निर्णय नं. ७५६९ - मोही नामसारी, मोही कायम ।

निर्णय नं.७५६९ ने.का.प.२०६२ अङ्क ७
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री रामनगिना सिंह
माननीय न्यायाधीश श्री वद्रीकुमार वस्नेत
सम्बत २०५९सालको दे.पु.नं. ८८०३
फैसला मितिः २०६२।७।२५।६
मुद्दाः – मोही नामसारी, मोही कायम ।
पुनरावेदक र प्रतिवादीः रसुवा जिल्ला लहरे पौवा गा.वि.स.वडा नं २ वस्ने राजेन्द्रप्रसाद आचार्य
विरुद्ध
विपक्षी र वादीः जिल्ला नुवाकोट गेर्खु गा.वि.स वडा नं ४ वस्ने रामवहादुर थापा पुलामी समेत
§ हक प्राप्त मोहीको मृत्युपछि हक खाने नाताको व्यक्तिमा मात्र जग्गावालाले पत्याएको व्यक्तिले मात्र मोही हक प्राप्त गर्न सक्ने ।
§ भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(क) ले मोहियानी हक खरीद गर्न वा दानदातव्यको रुपमा वा अरु किसिमले हक छोडाई लिन पाइने छैन र सरकारी वा गैरसरकारी विगो वा सजायमा लिलाम विक्रि हुनेछैन भन्ने व्यवस्था गरेकाले मोहीले जग्गा कमाई खान पाउने र आफूले कमाई आएको जग्गाको मोही हक हस्तान्तरण हुन सक्ने नदेखिने ।
(प्रकरण नं.१९)
§ पुनरावेदकका पिताले मोही यी प्रत्यर्थीका वावुलाई आफ्नो जग्गा दिई निजको मोही हक पारीत गरिलिएको सट्टापट्टाको कार्य कानूनसम्मत छ भन्न नमिल्ने ।
(प्रकरण नं.२०)
§ आफूले जग्गा दिई मोही हक पारीत गरिलिएको भन्दैमा त्यस्तो कानूनसंगत नभएको लिखतको आधारवाट यी पुनरावेदकलाई विवादको जग्गाको मोही हक प्राप्त हुनसक्छ भन्न नमिल्ने।
(प्रकरण नं.२१)
पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान् अधिवक्ता श्री नारायणप्रसाद दुवाडी
विपक्षी वादी तर्फवाटः
अवलम्वित नजीरः
आदेश
न्या.रामनगिना सिंहः पुनरावेदन अदालत पाटनको मिति २०५९।४।२७ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अनुसार प्रतिवादीको पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथा ठहर यसप्रकार छ :-
२. का.जि.का.म.न.पा. वडा नं १६ वस्ने सुवर्णराज भट्टराई नाउँ दर्ताको नु.जि.गेर्खु गा.वि.स.वडा नं ४ को कि.नं.२८३ को जग्गाको मोही मेरा वावु तथा वाजे धनवहादुर थापा भएकोमा निज धनवहादुर थापाको मिति २०५०।४।२१ गते मृत्यु भई तथा वज्यै पुतली थापाको पनि २०५१।७।१८गते मृत्यु भए पश्चात निज धनवहादुरको मोही हक खाने म छोरा रामवहादुर थापा पुलामी र नाती भैरववहादुर थापा समेत भएकोले संयुक्त मोही नामसारी गरिपाऊँ भन्ने गा.वि.स.को सिफारिस सहित मिति २०५४।१।१७ को रामवहादुर थापा समेतको संयुक्त निवेदन पत्र ।
३. भूमिसम्बन्धी ऐन, २०२१को दफा २६(क) बमोजिम मोहीको मृत्युपश्चात मोहियानी हक जग्गाधनीले पत्याएको व्यक्तिको हुनेछ भनि सिद्धान्त प्रतिपादित भएको हुँदा छोरा र नाती समेतले मोही नामसारीको लागि निवेदन दिएको र उक्त ऐनबमोजिम नातीले मोहियानी हक पाउदैन भन्ने प्रष्ट व्यवस्था भएको र निज मोही धनवहादुर थापाको मृत्यु पश्चात उक्त जग्गा मैले आँफैले भोगचलन गर्दै आई रहेको हुँ मोही नामसारी हुनुपर्ने होइन भन्ने केशव राज भट्टराईको प्रतिउत्तर पत्र ।
४. नु.जि.गेर्खु गा.वि.स.वडा नं ४ वस्ने धनवहादुर थापा मगरले म राजेन्द्रप्रसाद आचार्यलाई मिति २०३७।११।२५ मा गेर्खु गा.वि.स. वडा नं ४ को कि.नं २८३ को जग्गाको मोहियानी हक राजिनामा गरी दिएको हुँदा उक्त राजिनामा अनुसार मोही लगत कट्टा गरिपाऊँ भनि २०५४।३।२९ मा राजेन्द्रप्रसाद आचार्यले दिएको निवेदन पत्र ।
५. मालपोत कार्यालय नुवाकोटको र.नं १६१७ मिति २०३७।११।२५ को मोहियानी हक राजिनामाको फोटोकपी अनुसार दिनेमा धनवहादुर थापा लिनेमा राजेन्द्रप्रसाद आचार्य भएको नु.जि.गेर्खु गा.वि.स.वडा नं ४ को कि.नं.२८३ को ज.रो.८–७–०–१ जग्गा मोहियानी हक राजिनामा भएको देखिन्छ ।
६. मालपोत कार्यालय नुवाकोटको मिति २०५४।३।२९ च.नं. ३०२८ को पत्रानुसार उक्त कि.नं. २८३ को जग्गा सुवर्ण राज भट्टराईको नाममा कायम भएको र मोही महलमा धनवहादुर थापा मगर भन्ने उल्लेख भएको देखिन्छ ।
७. मिति २०३७।११।२५ को मोहियानी हक राजिनामाको आधारमा मोही धनवहादुर थापाको मोही लगत कट्टा गरी राजेन्द्रप्रसाद आचार्यको नाममा मोही नामसारी हुने ठहर्छ भन्ने शुरु भु.सु.का. नुवाकोटको मिति २०५४।३।२९ को निर्णय ।
८. मिति २०५४।३।२९ को भु.सु.का.नुवाकोटको निर्णय उत्प्रेषणको आदेश द्वारा वदर हुन्छ सम्वन्धित दुवै निवेदन उपर विचार गरी एकै साथ राखि निर्णय गर्नु भनि भूमिसुधार कार्यालय नुवाकोटको नाममा परमादेश समेत जारी हुने ठहर्छ भन्ने यस अदालतको मिति २०५६।११।१३ को आदेश ।
९. मिति २०३७।११।२५ मा र.नं १६१७ को राजिनामावाट धनवहादुर थापा मगर संग नु.जि.गेर्खु गा.वि.स.वडा नं ४ कि.नं २८३ को ज.रो.८–७–०–१ जग्गा मोहियानी खरीद गरी लिएको र सो वापत मेरा पिता अनन्तप्रसाद आचार्य नाउँको नु.जि.गेर्खु गा.वि.स.वडा नं ४ कि.नं ५१ को ज.रो.४–१०–३–२ र कि.नं ५३ को ज.रो.८–१–२–१ को समेत जग्गा र.नं.१६१६ मिति २०३७।११।२५ मा राजिनामा गरी धनवहादुर थापालाई हक हस्तान्तरण गरिएको प्रष्ट छ । उल्लेखित कि.नं २८३ को जग्गा २०३५ साल देखि नै म निवेदकले जोति कमाई आएको र भु.सु.का.मा उक्त कि.नं २८३ को मोही लगत कट्टा गरिपाऊँ भनि निवेदन दिई यस कार्यालयवाट २०५४।३।२९ को निर्णयानुसार मोही लगत कट्टी भई मोही नामसारी समेत भएको थियो । तत्कालीन मोही धनवहादुरको छोरा रामवहादुर थापा समेत साक्षी वसी राजिनामा गरी दिएको अवस्थामा धनवहादुरको मोहियानी लगत कट्टा गरी मेरो नाममा मोही कायम गरी पाउनेतर्फ पुनः निर्णय गरिपाऊँ भन्ने मिति २०५७।२।१८ मा राजेन्द्रप्रसाद आचार्यको निवेदनपत्र ।
१०. शुरु कार्यालयको मिति २०५७।२।२६ को च.नं ४५१ को पत्रानुसार रामवहादुर थापालाई उपस्थित हुन आउनु भनि मिति २०५७।३।१० मा पत्र काटी मिति २०५७।३।१८ गते शुरु कार्यालयमा उपस्थित भएको र मिति २०५६।५।५ मा मोही जग्गाको लुटपिट मुद्दामा नुवाकोट जिल्ला अदालतवाट भएको मिति २०५७।२।३१ को निर्णयअनुसार भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(क) मा मोहियानी हक खरीद विक्रि नहुने भन्ने उल्लेख भएकोमा भु.सु. ऐनको दफा ३२(५) बमोजिम वदर हुन्छ । यस अवस्थामा वादीको दावी नपुग्ने भन्ने निर्णयको फोटोकपी मिसिल संलग्न रहेको ।
११. भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(क) मा मोहियानी हकको खरीद तथा विक्रि नहुने भनि स्पष्ट उल्लेख भएको हुँदा यसमा मोही धनवहादुर थापाको मृत्युपछि निजका छोरा रामवहादुर थापाका नाममा मोही नामसारी गर्न माथि उल्लेखित र.नं १६१७ वाट निजको वावु धनवहादुरले बीचमा रही लिई जग्गा खाएको देखियो । आफूले नकमाई अरुलाई हक वेची दिएको मोही हक छोडपत्र समेत गरी दिई सकेको हुँदा र जग्गाधनीले धनवहादुरको मृत्युपछि आफूले कमाएको भनि प्रतिवाद गरेको हुँदा निज धनवहादुर थापाको छोरा रामवहादुर समेतका नाममा मोही नामसारी गर्न कानूनबमोजिम मिल्ने देखिएन । साथै राजेन्द्रप्रसाद आचार्यको मोही कायम सम्बन्धमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(क) मा मोही हक खरीद विक्रि नहुने र सोही ऐनको दफा ३२(५) बमोजिम खरीद विक्रि भए स्वतः वदर हुने भन्ने कानूनी व्यवस्था भएको हुँदा निज राजेन्द्रप्रसाद आचार्यलाई र.नं १६१७ को मोही हक छोडपत्र राजिनामाको आधारमा मोही कायम गर्न नमिल्ने ठहर्छ । अरुमा कानूनबमोजिम गर्नू भन्ने भूमिसुधार कार्यालय नुवाकोटको मिति २०५७।६।३० को फैसला ।
१२. शुरु भूमिसुधार कार्यालयवाट भएको फैसलामा मेरो चित वुझेन । र.नं १६१६ को विपक्षीको पितालाई जग्गा दिएको लिखत र र.नं १६१७ विपक्षीको पिताले मोही छोडपत्र गरेको लिखत २०३७ साल फागुण २५ गते एकैसाथ पास भएको हो । यी दुवै लिखतमा विपक्षी रामवहादुरले सनाखत साक्षी वसेका छन । यस्तो अवस्थामा मोही धनवहादुरको छोरा विपक्षी रामवहादुर मोही नामसारी माग गर्नु सरासर अमान्यपूर्ण छ । जग्गा साटासाटको आधारमा मैले कि.नं २८३ जग्गामा प्राप्त गरी भोग गरेको कुरालाई उल्लेख सम्म नगरी मलाई पनि हराई भएको हदसम्मको भूमिसुधार कार्यालयको निर्णय वदरभागी छ । राजिनामाको नामले लिखत पारीत गरिए पनि त्यो यथार्थतः साटा– साट हो भन्ने कुरा र.नं १६१६ को लिखत व्यहोरावाट प्रष्ट छ । यस्तोमा भूमिसम्वन्धी ऐनको दफा ३२(५) आकर्षित हुने होइन । शुरु भूमिसुधार कार्यालय नुवाकोटवाट मेरो मोही लगत कट्टा समेतको दावी नपुग्ने भनि भएको हदसम्मको मिति २०५७।६।३० को उक्त निर्णय उपरोक्त बमोजिमको आधारमा वदरभागी हुँदा वदर गरी उक्त कि.नं २८३ जग्गाको निरन्तर रुपमा रहेको मेरो जोतभोगको हक ठहर गरिपाऊँ भन्ने समेत व्यहोराको राजेन्द्रप्रसाद आचार्यको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।
१३. शुरु भूमिसुधार कार्यालयले मलाई हराई गरेको फैसलामा मेरो चित्त वुझेन । मेरो पिताले आफ्नो श्रमले कमाई नगरेको भन्ने अत्तो थाप्न भूमिसुधार कार्यालय नुवाकोटले कानूनतः मिल्ने होइन । कि.नं. २८३ को जग्गामा मेरा पिता धनवहादुर एवं म पुनरावेदक कै निरन्तर भोगचलन रहेको व्यहोरा लेखाई दिएका छन जुन व्यहोरालाई जिल्ला अदालतले समेत सत्य साँचो ठहर गरी फैसला गरी सकेको छ । यस्तो अवस्था हुँदा हुदै पनि भूमिसुधार कार्यालय नुवाकोटले मोही वा मोहीको परिवारको श्रमले खेती गरेको नदेखिने भनि आफ्नो फैसलामा लेखेको ठहर वुँदा कानून एवं प्रमाण विपरीत छ । सो फैसला मेरो हकमा उल्टाई म पुनरावेदकको नाममा मोही नामसारी गरिपाऊँ भन्ने समेत व्यहोराको रामवहादुर थापा पुलामीको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।
१४. यसमा यसै लगाउको राजेन्द्रप्रसाद आचार्य पुनरावेदक भएको दे.पु.नं ३४५६ को मोही नामसारी मुद्दामा विपक्षी झिकाउने गरी यस अदालतवाट मिति २०५८।२।१२ मा आदेश भएको देखिंदा सोही लगाउको प्रस्तुत मुद्दामा पनि विपक्षी प्रतिवादी केशव राज भट्टराईलाई अ.व.२०२ नं अनुसार छलफलको लागि झिकाई आए वा अवस्था पुगेपछि यहि विवादको जग्गाको वाली लुटपिट मुद्दामा राजेन्द्रप्रसादको पुनरावेदन परी यसै अदालतमा कारवाही चलिरहेको भन्ने राजेन्द्रप्रसादको पुनरावेदनवाट देखिंदा सो लुटपिट मुद्दा समेत साथै राखी नियमानुसार गरी पेश गर्नु भन्ने पुनरावेदन अदालतको आदेश ।
१५. यसमा वादीको वावु धनवहादुर मोही भएकोमा जग्गाधनीले सकार गरेको, फिल्डवुकवाट धनवहादुर मोही देखिई मोहियानी हकको प्रमाणपत्र प्राप्त गरी मोही कायम रहेको स्थितिमा धनवहादुर थापाको मृत्यु भै सकेको र वादी रामवहादुर एकमात्र छोरा भएको अवस्थामा मोही पत्याईरहनु पर्ने अवस्था समेत नहुँदा रामवहादुरको नाममा मोही नामसारी गर्नुपर्नेमा सो नगरेको हदसम्म शुरुको फैसला उल्टी भै विवादको कि.नं २८३ को जग्गामा रामवहादुर थापा पुलामीको नाउमा मोही नामसारी भै मोहियानी हकको प्रमाणपत्र समेत पाउने ठहर्छ भन्ने पुनरावेदन अदालत पाटनको मिति २०५९।४।२७ को फैसला ।
१६. उक्त फैसलामा चित्त वुझेन । विवादको कि.नं २८३ को जग्गाको मोही विपक्षी रामवहादुरको पिता धनवहादुर थापा र ऐ ठाउकै कि.नं ५१ र ५२ को जग्गाधनी मेरा पिता अनन्तप्रसादको बीचमा २०३७।११।२५ गते जग्गा साटासाट गरी विपक्षीको पिताले प्राप्त गरेको कि.नं ५१ र ५२ को जग्गाको पारीत लिखतमा कि.नं २८३ को जग्गामा मोही छोडपत्र गरिदिए वापत भन्ने प्रष्ट उल्लेख छ । उक्त जग्गा र मोही हक लिनुदिनु गरेको दुवै लिखतमा विपक्षी रामवहादुर सनाखत साक्षी वस्नु भएको छ। धनवहादुर थापाको जीवन कालदेखि नै जग्गा मैले नै जोत कमोद गरी आएको छु । मोही नामसारी गरिपाऊँ भनि विपक्षीको दावी परेको र मोही लगत कट्टा गरिपाऊँ भनि मेरो पनि दावी परेकोमा मलाई प्रतिवादी कायम गराई भएको फैसलामा विपक्षीलाई जग्गा दिई मोही हक छाडी अड्डावाट पारीत गरिसकेको तथ्यलाई नजर अन्दाज नै नगरी भएको पुनरावेदन अदालतको फैसलावाट अन्याय पर्न गएको छ । विपक्षीको दुषित दावीलाई ठहर गरी भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(४) को साथै न्यायिक सिद्धान्तको प्रतिकूलको फैसला वदर गरी न्याय पाउँ भन्ने समेत प्रतिवादी राजेन्द्रप्रसाद आचार्यको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
१७. नियमबमोजिम पेशीसूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी तर्फका विद्वान् अधिवक्ता श्री नारायणप्रसाद दुवाडीले विवादको कि.नं २८३ को जग्गाको जग्गाधनीमा सुवर्णराज भट्टराई र मोहीमा धनवहादुर थापा भएकोमा विपक्षी रामवहादुरको पिता धनवहादुरले पुनरावेदकका पिता अनन्तप्रसादका नाउँ दर्ताको कि.नं ५१ र ५२ को जग्गा लिई निजले कमाई आएको कि.नं २८३ को मोही हक पुनरावेदकका नाउँमा छोडपत्र गरी २०३७।११।२५ गते रजिष्ट्रेशन नं १६१६ र १६१७ मा लिखत पारीत भएको अवस्था छ । सोही मितिदेखि उल्लेखित कि.न. २८३ को जग्गा यिनै पुनरावेदकले कमाई जग्गाधनीलाई कुत वुझाई आएको अवस्था छ । उल्लेखित जग्गा लिई मोही हक छोडपत्र गरिदिएको लिखतमा यी वादी रामवहादुर थापा सनाखत साक्षी वसेका छन । विपक्षी रामवहादुरको पिताले पुनरावेदकका पितावाट मोहीहक छोडपत्र गरी दिए वापतको कि.नं ५१ र ५२ निजले नै भोगचलन गरी आएका र सो जग्गा प्राप्त गरे वापत छोडपत्र गरी दिएको कि.नं २८३ को जग्गा मोही हकवाट वञ्चित हुनु न्यायसंगत भएन । मोही वीचको विवादमा जग्गा कसले कमाई कुत प्राप्त गरेको छ भनि जग्गाधनीलाई वुझ्ने सम्मको प्रक्रिया समेत नअपनाई जग्गा र मोही हक साटेको सास्वत सत्यलाई मनन नगरी विपक्षी रामवहादुरको दुषित दावीलाई ठहर गरी पुनरावेदन अदालतले गरेको फैसला न्यायिक सिद्धान्त प्रतिकूल हुँदा पुनरावेदक प्रतिवादीको हक विरुद्धको शुरु तथा पुनरावेदन अदालतको फैसला उल्टी गरी विवादको जग्गामा पुनरावेदक राजेन्द्रप्रसाद आचार्यको मोही हक दिलाउने गरी फैसला होस भनि गर्नु भएको वहस सुनि पुनरावेदन जिकीर सहितको मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन अदालतको फैसला मिलेको छ छैन ? र पुनरावेदन जिकिर पुग्न सक्छ सक्तैन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
१८. निर्णयतर्फ विचार गर्दा विवादको जिल्ला नुवाकोट गेर्खु गा.वि.स.वडा नं ४ कि.नं २८३ को जग्गाको जग्गाधनी सुवर्णराज भट्टराई र मोहीमा यी प्रत्यर्थी रामवहादुर थापाको वावु धनवहादुर भएकोमा विवाद देखिदैन । मोही धनवहादुरले यी पुनरावेदकका वावु अनन्तप्रसादका नाउँको कि.नं ५१ र ५२ को जग्गा प्राप्त गरी सो वापतमा कि.नं २८३ को धनवहादुरका नाउँको मोही हक यी पुनरावेदक प्रतिवादीलाई छोडपत्र गरी दिएको कारणवाट सो जग्गाको मोही पुनरावेदक राजेन्द्रप्रसाद आचार्य नै हुनुपर्ने भन्ने मुख्य पुनरावेदन जिकिर देखिन्छ ।
१९. मोहियानी हकको विषय जग्गाधनी र जग्गा कमाई खेती गर्ने व्यक्ति वीचको द्धीपक्षीय सम्बन्धको हुने हुन्छ । कानूनले तोकेको शर्त र अधिनमा प्राप्त हुने मोही हक सम्वन्धित हक प्राप्त गर्ने मोहीको अहस्तान्तरणीय हक हो । आर्काको जग्गा कमाई तोकिएको कुत वुझाई वाँकी आयस्ता आफूले लिन खान पाउने व्यक्तिले जग्गा कमाउन पाएको मोही हक आफू खुसी भोग विक्री व्यवहार र अन्य व्यक्तिलाई छोडपत्र, दान, दातव्य गरिदिन पाउने कानूनी व्यवस्था रहे भएको पाइदैन । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) ले मोहीले कमाई आएको जग्गामा मोहीसम्बन्धी निजको हक निजपछि निजको एकासगोलका पति, पत्नी, छोरा, आमा, वावु, धर्मपुत्र, अविवाहित छोरी, छोरा वुहारी, नाति, नातिनी, वुहारी वा दाजु भाईहरू मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुनेछ भन्ने कानूनी व्यवस्था देखिन्छ । यस व्यवस्थावाट हक प्राप्त मोहीको मृत्यु पछि हक खाने नाताको व्यक्तिमा मात्र जग्गावालाले पत्याएको व्यक्तिले मात्र मोही हक प्राप्त गर्न सक्ने देखिन्छ । त्यस्तै सोही ऐनको दफा २६(क) ले मोहियानी हक खरीद गर्न वा दान दातव्यको रुपमा वा अरु किसिमले हक छोडाई लिन पाइने छैन र सरकारी वा गैर सरकारी विगो वा सजायमा लिलाम विक्रि हुने छैन भन्ने व्यवस्था गरेकाले मोहीले जग्गा कमाई खान पाउने र आफूले कमाई आएको जग्गाको मोही हक हस्तान्तरण हुन सक्ने देखिएन ।
२०. विवादको जग्गाको मोही धनवहादुर थापाले यी पुनरावेदक राजेन्द्रप्रसाद आचार्यलाई आफ्नो मोही हक छोडपत्र गरि दिए पनि त्यसले कानूनी मान्यता पाउन सक्ने देखिएन । पुनरावेदकका पिताले मोही यी प्रत्यर्थीका वावुलाई आफ्नो जग्गा दिई निजको मोही हक पारीत गरिलिएको सट्टा पट्टाको कार्य कानूनसम्मत छ भन्न मिलेन । मोहीको केवल जग्गाधनीसंग मात्र प्रत्यक्षत सम्बन्ध रहने र आफ्नो मोही हकको छोडपत्र गर्न सक्ने अवस्था रहदैन । आफूले मोहीमा जोतेको जग्गा जग्गाधनीसंग वाडफाँड गरिलिन सक्ने, जग्गाधनीलाई नै छाडिदिने वाहेक अन्य हक मोहीलाई रहे भएको कानूनी व्यवस्था पाइदैन ।
२१. वावुको मृत्यु पछि मोहियानी हक छोराले पाउने भन्ने भु.स.ऐनको दफा २६(१) को व्यवस्था अनुसार वावु धनवहादुरको मृत्यु पछि निजका एकमात्र छोरा यी प्रत्यर्थी वादी रामवहादुरका नाउँमा मोहियानी हक कायम हुने नै देखिन्छ । आफूले जग्गा दिई मोही हक पारीत गरिलिएको भन्दैमा त्यस्तो कानूनसंगत नभएको लिखतको आधारवाट यी पुनरावेदकलाई विवादको जग्गाको मोही हक प्राप्त हुनसक्छ भन्न मिलेन ।
२२. अतः उल्लेखित आधार र कारणहरूवाट विवादको कि.नं २८३ को जग्गामा प्रत्यर्थी रामवहादुर थापा पुलामीको नाममा मोही नामसारी भै मोहियानी हकको प्रमाणपत्र समेत पाउने ठहराएको पुनरावेदन अदालत पाटनको मिति २०५९।४।२७ को फैसला मनासिव देखिंदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्तैन । मिसिल नियमानुसार वुझाई दिनु।
उक्त रायमा म सहमत छु ।
न्या.वद्रीकुमार वस्नेत
इति सम्बत २०६२ साल कार्तिक २५ गते रोज ६ शुभम.................