शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७५७१ - जिउ मास्ने वेच्ने ।

भाग: ४७ साल: २०६२ महिना: कार्तिक अंक:

निर्णय नं.७५७१           ने.का.प.२०६२       अङ्क ७

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ

माननीय न्यायाधीश श्री बलराम के.सी.

सम्वत् २०५९ सालको फौ.पु नं. ३२९२

फैसला मितिः २०६२।७।२।४

 

मुद्दा :जिउ मास्ने वेच्ने ।

 

पुनरावेदक र प्रतिवादीः सिन्धुपाल्चोक जिल्ला परुवा गा.वि.स. वडा न. १ सुनचौर घर भई हाल सदरखोर शाखा कार्यालय डिल्लीबजार काठमाडौंमा थुनामा रहेका सुरेश लामा समेत   

बिरुद्ध

प्रत्यर्र्थी र वादीः शर्मिला तामाङको जाहेरीले श्री ५ को सरकार

 

§  महिला उपर हुने यौन शोषणमा अन्य फौजदारी अपराधमा जस्तो प्रत्यक्षदर्शी प्रमाण नहुन सक्छ । पीडित व्यक्ति र पीडितको शारिरीक परीक्षण प्रतिवेदन नै प्रमुख प्रमाण हुने ।

§  नारीहरूलाई वेश्यावृत्तिमा लगाउनु जघन्य अपराध हो । यसप्रकारको वेश्यावृत्तीमा लगाउने अपराधलाई हाम्रो नेपाल कानूनले मात्र होइन अन्तराष्ट्रिय रुपमा पनि यसलाई गंम्भीरताका साथ लिइएको पाइने ।

§  महिलाहरूको हक संरक्षण गर्ने त्यस्तो कानूनी व्यवस्थाको अक्षर र भावना (Letter and spirit) लाई मनन गरेर ऐनको व्याख्या गर्नुपर्ने ।

(प्रकरण नं.२०)

 

पुनरावेदक प्रतिवादी तर्फवाटः विद्धान अधिवक्ता वोर्णवहादुर कार्की

प्रत्यर्थी वादी तर्फवाटः विद्धान सहन्यायाधिवक्ता श्री टिकावहादुर हमाल बिदुषि अधिवक्ताद्धय पुण्य शिला दवाडी र चण्डेश्वरी तण्डुकार

अवलम्वित नजीरः

 

फैसला

न्या.वलराम के.सी.: बिशेष अदालत काठमाडौंको ०५९।११।६ को फैसला उपर विशेष अदालत ऐन २०५९ को दफा १७ बमोजिम प्रतिवादीहरूको तर्फवाट पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :-

२.    मिति २०५८ सालको दशै अगाडि देखि मलाई सुरेश लामाले आफ्नो छोरी हेर्न र सानोतिनो घरको काम गर्न भनि मासिक रु. ५००। तलव दिने सर्तमा घरमा आमा वुवासँग कुरा गरी निजको डेरा कोठा ल.पु.उ.म.न.पा वडा नं. ४ धोविघाटमा ल्याई राखी केही दिनसम्म डेरा कोठाको धन्दागरी त्यसपछि मलाई अलग्गै कोठामा राखी वाहिरवाट केटाहरू वोलाई मेरो कोठामा पठाई ढोका वन्द गरी जवरजस्ती वेश्यावृत्ति गर्न वाध्य तुल्याएको र नमानेमा विभिन्न किसिमको डर त्रास देखाई निजको श्रीमती कान्छी लामाले गाली गलौज गरी कुटपिट समेत गर्ने गरेको र निज कान्छी लामाले अन्य केटीहरू समेतलाई वेश्यावृत्तिमा लगाउने गरेको हुँदा कानून बमोजिमको कारवाही गरिपाऊँ भन्ने व्यहोराको सर्मिला तामाङ्को जाहेरी दरखास्त ।

३.    मैले जाहेरी दरखास्तमा खुलाई लेखिदिएको व्यहोरा ठिक साचो हो । निज सुरेश लामा तथा निजकी श्रीमती कान्छी लामाले मलाई निजहरूको डेरा कोठा धोविघाटमा छोरी हेर्न र घर धन्दा गर्न भनि ल्याई केही समयपछि मलाई अलग्गै कोठामा सुत्न वस्न लगाई मेरो कोठामा दिउसै मैले नचिनेको केटाहरू ल्याई मलाई जवरजस्ती वेश्यावृत्ति गर्न वाध्य गराएको र नमानेमा मारपिट गरी धाकधम्की दिने गरेका थिए । मलाई कोठावाट वाहिर समेत जान नदिई राखेको र दिनमा ४।५ जना केटाहरू आई मसँग यौनसम्पर्क राख्ने गरेका थिए । निज केटाहरू कहाका हुन म चिन्दीन । म मिति  २०५८।१०।२९ गते निज सुरेश लामा तथा निजको श्रीमती कान्छी लामा नभएको मौका पारी त्यहांवाट भागी निस्केको हुँ भन्ने समेत व्यहोराको जाहेरवाली शर्मिला तामाङ्ले अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयान ।

४.    सर्मिला तामाङ्को जाहेरीले वादी श्री ५ को सरकार प्रतिवादी शुरेस लामा समेत भएको जिउ मास्ने वेच्ने मुद्दामा फरार रहेका प्रतिवादीलाई पक्राउ गरी दाखिला गरेको छु कानून बमोजिम गरिपाऊँ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।

५.    जाहेरवाली सर्मिला तामाङ्लाई मैले ०५८ साल दशै अगाडि निजको घरमा गै वावु आमाको सल्लाह अनुसार नै मासिक रु. ५००। तलव दिने सर्तमा मेरो डेरामा धन्दा गर्न र सानु छोरीको हेरचाह गर्न भनि ल्याई सोही मात्र काममा लगाई राखेको हुँ । मैले निज सर्मिला तामाङ्लाई कुटपिट गर्ने गरेको थिइन । लाउन खान समेत राम्रैसँग दिएको थिए । मैले त्यस्तो कुनियत ठानी ल्याएको पनि होइन । म विहान अफिस जाने र सांझमा मात्र कोठामा आउने हुँदा कोठामा को हुन्थ्यो, के हुन्थ्यो मलाई केही थाहा छैन । मेरो श्रीमती कान्छी तामाङले करकापमा पारी त्यस्तो अनैतिक कार्य गराएको भए मलाई थाहा छैन । निजले मलाई केही पनि भनेको छैन भन्ने समेत व्यहोराको प्रतिवादी सुरेश लामोको अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयान कागज ।

६.    ल.पु.जिल्ला ल.पु.उ.म.न. पा. वडा नं. ४ धोविघाट स्थित पुर्वमा गणेश शाक्यको घर, पश्चिममा धनकाजी शाक्यको घर, उत्तर खाली जग्गा तथा कमल पोखरी, दक्षिण पुर्ण प्रधानको घर यति ४ किल्लाभित्र उत्तर ढोका भएको कम्पाउण्ड घेरिएको भुइतल्ला सहितको ४ तल्लाको ल.पु.जि.ल.पु.उ.म.न.पा. वडा नं. २ सानेपा वस्ने नाति महर्जनको पक्की घर सो घरको भुई तल्ला सहित तेश्रो तल्लामा पश्चिम पट्टिको तिनकोठा प्रतिवादी शुरेस लामाको कोठा भएको सो मध्ये एक कोठामा खाना वनाउने र अरु २ कोठामा सुत्ने गरेको देखियो । जाहेरवाली तमथा प्रतिवादी शुरेस लामाको परिवार सुत्ने कोठामा अपराधसँग सम्वन्धीत केही प्रमाण नपाइएको भन्ने व्यहोराको घटनास्थल मुचुल्का ।

७.    ल.पु.जि.ल.पु.उ.म. न.पा. वडा नं. ४ धोविघाट स्थित शुरेस लामाले डेरा गरी वसेको घर मेरो हो । उक्त घरमा हामी परिवारका मानिस कोही पनि वस्दैनौ । सो घरमा भाडाका मानिसमात्र वस्ने र निज सुरेस लामालाई मासिक रु. ३०००। मा तिन कोठा र एक टेलीफोन सेट सहित भाडामा दिएको हो । म कहिलेकाही उक्त घरमा जांदा निजहरू आआफ्नै काममा व्यस्त रहेको देखिन्थे । निज सर्मिला तामाङ्लाई जवरजस्ती करकापमा पारी सुरेस लामा तथा निजकी श्रीमतीले जवरजस्ती वेश्यावृत्ति गर्न वाध्य गराएको भन्ने मलाई केही थाहा छैन । निजहरूले त्यस्तो गर्लान जस्तो लागेको थिएन भन्ने व्यहोराको चिनीमाया महर्जनको कागज ।

८.    जाहेरवाली सर्मिला तामाङ् गत २०५८ सालको दशै अघि देखि निज सुरेस लामाको डेरा कोठा ल.पु.उ.म.न.पा. वडा नं. ४ धोविघाट स्थित डेरामा आई कामधन्दा गर्ने गरेको देखेको हो र निजको श्रीमती कान्छी लामाले केटाहरू वोलाई ल्याई जवरजस्ती वेश्यावृत्ति गर्न वाध्य गराएको भन्ने हामीलाई थाहा छैन । कहाका कति मानिस आउथे आउदैनथे हामीलाई एकिन थाहा छैन निज जाहेरवाली सर्मिला तामाङ्लाई प्रतिवादी सुरेस लामा समेतले कुटपिट गरेको भन्ने थाहा छैन निज शर्मिला तामाङ् सुत्ने कोठामा के हुन्थ्यो के हुदैन्थ्यो थाहा छैन । निज सर्मिला तामाङ्ले हामीसँग कुनै किसिमको गुनासो गरेको थिइन भन्ने व्यहोराको घटनास्थल आसपास मुचुल्का ।

९.    प्रतिवादी सुरेस लामा र निजको श्रीमती कान्छी लामाले जिउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४ को खण्ड (ग) बमोजिमको अपराध गरेको देखिंदा निजहरूलाई ऐ. ऐनको दफा ८ (३) बमोजिम सजाय हुने मागदावी लिई दायर भएको अभियोगपत्र ।

१०.    शर्मिला तामाङ्को वावु आमा सँग सल्लाह गरि मासिक रु. ५००। दिने गरी ४।५ महिना अघि डेरामा ल्याई राखेको थिएँ । निजले कामकाज गर्दै आएको थिइन । खान लाउन राम्रै दिएको थिएं । गत माघको अन्तिम हप्तामा अफिस गएकोवखतमा वाहिर गई डेरामा नफर्किएकोले प्रहरी कार्यालयमा हुलिया दिई निवेदन गर्न गएकोमा सर्मिला पनि त्यहि रहेछ । हराएकै दिन दिउसो ३ वजे मलाई सर्मिलाले फोन गरि टाढा पुगेछु वाटो देखिन भनि फोन गरेकोले प्रहरीमा खवर गर्न गएको छु । मैले निजलाई वेश्यावृत्तिमा लगाएको छैन । जाहेरी र सनाखत वयान वनावटी हो । मैले त्यसरी कसैसँग वेश्यावृत्ति गराएको छैन मेरो श्रीमतीले पनि गरायो भन्ने विश्वास लाग्दैन भन्ने व्यहोराको प्रतिवादी सुरेस लामाले यस अदालतमा गरेको वयान ।

११.    मुख्य वेश्यावृत्ति कार्यमा लगाउने भनेकी प्र.कान्छी लामा हाल फरार रहेको अवस्था समेतका प्राप्त प्रमाणवाट यी प्रतिवादीलाई तत्काल वेकसूर भन्न नसकिने हुँदा जिउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा १०(१) र विशेष अदालत ऐन, २०३१ को दफा ९(२) (छ) ले निजलाई थुनामा राख्न पर्ने पर्याप्त कारण भएवाट पछि मुद्दामा ठहरे बमोजिम हुने गरी हाल निज सुरेस लामालाई पुर्पक्षको लागि थुनुवा पुर्जि दिई थुनामा राख्नु र फरार प्रतिवादीका नाममा वारेन्ट पुर्जि सहित म्याद जारी गरी नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०५८।११।२१ को आदेश ।

१२.   जाहेरवाली शर्मिला तामाङ् २०५८ साल असोज देखि मेरो डेरा कोठा मासिक रु.५००। मा खाना पकाउने, लुगा धुने, भाडा माझ्ने र छोरी हेर्ने काम गरि वस्दै आएकी हुन । म मेरो माइती रसुवा गएको वेला मिति २०५८ माघ २७।२८ तीर शर्मिला तामाङ्ले हाम्रो डेरा कोठा छोडी गएकी रहिछन । मैले निजलाई वेश्यावृत्तिमा लगाएको थिइन । जाहेरी व्यहोरा झुठा हो । मैले जिउ मास्ने वेच्ने कार्य गरेको छैन । मैले अभियोग मागदावी बमोजिमको कसूर नगरेको हुँदा प्रस्तुत मुद्दामा सजाय पाउनु पर्ने होइन भन्ने व्यहोराको प्रतिवादी कान्छी लामा भन्ने शुक्ररानी तामाङ्ले गरेको वयान ।

१३.   जिउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा १०(१) र विशेष अदालत ऐन २०३१ को दफा ९(२)(छ) बमोजिम प्रतिवादी कान्छी लामा भन्ने शुक्ररानी तामाङ्लाई पुर्पक्षको निमित्त थुनामा राख्नु भन्ने मिति २०५९।२।६ को आदेश ।

१४.   जाहेरवाली शर्मिला तामाङ्ले उपस्थित भई गरेको वकपत्र मिसिल सामेल रहेको ।

१५.   प्रतिवादी शुरेश लामा र कान्छी लामा भन्ने शुक्ररानी तामाङ्गलाई जिउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ८(३) बमोजिम जनही १० (दश) बर्ष कैद हुन्छ भन्ने विशेष अदालत काठमाडौंको ०५९।११।६ को फैसला ।

१६.    छोरीको हेरचाह गर्न र घरको सानो तिनो काम गर्न मासिक रु.५००। दिने गरी जाहेरवालीलाई निजको आमा वुवाको स्वीकृती लिई संगै डेरामा बसी आएका थियौ । मेरो श्रीमती छोरी समेतलिई माइत गएको दिन देखि निज एक्कासी हराएकीले खोजतलासको लागि प्रहरीमा निवेदन गर्नजांदा प्रहरीले पक्राउ गरी जाहेरवालीलाई वेश्यावृत्रिमा लगाएको भनि थुनामा राखेका हुन । जाहेरी दर्ता हुनु पूर्व नै जाहेरवालीको वयान प्रमाणित गराइएकोवाट प्रमाणित वयान कानूनी दायरा विपरीत छ । जाहेरी तथा वकपत्रलाई खण्डन हुने गरी प्रतिवादीहरूले वयान गर्न सकेको पाइदैन भनि आधार लिई हामीलाई सजायको भागीदार वनाइएको छ । ती आधारहरू वर्तमान जि.मा.वे.का.(नियन्त्रण) ऐन, २०४३ को दफा ७(१) र (२) प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम प्रमाणको रुपमा ग्रहण गर्न मिल्दैन । विदेशमा लगी विक्री गरेमा वा वेश्यावृत्तिमा लगाएमा वा लगेमा मात्र सो कुराको प्रमाणको भार प्रतिवादीमा हुने कानूनी व्यवस्था छ । हामीले वेच विखन तथा वेश्यावृत्तिमा लगाएका छैनौं । हामीलाई सुनुवाईको मौकानै प्रदान नगरी एकपक्षिय ढंगले परिक्षण रिपोर्टलाई अवलम्वन गरी हाम्रा विरुद्धमा प्रमाणमा लगाई सजाय गरिएको छ । हामीले प्रतिवाद गर्न पाउनु पर्नेमा विशेष अदालतवाट सो भएको समेत छैन । जवसम्म रिपोर्ट तयार गर्ने विशेषज्ञको अदालत समक्ष प्रमाण ऐन ०३१ को दफा १८ बमोजिम वकपत्र गराइदैन तवसम्म सो प्रमाण हाम्रा विरुद्ध लागू हुन सक्दैन । प्राकृतिक न्यायका मान्य सिद्धान्त विपरीत हामीलाई सजायको भागीदार वनाइनु सर्वथा कानून विपरीत छ । विशेष अदालत काठमाडौंको फैसला वदर गरी अभियोग दावीवाट सफाई पाउँ भन्ने समेतको प्रतिवादीहरू सुरेश लाल र शुक्ररानी तामाङ्को पुनरावेदन ।

१७.   यसमा पीडित सर्मिला तामाङ्गको उमेर १४ बर्षको देखिएको अवस्थामा अ.वं. २४ नं. को रित नपुर्‍याई दिएको जाहेरी दरखास्त र सोही आधारमा भएको प्रमाणित वयान र करणीवाट पीडित जाहेरवालीको योनी जांच समेत नगराई कसूरदार ठहर्‍याई गरेको विशेष अदालतको फैसला फरक पर्ने देखिंदा अ.वं. २०२ नं. बमोजिम छलफलको लागी वादी श्री ५ को सरकार तर्फ महान्यायाधिवक्ताको कार्यालयलाई पेशीको सूचना दिई पेश गर्नु भन्ने यस अदालतको ०६२।३।३१ को आदेश ।

१८.   नियम बमोजिम पेशीसूचीमा चढी पेश हुन आएको पस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी सुरेश लामा र सुक्ररानी तामाङ्गको तर्फवाट उपस्थित विद्धान अधिवक्ता वोर्णवहादुर कार्कीले मेरो पक्षहरूले अदालतमा वयान गर्दा कसूरमा इन्कार रही वयान गरेका छन । जाहेरवालीको उमेर १४ बर्ष मात्र भएको अवस्थामा अ.वं. २४ नं. को रित नपुर्‍याई जाहेरी दिइएको छ । वेश्यावृत्ति गराए वापत मेरो पक्षले के कति रकम प्राप्त गरे, कति फाइदालिए भन्ने केही छैन । पीडितको करणी भएको तथ्य सवुदद्धारा पुष्टी भएको छैन विदेशमा लगी विक्री गरेमा वा वेश्यावृतिमा लगाएमा मात्र निर्दोशिताको प्रमाणको भार प्रतिवादीमा रहन्छ । स्वास्थ्य परिक्षण गर्ने विशेषज्ञको वकपत्र नगराई फैसला गरिएको छ । विशेष अदालतको फैसला वदर गरी मेरो पक्षहरूलाई अभियोग दावीवाट सफाई दिलाई पाउँ भनी र विपक्षी वादी श्री ५ को सरकार तर्फवाट उपस्थित विद्धान सह न्यायाधिवक्ता श्री टिकावहादुर हमाल तथा जाहेरवाली शर्मिला तामाङ्गको तर्फवाट उपस्थित बिदुषि अधिवक्ता द्धय पुण्य शिला दवाडी र चण्डेश्वरी तण्डुकारले विशेष ऐन लागु हुने मुद्दामा नावालकको वयान गराउदा अविभावकलाई राखी वयान गराउनु पर्दछ भन्ने छैन । पीडितको स्वास्थ्य परिक्षणवाट समेत करणी भएको पुष्टी भएको छ । वेश्यावृत्ति जन्य कार्यमा लगाउदा आर्थिक लेनदेन हुनै  पर्दछ भन्ने छैन । प्रतिवादीहरूले पीडितलाई वेश्यावृत्तिमा लगाउन मूख्य अपराधीको भूमिका निभाएका छन । विशेष अदालतको फैसला सदर गरिपाऊँ भनी वहस गर्नुभयो ।

१९.    उपरोक्त वहस समेत सुनी पुनरावेदन सहितको मिसिल कागजातहरू अध्ययन गरी विशेष अदालत काठमाडौंवाट भएको फैसला मिलेको छ, छैन साथै पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन भन्ने सम्वन्धमा निर्णय दिनुपर्ने देखियो ।

        २०.   निर्णयतर्फ विचार गर्दा प्रतिवादीहरू सुरेश लामा र सुक्ररानी तामाङ्गले जाहेरवाली पीडित शर्मिला तामाङ्गलाई घरको काम गर्न भनी काठमाडौं ल्याई कोठामा थुनी वाहिरका केटाहरूलाई बोलाई यौनसम्पर्क गर्न लगाई वेश्यावृत्तिमा लगाउने गरेकोले निजहरूलाई जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४ को खण्ड (ग) बमोजिमको अपराध गरेकोमा ऐ. ऐनको दफा ८(३) बमोजिम सजाय गरिपाऊँ भन्ने अभियोग दावी देखिन्छ । प्रतिवादीहरूले घरको काम गर्न भनी काठमाडौं ल्याई वाध्य पारी बेश्यावृत्तिमा लगाएको भनी पीडित जाहेरवालीले किटानी जाहेरी दिएको र उक्त जाहेरी पुष्टी हुने गरी आधिकार प्राप्त अधिकारी समक्ष वयानगरेको प्रमाणित वयानवाट देखिन्छ । प्रतिवादीले पीडित शर्मिला तामाङ्गलाई वेश्यावृत्तिमा लगाएको होइन भनी इन्कारी वयान गरेको देखिएतापनि निजहरूले पीडित शर्मिला तामाङ्गलाई गाउँवाट ल्याई आफ्नो डेरा कोठामा राखेको भन्ने कुरामा सहमति भई वयान गरेको देखिन्छ । पीडित जाहेरवालीको स्वास्थ्य परिक्षण गराउँदा योनीको हाइमन नभएको र Sex worker (यौनकर्मी) को रुपमा काम गराएको देखिएको भनी प्रतिवेदन प्राप्त भएको देखिन्छ । पीडित जाहेरवालीले यी प्रतिवादीहरू उपर किटानी गरी पोल गर्नुपर्ने अवस्था र कारण यो हो भनी प्रतिवादीहरूले तथ्य सहित जिकिर लिन र पुष्टी गर्न सकेको देखिदैन । प्रतिवादीहरूले आफ्नो निर्दोषिताको पुष्टी गराउनको लागी साक्षी सम्म पनि उपस्थीत गराई वकपत्र गराउन सकेको देखिदैन । महिला उपर हुने यसप्रकारको यौन शोषणमा अन्य फौजदारी अपराधमा जस्तो प्रत्यक्षदर्शी प्रमाण नहुन सक्छ । पीडित व्यक्ति र पीडितको शारिरीक परीक्षण प्रतिवेदन नै प्रमुख प्रमाण हो । यसप्रकारको अपराध बाठा र चतुर व्यक्तिहरू मिली सँगठीत प्रकारले सन्चालन हुन्छ भने अपराधवाट पीडित चांही नावालक, अशिक्षीत, अन्जान, आफ्नो अधिकार प्रति संचेतता नभएको आफु उपर हुने यसप्रकारको शोषण विरुद्ध उजुर गर्ने प्रावधान कानूनले व्यवस्था गरेको र कानूनले सजायको व्यवस्था गरेको छ भन्ने जानकारी सम्म पनि नभएका महिलाहरू उपर सो अपराध गरिन्छ । त्यस्ता शोषित पीडितहरूको परिवार पनि अज्ञान र गरिवीले ग्रसीत भई आफ्नो नावालक छोरी वैनी राम्रो ठाउमा काममा लागेको छ भन्ने विश्वासमा परि उनिहरूवाट कमाइको फल आसगर्ने खालका हुन्छन । नारीहरूलाई वेश्यावृत्तिमा लगाउनु जघन्य अपराध हो । यसप्रकारको वेश्यावृत्तीमा लगाउने अपराधलाई हाम्रो नेपाल कानूनले मात्र होइन अन्तराष्ट्रिय रुपमा पनि यसलाई गंम्भीरताका साथ लिइएको  छ । संयुक्त राष्ट्रसंघको महासभाको २ डिसेम्वर १९४९ को प्रस्ताव नं. ३१७ वाट स्वीकृत भई २५ जुलाई १९५१ मा लागु भएको "UN Convention on the Suppression of the Traffic in Persons and of the Exploitation of the Prostitution of Others" महासन्धि नेपालले २७ डिसेम्वर १९९५ मा अनुमोदन गरेको र सो महासन्धि नेपाल सन्धि ऐन, २०४७ को दफा ९ को व्यवस्थाले गर्दा हाल नेपाल कानून सरह लागु भएको छ । महिलाहरू विरुद्ध भएको यौन शोषणमा अभियुक्तलाई कानून बमोजिम सजाय गरी उक्त महासन्धिले आत्मासात गरेको व्यवस्थालाई लागु गर्नु यस अदालतको संवैधानिक कर्तव्य हो । महासन्धिको Article १ महत्वपूर्ण छ । Article १ यसप्रकार छ The parties to the present convention agree to punish any person who to gratify the passions of another

1) Procures entices or leads away for purposes of prostitution another person even with consent of that person.

2) Exploits the prostitution of another person even with the consent of that person. भन्ने स्पष्ट व्यवस्था भएको छ । जिउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ नेपालले उक्त महासन्धि अनुमोदन गर्नु अगावै लागु भएपनि २०४३ सालको उक्त ऐनका कतिपय व्यवस्थाहरू उक्त महासन्धि अनुकूल देखिन्छ । जस्तो वेस्यावृत्तीलाई अपराधीक कार्य मानी त्यस्तो अपराधमा प्रमाणको भार प्रतिवादीमा सारिएको व्यवस्था, मुद्दा टुङ्गीन लामो समय लाग्ने र पीडित महिला मुद्दा कुरेर वस्न सम्भव नहुने आदी कारणले पीडितको तत्काल मुद्दा हेर्ने अदालतमा वयान प्रमाणित गर्ने आदी व्यवस्थावाट आज्ञान, पीडित र शोषित महिलाको हक संरक्षणका लागी उक्त महासन्धि अनुकूल वनेको ऐन  हो ।

महिलाहरूको हक संरक्षण गर्ने त्यस्तो कानूनी व्यवस्थाको अक्षर र भावना (Letter and spirit) लाई मनन गरेर ऐनको व्याख्या गर्नु पर्छ । प्रस्तुत मुद्दामा पीडित जाहेरवालीको किटानी जाहेरी, जाहेरीलाई समर्थन गर्दै अदालतवाट प्रमाणित भएको वयान जिउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन मात्र होइन प्रमाण ऐन, २०३१ को दफा १०(क) अनुरुप पनि प्रमाणमा लिन हुने प्रमाण भएको र यसरी पिडीतवाट प्रतिवादीहरूको अपराध प्रमाणित भएको हुँदा संकलित प्रमाणवाट प्रतिवादीहरू सुरेश लामा र सुक्ररानी तामाङ्गले जाहेरीवाली शर्मिला तामाङ्गलाई काम गर्ने वहानामा आफ्नो घरमा ल्याई वाध्यपारी वेश्यावृतिमा लगाएको तथ्य स्थापीत भएवाट प्रतिवादी सुरेश लामा र शुक्ररानी तमाङ्गलाई जिउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन २०४३ को दफा ८(३) बमोजिम १० दश बर्ष कैद गर्ने ठहराएको विशेष अदालत काठमाडौंको फैसला मनासिव देखिंदा सदर हुने ठहर्छ । अभियोग दावीवाट सफाई पाउनु पर्दछ भन्ने प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी वुझाई दिनु ।

 

उक्त रायमा सहमत छु ।

 

न्या.रामप्रसाद श्रेष्ठ

 

 

इति २०६२ साल कार्तिक २ गते रोज ४ शुभम्.........

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु