प्राप्त ट्रेडमार्कसँग मिल्दो जुल्दो ट्रेडमार्क अरुले माग गरी आएमा दर्ता गर्न नमिल्ने भन्ने समेत प्रमाणित  हुन आएको छ । साथै निवेदकले दर्ता गराएको Gold Star, Super Star, Seven Star सँग विपक्षी बस्नेत फुटवेयरले दर्ता माग गरी दर्ता गराएको Good Star, Gold Super, Eleven Star ट्रेडमार्कले निवेदक कम्पनीले दर्ता गराई प्राप्त गरेको ख्यातिमा समेत प्रतिकूल प्रभाव पर्न सक्ने भनी विपक्षी कम्पनीले दर्ता गर्न माग गरेका उल्लेखित तीन प्रकारका ट्रेडमार्कहरु दर्ता गर्न नमिल्ने भनी ०५९।६।१८ मा उद्योग विभागले गरेको निर्णय उल्टी गरी ट्रेडमार्क दर्ता गरिदिनु भनी पुनरावेदन अदालत पाटनले गरेको मिति ०६०।१।३० को फैसला पेटेण्ट डिजायन र ट्रेडमार्क ऐन, २०२२ को  दफा १८ समेतको प्रतिकूल रहेको भनी पुनरावेदन अदालत पाटनको उक्त मिति २०६०।१।३० को फैसला उत्प्रेषणको आदेशद्वारा बदर हुने गरी व्यक्त गरेको माननीय न्यायाधीश श्री अनूपराज शर्माको राय मिलेको हुँदा सो राय सदर हुन्छ । विपक्षी विभाग समेतको जानकारीको लागि आदेशको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालय मार्फत पठाइ नियमानुसार गरी मिसिल बुझाई दिनु ।

 

उपर्युक्त रायमा सहमत छौं ।

 

न्या. शारदाप्रसाद पण्डित

न्या. शारदा श्रेष्ठ

 

इति संवत् २०६२ साल भाद्र २ गते रोज ५ शुभम् .......................

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु