शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७९६६ - निर्णय बदर अपुताली हक कायम ।

भाग: ५० साल: २०६५ महिना: भाद्र अंक:

 निर्णय नं.७९६६      ने.का.प. २०६५      अङ्क ५

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ

माननीय न्यायाधीश श्री खिलराज रेग्मी

सम्बत् २०६० सालको दे.पु.नं..........८६९६

फैसला मितिः २०६५।५।२३।२

 

मुद्दाः निर्णय बदर अपुताली हक कायम   ।

 

पुनरावेदक प्रतिवादीः विदेश भारत, जिल्ला पश्चिम चम्पारण थाना मंगहा अन्तर्गत ग्राम मंगहा प्रतापपुर घर भई हाल जि. पर्सा, भीखमपुर गा.वि.स वडा नं. ६ बस्ने वीरेन्द्र राम 

विरुद्ध

प्रत्यर्थी वादीः विदेश भारत,जिल्ला पश्चिम चम्पारण ग्राम खम्हिया घर भै हाल जि.पर्सा, गा.वि.स घोडादौडा पिप्रा वडा न. १ बस्ने ठग महरा(राम) चमार

 

शुरु फैसला गर्नेः

मा.न्या. श्री जगन्नाथ ढकाल

पुनरावेदन फैसला गर्नेः

मा.न्या  श्री  विनोदप्रसाद ढुंगेल

मा.न्या.श्री गोविन्दकुमार उपाध्याय

 

§  निर्णय मितिबाटै ऐनका म्यादभित्र वादीको फिराद परेकोलाई हदम्याद नघाई फिराद दायर गरेको भन्न नमिल्ने ।

§  अपुतालीमा हकै नपुग्ने व्यक्तिले निर्णय गराई अपुतालीको सम्पत्ति नामसारी गराउँदैमा अपुताली परेको मितिबाटै अपुताली हक कायम तर्फ नालिश दिनु पर्छ भनी अर्थ गरी हकै नपुग्नेले दावी गरी गराएको अनधिकृत कार्यलाई कानूनी मान्यता दिन समेत नमिल्ने ।

§  प्रचलित कानुन बमोजिम आफ्नो हक पुग्ने अपुतालीको  सम्पत्ति हकै नपुग्ने व्यक्तिले आफ्नो नाममा दर्ता गराउने गरी निर्णय गरेको छ भने सो  मितिबाटै त्यस्तो निर्णय बदर तर्फ नालिश गर्ने हदम्याद शुरु हुन जान्छ र उक्त म्यादभित्र परेको नालिश उपर न्यायिक निरोपण गरी ईन्साफ गर्नुपर्ने ।

(प्रकरण नं. ५)

 

पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ताद्वय श्री सतीशकुमार झा, प्रशन्न कृष्ण दास

प्रत्यर्थी वादी तर्फवाटः विद्वान अधिवक्ताहरु श्री मोहम्मद सेख अव्वास शंकर कुमार निरौला

अवलम्वित नजीरः

 

फैसला

            न्या. खिलराज रेग्मीः पुनरावेदन अदालत, हेटौंडाको मिति २०६०।२।१९ को फैसला उपर प्रतिवादीको तर्फबाट न्याय प्रशासन ऐन,२०४८ को दफा ९ बमोजिम  यस अदालतमा पुनरावेदन दर्ता भएको  प्रस्तुत मुद्दाको तथ्य एवं निर्णय यस प्रकार छ :

            बाजे जयराम राम चमारकी २ छोरा जेठो मेरो पिता फौजदार राम चमार र कान्छो जगरनाथ महरा हुन् । फौजदार महराको एक मात्र छोरा म फिरादी हुँ । काका जगरनाथको कुनै सन्तान छोरा छैनन् । बाजे, पिता, काका र निजहरुको पत्नी समेत स्वर्गबास भइसकेका छन् ।काका काकीको जीवनकाल भरी सेवा, टहल, रेखदेख र मृत्यु पश्चात क्रिया श्राद्ध समेत मैले नै गरी काका जगरनाथका नाउँ दर्ताको जि.पर्सा घोडादौडा पिप्रा वडा नं. १ कि.नं. ६ को ०१८१५ जग्गा मलाई अपुताली परी म भारतीय भएकोले काकाको नाउँको उक्त जग्गा मेरो नाउँमा नामसारी दर्ता हुन नसक्ने भएको र अदलको ३ न. अनुसार नेपाली नागरिकलाई विक्री गर्न सकिने भए पनि एकमात्र म हकदार भई मेरो हकमा कुनै विवाद नभएकोले हक भोग गर्दै आएको छु । कुनै बिबाद थिएन । विपक्षीले मलाई नोक्सान पुर्‍याउँने उद्धेश्यले विपक्षीले मेरो काका जगरनाथको नाति (छोरीको छोरा) बनी झुठ्ठा र जालसाजी व्यहोरा उल्लेख गरी आफु हुँदै नभएको किर्ते नाति बनी स्व.काकाको नाउँको मेरो अपुताली हक भोगको जग्गा आफ्नो नाउँमा अदलको ३ न. अनुसार नेपाली व्यक्तिलाई हक हस्तान्तरण गरी पाउँनको लागि झुठ्ठा र जालसाजी व्यहोराको निबेदन र जालसाजी सिफारिश समेत जि.वि.स सभापतिबाट गराई उक्त जग्गा विपक्षीको नाउँमा अपुताली हक कायम गर्ने गरी मिति ०५६।१२।२ मा गैरकानूनी किसिमले निर्णय गराई लिएकोले उक्त मिति ०५६।१२।२ को निर्णय बदर गरी उक्त जग्गामा मेरो अपुताली हक कायम गरिपाऊँ भन्ने समेत व्यहोराको बादीको फिरादपत्र ।

            विवादित कि.न. ६ को जग्गामा कुनै अपुताली नपर्ने र निजको हक समेत नभएको यदि भएको भए  अपुतालीको २० नं. को हदम्यादभित्र खोजी नगरी हदम्याद नघाई १२ वर्षमा प्रस्तुत मुद्दा परेको हुँदा उपरोक्त कानूनी व्यवस्थाले अपुताली हक कायम हुन नसक्ने हुँदा फुर्सद गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीको प्रतिउत्तरपत्र ।

            प्रस्तुत फिराद हदम्याद भित्रको देखिएन । फिराद हदम्याद भित्रको नदेखिएको हुँदा तथ्य भित्र प्रवेश गरी रहनु नपर्ने हुँदा हदम्यादको आधारमा प्रस्तुत मुद्दा खारेज हुने ठर्हछ भन्ने पर्सा जिल्ला अदालतको मिति २०५८।८।१० को फैसला ।

            अपुतालीको २ न. बमोजिम दावीको जग्गाको हकवाला म पुनरावेदक वादी रहेको र सो जग्गा ज.प.को २(क) बमोजिम नामसारी गर्ने हकाधिकार समेत मेरो मात्र रहेको अवस्थामा सो तर्फ विचार नगरी विपक्षी प्रतिवादीहरुको झुठ्ठा व्यहोरालाई मात्र आधार लिई बादी दावी खारेज गर्ने ठहर्‍याएको पर्सा.जिल्ला अदालतको फैसला अपुतालीको १,,२० नं तथा ज.प.को २(क) नं. को प्रत्यक्ष त्रुटि भई बदर योग्य हुँदा बदर गरी इन्साफ पाउँ भन्ने समेत वादीको पुनरावेदन पत्र।

            जग्गा पंजनीको २ (क) र अपुतालीको २ न. ले हकवाला छँदाछँदै छोरीको छोरा विरेन्द्र रामले नामसारी गराई लिएकोमा अपुताली पर्दा मर्नेको सबभन्दा नजिकको हकवालाले दावी लिन र नामसारी गर्न पाउँने अवस्था हुँदाहुँदै त्यस तर्फ बिचारै नगरी खारेज गरेको शुरु फैसला फरक पर्न सक्ने हुँदा विपक्षी झिकाई आए वा अवधि व्यतित भएपछि पेश गर्नु भन्ने पुनरावेदन अदालतको मिति २०५९।५।२० को आदेश ।

            पुनरावेदकको मुल दावी नै काका मृतक जगरनाथको अपुतालीबाट हक हुन आउँने उल्लेखित जग्गा प्रत्यर्थीले नामसारी समेत गराएको अन्यथा कायम गराई माग्न आएको देखिन्छ । मृतक जगरनाथको वादी ठग महरा भतिजा भए तर्फ अन्यथा रहेन र सो तथ्यलाई प्रत्यर्थीले इन्कार गरेको, गर्न सकेको देखिंएन । शुरु जिल्ला अदालतले फैसलामा उल्लेख गरेको प्रमाणित कुर्सीनामाबाट समेत सो तथ्यलाई मुद्दाका पक्ष विपक्षीले अन्यथा लिन सकेको देखिएन । अब मृतक मंगरी देबीको छोरा प्रत्यर्थी बिरेन्द्र राम अर्थात् मृतक जगरनाथ रामको छोरी पट्टिको नाति भन्ने देखिन आयो । यस अवस्थामा मुलुकी ऐन, अपुतालिको २ न. बमोजिम निज मृतक जगरनाथको छोरी मंगरीले अपुताली प्राप्त गर्न सक्ने अवस्था समेत निजको सन् १९७३ मा मृत्यु भै सकेको देखिन आयो र सो पश्चात् अर्थात सन् १९८७ मा मात्र निज जगरनाथ रामको मृत्यु भएको देखिन आएबाट विवादित जग्गा यथावत् मृतक जगरनाथको नामदर्ता कायम रहेको अवस्थामा मुलुकी ऐन अपुतालीको २ न. बमोजिम समेत हकवालाले अपुताली पाउने तर्फ विवाद देखिन आएन । यसर्थ मृतक जगरनाथ रायकै नाममा यथावत् दर्ता कायम रहेकै अवस्थामा पुनरावेदकले प्रत्यर्थीको नाममा अपुताली नामसारी हुने गरी समेत मिति २०५६।१२।२ मा मालपोत कार्यालय पर्साबाट भएको निर्णय उपर मिति २०५७।९।२ मा फिराद गरेको देखिंदा हकवाला पुनरावेदकको दावी बमोजिम अपुताली हक कायम हुन आउने अवस्था देखिएकोले मालपोत कार्यालयबाट मिति ०५६।१२।२ को उक्त निर्णय बदर गरी दावीको जग्गामा पुनरावेदक बादीको अपुताली हक कायम हुने ठहर गर्नुपर्नेमा हदम्याद भित्रको फिराद नदेखिएको भनी अन्यथा ठहर गरी खारेज गर्ने गरेको शुरु पर्सा जिल्ला अदालतको मिति २०५८।८।२० को फैसला मिलेको नदेखिंदा उल्टी हुने ठर्हछ भन्ने पुनरावेदन अदालत, हेटौडाको मिति २०६०।२।१९ को फैसला ।

            पुनरावेदन अदालतको फैसलामा चित्त बुझेन । अपुताली हक कायमको दावी गर्ने हदम्याद गुज्रिसकेपछि दायर भएको फिरादलाई हदम्याद भित्रको भनी गलत तर्क गरी अपुताली हक कायम गरेको त्रुटीपूर्ण छ । वादीले आफ्नो फिरादमा मृतक जगरनाथ रामको मृत्यु कहिले भयो भनी एकिन दावी गर्न सक्नु भएको छैन । विवादको जग्गा कहिले देखि भोग गरेको हो भन्ने पनि कुनै प्रमाण छैन । मृतक जगरनाथको मृत्यु २०४५ सालमा नै भएकोमा २०५७।२।९ मा मात्र फिराद दायर भएकोले अपतुलीको २० न. को हदम्याद नाघेको प्रष्ट हुन्छ । विपक्षीले ऐनको म्यादभित्र अपुताली कायम नगराएको हुँदा अपुतालीको ८ न. बमोजिम मृतकको नजिकको हकदारको नाताले अपुताली हक कायम गराएको हो । वादी मृतकको छुट्टि भिन्न भइसकेको भाईको छोरा हुन् । अपुतालीको २ नं. बमोजिम निज मृतकको अपुतालीको हकदार हुनै सक्तैनन् । रजिष्ट्रेशनको ९ न. तथा लेनदेन व्यवहारको ४० न. को हदम्याद समाई दायर भएको फिराद अपुतालीको सम्बन्धमा आकर्षित नै हुन नसक्नेमा गलत व्याख्या गरी फिराद दावी हदम्याद भित्रैको भनी अपुताली निर्णय बदर गरी वादीको हक कायम हुने ठहर गरेको पुनरावेदन अदालतको फैसलामा सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तको समेत त्रुटी रहेको साथै अपुतालीको १,२ र ८ तथा अ.बं १८४(क ) १८५ र प्रमाण ऐन २०३१ को दफा ५४ प्रतिकूल भएकोले बदर गरी मालपोत कार्यालय पर्साबाट मिति २०५६।१२।२ मा मेरो नाममा अपुताली कायम गरेको निर्णयलाई सदर गरेको शुरु पर्सा जिल्ला अदालतको फैसला सदर गरिपाऊँ भन्ने प्रतिवादीको तर्फबाट मिति २०६०।७।१८ मा यस अदालतमा परेको पुनरावेदन पत्र ।

            मुलुकी ऐन, अपुतालीको महलमा अपुताली परेको ३ वर्षभित्र नालेश नदिए लाग्न सक्दैन भन्ने स्पष्ट कानुनी व्यवस्था भएको देखिन्छ । वादी ठग महरा चमारको फिराद २०५७।२।९ मा १३१४ वर्षपछि परेको देखिन्छ । यस प्रकार हदम्याद नाघी परेको फिरादको आधारमा इन्साफ गर्ने गरेको पुनरावदेन अदालत, हेटौडाको फैसला फरक पर्न सक्ने देखिंदा छलफलको लागि प्रत्यर्थी झिकाई पेश गर्नु भन्ने यस अदालतको मिति २०६२।१०।९ को आदेश ।

            नियम बमोजिम पेशी सूचिमा चढी इजलाससमक्ष निर्णयार्थ पेश भएको प्रस्तुत मुद्धामा पुनरावेदक प्रतिवादी तर्फबाट विद्वान अधिवक्ताहरु सतिषकुमार झा र प्रशन्नकृष्ण दासले अपुताली परेको व्यक्ति जगरनाथ रामको २०४५ सालमै मृत्यु भैसकेको भन्ने देखिन्छ । निजको सन्तान कोही नभएकोले अपुतालीको विषय भई सो अपुतालीहक पुग्ने व्यक्तिले अपुतालीको २० न. को कानूनी व्यवस्था बमोजिम अपुताली परेको ३ वर्ष भित्र आफ्नो नाममा हक कायम गराउन सक्नुपर्दछ । सो नगरेमा सोही १६ नं. बमोजिम अपुताली पर्नेको सम्पत्ति नेपाल सरकारको नाममा जान्छ  । अपुताली पर्नेको नजिकको हकवालाका सम्बन्धमा अपुतालीको २ नं. ले गरेको कानूनी व्यवस्था बमोजिम मृतक जगरनाथ रामको मृत्यु भएपछि निजको भतिजो विपक्षी वादीले कानुनको म्यादभित्र अपुतालीमा हक कायम गराउन सकेको छैन । निजले कानुनको म्यादभित्र अपुतालीमा दावी नगरेको स्थितिमा मृतकको छोरीको छोरो पुनरावेदक प्रतिवादी अपुतालीको हकदार हुने स्पष्टै छ । तत्काल प्रचलित अपुतालीको ८ न. को कानूनी व्यवस्था अनुसार नै पुनरावेदक प्रतिवादीले मृतकको विवाहिता छोरीको छोरा अर्थात् मृतकको नातिको हैसियतले अपुताली प्राप्त गरी मृतक जगरनाथको सम्पत्ति आफ्नो नाममा नामसारी गर्ने गरी मालपोत कार्यालय,पर्साबाट मिति २०५६।१२।२ मा निर्णय गराएको हुँदा सो निर्णय बदर हुने स्थिति छैन । कानुनले निर्दिष्ट गरेको हदम्याद नघाई दायर भएको फिरादबाट अपुतालीमा नामसारी भई आएको सम्पत्तिको दर्ता निर्णय बदर गर्न नमिल्नेमा शुरु फैसला उल्टी गरी नामसारी निर्णय बदर गरी वादीको अपुताली हक कायम गरेको पुनरावेदन अदालतको फैसला त्रुटीपूर्ण भएकोले सो फैसला बदर गरी शुरुले फिराद दावी खारेज गरेको इन्साफ कायम राखी पाउँ भन्ने बहस गर्नुभयो ।     

            प्रत्यर्थी वादीको तर्फबाट उपस्थित विद्वान अधिवक्ताहरु मोहम्मद शेख अब्बास र शंकरकुमार निरौलाले प्रतिवादी मृतकको छोरीको छोरा भएको र छोरीले अपुताली पाउने व्यवस्था तत्काल प्रचलित अपुतालीको ८ न. ले गरेकोमा उक्त ८ न. को कानुनी व्यवस्था मुलुकी ऐन,२०२० मा भएको छैठौं संशोधनबाट २०३३ सालपछि मात्रै आएको हो । मृतकको छोरी प्रतिवादीको आमा मंगरीदेवीको २०२९ सालमै मृत्यु भई सकेको छ । प्रतिवादीको आमाको नै हक नपुग्ने सम्पत्तिमा प्रतिवादीले अपुताली पाउँने प्रश्नै आउँदैन । तसर्थ हकै नपुग्ने व्यक्तिले अपुतालीको सम्पत्ति नामसारी गराएको त्रुटीपूर्ण भई सो निर्णय बदर गरी वादीको हक कायम हुने ठहराएको पुनरावेदन अदालतको फैसला कानुन सम्मत हुँदा सदर हुनुपर्छ भन्ने बहस गर्नुभयो ।

            पुनरावेदन सहितको मिसिल संलग्न कागजातहरुको अध्ययन गरी विद्वान अधिवक्ताहरुले गर्नुभएको बहस जीकिर  समेतलाई मनन गर्दा पुनरावेदन अदालतको फैसला मिले नमिलेको के रहेछसोहि विषयमा निर्णय दिनुपर्ने देखियो ।

            काका जगरनाथ रामको मृत्यु भई अपुताली परेकोमा मृतक काकाको नामको जग्गा छोरीको छोराको नाताले आफ्नो नाममा नामसारी गरेको निर्णय गैर कानुनी रहेकोले सो निर्णय बदर गरी मेरो अपुताली हक कायम गरीपाउँ भन्ने वादीको मुख्य दावी भएकोमा शुरु पर्सा जिल्ला अदालतले हदम्यादको आधारमा फिराद दावी खारेज गर्ने गरेको फैसला उल्टी गरी पुनरावेदन अदालतबाट वादी दावी बमोजिम निर्णय बदर गरी अपुताली हक कायम हुने ठहर्‍याएको फैसला उपर चित्त नबुझी प्रतिवादीको तर्फबाट पर्न आएको पुनरावेदन निर्णयार्थ पेश भएको देखियो ।

            २.    निर्णयतर्फ विचार गर्दा वादीको काका जगरनाथ रामको एकमात्र सन्तान छोरी मंगरिया देवीको जन्म भएकोमा निज मंगरियादेवीको सन्१९७३ अर्थात वि.सं २०२९ सालमै मृत्यु भएको र जगरनाथको समेत सन् १९८७ अर्थात् २०४४ सालमा नै मृत्यु भएको भन्ने वादीले पेश गरेको मिसिल संलग्न पुस्तेवारी(कुर्सीनामा ) को प्रतिलिपीबाट देखिन आउँछ । निजका अन्य सन्तान समेत कोही नभई अपुताली परेको तथ्यमा बादी प्रतिवादी बीच कुनै विवाद छैन । मृतक जगरनाथ भारतीय नागरिक भएको र निजको नाममा नेपालमा जग्गा जमीन दर्ता रहेको तथ्य मिसिल संलग्न जग्गा धनी दर्ता श्रेस्ताबाट देखिन्छ । निजको मृत्युपछि निजका नाममा रहेको जग्गा यी पुनरावेदक प्रतिवादीले छोरीको छोरा अर्थात् मृतकको छोरीपट्टिको नातिको हैसियतले अदलको ३ नं. बमोजिम आफ्नो नाममा नामसारी गराएको मालपोत कार्यालय, पर्साको मिति २०५६।१२।२ को निर्णयबाट देखिन्छ । प्रत्यर्थी वादीले आफु मृतकको नजिकको हकदार अर्थात भतिजा हुँदा हुँदै छोरीको छोरा अर्थात् नातिको हैसियतले अपुतालीको सम्पत्ति नामसारी गराएकोलाई बदर गरी हक कायम गरिपाऊँ भन्ने मागदावी लिई मिति २०५७।२।९ मा फिराद दायर गरेको देखिन्छ ।

            ३.    मुलुकी ऐनमा ०५९।६।१० मा भएको एघारौ संशोधन भन्दा अगाडि अपुताली सम्बन्धमा फिराद परेको स्थिति हुँदा को कसको हकले प्राथमिकता पाउँने रहेछ भन्ने तर्फ अपुताली महलको तत्काल प्रचलित २ न. को कानुनी व्यवस्था हेर्दा अपुताली पर्दा मर्नेको लोग्ने , स्वास्नी, छोरा वा छोराका छोरा भएसम्म छोरीले अपुताली पाउँदैन । त्यस्ता कोही नभए छोरीले अपुताली पाउँछे । छोरी मध्ये कोही कन्या र कोही विवाह भएकी वा पोइल गएकी भएमा प्रत्येक कन्या छोरीले २ खण्ड र प्रत्येक विवाह भएको वा  पोइल गएकी छोरीले १ खण्डको हिसाबले अपुताली पाउँछे । छोरी नभए सँगबसेको हकवाला भए त्यस्ता हकवाला र त्यस्ता हकवाला नभए हरु हकवालाले अपुताली पाउँछ ।भन्ने व्यवस्था भएको देखिन्छ । सोही महलको १ नं मा हकवाला भन्नाले सात पूस्तासम्मको पुरुषतर्फको हाँगामा सबैभन्दा नजिकको अंशियार हुन्छभन्ने व्यवस्था भएको पाइन्छ ।

            ४.    प्रस्तुत विवादको मिसिल संलग्न तथ्य प्रमाणबाट प्रत्यर्थी वादी मृतक जगरनाथको दाजुको छोरा अर्थात् भतिजा नाताको देखिन्छन् भने पुनरावेदक प्रतिवादी मृतकको छोरीको छोरा अर्थात नाति नाताको देखिन्छन् । जगरनाथको अपुतालीमा वादी र प्रतिवादी मध्ये कसको हकले प्राथमिकता पाउँने भन्ने नै मुल विवाद हुँदा सो तर्फ विचार गर्दा मृतक जगरनाथको एकमात्र छोरी पुनरावेदक प्रतिवादीको आमा मंगरिदेवीको समेत २०२९ सालमै मृत्यु भइसकेको स्थितिमा जगरनाथको अपुतालीको हक निजको पुरुषतर्फको सात पुस्ता भित्रको हकवाला अर्थात,निजको पुस्तेवारीबाट भतिजा नाताका वादीमा नै रहने देखिन आउँछ ।

            ५.    पुनरावेदक प्रतिवादीले मृतकको छोरीको छोरा अर्थात् नातिको हैसियतले मृतकको नामको सम्पत्ति नामसारी गराएको देखिन्छ । निजको हकको मुख्य कानुनी आधारको रुपमा अपुतालीको तत्काल प्रचलित ८ न. को कानुनी व्यवस्थालाई देखाएको हुँदा मुलुकी ऐनमा एघारौ संशोधन हुनुपूर्वको उक्त ८ नं हेर्दा हकवाला र छोरी छैनन् भने मर्नेको अपुताली छोरीको छोराहरुले खान पाउँछन्भन्ने व्यवस्था रहेको देखिन्छ । सो कानूनी व्यवस्था बमोजिम पनि प्रस्तुत मुद्दामा मृतक जगरनाथको भतिजा नाताको वादी रहे सम्म निजको अपुताली छोरीको छोराको नाताले पुनरावेदक प्रतिवादीले पाउँन सक्ने देखिंदैन् । उक्त कानुनी व्यवस्था बमोजिम मृतक जगरनाथ जिवित रहँदाकै अवस्थामा निजको छोरी मंगरीदेवीको ०२९ सालमा नै मृत्यु भैसकेको र २०४४ सालमा मात्र जगरनाथको मृत्यु भएकोमा निजका नाउँमा यथावत् दर्ता कायम रही रहेको जग्गा हकै नपुग्ने व्यक्ति यी पुनरावेदक प्रतिवादीले निर्णय गराई लिएकोमा त्यस्तो निर्णय बदर गराउन अपुतालीमा हक पुग्ने प्रत्यर्थी वादीले सो निर्णय भएको मितिले नै मुद्दा गुर्नपर्ने कारण उपस्थित भै फिराद गर्नुपर्ने हुन आउँछ । सोही बमोजिम निर्णय मितिबाटै ऐनका म्यादभित्र वादीको फिराद परेकोलाई हदम्याद नघाई फिराद दायर गरेको भन्न मिल्ने देखिदैन । अपुतालीमा हकै नपुग्ने व्यक्तिले निर्णय गराई अपुतालीको सम्पत्ति नामसारी गराउँदैमा अपुताली परेको मितिबाटै अपुताली हक कायम तर्फ नालिश दिनु पर्छ भनी अर्थ गरी हकै नपुग्नेले दावी गरी गराएको अनधिकृत कार्यलाई कानूनी मान्यता दिन समेत मिल्दैन । प्रचलित कानुन बमोजिम आफ्नो हक पुग्ने अपुतालीको  सम्पत्ति हकै नपुग्ने व्यक्तिले आफ्नो नाममा दर्ता गराउने गरी निर्णय गरेको छ भने सो  मितिबाटै त्यस्तो निर्णय बदर तर्फ नालिश गर्ने हदम्याद शुरु हुन जान्छ र उक्त म्यादभित्र परेको नालिश उपर न्यायिक निरोपण गरी ईन्साफ गर्नुपर्ने हुन्छ । प्रस्तुत विवादमा मिति २०५६।१२।२ को मालपोत कार्यालयको निर्णयबाट पुनरावेदक प्रतिवादीले आफ्नो हकै नपुग्ने सम्पत्तिमा अपुतालीमा दावी लिई नामसारी गराएकोलाई बदर गरी आफ्नो हक

कायम गरीपाउँ भनी प्रत्यर्थी वादीको मिति २०५७।२।९ मा दर्ता भएको फिराद उल्लेखित आधार कारणबाट हदम्याद भित्रकै भएको र मृतक जगरनाथको अपुतालीमा वादीकै हक रहे भएको देखिदां उक्त निर्णय बदर भै वादी दावीको जग्गामा प्रत्यर्थी वादीको अपुताली हक कायम हुने देखिन आयो ।

 

            ६.    माथि विवेचना गरिएको आधार कारण समेतबाट मालपोत कार्यालय,पर्साबाट मिति २०५६।१२।२ मा भएको निर्णय बदर गरी वादी दावीको जग्गामा वादीको हक कायम हुने ठहर गर्नुपर्नेमा नगरी शुरु पर्सा जिल्ला अदालतबाट फिराद खारेज गर्ने गरेको फैसला उल्टी गरी वादीको अपुताली हक कायम हुने ठहर गरेको पुनरावेदन अदालत, हेटौडाको मिति २०६०।२।१९ को फैसला मिलेको देखिदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनु ।

           

उक्त रायमा म सहमत छु ।

 

न्या.रामप्रसाद श्रेष्ठ

 

इति सम्वत् २०६५ साल भाद्र  महिना २३ गते रोज २ शुभम् .................।

उपसचिव  : विदुर कोइराला

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु