निर्णय नं. ७५४० - कर्तव्य ज्यान ।

निर्णय नं.७५४० ने.का.प.२०६२ अङ्क ५
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली
माननीय न्यायाधीश श्री वलराम के.सी.
सम्वत् २०६० सालको फौ.पु.नं. ३४६९
सम्वत् २०६० सालको साधक नं. ३९६
फैसला मितिः २०६२।३।१७।६
मुद्दाः– कर्तव्य ज्यान ।
पुनरावेदक / प्रतिवादीः जिल्ला सप्तरी गा.वि.स. खोजपुर वार्ड न.. ८ घर भै हाल जिल्ला प्रशासन कार्यालय कारागार शाखा सप्तरीमा थुनामा वस्ने नजवुल को छोरा मो.सुसहरु भन्ने सैयद मियाँ
विरुद्ध
प्रत्यर्थी/वादीः जिल्ला सप्तरी वनरझुला गा.वि.स.वार्ड नं. २ वस्ने जान महमदको जाहेरीले श्री ५ को सरकार
पुनरावेदक/ वादीः जिल्ला सप्तरी वनरझुला गा.वि.स. वार्ड नं. २ वस्ने जान महमदको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
प्रत्यर्थी/ प्रतिवादीः जिल्ला सप्तरी गा.वि.स. खोजपुर वार्ड नं. ८ घर भै हाल जिल्ला प्रशासन कार्यालय कारागार शाखा सप्तरीमा थुनामा वस्ने नजवुल को छोरा मो.सुसहरु भन्ने सैयद मियाँ
§ फौज्दारी मुद्दामा ALIBI सम्वन्धी मान्य सिद्दान्त अनुसार जसले वारदात मितिमा घटनास्थलमा थिइन अन्यत्र थिएँ भन्ने जिकिर लिन्छ यस्तो अन्यत्र रहेको भन्ने ALIBI को जिकीर लिने प्रतिवादीले नै प्रमाणित गर्नुपर्नेमा दुइमत हुन नसक्ने ।
(प्रकरण नं. ३७)
§ प्रमाण ऐन, २०३१ को दफा १० मा कुनै काम घटना वा अवस्था देख्ने व्यक्ति वा थाहा पाउने व्यक्ति वा त्यस्तो काम वा घटनाबाट पीडित व्यक्ति साक्षी हुने भन्ने उल्लेख भएको देखिँदा त्यस्ता साक्षीहरुले अदालतमा वकेको कुरा प्रमाणमा लिन हुने प्रमाण भित्र पर्ने ।
(प्रकरण नं. ३८)
पुनरावेदक प्रतिवादी तर्फवाटः
प्रत्यर्थी वादी तर्फवाटः
अवलम्वित नजीरः
फैसला
न्या.वलराम के.सी.: पुनरावेदन अदालत राजविराजबाट मिति ०६०।१।२४ मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १ को (ख) अन्तर्गत प्रतिवादी पक्षबाट तथा दफा १० अनुरुप साधकको रुपमा समेत पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं विवरण यसप्रकार रहेको छ :–
२. जिल्ला सप्तरी गा.वि.स. खोजपुर वार्ड नं ८ मा रहेको पूर्व ढोका भएको सैयद मियाँको घर भित्र काठको पलंग माथि उत्तर सिरान गरी सिरकले पुरै छोपेको मृतक ऐसा खातुनको लास जाँच गर्दा उतानो अवस्थामा रहेको, उक्त लासको दुवै आँखा वन्द रहेको, उक्त आँखा उघारी हेर्दा नानी केही कैलो रहेको, मुखवाट जिव्रो निस्केको, माथिल्लो ओठले च्यापेको –याल निस्केको रुद्र घाँटी मुनी एक इन्च लम्वाई १÷२ इन्च चोडाईको लगाएको पोतेको डाम रहेको भन्ने समेत व्यहोराको २०५१।८।२ को मुचुल्का ।
३. २०५१।८।१ गते वेलुका मेरो ज्वाई सैयद मिया, निज ज्वाईको दाजु ताहिर मिया, तैयव मियाँ तथा सम्धी नजवुल मियाँ समेत सैयद मियाँको घर छेउमा मिटिङ्ग गरी वसेका र उक्त राती मेरो ज्वाई सैयद मियाँ तथा मेरो छोरा ऐसा खातुन समेत एउटै विस्तारामा सुतेको र मिति २०५१।८।१ गते अं. ११:०० वजेको समयमा छोरी ऐसा खातुन सुतेको विस्तारामा मृतक अवस्थामा रहेको भन्ने सुनी थाहा पाई घटनास्थलमा गै हेर्दा निज सुतेको विस्तारामा मृतक अवस्थामा देखि ज्वाई समेत घरमा नरहेको मृतक छोरीको मुखवाट जिव्रो वाहिर निस्केको र घाँटीमा समेत शंकास्पद देखिएको र मेरो छोरी निज सैयद मिया भन्दा वलियो भएको कारण एक्लै सैयदले मात्र मार्न नसक्ने हुँदा निजको दाजु ताहिर, शैयद तथा वावु नजवुल समेतको सहयोग लि षडयन्त्र गरी छोरीलाई घाटी थिची कर्तव्य गरी मारेको भन्नेमा पूर्ण विश्वास भएकोले पक्राउ गरी कार्वाही गरिपाऊँ भन्ने समेत व्यहोराको जान मोहमद मियाको २०५१।८।६ को जाहेरी दरखास्त ।
४. The cause of death is as phyxia due to strangulation उल्लिखित मिति २०५१।८।४ को सव परीक्षण प्रतिवेदन ।
५. मिति २०५१।८।१ गते राती म आफ्नु दोकान पसलमा सुतिरहेको अवस्थामा रातको ३ वजे सैयद मियाँ मेरो दोकानमा आई तैयव मियाँलाई सापले टोक्यो, निजलाई विराटनगर लानु पर्ने भयो रु.२,०००। दिनु पर्यो भन्दा मैले पैसा छैन भने रु.२००। भए पनि दिनुस भने मेले पैसा छैन भने त्यसपछि कता गए थाहा पाइन । पछि मेरो आमा संग रु.३००। मागी लगे भन्ने समेत व्यहोराको लालमोहन भन्ने मोहनकुमार चौधरीको कागज ।
६. मिति २०५१।८।२ गते विहान अं. ११ वजेको समयमा मेरो वावु जान मोहमद र म समेत घरमै रहेको अवस्था भौसा मियाँ हाम्रो घरमा गई तपाईको छोरी ऐसा खातुन मरी सकिन भनेको हुँदा मेरो वावुले मलाई पठाउनु भयो र मेरी वहिनीको घरमा गै हेर्दा नजवुल मियाँले ढोका खोली दिएपछि हेर्दा जिव्रो वाहिर निस्केको र घाँटीमा समेत संकास्पद देखी आसपासमा बुझ्दा २०५१।८।१ गते वेलुका सैयद मियाँ नजवुल मियाँ, तैयव मियाँ, ताहिर मियाँ समेत वसी मिटिङ गरी घटना घटेको राती दाजु तैयावलाई साँपले टोक्यो भनी रु मागेको भन्ने सुनेको हुँदा निजहरुले वहिनी ऐसालाई कर्तव्य गरी मारेको भन्ने पूर्ण विश्वास भएकोले वुवालाई सोही खवर सुनाएको हुँ भन्ने समेत व्यहोराको अलाउदीन मियाँको कागज ।
७. मिति २०५१।८।१ गते राती म आफ्नै घरमा थिए, मेरा छोराहरु ताहिर र तैयव मेरो घर नजिकै वस्छन् सैयद मियाँ मेरो घर देखि १ कि.मि. उत्तर खर्चुईया वजारमा वुहारी ऐसा संगै वसेका थिए । सैयद मिया संग मेरो ३।४ दिन अघि देखि भेट भएको थिएन । २०५१।८।२ गते विहान म घरमै रहेको अवस्था नातिनी सहिदा खातुन दगुर्दै आई काकीलाई के भयो के भयो वोल्दीन भनेकाले दगुर्दै गई हेर्दा छोरा सैयद पनि घरमा नरहेको र ढोकामा सिक्रि लगाई राखेको देखि भित्र पसी हेर्दा वुहारी ऐसा खातुनको सुतेकै ठाउंमा मृत्यु भै सकेको देखि माइती घरमा खवर गर्न पठाए र म लास संगै वसे । वुहारीका आमा वावु आई पुगे र प्रहरीलाई खवर भयो । ताहिर, तैयव, सैयद समेतले मारे मराएको हो होइन आँखाले नदेखेकोले भन्ने सक्दिन भन्ने समेत व्यहोराको प्र. नजवुल मियाँले अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयान ।
८. मिति २०५१।८।२ गते विहान ४ वजेको समयमा म आफ्नु घरमा सुतिरहेको अवस्था सैयद मियाँ आई दाजुलाई साँपले टोक्यो औषधि उपचार गर्न लानलाई रु ४,०००। चाहियो भनी रुपैया माग्दा मैले रु २५०। दिए सोहि दिन अं. १० वजेको समय तिर श्रीमती ऐसालाई कर्तव्य गरी मारे भन्ने शंका गरी प्रहरीमा जाहेर गरे भन्ने सुनेको हुँ निज सैयदले के कसको सहयोग लि मारे मराए थाहा छैन भन्ने समेत व्यहोराको श्यामवति देवी चौधरीको कागज ।
९. मिति २०५१।८।१ गते वेलुका म वावुआमाको साथमा आफ्नै घरमा थिए । वावु ताहिर, काका तैयव, तथा हजुर वुवा नजवुल समेत घरमै थिए । २०५१।८।२ गते विहान कान्छी कार्कीलाई ज्वरो आएको छ रोटी लगी देउ भनी वावु आमाले भनेकोले रोटी लिई कार्कीको घरमा जाँदा काका सैयद झोक्राएर वाहिर वसिरहेका थिए म सरासर भित्र पसी कार्कीलाई उठाउदा नउठेकीले म डरले दगुर्दै निस्किदा काका सैयदलाई देखिन र हजुर वुवालाई घरमा गै खवर सुनाए वावु र काका समेत हाल गाउँ घरमा छैनन भन्ने समेत व्यहोराको जहिदा खातुनको कागज ।
१०. मिति २०५१।८।२ गते विहान म घरमै थिए अं. ७ वजेको समयमा मेरी नातिनी जहिदा खातुन अतालिदै आएको देखी के भयो भनी पति नजवुल र म दगुर्दै गई सैयद मिया घर वाहिर आँगनमा रुदै वसेको देखि घर भित्र पसी हेर्दा वुहारी ऐसा ओछ्यानमै मरी सकेकी रहीछन् छोरा सैयदले घाँटी थिची मारे भन्ने हल्ला छ, निजले मारे मराएका हुन होइनन् निजै जानुन् भन्ने समेत व्यहोराको मरियम खातुनको कागज ।
११. मिति २०५१।८।१ गते राती उज्यालो हुने वेलामा उठ्ने तरखर गर्दै गरेको अवस्थामा सैयद मियाँ मेरो घरमा आई तैयावलाई साँपले टोक्यो भनी वाहिरैवाट पैसा मागे, मैले छैन भन्दीएपछि के कता गए थाहा भएन । २०५१।८।२ गते विहान अं. ९ वजे निजको श्रीमती ऐसा सुतेकै ठाउँमा मरी रहेकी छन् सैयद घर छाडी भागेछन् भन्ने सुनी घटनास्थलमा हेर्दा ऐसालाई मृतक अवस्थामा देखे, निजकै कर्तव्यबाट ऐसाको मृत्यु भएको भन्नेमा मलाई शंका लागेको हो, के कसरी मारे मराए मलाई थाहा छैन भन्ने समेत व्यहोराको ठकनी खातुनको कागज।
१२. मिति २०५१।८।१ गते राती म आफ्नु गाउँ घरमै थिए, निज सैयद मिया उक्त राती मेरो घरमा गै पैसा मागेको छैन, होइन मिति २०५१।८।२ गते विहान ९ वजे तिर ऐसा खातुनको मृत्यु भएको कुरा सुनेको हुँ, को को भै के कस्तो परिवन्धवाट मारे मराए मलाई थाहा छैन भन्ने समेत व्यहोराको रामप्रसाद भगतको कागज ।
१३. मिति २०५१।८।२ गते विहान ९।१० वजे तिर निज जाहेरवालाकी छोरी ऐसा खातुन आफ्नै घरमा मृत्यु भएको भन्ने सुनी हेर्न जाँदा लास मात्र देखेको, को को भै मारे मराए मलाई थाहा छैन, नजवुल आप्mना छोराहरुवाट भिन्न भै अं. १ कि.sमि. पर घर वनाइ सैयद र ऐसा वसेका हुन । नजवुलको हात छैन, सैयद, तैयव र ताहिर घटना घटे पश्चात फरार छन भन्ने समेत व्यहोराको एकै मिलानको उमर अली, विनोद चौधरी प्रमेश्वर चौधरी समेतको कागज ।
१४. मिति २०५१।८।१ गते राती निज सैयद मियाँ तथा निजको श्रीमती ऐसा खातुन आफ्नै घरमा थिए भन्ने कुरा वुझेको हुँ, निजहरु वीचमा कुनै झै झगडा गरेको मलाई थाहा छैन, सैयद मियाँलाई मौसाई मियाले ऐसा खातुनलाई मारीदेउ तिमीलाई अर्को विवाह गराई दिन्छु भनेका र भौसाईको छोरा कमालुद्धिन, ताहिर, तैयव समेतले सोही कुरामा सहमती दिएको हो भन्ने कुरा मैले सुनेको हुँ, सोही कारणले उल्लेखित सैयद मियाँ समेत भै कर्तव्य गरी ऐसालाई मारी गाउँ घर छाडी मारेका हुनु पर्छ भन्ने समेत व्यहोराको मोहमद तफेजुल मियाँ, मुस्तकिम मिया, जालम मियाँ समेतको एके मिलानको कागज ।
१५. प्रतिवादी खण्डमा उल्लिखित प्रतिवादीहरु नजवुल मियाँ, सैयद मियाँ, तैयव मियाँ, ताहिर मियाँ, मौसाई मियाँ, कलामुदिन मियाँ समेत भै कर्तव्य गरी मृतक ऐसा खातुनलाई मारेको भन्ने देखिन आएकोले प्रतिवादी सैयद मियाँलाई मु. ऐ ज्यानसम्वन्धी महलको १३ (३) नं. अनुसार सजाय हुन र प्रतिवादी तैयव मियाँ, ताहिर मियाँ, कलामुद्धिन मियाँ, भौसाई मियाँलाई सोहि महलको १६ नं. र प्रतिवादी नजवुल मियाँलाई ऐ.महलको २५ न. बमोजिम सजाय हुन माग दावी सहितको अभियोगपत्र ।
१६. मैले वुहारी ऐसा खातुनलाई कर्तव्य गरी मारे मराएको समेत होइन, वुहारी कार्तिक ५।६ गते तीर विरामी भै हामीहरुलाई नभनी माइतवाटनै राजविराज र दरभंगा लगि उपचार गराएकोमा उपचार गराउँदा लागेको खर्च जाहेरवालाले मात्र गर्दा जाहेरवाला संग झन्झट भएको थियो, तैयवलाई सर्पले टोकेको थिएन, तैयवको सालो र निजकै गाउँ घरको एकजना अर्को मानिस भाई टीका( भारदुतिया) को भार लि २०५१।८।१ गते राती आएका थिए भन्ने समेत व्यहोराको नजवुल मियाँको अदालतमा भएको वयान ।
१७. वारदात मितिमा आफ्नो गाउँ घरमै थिए, ऐसा खातुन कसरी मरिन थाहा छैन । निजलाई टि.वी.को विरामी थियो । म समेत भै ऐसा खातुनलाई मारे मराएको र सहयोग गरेको समेत होइन भन्ने समेत व्यहोराको प्र. भौसाई मियाले अदालतमा गरेको वयान ।
१८. वारदात मितिमा म खर्चुइयामा आफ्नो दोकानमा थिए, वुहारी ऐसालाई कर्तव्य गरी मारे मराएको होइन, वुहारी ऐसा टि.वि. विरामी थिइन । अभियोग दावी झुठा हो भन्ने समेत व्यहोरको प्र. तैयव मियाँले शुरु अदालतमा गरेको वयान ।
१९. वारदात मितिमा म आफ्नै गाउँ घरमा थिए, ऐसा खातुनलाई मारे मराएको छैन । मैले मृतकको लास देखिन, गाउँमा जातीयताको विरोधले जाहेरी दिएका हुन, अभियोग दावी झुठ्ठा हो भन्ने समेत व्यहोराको प्र. ताहिर मियाँले शुरु अदालतमा गरेको वयान ।
२०. मृतकको घर भन्दा १ – १ कि.मि. पर मेरो घर पर्दछ, म वारदात मितिमा आफ्नै गाउँ घरमा थिए, ऐसा खातुनलाई कर्तव्य गरी मारे मराएको होइन, निजको मृत्यु कसरी भयो, मलाई थाहा छैन । ऐसा खातुनलाई टि.वि. छ भन्ने सुनेको हुँ जाहेरी दरखास्त झुठ्ठा हो, म कमाउन काठमाडौं गएकोले फारर रहेको हुँ भन्ने समेत व्यहोराको प्र. कमल दिन भन्ने कलामुद्धिन मियाँले शुरु अदालतमा गरेको वयान ।
२१. नजवूल, तैयव, ताहिर, सैयद, कलाउद्धिन, भौसाई समेत भई ऐसा खातुनको घाँटी च्यापी मारेका हुन, जाहेरी दर्खास्त मैले दिएको हो । म जादा सैयद, तैयव समेत घटनास्थलमा थिएनन् भन्ने समेत व्यहोराको जाहेरवाला जान मोहमदले गरेको वकपत्र ।
२२. म जाँदा नजवूल मिया मात्र वारदात स्थलमा थिए । अर्को विवाह गरि दिने भनेर सैयद नजवूल, ताहिर तैयव कलाउद्धिन र भौसाईहरुले सल्लाह गरेर मारेका हुन भन्ने समेत व्यहोराको वुझिएका अलाउद्धिन मियाँले गरेको वकपत्र ।
२३. ०५२।८।२६ गते म खुरचुहियाबाट आउँदै गर्दा नजवुल मियाँको घरमा मिटिङ्ग गरेको देखेको हुँ । त्याहाँ ऐसालाई मारिदेउ म अर्को विहे गराई दिउँला भनी भौसाईले भनेको मैले आफ्नै कानले सुनेको थिए भन्ने समेत व्यहोराको वुझिएका तफतूल मियाँको वकपत्र ।
२४. प्र. भौसाईका साक्षी महादेव चौधरी, छुहरु मियाँ, प्र. ताहिरका साक्षी सलिम मियाँ र सिकिमलाल ठाकुर, प्र. तैयवका साक्षी तेनीलाल मण्डल र मोहमद आलम तथा प्रतिवादी कलामुदिनका साक्षी अगहनु साहु र चनर मण्डलले शुरु अदालतमा उपस्थित भै गरेको वकपत्र ।
२५. प्रतिवादी सैयद मियाँ मिति २०५२।११।१६ मा तामेल भएको म्यादमा उपस्थित नभै हाल सम्म पनि फरार रहेकोले निजको हकमा अ.वं. १९० नं. बमोजिम मुल्तवी हुन्छ । प्रमाणको अभावमा अन्य प्रतिवादीहरु नजवुल मियाँ, तैयव मियाँ, ताहिर मिया, भौसाई मियाँ, कलामुद्धिन मियाँ समेतले आरोपित कसूरवाट सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु अदालतवाट मिति २०५४।३।१६ मा भएको फैसला ।
२६. ऐसा खातुन मर्दाको अवस्थामा म गाउँ घरमा थिइन, २०५१ साल कार्तिकमा भारत दिल्ली गएको र ऐसाको मृत्यु भएको ५–६ महिनामा फर्की आएँ । फाँसी लागेर मरेकी हुन भन्ने सुनेको हुँ । महिना घरमा वसी फेरी दिल्ली तर्फ गएँ । मेरो नाउँमा मुद्दा नभएकोले म अदालतमा उपस्थित नभएको हुँ । अलाउद्धीन समेतको कागज व्यहोरा झुठ्ठा हो, मृतक कै आमा वावुले दरभंगा लगी उपचार गराएका थिएँ । ससुरालीवाट श्रीमतीलाई ल्याएपछि १–१
महिनामा म दिल्ली गएको हुँ, ऐसा खातुन कसरी मरीन मलाई थाहा छैन, अन्य प्रतिवादीहरुले किन मेरो नाउँ गाउँ घरमै छ भनी पोल गरे, मलाई थाहा छैन । मैले अपराध नगरेको हुँदा सफाइ पाउँ भन्ने समेत व्यहोराको प्र. सैयद भन्ने मुसहरु मियाँले शुरु अदालतमा गरेको वयान ।
२७. यसमा लाश जाँच र पोष्टमार्टम समेतवाट मृतकको मृत्यु कर्तव्यवाट भएको र प्रतिवादी उपर किटानी जाहेरी समेत हुँदा र यी व्यक्ति कसूरदार होइन भन्ने तथ्ययुक्त प्रमाण दिन नसकेवाट यी प्रतिवादी सैयद मियाँ भन्ने मो मुसहरुले अभियोग दावी अनुसार मारेको देखिन ठहर्न आएको हुनाले निजलाई अभियोग माग दावी अनुसार ज्यानसम्वन्धी महलको १ र १३ नं. को कसूरमा ऐ. ऐनको १३(३) न. अनुसार सर्वस्वसहित जन्मकैद हुने ठहर्छ भन्ने सप्तरी जिल्ला अदालतको २०५८।११।२६ को फैसला ।
२८. जाहेरवाला लगायत अन्य कोही पनि व्यक्ति चश्मदिद नभएको प्रस्तुत मुद्दामा शंका र सुनी सुनाएको आधारमा दिएको जाहेरीको आधारमा मार्नु पर्ने सम्मको रिसइवि वा मनसाय समेत नभए नरहेको अवस्थामा डाक्टरको गलत पोष्टमार्टम रिर्पोटलाई आधार गरी ज्यान जस्तो मुद्दामा कसूरदार ठहराई सर्वस्वसहित जन्मकैद हुने ठहराएको शुरु फैसला त्रुटीपूर्ण हुँदा उल्टी गरी अभियोग दावीवाट सफाइ पाउँ भन्ने प्रतिवादीको पुनरावेदन पत्र ।
२९. यसमा postmortem report मा उल्लेखित Ligature mark रहनुका साथै haemotoma seen thyrld bone and thyroid contilape fractured भएको भनी लेखिएको र cause of death is asphyxia due to strangulation भनी लेखिएको हुँदा मृत्यु घाँटी थिची भएको वा अन्य कारणवाट भएको भन्ने एकिन उल्लेख नभएको स्थितिमा शुरुले ज्यानसम्वन्धीको १३ (३) नं. ले प्रतिवादी मुसहरु भन्ने सैयद मियाँलाई सर्वस्व सहित जन्मकैद सजाय हुने ठहराएको फैसला फरक पर्न सक्ने देखिंदा अ.वं. २०२ नं. र पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम छलफलको लागि प्रत्यर्थी (वादी) लाई झिकाई नियम बमोजिम पेश गर्नु भन्ने पुनरावेदन अदालतको आदेश ।
३०. परिस्थितिजन्य प्रमाणहरुको आधारमा आरोपित कसूर प्रतिवादीले गरेको ठहराई प्र. मुसहरु भन्ने सैयद मियाँलाई मुलुकी ऐन ज्यानसम्वन्धी महलको १ नं. र १३ न.. को कसूरमा १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर गरी शुरु सप्तरी जिल्ला अदालतले गरेको फैसला सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत राजविराजको मिति ०६०।१।२४ को फैसला ।
३१. सुनी सुनाइको भरमा दिएको जाहेरी दरर्खास्तलाई पुनरावेदन अदालत समेतले प्रमाणमा लिएको छ, आफ्नै पत्नीलाई मार्नु पर्ने सम्मको रिस इवी प्रमाणित हुन सकेको छैन, प्रत्यक्षदर्शी कोही पनि छैनन् । मोहनकुमार चौधरी, श्यामवती चौधरी आदिले अदालतमा वकपत्र नै नगरेको अवस्थामा पनि निजहरुको भनाइ प्रमाणमा लिइएको छ । शव परीक्षण प्रतिवेदनमा Strangulation लेखिदैमा त्यो कर्तव्य नै हुनुपर्छ भन्ने छैन तसर्थ पुनरावेदन तथा शुरु सप्तरी जिल्ला अदालतको फैसला त्रुटीपूर्ण हुँदा वदर गरी अभियोग दावीवाट फुर्सद दिलार्ई पाउँ भनी प्रतिवादी मुसहरु भन्ने सैयद मियाँको तर्फवाट यस अदालतमा परेको पुनरावेदन ।
३२. नियमबमोजिम पेशीसूचीमा चढी पेश हुन आएको पुनरावेदन सहितको मिसिल कागज अध्ययन गरी हेर्दा प्रस्तुत मुद्दामा पुनरावेदन अदालत राजविराजवाट मिति २०६०।१।२४ मा भएको फैसला मिले नमिलेको के रहेछ भनी निर्णय दिनुपर्ने हुन आयो ।
३३. निर्णयतर्फ विचार गर्दा आपसमा षड्यन्त्र गरी ऐसा खातुनलाई कर्तव्य गरी मारेको अभियोगमा निजको पति प्र. सैयद मियालाई मुलुकी ऐन ज्यानसम्वन्धीको महलको १३(३) नं. अनुसार सजाय हुन, प्र. तैयव मिया, ताहिर मिया, कलामुद्धिन मिया, भौसाई मियालाई सोही महलको १६ न. बमोजिम तथा नजवुल मियालाई २५ न.. बमोजिम सजाय गरिपाऊँ भनी अभियोगपत्र दायर भएकोमा प्र. सैयद मियाका हकमा मूल्तवी राखी अन्य प्रतिवादीहरुलाई अभियोग दावीवाट सफाई दिेन गरी सप्तरी जिल्ला अदालतवाट मिति ०५४।३।१६ मा भएको फैसला पुनरावेदन अदालत राजविराजवाट मिति २०५६।३।१६ मा सदर भई अन्तिम भै वसेको देखिन्छ । भने, प्र. सैयद मियाका हकमा मूल्तवीवाट जगाई निजलाई अभियोग दावी बमोजिम नै सर्वस्वसहित जन्मकैद गर्ने गरेको सप्तरी जिल्ला अदालतको मिति २०५८।११।२६ को फैसला सदर गर्ने गरी पुनरावेदन अदालत राजविराजवाट मिति २०६०।१।२४ मा भएको फैसला उपर प्रतिवादीका तर्फवाट पुनरावेदन परी एवं साधक जाँचको लागि समेत पेश भएको रहेछ ।
३४. प्रतिवादी सैयद मिया तर्फवाट पुनरावेदन परेको हुँदा साधक दायरीको लगत अ.वं. २१५ नं. बमोजिम कट्टा गरि दिनु ।
३५. कर्तव्य ज्यान जस्तो फौज्दारी मुद्दामा सर्वप्रथम मृतकको मृत्यु कालगति वा कर्तव्य के कसरी भएको हो यकीन हुन आवश्यक हुन्छ । लास आफ्नो घर भित्रको खाटमा सिरकले छोपिएको अवस्थामा पाइएको देखिन्छ । लास प्रकृति मुचुल्कामा मृतकको आँखाको नानी केही कैलो रहेको, रुद्रघण्टी मुनी १ इन्च लम्वाई इन्च चौडाईको पोतेको डाम रहेको भन्ने उल्लेख भएको पाइयो । प्रतिवादीले अदालत समक्ष वयान गर्दा यकीन साथ यसै कारणले ऐसा खातुन मरेको भन्न नसकी रगत छाद्ने रोग थियो, त्यस्को पनि उपचार गरिएको थियो भन्ने समेत खुलाएको अवस्था छ । मौकामा कागज गर्ने अलाउद्धिन मिया, मरियम खातुन, प्रमेश्वर चौधरी, तफेजुल मिया, मुस्तकिम मिया, जालम मिया समेतले निजको मृत्यु कर्तव्यवाट भएको व्यहोरा वुझिने गरी कागज गरि दिएको देखिन्छ । लासको शव परीक्षण प्रतिवेदनमा मृत्युको कारण The cause of death is asphyxia due to strangulation भन्ने स्पष्ट उल्लेख भएको छ । मृतकको External examination बाट घांटीमा ३ सेन्टीमिटर डायमिटरको Ligature mark देखिएको छ । त्यस्तै सोही प्रतिवेदनमा मृतकको Thyroid bone & Thyroid cartilape fractured भन्ने समेत उल्लेख भएको हुँदा ऐसा खातुनले आत्महत्या गरेको नभई कर्तव्यवाट मृत्यु भएको तथ्यमा विवाद देखिंदैन ।
३६. अब निजको मृत्यु को कस्को कर्तव्यवाट भएको हो ? यी प्रतिवादीको कर्तव्यले भएको हो होइन भन्ने सम्वन्धमा विचार गर्दा प्र. मुसहरु भन्ने सैयद मिया, प्रस्तुत मुद्दामा निज वाहेकका अन्य प्रतिवादीहरुले सफाइ पाउने गरी मिति २०५४।३।१६ मा फैसला भै सकेपछि मिति ०५८।९।१७ मा मात्र अदालतमा हाजिर भएको देखिन्छ । अदालतमा हाजिर भै वयान गर्ने क्रममा वारदातको समयमा मिति ०५१।८।१ मा आफू वारदात स्थलमा नभई २०५१ कार्तिकमै भारतको दिल्ली गई ५।६ महिना पछि मात्र घर फर्केको भनी अभियोग दावीको कसूरमा पूर्ण इन्कार रही वयान गरेको पाइन्छ । तर त्यसरी वारदातको समयमा वारदातस्थलमा नरहेको अन्यत्र रहेको भन्ने ALIBI को जिकिरलाई विश्वासप्रद सवूत प्रमाणवाट प्रमाणित गर्न सकेको देखिदैन । यति गते यस्तो ठाउँमा गै यति गते फर्केको भन्ने जस्ता तथ्य समेत स्पष्ट संग खुलाउन सकेको देखिदैन ।
३७. फौज्दारी मुद्दामा ALIBI सम्वन्धी मान्य सिद्दान्त अनुसार जसले वारदात मितिमा घटनास्थलमा थिइन अन्यत्र थिएँ भन्ने जिकिर लिन्छ यस्तो अन्यत्र रहेको भन्ने ALIBI को जिकीर लिने प्रतिवादीले नै प्रमाणित गर्नुपर्ने हुन्छ, यसमा दुइमत हुन सक्दैन । वारदातको दिन ०५१।८।१ गते राती यी प्रतिवादी आफ्नो पत्नी मृतकको साथमा घरमै सुतेका थिए भनी मो. नफजुल, मुस्तकिम मियाँ, जालम मिया, को कागजवाट देखिन्छ भने निज घटनापश्चात फरार रहेको भन्ने उमर अली, विनोद चौधरी, प्रमेश्वर चौधरीको कागजवाट देखिन्छ । प्रतिवादीका वावु नजवुलले वारदातका दिन पुनरावेदक प्रतिवादी घरमा नभएको भारत गएको भन्ने कुरा मौकामा कागज गर्दा तथा अदालतमा वयान गर्दा समेत भन्न सकेको पाइंदैन अनुसन्धान अधिकारी समक्ष वयान गर्दा वारदातको दिन राति पुनरावेदक छोरा घरमै भएको भनी वयान गरेको देखिन्छ । वारदातस्थलमा सर्वप्रथम पुग्ने प्रतिवादीकै भतिजी जाहिदा खातुन, आमा भरियम खातुनले निजहरु त्याहाँ पुग्दा यी पुनरावेदक प्रतिवादी घर वाहिर झोक्राएर रुंदै वसेका थिए भनी आफ्नो कागजमा उल्लेख गराएको देखिन्छ भने ०५१।८।२ गते विहान आफ्नो दाजूलाई सर्पले टोकेकोले औषधि गर्न लैजान भनी पैसा माग्न आएको व्यहोरा खुलाई श्यामावती देवी चौधरी, ठकनी खातुन,लालमोहन भन्ने मोहनकुमार चौधरी समेतले कागज गरि दिएको देखिन्छ । यी तथ्यहरुवाट निज सैयद मिया वारदातको दिन अन्यत्र नभई आफ्नै घरमा पत्नी ऐसा खातुनसंग रहेकोनै देखिन आउँछ ।
३८. मृतकको मृत्यु कर्तव्यबाट भएको भन्ने माथि विश्लेषण भैसकेको छ । वारदात भएको मिति ०५८।८।१ गते राती यी प्रतिवादी वाहेक अन्य व्यक्ति पनि मौजूद भएको भन्ने उक्त दिन मृतक साथै रहने पति यी प्रतिवादीले खुलाउन सकेको पाइदैन भने मिसिलवाट समेत सो तथ्य देखिन आउँदैन । भोलिपल्ट विहान जाहेरवाला समेतका व्यक्ति आउनु पूर्व सम्म वारदातस्थलमै रहेका यी प्रतिवादी आफ्नी पत्नीको अन्तिम कर्म सत्गत समेत नगरी फरार भई ७ वर्ष पछि मात्र अदालतमा उपस्थित भएको अवस्था देखिन्छ । जाहेरवाला, वुझिएका व्यक्ति अलाउद्धिन, तफवूल मिया समेतका व्यक्तिले अदालतमा समेत उपस्थित भै यी प्रतिवादीलेनै मृतकलाई मारेको किटानी गरी वकपत्र गरि दिएको देखिन्छ । प्रमाण ऐन २०३१ को दफा १० मा कुनै काम घटना वा अवस्था देख्ने व्यक्ति वा थाहा पाउने व्यक्ति वा त्यस्तो काम वा घटनाबाट अगाडि व्यक्ति साक्षी हुने भन्ने उल्लेख भएको देखिन्छ । त्यस्ता साक्षीहरुले अदालतमा वकेको कुरा प्रमाणमा लिन हुने प्रमाण भित्र पर्दछ । जाहेरवाला लगायतका ती साक्षीहरुले अदालतमा गरेका वकपत्रवाट पुनरावेदक प्रतिवादी वारदात स्थलमा नै रहे भएको र निजले नै पत्नी ऐशा खातुनलाई मारेको भन्ने बकपत्र गरेको हुँदा प्रतिवादी विरुद्धको अभियोग शंकारहित तवरले प्रमाणित भएको देखिन्छ । यसरी आफ्नी पत्नीलाई घाँटी थिची निज सैयद मियाले मारेको भन्ने उक्त व्यक्तिहरुको भनाई लाश जाँच प्रकृति मुचुल्का तथा शव परीक्षण प्रतिवेदन समेतले प्रमाणित गरि रहेको हुँदा केवल प्रतिवादीको इन्कारी वयानले मात्र निज निर्दोष रहेछन भन्न मिल्दैन । निजकै कर्तव्यले ऐसा खातुनको मृत्यु भएको तथ्य परिस्थितिजन्य प्रमाणले पुष्टी गरेके देखिन आयो । यस सम्वन्धमा “इन्कारी प्रमाणवाट पुष्टी भएको हुनुपर्दछ अन्यथा इन्कारीले मात्र निर्दोषिताको पहिचान गर्न युक्तिसंगत हुँदैन भनी चक्रवहादुर प्रधान वि. लिलाप्रसाद गौतमको जाहेरीले श्री ५ को सरकार भएको कर्तव्य ज्यान मुद्दामा ( ने.का.प. २०४९, पृ. ३६५ नि.नं. ४५१५) प्रतिपादित सिद्दान्त समेत प्रस्तुत मुद्दामा आकृष्ट हुने देखियो ।
३९. तसर्थ माथि विवेचित आधार प्रमाणवाट यी प्रतिवादीले नै आफ्नी पत्नी एसा खातुनलाई कर्तव्य गरी मारेको स्पष्ट हुन आएकोले निज मुसहरु भन्ने सैयद मियाँलाई ज्यानसम्वन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय गर्ने ठहर्याएको शुरु सप्तरी जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालत राजविराजको मिति २०६०।१।२४ को फैसला मिलेकै देखिएकोले सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या.चन्द्रप्रसाद पराजुली
इति सम्वत् २०६२ साल आषाढ १७ गते रोज ६ शुभम–––––