शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९१२४ - बहुविवाह

भाग: ५६ साल: २०७१ महिना: जेष्ठ अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

सम्माननीय का.मु.प्र.न्या.श्री दामोदरप्रसाद शर्मा

माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय

फैसला मिति : २०७०।३।२४।२

०६७-CR-१२०१

 

मुद्दा : बहुविवाह

 

पुनरावेदक/वादी : निर्मला बस्नेतको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी/प्रतिवादी : जिल्ला झापा, खुदुनावारी गाउँ विकास समिति, वडा नं. ७ बस्ने योगिता भन्ने योगमाया चिमरिया बस्नेत

 

§  अनजानवश सौता भई पीडित हुन पुगेको अवस्थामा सबूद प्रमाणको अभावमा कसूरदार कायम गरी सजाय गर्नुबाट झन पीडा थपिने कार्य हुन जान्छ । तसर्थ, अन्जानमा सौता हुन जाने महिलालाई उसको हुने पतिको पहिले नै विवाह भई अर्को श्रीमती भएको भन्ने तथ्यको जानकारी उसलाई थियो भन्ने स्पष्ट प्रमाणको अभावमा कसूरदार ठहर गरी सजाय गर्न नमिल्ने ।

(प्रकरण नं. ६)

 

पुनरावेदक/वादीका तर्फबाट : विद्वान उपन्यायाधिवक्ता शंकरबहादुर राई

प्रत्यर्थी/प्रतिवादीका तर्फबाट :  

अवलम्बित नजीर :

सम्बद्ध कानून :

§  मुलुकी ऐन, विहावरीको ९ नं. , १० नं.

 

सुरू तहमा फैसला गर्ने :-

मा.जि.न्या. श्री अर्जुनप्रसाद कोइराला

पुनरावेदन तहमा फैसला गर्ने :-

मा.मु.न्या. श्री हरिप्रसाद घिमिरे

मा.न्या. श्री विष्णुदेव पौडेल

न्या. बैद्यनाथ उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा ९बमोजिम यस अदालतको अधिकार क्षेत्रभित्रको भई पुनरावेदन अदालत, इलामको मिति २०६७।९।१२ को फैसलाउपर दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :-

म जाहेरवालाको विपक्षी पतिसँग २०५७ सालमा विवाह भई वर्ष ७ को रोजेश र वर्ष ६ को प्रवेश बस्नेतसमेतका छोराहरूको जायजन्मसमेत भएको छ । सानो छोरा पेटमा भएको बेला २०५८ सालमा विपक्षी पति वैदेशिक रोजगारका लागि मलेशिया जानु भएको, ४ वर्षपछि घर आएर पुनः मलेशिया गई २०६५ साल जेष्ठमा फर्की आउनुभएपश्चात् निजले मलाई कुटपीट गरी घरमा बस्न नदिई श्रावण १६ गते घरबाट निकाला गरेकाले नाबालक छोरासमेत माइतीको संरक्षणमा बसेकी छु । यसै क्रममा २०६५ साल माघ २५ गते विपक्षीले जिल्ला झापा, खुदुनावारी ७ जुकेखाडी बस्ने टंक चिमरियाको छोरी योगिता चिमरियालाई विवाह गर्न लाग्नु भएको थाहा पाई म जाहेरवालीले निज बाबु छोरीलाई म जेठी पत्नी हुँदाहुँदै तपाईँले मेरा पतिसँग विवाह नगर्नु होला भनी जानकारी गराउँदागराउँदै पनि घरमा म जेठी श्रीमती हुँदाहुँदै मिति २०६५।११।४ गते निजहरूले दोस्रो विवाह गरी बहुविवाह गरेको हुँदा मुलुकी ऐन, विहावरीको महलको ९ नं. विपरीत काम गरेकोले निजहरूलाई सोही महलको १० नं. बमोजिम कारवाही गरिपाऊँ भन्नेसमेत व्यहोराको जाहेरी दरखास्त ।

मैले २०५७ सालमा निर्मला बस्नेतसँग विवाह गरी निजको तर्फबाट २ छोराहरूको जन्म भएको थियो । घरमा श्रीमती र छोराहरू हुँदाहुँदै मैले २०६५ साल माघ ११ गते जिल्ला झापा, खुदुनावारी गाउँ विकास समिति, वडा नं. ७ बस्ने टंक चिमरियाको छोरी वर्ष २५ की योगिता भन्ने योगमाया चिमरियालाई निजको अभिभावकको मन्जूरीबिना केटीको मन्जूरीले भगाई दमकमा लगी पछि पुनः माईधारमा आई मन्दिरमा सिंदुर पोते गरी विवाह गरेको हो । घरको आर्थिक अवस्था कमजोर भएका कारणले गर्दा वैदेशिक रोजगारको सिलसिलामा म मलेशिया गएको र घरमा बूढीआमा श्रीमती र नाबालक बच्चाहरू थिए । मैले पटकपटक घरमा खर्च पठाएको तर श्रीमतीले घर नचलाउने आमालाई कुट्ने, पिट्ने, बालबच्चालाई केही नखुवाउने भएकाले बच्चा हाल कुपोषणले ग्रस्त छन् । सोही कारणले पछि म घर फर्केर आएपछिसमेत श्रीमती घरमा नबस्ने गरेका कारणले बालबच्चाको विजोग हुने भएको र वृद्ध आमाको समेत स्याहार सुसार गर्ने मानिस कोही नभएका कारण बाध्य भै दोस्रो श्रीमती ल्याउन कर लागि दोस्रो श्रीमती योगितासँग गफ गरी उनैको सहमतिमा मैले दोस्रो विवाह गरेको हुँ । पहिलो श्रीमती हुँदाहुँदै कानून उल्लङ्घन गरी कानूनको रीत नपुर्‍याई दोस्रो विवाह गर्नु मेरो गल्ती हो भन्नेसमेत व्यहोराको प्रतिवादी लोकनाथ भन्ने लोकबहादुरले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

मैले जिल्ला झापा, बुधबारे-२ बस्ने लोकबहादुर बस्नेतसँग २०६५ साल माघ ११ गते विवाह गरेको हो । निजसँग मेरो चिनजान ८।१० दिनअगाडि भई मेरो सहमतिमा भागेर हिंडेपछि माईधारमा आई मन्दिरमा सिन्दुर पोते गरेको हो । निजसँग विवाह गर्नुभन्दा अगाडि निज लोकबहादुर बस्नेतको घरमा श्रीमती र बालबच्चा छन् भन्ने कुरा मलाई थाहा थिएन । पछि भागेर विवाह गरी निजको घरमा गएपछि निजको जेठी श्रीमती र बालबच्चा रहेको कुरा थाहा पाएकी हुँ । मैले निजकी श्रीमती छ भन्ने कुरा थाहा नभएकोले विवाह गरेको हो । मैले लोकबहादुर बस्नेतसँग विवाह गर्दा माइतीघरसमेतलाई सर सल्लाहर नगरी विवाह गरी भागेको हुँ भन्नेसमेत व्यहोराको प्रतिवादी योगिता भन्ने योगमाया चिमरियाले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान  ।

मिति २०६५।१०।११ गते हामी आ-आफ्नो घरलगायत काममा थियौं । सोही अवस्थामा जिल्ला झापा, बुधबारे-२ बस्ने लोकबहादुर बस्नेतले घरमा छोराहरू र जेठी श्रीमती हुँदाहुँदै घर व्यवहार राम्रोसँग चलिरहेको अवस्थामा के कुन मनसायले हो कानूनको बर्खिलाप गरी जिल्ला झापा, खुदुनाबारी-७ बस्ने टंक चिमरियाको छोरी वर्ष २५ की योगमाया चिमरियालाई कान्छी श्रीमती बनाई घरमा दोस्रो विवाह गरी ल्याएको हो । यसरी दोस्रो विवाह गर्ने लोकबहादुर बस्नेत र कान्छी श्रीमती योगिता भन्ने योगमाया चिमरियालाई कारवाही गरिपाऊँ भन्नेसमेत व्यहोराको विश्वनाथ संग्रौलासमेतले गरिदिएको प्रायः एकै मिलानको वस्तुस्थिति मुचुल्का ।

जाहेरवाली जेठी श्रीमती र निजबाट जन्मेका दुई छोराहरू छन् भन्ने जानीजानी वारदातको प्रकृति र परिणाम थाहा हुँदाहुँदै प्रतिवादीहरू लोकहादुर बस्नेत र योगिता भन्ने योगमाया चिमरिया( बस्नेत) ले मिलोमतो गरी आपसमा विवाह गरी मुलुकी ऐन, विहावरीको ९ नं. विपरीत कसूर अपराध गरेकाले निज प्रतिवादीहरूलाई ऐ. महलको १० नं. बमोजिम कारवाही गरिपाऊँ भन्नेसमेत व्यहोराको अभियोगपत्र ।

मिति २०५९।२।१९ भन्दा अघि पनि बारम्बार घरका सामानहरू लिई माइत जाने गरेको, लिन जाँदा अपशब्द बोल्ने गरेको, म रोजगारको लागि मलेशिया जाँदा पनि माइतमा नै गई बसेको, पटकपटक फोन गर्दा घरमा नभएको, पटकपटक गरी मलेशियाबाट पठाएको रू. २ लाख ५८ हजारमा हिनामिना गरेको, माइतमा ३ पटकसम्म लिन जाँदा पनि नभएको, बुधबारे गाउँ विकास समितिमा मिति २०६५।६।४ मा सम्बन्ध विच्छेदको लागि निवेदन दिएको र निजको नाममा म्याद पठाउँदा बुझ्न नमानी त्यत्तिकै रहेको अवस्थासमेत हुँदा मेरो घर व्यवहार बिग्रन गएकाले र बच्चाहरू र बूढी आमाको विस्याहार भएको र आमा रोगी भएको कारणले खाना बनाएर खान दिने र पानी दिने मानिससमेत नभएकाले कान्छी श्रीमतीलाई फकाएर ल्याएको हुँ । सजाय हुन्छ भन्ने कुरा थाहा भएर पनि घर व्यवहार बिग्रिएकोले बाध्य भएर दोस्रो विवाह गरेको हुँ भन्नेसमेत व्यहोराको प्रतिवादी लोकबहादुर बस्नेतले सुरू झापा जिल्ला अदालतमा गरेको बयान ।

मलाई विभिन्न किसिमले पति लोकबहादुरले फकाएकोले मिति २०६५।१०।११ गते पतिको घर बुधबारे नगई मोरङ सिंजुवा गै पतिको साथीको घरमा एक महिना बसी घरमा आउँदा २ छोरा र सासुआमा भएकोले यी छोराहरू को हो भन्दा मेरी श्रीमती घरमा   बसिनन् । यी जेठीपट्टिका छोराहरू हुन् भन्दा मलाई सौता रहिछन् भन्ने थाहा भएको हो । सौता छ भन्ने कुरा मलाई थाहा थिएन । मलाई सौता भएको थाहा भएको भए म विवाह गर्ने थिइन । तसर्थ, मलाई अभियोग दावीबमोजिम सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी योगिता भन्ने योगमाया चिमरियाले सुरू झापा जिल्ला अदालतमा गरेको बयान ।

पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी मुलुकी ऐन, अ.बं. ११८ को देहाय ५,१० बमोजिम प्रतिवादी लोकबहादुर बस्नेतलाई रू. ३०,०००।र अर्का प्रतिवादी योगिता भन्ने योगमाया चिमरियालाई रू. १०,०००।नगद वा सो बराबरको जेथा जमानत राखी र जमानत दिन नसके थुनामा राखी मुद्दाको पुर्पक्षको गर्नु भन्ने सुरू झापा जिल्ला अदालतको मिति २०६६।१।२४ को आदेश ।

प्रतिवादीको घर मेरो घरबाट करीब २ किलोमीटर टाढा छ । जाहेरवालीलाई प्रतिवादी लोकबहादुरले बिहे गरेको १२-१४ वर्ष भयो । उनीहरूको सम्बन्ध विच्छेदको बारेमा केही कुरा त भएको थियो, त्यसबारेमा थाहा भएन । प्रतिवादी लोकबहादुरउपर अंश मुद्दा हालेको छु भनेर जाहेरवाली निर्मलाले भनेको हो भन्नेसमेतको वस्तुस्थिति मुचुल्काका मानिस डिल्लीप्रसाद नेपालले सुरू झापा जिल्ला अदालतमा गरेको बकपत्र । 

जाहेरी दरखास्तको व्यहोरा र सहीछाप मेरो नै हो । प्रतिवादीहरूले २०६५ साल फागुंनमा विवाह गरेका हुन् । प्रतिवादी योगमायालाई प्रतिवादी लोकनाथकी जेठी पत्नी छ भन्ने जानकारी थियो । प्रतिवादीहरूलाई सजाय होस भन्नेसमेत व्यहोराको जाहेरवाली निर्मला बस्नेतले सुरू झापा जिल्ला अदालतमा गरेको बकपत्र ।

प्रतिवादीको घर र मेरो घर २ किलोमीटरको फरकमा छ । वस्तुस्थिति मुचुल्काको व्यहोरा र सहीछाप मेरो नै हो । जाहेरवाला र प्रतिवादी लोकबहादुरबीचको सम्बन्ध विच्छेद चर्चामा आएको थियो भन्नेसमेत व्यहोराको वस्तुस्थिति मुचुल्काका मानिस विश्वनाथ संग्रौलाले सुरू झापा जिल्ला अदालतमा गरेको बकपत्र । 

जाहेरवाली निर्मला बस्नेत र प्रतिवादी लोकबहादुर बस्नेतबीच २०५७ सालमा विवाह भएको हो, लोकबहादुर बस्नेत विदेश गएपछि सासुलाई कुटने, भागेर माइत जाने र लोकबहादुर विदेशबाट आएपछि पनि लोग्ने, सासुको मन्जूरीबिना नै भागेर माइत जानेसमेत गरेका कारण प्रतिवादी योगमाया चिमरियालाई विवाह गर्नुपर्ने अवस्था भएको हो । यसरी बाध्य भएरमात्र लोकबहादुरले कान्छी श्रीमती ल्याएकोले बहुविवाहमा सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी लोकबहादुर बस्नेतका साक्षी तेजबहादुर श्रेष्ठले सुरू झापा जिल्ला अदालतमा गरेको बकपत्र । 

प्रतिवादी लोकबहादुर बस्नेत असल चालचलन भएका मेहनती, परिश्रमी स्वभावका मिलनसार व्यक्ति हुन् । बुधबारे गाउँ विकास समितिका अध्यक्ष भएको नाताले निज प्रतिवादीलाई असल चरित्रको मानिस भनेर चिन्दछु । प्रतिवादी लोकबहादुर बस्नेत एकमात्र छोरा भएको र निजको वृद्ध रोगी आमा, बालक छोराको रेखदेख हेरविचार गरीदिने कोही नभएको र जेठी श्रीमतीलाई पटकपटक सही बाटोमा ल्याउन कोशिस गर्दा नआएको यावत कारणले बाध्य भएर यी प्रतिवादी योगिता चिमरियालाई दोस्रो श्रीमतीको रूपमा ल्याउनुपरेको हो । प्रतिवादीलाई बहुविवाहमा सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी लोकबहादुर बस्नेतका साक्षी खडानन्द वाग्लेले गरेको बकपत्र ।

यी प्रतिवादी योगमायालाई लोकबहादुरको जेठी श्रीमती भएको कुरा पहिले नै थाहा

थियो । प्रतिवादी योगमायालाई विवाहको लागि माग्न जाँदा जेठी श्रीमतीसँग सम्बन्ध विच्छेद गरेको भनेका थिए । जेठी श्रीमती हुँदाहुँदै कान्छी के कारणले गरे मलाई थाहा छैन । आमासँगको सम्बन्ध राम्रो नभएका कारणले यी जाहेरवाली माइतमा बसेकी हुन् भन्नेसमेत व्यहोराको अनुसन्धानको क्रममा बुझिएका हरि संग्रौलाले सुरू अदालतमा गरेको बकपत्र ।

      प्रतिवादी योगमाया बस्नेतलाई लोकबहादुर बस्नेतको विवाह भएको सम्बन्धमा जानकारी थिएन । जानकारी भएको भए निज योगमायाले दोस्रो विवाह गर्ने थिइनन् । निजहरूलाई बहुविवाहमा सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादीका साक्षी रूपा सिवाकोटीको अदालतमा भएको बकपत्र ।

यसमा मिसिल संलग्न प्रमाणपत्रहरूबाट प्रतिवादी लोकनाथ भन्ने लोकबहादुर बस्नेतले मुलुकी ऐन, विहावरीको महलको ९ नं. को कसूर गरेको देखिँदा निजलाई ऐ. महलको १० नं.बमोजिम १ वर्ष कैद र रू. ५,०००।जरीवाना हुने तथा अर्का प्रतिवादी योगिता भन्ने योगमाया चिमरियाले अभियोग दावीबाट सफाइ पाउने ठहर्छ भन्ने सुरू झापा जिल्ला अदालतको मिति २०६६।१०।१९ को फैसला ।

जाहेरवालीले आफ्नो पतिसँग प्रतिवादी योगिता चिमरियाले विवाह गर्न लागेको थाहा पाई म जेठी पत्नी हुँदाहुँदै मेरो पतिसँग बिहे नगर्न भनी जानकारी गराएको भनी जाहेरीमा किटानसाथ उल्लेख गरेको, प्रतिवादी लोकबहादुरले योगितालाई मिति २०६५।१०।११ मा भगाई दमक लगेको स्वीकार गरेको, प्रतिवादी योगमायालाई लोकबहादुरको जेठी श्रीमती छ भन्ने जानकारी थियो भन्ने थाहा भएको, मौकामा कागज गर्ने विश्वनाथ संग्रौला, हरि संग्रौला, डिल्लीप्रसाद नेपालसमेतले आफ्नो मौकाको भनाई समर्थन गर्दै अदालतमा बकपत्र गरेबाटसमेत प्रतिवादी योगिता भन्ने योगमायालाई जेठी श्रीमती छ भन्ने थाहा भई रहेको अवस्थामा सुरू अदालतले प्रतिवादी योगमायालाई कसूरबाट उन्मुक्ति दिई भएको फैसला त्रुटिपूर्ण हुँदा सो बदर गरी यी प्रतिवादीलाई अभियोग माग दावीबमोजिम सजाय गरिपाऊँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन अदालत, इलाममा दायर भएको पुनरावेदनपत्र ।

प्रतिवादी लोकबहादुर बस्नेतको ठेगाना र कान्छी श्रीमती भै आउने योगिता भन्ने योगमायाको माइतीको वतन बेगलबेगल ठाउँ भएको हुँदा जेठी श्रीमती छोराहरू छन् भनी प्रतिवादी योगमायालाई जानकारी थियो भन्न सकिने अवस्था देखिँदैन । मौकामा बुझिएका व्यक्तिले जानकारी थियो होला भन्ने अनुमानसम्म गरेको देखिन्छ । सामान्यतः सौता छोराछोरी छन् भन्ने जानी जानी सौता छोरा छोरी हुने लोग्ने मानिससँग स्वास्नी भै जाने स्थिति हुँदैन । सौता छ भन्ने जानी जानी बहुविवाह गरेको वा स्वास्नी भै बस्न गएको भन्ने कुरा निर्विवादरूपमा पुष्टि नभएको अवस्थामा दावीअनुसारको सजाय हुन नसक्ने हुँदा प्रतिवादी योगिता भन्ने योगमायालाई पनि अभियोग दावीबमोजिम सजाय हुनुपर्छ भन्ने वादी पक्षको पुनरावेदन जिकीरसँग सहमत हुन सकिएन । तसर्थ, सुरू झापा जिल्ला अदालतबाट मिति २०६६।१०।१९ मा भएको फैसला मिलेकै हुँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, इलामको मिति २०६७।९।१२ को फैसला ।

जाहेरवालीले जाहेरी दिँदा प्रतिवादी लोकबहादुरले योगमायालाई विवाह गर्न लागेको थाहा पाई योगमायालाई भेटी आफू लोकबहादुरको पत्नी भएको जानकारी गराएको उल्लेख गरेको र जाहेरवालीले उक्त जाहेरी व्यहोरा एवं तथ्यलाई समर्थन गरी अदालतमा आई बकपत्रसमेत गरेको देखिन्छ । मौकामा कागज गर्ने विश्वनाथ संग्रौला, हरि संग्रौला, डिल्लीप्रसाद नेपालसमेतले यी प्रतिवादी योगमायालाई लोकबहादुर बस्नेतको अर्को श्रीमती छन् भन्ने थाहा थियो भनी गरेको मौकाको भनाई समर्थन गर्दै अदालतमा समेत आई बकपत्र गरेको अवस्था देखिन्छ । यस्तो अवस्थामा विपक्षी प्रतिवादी योगमायालाई लोकबहादुरको अर्को श्रीमती थियो भन्ने बारेमा जानकारी हुँदाहुँदै विवाह गरेको तथ्य मिसिल संलग्न प्रमाणबाट देखिएको अवस्थामा उक्त प्रमाणको बेवास्ता गरी प्रतिवादी योगमायालाई कसूरबाट उन्मुक्ति दिने गरी भएको पुनरावेदन अदालत, इलामको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी अभियोग दावीबमोजिम फैसला गरिपाऊँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको यस अदालतमा दायर भएको पुनरावेदनपत्र ।

यसमा योगमाया चिमरिया र निजका पति लोकबहादुर बस्नेतको बसोबास एक अर्कासँग जोडिएको गाउँ विकास समितिमा रहेको, योगमायाकी फुपू लोकबहादुरको माइजू नाताको भई पारिवारिक सम्बन्धसमेत नजिकको देखिएको, विवाह गर्न लागेको थाहा पाई विवाह गर्नुअगावै जाहेरवाली जेठी श्रीमतीले योगमाया र निजको बाबुलाई विवाह नगर्न नगराउन सचेत गराएको भनी किटान गरी जाहेरी दिई अदालतमासमेत बकपत्र गरी समर्थन गरेको अवस्थामा लोकबहादुरको पहिले विवाह भएको थियो भन्नेबारेमा यी प्रतिवादीलाई जानकारी थिएन भनी अनुमान गर्न मिल्ने अवस्था नभएको स्थितिमा यी प्रतिविादी योगमायालाई अभियोग दावीबाट सफाइ दिएको सुरू अदालतको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत, इलामको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ३ तथा ५४ को त्रुटि देखिनुका साथै निर्मला यादव विरूद्ध नेपाल सरकार भएको २०६५ सालको फौ.पु.नं. ०५५० को बहुविवाह मुद्दामा यस अदालतबाट फैसला हुँदा लिएको आधारसमेतको विपरीत देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क)(ख) का आधारमा मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिदिएको छ । विपक्षी झिकाई नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०६८।२।१८ को  आदेश ।

नियमबमोजिम पेशीसूचीमा चढी इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान उपन्यायाधिवक्ता श्री शंकरबहादुर राईले जाहेरवालीले प्रतिवादी लोकबहादुरले योगमायालाई विवाह गर्न लागेको थाहा पाई योगमायालाई भेटी आफू लोकबहादुरको पत्नी भएको जानकारी गराएको भनी किटान गरी जाहेरी दिई अदालतमा समेत बकपत्र गरी समर्थन गरेको अवस्थामा लोकबहादुरको जेठी श्रीमती छ भन्नेबारेमा यी प्रतिवादीलाई जानकारी भएको कुरा स्पष्ट भएको स्थितिमा यी प्रतिवादी योगमायालाई अभियोग दावीबाट सफाइ दिएको सुरू अदालतको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत, इलामको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला उल्टी गरी प्रतिवादी योगिता भन्ने योगमायालाईसमेत अभियोग दावीबमोजिम सजाय हुनुपर्दछ भनी गर्नुभएको बहससमेत सुनियो ।

२. उल्लिखित बहस सुनी मिसिलसमेत अध्ययन गरी हेर्दा प्रस्तुत मुद्दामा पुनरावेदन अदालत, इलामको फैसला मिलेको छ छैन, पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्छ सक्दैन भन्ने सम्बन्धमा निर्णय गर्नुपर्ने देखियो ।

३. निर्णयतर्फ विचारगर्दा, वादी नेपाल सरकारले अभियोग दायर गर्दा जाहेरवाली जेठी श्रीमती र निजबाट जन्मेका दुई छोरा हुँदाहुँदै प्रतिवादी लोकबहादुर बस्नेतले योगिता भन्ने योगमाया चिमरिया (बस्नेत) लाई दोस्रो विवाह गरेको र घरमा जाहेरवाली जेठी श्रीमती छन् भन्ने जानी जानी योगिता भन्ने योगमाया चिमरियाले पनि प्रतिवादी लोकबहादुर बस्नेतसँग बहुविवाह गरेको हुँदा प्रतिवादीहरूलाई मुलुकी ऐन, विहावरीको ९ नं. अनुसारको कसूरमा ऐ. को १० नं.बमोजिम सजाय गरिपाऊँ भन्ने दावी लिएको देखिन्छ । सुरू झापा जिल्ला अदालतले प्रतिवादी लोकबहादुर बस्नेतलाई अभियोग दावीअनुसार एक वर्ष कैद र रू. पाँच हजार जरीवाना हुने फैसला गरेकोमा निजको पुनरावेदन नपरेको हुँदा सो सम्बन्धमा केही बोली रहनुपर्ने अवस्था भएन । प्रतिवादीमध्येकी योगमाया चिमरिया (बस्नेत) लाई सुरू अदालत एवं पुनरावेदन अदालत, इलामले अभियोग दावीबाट सफाइ दिने फैसला गरेकोमा सो हदसम्मको फैसला मिलेन भनी वादी नेपाल सरकारको तर्फबाट प्रस्तुत पुनरावेदन दायर भएको देखिँदा प्रतिवादी योगिता भन्ने योगमायालाई बहुविवाहमा सजाय हुने हो होइन भन्ने सम्बन्धमा नै विचार गर्नुपर्ने देखियो ।

४. जाहेरवालीले जाहेरी दिँदा प्रतिवादी योगिता भन्ने योगमाया चिमरिया (बस्नेत) ले लोकबहादुरकी जेठी श्रीमती छ भन्ने कुरा जानी जानी लोकबहादुरसँग विवाह गरेको हुँदा सजाय गरिपाऊँ भन्ने उल्लेख गरेको देखिन्छ । प्रतिवादी योगिता भन्ने योगमायाले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा प्रतिवादी लोकबहादुरसँग विवाह गर्नुभन्दाअगाडि निज लोकबहादुर बस्नेतको घरमा श्रीमती र बालबच्चाहरू छन् भन्ने कुरा मलाई थाहा थिएन । विवाह गरी निजको घरमा गई सकेपछि निजको जेठी श्रीमती र बच्चाहरूसमेत रहेको थाहा पाएकी हुँ । श्रीमती छ भन्ने कुरा थाहा नभएकोले विवाह गरेको हो भनी बयान गरेको र अदालतमा समेत सोही व्यहोरा उल्लेख गरी बयान गरेको देखिन्छ । प्रतिवादी लोकबहादुर बस्नेतले समेत अनुसन्धान अधिकारी र अदालतमा आई बयान गर्दा कान्छी श्रीमती योगिता भन्ने योगमायालाई घरमा सौता छ भन्ने कुरा आफूले नभनेको र सो कुरा योगमायालाई थाहा नभएको भनी उल्लेख गरेको देखिन्छ । प्रतिवादीहरू लोकबहादुर बस्नेतको वतन झापा जिल्ला, बुधबारे गाउँ विकास समिति वडा नं. २ रहेको देखिन्छ भने योगमायाको माइतीतर्फको वतन जिल्ला झापा, खुदुनाबारी गाउँ विकास समिति वडा नं. ७ उल्लेख भएको देखिँदा फरकफरक गा.वि.स. मा बसाई भएको कारणले निज प्रतिवादी योगिता भन्ने योगमायालाई लोकबहादुरको जेठी श्रीमती र छोराछोरीसमेत छन् भन्ने विषयमा जानकारी थियो भनी भन्न सकिने अवस्था पनि देखिन्न ।

      ५. जहाँसम्म नाताको हिसाबले प्रतिवादी योगितालाई लोकबहादुर पूर्वविवाहित व्यक्ति भएको जानकारी थियोकि भनी विचार गर्दा जाहेरवालीले योगमायाकी फुपू लोकबहादुरको माइजू नातापर्ने हुँदा लोकबहादुर विवाहित भएको कुरा योगमायालाई पहिले नै थाहा थियो भनी जाहेरी दिएको र सोही आधारमा प्रस्तुत मुद्दामा मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भएको पाइन्छ । प्रस्तुत मुद्दाको मिसिल हेर्दा प्रतिवादी योगमायाले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा लोकबहादुरसँग मिति २०६५।१०।११ मा विवाह हुनुभन्दा ८/१० दिन अगाडिमात्र चिनजान भई घरबाट भागेर हिंडी मन्दिरमा गई विवाह गरेको हो भन्ने व्यहोरा उल्लेख गरेको देखिँदा नाता पर्ने नपर्ने विषयमा यकीन गर्न सकिने कुनै आधार दुबै पक्षबाट आउन सकेको पाइएन । तथापि प्रतिवादीबीच लामो समयको चिनजान नभएको र अभिभावकको सहमतिमा नभई आँफै प्रेम विवाह गरेको देखिँदा प्रतिवादी योगमायाकी फुपू लोकबहादुरको माइजू नाता पर्ने भन्ने आधारमा मात्रै योगमायालाई लोकबहादुर पूर्वविवाहित व्यक्ति भएको भन्ने जानकारी थियो भनी पक्कारूपले भन्न सकिने स्थिति नहुँदा यस अदालतबाट निस्सा प्रदान गर्दा लिएको आधारसँग सहमत हुन सकिएन ।

६. सामान्यतः कुनै अविवाहित महिला घरमा श्रीमती रहेको विवाहित पुरूष हो भन्ने थाहा जानकारी हुँदाहुँदै त्यस्तो पुरूषसँग विवाह गरी जाने स्थिति प्रायः हुँदैन । फौजदारी मुद्दामा अनुमानकै भरमा कसूरदार कायम गर्नु न्यायोचित हुँदैन । बहुविवाहमा नजानी सौता हुन जाने काममा सौता हुन जाने महिला नै अन्जानवश पीडित हुन पुगेको अवस्था पनि हुन्छ । तसर्थ यस्तो स्थितिलाई साबधानीपूर्वक हेरिनुपर्दछ । अनजानवश सौता भई पीडित हुन पुगेको अवस्थामा सबूद प्रमाणको अभावमा कसूरदार कायम गरी सजाय गर्नुबाट झन पीडा थपिने कार्य हुन जान्छ । तसर्थ, अन्जानमा सौता हुन जाने महिलालाई उसको हुने पतिको पहिले नै विवाह भई अर्को श्रीमती भएको भन्ने तथ्यको जानकारी उसलाई थियो भन्ने स्पष्ट प्रमाणको अभावमा कसूरदार ठहर गरी सजाय गर्न मिल्दैन । प्रस्तुत मुद्दामा मिसिल संलग्न प्रमाणबाट प्रतिवादी योगिता भन्ने योगमाया चिमरिया लोकबहादुरको घरमा जेठी श्रीमती एवं छोराहरूसमेत छन् भन्ने कुरा जानी बुझिकन विवाह गरेको हो भन्ने तथ्य निर्विवादरूपमा पुष्टि हुन सकेको देखिन्न ।

७. मुलुकी ऐन, विहावरीको महलको १० नं. मा कसैले यो महलको ९ र ९क नम्बरमा लेखिएको कुराको विपरीत अर्को विवाह गरेमा वा स्वास्नी राखेमा निजलाई एक वर्षदेखि तीन वर्षसम्म कैद र पाँच हजार रूपैयाँदेखि पच्चीस हजार रूपैयाँसम्म जरीवानासमेत हुनेछ । स्वास्नीमानिसले जानी जानी त्यस्तो विवाह गरेमा वा स्वास्नी भै बसेमा निजलाई पनि सोहीबमोजिम सजाय हुनेछभन्ने व्यवस्था रहेको पाइन्छ । उक्त कानूनी व्यवस्थाअनुसार स्वास्नी मानिसले बहुविवाह गर्न कानूनले रोक लगाएको व्यक्ति हो भन्ने थाहा जानकारीबिना कुनै पुरूषसँग विवाह गरेको अवस्थामा सजाय हुने कानूनी व्यवस्था भएको देखिन्न ।    

८. तसर्थ, प्रतिवादी योगमाया योगिता भन्ने योगमाया चिमरिया (बस्नेत) लाई प्रतिवादी लोकबहादुर बस्नेत विवाहित पुरूष भन्ने पूर्वजानकारी भएको नदेखिएकोले निज प्रतिवादी योगिता भन्ने योगमाया चिमरिया बस्नेतलाई बहुविवाहमा सजाय नहुने ठहर गरेको पुनरावेदन अदालत, इलामको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु ।

का.मु.प्र.न्या. दामोदरप्रसाद शर्मा

 

इति संवत् २०७० साल असार २४ गते रोज २ शुभम्

 

इजलास अधिकृत (उप सचिव) : शिवप्रसाद खनाल 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु