निर्णय नं. ९२३३ - रिसवत

नेकाप २०७१, अङ्क ८, नि.नं.९२३३
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री दीपकराज जोशी
माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.
फैसला मिति : २०७१।६।१।४
२०६९-CR-००५३
मुद्दा : रिसवत ।
पुनरावेदक/प्रतिवादी : भोजपुर जिल्ला, गोगने गा.वि.स. वडा नं. ५ बस्ने पुष्करराज नेपाल
विरूद्ध
प्रत्यर्थी/वादी : अनुसन्धान अधिकृत, गणेशचन्दको प्रतिवेदनले नेपाल सरकार
§ प्रतिवादी पुष्करराज नेपालले सूर्यमान श्रेष्ठबाट धरौटी लिन आदेश पर्चा खडा गरेको र सो आदेश पर्चाबाट रू. ५०,०००।- धरौटी माग गरेकोले सोही धरौटी बापतको रकम अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कर्मचारीले बरामद गरेको र सो रकम धरौटीको रकम हो भनी प्रतिवादी पुष्करराज नेपालले भनेको भनी बरामद गर्ने प्रहरी नायब उपरीक्षक गणेश चन्दले विशेष अदालतमा बकपत्र गरेको देखिँदा प्रतिवादीबाट बरामद भएको रू. ५०,०००।- घुसको लागि लिएको नभै सूर्यमान श्रेष्ठबाट धरौटी माग गरेको र निजको सहयोगी सन्तोष स्याङताङले सो रकम दाखेल गर्न ल्याएको धरौटीको रकम रू. ५०,०००।- देखिएको हुँदा प्रतिवादीलाई अभियोग दावीबाट सफाइ दिनुपर्ने ।
(प्रकरण नं.८)
पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, कृष्ण सापकोटा र विद्वान् अधिवक्ता जयनारायण पौडेल
प्रत्यर्थी/वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता कृष्णमोहन कोइराला
अवलम्बित नजिर :
सम्बद्ध कानून :
§ वैदेशिक रोजगार ऐन, २०६४ को परिच्छेद १० को दफा ६१(१)
सुरू तहमा फैसला गर्ने :
अध्यक्ष मा.न्या.श्री गौरीबहादुर कार्की
मा.न्या.श्री ओमप्रकाश मिश्र
मा.न्या.श्री केदारप्रसाद चालिसे
फैसला
न्या.दीपकराज जोशी : विशेष अदालत, काठमाडौंको मिति २०६८।११।१५ गतेको फैसलाउपर विशेष अदालत ऐन, २०५९ को दफा १७ अनुसार पर्न आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यस प्रकार छ :
सूर्यमान श्रेष्ठ र म साझेदार भई ट्रिपल एस ट्राभल्स सञ्चालन गर्दै आउँदाको क्रममा सूर्यमान श्रेष्ठले केही व्यक्तिहरूको श्रम स्वीकृति निकाल्न सहयोग गरिदिएकोमा ती व्यक्तिहरू विदेश जाने क्रममा यु.ए.ई.को विमानस्थलमा अलपत्र परेको भन्ने जानकारीको आधारमा सूर्यमान श्रेष्ठलाई वैदेशिक रोजगार विभागको उजुरीले अनुसन्धान भैरहेको अवस्थामा त्यहाँ कार्यरत पुष्करराज नेपालले रू.५०,०००।- दिए साधारण तारिखमा छाडी दिन्छु धरौटी
राख्नु पर्दैन भनेको थियो । सूर्यमान श्रेष्ठ पक्राउ परी आउनासाथ हिरासतमा राख्न महानगरीय प्रहरी परिसर हनुमान ढोकामा पठाएकोमा फेरि निज पुष्करराज नेपालले मलाई रू. ५०, ०००।- दिने भए सूर्यमान श्रेष्ठलाई आजै साधारण तारिखमा छाडी दिन्छु भनी घुस (रिसवत) को प्रस्ताव गरेकोले मैले आज निवेदनसाथ पेस गरेको नोटहरू यस आयोगबाट प्रमाणित गरी निज पुष्करराज नेपाललाई दिन मलाई नै फिर्ता पाउँ भन्नेसमेत व्यहोराको उजुरीकर्ता सन्तोष स्याङताङले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा मिति २०६७।९।१६ मा उजुरी दिएको देखिएको ।
रू. १००० दरका ४९ वटाको हुने रू. ४९, ०००।- र रू. ५०० दरका २ वटाको हुने रू.१,०००।- समेत जम्मा रू. ५०,०००।- रूपैँया अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रमाणित गरी सन्तोष स्याङताङलाई दिएको विवरण मुचुल्का मिसिल सामेल रहेको ।
म र सूर्यमान श्रेष्ठ भई साझेदारमा ट्राभल एजेन्सी सञ्चालन गरी बसेका छौँ । त्यसै क्रममा मेरो साथी सूर्यमान श्रेष्ठले वैदेशिक रोजगारको लागि केही व्यक्तिको श्रम स्वीकृति निकाली दिएको रहेछ । ती व्यक्तिहरू वैदेशिक रोजगारमा जाने क्रममा यु.ए.ई. विमानस्थलमा अलपत्र परेको भनी वैदेशिक रोजगार विभागले सूर्यमान श्रेष्ठलाई सो विभागमा उपस्थित गराउँदा म पनि सँगै थिए । त्यस विभागमा उपस्थित भै सकेपछि पुष्करराज नेपालले बयान लिई कारवाही अगाडि बढाउनुपर्नेमा थुनुवापुर्जि दिई सूर्यमानलाई हनुमानढोका पठाइयो । म त्यहीं बसेँ । मलाई पुष्करराज नेपालले रू.५०,०००।- दिनु आजै तपाईंको मानिसलाई साधारण तारिखमा छाडिदिन्छु भनेकाले कार्यालयमा भएको रकम लिएर आएँ । रकम म, सूर्यमान र पुष्करराज नेपाल मात्र भएको समयमा पुष्करराज नेपाललाई मैले दिएको हो । सो रकम फिर्ता पाउँ भन्ने स्याङताङको अधिकारप्राप्त अधिकारीसमक्षको बयान कागज ।
कानून अधिकृत पुष्करराज नेपालको पेन्टको बायाँ खल्तीबाट रू. १०००।- को ४९ थान र रू ५०० को २ थान गरी रू. ५०,०००।- बरामद भएको भन्ने २०६७।९।१६ गतेको बरामदी मुचुल्का ।
सन्तोष स्याङताङ र सूर्यमान श्रेष्ठले वैदेशिक रोजगार विभागका कानून अधिकृत प्रतिवादी पुष्करराज नेपाललाई पहिचान गरिदिएको सनाखत कागज मिसिल सामेल रहेको ।
२०६७।९।१६ गते प्रहरी प्रधान कार्यालयले २ जना मानिसलाई पक्राउ गरी ल्याएको रहेछ । ती मानिसहरूलाई लिएर आउने प्रहरी कर्मचारीले मलाई तपाईंको यी मानिस बुझी दिनुस् हामीलाई ढीलो भयो भनेकाले नवीन शाहीलाई मात्र हनुमानढोका पठाउने गरी पत्र लेखेकोमा प्रहरीले सूर्यमान पनि छ भनेकाले पत्रमा सूर्यमानको पनि नाम थपी हिरासतमा राख्न पत्र लेखेको हो । त्यसै समयमा एक जना मानिसले निर्दोष व्यक्ति सूर्यमानलाई हिरासतमा पठाएकोमा म देखाई दिन्छु भन्यो । पुनः केही समयपछि सूर्यमान श्रेष्ठसमेतले वैदेशिक रोजगारमा पठाएका मानिसहरू यु.ए.ई. विमानस्थलमा अलपत्र परेका छन, आज राति १२ बजेबाट तिनीहरूको भिसाको म्याद सकिँदै छ । त्यसैले सूर्यमान श्रेष्ठसमेतलाई झिकाएर बुझी पाउँ भनी नयाँ उजुरी परेको हुँदा विषयको गाम्भीयर्तालाई हेरी ती व्यक्तिलाई एकछिन पर्खनुस् मानिस झिकाएर बुझौँला, गर्न सक्ने गरौँला भनेको थिए । पछि निजले पुनः दबाब दिएकाले मैले मानिस लिन पठाएको छु, तपाईं धरौटीको व्यवस्था गर्दै गर्नुस् भनेकोमा ऊ हुन्छ भनेर गएका थिए । त्यस दिन शुक्रबार भएकाले निकै भिडभाड भए तापनि ती व्यक्तिहरूलाई बयान सुरू गरेँ । नवीन शाहीको बयान सकेर सूर्यमानको बयान गर्न लाग्दा हनुमानढोकाबाट आएका प्रहरीले हतार गरेकाले नवीन शाहीलाई हिरासतमा राख्न र सूर्यमान श्रेष्ठलाई रू.५०,०००।- धरौटी माग गर्ने निर्णय पर्चा तयार गरी हिरासत मुक्तको पत्र तयार गर्न लगाएँ । सूर्यमानको बयान भैरहेको थियो । हिरासतमुक्त भएपछि सूर्यमानलाई जिम्मा बुझ्न नागरिकता वा राहदानीको प्रतिलिपि चाहिन्छ भनेको थिएँ । तर सूर्यमानको साथीले लाइसेन्स मात्र छ भनेकोले धरौटी नबुझी सूर्यमानलाई पुनः आज हनुमानढोका पठाउनुपर्दछ भनी हिरासतमा राख्ने पत्र तयार गरेँ । त्यसपछि बयान गराउँदै गर्दा आफ्नै काम विशेषले बाहिर निस्कँदा सूर्यमानको साथी जुरूक्क उठेर मेरो खल्तीमा हात हाल्यो । त्यसै समयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोली प्रवेश गरी शरीर तलासी गरेको हो । सूर्यमानको साथीले मलाई फसाउन त्यसो गरेको हो ।
वैदेशिक रोजगार ऐन, २०६४ को दफा ६१ ले अनुसन्धान अधिकृतलाई धरौटी माग गर्ने अधिकार भएकोले धरौटी माग गरेको हो । ०६७।९।१६ गतेका दिन पहिले नवीन शाही र सूर्यमान श्रेष्ठलाई ०६७।९।१८ मा उपस्थित गराई दिने भनी हिरासतमा राख्न पठाएकोमा पुनः सोही दिन नयाँ उजुरी आएकोले विभागमा झिकाई नवीन शाहीको बयान सकेको र प्रहरीले हतार गरेको कारण सूर्यमान श्रेष्ठलाई धरौटीमा छाड्ने भएकाले हिरासत मुक्त गर्न पत्र लेखेको हो । तर सूर्यमानलाई छाडी सकेको अवस्था थिएन । धरौटी माग गरेको रकमलाई सूर्यमानको मानिसले कसरी बुझ्यो मलाई थाहा भएन । अख्तियारको टोली पुग्दा म सम्बन्धित फाइलमा नै काम गरी रहेको थिएँ । तर त्यो के गरिदै छ भन्ने कुरा हेरिएन । असल नियतले गरेको काममा कर्मचारीलाई कारवाही हुँदैन भन्नेसमेत व्यहोराको प्रतिवादी पुष्करराज नेपालको अधिकारप्राप्त अधिकारीसमक्षको ततिम्बा बयान ।
मैले यसभन्दा अगाडिको बयानमा भने जस्तै सूर्यमानले मेरो खल्तीमा हात हाल्यो । त्यसपछि म अक्क न बक्क भएर सिटतर्फ आएको थिएँ । त्यसै समयमा आयोगबाट खटी गएको टोली पुगेको हो भन्नेसमेत व्यहोराको प्रतिवादीको अधिकारप्राप्त अधिकारीसमक्षको ततिम्बा बयान ।
मिति २०६७।९।१६ गते मलाई विशेष प्रहरी टोलीले वैदेशिक रोजगार विभागमा उपस्थित हुन बोलाएपछि म वैदेशिक रोजगार विभागको उजुरी तथा अनुसन्धान शाखामा उपस्थित भएँ । मलाई मौखिक तथा लिखित
कुनै सोधपुछ नगरी हिरासतमा राख्न करिब २.०० बजे महानगरीय प्रहरी परिसर हनुमानढोकामा पठाइयो । पछि ३.३० बजे पुनः वैदेशिक रोजगार विभागमा उपस्थित गराइयो । मसँगै उपस्थित भएका नवीन शाहीलाई बयान लिएर हिरासतमा राख्न पठाइयो । त्यसपछि निज पुष्करराज नेपाललाई सन्तोष स्याङताङले केही रकम घटाउन
अनुरोध गरेकोमा पुष्करराज नेपालले नमानेपछि बाध्य भई रू.५०,०००।- दियो । सो रकम मेरो हो, फिर्ता पाउँ भन्नेसमेत व्यहोराको सूर्यमान श्रेष्ठको अधिकारप्राप्त अधिकारीसमक्षको बयान कागज ।
पुष्करराज नेपालले तयार पारेको भनिएको निर्णय पर्चा निजकै श्रीमतीले दराजमा छ भन्ने खबर गरेपछि सुदीप भन्ने सुरक्षा गार्डले पट्टाएर राखेको अवस्थामा फेला पारेको हो । त्यसमा लगाइएको छाप कार्यालयको छाप भन्दा फरक देखिन्छ । धरौटी रकम माग्दा अभियुक्तको तत्काल देखिएको कसुरको आधार प्रमाण कागजातहरूलाई आधार मानी धरौटी माग्न सकिन्छ । साधारणतया निर्णय पर्चा बयान कार्य समाप्त भएपछि मात्र तयार गरिन्छ भन्नेसमेत व्यहोराको वैदेशिक रोजगार विभागका कानून अधिकृत बाबुराम पाण्डेको अधिकारप्राप्त अधिकारीसमक्षको बयान कागज ।
म २०६७।९।१६ गते १, २ बजेतिर कार्यालयबाट बाहिर निस्किएको थिएँ । मलाई सूर्यमान श्रेष्ठको धरौटी लिने सम्बन्धमा कुनै जानकारी प्राप्त भएको थिएन । कानूनीरूपमा धरौटी रकम बैङ्क दाखिला गरी भौचरमार्फत बुझी लिइन्छ । बैङ्क दाखिला गर्ने समय सकिएमा कार्यालयमा समयभित्र लेखामा रकम बुझाई भरपाई गरी बुझी लिइन्छ भन्नेसमेत व्यहोराको वैदेशिक रोजगार विभागका लेखा अधिकृत कुलप्रसाद रेग्मीको अधिकारप्राप्त अधिकारीसमक्षको बयान कागज ।
धरौटी अनुसन्धान अधिकृतले माग गर्छ । निर्णय पर्चा कानूनसम्मत हुनुपर्दछ । मलाई कानून अधिकृत पुष्करराज नेपालले २०६७।९।१६ गते कुनै काम कारवाहीको जानकारी नदिएकाले के घटना भयो मलाई जानकारी छैन । साथै सूर्यमान श्रेष्ठ हिरासतमा रहेको बारेमा मलाई थाहा थिएन भन्ने व्यहोराको वैदेशिक रोजगार विभागका तत्कालीन महानिर्देशक मोहनकृष्ण सापकोटाको अधिकारप्राप्त अधिकारीसमक्षको बयान कागज ।
हालसम्म सङ्कलित तथ्य र प्रमाणहरूको विवेचनाबाट प्रतिवादी पुष्करराज नेपालले सूर्यमान श्रेष्ठलाई साधारण तारिखमा छोडिदिने भनी उजुरीकर्ता सन्तोष स्याङताङमार्फत रू.५०,०००।- बुझिलिएको, सो रकम अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले बरामद गरेको, बयान कार्य पूरा भै नसकेको, एकै दिनमा एउटै व्यक्तिको हकमा पहिले हिरासतमा राख्न पत्राचार र हिरासत मुक्त गर्न पत्राचार गरेको, प्रतिवादी पुष्करराज नेपालले तयार पारेको भनिएको निर्णय राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदनबाट निर्णय पर्चामा प्रयोग गरिएको छापसमेत फरक परेकोसमेतका आधार कारणबाट यी प्रतिवादीले रू. ५०,०००।- घुस रकम लिएको तथ्य पुष्टि हुन आएको हुँदा प्रतिवादी पुष्करराज नेपाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) अर्न्तगतको कसुरमा ऐजन ऐनको दफा ३(१)(ख) बमोजिम कैद सजाय गरी बिगोबमोजिम जरिवाना गरिपाउँ भन्नेसमेत व्यहोराको आरोपपत्र । मिति २०६७।९।१६ गते भएको बरामदी मुचुल्कामा भएको सही मेरै हो । बरामदी नोटहरूको नम्बर सम्बन्धमा तत्काल मलाई देखाइएन र भिडाइएन । म सँगबाट बरामद भएको हो । रू.५०,०००।- रूपैँया वैदेशिक रोजगारसम्बन्धी मुद्दामा सूर्यमानसँग माग गरिएको हुँदा धरौटीमा जम्मा गर्नुपर्ने रकम हो । रकम माग गर्दा मैले सम्पूर्ण प्रक्रिया पूरा गरी नसकेकै अवस्थामा सूर्यमान श्रेष्ठको भाइ भन्ने सन्तोष स्याङताङले मलाई फसाउन मेरो खल्तीमा योजनाबमोजिम पैसा राखिदिएको रहेछ । सबै प्रक्रिया पूरा गरी सकेपछि दिएको भएमा कुनै समस्या आउने थिएन । रू.५०,०००।- धरौटी माग्ने भनी निर्णय पर्चा खडा गरेको छ । सन्तोष स्याङताङले दिएको निवेदन र सोमा भएको सहीछाप कसको हो निवेदन व्यहोरा हस्ताक्षर र अन्तमा मिति भन्ने लेखिएको फरक छ । त्यो निवेदन अनुसन्धानको क्रममा मात्र मलाई देखाइएबाट बद्नियतपूर्ण छ भन्नेसमेत व्यहोराको प्रतिवादी पुष्करराज नेपालको विशेष अदालतसमक्षको बयान ।
बुझ्दै जाँदा प्राप्त प्रमाणबाट ठहरेबमोजिम हुने गरी हाल प्रतिवादीले रू.५०,०००।- नगद वा सो रकम खाम्ने जेथा जमानत दिन सके लिई तारिखमा राखी मुद्दामा पुर्पक्ष गर्न दिनु र नगद धरौटी वा जेथा जमानत दिन नसके रीतपूर्वक थुनुवापुर्जी दिई थुनामा राखी पुर्पक्ष गर्नु भनी विशेष अदालत ऐन, २०५९ को दफा ७(घ) बमोजिम यो आदेश पर्चा गरी दिएको छ । साथै बरामदी रकम धरौटीमा आम्दानी बाँध्नु भन्ने व्यहोराको विशेष अदालतबाट मिति २०६७।१०।१८ गते आदेश भई प्रतिवादीले नगद धरौटी राखी तारिखमा बसेको देखिएको ।
प्रतिवादीबाट बरामद भएको रकम धरौटीको लागि माग गरेको हो भनेको जस्तो लाग्छ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको साक्षी गणेश चन्दको बकपत्र ।
रकम प्रतिवादी पुष्करराज नेपालको पाइन्टको बायाँ खल्तीबाट बरामद गरेका हौँ । उहाँले सो रकम नजिकै बसेको मानिसलाई देखाएर उहाँबाट मैले सापटी लिएको भन्नुभयो । फेरि हामीले थप सोधपुछ गरेपछि
मैले यो रकम सन्तोष स्याङताङ भन्ने व्यक्तिबाट सूर्यमान श्रेष्ठको धरौटीको लागि लिएको हुँ भन्नुभयो भन्नेसमेत व्यहोराको वादीका साक्षी दुर्गा खनालको बकपत्र ।
पुष्करराज नेपाललाई पक्राउ गर्दा अर्का सूर्यमान भन्ने एक जना मानिस पनि थिएँ । हामी त्यहाँ पुग्दा उहाँ फाइल र कलम लिएर बसिराख्नु भएको थियो भन्नेसमेत व्यहोराको वादीका साक्षी विणालाल विष्टको बकपत्र ।
प्रतिवादीले सूर्यमान श्रेष्ठबाट धरौटी माग गरेको र सोको लागि निर्णय पर्चा तयार गरेको सम्बन्धमा मलाई केही थाहा छैन भन्नेसमेत व्यहोराको वादीका साक्षी प्रकाश न्यौपानेले गरेको बकपत्र ।
मिति २०६७।९।१६ गते पुष्कर सरले सूर्यमान श्रेष्ठसँग धरौटी माग्ने आदेश गरी धरौटी बुझाएको भन्ने थाहा थियो, अरू थाहा छैन भन्नेसमेत व्यहोराको वादीका साक्षी सुदिपकुमार बाइबाको बकपत्र ।
वारदातको दिन प्रतिवादीले मैले नचिनेको मानिससँग बयान लिँदै गरेको थाहा पाएको हुँ । निजको साथबाट रकम बरामद भएपछि यो धरौटीको रकम हो भन्दै हनुहुन्थ्यो भन्नेसमेत व्यहोराको वादीका साक्षी सुनिलराज घिमिरको बकपत्र ।
हामी विभागमा प्रवेश गर्दा प्रतिवादीले सूर्यमान श्रेष्ठको वैदेशिक रोजगार ठगी मुद्दामा बयान गराइरहनुभएको थियो । निजको साथबाट नगद बरामद भएपछि सापटी लिएको वा धरौटीको लागि लिएको भन्नुभए जस्तो लाग्छ, तर हाल एकिन भएन भन्नेसमेत व्यहोराको वादीका साक्षी पुष्कर बस्नेतको बकपत्र ।
मिति २०६७।९।१६ गतेका दिन म बेरूजुको लगत लिन म.ले.प. को कार्यालय, बबरमहलमा आएको थिएँ । १.३० बजे विभागबाट म.ले.प. आएकोले पुनः कार्यालयमा फर्किन । पुष्कर सरले गार्डमार्फत आज अबेरसम्म धरौटी रकम बुझ्नपर्ने हुँदा लेखा शाखामा बस्नुपर्छ भनी खबर पठाएको कुरा मैले बिर्सेछु भन्नेसमेत व्यहोराको
प्रतिवादी पुष्करराज नेपालको साक्षी कुलप्रसाद रेग्मीको बकपत्र ।
कार्यालयको छाप तथा हस्ताक्षर परीक्षणको क्रममा आवश्यकता अनुसार लेखन गुणहरूको अवस्था तथा आकृतिहरूको सापेक्षिक दूरी र बनावट आदिलाई आधार बनाई परीक्षण गरिएको हो भन्नेसमेत व्यहोराको हस्ताक्षर परीक्षण गर्ने विशेषज्ञ मुकुल प्रधानको बकपत्र ।
नोट बरामद हुँदा थिइन । पैसा मात्र देखेको थिएँ । कति सङ्ख्यामा नोट दिए थाहा भएन । धरौटीको नोट हो भनेर पुष्कर सरले भन्नुभएको थियो भन्नेसमेत व्यहोराको वादीको साक्षी सुमन सरगमको बकपत्र ।
पुष्करराज नेपालले घुस (रिसवत) लिएको थाहा छैन । धरौटीसम्बन्धी कुरा भैरहेको थियो । नवीन शाही र सूर्यमान श्रेष्ठसँग वैदेशिक रोजगार ठगी मुद्दामा धरौटी माग गरेको हुनसक्छ भन्नेसमेत व्यहोराको प्रतिवादीका साक्षी लोकनाथ दाहालको बकपत्र ।
विभागमा राख्ने अवस्था नभएमा पक्राउ गरी ल्याएका व्यक्तिले सुरक्षाकर्मीसँगै पुनः ल्याउने गरी थुनुवापुर्जी दिई
पठाइन्छ । आवश्यकता हेरी विभागले झिकाउन सक्छ । सामान्यतया कार्यालय समय शुक्रबार ३ बजेसम्म भए तापनि आवश्यकता परेको खण्डमा कार्यालय समय भन्दा पछिसम्म पनि काम गर्नुपर्ने बाध्यात्मक स्थिति छ । लेखासँग समन्वय गरी धरौटी अनुसन्धान अधिकृतले बुझ्ने गरिन्छ भन्नेसमेत व्यहोराको प्रतिवादीका साक्षी नवराज ढुंगानाले गरेको बकपत्र ।
व्यक्तिको संलग्नताको अवस्थासमेत विचार गरी थुनामा राख्न उपयुक्त नदेखिएमा धरौटी माग गरेपछि बयान गराउने पनि गर्नुपर्ने अवस्था रहन्छ । साथै लेखासँग समन्वय गरी र अवस्था अनुसार अनुसन्धान अधिकृतले समेत धरौटी बुझ्नुपर्ने हुन्छ । पीडितको उद्धार हुन्छ भन्ने आशयले काम गर्दा कहिलेकाँही प्रक्रिया पालना नहुन पनि सक्छ । हरेक शाखामा शाखागतरूपमा नै दर्ता चलानीसम्बन्धी काम हुने हुँदा छापको प्रयोग पनि एकैनाशको नहुन सक्छ । फेरि
पुराना र नयाँ तरिकाबाट बनाइएका छापहरू सँगसगै प्रयोग गरिएको अवस्था थियो भन्नेसमेत व्यहोराको प्रतिवादीका साक्षी एकदेव अधिकारीको बकपत्र ।
मलाई वैदेशिक रोजगार विभागले थुनुवा पुर्जी दिएपछि म हनुमान ढोका चलान भएँ । मैले सन्तोष स्याङताङलाई धरौटीको कुरा गर्न पठाएको थिएँ । पुनः एक घण्टापछि वैदेशिक रोजगार विभागमा ल्याइयो । त्यसपछि मेरो हिरासत मुक्त पुर्जी हनुमान ढोका पठाइएपछि म थुनामुक्त भएँ । रकम लेनदेन विषयमा भाइले दिएको हो । के कसरी दियो मलाई थाहा भएन भन्नेसमेत व्यहोराको वादीका साक्षी सूर्यमान श्रेष्ठको बकपत्र ।
हामीले केही गल्ती नगरेको अवस्थामा हामीसँग रू.५०,०००।- धरौटी माग्नु उचित नलागेकाले रकम धरौटीलाई भनेर पछि मिलाएर खालान् जस्तो लागेर मैले आफ्नो अफिसमा रहेका रकम लिई अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा गई निवेदन दिई नोट नं. टिपाएर आई प्रमाणित भएका नोट पुष्करराज नेपाललाई दिएको हो भन्नेसमेत व्यहोराको उजुरकर्ता सन्तोष स्याङताङको बकपत्र ।
प्रतिवादी पुष्करराज नेपालले वैदेशिक रोजगार ठगी मुद्दामा पक्राउ परेको सूर्यमान श्रेष्ठबाट धरौटी लिने बाहानामा निजले भाइ भनी सम्बोधन गर्ने उजुरीकर्ता सन्तोष स्याङताङमार्फत रू.५०,०००।- घुस (रिसवत) लिएको तथ्य स्थापित भएको हुँदा निज प्रतिवादीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) को कसुरमा सोही ऐनको दफा ३(१)(ख) बमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको आरोपपत्र पेस भएको देखिन्छ । उक्त ऐनको दफा ३(१)(ख) मा राष्ट्रसेवक वा राष्ट्रसेवक हुन लागेको कुनै व्यक्तिले आफ्नो ओहदा वा सोसम्बन्धी कुनै काम गर्दा कुनै व्यक्तिलाई मोलाहिजा वा अनिष्ट गर्न वा गराइदिएबापत वा नगर्न वा नगराइदिएबापत आफ्नो वा अरू कसैको निमित्त पच्चीस हजार रूपैयाँ भन्दा बढी पचास हजार रूपैयाँसम्म रिसवत लिएमा वा लिन मञ्जुर गरेमा रिसवत लिनेलाई वा लिन मञ्जुर गर्नेलाई कसुरको मात्रा अनुसार तीन महिनादेखि चार महिनासम्म कैद, बिगोबमोजिम जरिवाना हुनेछ । रिसवत लिई सकेको भए सोसमेत जफत हुनेछ भन्ने कानूनी व्यवस्था भएको देखिन्छ । प्रतिवादी राष्ट्रसेवक भएको कुरामा विवाद छैन ।
मिति २०६७।९।१६ गतेका दिन प्रतिवादीले लगाएको पाइन्टको बायाँ खल्तीबाट १००० दरको ख/८६ ९४०३१६, ९४०३१७, ९४०३१८, ९४०३२७,९४०३२८, ९४०३२९, ९४०३३०, ९४०३३१,९४०३३२, ९४०३३३, ९४०३३४, ९४०३३५,९४०३३७, ९४०३३८, ९४०३४७, ९४०३५३, ९०४३५६, ९४०३५५, ९४०३५७, ९४०३३९, ९४०४०, ९४०३४१, ९४०३४२, ९४०३४३, ९४०३४४, ९४०३४५, ९४०३४६, ख/६ २२३३१५, ख/२२ ५६७८७८, ख/२५ २६०५६१, ख/४४, ३५२७४३ ८४३९०४, क/९५ ००५०७४, क/८० ९८५८८८, ख/१ ५३५१०२, क/९६ ६६३३६६, क/७१ ३७४७३६, ख/५० ४४५९२९, ख/८३ ९८९०६८, ख/२७ २२१९४८, ग/६३ १२६६००, ग/६ ४९१०९८, ख/८७ ९१४७६२, ख/९० ७८२७७४, अ/६८ ८८२९१६, ख/४९ १५११६३, ख/४५ ४०६५८१, नं. को ४९ थानको हुने रू. ४९,०००।- र ५०० दरको क/९९ ७१९८०४ तथा ख/८९ २३९७८३ नं. २ थानको हुने रू. १,०००।- समेत रू. ५०,०००।- रकम अख्तियार दुरूपयोग अनुसन्धान “आयोग” यसपछि आयोग भनिने छ - द्वारा बरामद भएको कुरा बरामदी मुचुल्काबाट देखिन्छ ।
प्रतिवादीबाट बरामद भएको रकम निजले धरौटीबापत बुझिलिएको भनेको भए तापनि धरौटी बुझाउने व्यक्ति सूर्यमान श्रेष्ठको बयान भै नसकेको, धरौटी लिने भनी गरेको निर्णय पर्चामा लागेको विभागको छाप र अनुसन्धान अधिकृतको छाप परीक्षणबाट फरकफरक (संदिग्ध) देखिएको, आदेश पर्चा फेला परेको स्थान पनि संदिग्ध रहेबाट
सूर्यमान श्रेष्ठलाई साधारण तारिखमा राख्ने आश्वासन दिई उजुरीकर्तामार्फत आयोगबाट प्रमाणित भएको रू. ५०, ०००।- घुस (रिसवत) लिन यी प्रतिवादीले मञ्जुर गरेको तथ्य तर्कसम्मत रूपमा समर्थित भएबाट प्रतिवादीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) को कसुर गरेको ठहर्छ । सो ठहर्नाले प्रतिवादी पुष्करराज नेपाललाई सोही ऐनको दफा ३ (१)(ख) बमोजिम तीन (३) महिना कैद सजाय र बिगोबमोजिम रू.५०,०००।- जरिवाना हुन्छ ।
उजुरीकर्ताले मेरो ट्राभल्स साझेदार सूर्यमान श्रेष्ठले केही व्यक्तिहरूको श्रम स्वीकृति निकालि दिएको र ती मानिसहरू वैदेशिक रोजगारमा जाने सिलसिलामा यू.ए.ई. विमानस्थलमा अलपत्र परेका भन्ने समाचारका आधारमा निज सूर्यमान श्रेष्ठलाई वैदेशिक रोजगार ठगी मुद्दामा पक्राउ गरी विभागमा प्रहरीले उपस्थित गराएकोमा सो विभागका अनुसन्धान अधिकृत पुष्करराज नेपालले अनुसन्धान हुँदैको क्रममा रू. ५०,०००।- आफूलाई दिए साधरण तारिखमा छाडी दिन्छु, धरौटीसमेत राख्नुपर्दैन भनेकाले निजलाई दिन मैले ल्याएको नगद रू.५०,०००।- प्रमाणित गराई पाउँ भनी आयोगमा उजुरी दिनुको साथै सोही व्यहोरा समर्थन गरी अधिकारप्राप्त अधिकारीसमक्ष बयान कागज गरेको देखिएकोमा यी उजुरीकर्ताले पछि यस अदालतमा बकपत्र गर्दा आफूले रकम भने दिएको हो, तर सो रकम घुसबापत नभै धरौटीबापत हो । धरौटी मागेको रिसमा आयोगमा उजुरी दिई नोट प्रमाणित गराएको हो भनी आफूले दिएको सुरू जाहेरी व्यहोराविपरीत झुट्ठा बकपत्र गरेको देखिएकोले निज उजुरीकर्ता (सन्तोष स्याङताङ) लाई मुलुकी ऐन, अ.बं. १६९ नं. बमोजिम रू.५००।- (पाँच सय) जरिवाना हुन्छ ।
उजुरीकर्ताले प्रतिवादी पुष्करराज नेपालले सूर्यमान श्रेष्ठलाई तारिखमा राख्ने प्रयोजनको लागि हजार दरका ४९ वटाको हुने रू. ४९,०००।- र पाँच सय दरका २ वटाको हुने रू. १०००।- समेत रू. ५०, ०००।- नगद आयोगबाट प्रमाणित गराई प्रतिवादी पुष्करराज नेपाललाई दिएको र सो पूरै रकम प्रतिवादी पुष्करराज नेपालको साथबाट आयोगद्वारा खटिएको टोलीले बरामद गरेको देखिन्छ । आरोपपत्रमा सो रकम जफत गरिपाउँ वा सम्बन्धित व्यक्तिलाई फिर्ता गरिपाउँ भनी दावी लिएको देखिँदैन । यसरी उजुरीकर्ताले आयोगबाट प्रमाणित गराई ल्याएको रकम प्रतिवादी पुष्करराज नेपाललाई रिसवतबापत दिई सोही रकम प्रतिवादीको साथबाट बरामद भए तापनि निज उजुरीकर्ताले प्रतिवादी पुष्करराज नेपालले रू.५०,०००।- घुस मागेकोले निजलाई दिन भनी ल्याएको उपरोक्त विवरणको रकम प्रमाणित गराई पाउँ भनी उजुरी व्यहोरामा उल्लेख गरेको देखिएकोमा निज उजुरीकर्ताले यस अदालतमा बकपत्र गर्दा घुस दिएको नभई धरौटी माग गरेको रिसमा उजुरी दिएको भनी उजुरी व्यहोरालाई अन्यथा गरी झुट्ठा बकपत्र गरेको देखिँदा प्रतिवादी पुष्करराज नेपालबाट बरामद भएको सो रकम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिम जफतसमेत हुने ठहर्छ भन्ने विशेष अदालत, काठमाडौंको मिति २०६८।११।१५ गतेको फैसला ।
मेरो साथबाट बरामद भएको भनिएको रकम रू. ५०, ०००।- सूर्यमान श्रेष्ठबाट वैदेशिक रोजगार ठगी मुद्दामा अनुसन्धानको क्रममा माग गरिएको धरौटीको रकम हो । वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा
वैदेशिक रोजगार विभागको अनुसन्धान अधिकृतले प्रतिवादीबाट धरौटी जमानत लिन सक्ने अधिकार वैदेशिक रोजगार ऐन, २०६४ को दफा ६१(३) ले प्रदान गरेको छ । सोबमोजिम मैले अनुसन्धान अधिकृतको हैसियतले सूर्यमान श्रेष्ठबाट रू.५०,०००।- धरौट माग गरेको हुँ । मैले सूर्यमानबाट धरौटी माग गरेको कुरा तत्काल मलाई नियन्त्रणमा
लिने अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट खटिएका प्रहरी कर्मचारीले सम्मानित अदालतसमक्ष आई गरेको बकपत्र साथै अन्य सरकारी साक्षीहरूको बकपत्रबाट पनि प्रष्ट हुन्छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट खटिएका प्रहरी कर्मचारीले प्र.ना.उ. गणेश चन्दले मेरो साथबाट बरामद भयो भनिएको रकम मलाई नियन्त्रणमा लिने
क्रममा मैले बयान गराई रहेका सूर्यमान श्रेष्ठबाट धरौटी माग गरेको हुँ भनी मैले तत्काल मौकामा नै भनेको भन्ने कुरा आफ्नो बकपत्रमा उल्लेख गर्नुभएको छ । निजले बकपत्रमा व्यक्त गरेको कुरा मैले मिति २०६७।९।१६ मै सूर्यमान श्रेष्ठबाट धरौटी माग गरेको निर्णय पर्चा मेरो कार्यालयको दराजबाट प्राप्त भएको तथ्यले पुष्टि गर्दछ ।
धरौटी जमानत माग गर्ने प्रयोजन बाहेक अन्य प्रयोजनको लागि तयार भएको हो भन्ने वादी पक्षको भनाइ रहेको छैन । वैदेशिक रोजगार ऐन, २०६४ को दफा ६१ (३) ले अनुसन्धान अधिकृतको हैसियतले अनुसन्धान अधिकृतले धरौटी तथा जमानत माग गर्ने अधिकार प्रदान गरेबमोजिम मैले निर्णय पर्चा खडा गरी धरौटी लिएको रकमलाई घुस
(रिसवत) लिएको रकम हो भनी अनुमानको भरमा मलाई कसुरदार ठहर गरेको विशेष अदालत, काठमाडौंको मिति ०६८।११।१५ को फैसला त्रुटिपूर्ण छ ।
विशेष अदालत, काठमाडौंबाट मिति २०६८।११।२५ मा फैसला हुँदा प्रतिवादीले सूर्यमान श्रेष्ठलाई धरौटी लिई तारिखमा राख्ने गरी गरेको निर्णय पर्चा आयोगको टोलीले मानिस तथा कागजात नियन्त्रणमा लिँदा तत्काल मिसिलमा सामेल नरहेकोमा विभागका सुरक्षा गार्डले यी प्रतिवादीले प्रयोग गर्ने दराजमा पट्ट्याएर राखेको अवस्थामा फेलापरेबाट आदेश पर्चा फेलापरेको स्थान संदिग्ध देखिन आयो भन्ने आधार लिई मलाई कसुरदार ठहर गरिएको छ । मैले सूर्यमान
श्रेष्ठबाट धरौट माग गरेको आदेश पर्चा विभागको अनुसन्धान शाखाको दराजबाट फेला परेको भन्ने तथ्य स्वयम् वादी पक्षले नै स्वीकार गरेको अवस्था छ । सरकारी कामको सिलसिलामा तयार आदेश पर्चा कार्यलयकै दराजमा रहनु र त्यहींबाट फेला पर्नु अस्वाभाविक र शङ्कास्पद हुने भन्ने अवस्था रहँदैन । आयोगको टोलीले मलाई मिति ०६८।९।१६ गतेकै दिन नियन्त्रणमा लिई हिरासतमा राखेपश्चात मेरो तत्कालीन कार्यकक्ष, कार्यकक्षमा रहेको कार्यालयको दराज तथा सो साँचो म तथा मेरो परिवारको नियन्त्रण र पहुँचमा रहने अवस्था छैन । साथै उक्त कुराहरू म तथा मेरो परिवारको नियन्त्रणमा रहेको थियो भनेर विभागको कुनै कर्मचारी तथा वादी पक्षले कही कतै खुलाउन सकेको पनि छैन । दराजमा आदेश पर्चा पट्ट्याएर रहनु वा खुला रहनुसँग त्यसको प्रामाणिक मूल्यमा कुनै अन्तर आउन सक्तैन । पर्चा भेटिएको हो होइन भन्ने नै मुख्य प्रश्न हो । सूर्यमान श्रेष्ठ सँग रू. ५०,०००।- धरौट माग्ने र नवीन शाहीलाई अनुसन्धानको सिलसिलामा थुनामा राख्न पठाउने पर्चा एउटै हो ।
अतः उपरोक्त व्यहोरा मुद्दा जिकिरबाट विशेष अदालत, काठमाडौंको मिति २०६८।११।१५ गतेको फैसला उल्टी गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्ने प्रतिवादी पुष्करराज नेपालको यस अदालतमा परेको पुनरावेदनपत्र ।
यसमा जाहेरवाला सन्तोष स्याङताङले अदालतमा गरेको बकपत्र र धरौटी छाड्ने गरेको आदेश प्रतिवादी हिरासतमा भएको बखत पछि खडा हुन नसक्नेसमेतका आधारहरूबाट सुरू विशेष अदालत, काठमाडौंले प्रतिवादीलाई कसुरदार ठहर्याई सजाय गरेको फैसला फरक पर्न सक्ने देखिँदा छलफलको निमित्त अ.बं. २०२ नं. प्रयोजनार्थ महान्यायाधिवक्ताको कार्यालयलाई पेसीको सूचना दिई नियमानुसार गरी पेस गर्नु भन्ने यस अदालतको मिति २०६९।५।३१ गतेको आदेश ।
नियमबमोजिम दैनिक पेसीसूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन जिकिरसहितको मिसिल कागजात अध्ययन गरी पुनरावेदकतर्फबाट रहनुभएका विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल, श्री कृष्ण सापकोटा र विद्वान् अधिवक्ता श्री जयनारायण पौडेलले मिति २०६७।९।१६ गते नवीन शाही र सूर्यमान श्रेष्ठलाई वैदेशिक रोजगार ठगी मुद्दामा प्रहरी प्रधान कार्यालयका प्रहरी कर्मचारीहरूले ल्याएका थिए । हाम्रो पक्षले दुबै जनालाई हिरासतमा राख्न प्रहरी परिसर हनुमान ढोकामा पठाएकोमा सोही दिन जाहेरी परेकाले दुबै जनालाई पत्राचार गरी थुनाबाट झिकाइ कागजात अध्ययन गर्दा नवीन शाहीलाई थुनामा राख्नुपर्ने र सूर्यमान श्रेष्ठलाई धरौटीमा राख्नुपर्ने देख्नुभयो । सूर्यमान श्रेष्ठको मान्छे सन्तोष स्याङताङले छोडी दिनुपर्यो भनी कुरा राख्दा रू.५०,०००।- धरौटी
लाग्छ । रूपैयाँ दाखेल गर्यो भने धरौटीमा छाडि दिन्छु । सो रूपैयाँ लिन आफ्नो ट्राभल एजेन्सीमा गै सन्तोष स्याङताङले आफ्नो रू.५०,०००।- अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा टिपाई आयोगको कर्मचारीसँग वैदेशिक रोजगार विभागमा आई प्रतिवादी पुष्करराज नेपालले आदेश पर्चा तयार गरी सूर्यमान श्रेष्ठसँग बयान लिँदै गर्दा सन्तोष स्याङताङले पाइन्टको खल्तीमा रूपैयाँ राख्नासाथ अनुसन्धान अधिकृतको टोलीले बरामद गरी मुद्दा चलाएको छ । रिसवत लिने भएको भए धरौटी माग गरेको रू. ५०,०००।- भन्दा बढी रूपैयाँ हुनुपर्थ्यो । सो भन्दा बढी
रूपैयाँ बरामद भएको छैन । हाम्रो पक्षले अख्तियार दुरूपयोग अनुसन्धान आयोग र विशेष अदालतमा सोही व्यहोराको बयान गरेको छ । अदालतमा बकपत्र गर्दा अभियोक्ता प्रहरी नायब उपरीक्षक गणेश चन्द्रसमेतले बरामद रूपैयाँ धरौटीको रकम भनी बकपत्र गरेको हुँदा हाम्रो पक्षले सफाइ पाउनुपर्दछ भनी र प्रत्यर्थी नेपाल सरकारको तर्फबाट विद्वान् उपन्यायाधिवक्ता श्री कृष्णमोहन कोइरालाले प्रतिवादीबाट रू.५०,०००।- बरामद भएको छ । पत्राचार गरेको कार्यालय छाप फरक फरक प्रयोग भएको छ । धरौटी लिने भनिएको आदेश पर्चा खडा गर्नु भन्दा पहिले सूर्यमान श्रेष्ठको बयान नलिई तयार गराई सक्नुपर्नेमा बयान आदेश पर्चासमेतको प्रतिवादीको कार्य बद्नियतपूर्ण हुँदा विशेष अदालत, काठमाडौंले कसुरदार ठहर्याएको फैसला सदर हुनुपर्दछ भनी बहस गर्नुभयो ।
विद्वान् कानून व्यवसायीहरूको बहससमेतलाई मध्यनजर गरी निर्णयतर्फ विचार गर्दा विशेष अदालत काठमाडौंको फैसला मिलेको छ छैन । प्रतिवादी पुष्करराज नेपालको पुनरावेदन जिकिर पुग्ने हो होइन सो सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
२. यसमा प्रतिवादी पुष्करराज नेपालले रू. ५०,०००।- घुस रकम लिएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) को कसुरमा सोही दफा ३ (१)(ख) बमोजिम कैद तथा जरिवानाको माग दावी लिई अभियोगपत्रमा दायर भएकोमा विशेष अदालत, काठमाडौंले प्रतिवादी पुष्करराज नेपाललाई ३ महिना कैद सजाय र बिगो रू. ५०,०००।- बमोजिम जरिवाना हुने ठहर्याएको फैसलाउपर प्रतिवादी पुष्करराज नेपालको यस अदालतमा पुनरावेदन परी पेस हुन आएको देखियो ।
३. प्रतिवादी पुष्करराज नेपालले अख्तियार दुरूपयोग अनुसन्धान आयोगसमक्ष र विशेष अदालत, काठमाडौंमा कसुरमा पूर्ण इन्कार भै नवीन शाही र सूर्यमान श्रेष्ठले वैदेशिक रोजगार ठगी मुद्दामा कसुरदार देखिएकोले नवीन शाहीलाई बयान लिई थुनामा राख्न र सूर्यमान श्रेष्ठसँग धरौटी रू.५०,०००।- लिन आदेश पर्चा खडा गरी राखेको अवस्थामा सन्तोष स्याङताङले रू.५०,०००।- प्रतिवादी पुष्करराज नेपालको खल्तीमा राख्नासाथ अख्तियारको कर्मचारीले प्रक्राउ गरी नियन्त्रणमा लिएको हो । धरौटी लिन लेखा शाखामा जानकारी गराएको पनि थिएँ । म कार्य व्यस्तताले आफ्नो काममा व्यस्त भएको अवस्थामा धरौटीको रू. ५०,०००।- बरामद भएको छ । घुसको रूपैयाँँ होइन । घुस मागेको भए रू. ५०,०००।- भन्दा बढी रूपैयाँँ बरामद भएको हुनुपर्थ्यो भनी बयान गरेको छ । उजुरी गर्ने सन्तोष स्याङताङले विशेष अदालत, काठमाडौंमा बकपत्र गर्दा सूर्यमान श्रेष्ठले गल्ती नगरेको अवस्थामा रू. ५०,०००।- धरौटी माग गरेकोले मिलाएर खाने जस्तो लागेकोले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा नम्बर टिपाई पुष्करराज नेपालको खल्तीमा राख्नासाथ अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कर्मचारीले बरामद गरेको हो । धरौटीको लागि मागेको रू.५०,०००।- भन्दा बढी रकम दिएको छैन भनी बकपत्र गरेको देखिन्छ । वैदेशिक रोजगार ठगी मुद्दामा अनुसन्धानको लागि आएका सूर्यमान श्रेष्ठले धरौटीको रकम रू.५०,०००।- सन्तोष स्याङताङले दिएको हो । सो भन्दा बढी कुनै रकम दिएको छैन भनी बकपत्र गरी दिएको छ ।
४. वादीको साक्षी गणेश चन्द, दुर्गा खनाल, विणालाल विष्ट, प्रकाश न्यौपाने, सुदिप कुमार वाइवा, सुनिलकुमार घिमिरे र पुष्कर बस्नेतले अदालतमा बकपत्र गर्दा हामीहरूले प्रतिवादी पुष्करराज नेपालबाट रू.५०,०००।- बरामद गर्दा निजले धरौटीको रकम हो भन्दै थिए । सो धरौटीको रू.५०,०००।- भन्दा बढी रकम बरामद भएको होइन भनी बकपत्र गरेको देखिन्छ । लेखा अधिकृत कुलप्रसाद रेग्मीले पुष्करराज नेपालले धरौटीको रकम दाखेल गर्नु पर्ने होला भनी खबर गर्नुभएको थियो । विभागको कामले महालेखा परीक्षक विभागमा गएको थिएँ । शुक्रबार भएकोले ३ बजेभित्र कार्यालयमा जान सकिन । बरामद भएको रू.५०,०००।- धरौटीको रकम हो । पुष्करराज नेपालले घुस लिएको छैन भनी बकपत्र गरेको पाइन्छ ।
५. प्रतिवादी पुष्करराज नेपालका साक्षी लोकनाथ दाहाल, नवराज ढुंगाना, एकदेव अधिकारीसमेतले बरामद रू.५०,०००।- सन्तोष स्याङताङले धरौटी राख्नको लागि दिएको रकम हो । घुस रिसवतको रकम
होइन । प्रतिवादी पुष्करराज नेपालको बद्नियत छैन भनी बकपत्र गरेको देखिन्छ ।
६. प्रतिवादी पुष्करराज नेपालको सन्तोष स्याङताङसँग रू.५०,०००।- घुस लिएको बरामदी मुचुल्का अनुसार प्रतिवादी पुष्करराज नेपालउपर कसुरदार कायम गर्न मिल्छ कि मिल्दैन सो सम्बन्धमा विचार गर्दा मिति २०६९।९।१६ गते प्रहरी प्रधान कार्यालयले नवीन शाही र सूर्यमान श्रेष्ठलाई प्रक्राउ गरी वैदेशिक रोजगार विभागमा दाखेल गरेकोमा अनुसन्धान अधिकृतको हैसियतले काम गरिरहेका प्रतिवादी पुष्करराज नेपालले हिरासतमा राख्न प्रहरी परिसर हुनमान ढोकामा थुनामा पठाइएको रहेछ । तत्पश्चात सूर्यमान श्रेष्ठको मान्छे सन्तोष स्याङताङले सूर्यमान श्रेष्ठको कुनै कसुर छैन । थुनामा राख्न मिल्दैन भनी अनुरोध गर्दा सोसम्बन्धी उजुरी नवीन शाही विरूद्ध परेको उजुरीबाट नवीन शाहीले यु.ए.इ. मा पठाएको मानिसहरूबाट कन्सल्टेन्सी सञ्चालकहरू दिपक मल्ल र भेष के.सी. अह्राएबमोजिम रकम उठाई श्रम गरेबापत केही रकम सूर्यमान श्रेष्ठलाई, केही हवाई जहाजको टिकट काट्न र बाँकी रकम हुण्डिबाट दिपक मल्ललाई पठाएको भन्ने मिति २०६७।९।१६ मा पुष्करराज नेपालले खडा गरको निर्णय पर्चाबाट देखिन्छ ।
७. वैदेशिक रोजगार ऐन, २०६४ को परिच्छेद १० को दफा ६१(१) अनुसार वैदेशिक रोजगारसम्बन्धी कसुरको अनुसन्धान र तहकिकात वैदेशिक रोजगार विभागको कम्तीमा राजपत्राङ्कित तृतीय श्रेणीको अधिकृतलाई अनुसन्धान अधिकृत तोकी सोसम्बन्धी कसुरको अनुसन्धान र तहकिकात गराउन सक्ने छ । सोही ६१ दफाको उपदफा (३) मा “उपदफा (२) मा अनुसन्धान अधिकृतले अनुसन्धान तथा तहकिकात गर्दा अनुसन्धान अधिकृतले अभियुक्तलाई बयान गराई तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिने पर्याप्त आधार भएमा कारण खोली तारिखमा राख्न धरौटी वा जमानत लिई छाड्न वा धरौटी जमानत दिन नसकेमा मुद्दा हेर्ने अधिकारीको अनुमति लिई थुनामा राखी कारवाही गर्न वा एक पटकमा सात दिनमा नबढाई बढीमा ३० दिनसम्म मुद्दा हेर्ने अधिकारीको अनुमति लिई थुनामा राख्न सक्नेछ” भन्ने कानूनी व्यवस्था रहेको छ ।
८. प्रतिवादी पुष्करराज नेपालले वैदेशिक रोजगार ठगी मुद्दामा पक्राउ परेका व्यक्ति नवीन जोशी र सूर्यमान श्रेष्ठ कसुरदार देखिएकोमा नवीन जोशीको बयान गराई नवीन जोशीलाई थुनामा राख्न र सूर्यमान श्रेष्ठबाट रू. ५०,०००।- धरौटी माग गरेको मिति २०६७।९।१६ गतेको आदेश पर्चा मिसिल संलग्न कागजातबाट देखिँदा प्रतिवादी पुष्करराज नेपालले धरौटीबापत सूर्यमान श्रेष्ठसँग रू.५०,०००।- माग गरेकोमा निजको ट्राभल एजेन्सीमा काम गर्ने सन्तोष स्याङताङले सो रूपैयाँ घुस मागेको ठानी अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा आफूले धरौटीको लागि ल्याएको रू.५०,०००।- को नम्बर टिपाइ अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कर्मचारीलाई साथै लिएर गै सोही रू.५०,०००।- बरामद गरेको गराइ मिसिलबाट देखिन्छ । प्रतिवादी पुष्करराज नेपालले उजुरकर्ता सन्तोष स्याङताङबाट घुस लिन रू.५०,०००।- मागेको भए निजबाट बरामद भएको रू.५०,०००।- बाहेक थप रू.५०,०००।- हुनुपर्ने थियो । तर प्रतिवादीबाट धरौटीको रू.५०,०००।- बाहेक अन्य रूपैयाँ बरामद भएको मिसिल संलग्न बरामदी मुचुल्काबाट देखिँदैन । यसबाट प्रतिवादी पुष्करराज नेपाल अभियोग दावीबमोजिम कसुरदार रहेको देखिएन । प्रतिवादी पुष्करराज नेपालले सूर्यमान श्रेष्ठबाट धरौटी लिन आदेश पर्चा खडा गरेको र सो आदेश पर्चाबाट रू.५०,०००।- धरौटी माग गरेकोले सोही धरौटीबापतको रकम अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कर्मचारीले बरामद गरेको र सो रकम धरौटीको रकम हो भनी प्रतिवादी पुष्करराज नेपालले भनेको भनी बरामद गर्ने प्रहरी नायब उपरीक्षक गणेश चन्दले विशेष अदालतमा बकपत्र गरेको देखिँदा प्रतिवादी पुष्करराज नेपालबाट बरामद भएको रू.५०,०००।- घुसको लागि लिएको नभै सूर्यमान श्रेष्ठबाट धरौटी माग गरेको र निजको सहयोगी सन्तोष स्याङताङले सो रकम दाखेल
गर्न ल्याएको धरौटीको रकम रू.५०,०००।- देखिएको हुँदा प्रतिवादी पुष्करराज नेपाललाई अभियोग दावीबाट सफाइ दिनुपर्नेमा विशेष अदालत, काठमाडौंले कसुरदार ठहर्याई ३ महिना कैद र रू.५०,०००।- जरिवाना गरेको मिति २०६८।११।१५ को फैसला उल्टी भै प्रतिवादी पुष्करराज नेपालले अभियोग दावीबाट सफाइ पाउने ठहर्छ ।
तपसिल
प्रतिवादी पुष्करराज नेपालले सफाइ पाएकोले निजले मिति २०६७।१०।१८ मा विशेष अदालत, काठमाडौंमा रसिद नं. ११६९ बाट रू. ५०,०००।- धरौटी राखेको देखिँदा सो रकम नियमानुसार फिर्ता दिनु भनी विशेष अदालत काठमाडौंमा लेखी पठाइदिनू ---------------१
प्रतिवादीले यस अदालतमा पुनरावेदन गर्दा मिति २०६९।४।२२ मा रसिद नं. १७४५ बाट राखेको थप १५ प्रतिशतले हुने धरौटी रू.८९५०।- नियमानुसार फिर्ता दिनु भनी लेखा शाखामा लेखी पठाइदिनू ------------------२
प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी मिसिल अभिलेख शाखामा बुझाइदिनू --------------३
उक्त रायमा म सहमत छु
न्या. चोलेन्द्र शमशेर ज.ब.रा.
इति संवत् २०७१ साल असोज १ गते रोज ४ शुभम् ।
इजलास अधिकृत : जवाहरप्रसाद सिंह