निर्णय नं. ७५७४ - लिखत दर्ता बदर दर्ता ।

निर्णय नं.७५७४ ने.का.प.२०६२ अङ्क ७
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ
माननीय न्यायाधीश श्री बद्रीकुमार वस्नेत
सम्वत् २०५९ सालको दे.पु.नं. ..८१३३
फैसला मितिः २०६२।५।१९।१
मुद्दाः लिखत दर्ता बदर दर्ता ।
पुनरावेदक / वादीः जिल्ला पर्सा गा.वि.स. अलौं वडा नं. १ मा बस्ने मोतीलाल मलाह
बिरुद्ध
प्रत्यर्थी/वादीः जिल्ला पर्सा गा.वि.स.सुर्जाहा वडा नं. ८ हाल जिल्ला पर्सा गा.वि.स. बागेश्वरी तित्रौना वडा नं. ५ बस्ने सनकलीया देवी मलाहिन समेत
§ एकासगोलमा रहेको अवस्थामा खरीद गरेको सम्पत्ति अन्यथा प्रमाणित नभएसम्म संगोलकै सम्पत्तिवाट बढे बढाएको मान्नुपर्ने ।
§ प्रमाण ऐन, २०३१ को दफा ६(क) मा एकाघरसंगका अंशियारहरू मध्ये जुनसुकै अंशियारका नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्नेछ भन्ने व्यवस्था भएवाट वीरवहादुर सहनीले खरीद गरेको जग्गा निजी तवरले आर्जन गरी लिएको हो भनी प्रमाणित गर्न नसकेको अवस्थामा सबै अंशियारहरूको बराबर हक लाग्ने सम्पत्ति हो भनी मान्नु पर्ने ।
§ मुलुकी ऐन लेनदेन व्यवहारको १० नं. मा अंश नभएका अंशियारले संगोलको अचल सम्पत्ति वेचबिखन गर्दा वा कुनै किसिमले हक छाडी दिँदा ऐनले आफूखुशी गर्न पाउने अरुको मञ्जुरी लिनु नपर्नेमा वाहेक अरुमा एकाघरसंगका अंशियार सबै साँक्षी बसेको वा निजहरूको मञ्जुरीको लिखत गरिदिएको भए मात्र पक्का ठहर्छ भन्ने व्यवस्था भएबाट बाबु लोग्ने मरेको अवस्थामा आमा छोरा र श्रीमती समान तहका अंशियार रहने भएकाले संगोलको सम्पत्तिमा सबै अंशियारहरूको समानरुपले हक लाग्ने ।
§ अचल सम्पत्ति बिक्रि व्यवहार गर्दा संगोलका सबै अंशियारहरूको मञ्जुरी वाध्यात्मक रुपमा लिनुपर्ने ।
§ पुनरावेदक प्रतिवादीको दाताले जग्गा राजिनामा लिखत पास गरी पुनरावेदकलाई दिंदा संगोलका अंशियारहरूको मञ्जुरी लिएको वा साँक्षी बसेको समेत नदेखिदा अंशियारहरूको सहमती विना भएको व्यवहारले कानूनी मान्यता पाउन नसक्ने ।
§ संगोलमा रहँदाका अवस्थामा खरीद गरेको सम्पत्ति निजीरुपमा दान बकस पाएको बाहेक सबै अंशियारको हक लाग्ने ।
(प्रकरण नं.१३)
पुनरावेदक वादी तर्फवाटः विद्वान् अधिवक्ता श्री हरिचन्द्र सुवेदी
प्रत्यर्थी वादी तर्फवाटः
अवलम्वित नजीरः
फैसला
न्या.वद्रीकुमार वस्नेतः पुनरावेदन अदालत हेटौडाको मिति २०५८—९—१० गतेको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अन्र्तगत पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :-
२. सुका सहनी मलाहकी पत्नी म फिरादी सनकलीया मलाही हुँ र पती सुका सहनी मलाह र म फिरादी सनकलीया मलाहीनको दाम्पत्य जिवनवाट एक मात्र छोरा बिपक्षी विरवहादुर सहनीको जन्म भएको छ । विरवहादुर सहनीको पत्नी म फिरादी वच्चा देवी मलाहीन हुँ । पती ससुरा सुका सहनी मलाह आफनो काल गतीले परलोक भई सक्नु भएको र उपरोक्त परिवार एकसाथ संगोलमा वसी आएकोमा बिपक्षी विरवहादुर सहनी मलाहको नाउँ दर्ताको हामी समेतको अंश हक लाग्ने जिल्ला पर्सा गा.वि.स. अलौ वार्ड नं. २ कि.नं. २९० को ज.बि. ०–७–१० जग्गामा पुर्वतर्फवाट कित्ताकाट गराई कि.नं. ३०२ को ज.बि. ०–१–१० जग्गामा हाम्रो अंश हक मार्नको लागी बिपक्षीहरूले आपसमा मिलेमतो गरी हाम्रो मञ्जुरी विना दिने बिपक्षी विरवहादुर सहनी मलाह लिने बिपक्षी मोतीलाल मलाह भई मालपोत कार्यालय पर्साको र.नं. ६५४ मिति २०५५—५—१२ मा गैरकानूनी तवरवाट राजिनामा लेखत पारीत गराइएकोले उक्त राजीनामा लेखतमा उल्लेखित जिल्ला पर्सा गा.वि.स. अलौ वडा नं. २ कि.नं. ३०२ को ज.बि. ०–१–१० जग्गा मध्ये हाम्रो हुने ३ खण्डको २ खण्ड हाम्रो अंशहक जतीको पश्चिम तर्फवाट ज.वि. ०–१–० जग्गाको राजिनामा लिखत र दर्ता समेत वदर गरी सो जग्गा हाम्रो नाउँमा दर्ता गरी लागेको कोर्ट फि समेत दिलाई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।
३. वादी दावी बमोजिम लिखत दर्ता वदर दर्ता हुनु पर्ने होइन छैन । बिपक्षी वादीको फिराद बिल्कुलै झुठा फरेबी गैरकानूनी भई खारेजभागी छ । बादी दावीको जग्गा जिल्ला पर्सा गा.वि.स. अलौ वार्ड नं. २ कि.नं. २९० को ज.बि. ०–७–१० जग्गा कैलाश सहनी मलाहको नाउँमा दर्ता थियो निज कैलाश सहनीले आफनो नाउँ दर्ताको सो कि.नं. २९० को ज.बि. ०–७–१० जग्गा मालपोत कार्यालय पर्साको र.नं. २१४ मिति २०५५—५—१८ का दिन विरवहादुर सहनीको नाउँमा रजिष्ट्रेशन पारीत गरिदिनु भएपछी सो जग्गा निज विरवहादुर सहनीको नाउँमा दर्ता हुन आएकोमा निज प्र. मध्येको विरवहादुर सहनी मलाहले उक्त कि.नं. २९० को ज.बि. ०–७–१० मध्ये पुर्व तर्फवाट ज.बि. ०–१–१० मा मालपोत कार्यालय पर्साको र.नं. ६५४ मिति ०५५–५–१२ मा मेरो नाममा राजिनामा पारीत गर्दा सो जग्गा कित्ताकाट भई कि.नं. ३०२ को ज.बि. ०–१–१० जग्गा मेरो नाउँमा दर्ता हुन आयो । मैले वादी दावीको जग्गा राजिनामा पारीत गराउँदा सो मा बिपक्षीहरू समेतको राय सल्लाह थियो । यसरी स्वतन्त्र रुपमा किन वेच गरेको हुनाले बिपक्षी वादीको झुठा फिराद खारेजगरी झुठा दावीवाट अलग फुर्सद गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी मोतीलाल मलाहको प्रति उत्तरपत्र ।
४. प्रतिवादी विरवहादुर सहनी मलाहले अदालतवाट जारी भएको तामेली म्यादको अन्तिम मिति सम्म पनि प्रतिउत्तर नफिराई शुरु म्यादै गुजारी वसेको ।
५. यस्मा प्र. विरवहादुरले आफनै पालामा आर्जेको सम्पत्ति लिखत गरी दिएको, सो सम्पत्ति संगोलको आर्जनवाट खरिद गरेको तर्फ एकीन गर्न सकिने आधार प्रमाण नदेखिएको र अंशबण्डाको १९ नं. बमोजिम व्यवहार चलाउने घरको मुख्य भै काम गर्ने विरवहादुरले जग्गा लिखत गरी दिन सक्ने नै देखिंदा वादी दावी पुग्ने देखिएन । वादीको फिराद दावी पुग्न नसकने ठहर्छ भन्ने शुरु पर्सा जिल्ला अदालतको मिति २०५७—२—१८ को फैसला ।
६. वादी दावीको जग्गा संगोलको आर्जनवाट खरिद गरेको संगोलको सम्पत्ति भएको कुरा हामीले फिरादमा स्पष्ट उल्लेख गरेका छौं । प्रतिवादीले आफनो प्रतिवादमा दावीको जग्गा निजी आर्जनको हो भन्ने उल्लेख गरेका छैनन भने अर्को प्रतिवादीले वादी दावी स्वीकार गरी प्रतिवादी नै नगरी मौन वसेका छन् । उक्त निजी आर्जनवाट खरिद गरेको भए सो कुराको जिकिर लिनु पर्ने तथा निजी आर्जनको प्रमाण दिनुपर्नेमा जिकिर पनि नलिएको र निजी आर्जनको प्रमाण समेत पेश नगरी हाम्रो संगोलको आर्जनको भन्ने कुरालाई स्वीकार गरीरहेको अवस्थामा संगोलको आर्जनवाट खरिद गरेको तर्फ यकिन गर्न सकिने आधार प्रमाण नदेखिएको भनि न्यायकर्ताज्यूले फैसलाको आधार वनाउनु कानूनसंग छैन । अन्यथा प्रमाणित नभए सम्म एकाघर संगोलको अंशियारहरू मध्ये जुनसुकै अंशियारको नाउँमा रहेको सम्पत्ति संगोलको सम्पत्ति हो भन्ने अदालतले अनुमान गर्ने छ भनि प्रमाण ऐन, ०२३ को दफा ६(क) ले स्पष्ट गरेको छ । वादी दाविको जग्गा हाम्रो संगोलको आर्जनवाट खरिद गरेको संगोलको सम्पत्ति न भै निजी आर्जनको सम्पत्ति भए सो को प्रमाण पेश गर्नुपर्नेमा सो नगरेवाट सो जग्गा संगोलको आर्जनवाट खरिद गरेको संगोलको सम्पत्ति हो भन्ने कुरा स्पष्ट हुँदा हुँदै पनि सो को कुनै विचार मुल्यांकन नै नगरी खरिद गरेको तर्फ यकिन गर्न सकिने आधार प्रमाण नदेखिएको भन्ने गलत आधार वनाई गर्नु भएको उक्त फैसला त्रुटीपूर्ण हुँदा शुरु पर्सा जिल्ला अदालतवाट वादी दावी पुग्न सक्दैन भनि भएको फैसला उल्टी गरी हाम्रो फिराद दावी बमोजिम हुने गरी पुनरावेदन फैसला गरिपाऊँ भन्ने पुनरावेदकको पुनरावेदन जिकिर ।
७. यस्मा लिखत गर्ने विरवहादुर सनकलियाका छोरा नाताका संगोलका अंशियार देखिएका निजले प्रतिउत्तर फिराएको अवस्थामा ठोस सवुद प्रमाण वेगर निजलाई घरको मुख्य ठहराई वादी दावी पुग्न नसक्ने भनि भएको फैसला लेनदेन व्यवहारको १० नं. र अंशवण्डाको १८ र १९ नं. समेतको त्रुटी देखिन आई सो फैसला फरक पर्ने देखिंदा छलफलको निमित्त अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई आए वा अवधि नाघेपछी नियमानुसार गरी पेश गर्नु भन्ने पुनरावेदन अदालत हेटौको मिति २०५८—२—१८ को आदेश ।
८. वादी दावी बमोजिमको हदसम्म दावी पुग्ने भै सो बमोजिम गरीदिनुपर्ने ठहर्छ । सो ठहराउनु पर्नेमा शुरुले दावी नपुग्ने ठहराएको इन्साफ नमिलेकोले उल्टी हुने ठहर्छ भन्ने पुनरावेदन अदालत हेटौडाको फैसला ।
९. विवादित कि.नं. २९० को ज.बि. ०–७–१० मेरो दाताले मिति ०५५–४–१८ मा कैलाश सहनी मलाहवाट आफनो स्व आर्जनवाट लिनु भएको हो । सो जग्गा मध्येवाट नै पूर्वतर्फवाट कित्ताकाट गरी कायम भएको कि.नं. ३०२ को ज.बि. ०–१–१० मैले खरीद गरी लिएको हुँ । आफनो पालामा आर्जेको चल अचल सवै अंशबण्डाको १९(२) नं. ले आफु खुश गर्न पाउँदछ । साथै कि.नं. २९० को ज.बि. ०–७–१० वाट मेरो दाताको भागमा ०–१–१७ जग्गा अंश भाग पाउने हुँदा आफनो अंश हक जति अंशबण्डाको १९(४) नं. ले आफुखुश गर्न पाउने र पिता पुर्खाको पालाको चल अचल सम्पत्तिमा पनि घरको मुख्यले घर व्यवहार चलाउनलाई चलमा सवै र अचलमा आधा सम्म आफू खुश गर्न पाउने व्यवस्था अंशबण्डाको १९(१) नं. मा भएको र मेरो दाता घरको मुख्य समेत हुँदा पुनरावेदन अदालतवाट दावी पुग्ने गरी भएको फैसला उक्त कानूनी व्यवस्था विपरीत भएकोले वदर गरी शुरु पर्सा जिल्ला अदालतवाट भएको फैसला सदर कायम गरी इन्साफ पाँउ भन्ने प्रतिवादीको पुनरावेदनपत्र ।
१०. नियमबमोजिम दैनिक पेशीसूचीमा चढी आज यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फवाट उपस्थित विद्वान् अधिवक्ता हरिचन्द्र सुवेदीले पुनरावेदक प्रतिवादीको दाताले आफनो पालामा आर्जेको सम्पत्ति नै पुनरावेदकलाई पारीत गरी दिनु भएको र सो सम्पत्ति पैतृक संगोलको सम्पत्तिवाट खरीद गरेको भन्ने पुष्टी हुन नसकेको अवस्थामा अंशबण्डाको १९(२) नं. ले आफूखुश गर्न पाउने नै हुँदा पुनरावेदन अदालतवाट भएको फैसला मिलेको छैन भनी प्रस्तुत गर्नुभएको बहस समेत सुनियो ।
११. अव विद्वान् अधिवक्ताले प्रस्तुत गर्नुभएको उपर्युक्त वहस बुँदा एवं मिसिल संलग्न प्रमाण कागजात समेत अध्ययन गरी हेर्दा पुनरावेदन अदालतवाट वादी दावी बमोजिमको हदसम्म दावी पुग्ने गरी भएको फैसला मिले नमिलेको के रहेछ ? सोही सम्वन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
१२. निर्णय तर्फ विचार गर्दा वीरवहादुर सहनी मलाहको नाउँ दर्ताको हामीहरूको समेत अंश हक लाग्ने कि.नं. २९० को ज.बि. ०–७–१० जग्गा मध्ये पूर्वतर्फवाट कित्ताकाट गराई कि.नं. ३०२ को ज.बि. ०–१–१० जग्गा हाम्रो अंश हक मार्न हामीहरूको मंजुरी विना बिपक्षी वीरवहादुर सहनीले बिपक्षी मोतीलाल मलाहलाई राजिनामा लिखत पारीत गरिदिनु भएकोले उक्त कि.नं ३०२ को ज.बि. ०–१–१० मध्ये तीन खण्डको दूई खण्ड हामीहरूको अंशहक जति पश्चिमतर्फ वाट ज.बि. ०–१–० जग्गाको राजिनामामा लिखत र दर्ता समेत वदर गरी हाम्रो नाउँमा दर्ता गरिपाऊँ भन्ने वादी दावी र वीरवहादुर सहनीले कैलाश सहनीवाट रजिष्ट्रेशन पारीत गरी लिनुभएको जग्गा मध्येवाट नै कित्ताकाट गरी कि.नं. ३०२ को जग्गा राजिनामा पारीत गरी दिनुभएको हुँदा दावी बमोजिम लिखत दर्ता वदर हुनुपर्ने होइन भन्ने प्रतिउत्तर जिकिर भएको पाईन्छ । यसमा शुरु जिल्ला अदालतले वादी दावी पुग्न नसक्ने ठहराई भएको फैसला उपर वादीको पुनरावेदन परेकोमा पुनरावेदन अदालतवाट दावी बमोजिमको हदसम्म दावी पुग्ने ठहर गरी शुरु इन्साफ उल्टी गरे उपर प्रतिवादीको यस अदालतमा उक्त फैसला वदर गरी शुरु इन्साफ सदर कायम गरिपाऊँ भनी पुनरावेदन पर्न आएको देखियो ।
१३. यसमा प्रतिवादी वीरवहादुर सहनी मलाहको वादीहरू सनकलीया देवी आमा र बच्चा देवी श्रीमती भई एकासंगोलमा रहे बसेको देखिन्छ । प्रतिवादी वीरवहादुर सहनीले एकासंगोलमा रहेको अवस्थामा नै उक्त कि.नं. २९० को जग्गा खरीद गरी लिएकोमा विवाद देखिदैन । एकासगोलमा रहेको अवस्थामा खरीद गरेको सम्पत्ति अन्यथा प्रमाणित नभएसम्म संगोलकै सम्पत्तिवाट बढे बढाएको मान्नुपर्दछ । प्रमाण ऐन, २०३१ को दफा ६(क) मा एकाघरसंगका अंशियारहरू मध्ये जुनसुकै अंशियारका नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्नेछ भन्ने व्यवस्था भएवाट वीरवहादुर सहनीले खरीद गरेको उक्त जग्गा निजी तवरले आर्जन गरी लिएको हो भनी प्रमाणित गर्न नसकेको अवस्थामा सबै अंशियारहरूको बराबर हक लाग्ने सम्पत्ति हो भनी मान्नु पर्दछ । पुनरावेदक प्रतिवादीले आफनो दाता वीरवहादुर घरको मुख्य व्यक्ति भएकोले घर व्यवहार चलाउन आफनो पालामा आर्जेको चल अचल सबै र पिता पुर्खाको पालाको गैह्रसम्पत्तिको हकमा चलमा सबै र अचलमा आधीसम्म आफूखुश गर्न पाउँछ भन्ने जिकिर लिँदै पुनरावेदन अदालतको फैसला मिलेको छैन भन्ने जिकिर लिएतापनि वादी सनकलीया देवी प्रतिवादी वीरवहादुरको आमा देखिएको र निज वीरवहादुरले आफू घरको मुख्य भै व्यवहार चलाएको भन्ने प्रमाण समेत पेश गर्न नसकेको अवस्थामा आमा र वीरवहादुर समान तहका हक खाने व्यक्ति हुँदा पुनरावेदकको उक्त जिकिरसंग सहमत हुन सकिने अवस्था देखिन आएन । त्यस्तै मुलुकी ऐन लेनदेन व्यवहारको १० नं. मा अंश नभएका अंशियारले संगोलको अचल सम्पत्ति वेचबिखन गर्दा वा कुनै किसिमले हक छाडी दिँदा ऐनले आफू खुशी गर्न पाउने अरुको मञ्जुरी लिनु नपर्नेमा वाहेक अरुमा एकाघरसंगका अंशियार सबै साँक्षी बसेको वा निजहरूको मञ्जुरीको लिखत गरिदिएको भए मात्र पक्का ठहर्छ भन्ने व्यवस्था भएबाट बाबु लोग्ने मरेको अवस्थामा आमा छोरा र श्रीमती समान तहका अंशियार रहने भएकाले संगोलको सम्पत्तिमा सबै अंशियारहरूको समानरुपले हक लाग्ने हुन आउँदछ । तसर्थ त्यस्तो अचल सम्पत्ति बिक्रि व्यवहार गर्दा संगोलका सबै अंशियारहरूको मञ्जुरी उक्त कानूनी व्यवस्थावाट वाध्यात्मक रुपमा लिनुपर्ने हुन्छ । प्रस्तुत सन्दर्भमा पुनरावेदक प्रतिवादीको दाताले उक्त जग्गा राजिनामा लिखत पास गरी पुनरावेदकलाई दिंदा संगोलका अंशियारहरूको मञ्जुरी लिएको वा साँक्षी बसेको समेत देखिदैन । यसले गर्दा अंशियारहरूको सहमती विना भएको व्यवहारले कानूनी मान्यता पाउन सक्दैन । साथै पुनरावेदक प्रतिवादीले दाताले आफनो पालामा आर्जेको सम्पत्ति अंशबण्डाको १९(२) नं. ले आफूखुश गर्न पाउँछ भन्ने व्यवस्था भएबाट लिखत वदर हुनुपर्ने होइन भनी लिएको जिकिर सम्वन्धमा हेर्दा संगोलमा रहँदाका अवस्थामा खरीद गरेको सम्पत्ति निजीरुपमा दान बकस पाएको बाहेक सबै अंशियारको हक लाग्ने सम्पत्ति भनी मान्नुपर्ने हुन्छ । तसर्थ पुनरावेदन अदालत हेटौडावाट वादी दावी बमोजिम दावी पुग्ने ठहराई भएको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनु ।
उक्त रायमा सहमत छु ।
न्या.शारदा श्रेष्ठ
इति समवत २०६२ साल भदौ १९ गते रोज १ शुभम.......