निर्णय नं. ७५५८ - मोही कायम ।

निर्णय नं.७५५८ ने.का.प.२०६२ अङ्क ६
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री खिलराज रेग्मी
माननीय न्यायाधीश श्री परमानन्द झा
सम्वत २०५० सालको दे.पु.नं. – ९३०१
फैसला मितिः २०६२।१।१६।६
मुद्दा – मोही कायम ।
पुनरावेदक / वादीः भक्तपुर जिल्ला चपाचो गा.वि.स. वडा नं. ५ घर भै हाल मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ बस्ने तुलसीमायाँ प्रजापति
विरुद्ध
प्रत्यर्थी / प्रतिवादीः भक्तपुर जिल्ला बालकुमारी गा.वि.स. वडा नं. १ घर भै हाल मध्यपुर ठिमी नगरपालिका वडा नं. १४ मा बस्ने भक्तलाल श्रेष्ठ
§ मोही नभएको जग्गामा मोही हुनको लागि भूमि सम्बन्धी ऐन, २०२१ को दफा ३४ ले दुबै पक्षबीच कबुलियत गरिएको हुनुपर्नेमा न त जग्गाधनी र यी वादी बीच जग्गा जोतभोग गर्न दोहोरो कबुलियत भएको छ न वादीको लोग्नेको नाउँमा मोही दर्ता भएको छ । यस्तो अवस्थामा एकबाली लगाएमा मोही कायम हुन्छ भन्ने तर्कको कुनै आधार नदेखिने ।
§ साविक मोही जेठाजु भएको कुरा देखाई नामसारीबाट हक हुने भन्ने वादीको मुख्य दावी रहेको हुँदा जोतको आधारमा मोही कायमको विषय प्रस्तुत मुद्दामा गौण रहेको छ । दोहोरो तथ्य र प्रकृति देखाई दावी गर्नुले पनि वादीको दावी विरोधाभाषपूर्ण हुने ।
(प्रकरण नं.११)
§ जोत हकको दावी गर्दाको समयमा विद्यमान कानूनले दाजुको मोही हक भाइमा सर्ने व्यवस्था नगरेको हुँदा जेठाजुको मोही हक लोग्नेमा र निजको मृत्युपछि मेरो नाममा दर्ता गरिपाऊँ भन्ने पुनरावेदन जिकिरसँग सहमत हुन नसकिने ।
§ प्रस्तुत मुद्दामा मोहीको मृत्यु भै भाइ र भाइको मृत्यु भै बुहारीले मोही हक दावी गर्न आएकोमा भाइमा मोही हक सर्ने व्यवस्था तत्कालीन भूमिसम्बन्धी ऐनमा भएको नदेखिंदा ०५३ मा भएको भूमिसम्वन्धी ऐनको संशोधनबाट मात्र मोही नामसारी हक प्राप्त गर्न सक्ने नाताको व्यक्तिले ०२२ सालमैं मरेका जेठाजुको नामको मोही हक नामसारी गर्न पाउने भन्न नमिल्ने ।
(प्रकरण नं.१२)
पुनरावेदक वादी तर्फवाटः विद्वान अधिवक्ता श्री हेमराज अधिकारी
प्रत्यर्थी प्रतिवादी तर्फवाटः
अवलम्वित नजीरः
फैसला
न्या.खिलराज रेग्मीः न्याय प्रशासन ऐन, २०४८ को दफा ८(१) अनुसार पुनरावेदन अदालत ललितपुरले ०५९।१।३१ मा गरेको फैसला उपर वादीको तर्फबाट पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :–
२. मेरा जेठाजु नाताका वुर कुमार भन्ने वुद्धि कुमार प्रजापतिको जोत कायम भएको भक्तपुर जिल्ला वालकुमारी गा.वि.स. वडा नं. ६ कि.नं. ५९१ को क्षेत्रफल १–१४–२ जग्गाका साविक जोताहा जेठाजु ०२२ सालमा, निजकी श्रीमती डल्ली प्रजापति ०१९ सालमैं आ–आफ्नो कालगतिले परलोक हुनु भै निजहरुको कुनै हकदार छोराछोरी नभै नजिकका हकदार निज जोताहा वुद्धि कुमारका भाइ मेरा पति तुलसी बहादुर प्रजापतिले, साविक जोताहाको परलोक पश्चात देखि जोती कमाई आएकोमा पति तुलसी बहादुर पनि ०४९ सालमा आफ्नो कालगतिले परलोक हुनु भै हाल उक्त जग्गा म निवेदीकाले जोती कमाई आएकोले जोत कायम गरिपाऊँ भन्ने वादी दावी ।
३. विवादित जग्गामा मोही विपक्षीका पति तुलसी बहादुर होइनन् र निजले कहिल्यै कमाएको छैन । मोही वुृद्धि कुमार विपक्षीको जेठाजु नाताको भएको र जेठाजुको नामको मोहीयानी भाइ बुहारीको नाउँमा प्राप्त हुन नसक्ने भएकोले विवादित वालकुमारी वडा नं. ६ कि.नं. ५९१ को जग्गाको साविक मोही वुद्धि कुमारका नामबाट विपक्षीको नाममा मोहीयानी नामसारी तथा कायम गरिपाऊँ भनि दिनु भएको निवेदन दावी खारेज गरी साविक मोही वुद्धि कुमारको नामको मोहीयानी लगत समेत कट्टा गरिपाऊँ भन्ने प्रतिवादीको प्रतिउत्तरपत्र ।
४. विपक्षीले पेश गरेको भरपाईको प्रतिलिपी सम्बन्धमा प्रतिवादी वा. लाई सोधनी गर्दा जग्गा कमाउन लिंदा मोही र जग्गाधनी बीच तोकिए बमोजिमको लिखत कबुलियत गरी त्यसको दोहोरी दुबै पक्षले लिई दिई राख्नुपर्ने र दुबैको सहीछाप भएको कबुलियत गरे भएको भन्ने विपक्षीको दावी नरहेको स्थितिमा जग्गा कमाई बाली बुझाई भरपाई लिएको भन्ने पेश गरेको भरपाईकै आधारमा मोही कायम गर्ने दफा ३४(१) ले नमिल्ने प्रष्ट देखिदा विपक्षीले पेश गरेको भरपाईका सम्बन्धमा केही भनि राख्नु पर्ने रहेन भन्ने प्रतिवादीको बयान कागज ।
५. जोत कायम गरी पाउन भूमि सम्बन्धी ऐन, २०२१ को चौथो संशोधन पूर्व दावी लिई आएको निवेदीका, मोहीको एकासंगोलकी बुहारी नाताकी भएकी र निजले मृतक मोहीको शेषपछि मोहीको एकासंगोलकी परवारकी सदस्यको हैसियतले जोतभोग गरी बाली बुझाउँदै आएको आधारमा भूमि सम्बन्धी ऐन, २०२१ को तत्कालिन दफा २५(२) समेत आकर्षित हुने हुँदा उक्त जग्गामा तुलसीमायाँ प्रजापतिको नाममा मोही हक कायम हुने ठहर्छ भन्ने समेत व्यहोराको शुरु भूमिसुधार कार्यालय भक्तपुरको मिति ०५७।१२।१७ को फैसला ।
६. शुरु भूमिसुधार कार्यालयले मलाई हराई गरेको फैसलामा चित्त बुझेन । भूमि सम्बन्धी ऐन, २०२१ को दफा ३४(१) बमोजिमको कबुलियतनामा नभएको र सो कागज स्थानीय पंचायतमा दाखिल नभएकोलाई मान्यता दिइने छैन भनि डिल्लीप्रसाद विरुद्ध भूमिसुधार कार्यालय काठमाडौं समेत ने.का.प. ०४२ पृष्ठ २२३३, मन विरुद्ध बलरामप्रसाद समेत ने.का.प. ०४३ पृष्ठ ९९५ डिल्लीप्रसाद विरुद्ध नन्दकुमार समेत ने.का.प. ०४६ पृष्ठ ७३२ समेतमा सिद्धान्त प्रतिपादन भइसकेको हुँदा निज वादी प्रत्यर्थीलाई मोही कायम गराई गरेको फैसला नैं त्रुटीपूर्ण रहेको छ । बाली बुझाएको आधारमा पनि मोही हक कायम गर्न नमिल्ने देखिन्छ । शुरुको निर्णय बदर गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी भक्तलाल मैती श्रेष्ठको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदनपत्र ।
७. यसमा भूमि सम्बन्धी ऐन, २०२१ को चौथो संशोधन पूर्व ०५२।१०।२४ मा परेको जोत कायम निवेदनमा जेठाजुको नामको मोहीयानी हक भाइ बुहारीको नाममा सर्ने अवस्था नभएको तथा भूमि सम्बन्धी ऐन, २०२१ को दफा २५(२) अनुसारको मोही हुनको लागि दफा ३४ बमोजिमको कबुलियत हुनुपर्नेमा सोको अभावमा मोही कायम गर्ने गरेको शुरु भूमिसुधार कार्यालय भक्तपुरको फैसला नमिली फरक पर्ने देखिंदा छलफलको निमित्त अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाई आएपछि नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत पाटनको आदेश ।
८. विवादित कि.नं. ५९१ को साविक मोही यी प्रत्यर्थी/वादीका जेठाजु नाताका वुद्धि कुमार प्रजापति भएको तथ्यमा मुख मिलेकै देखियो । निज वुद्धि कुमारको ०२२ सालमा, निजकी पत्नी डल्ली प्रजापतिको ०१९ साल मैं मृत्यु भैसकेको र निजहरुको सन्तान नभएको कुरामा पनि विवाद देखिएन । जेठाजु नाताका व्यक्तिलाई प्राप्त मोहीयानी हक नामसारी गरी मोही कायम गरिपाऊँ भनि प्रत्यर्थीले ०५२ सालमा भूमिसुधार कार्यालयमा निवेदन दिएको देखिन्छ । मोहीको मृत्युपछि मोहीयानी हक सर्ने तत्काल प्रचलित कानूनी व्यवस्थालाई हेर्दा भूमि सम्बन्धी ऐन, २०२१ को दफा २६(१) लाई हेर्र्नुपर्ने हुन्छ । सो दफामा मोहीले कमाई आएको जग्गामा मोही सम्बन्धी निजको हक निजपछि निजको पति पत्नी वा छोराहरु मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुनेछ भन्ने कानूनी व्यवस्था छ । साविक मोही र यी प्रत्यर्थी वादीको जेठाजु बुहारी नाता भएको तथ्यमा विवाद देखिएन । भूमि सम्बन्धी ऐन, २०२१ को चौथो संशोधन पूर्व ०५२।१०।२४ मा परेको जोत कायम निवेदनमा जेठाजुको नामको मोहीयानी हक भाइ बुहारीको नाममा सर्ने कानूनी व्यवस्था नभएको तथा भूमि सम्बन्धी ऐन, २०२१ को दफा २५(२) अनुसारको मोही हुनको लागि दफा ३४ बमोजिमको कबुलियत हुनुपर्नेमा सोको अभावमा मोही कायम गर्ने गरेको शुरु भूमिसुधार कार्यालय भक्तपुरको मिति ०५७।१२।१७।६ को फैसला नमिलेको हुँदा उल्टी हुने ठहर्छ भन्ने पुनरावेदन अदालत पाटनको फैसला ।
९. विवादित जग्गा भूमि सम्बन्धी ऐन, २०२१ लागू हुनु पूर्व देखिनैं हामीहरुको परिवारले जोती कमार्ई आएको कुरामा विवाद छैन । पहिले देखिनैं कमाई आएकोमा कबुलियत र रसिद चाहिंदैन, मैले ०५२ मा निवेदन दिंदाको अवस्थामा भूमि सम्बन्धी ऐन, २०२१ को दफा २५(२) मा कुनै व्यक्तिले मुख्य वार्षिक उब्जनीको एकबाली सम्म मोहीको हैसियतले कमाएछ भने निज स्वतः सो जग्गाको हक प्राप्त मोही हुने व्यवस्था गरेको छ र सो जग्गा मैले जोती कमाई जग्गाधनीलाई बाली बुझाउँदा प्रत्येक साल जग्गाधनीले मोही मानी भरपाई समेत दिइआएको छ । यस्तो अवस्थामा मोही जोत कायम गर्नुपर्नेमा मोही कायम गरेको फैसला उल्टी हुने गरी गरेको पुनरावेदन अदालत पाटनको फैसला बदर गरी शुरु भूमिसुधार कार्यालय भक्तपुरबाट भएको फैसलालाईनैं सदर गरिपाऊँ भन्ने तुलसीमायाँ प्रजापतिको यस अदालत समक्ष परेको पुनरावेदनपत्र।
१०. नियमबमोजिम दैनिक पेशी सूचीमा चढी पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदनपत्र सहितको मिसिल अध्ययन गरी पुनरावेदक/वादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री हेमराज अधिकारीले मेरो पक्षले ०५२ सालमा निवेदन दिएकोमा मुख्य उब्जनीको एकबाली लगाएमा मोही कायम हुने कानूनले व्यवस्था गरेको र मेरो पक्षले हालसम्म जोतकमोद गरी रहेको हुँदा मोही कायम हुनुपर्नेमा मोही कायम नगर्ने गरी पुनरावेदन अदालतले गरेको फैसला त्रुटीपूर्ण हुँदा बदर गरिपाऊँ भनि गर्नुभएको बहस समेत सुनी निर्णयतर्फ विचार गर्दा निम्न प्रश्नहरुको निरोपण गरी पुनरावेदन अदालत पाटनले मोही कायम नहुने ठहराई गरेको फैसला मिले नमिलेको के रहेछ सो सम्बन्धमा निर्णय दिनुपर्ने हुन आएको छ ।
(क) जेठाजुको मृत्युपछि मोही हक भाइ बुहारीमा भूमि सम्बन्धी ऐन, २०२१ को चौथो संशोधन पूर्वको अवस्थामा सर्ने, नसर्ने के हो ?
(ख) वादीको पुनरावेदनको जिकिर पुग्न सक्ने नसक्ने के हो ?
११. प्रथमतः पुनरावेदक वादीले जेठाजु वुद्धि कुमार प्रजापति मोही भएको जग्गा जेठाजुको मृत्यु पश्चात लोग्नेको हुने र लोग्नेको मृत्यु भैसकेकोले मेरो मोही हक कायम गरिपाऊँ भनि दावी लिएको देखिन्छ । मोही नभएको जग्गामा मोही हुनको लागि भूमि सम्बन्धी ऐन, २०२१ को दफा ३४ ले दुबै पक्षबीच कबुलियत गरिएको हुनुपर्ने व्यवस्था गरेको छ । प्रस्तुत मुद्दामा न त जग्गाधनी र यी वादी बीच जग्गा जोतभोग गर्न दोहोरो कबुलियत भएको छ न वादीको लोग्नेको नाउँमा मोही दर्ता भएको जग्गा नैं हो । यस्तो अवस्थामा एकबाली लगाएमा मोही कायम हुन्छ भन्ने तर्कको कुनै आधार देखिएन । तस्मात् साविक मोही जेठाजु भएको कुरा देखाई नामसारीबाट हक हुने भन्ने वादीको मुख्य दावी रहेको हुँदा जोतको आधारमा मोही कायमको विषय प्रस्तुत मुद्दामा गौण रहेको छ । दोहोरो तथ्य र प्रकृति देखाई दावी गर्नुले पनि वादीको दावी विरोधाभाषपूर्ण हुन पुगेको छ ।
१२. अब जेठाजुको मोही हक निजको सन्तान कोही नहुँदा मेरो लोग्नेमा र लोग्नेको मृत्युपछि मेरो मोही हक कायम हुनुपर्ने भन्ने जिकिरको सम्बन्धमा हेर्दा पुनरावेदक वादीले लोग्नेको मृत्यु पश्चात ०५२ मा विवादित जग्गा आफ्नो नाउँमा जोत कायम गरिपाऊँ भनि निवेदन गरेको देखिन्छ । निवेदकले निवेदन दिंदाको अवस्थामा भूमि सम्बन्धी ऐन, २०२१ को चौथो संशोधन भैसकेको देखिंदैन । तत्कालिन भूमि सम्बन्धी ऐन, २०२१ को दफा २६(१) ले “मोही मरेमा मोहीयानी हक निजको पती, पत्नी वा छोराहरु मध्ये जग्गाधनीले पत्याएको व्यक्तिलाई प्राप्त हुने व्यवस्था गरेको देखिन्छ । यी पुनरावेदक वादी उपरोक्त नाता भित्रको नभै भाइ बुहारी नाताकी हुन् भन्ने कुरा निजको उजुरी निवेदनको व्यहोराबाट देखिइ रहेकै छ र सो मा विवाद उठेको पनि पाइदैन । भूमि सम्बन्धी ऐन, २०२१ मा भएको चौथो संशोधन (०५३) ले मात्र दाजुभाइमा पनि मोही हक प्राप्त हुने व्यवस्था थप गरेको देखिन्छ । जोत हकको दावी गर्दाको समयमा विद्यमान कानूनले दाजुको मोही हक भाइमा सर्ने व्यवस्था नगरेको हुँदा जेठाजुको मोही हक लोग्नेमा र निजको मृत्युपछि मेरो नाममा दर्ता गरिपाऊँ भन्ने पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन । पुनरावेदकका कानून व्यवसायीले उल्लेख गर्नुभएको ने.का.प. ०६१, नि.नं. ७३३८, पृष्ठ २२७ मा प्रतिपादित सिद्धान्तमा बाबुको मृत्यु पश्चात एकमात्र छोरा भएकोमा मोही नामसारी हुन बाँकी अवस्थामानैं निजको पनि मृत्यु हुँदा बुहारीको नाममा मोही नामसारी हुने गरी सिद्धान्त प्रतिपादन भएको छ । उक्त नजिर प्रस्तुत मुद्दाको तथ्यसँग मिल्न आएको नदेखिंदा आकर्षित हुने देखिएन । प्रस्तुत मुद्दामा मोहीको मृत्यु भै भाइ र भाइको मृत्यु भै बुहारीले मोही हक दावी गर्न आएको छ । भाइमा मोही हक सर्ने व्यवस्था तत्कालिन भूमि सम्बन्धी ऐनमा भएको देखिंदैन । अतः ०५३ मा भएको भूमिसम्वन्धी ऐनको संशोधनबाट मात्र मोही नामसारी हक प्राप्त गर्न सक्ने नाताको व्यक्तिले ०२२ सालमैं मरेका जेठाजुको नामको मोही हक नामसारी गर्न पाउने भन्न नमिल्ने हुँदा पुनरावेदन अदालत पाटनको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या. परमानन्द झा
इति सम्बत् २०६२ साल बैशाख १६ गते रोज ६ शु्भम्–––––––