निर्णय नं. ७९६७ - अपुताली अंश ।

निर्णय नं.७९६७ ने.का.प. २०६५ अङ्क ५
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ
माननीय न्यायाधीश श्री ताहिरअली अन्सारी
सम्वत् २०५८ सालको दे.पु.नं.–८७०६
फैसला मितिः २०६५।१।४।४
मुद्दा :– अपुताली अंश ।
पुनरावेदक/वादीः जिल्ला बर्दिया, धधवार गा.वि.स.वडा नं.४ बस्ने खुइती थरुनी समेत
विरुद्ध
प्रत्यर्थी/प्रतिवादीः जिल्ला बर्दिया, धधवार गा.वि.स.वडा नं.१ बस्ने श्रीराम थारु समेत
शुरु फैसला गर्नेः
मा.जि.न्या.श्रीतेजबहादुर के.सी.
पुनरावेदन फैसला गर्नेः
मा.न्या.श्री धीरेन्द्रबहादुर विष्ट
मा.न्या.श्री कृष्णप्रसाद बस्याल
§ प्रत्यक्ष रुपमा अंश नपाउने व्यक्तिले अप्रत्यक्ष रुपबाट पनि अंश प्राप्त गर्न सक्दैन । अर्थात् अंशलाई अपुतालीको माध्यमबाट प्राप्त गर्न नसकिने ।
§ अपुतालीको हक प्राप्त गर्न कुनै सम्पत्तिमा जो व्यक्तिको अपुताली परेको भन्ने दावी छ, उसको स्वामित्व कायम भइसकेको हुनुपर्ने ।
§ अपुताली पाउनेले अपुताली प्राप्त गर्ने हकको आधारमा मरिसकेको अंशियारलाई अंश दिलाउन वा अंशको दावी गर्न नपाउने ।
§ अंश लिई भिन्न नहुँदै परलोक भएपछि छोरा नहुने र ३५ वर्षकी अविवाहिता छोरी नहुने त्यस्ता अंशियारहरुको अंशहक निजहरुको देहावसान सँगै समाप्त भइसकेको मान्नु पर्दछ । त्यस्तो पैतृक सम्पत्ति विवाहिता छोरीहरुमा वण्डा लाग्ने अवस्था नै नआउने ।
§ बाबु आमाको अंश नै कायम भई नसक्दै विवाह भै आ–आफ्नो घर गैसकेको छोरीहरुले बाबु वा आमाको अपुतालीमा दावी गर्न पाउने अवस्था नहुने ।
(प्रकरण नं.५)
पुनरावेदक/वादी तर्फवाटः विद्वान अधिवक्ता श्री शिवराज अधिकारी
प्रत्यर्थी/प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री गोपालकृष्ण घिमिरे
अवलम्वित नजीरः
आदेश
न्या.ताहिरअलि अन्सारीः पुनरावेदन अदालत, नेपालगञ्जको मिति २०५८।१।१९ को फैसला उपर प्रतिवादीको तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यसप्रकार छः–
बाजे पुरन थारुका ३ छोराहरुमा जेठा स्वर्गीय देवारी थारु, माहिला हामी फिरादीका बाबु स्वर्गीय बाजी भन्ने बाझी थारु तथा कान्छा प्रतिवादी मध्येका चमारी थारुको जायजन्म भएको । जेठा देवारी थारुबाट एकमात्र छोरा प्रतिवादी मध्ये श्री राम थारु, माईला बाजी थारुबाट ३ छोरीहरुको जायजन्म भएको, जेठी वुधनी, माईली खुइती तथा कान्छी राम बसनी थरुनी हुन् । जेठी वुधनी थरुनी आफ्नो कालगतिले पहिले नै परलोक हुनु भएको, साथै बाजी थारुको २०१८ सालमा र आमा गोलिया थरुनीको मिति २०५१।२।१६ मा विपक्षीहरुसँग रीतपूर्वक वण्डा नभएको अवस्थामा परलोक भएको । यसरी बाबु आमाको मृत्युपछि बाबु आमाको अंशभाग विपक्षीहरुसँग माग गर्दा आज भोलि भन्दाभन्दै नदिएकोले मिति २०३१।३।१ सम्मको चल अचल श्री सम्पत्तिको मुलुकी ऐन अंशवण्डाको १, २, ३, ५ तथा अपुतालीको १, २ नं.बमोजिम सम्पूर्ण सम्पत्तिको ३ भाग लगाई १ भाग बाबु बाजी थारुको अंश भाग हामी फिरादीहरुलाई दिलाई भराई पाऊँ भन्ने समेत व्यहोराको मिति २०५३।४।१५ को फिरादपत्र ।
मुल पुर्खा पुरन थारुका ३ छोराहरुमा जेठा छोरा देवारी थारु, माइला बाजी थारु र कान्छा चमारी थारु हो । जेठो देवारीको छोरा म श्रीराम थारु हुँ । माइला बाजी थारुले गाउँकै जिरवा थारुको स्वास्नी गोलिया थरुनीलाई ल्याई निजबाट तीन छोरीहरु जन्मीई, बाजी थारुको पहिलै नै मृत्यु भइसकेको र भाउजु तथा काकी २०२९ सालमा छुट्टी भिन्न भै हाम्रै रोहवरमा रेखदेख गरी आएकोमा निज बाजी थारुको पहिलै नै मृत्यु भै सकेपछि गोलिया थरुनी २०४७ सालमा मरेकीमा यी वादीको दाजु भाई नाताका दयाराम थारुले हामीमाथि सम्मानित यसै अदालतमा २०५१ सालको दे.नं.४३७ को अंश मुद्दा दिई निज दयाराम अंशियार नठहरी अंश नपाउने गरी अन्तिम फैसला भैसकेको छ । दावीमा उल्लेखित गोलिया थरुनी २०४७ सालमा मरेको र कुनै सन्तान नभएको भन्ने हाम्रो प्रतिवादी भै सो अंश मुद्दामा पनि सोही आधारबाट फैसला भएको हुँदा ल्याइते दाजु दयारामले अंश दायर गर्ने र सो कुरालाई विचार गरी अपुतालीका २० नं.बमोजिमको हदम्याद नघाई २०५१ सालमा मरेकी भनी जालसाजीपूर्ण तरीकाले मृत्यु दर्ता प्रमाणपत्र बनाई दावी गरे तापनि उक्त कागजात देख्न सुन्न पाएका वखत सद्दे कीर्तेमा नामाकरण गरी त्यस सम्बन्धी छुट्टै दावी पनि गर्ने नै हुँदा कपोलकल्पित दावीबाट फुर्सद दिलाई पाऊँ भन्ने मिति २०५३।६।२३ को प्रतिउत्तरपत्र ।
वादीको बाबु बाजी थारुको २०१२ सालमा र आमा गोलिया थरुनीको २०४७ सालमा मृत्यु भएको हो भन्ने प्रतिवादीका साक्षी मणिराम थारुको बकपत्र ।
आदेश बमोजिम गोलिया थरुनीको मृत्युदर्ता प्रमाणपत्र पेश भै मिसिल संलग्न रहेको ।
मिति २०५४।२।२९ को आदेश बमोजिमको कागजात जि.वि.स. केन्द्रिय कार्यालयमा पठाई सकिएकोले पठाउन नसकिने साथै दर्ता रजिष्ट्ररको प्रतिलिपि उतार मात्र पठाएको भन्ने स्थानीय पंजिकाधिकारीको मिति २०५४।५।११ मा जवाफ प्राप्त हुन आएको ।
गोलिया थरुनीको मृत्यु मिति २०४७।८।१६ गते भएकोमा काजक्रिया समेत हामीले गरेको हो । वादी खुइती थरुनीले झुठ्ठा व्यहोरा देखाई उल्लेखित सूचना फाराम भरी सोही बमोजिम तयार भएको मृत्यु दर्ता प्रमाणपत्र रजिष्ट्रर किताबको व्यहोरा झुठ्ठा र बनावटी हो । आफ्नै दाजु नाताका दयाराम थारुले अंश नपाउने ठहरी फैसला भैसकेपछि २०४७ सालमा मरेकी गोलियालाई २०५१ सालमा मरेको बनाई अपुताली खाने नियतले उल्लेखित सूचना फाराम भरी कागजातहरु झुठ्ठा एवम् बनावटी तयार गरेका हुन् । उल्लेखित दयाराम थारु वादी हामी प्रतिवादी भएको २०५० सालको दे.नं.४३७ को अंश मुद्दाको मिसिल प्रस्तुत मुद्दाको प्रतिउत्तर जीकिर तथा यस मुद्दामा साक्षीहरुले बकेको बकपत्र समेतका कागजात प्रमाण लगाई बुझिएमा प्रष्ट हुने छ भन्ने मिति २०५५।२।१४ को प्रतिवादीहरुका वारेस दर्जिलाल थारुले गरेको कागज ।
अंश अपुताली वापतको सम्पत्तिको फाँटवारी हाल दुवै पक्षबाट लिनुपर्ने देखिँदा सो अंशवण्डाको २०, २१, २२ र २३ नं.बमोजिम फिराद परेको अघिल्लो दिनसम्मको फाँटवारी लिई सो परस्पर सुनाई नपुग कोर्टफी लिई सोको दर्ता श्रेस्ता समेत झिकाई पेश गर्नु भन्ने मिति २०५५।८।२२ को आदेश ।
वादीबाट मिति २०५५।९।५ र प्रतिवादीबाट मिति २०५५।९।२४ मा फाँटवारी दाखेल भै मिसिल संलग्न रहेको ।
मिति २०५५।९।२९ मा वादी प्रतिवादीबाट फाँटवारी सुनिपाएको कागज भएको ।
मालपोत कार्यालयबाट दर्ता श्रेस्ताको प्रतिलिपिहरु प्राप्त भै मिसिल संलग्न रहेको ।
वादीको आमा २०५९ सालमा स्वर्गीय भएको प्रमाण वादीले पेश गरेकोमा प्रतिवादीको कुनै प्रमाण सहितको खण्डन छैन । वादीका बाबु र आमा आफ्ना देवर जेठाजुसँग बण्डा नुँहदै स्वर्गीय हुँदा निजका बाबु र आमाको यी प्रतिवादीसँग अंश हक रहेको टड्कारै रुपमा देखिन आउँछ । बाबु आमाले अंश नलिदै स्वर्गीय भएपछि निजका छोरा नभै यी वादीहरु छोरीमात्र भएकोले उक्त सम्पत्तिमा निजहरुको अपुताली हक समेत रहेकोमा कुनै शंका रहेन । वादीका बाबु आमाले अंश पाउन बाँकी रहेको र सो रहँदा नै निजहरु स्वर्गीय भएकोले निजहरुको सम्पत्तिमा वादीहरुको अपुताली हक हुनेहुँदा दुवै आधार कानूनसंगत हुँदा र ऐनका हदम्याद भित्र समेत हुँदा फिराद दावी कानूनसम्मत नै रहेको छ । वादीहरुले नै मृतक गोलियाको हेर विचार र दाह संस्कार गरेको वादीले पेश गरेको साक्षीको बकपत्रबाट पुष्टि हुन्छ । अंश र अपुताली मुलभुत रुपले भिन्न कुरा हुन् र ती प्राप्त गर्ने हैसियत र आधार समेत अलग हुन्छन । वादीले गोलिया नाउँको जग्गा मात्र देखाई सोको कोर्टफी मात्र राखी फिराद गर्न आएपनि हुने हो । अंशवण्डाको महल अन्तर्गत समेत अंगीकार गरी आएको छ । दावी दुई महलका प्रावधान अन्तर्गत आएपनि आखिर वादीले दावी गरेको वा पाउनु पर्ने अवस्थाको सम्पत्तिको मात्र कोर्टफी राख्नु पर्ने हुन्छ र सो आधारमा मुद्दाको किनारा गर्नुपर्ने मुद्दामा वादीले यस मुद्दाका वादीको आमाको मृत्युको सम्बन्धमा केही नबोलेको र प्रतिवादीले २०४७ सालमा मरेको भन्ने जीकिर हाल यी वादीको हकमा लागू हुँदैन । उक्त मुद्दामा नातामा बयान गर्दा प्रतिवादीले यस बारे केही बोलेका छैनन । वादीको आमाको मृत्यु मिति २०५१।२।१६ मा भनी गरिएको दावीलाई प्रतिवादीले अन्यथा भन्न नसकेको हुँदा दावी हदम्यादकै देखिन्छ । पेश भएको तायदाती फाँटवारीबाट वादीले तीन भागको एक भाग अंश पाउने ठहर्छ भन्ने शुरु बर्दिया जिल्ला अदालतको फैसला ।
प्रतिउत्तरको प्रकरण नं.२ मा स्पष्टसँग तथ्यसहित गोलिया थरुनीको मृत्यु मिति २०४७।८।१६ मा भएको भनी किटानी गरिएको अवस्थामा बनावटी झुठ्ठा मृत्यु दर्ता प्रमाणपत्रको सम्बन्धमा अ.वंं.१३३ नं.बमोजिम कागज गर्दा पनि हामीले गोलियाको मृत्यु २०४७ साल मार्ग १६ गतेमा भएको भनेका छौं । वादीका साक्षीहरुले समेत गोलियाको मृत्यु भएको एकिन साथ भन्न नसकेको अवस्थामा मिलेमतो गरी बनाइएको मृत्यु दर्ता प्रमाणपत्रका आधारमा जग्गा हत्याउने नियतले अपुतालीमा हदम्याद कायम गर्नका लागि दिइएको मुद्दाको फैसला कानूनी रुपले त्रुटिपूर्ण छ । कुन ऐनको हदम्यादभित्र वादी दावी गरिएको हो स्पष्ट छैन् । वादीको तर्फबाट बकपत्र गर्ने साक्षीले गोलियाको सेवा टहल वादीहरुले गरेको भनेका छैनन । गोलियाको मृत्यु हुनुभन्दा पूर्व छोरा दयारामको साथमा बसेकी थिइन् भनेको हुँदा वादीहरुले मृतकको जीवित अवस्थामा सेवा टहल गरेको थिएनन् भन्ने कुरा स्पष्ट नै छ । दावी गर्दा म्याद भित्र कोर्टफी समेत राखी दावी गर्नुपर्नेमा त्यसो नगरी हकदैया र हदम्यादको अभावमा यस्तो हकदैया नै नभएको झुठ्ठा मुद्दाबाट निर्णय गर्न मिल्ने होइन । ०४७ सालमा गोलियाको मृत्यु भएको र तत्काल जीवित भएको भए आफ्नो आमाको सम्बन्धमा दयाराम थारुले जरुर त्यस कुराको खण्डन गर्दथे । प्रमाणको लागि यस मुद्दामा आकर्षित भएको दे.नं.४३७ को अंश मुद्दाबाट समेत कुराहरु पुष्टि भईरहेको छ । गोलियाको मृत्यु सम्बन्धमा उल्लेख गरिएको बयान समेतको कुनै मूल्यांकन नै नगरी न्यायिक मनको प्रयोग नगरी भएको फैसला त्रुटिपूर्ण भएकोले शुरु फैसला बदर गरी हामीहरुको प्रतिउत्तर जीकिर अनुसार न्याय निरोपण गरीपाऊँ भन्ने समेत व्यहोराको चमारी थारुको पुनरावेदन पत्र ।
अंश र अपुताली भन्ने दुई बेग्ला बेग्लै अवधारणामा आधारित हुनाले सो तर्फ कुनै विवेचना नै नगरी विवाह भै आफ्नो घरमा बस्ने वादीहरुलाई निजहरुका बाबु आमाको देहान्तपछि अंश अपुताली दुवै कुराको दावी लिई परेको फिरादको आधारमा वादीहरुले ३ भागको १ भाग अंश वापत पाउने ठहर गरी शुरुले गरेको फैसला फरक पर्न सक्ने देखिंदा छलफलको लागि विपक्षी झिकाई पेश गर्नू भन्ने समेत व्यहोराको पुनरावेदन अदालतको आदेश ।
विवाहिता छोरी यी वादीहरुले आमा गोलियाको सम्पत्तिबाट अंश पनि पाऊँ र अपुताली पनि पाऊँ भनी दावी गरेको देखियो । अंश भन्ने कुरा विवाहित छोरीले पाउने व्यवस्था प्रस्तुत फिराद दायर हुँदा कानूनमा भएको देखिंदैन । अपुतालीतर्फ हेर्दा, आमा गोलियाको मिति २०५१।२।१६ मा मृत्यु भएको भन्ने वादीहरु र श्रीमती २०४७ सालमै स्वर्गीय भई सकेको भन्ने प्रतिवादीहरु भएकोमा वादीकै साक्षीहरुले कुन साल महिना मितिमा मरेको भन्न नसकि ३ वर्ष जति भयो होला भन्ने र प्रतिवादीका साक्षीले २०४७ सालमा मरेको मर्ने बेलामा दयारामको साथमा थिइन भनी बकपत्र गरेको पाइन्छ । प्रमाण निमित्त प्राप्त दयारामले यिनै प्रतिवादी उपर अंश पाऊँ भनी मिति २०५०।४।२८ मा दिएको फिरादमा ३ भागको १ भाग अंश पाऊँ भनी दावी गरेबाट नै बाबु आमा त्यस अगावै मृत्यु भै सकेको भन्ने कुरा पुष्टि भै राखेको छ । त्यस मितिले ३ वर्ष भित्रपनि फिराद परेको देखिँदैन । अपुतालीमा अपुताली परेको सम्पत्ति किटान गरी कोर्टफी समेत राखी फिराद गर्नुपर्नेमा सो केही नभएको देखिन्छ । वादीहरुले अंश तथा अपुताली दुवै पाउन सक्ने अवस्था नदेखिनाले वादी दावी पुग्न सक्दैन । शुरु बर्दिया जिल्ला अदालतको मिति २०५६।३।१४ को इन्साफ उल्टी हुन्छ भन्ने पुनरावेदन अदालत, नेपालगञ्जको मिति २०५८।१।१९।४ को फैसला।
पुनरावेदन अदालतको फैसलामा चित्त बुझेन । आमा जीवित रहेसम्म प्रतिवादीहरुले खान लाउन नदिएकाले हामीले नै पाली आएका हौं । मृत्युपछिको क्रिया समेत हामीले नै गरेका हौं । अपुतालीको २ नं.बमोमिज छोरा नभएपछि हामी छोरीहरुले आमाको अंश अपुताली प्राप्त गर्न सक्ने तथ्य प्रष्टै छ । आमालाई जीवित छउञ्जेल विपक्षीहरुले अंश छुट्याई नदिएकाले हामीले आमाको भागमा अपुताली सरहको अंशमा दावी गरेको छौं । पुनरावेदन अदालतले तर्क गरे जस्तो अंश र अपुताली दुवैतर्फ हाम्रो दावी छैन । आमाको मिति २०५१।२।१६ मा मृत्यु भएकोमा विपक्षीहरुले मिति २०४७।८।१६ मा मृत्यु भएको जीकिर लिएको र सो कुरामा निजका साक्षीले भनेका कुराहरुलाई प्रमाणमा लिई हाम्रो फिराद दावी नै नपुग्ने भनी फैसला गरेको मिलेको छैन । प्रचलित कानून बमोजिमको निकायले हाम्रो आमाको मृत्यु सम्बन्धमा दिएको मृत्यु दर्ता प्रमाणपत्र प्रमाण ऐन, २०३१ को दफा ६(ग)(ङ) बमोजिम प्रमाण ग्राह्य छ । त्यसको खण्डन विपक्षीहरुले गर्नुपर्नेमा गरेको पनि छैन । उनाऊ मानिस दयारामको फिराद दावीमा भएको फैसलालाई टेकेर हामीहरुलाई हराएको त्रुटीपूर्ण छ । तसर्थ पुनरावेदन अदालतको सो त्रुटीपूर्ण फैसला उल्टी गरी शुरु बर्दिया जिल्ला अदालतको फैसला सदर गरी पाऊँ भन्ने समेत वादीहरुको पुनरावेदन पत्र ।
मुलुकी ऐन, तत्काल प्रचलित अंशवण्डाको महलको ५ नं.र अपुताली महलको २ नं.मा अपुताली पर्दा मर्नेको लोग्ने, स्वास्नी, छोरा वा छोराको छोरा भएसम्म छोरीले अपुताली पाउँदैन । त्यस्ता कोही नभए छोरीले अपुताली पाउँछ भन्ने व्यवस्था भएको र वादीको बाबु बाजी भन्ने बाझी थारुको २०१८ सालमा र आमा गोलिया थरुनीको मिति २०५१।२।१६ मा निधन भएको भन्ने तथ्य मिसिल संलग्न मृत्युदर्ता प्रमाण पत्रबाट देखिई रहेको स्थितिमा सो प्रमाणलाई वेवास्ता गरी साक्षीहरुको कथनलाई ग्रहण गरी वादी दावी पुग्न नसक्ने ठहर्याएको पुनरावेदन अदालतको फैसला फरक पर्न सक्ने देखिंदा छलफलको लागि प्रत्यर्थी झिकाउनु भन्ने यस अदालतको मिति २०६३।८।१३।४ को आदेश ।
नियम बमोजिम पेशी सूचीमा चढी इजलाससमक्ष पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता शिवराज अधिकारीले प्रस्तुत मुद्दामा मुख्य विवाद मेरो पक्षको आमा गोलिया देवीको मृत्यु कहिले भयो भन्ने सम्बन्धमा छ । प्रचलित कानून बमोजिम व्यक्तिगत घटनाको दर्ता गरी प्रमाण पत्र दिने स्थानीय पंजिकाधिकारीले निजको मृत्यु मिति २०५१।२।१६ मा भएको भनी प्रमाणपत्र समेत दिएको अवस्थामा त्यस्तो प्रमाणलाई मृत्युको सम्बन्धमा आधिकारिक मान्नु पर्नेमा प्रतिवादीको साक्षीको बकपत्रलाई आधार मानी पहिले नै मृत्यु भएको भन्ने मनोगत निष्कर्ष निकाली पुनरावेदन अदालतले फैसला गरेको त्रुटीपूर्ण छ । अपुतालीको २ नं.को कानुनी व्यवस्था अनुसार मेरो पक्षले मृतक गोलिया देवीको अपुतालीमा अंश पाउने तथ्य निर्विवाद छ । तसर्थ वादी दावी नै नपुग्ने ठहर गरेको पुनरावेदन अदालतको फैसला उल्टी गरी शुरु ईन्साफ सदर हुनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो ।
प्रत्यर्थी प्रतिवादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता गोपालकृष्ण घिमिरेले प्रमाणमा आएको दयाराम थारुले यिनै प्रतिवादीहरु उपर मिति २०५०।४।२८ मा दिएको फिरादमा ३ भागको १ भाग अंश पाऊँ भनी दावी लिएका छन् । सो तथ्यबाटै वादीका आमा गोलिया समेत त्यस अगाडि नै मरिसकेको पुष्टी हुन्छ । वादीका आमा बाबुकै अंश कायम नभएपछि यी वादीले अपुताली प्राप्त गर्न नसक्ने हुँदा पुनरावेदन अदालतले अंश अपुताली पाऊँ भन्ने दावी पुग्न नसक्ने ठहर्याएको फैसला उचित हुँदा सदर गरी पाऊँ भनी बहस प्रस्तुत गर्नुभयो ।
विद्वान अधिवक्ताहरुले गर्नु भएको उपर्युक्त बहस जीकिर समेत सुनी पुनरावेदन सहितको मिसिल अध्ययन गरी विचार गर्दा पुनरावेदन अदालतको फैसला मिले नमिलेको सम्बन्धमा नै निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा बाबु बाझी थारुको २०१८ सालमा र आमा गोलिया थरुनीको मिति २०५१।२।१६ मा परलोक भएकोले विपक्षीहरुबाट बाबुले पाउनु पर्ने ३ भागको १ भाग सम्पत्ति अंश वापत आमाले प्राप्त नगर्दै निजको पनि मृत्यु भएको हुँदा मृतक आमा बाबुका हामी छोरीहरुमात्र सन्तान भएकोले सो ३ भागको १ भाग अंश र अपुताली वापत पाऊँ भन्ने मुख्य फिरादावी देखिन्छ । शुरु बर्दिया जिल्ला अदालतले वादी दावी बमोजिम ३ भागको १ भाग अंश अपुताली दिलाई दिने ठहर गरेको फैसला उल्टी भै वादी दावी नपुग्ने ठहर्याई पुनरावेदन अदालत, नेपालगञ्जले गरेको फैसला उपर प्रस्तुत पुनरावेदन पत्र यस अदालतमा दायर भएको देखिन्छ ।
३. वादीले मूलतः अंशवण्डा र अपुतालीको महल अन्तर्गत मृत्यु भइसकेका बाबु आमाको अंशमा दावी गरेको देखिन्छ । वादीहरु मृतक बाझी थारु र गोलिया थरुनीका विवाहिता छोरीहरु भएकोमा विवाद छैन । विवाहिता छोरीहरुले बाबु तर्फको पैतृक सम्पत्तिमा अंश सरह दावी गर्न अंशवण्डा महलको तत्कालीन कानूनी व्यवस्थाबाट मिल्ने देखिंदैन । वादीहरुको आमाले लोग्नेको अंश हक आफू जीवित हुँदासम्म प्राप्त गर्न नसकेको अवस्था हुँदा यी वादीहरुले आफ्ना स्वर्गीय बाबु आमाको अंश भाग छुट्याई सो अंशभागमा अपुताली कायम गर्ने उद्देश्यले अंश र अपुताली दुवै तर्फको दावी लिई फिराद दायर गरेको देखिन आउँछ । वादीहरुका बाबु बाझी थारु आफ्नो अंश हक नछुट्टयाउँदै प्रतिवादीहरुसँग संगोलमा छँदै परलोक भएपछि निजको अंश भाग निजको श्रीमती यी वादीहरुको आमा गोलिया देवी थरुनीले प्राप्त गर्ने भन्ने कुरामा पनि विवाद हुन सक्तैन । तर निज गोलिया देवीको पनि लोग्नेको अंश भाग नछुट्टयाउँदै मृत्यु भएको भन्ने तथ्य स्वयं वादीहरुले स्वीकार गरेको देखिन्छ । यस्तो अवस्थामा वादीका बाबु तथा आमा प्रतिवादीहरुसँग संगोलमा छँदाकै अवस्थामा निजहरुको मृत्यु भएको र वादीहरु आमा बाबु प्रतिवादीहरुसँगै भएको अवस्थामा नै विवाह गरी गैसकेको पुष्टी हुन आएको छ ।
४. यस सम्बन्धमा हालको कानूनी व्यवस्था हेर्दा मिति २०५९।६।१० मा भएको मुलुकी ऐनको एघारौं संशोधनद्वारा संशोधित अंशवण्डाको ५ नं.ले "अंश नहुँदै लोग्ने वा बाबु मरेमा निजले पाउने अंश स्वास्नी वा छोरा छोरीले पाउँछन्" भन्ने व्यवस्था गरेको पाइन्छ । तर यस संशोधन भन्दा पहिलाको अंशवण्डाको ५ नं.ले अंश नहुँदै लोग्ने वा बाबु मरेमा उसले पाउने अंश उसका स्वास्नी सन्तानले ऐन बमोजिम पाउँछन् भन्ने व्यवस्था गरेको थियो । अंशवण्डाको १ नं.ले छोरीको अंश नलाग्ने व्यवस्था गरेको थियो भने अविवाहित छोरीले ३५ वर्ष उमेर पूरा गरेपछि मात्र छोरासरह अंश पाउने व्यवस्था अंशवण्डाको १६ नं.ले गरेको थियो । प्रस्तुत फिराद मिति २०५३।४।१५ मा दायर भएकोले त्यसपछि २०५९ सालमा अंशवण्डाको १ नं.र ५ नं.मा भएको संशोधनको आधारमा आफ्ना स्वर्गीय बाबु आमाको अंश भाग निजका छोरीहरुको नाताले यी वादीहरुले पाउन सक्ने देखिंदैन ।
५. अब अपुताली पाउने, नपाउने तर्फ विचार गर्दा अंश र अपुताली दुई अलग–अलग कुरा हुन् । प्रत्यक्ष रुपमा अंश नपाउने व्यक्तिले अप्रत्यक्ष रुपबाट पनि अंश प्राप्त गर्न सक्दैन । अर्थात् अंशलाई अपुतालीको माध्यमबाट प्राप्त गर्न सकिंदैन । अपुतालीको हक प्राप्त गर्न कुनै सम्पत्तिमा जो व्यक्तिको अपुताली परेको भन्ने दावी छ, उसको स्वामित्व कायम भई सकेको हुनुपर्छ । अपुताली पाउनेले अपुताली प्राप्तगर्ने हकको आधारमा मरी सकेको अंशियारलाई अंश दिलाउन वा अंशको दावी गर्न पाउँदैन । प्रस्तुत मुद्दाको सम्बन्धमा हेर्दा यी वादीहरुको स्वर्गीय बाबुले नै अंश लिई भिन्न नहुँदै परलोक भएको र निजकी श्रीमती यी वादीको आमा पनि अंश लिई भिन्न नहुँदै परलोक भएपछि छोरा नहुने र ३५ वर्षकी अविवाहिता छोरी नहुने त्यस्ता अंशियारहरुको अंशहक निजहरुको देहावसान सँगै समाप्त भई सकेको मान्नु पर्दछ । त्यस्तो पैतृक सम्पत्ति विवाहिता छोरीहरुमा वण्डा लाग्ने अवस्था नै आउँदैन । यसप्रकार, बाबु आमाको अंश नै कायम भई नसक्दै यी वादीहरुको विवाह भै आ–आफ्नो घर गैसकेको छोरीहरुले बाबु वा आमाको अपुतालीमा दावी गर्न पाउने अवस्था छैन ।
६. तसर्थ, अंशवण्डा र अपुताली सम्बन्धी कानूनको गलत व्याख्या गरी वादी दावी बमोजिम ३ भागको १ भाग अंश पाउने ठहर्याई शुरु बर्दिया जिल्ला अदालतले गरेको फैसला उल्टी गरी वादी दावी पुग्न नसक्ने ठहर्याएको पुनरावेदन अदालत, नेपालगञ्जको मिति २०५८।१।१९।४ को फैसला मिलेको देखिंदा सदर हुने ठहर्छ । वादीको पुनरावेदन जीकिर पुग्न सक्तैन । मिसिल नियमानुसार बुझाई दिनू ।
उक्त रायमा म सहमत छु ।
न्या.रामप्रसाद श्रेष्ठ
इति सम्वत २०६५ साल वैशाख ४ गते रोज ४ शुभम्.................
इजलास अधिकृत : विदुर कोइराला