निर्णय नं. ७५६६ - अंश चलन ।

निर्णय नं.७५६६ ने.का.प.२०६२ अङ्क ७
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी
माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ
संबत् २०६० सालको दे.पु.नं. ..९५८०
फैसला मितिः २०६२।५।२९।४
मुद्दाः अंश चलन ।
पुनरावेदक /प्रतिवादीः काठमाडौं जिल्ला, का.म.न.पा.वडा नं. १३ वस्ने उत्तम महर्जन
बिरुद्ध
प्रत्यर्थी / बादी काठमाडौं जिल्ला, का.म. न.पा. वडा नं. १३ बस्ने गौतम महर्जन
§ प्रमाण ऐन, २०३१ को दफा ६(क) को कानूनी व्यवस्था हेर्दा एकाघर संगका अंशियारहरू मध्ये जुनसुकै अंशियारका नाममा रहेको सम्पत्ति अन्यथा प्रमाणित नभएसम्म सगोलको हो भनी अनुमान गर्नुपर्ने ।
§ एकासगोलको अंशियार आमाबाट संगोलकै अंशियारा छोरा यि पुनरावेदकले गराई लिएको हा.व. लिखतबाट सगोलको सम्पत्तिको प्रकृतिमा कुनै भिन्नता पर्न जाने र बादीको हकमा प्रतिकूल असर पर्न सक्ने अवस्था नदेखिने ।
§ स्त्री अंश धनको आफु खुसी गर्न पाउने सम्पत्ति हो भनी प्रमाणित गर्नुपर्ने भार सो को जिकिर लिने पुनरावेदक उपरै हुनेमा पुनरावेदक प्रतिबादीले लिएको सो जिकिरको पुष्टि हुने कुनै वस्तुनिष्ठ प्रमाण निजले गुजार्न नसकेको अवस्थामा अंश मुद्दा पर्दा जिवित रहेका अंशियारलाई सो सम्पत्ति आधा आधा बण्डा गर्ने गरेको समेत पुनरावेदन अदालतको फैसला अन्यथा देखिन नआउने ।
§ अंश मुद्दा पर्नु अगावै मृत्यु भइसकेकी पुनरावेदक प्रतिबादीको आमाको समेत अंश भाग कायम गरी दावीको घर जग्गाबाट ३ भागको १ भाग मात्र बादीले अंश पाउनु पर्ने हो भन्ने पुनरावेदन जिकिर आधारहिन देखिने ।
(प्रकरण नं.१६)
पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान् अधिवक्ताद्वय श्री पन्नामान तुलाधर र श्री वच्चुसिंह खड्का
प्रत्यर्थी वादी तर्फवाटः उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री बसन्तराम भण्डारी र विद्वान् अधिवक्ता श्री विमल सुवेदी
अवलम्वित नजीरः
फैसला
न्या.केदारप्रसाद गिरीः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) अन्तर्गत पुनरावेदन अदालत पाटनको मिति २०५६।८।१४ को फैसला दोहोर्याई पाउँ भनी प्रतिबादीको निवेदन पर्न आएको प्रस्तुत मुद्दामा यस अदालतबाट दोहोर्याउने निस्सा प्रदान भई पुनरावेदनको लगतमा दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ ।
२. पिता गोविन्द महर्जन तथा माता चिनिमाया महर्जनबाट म फिरादी र बिपक्षी भाईको मात्र जन्म भई हामी दुइ अंशियार हौं । हाँमी एकासगोलमा नै छौं । पिता २०४९ र आमा २०५२ सालमा परलोक भई सक्नु भएको छ । हामी सगोलमा वसी आएकोमा अव सगोलमा वस्न नसकेकोले पैतृक सम्पत्ति अंशवण्डा गरौ भन्दा मलाई घरबाट निकाला गरी आमाको नाममा रहेको म समेतको अंश हक लाग्ने का.जि.टंकेश्वर ताहाचल वडा नं ६ कि.नं. ३० क्षे.फ. ०.५.१.० जग्गा र सो मा वनेको घर समेत मातालाइ झुक्याई मिति २०५१।११।२५ मा घरसारमा लेखिएको लिखतलाई २०५१।११।३० मा पास गरी आफ्ना नाउँमा गराएको कुरा २०५३।२।२५ मा लिखतको नक्कल सारी थाहा पाएँ । उक्त घर म समेतको सगोलको हुँदा सोही घरमा वसी आएको छु । पैतृक सम्पत्ति सवै बिपक्षीको जिम्मा भएकोले तायदाती दाखिल गराई दाखिल भएको सम्पत्तिमा २ भाग लगाई १ भाग अंश छुट्याई अड्डैबाट चलन समेत चलाई पाउँ भन्ने गौतम महर्जनको फिराद पत्र ।
३. बादीले अंश मुद्दामा फिराद गरेको नभई मलाई आमा चिनिमायाले निजका नाउँमा एकलौटी दर्ता भएको का.जि. ताहाचल वडा नं ६ कि.नं. ३० को क्षे.फ. ०.५.१.० जग्गामा वनेको घर २०५१।११।३० मा वकसपत्र पास गरी दिनु भएको आधा आधा खान पाइन्छ कि भनेर मात्र यो फिराद गरेको हो । पैतृक सम्पत्ति अंशवण्डा गर्नुपर्ने म संग केहि छैन । विपक्षीले हामी समेतको सगोल आर्जनबाट खरिद गरेको सम्पत्ति आफ्ना नाउँमा र सासुका नाउँमा राखेको छ । मलाई आमाले वकसपत्र गरि दिएको घर मावली तर्फका हजुर वुवाले पैसा दिई आमा चिनिमायाका नाउँमा खदिर गरेको घर हुँदा आमाले आफुखुस गर्न पाउने सम्पत्ति हो । का.म.न.पा.वडा नं. २९ हाल वडा नं. ३२ को कि.नं. ६६५ को ०.१.३.२ जग्गा र सो मा वनेको घर तथा नु.जि. ओखरपौवामा ३३.१२.१ जग्गा समेत सगोलको आर्जनबाट निजका नाउमा वकसपत्र गराई राखेको रहेछ । विपक्षीले ककनीको जग्गा विक्री गरे उपर जालसाजी मुद्दामा फिराद दिएको छु । पिता गोविन्द महर्जनको अंश हकको सम्पत्ति विपक्षीले एकलौटी हत्याएका छन् । का.म.न.पा.वडा नं. २९ कि.नं. ६६५ को घर जग्गा र विपक्षीको श्रीमती विष्णुदेवी डंगोलका नाउँमा रहेको ऐ. वडा नं. २५ कि.नं. १८० को जग्गा समेतमा मेरो आधा हक लाग्ने गरिपाऊँ भन्ने समेत उत्तम महर्जनको प्रतिउत्तर जिकिर ।
४. बादी र प्रतिबादीका साक्षीहरूले गरेको वकपत्र मिसिल सामेल रहेको ।
५. फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी बादी प्रतिबादीबाट तायदाती फाँटवारी दाखिल गराई पेश गर्नु भन्ने का.जि.अ.का आदेशानुसार तायदाती फाँटवारी पेश भएको ।
६. बादी प्रतिबादी विच रीतपूर्वक पारित वण्डापत्र भएको अवस्था नभएको र व्यवहार प्रमाणबाट छुट्टि भिन्न भई सकेको अवस्था समेत नदेखिंदा पेश भएको तायदाती फाँटवारीमा उल्लेखित सम्पत्ति मध्ये कि.नं. ४८५, ३६७, २३८, ४८४ र १८३ का जग्गालाई ४ भाग लगाई सो मध्ये १ भागलाई पुनः २ भाग गरी त्यसबाट १ भाग सम्पत्ति बादीले अंश पाउने र तायदाती फाँटवारीमा उल्लेखित कि.नं. ३० को घर जग्गालाइ दुइ भाग गरी १ भाग अंश बादीले पाउने, कि.नं. ३१ को जग्गा दर्ता वाँकी देखिएकोले दर्ता भएपछि २ भागको १ भाग अंश पाउने र अंश पाएको सम्पत्ति बादीका नाममा दर्ता समेत हुने ठहर्छ भन्ने समेत काठमाडौं जिल्ला अदालतको २०५५।९।२९ को फैसला ।
७. का.जि. टंकेश्वर वडा नं ६ कि.नं. ३० को घरजग्गा आमाले मलाई २०५१।११।३० मा र.नं. ५८०४ बाट हालैको बकसपत्र गरी दिए उपर आमाको जिवनकाल सम्म कुनै दावी गर्न सकेको छैन । विवादित कि.नं. ३० को घर जग्गाको वकसपत्र वदर एवं जालसाजी नहुने ठहर भएपछि पुनः प्रस्तुत मुद्दामा उक्त घरजग्गामा विपक्षी बादीले अंश पाउने ठहर गरेको फैसलामा अंशवण्डाको १८ नं. को त्रुटीपूर्ण हुँदा का.जि.अ.को फैसला बदर गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिबादीको पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदन पत्र ।
८. यसमा विवादको कि.नं. ३० को घर जग्गा साविकमा सगोलकै सम्पत्तिबाट खरिद गरेको भनी अनुमान गर्नुपर्ने हुँदा वण्डा लाग्ने सम्पत्ति होईन भन्न सकिएन । कि.नं. ३० को घर जग्गाबाट समेत बादीले अंश छुट्याई लिन पाउने गरी शुरु काठमाडौं जिल्ला अदालतबाट २०५५।९।२९ मा भएको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, पाटनको २०५६।८।१४ को फैसला ।
९. विवादित कि.नं. ३० को ०.५.१.० घर जग्गा स्वर्गिय आमा चिनिमाया डंगोल र सहाना देवी प्रधानले २०२१।९।१८ मा संयुक्त रुपमा खरिद गरी सहाना देवीले आमालाइ हक छाडि दिएको घर जग्गा हो । पैत्रिक वा सगोलको आर्जनको सम्पत्ति होईन । उक्त घर जग्गा २०५१।११।३० मा आमाले म निवेदकलाई हालैको बकसपत्र लिखत पास गरी दिए उपर विपक्षीले दिएको वकसपत्र वदर एवं जालसाजी मुद्दामा दावी नठहर्ने फैसला भएबाटै सो सम्पत्ति बण्डा हुने अवस्था छैन । बण्डा लाग्ने भएमा पनि आधा बण्डा लाग्ने नभई तीन भागको १ भाग मात्र बण्डा हुने हुँदा आधा अंश लाग्ने ठहराएको फैसला ने.का.प. २०५४ अङ्क ९, पृष्ठ ४९८ नि.नं. ६४३५ मा प्रतिपादित सिद्धान्त समेतको प्रतिकुल र मुलुकी ऐन दान वकसको १ नं. समेतको विपरीत हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) को अवस्था विद्यमान हुँदा मुद्दा दोहोर्याई का.जि.अ. र पु.वे.अ. पाटनको फैसला बदर गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिबादीको यस अदालत समक्षको निवेदन पत्र ।
१०. यसमा शुरु, रेकर्ड र भए प्रमाण मिसिल समेत झिकाइ आएपछि पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको मिति २०५७।१।१६ को आदेश ।
११. यसमा लगाउको दो.नि.नं. ६२०७ को वकसपत्र बदर मुद्दामा यस अदालतबाट मुद्दा दोहोर्याउने निस्सा प्रदान भएको र प्रस्तुत मुद्दा सोही मुद्दासंग सम्बन्धित भएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्याउने निस्सा प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालतबाट २०६०।३।१२ मा भएको आदेश ।
१२. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिबादी तर्फबाट उपस्थित विद्वान् अधिवक्ताद्वय श्री पन्नामान तुलाधर र श्री वच्चु सिंह खड्काले विवादित कि.नं. ३० को घर जग्गा पुनरावेदकको स्वर्गिय आमा चिनिमाया र सहानादेवी प्रधानले संयुक्त रुपमा राजिनामा लिएको स्त्री अंश धन अन्तर्गतको सम्पत्ति हो । पैतृक सम्पत्ति र सगोलको आर्जनबाट सो घर जग्गा खरिद भएको नहुँदा बिपक्षी बादीलाई अंश लाग्ने होईन । २०५१ सालमा सोही घर जग्गा चिनिमायाले पुनरावेदकलाई हा.व. गरि दिए उपर बिपक्षीको बकसपत्र वदर र जालसाजी समेत मुद्दा परेकोमा दावी नपुग्ने ठहरी फैसला भएको छ । यस्तो स्थितिमा सोहि घर जग्गा विपक्षीलाइ बण्डा लगाउन मिल्दैन । त्यसमा पनि चिनिमायाँ, पुनरावेदक र बिपक्षी समेतका तीन अंशियार भएकोमा चिनिमायाले आफ्नो अंश हक जति छोडन पाउने र १ भागमा पुनरावेदकको हक निहित हुँदा ३ भागको १ भाग सम्ममा बिपक्षीको हक हुने हो । आधार लिखत बदर गरेको मिलेको नहुँदा सुरुको सदर गरेको पुनरावेदन अदालतको फैसला बदर गरिनु पर्दछ भन्ने समेत वहस प्रस्तुत गर्नुभयो ।
१३. प्रत्यर्थी बादीका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री बसन्तराम भण्डारी र विद्वान् अधिवक्ता श्री विमल सुवेदीले दावीको घर जग्गा चिनिमायाको स्त्री अंश धन अन्तर्गतको निजी आर्जनको सम्पत्ति होइन । चिनिमाया र सहानादेवी प्रधानले २०२१ सालमा संयुक्त राजिनामा लिएको घर जग्गा २०२३ सालमा दर्ता फारी गरेको हो । सगोलको आर्जनबाट खरिद भएको सो घर जग्गा पछि २०५१।११।३० मा चिनिमायाले विपक्षी प्रतिबादीलाई हा.व. गरिदिएको लिखतमा स्त्री अंश धनको १ नं. बमोजिम खरिद गरेको आफुखुस गर्न पाउने भनी उल्लेख गर्दैमा सो तथ्य प्रमाणित हुने अवस्था छैन । २०२१ सालको लिखतमा स्त्रि अंश धनको आर्जनबाट खरिद गरेको भन्ने व्यहोरा छैन । प्रमाण ऐन, २०३१ को दफा ६(क) ले एकासगोलको जुनसुकै अंशियारको नाममा रहेको सम्पत्ति सगोलको मान्नु पर्ने हुन्छ । त्यस्तो सगोलको सम्पत्ति सगोलको एक अंशियारबाट अर्को अंशियारको नाममा हक हस्तान्तरण हुँदैमा असर पर्दैन । अंश मुद्दा दिंदा दुइ अंशियार जिवित रहेको अवस्थामा आधा सम्पत्ति बण्डा लगाएको समेत पुनरावेदन अदालतको फैसला मनासिव छ । अंश मुद्दाबाट आधा अंश पाउने ठहरिएको आधारमा लिखत बदर नभएको हुँदा लिखत बदरमा दावी नपुगेकोले अंश नपाउने भन्न मिल्दैन । तसर्थ शुरुको सदर गरेको पुनरावेदन अदालतको फैसला सदर गरिनु पर्दछ भन्ने समेत वहस गर्नुभयो ।
१४. पुनरावेदन सहितको शुरु रेकर्ड मिसिल अध्ययन गरी हेर्दा बिपक्षी र म समेत दुई अंशियार भएको, वण्डा गर्नुपर्ने पैतृक सम्पत्ति सवै विपक्षीको जिम्मा हुँदा विपक्षीबाट तायदाती फाँटवारी लिई २ भागको १ भाग अंश दिलाई पाउँ भन्ने समेत बादी दावीमा म संग बण्डा गर्नुपर्ने पैतृक सम्पत्ति केहि छैन । आमा चिनिमायाले मलाइ हा.व. गरिदिएको कि.नं. ३० को घर जग्गा हडप्ने उद्देश्यले मात्र झुठ्ठा फिराद दिएका हुन भन्ने समेत प्रतिउत्तर जिकिर रहेको देखिन्छ । शुरु अदालतबाट बादी र प्रतिबादी अंशियार नाताका देखिएको र रीतपूर्वक बण्डा भएको तथा व्यवहार प्रमाणबाट छुट्टि भिन्न भएको नदेखिएको भनी विवादित कि.नं. ३० को घर जग्गा समेतबाट बादीले आधा अंश पाउने ठहर भएको फैसला पुनरावेदन अदालतबाट सदर भएको पाइन्छ । कि.नं. ३० को घर जग्गा बण्डा लगाउने गरेको हदसम्मको फैसलामा चित्त नवुझाई पुनरावेदक प्रतिवादीको प्रस्तुत पुनरावेदन परेको देखिन्छ ।
१५. अव विवादित कि.नं. ३० को घर जग्गा प्रत्यर्थी प्रतिबादीलाई आधा बण्डा लाग्ने ठहराएको पुनरावेदन अदालतको फैसला मिलेको छ, छैन ? र पुनरावेदक प्रतिबादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ? भन्ने निर्णय दिनुपर्ने मूख्य प्रश्न तर्फ बिचार गर्दा उक्त कि.नं. ३० को घर जग्गा बादी र प्रतिबादीको स्वर्गिय आमा चिनिमाया डंगोल र सहानादेवी प्रधानले धिर्ज लक्ष्मीराज भण्डारीबाट २०२१।९।१८ मा राजिनामा पारित गराई लिए मध्येको हो भन्ने तथ्यमा कुनै विवाद रहेको पाइँदैन । निजहरूले पारित गराई लिएको उक्त राजिनामा लिखतमा चिनिमायाँको दाइजो पेवा तथा निजी आर्जनको सम्पत्तिबाट उक्त घर जग्गा खरिद गरेको भन्ने उल्लेख भएको देखिदैन । पछि २०२३।२।१२ को बण्डा फारीबाट दावीको घर जग्गा पुनरावेदक प्रतिबादी तथा प्रत्यर्थी बादीको आमा चिनिमायाँको नाउँमा आएको भन्ने देखिन्छ । पुनरावेदक बादी र प्रतिबादी समेत सगोलमा रहेको अवस्थामा दावीको घर जग्गा निजहरूकी आमा चिनिमायाका नाउँमा राजिनामा लिखतबाट हक हुन आएको देखिए पनि चिनिमायाको निजि आर्जनबाट मात्र सो घर जग्गा खरिद भएको भन्ने कुराको कुनै प्रमाण पुनरावेदक प्रतिबादीले दिन गुजार्न सकेको पाइँदैन । चिनिमायाले राजिनामा गरिलिएको उक्त कि.नं. ३० को घर जग्गा २०५१।११।३० मा पुनरावेदक उत्तम महर्जनलाई हा.व. पारित गरी दिएको कुरामा पनि कुनै विवाद छैन । २०५१।११।३० को उक्त हा.व. लिखतको कैफियत महलमा स्त्री अंश धनको १ नं. बमोजिम खरिद गरेको आफुखुस गर्न पाउने जग्गा रिझ बापत हा.व. गरिदिए भन्ने समेत व्यहोरा उल्लेख भएको कुरालाई पुनरावेदकले मूल रुपमा आधार लिएको पाइए तापनि २०२१ सालको राजिनामा लिखतबाट सो तथ्यको पुष्टि हुन सकेको देखिदैन ।
१६. प्रमाण ऐन, २०३१ को दफा ६(क) को कानूनी व्यवस्था हेर्दा एकाघर संगका अंशियारहरू मध्ये जुनसुकै अंशियारका नाममा रहेको सम्पत्ति अन्यथा प्रमाणित नभएसम्म सगोलको हो भनी अनुमान गर्नुपर्ने देखिन्छ । पुनरावेदकको आमा चिनिमायाका नाउँको प्रत्यर्थी बादी समेतको हक लाग्ने सगोलको सम्पत्ति दावीको कि.नं. ३० को घर जग्गा २०५१।११।३० मा पुनरावेदक प्रतिबादीले हा.व. पारित गरी लिएको देखिए तापनि एकासगोलको अंशियार आमाबाट संगोलकै अंशियारा छोरा यि पुनरावेदकले गराई लिएको हा.व. लिखतबाट सगोलको सम्पत्तिको प्रकृतिमा कुनै भिन्नता पर्न जाने र बादीको हकमा प्रतिकूल असर पर्न सक्ने अवस्था देखिदैन । त्यस्तो सम्पत्ति चिनिमायाको स्त्री अंश धनको आफु खुसी गर्न पाउने सम्पत्ति हो भनी प्रमाणित गर्नुपर्ने भार सो को जिकिर लिने पुनरावेदक उपरै हुनेमा पुनरावेदक प्रतिबादीले लिएको सो जिकिरको पुष्टि हुने कुनै वस्तुनिष्ठ प्रमाण निजले गुजार्न नसकेको अवस्थामा अंश मुद्दा पर्दा जिवित रहेका २ जना अंशियारलाई सो सम्पत्ति आधा आधा बण्डा गर्ने गरेको समेत पुनरावेदन अदालतको फैसला अन्यथा देखिन आएन । अंश मुद्दा पर्नु अगावै मृत्यु भई सकेकी पुनरावेदक प्रतिबादीको आमा चिनिमायाको समेत अंश भाग कायम गरी दावीको घर जग्गाबाट ३ भागको १ भाग मात्र बादीले अंश पाउनु पर्ने हो भन्ने पुनरावेदन जिकिर आधारहिन देखियो । सो भएबाट पुनरावेदकले आधार लिएको नजिर समेत प्रस्तुत विवादमा आकर्षित हुने देखिएन ।
१७. तसर्थ उल्लेखित आधार कारणबाट विवादित कि.नं. ३० को घर जग्गाबाट समेत प्रत्यर्थी बादीले आधा अंश पाउने ठहराई भएको शुरुको सदर गर्ने गरेको पुनरावेदन अदालत, पाटनको मिति २०५६।८।१४ को फैसला मनासिव देखिंदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिबादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.शारदा श्रेष्ठ
इति संबत् २०६२ साल भाद्र २९ गते रोज ४ शुभम ................