शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७५५६ - अपुताली हक कायम ।

भाग: ४७ साल: २०६२ महिना: असोज अंक:

निर्णय नं.७५५६           ने.का.प.२०६२       अङ्क ६

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री रामनगिना सिंह

माननीय न्यायाधीश श्री परमानन्द झा

सम्वत् २०५८ सालको दे.पु.नं. ..७९१४

सम्वत् २०५८ सालको दे.पु.नं. ७९१६

फैसला मितिः२०६२।५।९।५

 

मुद्दाःअपुताली हक कायम ।

 

पुनरावेदक/ वादीः कास्की जिल्ला पुरुन्चौर गा.वि.स.वडा न. १ वस्ने नरवहादुरको मु.स. गर्ने मैया तिमिल्सीना         

विरुद्ध

प्रत्यर्थी /प्रतिवादीः ऐ.ऐ. वस्ने कृष्णवहादुर तिमिल्सीना

 

पुनरावेदक/ प्रतिवादीः ऐ.ऐ. वस्ने कृष्णवहादुर तिमिल्सीना

विरुद्ध

प्रत्यर्थी / वादीः ऐ.ऐ.वस्ने नरवहादुरको मु.स. गर्ने मैया तिमिल्सीना

 

§  अधिकार प्राप्त निकायवाट नाता प्रमाणित गरी दिएको प्रमाणलाई सप्रमाण खण्डन गर्न नसकेको अवस्थामा त्यस्तो प्रमाण अग्राह्य हुनसक्ने अवस्था नदेखिने ।

§     अधिकार प्राप्त अधिकारीले नाता प्रमाणित गरी दिएको कुरामा प्रतिवादीले विवाद नउठाएपछि वादीलाईनै नजिकको हकवाला मान्नु पर्ने ।

§     पुस्तेवारी यकिन नभएको भन्ने समेतको आधारवाट वादी प्रतिवादी दुवैलाई समान हैसियतका हकवाला भनी ठहर गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण देखिंने ।          

(प्रकरण नं.१४)

 

पुनरावेदक वादी तर्फवाटः विद्वान अधिवक्ता श्री रविराज भण्डारी

प्रत्यर्थी प्रतिवादी तर्फवाटः

अवलम्वित नजीरः ने.का.प. २०५२ अंक १, नि.नं. ५०३९ पृष्ठ ६९

 

फैसला

न्या.रामनगिना सिंहः पुनरावेदन अदालत पोखराको मिति ०५७।९।२३ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम वादी प्रतिवादी दुवै पक्षको पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः-

२.    म समेतका वाजे जैवीर तिमिल्सीनाका २ श्रीमतीमा जेठी श्रीकला र कान्छी मोतिकला हुन्। जेठी श्रीकलाका २ छोरा मध्ये जेठा मनवहादुरका १ छोरा अक्कलवहादुर र कान्छा मेहरमानको छोरा म नरवहादुर हुँ । कान्छी श्रीमती मोतिकला तर्फ निजको छोरा खड्गवहादुर र निज खड्कवहादुरका १ छोरा विपक्षी कृष्णवहादुर हुन् । तसर्थ मनवहादुर र अक्कलवहादुर वाजे जैविरको श्रीमती श्रीकला तर्फका हुनाले स्वमात्रीपट्टीका र विपक्षी कृष्णवहादुर वाजे जैविरको कान्छी श्रीमती मोतिकला तर्फका हुनाले विपक्ष कृष्णवहादुर विमात्री पट्टीका हौ । हामीहरुका वावु वाजेका पाला देखि छुट्टी भिन्न भएको भएतापनि हाल अक्कलवहादुरका र मेरो समेत वावु आमा हाम्रो वाल्य अवस्थामै परलोक भएकाले निज दाजु अक्कलवहादुर म समेत खती उपति एकै ठाउँमा राखी मिलाई एका संगोलमै थियौ । निज दाजु अक्कलवहादुर र मेरो समेत सो अवस्था सम्म पनि विवाह दान केही भएको थिएन र कुमार अवस्थामै थियो । त्यस्तैमा दाजु अक्कलवहादुर मेरा एकाघर संगोलवाटै २३/२४ वर्षको उमेरमा रोजगार निमित्त विदेश भारत तर्फ जान्छु भनि वाटा खर्च समेत मसंग मागी लिई गएका अहिले सम्म घरमा नआई विदेश भारत तर्फ रहे वसेका थिए । त्यस्तैमा २०३४ सालमा सर्भे नापी आएकाले निज अक्कलवहादुरको जग्गा जति पुरुन्चौर गा.वि.स.वडा नं. २ को र १ को कि.नं. ४८ मा रोपनी ०१४२ र कि.नं. ५१ मा रोपनी २१ को कित्ता १ कि.नं. ४९९ मा रोपनि ०० को कित्ता १, कि.नं. १२५ मा रोपनी १० को कित्ता १, कि.नं. ४१ मा रोपनी ०३ को कित्ता १, कि.नं. ४९६ को रोपनी २० को कित्ता १, कि.नं. ५९ मा ०२ समेतका ७ कित्ता जग्गा मैलेनै निज दाजु अक्कलवहादुरका नाउँमा दर्ता गराई दिई फिल्डवुकमा लेखि केवल जग्गा धनि प्रमाण पुर्जा लिने काम मात्र वाँकी थियो । त्यस्तैमा निज दाजु अक्कलवहादुर विदेश भारत राउल किल्ला भन्ने ठाउँमा २०५१ साल पौष ७ गते आफ्नो कालगतिले परलोक हुनु भएछ र निज परलोक भएको कुरा निजका साथ साथै वस्ने काम गर्ने गाउकै शिव खत्रीले खवर ल्याएकोले निज दाजु अक्कलवहादुरको मैलेनै काजकृया दान पुन्य आदि कार्य गरेको र निज दाजु अक्कलवहादुरको उल्लेखित गैर सम्पत्ति अपुतालीको ११२ नं. बमोजिम मेरो हक हुने भएकाले निज दाजु अक्कलवहादुरको अपुताली परी मेरो पूर्ण हक भएको सर्वे कि.नं. ४८, ५१, ४९९, १२५, ४१, ४९६ र ५९ का जग्गाहरु मेरा नाउँमा दा.खा. दर्ता गरी पाउँ भनि स्थानीय गा.वि.स.को सिफारिस समेत राखी मालपोत कार्यालय कास्कीमा दिई दर्ता सम्वन्धी कारवाही भै रहेको अवस्थामा विपक्षी कृष्णवहादुरले मृतक अक्कलवहादुरको अपुताली सम्पत्ति मैले समेत पाउनु पर्ने हो भनि मालपोत कार्यालय कास्कीमा निवेदन दर्ता गरी उक्त सम्पत्तिमा दावी गरेवाट र उक्त कित्ता नम्वरको जग्गामा ०५३।१०।१० मा खिचोला समेत गरेको हुँदा अपुतालीको २० र ज.मि.को १८ नं. को हदम्याद भित्र सम्मानित अदालत समक्ष फिराद गर्न आएको छु भन्ने समेत व्यहोराको फिराद दावी ।

३.    वाजे जयका २ श्रीमती मध्ये जेठी श्रीकला र कान्छी मोतिकला हुन् जेठी म प्रतिउत्तरवाला र अपुताली पर्ने अक्कलवहादुरको हजुर आमा तर्फका २ छोरा मध्ये जेठा मेरा वावु खड्गवहादुर र कान्छा अपुताली पर्ने दाजु अक्कलवहादुरका वावु मनवहादुर हुन् भने कान्छी तर्फका एक भाई छोरा मेहरमानका छोरा विपक्षी नरवहादुर हुन । यसरी पुस्तावलीको हिसाववाट म र अपुताली पर्ने दाजु अक्कलवहादुर समान पुस्तामा छौ अक्कलवहादुर र म एकै नाल तर्फका हौ र विपक्षी वेमात्री पट्टीका हुँदा हुँदै कथित रुपमा अपुताली खान पाईन्छ कि भनेर मलाई वेमात्री पट्टीको देखाउनु भएको हो । विपक्षीले आफ्नो फिरादमा मर्ने दाजु अक्कलवहादुर आफु संगोलमानै रहे वसेको भनि उल्लेख गर्नु भएको छ जवकि विपक्ष र अपुताली पर्ने दाजु अक्कलवहादुरका वावुहरु समेत पहिल्यै छुट्टी भिन्न भएको तथ्यगत अवस्था हामीहरुका वावुहरु पहिल्यै छुट्टी भिन्न भएको अवस्थाले स्थापित हुनुको साथै विपक्षीले अपुताली पर्ने दाजु अक्कलवहादुरको नापीमा कित्ताकाट म आफैले गराई दिएको भन्ने कुराले पुष्टी भएकै छ । एका संगोलमा नभएको भन्ने कुरा त्यसको अलावा दाजु अक्कलवहादुरलाई आफैले खर्च हाली विदेशमा रोजगारको लागी पठाएको नभै दाजुका नाउँको सम्पत्ति आफुले हत्याउन पाइन्छ कि भन्ने कलुषित भावनाले प्रेरित भै विपक्षले दाजुलाई वेपत्ता पारी विदेशिन वाध्य तुल्याउनु भएको तथ्यलाई विदेश पठाएको भनि फिरादमा समेत स्वीकार गर्नु भएको छ । त्यसको अलावा विपक्षीले दाजु अक्कलवहादुरको काजकृया समेत गरेको नभै सो समेत मैले नै गरेको छु सो कुरा तपसिलका साक्षी प्रमाण बुझिएमा पनि प्रष्ट हुनेनै छ । दाजु अक्कलवहादुरलाई विपक्षीले वेपत्ता पारेपछि मैले खोज तलास गर्दै जाँदा भारतको उडीसा राज्यको राहुल किल्ला भन्ने ठाउँमा रोजगार गरी वसेको अवस्थामा फेला पारी वारम्वार भेट घाट गर्न जाने गर्दथे । जुन कुरा भारतमा संगै रोजगार गरी वस्ने विपक्षले फिरादमा उल्लेख गर्नु भएको गाउँकै शिव खत्रीलाई बुझिएमा स्पष्ट हुनेनै छ । सवुद प्रमाणको आधारमा विपक्षीलाई मेरो विरुद्धमा फिराद गर्ने हकदैया अ.वं. ८२ नं. ले प्रदान नगरेको हुँदा विपक्षीको फिराद अ.वं. १८० नं. बमोजिम खारेज गरी पाउँ खिचोला मेटाई अपुताली हक कायम गरी पाउँ भन्ने दावी समेत अ.वं. ७२ नं. को प्रतिकुल हुँदा र मैले हटक खिचोला समेत नगरेको हुँदा फिराद दावीमा उल्लेखित सम्पूर्ण जग्गामा मेरो अपुताली हक कायम गरी मेरा नाउँमा नामसारी गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र ।

४.    वाजे जयवीर तिमिल्सीनाका २ श्रीमतीमा जेठी श्रीकलाका २ भाई छोरामा जेठा मनवहादुर निजका छोरा अक्कलवहादुर हुन । कान्छा मेरा वाजे मेहरमान, मेहरमानका छोरा मेरा पति नरवहादुर जेठी पट्टीको हाँगाको र कान्छी मोतिकलाका छोरा खड्गवहादुर खडकवहादुरका छोरा यी प्रतिवादी कृष्णवहादुर तिमिल्सीना हुन् । मेरा लोग्ने नरवहादुर र अपुताली पर्ने एकै स्वमात्री पट्टीका दाजुभाई नाता पर्ने हुँदा मेरो फिराद दावी बमोजिम अपुताली मेरो हक कायम गरी पाउँ भन्ने समेत व्यहोराको वादी नर वहादरको मुद्दा सकार गर्ने मैया तिमिल्सीनाले गरेको वयान ।

५.    वादी प्रतिवादी एउटै हाँगाका होइनन् । साझा वाजे जैवीरका दुई श्रीमती मध्ये जेठी श्रीकला कान्छी मोतिकला हुन् । जेठी म प्रतिउत्तरवाला र अपुताली पर्ने अक्कलवहादुरकी हजुरआमा हुन । उनी तर्फका २ छोरा मध्ये जेठा वावु खडगवहादुर कान्छा अपुताली पर्ने अक्कलवहादुरका वावु मनवहादुर हुन कान्छी तर्फको एक भाई छोरा मेहरमान हुन् । यिनै मेहरमानका छोरा विपक्षी वादी नरवहादुर हुन । यसरी पुस्तावारीको हिसाववाट पनि विपक्ष र अपुताली पर्ने अक्कलवहादुर समान पुस्ताका हुन् तापनि अपुताली पर्ने अक्कलवहादुर र म प्रतिवादी एउटै नाल तर्फका हौं । विपक्ष नरवहादुर वेमात्री पट्टीका दाजु भाई हुन् । यसरी पुस्तावाट पनि नजिकको हकवाला पर्ने हुँदा अक्कलवहादुरको हक सम्पत्ति मेरो कायम गरी मर्ने अक्कलवहादुर र कृष्णवहादुर मेरै तर्फको कायम गरी पाउँ भन्ने समेत व्यहोराको प्र.वा. ध्रुववहादुर खत्रीले गरेको वयान ।

६.    यसमा मु. ऐन अपुतालीका महलको १२ नं. मा भएको कानूनी प्रावधान समेतलाई मध्ये नजर राखी हेरिदा वादी र अक्कलवहादुर १ हाँगाका र प्रतिवादी वेगल हाँगाको सन्तान भएको र पुस्ता समान भएपनि कानूनले निर्दिष्ट गरेकोमा कानून बमोजिमनै गर्नु पर्ने हुँदा अपुतालीको प्रयोजनको लागी स्व. अक्कलवहादुरको नजिकको हकवाला वादीनै देखिएकोले स्व. अक्कलवहादुरको सम्पत्तिमा वादीको अपुताली हक कायम हुने ठहर्छ । वादीको अपुताली हकको जग्गामा प्रतिवादीले खिचोला गरेको समेत ठहर्छ भन्ने समेत व्यहोराको मिति २०५६।८।२८ को शुरु कास्की जिल्ला अदालतको फैसला ।

७.    उक्त फैसलामा चित्त वुझेन । म स्व. अक्कलवहादुरको नजिकको हकदार हुँदा हुँदै विपक्षीलाई नजिकको हकदार कायम गर्ने गरी भएको शुरु कास्की जिल्ला अदालतको मिति २०५६।८।२८ को फैसला त्रुटिपूर्ण हुँदा वदर गरी मेरो साक्षी र सर्जमिनलाई समेत मध्यनजर राखी मेरो प्रतिउत्तर जिकिर अनुसार अपुताली हक कायम गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको पुनरावेदन अदालत पोखरामा परेको पुनरावेदन पत्र ।

८.    यसमा पुनरावेदक प्रतिवादी र प्रत्यर्थी वादीको विचमा नाता र पुस्तावलि प्रमाणको आधारमा स्पष्ट नपारी अनुमानको आधारमा कायम गरिएको देखिनाले शुरुको फैसला फरक पर्न सक्ने देखिंदा अ.वं. २०२ नं. तथा पु.वे.अ. नियमावली, २०४८ बमोजिम प्रत्यर्थी झिकाई आएपछि नियमानुसार गरी पेश गर्नु भन्ने मिति २०५७।३।१९।२ को पुनरावेदन अदालतको  आदेश ।

९.    यसमा प्रत्यर्थी वादीले जैविरका २ श्रीमती मध्ये श्रीकला र मोतीकला भै श्रीकलाका तर्फवाट मानवहादुर र मेहरमानको जन्म भएको मानवहादुरका छोरा अक्कलवहादुरको मृत्यू भै अपुताली परेको र आफु मेहरमानको छोरा भै स्वमात्री पट्टिका भाई भएको र प्रतिवादी कृष्णवहादुर विमात्री मोतीकला पट्टीका भाई भएकाले निज अक्कलवहादुरको एकमात्र स्वमात्री हकदार आपूm भएकोले आफ्नो नाममा अपुताली हक कायम हुनु पर्ने दावी लिएको पाईन्छ भन्ने प्रतिवादीले पनि आफु मृतक अकलवहादुरको स्वमात्री तर्फको भाई भएको र प्रतिवादी विमात्री तर्फको भाई भन्ने भै यी वादी प्रतिवादीको वंशावलीमा विवाद भएको देखिन्छ । सो सम्वन्धमा वादी प्रतिवादीको वयान गराउदा समेत यकिन तथ्य खुल्न आएको देखिदैन । वुझीएका साक्षीहरुवाट समेतवाट सो कुरा यकिन हुन सकेको पाईदैन । उनिहरु मध्ये केहीले अपुताली हक दुवैले वरावर पाउने हो भनी वकपत्र गरेको पाइन्छ । यसरी वादी प्रतिवादी तथा निजका साक्षीहरु समेतवाट पुस्तावली यकिन हुन नआएको र वादी प्रतिवादीहरु समान पुस्ताका देखिंदा स्व. अक्कलवहादुरको अपुताली वादी प्रतिवादी दुवैले आधी आधी वाडी खान पाउने अवस्था देखिदा पूरै सम्पत्तिमा वादीको अपुताली हक कायम हुने ठहर्‍याएको कास्की जिल्ला अदालतको मिति २०५६।८।२८ को फैसला केही उल्टी हुन्छ । अक्कलवहादुरको अपुतालीको आधा प्रतिवादीका नाउँमा हक कायम हुने ठहर्छ भन्ने व्यहोराको पुनरावेदन अदालत पोखराको  २०५७।९।२३ को फैसला ।

१०.    पुनरावेदन अदालतको फैसलामा चित्त वुझेन । स्व. अक्कलवहादुर र मेरा पति स्व. नरवहादुर स्वमात्री पट्टीका दाजुभाई र विपक्षी कृष्णवहादुर विमातृ पट्टिका भएको भन्ने कुरा मिसिल संलग्न प्रमाण तथा वुझीएको साक्षी सर्जमीनवाट पुष्टी भएको छ । अपुतालीको १२ नं. मा स्वमात्री पट्टिकाले मात्र अपुताली खान पाउने भन्ने प्रष्ट व्यवस्था भएको, स्व. अक्कलवहादुरको नाता प्रमाणित मेरा पतिले गर्नु भएको छ । नाता प्रमाणित गर्ने व्यक्तिनै नजिकको हकदार भै अपुताली खान पाउने भनी यस अदालतवाट (ने.का.प. २०५२ अंक ६१, नि.नं. ५०३९) सिद्धान्त प्रतिपादन समेत भएको परिप्रेक्ष्यमा पूनरावेदन अदालतवाट वस्तुनिष्ठ प्रमाणको मूल्यांकन नगरी पुस्तावारी यकिन नभएको भन्ने आत्मनिष्ठ आधारवाट अपुताली सम्पत्ति वादी प्रतिवादी दुवैले पाउने भनी भएको पुनरावेदन अदालतको फैसला उपरोक्त कानून र प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल भएकोले उक्त फैसला वदर गरी कास्की जिल्ला अदालतको फैसला सदर कायम गरी पाउँ भन्ने व्यहोराको वादी नरवहादुरको मु.स. गर्ने मैया तिमिल्सीनाको यस अदालतमा परेको पुनरावेदन पत्र ।

११.    पुनरावेदन अदालतको फैसलामा चित्त वुझेन । म पुनरावेदक कृष्णवहादुर स्व अक्कलवहादुरको स्वमात्री पट्टिका भाई भएको निज अक्कलवहादुर विदेश गएका वखत निजको जग्गाको तिरो भरो तथा नापीका समयमा निजको जग्गा निजको नाउँमा मैलेनै दर्ता गरि दिएको, साक्षी सर्जमीनका केही व्यक्तिले नजिका हकदार मलाई उल्लेख गरेको, वादीले मालपोत कार्यालयमा दिएको निवेदन र अदालतमा दिएको फिरादमा एकरुपता नभएको, निजको सम्पति मेरो जिम्मामै रहेको भन्ने कुरा तिरो तिरेको रसिद तथा निजको जग्गा नापी गर्दा मेरै हस्तेवाट दर्ता गरि दिएको, विपक्षी स्वयंले मिति ०३२।११।५ मा पशुपति तिमिल्सीनालाई जग्गा राजीनामा पारित गरि दिंदा पारित लिखतको कैफियत महलमा मेरो जेठी आमा तर्फ कोही सन्तान नभएको र वावु मेहरमान तर्फपनि कोही दाजुभाई नभएको भनी उल्लेख भएको अवस्थामा हाल, आएर अपुताली खान पाउने आशाले मृतक अक्कलवहादुरलाई आफ्नो स्वमात्री तर्फको भाई भन्ने विपक्षीको भनाई प्रमाण ऐन, २०३१ को दफा ३४ प्रतिकूल छ । उपरोक्त आधार प्रमाणवाट विवादित अपुतालीको जग्गा म पुनरावेदकको मात्र अंश हकको देखिएको अवस्थामा प्रमाणको सही विवेचना नगरी दुवै वादी प्रतिवादीले आधी आधी पाउने भनी हचुवाको आधारमा भएको फैसला त्रुटिपूर्ण हुँदा पुनरावेदन अदालतको फैसला वदर गरी प्रतिउत्तर जिकिर बमोजिम अपुतालीको जग्गा मेरो हक लाग्ने गरी न्याय इन्साफ पाउँ भन्ने व्यहोराको प्रतिवादीको यस अदालतमा परेको पुनरावेदन पत्र ।

१२.   नियमबमोजिम पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको मिसिल अध्ययन गरी पूनरावेदक वादी मु.स. गर्ने मैया तिमिल्सीनाको तर्फवाट विद्वान अधिवक्ता श्री रविराज भण्डारीले जिल्ला प्रशासन कार्यालयबाट भएको नाता प्रमाणितवाट नजिकको हकदार यी वादी हुन् भन्ने कुरा पुष्टी भै रहेको प्रस्तुत मुद्दामा सर्जमीन मुचुल्कामा यीनै वादीका स्व पतिले काजकृया गरेको भनी उल्लेख गरेको सो कुरालाई साक्षी चित्रवहादुर कार्कीको वकपत्रले पुष्टी गरेको, अवस्थामा मिसिल संलग्न प्रमाणको वस्तुनिष्ठ मूल्यांकन नगरी वादी प्रतिवादी समान हैसियतका भएकोले समान हकलाग्ने भनी भएको फैसला त्रुटीपूर्ण हुँदा उक्त फैसला वदर गरी शुरु फैसला सदर कायम हुनु पर्छ भनी गर्नु भएको वहस सुनियो ।

१३.   विद्वान कानून व्यवसायिको वहस समेत सूनि मिसिल अध्ययन गरी विचार गर्दा स्व. अक्कलवहादुर म वादीका स्वमात्री पट्टिको भाई भएको, अक्कलवहादुरको काज कृया गरी खर्च समेत मबाट नै भएको जिल्ला प्रशासन कार्यालय कास्कीको मिति ०५३।४।१६ को नाता प्रमाणित भएको प्रमाणपत्रमा मृतक अक्कलवहादुरको भाइ नरवहादुर भन्ने उल्लेख भएको समेतका आधारवाट स्व. अक्कलवहादुरको सम्पत्ति अपुताली हक कायम गरिपाऊँ भन्ने वादीको फिराद परेको देखिन्छ । वादीले दिएको पुस्तावरी सत्य होइन । मृतक अक्कलको स्वमात्री तर्फको भाइ म र वादी विमात्री तर्फको हुन् । निज मृतकको काजकृया म वाट नै भएको र निज विदेशमा रहेको अवस्थामा निजको जग्गाको तिरो भरो मैलेनै गरेको र नापीका वखत समेत म संरक्षक भै मेरै हस्तावारीवाट निजको जग्गा दर्ता गरि दिएको समेतका आधारवाट अपुताली हक मेरो कायम हुनु पर्ने हो भन्ने प्रतिउत्तर जिकिर भएकोमा वादी नरवहादुर र मृतक अक्ललवहादुर एक हाँगाका र प्रतिवादी कृष्णवहादुर वेगल हाँगाका देखिएकोले मृतक अक्कलवहादुरको नजिकको हकवाला वादी भएको देखिंदा अपुतालीको सम्पत्तिमा वादीको अपुताली हक कायम हुने ठहर्छ भनी भएको शुरु फैसला उपर परेको पुनरावेदनमा वादी प्रतिवादीको पुस्तावारी सम्वन्धमा वादी प्रतिवादी स्वयंले यकिन गर्न नसकेको र यी दुवै समान पुस्ताका दाजुभाई देखिंदा स्व. अक्कल को सम्पतिमा वादी प्रतिवादी दुवैको समान हक लाग्ने ठहर्छ भनी शुरु फैसला केही उल्टी गरी भएको पुनरावेदन अदालत पोखराको फैसला उपर वादी प्रतिवादी दुवै पक्षको यस अदालतमा पूनरावेदन पर्न आएको देखिंदा पूनरावेदन अदालतको फैसला मिले नमिलेको के रहेछ ? पूनरावेदकको पूनरावेदन जिकिर पुग्नसक्ने हो होइन भन्ने सम्वन्धमा निर्णय दिनु पर्ने देखियो ।

१४.   निर्णयतर्फ विचार गर्दा अक्कलवहादुरको मृत्यू भै अपुताली परेको र निजको नजिकको हकदार म भएको भनी पूस्तावारी समेत उल्लेख गरी वादीले अपुतालीको दावी गरी सो जग्गा प्रतिवादीले खिचोला गरेकोले खिचोला समेत मेटाई पाउँ भनी फिराद गरेको देखिन्छ । मृतक अक्कलवहादुरको नजिकको हकदार वादी होइन म हुँ भनी प्रतिवादीको प्रतिउत्तर जिकिर भएतापनि निजले आफ्नो कथन प्रमाण ऐन, २०३१ को दफा २८ बमोजिम सप्रमाण पुष्टी गर्न सकेको देखिदैन । प्रस्तुत मुद्दाको फिराद मिति ०५३।१०।१५ मा दायर भएकोमा सो फिराद पर्नु अगावै मिति ०५३।४।१६ मा जिल्ला प्रशासन कार्यालय कास्कीले दिएको नाताको प्रमाणित पत्रमा यी वादीको पति नरवहादुर तिमिल्सिना लाई मृतकको भाई (कान्छो वावुको छोरा) भनी उल्लेख भएको पाईन्छ । जिल्ला प्रशासन कार्यालय कास्कीको उक्त नाता प्रमाणपत्रमा यी प्रतिवादीको नाम उल्लेख नभएपछि यी प्रतिवादीले उक्त नाता प्रमाणका विरुद्ध उजुरवाजुर गरी नाता कायम गराउनु पर्नेमा सो भए गरेको वा उक्त नाता प्रमाणपत्रमा विवाद उठाएको भन्ने कुरा प्रतिवादीले कहि कतै उल्लेख गर्न सकेको पाईदैन । अधिकार प्राप्त निकायवाट नाता प्रमाणित गरी दिएको प्रमाणलाई सप्रमाण खण्डन गर्न नसकेको अवस्थामा त्यस्तो प्रमाण अग्राह्य हुन सक्ने अवस्था पनि देखिदैन । यस्तै विषय समावेश भएको पुनरावेदक प्रतिवादी चन्द्रवहादुर पिला श्रेष्ठ विपक्षी वादी तुल्सीवहादुर प्रजापती भएको निखनाई पाउँ मुद्दामा वादीले लिएको दावी खण्डन गरी प्रतिवाद गर्ने प्रतिवादीलेनै सो कुराको प्रमाण पुर्‍याउनु पर्ने वाध्यात्मक व्यवस्था प्रमाण ऐन २०३१ को दफा २८ ले गरेको पाइन्छ । प्रतिवादीले सो अनुसार प्रमाण पुर्‍याउन सकेको पाईदैन । जिल्ला प्रशासन कार्यालय भक्तपुरले गरि दिएको नाता प्रमाणितमा पनि प्रतिवादीले विवाद उठाएको पाइदैन । अधिकार प्राप्त अधिकारीले नाता प्रमाणित गरी दिएको कुरामा प्रतिवादीले विवाद नउठाएपछि ( नाता प्रमाणित गरि दिएको व्यक्ति) वादीलाईनै नजिकको हकवाला मान्नु पर्ने भनी यस अदालतवाट सिद्धान्त (ने.का.प. २०५२ अंक १, नि.नं. ५०३९ पृष्ठ ६९) समेत प्रतिपादन भएको देखिएको अवस्थामा पुस्तेवारी यकिन नभएको भन्ने समेतको आधारवाट वादी प्रतिवादी दुवैलाई समान हैसियतका हकवाला भनी ठहर गरेको पुनरावेदन अदालत पोखराको मिति ०५७।९।२३ को फैसला त्रुटिपूर्ण देखिंदा केही उल्टी भै वादी स्व अक्कलका स्वमात्री तर्फका हकवाला भएको देखिएकोले दावी बमोजिम स्व. अक्कलवहादुरको अपुतालीमा वादीको अपुताली हक कायम हुने ठहर्‍याएको शुरु कास्की जिल्ला अदालतको मिति २०५६।८।२८ को फैसला मिलेको देखिंदा सदर हुने ठहर्छ । प्रतिवादीको पूनरावेदन जिकिर पूग्न सक्दैन । अरुमा तपसिल बमोजिम गर्नु ।

 

तपसिल

माथि इन्साफ खण्डमा उल्लेख भए बमोजिम पुनरावेदन अदालतको फैसला केही उल्टी भै शुरु फैसला सदर हुने ठहरेकोले पूनरावेदन अदालत पोखराको मिति ०५७।९।२३ को फैसला बमोजिमको लगत कायम नरहने हुँदा सो फैसला बमोजिम लगत भए कट्टा गरी शुरु कास्की जिल्ला अदालतको मिति २०५६।८।२८ को फैसला बमोजिमको लगत कायम गर्नु भनी शुरु कास्की जिल्ला अदालत तहसिल शाखामा लेखि पठाई दिनु ––––

शुरु फैसला बमोजिम वादीले प्रतिवादीवाट भरी पाउने ठहरेको कोर्टफि रु १५५०। प्रतिवादीले पूनरावेदन    अदालत पोखरामा पूनरावेदन दायर गर्दा मिति ०५६।११।१६ र.नं. १२३६ वाट  धरौट

राखेको देखिंदा उक्त रकम फिर्ता पाउँ भनी कानूनको म्याद भित्र वादीको द्ररखास्त परे नियमानुसार फिर्ता दिनु भनी पूनरावेदन अदालतमा लेखि पठाई दिनु

वादीले यस अदालतमा पु.वे. गर्दा कोर्टफि रु ११६। राखेको देखिंदा सो कोर्टफि भरी पाउँ भनी वादीको ऐन बमोजिम निवेदन परे कानुन बमोजिम भराई दिनु भनी शुरु कास्की जिल्ला अदालतमा लेखि पठाई  दिनु ––––

दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार वुझाई दिनु .....४

 

उक्त रायमा सहमत छु ।

 

न्या. परमानन्द झा

 

 

ईति सम्वत् २०६२ साल भाद्र ९ गते रोज ५ शुभम––––

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु