निर्णय नं. ८०१४ - जीउ मास्नेबेच्ने ।

निर्णय नं.८०१४ ने.का.प. २०६५ अङ्क ९
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ
माननीय न्यायाधीश श्री खिलराज रेग्मी
सम्बत २०५९ सालको फौ.पु.नं...........३३२४
आदेश मितिः २०६५।३।३१
मुद्दा : जीउ मास्नेबेच्ने ।
पुनरावेदक वादीः क कुमारी र ख देवीको जाहेरीले नेपाल सरकार
विरुद्ध
प्रत्यर्थी प्रतिवादीः जिल्ला कपिलबस्तु, कपिलबस्तु नगरपालिका वडा नं. ५ ठूलो वर्गदुवा बस्ने पारसनाथ पाठक समेत
शुरु फैसला गर्नेः
मा.जि.न्या.श्री हेमराज पन्त
पुनरावेदन फैसला गर्नेः
मा.न्या. श्री रामजीप्रसाद त्रिपाठी
मा.न्या. श्री विनोदप्रसाद ढुंगेल
§ सरकारबादी हुने फौजदारी मुद्दामा वारदात वा कसूरको विषयमा कसै उपर पोल गरी दरखास्त वा निवेदन मुद्दा हेर्ने अड्डा समक्ष पठाउन सकिने र त्यसमा सनाखत गराई थप प्रमाण समेत खुलाउन लगाई आरोपित व्यक्तिलाई पक्री कारबाही गर्न सकिने सम्मको व्यवस्था रहेको तर त्यस्तो निवेदनले एकपटक अभियोग पत्र दायर भैसकेको मुद्दाको आरोपित व्यक्तिले सफाई पाउन प्रमाणको स्थान ग्रहण गर्न नसक्ने ।
(प्रकरण नं.८)
§ सरकारवादी फौजदारी मुद्दामा मुद्दा हेर्ने सम्बन्धित अड्डाको आदेश विना अभियोग पत्र वा प्रतिवादीको बयानमा उल्लेख नभएका साक्षी वा प्रमाणहरु जुनसुकै अवस्थामा ग्राह्य हुने वा त्यसरी पेश भएका प्रमाणहरुले प्रामाणिक महत्व राख्न नसक्ने ।
(प्रकरण नं.९)
§ अ.ब ७७(१) तथा ९० नं. को प्रकृति एवं परिधिभित्र नपर्ने निवेदन तथा सोलाई सनाखत गरी दिएको भनिएको बयान प्रमाण लाग्न सक्ने कानूनी आधार प्रष्ट हुन नसकेको अवस्थामा त्यसैलाई अकाट्य प्रमाण मानी अभियोग दावीबाट सफाई दिन नमिल्ने ।
(प्रकरण नं.१०)
पुनरावेदक वादी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता शरदकुमार खड्का
प्रत्यर्थी प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ताद्वय श्री नरेन्द्रकुमार के.सी. र दीपककुमार गुप्ता
अवलम्वित नजीरः
फैसला
न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत, दाङ्ग, तुलसीपुरको मिति २०५८।८।२० को फैसला उपर वादी नेपाल सरकारको तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा पुनरावेदन दर्ता भएको प्रस्तुत मुद्दाको तथ्य र निर्णय यसप्रकार छ :-
पारसनाथ पाठक, हास्बुन निसा र कल्पना यादव समेतले क कुमारी र ख देवीलाई बेचविखन गरी कृष्णनगरतर्फ लैजान लागेको अवस्थामा शंका लागी आवश्यक कारवाहीको लागि पठाएको छ भन्ने ई.प्र.का चनौटाको पत्र ।
कल्पना यादव, पारसनाथ पाठक, हास्बुन निसा, रुद्र नारायण पाण्डे र जगदम्बा मिश्रले हामी जाहेरवालीलाई फकाई फुलाई प्रलोभनमा पारी घुम्न जाऊँ भनी विक्री गर्ने उद्देश्यले चनौटा पु¥याउँदा प्रहरीले सोधपुछ गरी हामीहरुलाई बिक्री गर्ने जानकारी पाएकोले अभियुक्तहरुलाई कानून बमोजिम कारवाही गरिपाऊँ भन्ने व्यहोराको क कुमारी र ख देवी समेतको संयुक्त जाहेरी दरखास्त ।
प्र.पारसनाथ पाठक, हास्बुन निसा अन्सारी, कल्पना यादव, जगदम्बा मिश्र र रुद्र नारायण पाण्डेले हामी जाहेरवालीलाई फकाई घुम्न जाऊँ भनी चनौटामा लगी प्रहरीले पक्राउ गर्न लाग्दा जगदम्बा मिश्र र रुद्र नारायण पाण्डे २ जना सो ठाउँबाट भागी गएका हुन् भन्ने जाहेरवाली क कुमारी र ख देवीले जि.प्र.का दाङ्गमा गरेको एकै मिलानको बयान ।
जगदम्बा मिश्र, हास्बुन निसा अन्सारी,रुद्र नारायण पाण्डे र म समेत भै तुल्सीपुरमा आई ख देवीलाई मैले लिने निर्णय भयो । ख देवीलाई फकाए बापत कल्पनालाई रु.१०००।– दिने, हास्बुन निसालाई छोरीको विवाहमा सहयोग गरौला भनेको थिएँ । हास्बुन निसालाई भा रु.१००।– र ने.रु १०।– समेत दिई सकेको थिएँ । अन्य कसैलाई केही दिएको छैन भन्ने समेत पारसनाथ पाठकले जि.प्र.का.दाङ्गमा गरेको बयान ।
पहिला दाङ्ग बस्दा तुल्सीपुरका केही मानिससँग चिनजान भएको थियो । प्र. पारसनाथ पाठकले मेरो छोरीको विवाहमा सहयोग गरौंला भनेको र जगदम्बा समेत परिचित व्यक्तिको प्रलोभनमा परी पीडित २ जनालाई फकाई वारदात घटाएका हौं । पारसनाथ पाठकबाट रु.१००।– भारु र ने.रु.१०।– लिई सकेको हुँ भन्ने प्र.हास्बुन निसा अन्सारीले जिल्ला प्रहरी कार्यालय, दाङ्गमा गरेको बयान ।
मेरो प्र.जगदम्बा मिश्रसँग परिचय भएको र हास्बुन निसा अन्सारीले मलाई तुल्सीपुर फोन गरी कुरा गरेको हुँदा २०५४।१।१४ गते निजहरु तुल्सीपुरमा आई पीडितहरुलाई फकाई घुम्न जाउँ भनी मिति २०५४।१२।१५ गते तुल्सीपुरबाट लगी चनौटामा पुग्दा जगदम्बा मिश्र र रुद्र नारायण पाण्डे भाग्न सफल भए । अन्य म समेतलाई पक्राउ गरी पठाएका हुन् । उक्त काम गरी दिए वापत पारसनाथ पाठकले रु.१०,०००।– दिउँला भनेका थिए भन्ने प्र.कल्पना यादवले जि.प्र.का.दाङ्गमा गरेको बयान ।
कल्पना मेरी बहिनी हुन् । निज जीउ मास्नेबेच्ने मुद्दामा पक्राउ परेकी छिन भन्ने सुनी थाहा पाएकी हुँ भन्ने मिना नेपालीले जिल्ला प्रहरी कार्यालय, दाङ्गमा गरेका ठाडो कागज ।
पीडित क कुमारी, प्र.कल्पना, झग्गु नेपाली, ओविराम नेपाली मेरो होटलमा आई चिउरा मासु खाई सो रुपैयाँ झग्गु नेपालीले तिर्छु भनी गएका हुन् । पछि कल्पना, हास्बुन निसा अन्सारी मिलेर देशीसँग विक्री गर्न चनौटासम्म लगेका रहेछन् भनी बताएका हुन् भनी मैसरी छन्तेल र कमल खनालले जिल्ला प्रहरी कार्यालयमा गरेको कागज ।
जाहेरवालाहरुलाई बिक्री गर्ने भन्ने सम्बन्धमा मलाई जानकारी छैन भन्ने ओविराम नेपालीले जिल्ला प्रहरी कार्यालय, दाङ्गमा गरेको बयान ।
मिति २०५४।१२।१४ गते बसपार्कमा मेला हेर्न भनी ओविराम र म जादाँ साली नाता पर्ने कल्पना यादवसँग भेट भै होटलमा बसी मासु चिउँरा खाएका हौं । कल्पनाले जनप्रिय होटलमा बोलाएकाले वियर खाई उक्त पैसा मैले दिउँला भनी भनेको हुँ । मैले नचिनेको देसी बगालहरु समेत थिए भन्ने प्र.झग्गुप्रसाद नेपालीले जिल्ला प्रहरी कार्यालय, दाङ्गमा गरेको बयान ।
जनप्रिय होटलमा काम गरी रहेको अवस्थामा २०५४।१२।१४ गते बेलुकी झग्गु नेपाली र ओविराम नेपाली,कल्पना लगायतका व्यक्तिहरु पनि आए । सबै कोठामा आएपछि बसी वियर मासु तथा चिसो लगी दिएँ । पीडितहरुलाई कल्पना यादव समेतले विक्री गर्ने उद्देश्यले चनौटामा पु¥याएको भन्ने कुरा सुनेको हुँ भन्ने लुमाकान्त आचार्यले जिल्ला प्रहरी कार्यालय, दाङ्गमा गरेको बयान ।
जाहेरवालीहरुलाई कल्पना यादव समेतका व्यक्तिहरुले विक्री गर्ने उद्देश्यले लगेको भन्ने कुरा सुनि थाहा पाएका हौं भन्ने समेत व्यहोराको एकै मिलानको सिता डांगी समेतले जिल्ला प्रहरी कार्यालय, दाङ्गमा गरेको ठाडो कागज ।
पारसनाथ पाठकले ख देवीलाई आफूले बिक्री गर्न पाएमा रु.१०,०००।– कल्पनालाई दिने र हास्बुन निसालाई रु.१००।– भारु, ने.रु.१०।– दिई छोरीको विवाहमा सुन सहयोग गर्ने भन्ने बचन दिएको र क कुमारीलाई जगदम्बा मिश्र मार्फत् पाण्डेसँग बढेया पठाउने सल्लाह भएको थियो । भोलिपल्ट चनौटामा प्रहरीले पक्राउ गर्दा जाहेरवालीलाई आफूले लगाउन दिएका कपडाहरु समेत सनाखत गरी बयान गरेको, अनुसन्धानमा बुझिएको व्यक्तिहरुले पनि कल्पना, पारसनाथ, हास्बुन, जगदम्बा मिश्र समेतले जाहेरवालीलाई विक्री गरेको भनी कागज गरिदिएको समेत आधारमा पारसनाथ पाठक,हास्बुन निसा अन्सारी, कल्पना यादव, रुद्र नारायण पाण्डे, जगदम्बा मिश्र समेत जना ५ ले जीउ मास्नेबेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४(क) बमोजिमको कसूर गरेकोले सोही ऐनको दफा ८(१) बमोजिम सजाय गरिपाऊँ र ओविराम नेपाली, झग्गु नेपालीको हकमा निजहरुलाई विक्री गर्ने क्रममा रकम लिए दिएको सर्त रहेको भन्ने नदेखिएतापनि मिसिल संलग्न प्रमाणबाट प्र.ओविराम नेपाली र झग्गुप्रसाद नेपालीले कसूरमा सहयोग र प्रोत्साहन गरी संपठित ऐनको दफा ४(घ) को कसूर गरेको सिद्ध हुदाँ सोही ऐनको दफा ८(४) बमोजिम सजाय भै फरार प्र. हरुलाई अदालतबाट वारेन्ट जारी गरिपाऊँ भन्ने अभियोग पत्र ।
मिति २०५४।१२।१४ गते तुल्सीपुरबाट कृष्णनगर जाने बसमा चढी चनौटा पुगेपछि अरुलाई बसमा छाडेर म कपिलबस्तु जाने बसको प्रतिक्षामा चनौटामा बसेको थिएँ । बस भित्र जाहेरवाली केटीहरुको कुन नचिनेको व्यक्तिसँग मनाभन भएको थियो । बसवालाले भाडा दिएनन् भनी प्रहरीलाई खबर गरेपछि ती केटीहरुले म समेतलाई सँगै थियो भनी भनेपछि प्रहरीले मलाई पनि पक्राउ गरी चनौटामा राखी म, क कुमारी, ख देवी, कल्पना, १ जना बुढी मुसलमानीलाई पक्राउ गरी भोलिपल्ट १५ गते घोराहीमा चलान गरेका हुन् । चनौटाका प्रहरीले क कुमारी र ख देवीलाई पिटे । कल्पनाले कृष्णनगर कमाउन जान लागेका हौं भनी दिईन् । त्यसपछि क कुमारी र ख देवीले रिस उठाई हामी ३ जनालाई बेच्न लग्न लागेका छन् भनी प्रहरीलाई भनी दिएर जाहेरी दरखास्त समेत लेखी दिएका हुन् । अरु कुरा झुठा हुन् भन्ने पारशनाथ पाठकले अदालतमा गरेको बयान ।
म नयाँ बसपार्क गई फर्कंदै गरेको अवस्थामा कल्पनालाई जनप्रिय होटलमा भेटे । कल्पनालाई कहाँ जान लागेकी हौ भनेपछि कल्पनाले कृष्णनगर तर्फ जाँदैछु भनिन् । उक्त जनप्रिय होटलमा ओविराम नेपालीसँग बसी नास्ता खायौं । कल्पनासँग एक जना अपरिचित केटी थिईन् । नास्ता गरिसकेपछि म तुरुन्त डेरा भएको छात्रावासतर्फ गएँ । अरु कुरा मलाई केही थाहा छैन । अभियोग माग दावी बमोजिम सजाय पाउँनुपर्ने होईन भन्ने झग्गुप्रसाद नेपालीले अदालतमा गरेको बयान ।
२०५४।१२।१३ गते जाहेरवालीहरुसँग बसपार्कमा भेट भयो । जनप्रिय होटलमा बसेर मासु चिउरा वियर खायौं । त्यसपछि जाहेरवाली केटीहरु पनि कृष्णनगर जान्छौं भने । भोलिपल्ट २०५४।१२।१४ गते ११ बजेको गाडीमा कृष्णनगर तर्फ ४ जना लाग्यौं । चनौटा पुगेपछि म र हास्बुन बढेया जानलाई गाडी खोज्दै थियौं । क कुमारी र ख देवीले भाडा नदिएका कारण बसवालासँग झगडा भयो । सोही झगडाको कारण प्रहरीले पक्राउ गरी के भएको भनी सोध्दा मेरो सामुमा घुम्न आएको भने । प्रहरीले एकान्त लगेपछि फर्की आएर ती केटीहरुले हामीलाई यिनीहरुले बेच्न लग्दै छन् भने । त्यसपछि प्रहरीले म लगायतका व्यक्तिहरुलाई पक्राउ गरेको हो । मैले जाहेरवालीहरुलाई विक्री गर्ने मनसायले फकाई लगेको होईन । त्यसकारण अभियोग मागदावीबाट सफाई पाऊँ भन्ने समेत व्यहोराको कल्पना यादवले अदालतमा गरेको बयान ।
२०५४।१२।१४ गतेका दिन काम विशेषले तुल्सीपुर गएको अवस्थामा झग्गुप्रसाद र कल्पनासँग भेट भएको र जनप्रिय होटलमा नास्ता खायौं । अन्य प्रतिवादी तथा जाहेरवालीहरुलाई मैले देखिन । निज जाहेरवालीहरुलाई विक्री गर्ने कार्यमा मेरो कुनै सहमति छैन भन्ने समेत व्यहोराको ओविराम नेपाली, हास्वुन निसा, रुद्र नारायण पाण्डे,जगदम्बा मिश्रले अदालतमा गरेको एकै मिलानको अलग, अलग बयान ।
जाहेरवाली क कुमारी र ख देवीलाई को कसले विक्री वितरण गर्न लगको हो, मलाई थाहा छैन । जाहेरवालीले भनेको दिन समयमा प्र.पारसनाथ पाठक मसँग साथै चनौटामा थिए । पारसनाथ पाठक जाहेरवालीहरुलाई विक्री गर्ने कार्यमा संलग्न छैनन भन्ने पारसनाथको साक्षी रुद्रप्रसाद शाहले अदालतमा गरेको बकपत्र ।
२०५४।१२।१४ गते म आफ्नौ घरमा छु । प्र.जगदम्वा आफ्नै खेतमा मसुरो काटी रहेको थियो । अभियोग दावी झुठा हो । क कुमारी र ख देवीलाई जगदम्बाले विक्री गर्ने कार्य गरेको होईनन् भन्ने समेत व्यहोराको जगदम्बा मिश्रको साक्षी मदन गोपाल कुर्मीले अदालतमा गरेको बकपत्र ।
प्र.रुद्र नारायाण पाण्डे स्कुलमा मास्टर मान्छे हुन् । केटी बेचविखन गर्ने मानिस नभै असल मानिस हुन् भन्ने रुद्रनारायण पाण्डेको साक्षी अमिन मुसलमानले अदालतमा गरेको बकपत्र।
चेलीबेटी बेच्न लगेकोले २०५४।१२।१७ गते जि.प्र.का.ले पक्राउ गरको भन्ने सुनेको हुँ । अन्य प्र.हरुलाई चिनेको छैन । कन्टेक्टरले बसको भाडा माग्न आउँदा जाहेरवालीले कल्पनालाई देउ भनेपछि कल्पनाले भाडा नदिई विवाद भएको कारणले जाहेरी दिएको हुनु पर्छ । कल्पना यादवले केटी बेच विखन गर्न लगेको होईन भन्ने कल्पनाको साक्षी जनक वि.क.ले अदालतमा गरकेो बकपत्र ।
जाहेरी दरखास्त पूर्ण रुपले झुठा हो । जाहेरवालीहरु र कल्पनाबीच बस भाडा तिर्ने बेला कल्पनाले नतिरी दिएको कारण बादविवाद भयो । सोही कारणले जाहेरी दिएको होलिन् । झग्गुको केटी बेच्ने कार्यमा कुनै सहमति छैन भन्ने झग्गुप्रसाद नेपालीको साक्षी हिमु नेपाली र पिमा नेपालीले अदालतमा गरेको एकै मिलानको बकपत्र ।
जाहेरवाला र कल्पना यादवबीच बस भाडामा बाद विवाद परी सोही रिसईविको कारण कल्पना यादव लगायत ओविराम समेत उपर केटी बेचविखनको जाहेरी परेको हो । ओविराम नेपाली जीउ मास्नेबेच्ने कुरामा संलग्न छैनन् भन्ने समेत व्यहोराको ओविरामको साक्षी गोपाल नेपालीले अदालतमा गरको बकपत्र ।
अभियोग दावीमा प्रतिवादीहरुले जाहेरवालीहरुलाई विक्री गरेको भनी दावी लिए पनि प्रतिवादीहरु तथा जाहेरवाली जाँदै गरेको अवस्थामा चनौटामा पक्राउ परेको कुरा इ. प्र.का चनौटाबाट यी प्रतिवादीहरु समतेलाई अड्डा सार गरी ल्याएको मिसिलबाट देखिंदा विक्री गरी सकेको देखिन आएन । पीडितहरुलाई घरमा पुर्याएपछि पैसा दिने योजना थियो भनी प्र.पारसनाथले बयान गरेको देखिंदा केही लिनु दिनु गर्ने कारोबार भै सकेको देखिएन । कारोवार भै नसकेको भएपनि पीडित नावालक भएको र निजहरुलाई संरक्षकको अनुमतिविना विक्री गर्न लैजाने उद्देश्यबाट दाङ्गको तुल्सीपुरबाट चनौटासम्म लैजाँदै गरेको अवस्थामा पक्राउ भएको कारणबाट पीडित क कुमारी र ख देवीलाई प्रतिवादीहरुले विक्री गर्न नपाएको अवस्था देखिंदा अभियोग माग दावी बमोजिम यी प्रतिवादीले जीउ मास्नेबेच्ने कार्य (नियन्त्रण) ऐन २०४३ को दफा ४ (क) ले वर्णित कसूर गरेको नभई संपठित ऐनको दफा ४(घ) बमोजिको कसूर गरेको देखिन आएकोले प्रतिवादीहरु पारसनाथ,हास्बुन निसा, कल्पना यादव,रुद्र नारायण र जगदम्बा मिश्रलाई संपठित ऐनको दफा ८(४) नं बमोजिम जनही ५(पाँच) वर्ष कैद हुने ठर्हछ । अर्का प्रतिवादी झग्गु नेपाली र ओविराम नेपालीको हकमा विचार गर्दा जाहेरी दरखास्तमा निजहरुको नाम उल्लेख नभएको प्र.हास्बुन, कल्पना, पारसनाथले निज झग्गु समेतले जनप्रिय होटलमा वियर खाएको र उक्त होटलको रकम तिरी दिने गरी सो होटलबाट गएको भन्ने सम्म बयानमा उल्लेख गरेको तर पीडित क कुमारी र ख देवीलाई विक्री गर्ने कार्यमा तुल्सीपुरबाट लैजानका लागि निज प्र.झग्गु र ओविरामले यस्तो कार्य गरी हामीहरुलाई सहयोग गरेका हुन् भनी कुनै पनि प्रतिवादीले किटानी पोल गर्न सकेको देखिएन । जाहेरवालीको आमा ( पीडितको संरक्षक) घ मायाले अधिकार प्राप्त अधिकारी समक्ष कागज गर्दा,झग्गु र प्र.ओविरामलाई शंका सम्म गरेकोमा निजलाई अदालतमा उपस्थित गराई बकपत्र गराउन नसकेको र निज प्रतिवादीहरुका साक्षीले निजहरुले गरेको इन्कारी बयानलाई समर्थित हुने गरी बकी लेखाई दिएको समेतका मिसिल संलग्न सबुद प्रमाणबाट प्र.झग्गु र ओविरामले पीडित क कुमारी र ख देवीलाई विक्री गर्ने कार्यमा अन्य प्रतिवादीहरुलाई दुरुत्साहन गर्ने समेतका कुनै कार्य गरेको देखिन नआएकोले निज प्र.झग्गु नेपाली र ओविराम नेपालीले अभियोग दावीबाट सफाई पाउने ठहर्छ, भन्ने समेत व्यहोराको मिति २०५७।७।१८ मा भएको दाङ्ग देउखुरी जिल्ला अदालतको फैसला ।
जाहेरवालीहरुलाई हामीले ललाई फकाई बेच विखन गर्न लगेका होइनौं । प्रहरीले शंकाको भरमा नै पक्राउ गरी जवरजस्ती जाहेरी दिन लगाइएको हो । कसैका हकमा प्रमाणका लागी ग्रहण हुने र कसैका हकमा ग्रहण नहुने गरी हामीलाई सजाय गर्ने गरी गरिएको फैसलामा न्यायिक मनको प्रयोग नभई कानुनी त्रुटिपूर्ण रहेकोले उक्त दाङ्ग देउखुरी जिल्ला अदालतको फैसला बदर गरी अभियोग दावीबाट फुर्सद दिलाई पाउँ भन्ने समेत व्यहोराको कल्पना यादव र हस्तुन निसा अन्सारीले संयुक्त रुपमा मिति २०५७।४।२३ मा पुनरावेदन अदालतमा दिएको पुनरावेदन पत्र ।
प्रतिवादीहरु पारशनाथ पाठक, जगदम्बा मिश्र, हास्बुन निसा अन्सारी, कल्पना यादव, रुद्र नारायण पाण्डे गरी जना ५(पाँच) लाई अभियोग माग दावी बमोजिम सजाय नगरी कम सजाय गरेको र प्रतिवादी झग्गुप्रसाद नेपाली र ओविराम नेपालीलाई सफाई दिएको हदसम्मको फैसला बदर गरी सबै प्रतिवादीहरुलाई अभियोगपत्र माग दावी बमोजिम सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको मिति २०५७।७।८ को वादी श्री ५ को सरकारको पुनरावेदन पत्र ।
शुरु दाङ्ग देउखुरी जिल्ला अदालतले मलाई कैद ५(पाँच) वर्ष हुने ठहर गरेको फैसला बदर गरी सफाई पाउँ भन्ने समेत व्यहोराको मिति २०५७।८।१४ को प्रतिवादी रुद्र नारायण पाण्डेको पुनरावेदन पत्र ।
शुरु जिल्ला अदालतले मलाई कैद ५(पाँच) वर्ष हुने ठहर गरी गरेको फैसला बदर उल्टी गरी आरोपित कसूरबाट सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी पारसनाथ पाठकको मिति २०५७।९।१३ को पुनरावेदन पत्र ।
शुरु जिल्ला अदालतले मलाई ५ वर्ष कैद गर्ने गरेको फैसला बदर गरी अभियोगदावीबाट सफाई पाऊँ भन्ने प्र. जगदम्बा मिश्रको मिति २०५७।९।१४ को पुनरावेदनपत्र ।
दाङ्ग तुल्सीपुरबाट कृष्णनगर जादाँ निवेदक तथा पुजा बुढा मगर समेतको पैसा हराएको कारण बसको पैसा दिन नसकेकोले कन्टेक्टरसँग झगडा भएको हो । सोही इविबाट प्रहरीलाई कन्टेक्टरले बोलाई नमालुम के व्यहोरा प्रहरीले लेखी हामीलाई जवरजस्ती सही गर्न लगाएका हुन् । जीउ मास्नेबेच्ने कुनै प्रकारको घटना नै भए गरेको छैन । हामीसँग जीउ मास्नेबेच्ने घटना भए गरेको भनी अनर्गल मुद्दाको संज्ञा दिई जाहेरी लेखी सही गराएको हो । हामीले चिन्दै नचिनेका अपरिचित व्यक्तिहरुलाई प्रतिवादी समेत बनाई मुद्दा चलाएको छ । तसर्थ यो निवेदन मिसिल सामेल गरी कसैमाथि कुनै कारवाही नै नहुने गरी मुद्दा खारेज गरिपाऊँ भन्ने समेत व्यहोराको मिति २०५८ साल बैशाख महिना सम्म लेखिएको निज जाहेरवाली म कुमारीले हुलाक द्वारा पुनरावेदनल अदालतमा प्रेषित गरको निवेदन ।
जाहेरवाली भनिएकी क कुमारीले यस अदालतमा पठाएको निवेदन मिसिल संलग्न देखिदा निजलाई ७(सात) दिने म्याद सूचना पठाई उपस्थित भए सो निवदेनको सनाखत गराई नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको मिति २०५८।६।२४ मा पुनरावेदन अदालतबाट भएको आदेश ।
२०५८ साल बैशाख महिनामा मैले यस अदालतमा दिएको पाना २ को निवेदनमा लेखिएको व्यहोरा समेत ठिक छ भनी निज जाहेरवाली क कुमारीले गरिदिएको सनाखत कागज ।
प्रहरी समक्ष पीडित जाहेरवालीहरुले प्रतिवादीहरु उपर पोल गरेको भएपनि पीडित जाहेरवाली मध्ये क कुमारीले हुलाक मार्फत् दिएको निवेदनलाई मिति २०५८।७।२२ मा यस अदालतमा सनाखत कागज गर्दा जीउ मास्नेबेच्ने वारदात नै नभै प्रहरीले आर्फै जाहेरी लेखी नचिनेका यी प्रतिवादीहरु उपर मुद्दा चलाएको भन्ने व्यहोराको कागज गरिदिएको देखिन्छ । प्रहरी समक्षको प्रतिवादीहरुको साविती कुटपिटबाट भएको हो भन्ने प्रतिवादीहरुको पुनरावेदन जिकिरलाई प्रहरीको कुटाईबाट पारसनाथ पाठकको खुट्टा फ्याक्चर भएको एक्सरेबाट पुष्टि गरेको देखिएको, कल्पना यादव र हस्तुन निसा अन्सारीको मिसिल संलग्न घा.केश फारामबाट पुष्टि गरेको देखिन्छ । मौकामा कागज गर्ने पातली साईली भन्ने सिता डाँगी, टेक मती बुढा मगर समेतका व्यक्तिहरु अदालत समक्ष उपस्थित भै मौकाको कागजलाई पुष्टि गर्न सकेको देखिंदैन । प्रतिवादी रुद्र नारायण पाण्डे वारदात भएको भनिएको दिनमा विद्यालयमा रुजु हाजिर रहेको भन्ने निजका साक्षीको बकपत्रबाट देखिन्छ । प्रतिवादीहरुको अदालतको इन्कारी बयान निजका साक्षीले प्रष्ट समर्थन हुने गरी बकपत्र समेत गरी दिएको देखिन्छ । यसरी प्रतिवादीहरुलाई कुटपिट गरेको कुरा मिसिल संलग्न एक्सरे तथा घा जाँच केश फारामबाट देखिएको र शुरुमा पोल गर्ने बसन्ती बस्नेत जाहेरवालीले वारदात नै नभएको भनी यस अदालतमा आई सनाखत कागज समेत गरिदिएको तथा मौकामा कागज गर्ने व्यक्तिहरु अदालतमा आई कसूर पुष्टि हुने गरी बकपत्र गर्न नसकेको अवस्थामा प्रतिवादीहरुलाई कसूरदार ठहर्याउन न्यायोचित नहुने देखिन्छ ।
तसर्थ पीडित जाहेरवाली क कुमारीको प्रतिवादीहरुले कसूर नगरेको भन्दै सनाखत कागज, प्रतिवादीहरुको अदालत समक्षको इन्कारीलाई समर्थन हुने गरी निजका साक्षीहरुबाट भएको बकपत्र, मौकामा कागज गर्ने व्यक्तिहरुको अदालतमा आई बकपत्र गर्न नसकेको अवस्था तथा मिसिल संलग्न प्रतिवादी पारसनाथ पाठकको एक्सरे जाँच रिपोर्ट र प्रतिवादी हस्तुन निसा र कल्पना यादव समेतको मिसिल संलग्न घा जाँच केश फाराम समेतका आधार प्रमाणबाट प्रतिवादीहरुले अभियोग दावी अनुसार कसूर गरेको नदेखिंदा प्रतिवादीहरुलाई सफाई दिनु पर्नेमा अन्यथा गरेको शुरु दाङ्ग देउखुरी जिल्ला अदालतको मिति २०५०।१।१८ को फैसला मिलेको नहुँदा उल्टी हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, दाङ्गको मिति २०५८।८।२० को फैसला ।
पुनरावेदन अदालतको फैसलामा चित्त बुझेन । पीडित क कुमारी र ख देवी दुवै जनाले संयुक्त व्यहोरा लेखाई प्रतिवादीहरु उपर किटानी जाहेरी दिएका छन् । जाहेरी दरखास्तलाई समर्थन हुने गरी निजहरुले बयान समेत गरेका छन् । सो बयान जीउ मास्नेबेच्ने(कार्य नियन्त्रण) ऐन, २०४३ को दफा ६(२) बमोजिम प्रमाणित भएकोले सो बयान र जाहेरीलाई प्रमाणमा लिनुपर्नेमा पीडित मध्येकी ख देवीले दिएको जाहेरी र बयान यथावत् रहिरहेको अवस्थामा अर्को पीडित क कुमारीले शुरु अदालतबाट मुद्दा फैसला भएको १ वर्ष र वारदात भएको ४ वर्ष पछि पुनरावेदन तहमा हुलाक मार्फत् दिएको निवेदनलाई पुनरावेदन अदालतबाट सनाखत गराई उक्त कानुन विपरीतको सनाखत कागजलाई मुख्य प्रमाणको संज्ञा दिई प्रतिवादीहरुलाई सफाई दिने गरी भएको फैसला कानुनी त्रुटिपूर्ण छ ।
एकपटक पीडितले किटानी जाहेरी दिई बयान प्रमाणित समेत भईसकेपछि फेरि कथित निवेदन सनाखत गरेको भरमा त्यसैलाई अकाट्य प्रमाण मानी प्रतिवादीहरुलाई सफाई दिएको अ.वं ९० को कानूनी व्यवस्था समेतको विरुद्ध हुन्छ । त्यस्तै प्रतिवादीहरुको अदालतमा भएको इन्कारी बयान समेत कल्पना यादव, हास्बुन निसा अन्सारी, पारसनाथ पाठक, ओविराम नेपाली, झग्गुप्रसाद नेपाली समेतका प्रतिवादीहरुले अधिकार प्राप्त अधिकारी समक्ष पीडितहरुलाई भारतमा बेच्न लाँदै गर्दाका अवस्थामा प्रहरीले पक्राउ गरेको हो भनी गरिदिएको बयान समेतका संकलित प्रमाणले खण्डन गरिरहेको छ । प्रतिवादीहरुको मौकाको बयान स्वतन्त्र प्रमाणले खण्डन नभएको स्थितिमा सो बयानलाई प्रस्तुत मुद्दामा अकाट्य प्रमाणको रुपमा लिइनु पर्दछ। तसर्थ मिसिलमा संकलित सबै प्रमाणलाई एकातिर पन्छाई पीडित मध्येकी क कुमारीको निवेदन र सोलाई सनाखत गराई त्यसैलाई अकाट्य प्रमाण मानी प्रतिवादीहरुलाई सफाई दिने ठहर गरेको पुनरावेदन अदालतको फैसला बदर भागी छ । प्रतिवादीहरुले पीडितहरुलाई विदेशमा लगी बेच्ने उद्देश्यले एक ठाउँबाट अर्को ठाउँमा लगी सकेको स्थितिमा आरोपित कसूर स्वतः स्थापित भईसकेको हुँदा प्रस्तुत मुद्दामा पुनरावेदन अदालतको फैसला बदर गरी सबै प्रतिवादीहरुलाई अभियोग दावी बमोजिम सजाय गरिपाऊँ भन्ने वादी नेपाल सरकारको तर्फबाट मिति २०५९।३।२४ मा दर्ता भएको पुनरावेदन पत्र ।
जाहेरवालीहरुलाई विक्री गर्न लैजाँदै गरको अवस्थामा पक्राउ परेको कुरामा प्रतिवादीहरु अधिकार प्राप्त अधिकारी समक्ष सावित भै बयान गरको देखिन्छ । जाहेरवालीहरुले निज प्रतिवादीहरुलाई पोल गरी गरेको बयान अदालतद्वारा प्रमाणित भै रहेको अवस्थामा निजहरुको अदालतमा भएको इन्कारीको प्रमाण पुर्याउने भार जीउ मास्नेबेच्ने (कार्य नियन्त्रण) ऐन, २०४३ को दफा ७(२) ले प्रतिवादीहरु माथि नै रहने व्यवस्था गरेको देखिईरहेको अवस्थामा दुईजना जाहेरवालीमध्ये एकजना क कुमारीले प्रतिवादीहरुलाई सर्फाई दिने गरी पछाडि दिएको निवेदन र अभियोगसँग असम्बन्धित प्रतिवादीको शरीरमा भएको पुरानो घाउलाई आधार लिई प्रतिवादीहरुले सफाई पाउने ठहर्याएको पुनरावेदन अदालतको इन्साफ फरक पर्ने देखिदा छलफलको लागि प्रतिवादीहरुलाई झिकाई पेश गर्नु भन्ने यस अदालतको मिति २०६१।८।१४ को आदेश ।
नियम बमोजिम पेशी सूचिमा चढी निर्णयार्थ यस इजलास समक्ष पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट विद्वान उपन्यायाधिवक्ता शरदकुमार खड्काले पीडित जाहेरवालीहरुलाई विक्री गर्ने उद्देश्यले भारततर्फ लाँदै गरेको अवस्थामा प्रतिवादीहरु पक्राउ परेका छन् । कसूरमा सावित भई प्रतिवादीहरुले मौकामा बयान गरेका छन् । सो सावितीलाई कुटपिटबाट गराइएको भन्दै अदालतमा इन्कार रहेपनि मौकाको साविती कुटपिटबाट भएको कुनै प्रमाण प्रतिवादीहरुले दिन सकेका छैनन् । पीडित जाहेरवालीहरुको मौकाको बयान अदालतबाट प्रमाणित छ । यस्तो स्थितिमा आरोपित कसूर प्रमाणित भइरहेको देखिन्छ । तर पुनरावेदन अदालतले पीडित मध्येकी क कुमारीले वारदात भएको ४ वर्षपछि पुनरावेदन अदालतमा हुलाकद्वारा पठाएको निवेदनमा सनाखत गराई त्यसैलाई प्रमाणमा ग्रहण गरी प्रतिवादीहरुलाई सफाई दिएको कानूनी त्रुटिपूर्ण छ । अ.वं ९० नं मा भएको सनाखत सम्बन्धी व्यवस्थाको गलत व्याख्या गरिएको छ । सो व्यवस्थानुसार त्यस्तो सनाखत निवेदनबाट आरोप लागेको व्यक्तिलाई पक्री कारवाही गर्नसम्म मिल्ने हो तर एकपटक आरोप लागिसकेकोलाई यस्तो सनाखतको भरमा सफाई दिन मिल्दैन । सबुद प्रमाणले मात्र सफाई दिन सकिने हो । तर संकलित सबुद प्रमाणबाट प्रतिवादीहरुले अभियोग दावी बमोजिमको कसूर गरेको प्रमाणित भइरहेकोमा सफाई दिने ठहर गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण छ । तसर्थ सो फैसला बदर गरी अभियोग दावी बमोजिम प्रतिवादीहरुलाई सजाय हुन पर्दछ भन्ने बहस गुर्नभयो ।
प्रत्यर्थी प्रतिवादी पारसनाथ पाठकको तर्फबाट विद्वान अधिवक्ता नरेन्द्रकुमार के.सी. ले मेरो पक्षले पीडित जाहेरवालीहरुलाई विक्री गर्ने उद्देश्यले लगेको होइन । घुमफिर गर्ने प्रयोजनको लागि सम्म लगेको हो । जाहेरवाली क कुमारीले नै शुरु जिल्ला अदालत समक्ष गरेको बयान तथा पछि पुनरावेदन अदालतमा दिएको निवेदनमा सनाखत बयान गर्दा समेत मेरो पक्ष आरोपित कसूरमा सामेल भएको होइन भन्ने तथ्यलाई उजागर गरी दिएको हुँदा निजलाई सफाई दिने ठहर गरेको पुनरावेदन अदालतको फैसला मिलेको हुँदा सदर हुनुपर्छ भनी र प्रतिवादीहरु रुद्रनारायण पाण्डे र जगदम्बा मिश्रको तर्फबाट विद्धान अधिवक्ता दिपक कुमार गुप्ताले जाहेरी दरखास्त शंकाको आधारमा दिएको छ । वारदात मितिमा रुद्रनारायण पाण्डे आफू कार्यरत विद्यालयमा हाजिर छन् भने जगदम्बा मिश्र मुसुरो काट्ने काममा रहेका छन् । यस्तो अवस्थामा रुद्रनारायण पाण्डे र जगदम्बा मिश्र उपरको अभियोग दावी पुग्न सक्दैन । त्यसैले निजहरुलाई अभियोग दावीबाट सफाई दिने ठहर गरेको पुनरावेदन अदालतको फैसला मिलेको हुँदा सदर हुनुपर्छ भनी बहस गर्नुभयो ।
पुनरावेदन सहितको मिसिल संलग्न प्रमाण कागजहरुको अध्ययन गरी विद्वान कानून व्यवसायीहरुको उपर्युक्त बहस बुँदा समेतलाई मनन गर्दा पुनरावेदन अदालतले गरेको फैसला मिले नमिलेको के रहेछ ? वादी नेपाल सरकारको पुनरावेदन पुग्न सक्ने हो होइन ? भन्ने सम्बन्धमा निर्णय दिनु पर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा प्रतिवादी मध्येका पारसनाथ पाठक,हस्तुन निसा अन्सारी,कल्पना यादव, रुद्रनारायण पाण्डे र जगदम्बा मिश्र उपर पीडित क कुमारी र ख देवीलाई बिक्री गरेको भन्ने आरोपमा जीउ मास्ने बेच्ने (कार्य नियन्त्रण) ऐन,२०४३ को दफा ८(१) बमोजिमको सजाय हुन र अन्य प्रतिवादीहरु झग्गु नेपाली र ओविराम नेपालीले पीडितहरुलाई विक्री गराउन दुरुत्साहन गरको कसूरमा सोही ऐनको दफा ८(४) बमोजिम सजायको मागदावी लिई अभियोग पत्र पेश भएको देखियो । शुरु जिल्ला अदालतले प्रतिवादीहरु पारसनाथ पाठक,हास्बुन निसा अन्सारी,कल्पना यादव ,रुद्रनारायण पाण्डे र जगदम्बा मिश्रलाई जीउ मास्नेबेच्ने (कार्य नियन्त्रण) ऐन, २०४३ को दफा ४(घ) को कसूर कायम गरी सोही ऐनको दफा ८(४) बमोजिम जनही कैद वर्ष ५ हुने तथा प्रतिवादीहरु झग्गु नेपाली र ओविराम नेपाली उपरको अभियोग दावी नपुग्ने भै निजहरुलाई सफाई दिने गरी फैसला गरेकोमा पुनरावेदन अदालतले शुरु फैसला केही उल्टी गरी सबै प्रतिवादीहरुलाई सफाई दिने गरी फैसला गरेकोमा पुनरावेदन अदालतको सो फैसलामा चित्त नबुझी वादी नेपाल सरकारको तर्फबाट दायर भएको प्रस्तुत पुनरावेदन पत्र निर्णयार्थ पेश भएको रहेछ ।
३. सर्वप्रथम प्रस्तुत मुद्दामा अभियोग दावी बमोजिमको कसूर कायम हुने नहुने के हो ? भन्ने सम्बन्धमा हेर्दा वादी पक्षबाट प्रतिवादीहरु कल्पना यादव, पारसनाथ पाठक,हास्बुन निसा अन्सारी, जगदम्बा मिश्र र रुद्रनारायण पाण्डे उपर जीउ मास्ने बेच्ने (कार्य नियन्त्रण) ऐन २०४३ को दफा ४(क) को कसूरमा सोही दफा ८(१) को सजायको मागदावी लिइएको र अन्य प्रतिवादीहरु झग्गु नेपाली र ओविराम नेपाली उपर दफा ४(घ) को कसूरमा सोही दफा ८(४) को सजायको माग दावी लिएको देखियो ।
४. जाहेरी दरखास्त, पीडितहरुको मौकाको बयान, प्रतिवादी कल्पना यादव समेतको साविती बयान समेतका मिसिल संलग्न कागज प्रमाणबाट पीडित क कुमारी र ख देवीलाई प्रतिवादीहरुले ललाई फकाई दाङ्गबाट बसमा चढाई भारततर्फ बेच्न लैजाँदै गरेको भन्ने अभियोगमा चनौटामा प्रहरीले पक्राउ गरी प्रतिवादीहरु उपर अनुसन्धान शुरु गरेको देखिन्छ । अभियोग दावी एवं संकलित सबुद प्रमाणहरुबाट पीडित जाहेरवालीहरु क कुमारी र ख देवीलाई विक्री गरिसकेको अवस्था नभई बेच्ने उद्देश्यले आपसमा मिलोमतो गरी दाङ्गदेखि बसमा चढाई जनप्रिय होटलमा ल्याई राखेको र त्यहाँबाट चनौटामा पुग्दा बसको भाडाको विषयमा बादविवाद हुँदै गर्दा प्रहरीले शंका लागी जाहेरवालीहरु क कुमारी र ख देवी एवं प्रतिवादीहरु कल्पना यादव, पारसनाथ, हास्बुन निसा समेतलाई पक्राउ गरेको र प्रतिवादीहरु रुद्रनारायण र जगदम्बा भागी फरार भएको देखिन आयो । यस्तो स्थितिमा पीडित जाहेरवालीहरुलाई विदेश भारतमा लगी विक्री गरिसकेको नभई विक्री गर्ने उद्देश्यले लैजाँदै गर्दा पक्राउ परेको हुँदा जीउ मास्नेबेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४को (घ) मा बर्णित जीउ मास्नेबेच्ने कार्यको उद्योगसम्मको कसूर कायम हुने देखिन आयो।
५. अब, उक्त कसूरमा को कुन प्रतिवादीहरुको के कस्तो संलग्नता रहेछ भन्ने सम्बन्धमा विचार गर्दा, प्रतिवादीहरु मध्येका हास्बुन निसा अन्सारी, कल्पना यादव र पारसनाथ पाठकले कसूरमा सावित भई अधिकार प्राप्त अधिकारी समक्ष बयान गरेको र अदालतमा बयान गर्दा कसूर गरेको भन्ने अभियोगमा इन्कार रहेको देखिन्छ । त्यस्तै तत्काल फरार रहेका प्रतिवादीहरु जगदम्बा मिश्र र रुद्र नारायण पाण्डे अदालतमा उपस्थित भै बयान गर्दा कसूर गरेको भन्ने अभियोग दावीमा इन्कार रहेको पाइयो । प्रतिवादीहरु ओविराम नेपाली र झग्गु नेपालीले अधिकार प्राप्त अधिकारी तथा अदालत समक्षको बयान समेतमा अभियोगमा इन्कार रही बयान गरेको पाइयो । प्रतिवादीहरु पारसनाथ, हास्बुन निसा र कल्पनाले पीडित जाहेरवालीहरुलाई फकाई विक्री गर्ने उद्देश्यले लैजाँदै गर्दा चनौटानिर पक्राउ परेको र सो कार्यमा जगदम्बा मिश्र र रुद्रनारायण समेत संलग्न छन् । तत्काल उनीहरु भाग्न सफल भए भनी अधिकार प्राप्त अधिकारी समक्ष साविती भै अन्य अभियुक्त समेतलाई पोली बयान गरेको देखियो । पीडित जाहेरवालीहरुले प्रतिवादीहरु उपर किटान गरी जाहेरी दरखास्त दिई सो जाहेरी दरखास्तलाई समर्थन गदै हामीहरुलाई पारसनाथ, जगदम्बा, कल्पना, रुद्रनारायण, हास्बुन निसाले ललाई फकाई घुम्न जाऔ भनी दाङ्गदेखि चनौटासम्म लैजाँदा जगदम्बा र रुद्रनारायण भागेका र अन्य प्रतिवादीहरु पक्राउमा परेका हुन् भनी खुलाई गरेको बयान अदालतबाट समेत प्रमाणित भइरहेको देखिन्छ ।
६. यसरी जाहेरवाली (पीडित) हरुको किटानी जाहेरी दरखास्त, निजहरुले तत्काल अधिकार प्राप्त अधिकारी समक्ष घटनाको सम्पूर्ण विवरण खुलाई गरिदिएको बयान अदालतबाट समेत प्रमाणित भईरहेको स्थितिमा प्रतिवादीहरु हास्बुन निसा अन्सारी, कल्पना यादव र पारसनाथ पाठकले कसूरमा सावित भै अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान सो जाहेरी दरखास्त, जाहेरवालीहरुको मौकाको बयान समेतबाट समर्थित भइरहेको देखिन आयो । पीडित जाहेरवालीहरुको मौकामा भएको प्रमाणित बयान र प्रतिवादीहरुको अधिकारप्राप्त अधिकारी समक्षको साविती बयानमा प्रस्तुत वारदातका सम्बन्धमा भएका सम्पूर्ण घटनाक्रमहरु सिलसिलेबार रुपमा खुली एकापसमा मिली रहेको समेत देखिन्छ । यस्तो अवस्थामा पीडित जाहेरवालीहरुको मौकाको बयानमा उल्लेखित कुराहरु झुठा हुन् भनी खण्डन गर्ने दायित्व जीउ मास्नेबेच्ने (कार्य नियन्त्रण) ऐन, २०४३ को दफा ७(२) बमोजिम प्रतिवादीहरु उपर नै रहने देखिन्छ ।तर त्यस्तो कुनै युक्तियुक्त रुपमा खण्डन हुने आधार दिन नसकी प्रतिवादीहरु कल्पना, रुद्रनारायण, हास्बुन निसा, पारसनाथ र जगदम्बाले अदालत समक्ष इन्कारी बयान सम्म दिएको भरमा सो इन्कारी बयान समर्थित हुने कुनै आधार देखिन आएन ।
७. जीउ मास्नेबेच्ने जस्तो गंभीर फौजदारी अभियोगमा निर्दोषिताको प्रमाण पेश गर्ने भार (onus of proof) प्रतिवादीमा नै रहने गरी जीउ मास्ने बेच्चे (कार्य नियन्त्रण) ऐन २०४३ को दफा ७(२) ले व्यवस्था गरेकोमा सो बमोजिम आफ्नो निर्दोषितfको तथ्ययुक्त र भरपर्दो प्रमाण यी प्रतिवादीहरुले देखाउन सकेको पाईदैन । पीडित जाहेरवाली र प्रतिवादीहरु नाता सम्बन्धका मानिस भन्ने पनि केही देखिंदैन । यसरी बेसरोकार र नाता सम्बन्ध नै नपर्ने पीडित बालिकाहरुलाई विक्री गर्ने बाहेक अन्य के कुन उद्देश्यले दाङ्गदेखि चनौटासम्म पुर्याएको हो भन्ने कुनै तथ्ययुक्त र भरपर्दो कारण पनि प्रतिवादीहरुले खुलाउन सकेका छैनन् ।
८. यी प्रतिवादीहरु, पारसनाथ, हास्बुन निसा अन्सारी, जगदम्बा मिश्र, कल्पना यादव र रुद्रनारायण पाठकलाई अभियोग दावीबाट सफाई दिंदा पुनरावदेन अदालत,दाङ्ग तुल्सीपुरले पीडित जाहेरवाली मध्येकी क कुमारीले हुलाक मार्फत पठाएको मिति २०५८।१।१७ को निवेदन र सो निवेदन सनाखत गरी निजले पुनरावेदन अदालतमा मिति २०५८।७।२२ मा गरेको बयानलाई मुख्य निर्णयाधार बनाएको देखिन्छ । प्रस्तुत मुद्दाको शुरु जाहेरी मिति २०५४।१२।१७ मा दर्ता भएको देखिन्छ भने त्यसको करीव ४ बर्ष पछि पीडितमध्येकी एकजनाले पछि पुनरावेदन अदालतमा प्रस्तुत मुद्दा चल्दै गर्दा हुलाक मार्फत् छुटै निवेदन पठाई सो निवेदनलाई सनाखत समेत गरेको र उक्त सनाखत निवेदनमा जाहेरी दरखास्तलाई खण्डन गदै प्रतिवादीहरुले आरोपित कसूर गरेका होइनन् भन्ने उल्लेख गरेको देखियो । सरकारवादी फौज्दारी मुद्दामा हुलाकद्वारा पठाइएको निवेदनको प्रामाणिक महत्व र त्यसको सनाखत गराउने प्रक्रियाका सम्बन्धमा मुलुकी ऐन, अ.बं ९० नं को कानूनी व्यवस्था उल्लेखनीय हुन आउँछ । सो व्यवस्था हेर्दा “नेपाल सरकार वादी हुने मुद्दामा कसैको निवेदन पत्र वा दरखास्त हुलाकद्वारा मुद्दा हेर्ने अड्डामा आयो भने सो निवेदन पत्र वा दरखास्त दिने मानिसलाई तुरुन्त बाटाका म्याद बाहेक सात दिनको म्याद टाँसी झिकाई बुझदा निजले सो पठाएको मैले हो, सावित गर्न सक्छु भन्यो भने सोही व्यहोराको प्रमाण खुलाउन पर्ने भए खुलाई बयान लिई कानून बमोजिम रित पुर्याई मात्र बात लागि माग्नेलाई पक्रन र कारवाही गर्न हुन्छ” भन्ने व्यवस्था रहेको देखिन्छ । सो कानूनी व्यवस्थाको बनौटबाटै सरकारबादी हुने फौजदारी मुद्धामा जाहेरी वा अभियोगको खण्डन हुने खालको जीकिर लिई हुलाकद्वारा थप निवेदन दिन सकिने भन्ने नभई त्यस्तो मुद्दामा वारदात वा कसूरको विषयमा कसै उपर पोल गरी दरखास्त वा निवेदन मुद्दा हेर्ने अड्डा समक्ष पठाउन सकिने र त्यसमा सनाखत गराई थप प्रमाण समेत खुलाउन लगाई आरोपित व्यक्तिलाई पक्री कारबाही गर्न सकिने सम्मको व्यवस्था रहेको देखिन आउँछ । त्यस्तो निवेदनले एकपटक अभियोग पत्र दायर भैसकेको मुद्दाको आरोपित व्यक्तिले सफाई पाउन प्रमाणको स्थान ग्रहण गर्न सक्ने देखिदैन।
९. त्यस्तै सरकारबादी फौजदारी मुद्दामा प्रमाणिक महत्व राख्ने सबुद प्रमाणको प्रस्तुतीकरणका सम्बन्धमा अ.बं.७७ नं. को देहाय (१) ले स्पष्ट व्यवस्था गरेको देखिन्छ । सो व्यवस्था हेर्दा “नेपाल सरकार बादी हुने र हुलदंगा कुटपीट मुद्दामा फिरादपत्र वा प्रतिउत्तर पत्रमा लेखिएदेखि बाहेकका लिखत प्रमाण वा साक्षी वा सर्जमिनका मानिस पनि बुझ्नु पर्ने देखिएमा अड्डाले बुझ्न हुन्छ” भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । उक्त व्यवस्था अनुसार सरकारवादी फौजदारी मुद्दामा मुद्दा हेर्ने सम्बन्धित अड्डाको आदेश विना अभियोग पत्र वा प्रतिवादीको बयानमा उल्लेख नभएका साक्षी वा प्रमाणहरु जुनसुकै अवस्थामा ग्राह्य हुने वा त्यसरी पेश भएका प्रमाणहरुले प्रामाणिक महत्व राख्न सक्ने देखिदैन ।
१०. प्रस्तुत मुद्दामा जाहेरवाली मध्येकी क कुमारीले हुलाकद्वारा प्रेषित गरी सनाखत गरिदिएको भनिएको निवेदन अ.ब ७७(१) तथा ९० नं. को प्रकृति एवं परिधिभित्र पर्ने पनि देखिदैन । त्यस्तो निवेदनलाई कुन कानूनले प्रमाणमा लिएको भन्ने पुनरावेदन अदालतको फैसलामा उल्लेख भएको पनि पाइँदैन । यसका साथै उक्त निवेदन र सोलाई सनाखत गरी दिएको भनिएको जाहेरवाली क कुमारीको बयान प्रमाण लाग्न सक्ने कानूनी आधार प्रतिवादी तर्फका कानून व्यवसायीहरुबाट पनि प्रष्ट हुन सकेको पाईदैन । यस्तो अवस्थामा सो निवेदनलाई प्रमाणको रुप दिई त्यसैलाई अकाट्य प्रमाण मानी प्रतिवादीहरुलाई अभियोग दावीबाट सफाई दिएको मिलेको देखिदैन । पीडित जाहेरवालीहरुलाई निजहरुको संरक्षकको अनुमति बेगर विक्री गर्ने उद्देश्यले दाङ्गको तुल्सीपुरदेखि चनौटासम्म लैजाँदै गर्दा पक्राउ परेको र विक्री सम्म भै नसकेको अवस्था हुँदा प्रतिवादीहरु पारसनाथ,हास्बुन निसा अन्सारी, जगदम्बा मिश्र, कल्पना यादव र रुद्र नारायण पाठकले जीउ मास्नेबेच्ने (कार्य नियन्त्रण) ऐन, २०४३ को दफा ४(घ) को कसूर गरेको प्रमाणित हुन आयो ।
११. यसप्रकार, प्रतिवादीहरु पारसनाथ पाठक, हास्बुन निसा अन्सारी, जगदम्बा मिश्र, कल्पना यादव र रुद्र नारायण पाठकलाई जीउ मास्नेबेच्ने (कार्य नियन्त्रण) ऐन, २०४३ को दफा ४(घ) को कसूर कायम गरी सोही ऐनको दफा ८(४) बमोजिम जनही कैद वर्ष ५ सजाय हुने ठहर गरेको शुरु फैसला केही उल्टी गरी अभियोग दावीबाट सफाई दिने ठहर्याएको पुनरावेदन अदालतको फैसला सो हदसम्म त्रुटीपूर्ण देखिएकोले केही उल्टी भई निज प्रतिवादीहरुलाई जीउ मास्नेबेच्ने (कार्य नियन्त्रण) ऐन, २०४३ को दफा ४(घ) को कसूरमा सोही ऐनको दफा ८(४) बमोजिम जनही कैद वर्ष २ हुने ठहर्छ ।
१२. अब प्रतिवादीहरु ओविराम नेपाली र झग्गु नेपालीको हकमा लगाइएको अभियोग हेर्दा निजहरुले पीडित क कुमारी र ख देवीलाई बेचबिखन गर्ने कसूरमा सहयोग र प्रोत्साहन गरेकोले जीउ मास्नेबेच्ने (कार्य नियन्त्रण) ऐन, २०४३ को दफा ४(घ) को कसूरमा सोही दफा ८(४) को सजायको मागदावी लिइएको देखिन्छ । पीडित जाहेरवालीहरुको शुरु जाहेरीमा यी प्रतिवादीहरु ओविराम र झग्गु समेतले विक्री गर्ने कार्यमा सहयोग गरेको भन्ने केही उल्लेख गरेको देखिदैन । प्रतिवादीमध्येका हास्बुन निसा अन्सारी, कल्पना यादव र पारसनाथ पाठकले प्रहरीमा बयान गर्दा यी प्रतिवादीहरु झग्गु नेपाली र ओविराम नेपालीले यो यस्तो कार्य गरी पीडितहरुलाई विक्री गर्ने कार्यमा यस्तो प्रकारले सहयोग गरेका थिए भनी कुनै व्यहोरा खुलाउन सकेको पनि पाइँदैन । जनप्रिय होटलमा खाएको वियरको पैसासम्म झग्गुले तिरी गएको भन्नेसम्म उल्लेख गरेको देखिन्छ । पीडित ख देवीको आमा घ मायाले अधिकार प्राप्त अधिकारी समक्ष बयान गर्दा यी प्रतिवादीहरु झग्गु र ओविरामलाई शंकासम्म व्यक्त गरेकोमा निजलाई अदालत समक्ष उपस्थित गराई सो शंकाको पुष्टी हुने गरी थप बकपत्र गराउन अभियोजन पक्षले सकेको पाइँदैन । प्रतिवादीहरु झग्गु र ओविराम अधिकार प्राप्त अधिकारी र अदालत समक्षको बयान समेतमा कसूर गरेको भन्ने अभियोगमा पूर्ण इन्कार रहेका र निजहरुका साक्षी समेतले सो इन्कारी बयानलाई समर्थन गरी बकपत्र गरि दिएको मिसिलबाट देखिन्छ । अन्य सह– अभियुक्त प्रतिवादीहरु मध्ये कसैले पनि किटानी साथ यी प्रतिवादीहरुको आरोपित कसूरमा संलग्नता रहेको भनी किटानी पोल समेत गरेको देखिंदैन । यस्तो स्थितिमा यी प्रतिवादीहरु झग्गु नेपाली र ओविराम नेपालीले अभियोग मागदावी बमोजिम पीडित क कुमारी र ख देवीलाई विक्री गर्ने कार्यमा अन्य प्रतिवादीहरुलाई सहयोग वा दुरुत्साहनसमेत गरेको भन्ने अभियोग दावी समर्थित हुन सक्ने देखिएन । तसर्थ निज प्रतिवादीहरुलाई अभियोग दावी बाट सफाई दिने ठहर्याएको हदसम्मको शुरु दाङ्ग देउखुरी जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत तुलसीपुर दाङको मिति २०५८।८।२० को फैसला सो हदसम्म मिलेको हुँदा सदर हुने ठहर्छ । प्रतिवादी ओविराम नेपाली र झग्गु नेपाली समेतलाई अभियोग दावी बमोजिम सजाय गरिपाऊँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जीकिर पुग्न सक्तैन । अरुमा तपसिल बमोजिम गर्नु ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिए बमोजिम पुनरावेदन अदालत तुल्सीपुर दाङ्गको फैसला केही उल्टी भै प्रतिवादीहरु पारसनाथ पाठक,हास्बुन निसा अन्सारी, जगदम्बा मिश्र, कल्पना यादव र रुद्रनारायण पाण्डेलाई जनही कैदवर्ष २(दुई) हुने ठहरी फैसला भएकोले निजहरुको हकमा जनही कैद वर्ष २(दुई) को लगत कसी प्रतिवादीहरु मध्ये जगदम्बा मिश्र र रुद्र नारायण पाण्डे मुद्दा पुर्पक्षको क्रममा मिति २०५५।२।१८ देखि २०५५।२।२९ सम्म ११ दिन थुनामा बसेको देखिंदा बाँकी कैद जनही १ वर्ष ११ महिना १९ दिन असुल उपर गर्नु र अन्य प्रतिवादीहरु हास्बुन निसा अन्सारी र कल्पना यादव मुद्दा पूर्पक्षको सिलसिलामा मिति २०५४।१२।१७ देखि २०५८।८।१९सम्म थुनामा बसेको देखिदा निजहरुको हकमा लागेको कैद कट्टा भइसकेको हुँदा थप केही गरिरहन परेन । प्रतिवादी पारसनाथ पाठक मिति २०५४।१२।१७ देखि मिति २०५५।१।१६ सम्म १ महीना २९ दिन थुनामा बसेको देखिंदा नपुग कैद १वर्ष १० महीना १ दिन निजबाट असुल गर्नु भनी शुरु दाङ्ग देउखुरी जिल्ला अदालतमा लगत दिनु........१
दायरीको लगत कट्टा गरी मिसिल बुझाई दिनु............१
उक्त रायमा म सहमत छु ।
न्या.रामप्रसाद श्रेष्ठ
इति सम्वत् २०६५ साल असार महिना ३१ गते रोज ३ शुभम् .................।
उप–सचिव : विदुर कोइराला