निर्णय नं. ९२३४ - उत्प्रेषण/परमादेश

नेकाप २०७१, अङ्क ८, नि.नं.९२३४
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय
माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल
आदेश मिति : २०७१।६।३०।५
२०६७-WO-०३४३
विषय : उत्प्रेषण/परमादेश ।
निवेदक : सशस्त्र प्रहरी सहायक निरीक्षक लक्ष्मण लामा
विरूद्ध
विपक्षी : सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोक, काठमाडौंसमेत
§ निवेदकले उर्दीको पोसाकमा मादक पदार्थ सेवन गरेको र सचेत गराउँदा पनि आचरणसम्बन्धी नियम बारम्बार उल्लङ्घन गरेको स्थिति नरहेको र गल्ती सुधार्न प्रतिबद्धसमेत रहेको स्थितिमा सिभिल पोसाकमा न्यून मात्राको मदिरा सेवनको सामान्य अवस्थामा निवेदकलाई सशस्त्र प्रहरी नियमावली, २०६० को नियम ८४(ख) १ बमोजिम भविष्यमा सरकारी नोकरीको निमित्त सामान्यतः अयोग्य नठहरिने गरी नोकरीबाट हटाएको निर्णय निवेदकको कसुरको मात्रा भन्दा चर्को देखिन आएकोले विपक्षी सशस्त्र प्रहरी बल प्रधान कार्यालयको प्रहरी नायब महानिरीक्षकको मिति २०६७।१।२९ र त्यसलाई सदर गरेको ऐ. कार्यालयका प्रहरी महानिरीक्षकको मिति २०६७।५।२९ को निर्णयसमेत उत्प्रेषणको आदेशद्वारा बदर भै सशस्त्र प्रहरी नियमावली, २०६० को नियम ८४ को खण्ड (क) मा उल्लिखित अन्य उपयुक्त सजाय गरी निजलाई पूर्ववत् सेवा बहाल गर्नु भनी विपक्षीहरूको नाममा परमादेशको आदेश जारी हुने ।
(प्रकरण नं.१५)
निवेदकको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता हरिकृष्ण कार्की
विपक्षीको तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता सूर्यराज दाहाल
अवलम्बित नजिर :
सम्बद्ध कानून :
§ सशस्त्र प्रहरी बल नियमावली, २०६० को परिच्छेद १० को नियम ८७(१)(ग), (घ), (ङ) र (ज) को कसुरमा नियम ८४(क), (ख)(१)
आदेश
न्या.गोविन्दकुमार उपाध्याय : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा १०७(२) बमोजिम दायर हुन आएको प्रस्तुत निवेदनको सङ्क्षिप्त तथ्य एवम् ठहर आदेश यस प्रकार छ :
म निवेदकले सशस्त्र प्रहरी सहायक निरीक्षक पदको भर्ना प्रक्रियामा सहभागी भई सफल भए अनुसार मिति २०६४।३।११ देखि सेवा प्रारम्भ गरी आएको थिएँ । सशस्त्र प्रहरी बल दक्षिणकाली गण दरबन्दी भई योग तालिमको सिलसिलामा सशस्त्र प्रहरी बल बंगलामुखी विशेष कार्यदल गणमा कार्यरत रहेको अवस्थामा मिति २०६७।१।२१ गते राति आफूखुसी ब्यारेक छाडी बाहिर गई मादक पदार्थ सेवन गरेको र सशस्त्र प्रहरी बल कालिन्चोक भगवती गण दरबन्दी रहेको स.प्र.स.नि संगम के.सी. ले चलाएको मोटरसाइकल दुर्घटना भई एक माओवादी कार्यकर्ताको मृत्यु भएको विषयलाई लिएर सशस्त्र प्रहरी बल प्रधान कार्यालय कानून तथा अनुगमन शाखाद्वारा मिति २०६७।१।२२ मा सोधिएको स्पष्टीकरणको तोकिएको समयमै आफू निर्दोष रहेको आधार कारण सहित लिखित जवाफ पेस गरेको थिएँ । म निवेदकले पेस गरेको स्पष्टीकरणको जवाफ सन्तोषजनक नभएको भनी पुनः स्पष्टीकरण माग भए अनुसार सम्पूर्ण सत्य तथ्य उल्लेख गरी स्पष्टीकरण पेस गरेकोमा सशस्त्र प्रहरी बल प्रधान कार्यालयका सशस्त्र प्रहरी नायब महानिरीक्षक भीष्मकान्त अर्यालले निर्णय पर्चा गरी म निवेदकसमेतलाई सशस्त्र प्रहरी नियमावली, २०६० को उपनियम (१) को (ग), (घ), (ङ) र (ज) को कसुरमा ऐ. नियम ८४(ख)(१) बमोजिम भविष्यमा सरकारी नोकरीको निमित्त सामान्यतः अयोग्य नठहरिने गरी नोकरीबाट हटाउने गरी मिति २०६७।१।२९ मा निर्णय गर्नुभएको थियो । मिति २०६७।१।२९ को निर्णयउपर म निवेदकले पुनरावेदन गरेकोमा सुरू निर्णयलाई सदर गरी सशस्त्र प्रहरी महानिरीक्षकबाट मिति २०६७।५।२९ मा निर्णय भएको कुरा सशस्त्र प्रहरी बल प्रधान कार्यालयको मिति २०६७।५।२९ को बोधार्थ पत्र प्राप्त भई जानकारी हुन आएको हो ।
सशस्त्र प्रहरी महानिरीक्षकबाट भएको मिति २०६७।५।२९ को निर्णय तथा सोबमोजिमको कार्यबाट सशस्त्र प्रहरी ऐन, २०५८ र सशस्त्र प्रहरी नियमावली, २०६० तथा नेपालको अन्तरिम संविधान, २०६३ द्वारा प्रदत्त मौलिक हकमाथि आघात पर्न गएकोले सो हक प्रचलनका लागि अन्य वैकल्पिक कानूनी उपचारको अभावमा ऐ. संविधानको धारा ३२, १०७ (२) बमोजिम प्रस्तुत निवेदन लिई उपस्थित भएको छु ।
म निवेदक मिति २०६७।१।२१ गते आफ्नो जिम्मेवारी अनुसारको कार्य सम्पन्न गरेपश्चात ड्युटीको पोसाक चेन्ज गरी साथी स.प्र.स.नि. जोबबाबु अधिकारीसँग कार्यालय परिसरमै कुराकानी गरी बसेको अवस्थामा कार्यालयको मूलगेट देखी केही पर रहेको होटलबाट साथी स.प्र.स.नि. संगम के.सी.ले फोन गरी खाजा खान आउनु भनी निक्कै कर गरेको र तत्काल परिस्थिति सामान्य रही कार्यालयमा समेत कुनै काम (थप जिम्मेवारी) नभएकोले हामी दुबैजना होटलमा गई साथी संगम के.सी. को अनुरोधमा खाजासँगै सामान्यरूपमा छ्याङ (जाँड) खाएका हौं । धेरै समय बाहिर बस्नु अनुचित ठानी तीनै जना बेलुकी करिब ८.०० बजेतिर कार्यालय परिसरभित्र प्रवेश गर्न लाग्दा साथी संगम के.सी.ले पसलबाट सामान किनेर तुरून्त आउँछु तपाईंहरू जाँदै गर्नुहोस् भनेकोले म र जोबबाबु कार्यालय ब्यारेकमा आई आराम गरेका हौं । संगम के.सी. मेरो मातहत (कमाण्ड) को नभई आफू सरह हैसियत भएको प्रहरी कर्मचारी भएको हुँदा सामान किन्नु छ तुरून्तै आउँछु भनेकोले सँगै ब्यारेकमा नलगिएको हो । निज संगम के.सी १०.०० बजे रातिसम्म ब्यारेकमा नआएकोले फोन सम्पर्क गर्दा अन्य व्यक्तिले फोन उठाई निज मोटरसाइकल दुर्घटनामा परी प्रहरीले ए.पि.एफ. अस्पताल बलम्बु लगेका छन् भन्ने अपुष्ट जानकारी गराई फोन राखेकोले मानवीय हिसाबले साथीको सहयोगको लागि वास्तविकता बुझ्न हतारमा जाँदा तत्कालै कतै रिपोर्ट नगरेको र अस्पतालमा गई साथी संगम के.सी. लाई भेटी वास्तविकता बुझेपश्चात निजको अवस्था सामान्य रही प्रहरीले नै उद्धार गरी अस्पताल पुर्याएको हुँदा सम्बन्धित कार्यालयमा जानकारी गराएकै होला भनी सो घटनाको सम्बन्धमा रिपोर्ट नगरेको भनी आफ्नो सफाइ पेस गरेको छु ।
म निवेदकले पदीय जिम्मेवारी निर्वाह गर्ने क्रममा कुनै प्रकारको सजाय तथा नसिहत पाएको छैन । नोकरीबाट हटाउँदा सशस्त्र प्रहरी नियमावली, २०६० को नियम ८७ को उपनियम (१) को खण्ड (ग), (घ), (ङ) र (ज) बमोजिमको कसुर भनी ऐ. नियम ८४(ख)(१) बमोजिम विशेष सजाय गरिएको छ । म निवेदक विरूद्ध आकर्षित नै हुन नसक्ने नियमहरूको प्रयोग गरी पूर्वाग्रह राखी मैले पेस गरेको सफाइको पूर्ण बेवास्ता गरी विभागीय छानबीन तथा जाँचबुझसमेत नगरी कानूनले दिएको अधिकारको गलत प्रयोग गरी नोकरीबाट हटाउने गरी भएको विभागीय सजायलाई हचुवाको भरमा सदर गरेको सशस्त्र प्रहरी महानिरीक्षकको मिति २०६७।५।२९ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी निवेदकलाई कानूनविपरीत स्वेच्छाचारी ढङ्गले नोकरीबाट हटाउने कार्य नगर्नु नगराउनु भनी विपक्षीहरूको नाममा परमादेशको आदेशसमेत जारी गरिपाउँ भन्ने रिट निवेदन ।
यसमा के कसो भएको हो निवेदकको मागबमोजिमको आदेश किन जारी हुन नपर्ने हो, बाटाका म्याद बाहेक १५ दिनभित्र लिखित जवाफ पठाउनु भनी विपक्षीहरूलाई सूचना पठाई लिखित जवाफ आएपछि वा अवधि नाघेपछि नियमबमोजिम पेस गर्नु भन्ने यस अदालतको मिति २०६७।६।८ को आदेश ।
सँगै मादक पदार्थ सेवन गरेको साथीलाई सँगै ब्यारेकमा लानुपर्नेमा बाहिर जान दिएकै कारण दुर्घटना भई मानिसको ज्यानसम्म गएको देखिँदा यी स.प्र.स.नि.ले सशस्त्र प्रहरीको आचरणविपरीत स्ट्यान्डबाइको समयमा उर्दीको पोसाक लगाई आफूखुसी बाहिर गई मादक पदार्थ सेवन गरी सशस्त्र प्रहरी ऐन नियमविपरीतको कार्य गरेको हुँदा निजलाई सशस्त्र प्रहरी नियमावली, २०६० को नियम ८७(१)(ग)(घ)(ङ) र (ज) बमोजिमको कसुरमा ऐ. नियम ८८ को अधिकार प्रयोग गरी नियम ८४(ख)(१) बमोजिम सरकारी नोकरीको निमित्त सामान्यत अयोग्य नठहरिने गरी नोकरीबाट हटाउने निर्णय भएको हो । नियमावली अनुसार भएको काम कारवाहीको गलत व्याख्या गरी झुट्ठा बहाना बनाई दिएको रिट निवेदन खारेज गरिपाउँ भन्नेसमेत व्यहोराको सशस्त्र प्रहरी बल प्रधान कार्यालय तथा ऐ. का महानिरीक्षक श्री सनतकुमार बस्नेत र सशस्त्र प्रहरी नायब महानिरीक्षक श्री भीष्मकान्त अर्यालसमेतले पेस गरेको एकै मिलान व्यहोराको लिखितजवाफ ।
नियमबमोजिम आजको दैनिक मुद्दा पेसीसूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दाको रिट निवेदनसहितको मिसिल अध्ययन गरी निवेदकका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिकृष्ण कार्कीले निवेदकबाट प्रहरी अनुशासन उल्लङ्घन भएको भनी निवेदकउपर लगाइएको आरोपको तुलनामा निजलाई नोकरीबाट बर्खास्त गर्ने गरी भएको सजाय चर्को पर्न गएकोले नोकरीबाट हटाउने गरी भएको निर्णय पर्चा बदर गरी पुनः पद बहाली गरिपाउँ भनी र विपक्षीका तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री सूर्यराज दाहालले सशस्त्र प्रहरी जस्तो कडा अनुशासनमा बस्नुपर्ने प्रहरी कर्मचारीले प्रहरी अनुशासनविपरीत मादक पदार्थ सेवन गरी घटनासमेत घटाएको अवस्थामा निजउपर गरिएको कारवाही कानूनसम्मत रहेको हुँदा रिट निवेदन खारेज गरिपाउँ भनी गर्नुभएको बहस सुनी निवेदन मागबमोजिमको आदेश जारी हुन पर्ने नपर्ने के रहेछ निर्णय दिनुपर्ने देखियो ।
२. यसमा के कसको आदेशले कार्यालय छाडी बाहिर जानुभएको हो समयसमयमा भएको परिपत्र एवम् देशहरूको बेवास्ता गरी मादक पदार्थ सेवन गरी हिड्नुको कारण के हो अनुशासनहीन काम गरेकोले सशस्त्र प्रहरी निमयावली, २०६० बमोजिम कारवाही किन नगर्नु भनी विपक्षी सशस्त्र प्रहरी बल प्रधान कार्यालयले निवेदकसँग २०६७।१।२२ को पत्रद्वारा स्पष्टीकरण माग गरेको देखियो । स.प्र.स.नि. संगम के.सी. ले बोलाएबमोजिम आफू पाँचधारा स्थित होटलमा गै निजले धेरै कर गरेको कारण दिनभरिको थकाई मेट्नको लागि थोरै मादक पदार्थ सेवन गरेको र अनुशासित तवरबाट बसी फर्केको भनी निवेदकले स्पष्टिकरण पेस गरेको देखिन्छ । सुत्न लाग्दा साथी संगम के.सी.को मोटर साइकल दुर्घटना भएको खबर आएपछि आफूले त्यसबारे बुझ्नको लागि केही समय बाहिर गै पुनः कार्यालय फर्केको कुरा पनि उक्त स्पष्टीकरणमा उल्लेख भै आफ्नो क्रियाको लागि निवेदकले माफी मागेको पाइन्छ । विपक्षी प्रधान कार्यालयले २०६७।१।२४ मा निवेदकसँग निजको स्पष्टीकरण सन्तोषजनक नभएको भनी दोस्रो स्पष्टीकरण माग गरेको र त्यसको जवाफ निवेदकले पहिलो स्पष्टीकरणबमोजिम नै दिएको देखिन्छ ।
३. उक्त कसुरमा निवेदकलाई सशस्त्र प्रहरी बल नियमावली, २०६० को परिच्छेद १० को नियम ८७(१)(ग), (घ), (ङ) र (ज) को कसुरमा नियम ८४(ख)(१) बमोजिम सरकारी नोकरीको निमित्त सामान्यतः अयोग्य नठहरिने गरी नोकरीबाट हटाउने निर्णय भएको पाइन्छ ।
४. यस सम्बन्धमा ने.का.प. २०७० फागुनको पृष्ठ १३१९ मा प्रकाशित नि.नं. ९०७२ को रिट आदेशको तथ्य र प्रस्तुत मुद्दाको तथ्यमा धेरै समानता रहेको देखिन्छ । अझ उक्त नजिरमा त आफूभन्दा माथिका कर्मचारीलाई गालीगलौज तथा हातपात गरेको कुरा रहेकोमा यस मुद्दामा त्यस्ता कुनै कुरा नभई सिर्फ परिपत्र र आदेशविपरीत उर्दीको पोसाक लगाई बाहिर गई मादक पदार्थसमेत सेवन गरेको भन्ने आरोप रहेको छ। आफू उर्दीको पोसाक लगाई बाहिर नगएको र साथीको बारम्बारको करले गर्दा थकान मेट्नसमेतको लागि नाममात्रको मादक पदार्थ सेवन गरेको भन्ने निवेदकको जिकिर देखिन्छ। तत्काल खडा भएको २०६७।१।२२ को बंगलामुखी विशेष कार्यदलको पत्रमा उर्दीमा मादक पदार्थ सेवन गरेको भन्ने कुनै कुरा रहेको देखिँदैन । यी निवेदकले सेवन गरेको मादक पदार्थको स्तर के कति रहेको र त्यसबाट
निवेदक प्रभावित भए नभएको सो कुरा पनि मिसिलबाट खुल्दैन । सिभिल पोसाक लगाएर बाहिर गएको भन्ने निवेदकको जिकिर देखिन्छ । मादक पदार्थको सेवनबाट हुनसक्ने हो-हल्ला गाली गलौज अथवा अन्य अशोभनीय क्रियाकलाप यी निवेदकबाट भएको भन्ने पनि देखिँदैन ।
५. माथि उल्लिखित नि.नं. ९०७२ को नजिरमा हेर्दा सोको प्रकरण ७ यी निवेदक रामकुमार रणपहेलीलाई सशस्त्र प्रहरी नियमावली, २०६० को नियम ८७ को उपनियम (१) को देहाय (ग), (घ), (ङ) र (ज) को कसुर गरेको भन्ने अभियोगमा नियम ८४ को देहाय (ख)(१) बमोजिम सजाय गरिएको हुँदा उक्त नियमावलीको व्यवस्था यहाँ उल्लेख गर्नु सान्दर्भिक हुन आउँछ ।
८४. सजाय: उचित र पर्याप्त कारण भएमा सशस्त्र प्रहरीलाई देहायबमोजिम विभागीय सजाय गर्न सकिनेछः-
(क) सामान्य सजाय
१. शारीरिक थकाई (फटिक) सजाय गर्ने वा गारद नजरबन्द राख्ने,
२. नसिहत दिने,
३. बढीमा दुई वर्ष तलब वृद्धि रोक्का गर्ने,
४. बढीमा पाँच वर्षसम्म बढुवा रोक्का गर्ने,
५. तल्लो पद वा तल्लो टाइमस्केल वा त्यही टाइमस्केलको तल्लो स्केलमा घटुवा गर्ने,
६. लापरवाही वा नियम आदेशको पालना नगर्नाले नेपाल सरकारलाई हुन गएको हानि नोक्सानी सम्पूर्ण वा आंशिकरूपमा असूल गर्ने ।
(ख) विशेष सजाय
१. भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने,
२. भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गर्ने ।
सशस्त्र प्रहरी नियमावली, २०६० को नियम ८७ को उपनियम (१) अनुसार देहायको कुनै अवस्थामा सशस्त्र प्रहरीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने सकिने छः
(३) आचरणसम्बन्धी कुनै बराबर उल्लङ्घन गरेमा,
(४) कार्यालयको समयमा वा कार्यालयको समय अघिपछि पनि उर्दीको पोसाक लगाई कुनै मादक पदार्थ सेवन गरेमा,
(५) बारम्बार अनुशासनहीन काम गरेमा,
(६) आफ्नो पदको जिम्मेवारी बराबर बेवास्ता गरेमा ।
६. यी रिट निवेदकलाई सशस्त्र प्रहरी नियमावली, २०६० को नियम ८४ को खण्ड (ख)(१) बमोजिम भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने गरी विशेष सजाय गरेको देखिन्छ । सशस्त्र प्रहरी नियमावली, २०६० को नियम ८७(१) को (ग), (ङ) र (ज) ले सजाय हुनका लागि निर्धारित गरेको कसुरजन्य क्रिया पटकपटक वा बारम्बार गरेको भन्ने देखिएकोसमेत छैन । साथै देहाय (घ) बमोजिमको अवस्था देखिएको पनि छैन ।
७. कुनै कसुरजन्य कार्य एक पटक गर्नु र बारम्बार वा पटकपटक गर्नुमा तात्विक फरक
हुन्छ । दुबै अवस्थामा रहेको भिन्नतालाई दृष्टिगत गर्दै उक्त नियमको (ग), (ङ) र (ज) ले “बराबर” वा “बारम्बार” भन्ने शब्दको प्रयोग गरेको छ । खण्ड (घ) ले बारम्बार वा बराबर भन्ने शब्दको प्रयोग नगरे पनि “उर्दीको पोसाक लगाई कुनै मादक पदार्थ सेवन गरेमा” भन्ने शब्दावली प्रयोग गरेको छ । तर यी रिट निवेदकउपर उर्दीकै पोसाक लगाई मादक पदार्थ सेवन गरेको भन्ने आरोप लगाइएको छैन । कुनै कानूनको दफा वा उपदफा वा देहायको उल्लेख मात्र गरिनु हुँदैन । त्यसमा उल्लिखित अवस्थाको पनि पुष्टि हुनुपर्दछ । नियमावलीको नियम ८४ को खण्ड(क) र (ख) को व्यवस्थामध्ये कुन सजाय गर्ने भन्ने कुरा अपराध वा कसुरको मात्रा अनुसार हुनुपर्दछ । सजायको निर्धारण गर्दा जहिले पनि निर्णयकर्ताले कसुरको प्रकृति र मात्रासँग सामञ्जस्यता कायम हुने किसिमले न्यायिक मनको प्रयोग गर्नुपर्दछ ।
८. सशस्त्र प्रहरी नियमावली, २०६० को नियम ८७(१) को खण्ड (ग), (ङ) र (ज) अन्तर्गतका अन्य कसुर गरेको वा खण्ड (घ) अन्तर्गत ड्युटीको समयमा बारम्बार रक्सी सेवन गरेको भन्ने आरोप निवेदकउपर लगाइएको छैन । यसका साथै यी निवेदकलाई यसअघि सचेतसम्म गराएको भन्ने कारवाहीसम्बन्धी फायलबाट देखिँदैन । पहिलो पटक यी निवेदकले आफू कार्यरत कार्यालयबाट साथीसँग बाहिर गई मादक पदार्थ सेवन गरी राति आएकोसम्म देखिन्छ । यी निवेदकले उर्दीको पोसाक लगाई मादक पदार्थ सेवन गरेको भन्ने देखिँदैन । साथै गेट डिउटीमा रहेका स.प्र.ना.नि. झपटबहादुर वि.क. लाई जोरजुलुम गरी हातपात गरेको भन्ने निज झपटबहादुर वि.क. को निवेदनबाट पनि देखिन आउँदैन ।
९. कारवाहीको फायलबाट गम्भीर कसुर गरेको वा सामान्य कसुर गरेकोमा
पहिला सचेत गराउँदागराउँदै बारम्बार सो सामान्य कसुर दोहोर्याएर गरेको भन्ने नदेखिए पनि यी निवेदकलाई सामान्य सजाय नगरी एकैपटक विशेष सजाय गरिएको देखिन्छ । विशेष सजाय गम्भीर प्रकृतिको सजाय हो । कर्मचारीलाई गम्भीर सजाय गर्दा गम्भीर प्रकृतिको कसुर गरेको वा सामान्य प्रकृतिको कसुर पटकपटक गरेको र सो गरेकोमा कारवाहीमा परी सचेत गराउँदागराउँदै पनि अटेर गरी बारम्बार गलत प्रवृत्तिलाई अपनाएका कर्मचारीलाई दिइने सजाय हो सामान्य गल्ती गरेपछि सो सम्बन्धमा स्पष्टीकरण सोधिँदा क्षमायाचना गरी पुनः गलत प्रवृत्ति नअपनाउने भनी गल्ती महसुस गरेको अवस्थामा पनि विशेष सजायसम्बन्धी कानूनी व्यवस्थालाई अनुसरण गरी नोकरीबाट हटाउने जस्तो कठोर सजाय गर्नु कानून र न्यायको रोहमा समेत मिल्ने देखिँदैन ।
१०. सशस्त्र प्रहरी जस्तो अनुशासनको विशेष अपेक्षा गरिने सेवाका कर्मचारीले
उपल्लो अधिकृतको अनुमतिबिना लाइन ब्यारेक छाडी बाहिर गई रक्सी सेवन गर्नु तथा मूल गेटमा डिउटीमा रहेका उपल्लो दर्जाको सहकर्मीलाई दुर्व्यवहार गर्नु निश्चय नै क्षम्य कार्य होइन । तर यो कसुरमा जागीरबाटै अवकाश दिने निर्णयमा कसुर र सजायको तालमेल कानूनबमोजिम भयो वा भएन भन्ने कुरा नै यस विवादको विचारणीय पक्ष हो ।
११. यी निवेदकले लाइन ब्यारेक छाडी बाहिर गई पहिलो पटक रक्सी सेवन गरी
ब्यारेक फर्कने क्रममा मूल गेटमा डिउटीमा रहेका उपल्लो दर्जाका सहकर्मीलाई दुर्व्यवहार गरेको कसुरमा नोकरीबाट हटाउने सम्मको गम्भीर र विशेष सजाय नै गर्ने हो भने नियमले निर्धारण गरेको शारीरिक थकाई (फटिक) सजाय गर्ने वा गारद नजरबन्द राख्ने, नसिहत दिने, बढीमा दुई वर्ष तलब वृद्धि रोक्का गर्ने, बढीमा पाँच वर्षसम्म बढुवा रोक्का गर्ने, तल्लो पद वा तल्लो टाइमस्केल वा त्यही टाइमस्केलको तल्लो स्केलमा घटुवा गर्ने जस्तो सामान्य सजायको अस्तित्वको औचित्य नै समाप्त भएर जान्छ ।
१२. प्रहरी कर्मचारीको सेवा अन्य सरकारी कर्मचारीको सेवा जस्तो हुँदैन । सुरक्षासँग जोडिएको, हरहमेशा कर्तव्यपथमा रहने र देशको शान्ति सुरक्षाप्रति जिम्मेवार प्रहरी सेवामा लापरवाही र अनुशासनहीनताको अवस्था निश्चितरूपले उचित होइन । तर कर्मचारीले जानी वा नजानी पहिलो पटक सामान्य अनुशासनहीन कार्य गरेकोछ र पहिलो पटकको अनुशासनात्मक कारवाहीमा आफूले पुनः गल्ती नगर्ने भनी प्रतिबद्धता व्यक्त गर्दछ र यस्ता कार्य पटकपटक गरेको पनि देखिँदैन भने कानूनबमोजिम अनुशासनात्मक कारवाहीलाई अपनाई कसुरको प्रकृति हेरी सामान्य सजायसम्म गर्न सकिन्छ । यही नै सजायको सुधारात्मक सिद्धान्तको व्यवस्था र कानूनको उद्देश्य हो । सजाय दिनु भनेको बदला लिनु
होइन । त्यसैले सजायको निर्धारणमा न्यायिक मनको प्रयोग हुनैपर्दछ । यो न्यायिक मनको परिधि कानूनले नै निर्धारित गरिदिएको अवस्थामा सो परिधिबाहिर गरिने निर्णय त्रुटिपूर्ण नै हुन्छ । बारम्बार वा बराबर वा पटकपटक कसुर गर्दा मात्र हुने सजाय एक भन्दा बढी पटक गरेको स्थापित नभई गर्न सकिँदैन ।
१३. यसरी यी निवेदकले पहिलोपटक अनुशासनहीन कार्य गरेको भन्ने देखिएको अवस्थामा सशस्त्र प्रहरी नियमावली, २०६० को नियम ८४ (क) बमोजिम सामान्य सजायसम्म गर्न सकिनेमा नियम ८४ (ख) बमोजिम विशेष सजायअन्तर्गत भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने गरी भएको निर्णय कानूनको उद्देश्यविपरीत पूर्वाग्रहपूर्ण देखिन्छ । अतः यी निवेदकले पटकपटक सो कसुर गरेको स्थापित नभएको अवस्थामा सशस्त्र प्रहरी नियमावली, २०६० को नियम ८४ देहाय (क) बमोजिम सामान्य सजाय गर्नु नै कानूनसम्मत र विवेकपूर्ण हुने देखिन्छ ।
१४. तसर्थ उल्लिखित आधार कारणसमेतबाट यी निवेदक रामकुमार रणपहेलीलाई प्रहरी नियमावली, २०६० को नियम ८७(१) को देहाय (ग), (घ), (ङ) र (ज) को कसुर गरेको भनी सोही नियमावलीको नियम ८४ को देहाय (ख) को खण्ड (१) बमोजिम भविष्यमा सरकारी सेवको निमित्त अयोग्य नठहरिने गरी मिति २०६५।५।१० बाट लागू हुने गरी नोकरीबाट हटाउने गरी सशस्त्र प्रहरी बल त्रिपूरागण कोहलपुरका गणपतिबाट भएको मिति २०६५।५।१० को निर्णय र सो निर्णयलाई सदर गर्ने गरेको मध्यपश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय महेश्वरी वाहिनी, सुर्खेतका सशस्त्र प्रहरी नायब महानिरीक्षकबाट मिति २०६५।६।३ मा भएको निर्णय त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर गरी यी निवेदकको हकमा सो सजाय बाहेक सशस्त्र प्रहरी नियमावली, २०६० को नियम ८४ को खण्ड (क) मा उल्लिखित अन्य उपयुक्त सजाय गरी निजलाई पूर्ववत सेवामा बहाल गर्नु भनी विपक्षीहरूको नाममा परमादेशको आदेशसमेत जारी हुने ठहराएको यस अदालतको संयुक्त इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारीको राय मनासिब देखिँदा सदर हुने ठहर्छ भन्ने सिद्धान्त कायम भै आदेश भएको देखिन्छ ।
१५. यसरी प्रस्तुत विषयवस्तु अनुरूपकै नि.नं.९०७२ को आदेश भएको रिट निवेदनमा संयुक्त इजलासमा राय बाझिएको भै पूर्ण इजलासमा पेस भै एक निश्चित कानून बनिसकेको र सो सिद्धान्त न्यायोचितसमेत रहेकोले निवेदकको हकमा उक्त सिद्धान्त अनुसरण गर्नु नपर्ने कुनै कारण देखिँदैन । निवेदकले उर्दीको पोसाकमा मादक पदार्थ सेवन गरेको र सचेत गराउँदा पनि आचरणसम्बन्धी नियम बारम्बार उल्लङ्घन गरेको स्थिति नरहेको र गल्ती सुधार्न प्रतिबद्धसमेत रहेको स्थितिमा सिभिल पोसाकमा न्यून मात्राको मदिरा सेवनको सामान्य अवस्थामा निवेदकलाई सशस्त्र प्रहरी नियमावली, २०६० को नियम ८४(ख) १ बमोजिम भविष्यमा सरकारी नोकरीको निमित्त सामान्यतः अयोग्य नठहरिने गरी नोकरीबाट हटाएको निर्णय निवेदकको कसुरको मात्रा भन्दा चर्को देखिन आएकोले विपक्षी सशस्त्र प्रहरी बल प्रधान कार्यालयको प्रहरी नायब महानिरीक्षकको मिति २०६७।१।२९ र त्यसलाई सदर गरेको ऐ. कार्यालयको प्रहरी महानिरीक्षकको मिति २०६७।५।२९ को निर्णयसमेत उत्प्रेषणको आदेशद्वारा बदर भै सशस्त्र प्रहरी नियमावली, २०६० को नियम ८४ को खण्ड (क) मा उल्लिखित अन्य उपयुक्त सजाय गरी निजलाई पूर्ववत सेवा बहाल गर्नु भनी विपक्षीहरूको नाममा परमादेशको आदेश जारी हुने ठहर्छ । यसको जानकारी निवेदक तथा विपक्षीसमेतलाई दिई दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या. जगदीश शर्मा पौडेल
इति संवत् २०७१ साल असोज ३० गते रोज ५ शुभम् ।
इजलास अधिकृत : बसन्तजंग थापा