शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८०४६ - अंश दर्ता चलन

भाग: ५० साल: २०६५ महिना: चैत्र अंक: १२

निर्णय नं.८०४६    २०६५ चैत,अङ्क १२

 

सर्वोच्च अदालत, संयुक्त इजलास

सम्माननीय प्रधानन्यायाधीश श्री केदारप्रसाद गिरी

माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ

संवत् २०५८ सालको दे.पु.नं. ....... ७५६९

फैसला मितिः २०६५।१२।५।४

 

मुद्दा :अंश दर्ता चलन ।

 

      पुनरावेदक/प्रतिवादीः मकवानपुर जिल्ला मनहरी गा.वि.स.७ बस्ने रुक्मीणी ढुङ्गाना मरी मु.स. गरी आफ्नो हकमा समेत ऐ.ऐ. बस्ने थिरप्रसाद ढुंगाना समेत

विरुद्ध

      प्रत्यर्थी/ वादीः मकवानपुर जिल्ला मनहरी गा.वि.स. ७ बस्ने नीलप्रसाद ढुंगाना

 

      यस अदालतवाट अ.बं.१३९ नं.बमोजिम बुझी प्रतिवादीको हैसियतमा कारणी सरह तारेखमा      रहेका ऐ.ऐ. बस्ने देवराज ढुंगाना समेत

 

शुरु निर्णय गर्ने :

मा.जि.न्या. विश्वम्भरप्रसाद श्रेष्ठ

पुनरावेदन निर्णय गर्नेः

मा.मु.न्या.श्री परमानन्द झा

मा.न्या.श्री हरिबहादुर बस्नेत

 

§  पैत्रिक सम्पत्तिबाट कुनै पनि अंशियारलाई विमुख वा निरअंशी बनाउन नहुने मान्यता अंशवण्डासम्बन्धी प्रचलित कानूनले आत्मसात् गरेको देखिनुका साथै पैत्रिक सम्पत्तिको अंशियारहरू बीच नरमगरम र रोखपोख मिलाई वण्डा गर्नुपर्ने भन्ने विषय अंशवण्डाको कानूनी दायराभित्र पर्ने ।

§  अंश पाएको जग्गा विक्री गरी बसाइ सरी गएको समेतको अवस्थामा अंशियारहरूको श्रीमती र छोराहरूले समेत स्वतन्त्र व्यवहार गरिसकेको अवस्थामा सबै प्रतिवादीहरूको लामो समयदेखिको आपसी व्यवहार खलवलिने गरी पुनःवण्डा गर्नु भन्दा हाल मृत्यु भइसकेको नाउँको पूरै सम्पत्तिबाट वादीले अंश पाउने ठहर गर्नु उचित र न्यायसम्मत नहुने ।

(प्रकरण नं.११)

 

पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री ज्ञानेन्द्रप्रसाद पोखरेल

प्रत्यर्थी वादी तर्फवाटःविद्वान अधिवक्ता श्री रबीन विडारी

अवलम्वित नजीरः

सम्बद्ध कानूनः मुलुकी ऐन अंशवण्डाको ३० नं.

 

फैसला

न्या.रामप्रसाद श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत पुनरावेदन अदालत हेटौंडाको मिति २०५८।२।७ को फैसला उपर प्रतिवादीहरूको तर्फबाट यस अदालतमा पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :

हामी वादी प्रतिवादीहरू अंशियार नाताका हौं । हाम्रो अरु अंशियारहरू छैनन् । हामी बीचमा अंशवण्डा भएको छैन । अंश पाऊँ भनी सरसल्लाह हुँदा जेठा दाजुले आलटाल गरी मिलाउन मान्नु भएन । म फिरादीलाई अन्याय पर्न गएकाले वाध्य भै यो फिराद दिन आएको छु। फिराद परेको मितिलाई मानो छुट्टिएको मिति कायम गरी अंशवण्डाको २०,२१,२२,२३,२४ नं.समेतको आधारमा तायदाती लिई, ९ भाग गरी, त्यसबाट १ भाग मेरो अंश छुट्याई, मेरो नाउँमा दर्ता गराई, चलन समेत चलाई पाउँ भन्ने समेत व्यहोराको फिराद दावी ।

वादी दावी झुठ्ठा हो । वादी र हामीहरू अंशियार भएकोमा विवाद छैन । तर हाम्रो अंश भाग घरसारमै छुट्टिभिन्न भैसकेकोले हामीले वादीलाई अंश दिनुपर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादीहरूको संयुक्त प्रतिउत्तर जिकिर ।

प्रतिवादी रुद्र प्रसाद ढुंगानाको नाउँको ३० दिने इतलायनामा म्याद मिति २०५२।१२।२८ मा तामेल भएकोमा म्याद भित्र प्रतिउत्तर नफिराई म्याद गुजारी बसेको ।

लिखतमा लागेको चुडामणी शर्मा ढुंगानाको सहीछाप हो, होइन मलाई थाहा छैन । लिखत मलाई भएको थाहा छैन । लिखत सद्दे भए त्यस कागजमा हामी सबै अंशियारको नाम सही समेत गर्नुपर्ने थियो । हामी कसैको नाम र सही समेत नभएको लिखत हाम्रो हित विरुद्ध हुने गरी पेश गरेकोले उक्त लिखत सद्दे होइन, जालसाजी हो भन्ने व्यहोराको वादी निल प्रसाद ढुंगानाले जिल्ला अदालतमा गरेको बयान ।

लिखत जालसाजी होइन, सद्दे लिखत हो । उहाँले पहाडको अंश लिएर आफ्नो भाग बिक्री गरी निकै पछि यही ज्यामिरेमा आएर जग्गा किनी बस्नु भएको हो । लिखत जालसाजी भए अंश लिई बसी सकेको भनी उक्त लिखत पेश गर्नुपर्ने कुरै आउंदैन । लिखत हुँदा सबै काकाहरू घरमा नभएकोले नाम नलेखेको र सही नगरेको हो । चुडामणीले आफ्ना बाबु कुलानन्दसंग अंश बुझी सकेका छन् । उनी सगोलका होइनन् भन्ने व्यहोराको प्रतिवादी वारेस समेत चुडामणी ढुंगानाले शुरु अदालतमा गरेको बयान ।

वादीको आफ्नो नाममा रहेको केही जग्गाहरू बिक्री वितरण गरेको कुरा राजिनामाको प्रतिलिपी र वादीले मिति २०५४।१।१० मा गरेको कागजबाट देखिन आएको छ । अन्य प्रतिवादीहरूले आमा बाबुबाट जग्गा राजिनामा लिई आपसमा लेनदेन व्यवहार समेत गरी सकेको भने कुरा प्रमाणहरूबाट देखिन आएकोले वादीले आमा प्रतिवादी रुकमिणी ढुंगानाबाट सम्म अंश पाउने ठहर्छ । अन्य प्रतिवादी समेतबाट अंश पाउँ भन्ने वादी दावी नपुग्ने ठहर्छ । वादीले पेश गरेको तायदातीमा उल्लेखित जग्गा स्वःआर्जनको भनी उल्लेख गरेको कुरालाई प्रतिवादीले कुनै विरोध नगरेको हुँदा सो तायदातीमा उल्लेखित जग्गा वण्डा नलाग्ने भई प्रतिवादी रुक्मिनि ढुंगानाले पेश गरेको तायदातीबाट वादीले आधा भाग अंश छुट्याई निजको नाउँमा दर्ता भई चलन समेत चलाई पाउने ठहर्छ भन्ने समेत शुरु मकवानपुर जिल्ला अदालतबाट मिति २०५५।३।३ मा भएको फैसला।

मकवानपुर जिल्ला अदालतबाट नरम गरम नमिलाई गरेको फैसला उपर मेरो चित्त बुझेन। अंश भनेको समन्यायको हिसावमा नरम गरम गरी बराबर पारी वाड्ने सिद्धान्तमा आधारित छ । त्यस तर्फ शुरु फैसला मौन छ । फैसला न्यायसंगत छैन । सडक किनाराका राम्रा जग्गाहरू अरु अंशियारले जथाभावी रुपमा लिए, आमाको भागमा केवल खोलाको वगरमात्र बाँकी छ । सबै प्रतिवादीले गरेका लिखतहरूमा लेनदेन व्यवहार देखाए तापनि उक्त सवै लिखतका जग्गा पैतृक सम्पत्ति नै हुन् । पैतृक सम्पत्ति भएको हुदा लेनदेनको कुनै औचित्य छैन । अंश भनेको जन्मसिद्ध रुपमा पाउने सारवान अधिकार हो । प्रमाण ऐनको दफा ६ को पनि न्यायालयले ज्ञान राख्नु पर्दछ । अतः शुरुको फैसलाको दृष्टिकोणमा नरम गरम गरी अंश गर्ने तर्फ ध्यान नपुर्‍याईएकोले शुरुको फैसला उल्टी गरी नरम गरम मिलाई अंश हुने फैसला गरिपाऊँ भन्ने समेत व्यहोराको वादीको तर्फबाट पुनरावेदन अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

यसमा शुरु जिल्ला अदालतले अन्य अंशियारहरूको बीचमा भएको लिखतलाई आधार बनाई केवल आमा रुक्मीणी ढुंगानाबाट मात्र अंश पाऊँ भन्ने फैसला गरेकोमा सो लिखतमा वादीको संलग्नता नदेखिएको अवस्थामा शुरुको निर्णय फरक पर्न सक्ने देखिंदा अ.वं.२०२ नं.बमोजिम छलफलको निमित्त विपक्षी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालतको आदेश ।

यसमा प्रमाणमा आएको लिखतहरूमा यी पुनरावेदक वादी धनी ऋणी नभएको र साक्षी समेत बसेको नदेखिएको, पुनरावेदक वादीका नाउँमा पैत्रिक सम्पत्ति नामसारी दर्ता गर्दा दाखिला भई भोग बिक्री व्यवहार भएको तथ्ययुक्त प्रमाण नभएको र पुनरावेदक कानून बमोजिम अंश बुझी छुट्टिभिन्न भएको नदेखिएको हुँदा रुक्मीणी ढुगानासंग मात्र अंश पाउने भन्ने शुरुको फैसला रहे तर्फ पुनरावेदन नपरेको समेत देखिंदा रुक्मीणी ढुंगाना बाहेक अन्य बाँकी प्रतिवादीहरूबाट समेत वण्डा गर्नुपर्ने चल अचल सम्पत्तिको तायदाती फांटवारी अंशवण्डाको २०,२१,२२,२३ नं. बमोजिम दाखिला गराई पेश हुन आएको तायदाती फांटवारीको मोलको नपुग कोर्ट फी समेत पुनरावेदक वादीबाट लिई नियमानुसार पेश गर्नु भन्ने व्यहोराको पुनरावेदन अदालतको आदेश ।

यस अदालतको आदेशानुसार पुनरावेदक वादी निल प्रसाद ढुगाना र प्रतिवादीहरूको तर्फवाट यस अदालतमा पेश भएको तायदाती विवरण मिसिल संलग्न रहेको ।

यसमा वादी प्रतिवादीले पेश गरेको तायदातीहरूमा कि.नं.नखुलेकोमा सम्बन्धित पक्षबाट नै कि.नं. खोल्न लगाई र सम्पूर्ण सम्पत्तिको दर्ता समेत सम्बन्धित मालपोत कार्‍यालयबाट बुझी तथा सवारी साधनको हकमा सो सवारी धनीको प्रमाण पत्रको छायाप्रति सम्बन्धित अड्डाबाट झिकाई आएपछि नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालतको आदेश ।

सवै प्रतिवादीहरूबाट तायदाती फाँटवारी माग गरी दावी बमोजिम वण्डा गरी दिनुपर्नेमा प्रत्यर्थी प्रतिवादी मध्ये रुक्मीणी ढुंगानासंग मात्र वादीले अंश पाउने ठहर गरेको शुरु मकवानपुर जिल्ला अदालतको फैसला केही उल्टी भई प्रत्यर्थी प्रतिवादीहरूबाट यस अदालतको २०५६।१०।१० को आदेश बमोजिम प्राप्त तायदाती फाँटवारीमा उल्लेख भएको सम्पत्तिबाट समेत ९ भागको १ भाग अंश छुट्टयाई लिन पाउने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत हेटौंडाको मिति २०५८।२।७ को फैसला ।

पुनरावेदन अदालतको उक्त फैसलामा चित्त बुझेन । स्व. बाबु कुलानन्दले आफ्नो जीवन कालमा छोरा चुडामणीलाई ०३१।९।२९ मा अंश भर्पाइ गरी अंश छुट्टयाई दिनु भएको हो । त्यस पछि उमेर पुग्दै जाँदा कान्छो होतनाथ बाहेकका सबै छोरालाई उहाँले नै अंश दिईसक्नु भएको छ। वादीलाई पनि निजगढको जग्गा पहिले नै अंश वापत दिनु भएको र हामी प्रतिवादीहरूले पनि विभिन्न राजिनामा लिखतबाट अंश बुझी सकेको हो भनी प्रतिउत्तर पत्रमानै प्रष्ट गरेका छौं । ०५१ साल कार्तिकमा पिताको मृत्यु भएको पछि म होतनाथले ०५२ सालमा आमाबाट अंश वापतको जग्गा बक्सपत्र लिखत गरी बुझी लिएको छु । रीतपूर्वकको अंशवण्डाको लिखत नभएपनि अंशियार अंशियार बीच आपसमा राजिनामा पारीत गरी लिनुदिनु भएका उल्लिखित सम्पत्ति अंश वापत बुझी लिएको हो भन्ने वादी बाहेकका सम्पूर्ण प्रतिवादीको भनाई रहेकोले मुलुकी ऐन, अंशवण्डाको ३० नं. बमोजिम व्यवहार प्रमाणबाट छुट्टिभिन्न भैसकेको स्पष्ट छ । स्वयं वादीले समेत निजको नाउँ दर्ताको जग्गा अन्यत्र राजिनामा पारित गरिदिएका छन् । त्यस उपर हामी अंशियारहरूको उजूर बाजूर नरहेबाट समेत हामीहरू छुट्टिभिन्न भएको प्रमाणित भई रहेको छ । अरु अंशियारले बाबु आमाबाट राजिनामा वा बक्सपत्रको माध्यमबाट अंश प्राप्त गरेको अंश जस्तै लिखतको अभावमा हाल आमा रुक्मीणी ढुंगानाको नाममा रहेको जग्गाबाट मात्र वादीले अंश पाउने व्यवहारिक स्थिति छ । अतः पुनरावेदन अदालतको फैसला उल्टी गरी शुरु मकवानपुर जिल्ला अदालतको फैसला सदर कायम गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी रुक्मीणी ढुंगाना समेतको यस अदालत समक्षको पुनरावेदन पत्र ।

यसमा वादी नीलप्रसाद ढुंगानाले जिल्ला अदालत मकवानपुरले गरेको फैसला उपर पुनरावेदन अदालतमा पुनरावेदन गर्दा देवराज ढुंगाना, वेदनाथ ढुंगाना र निजको श्रीमती खड्ग कुमारीलाई विपक्षी बनाइएको देखिदैन । तर फैसला गर्दा निजहरूलाई अ.वं. १३९ नं. अनुसार बुझ्दै नबुझी निजहरूको नाउँमा दर्ता रहेको जग्गा समेत वण्डा गर्ने गरी पुनरावेदन अदालत हेटौंडाले गरेको फैसला फरक पर्न सक्ने भएकोले अ.वं. २०२ नं. बमोजिम छलफलको निमित्त विपक्षी झिकाई पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको आदेश ।

यस अदालतको मिति २०६२।३।२९ को आदेश बमोजिम देवराज ढुंगाना, वेदनाथ ढुंगाना र खड्ग कुमारी ढुंगानालाई अ.वं.१३९ बमोजिम तायदाती फाँटवारीमा उल्लेखित निजहरूको नाउँको जग्गाको सम्बन्धमा बुझ्न सूचना जारी गरी सामेल गराई उपस्थित भए कागज गराउनु भन्ने यस अदालत संयुक्त इजलासको मिति २०६४।६।९ को आदेश ।

यसमा अ.वं. १३९ नं. बमोजिम बुझिएका देवराज ढुंगाना, बेदनाथ ढुंगाना र खड्ग कुमारी ढुंगानाको वारेस भई आज बयान गर्ने मान प्रसाद ढुंगाना कारणी सरह देखिएको र निज प्रस्तुत मुद्दाको तारेखमा रहेको देखिंदा कानून बमोजिम गर्नु भन्ने समेत यस अदालत संयुक्त इजलासको मिति २०६४।११।२१ को आदेश ।

नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी र अ.वं. १३९ नं. बमोजिम यस अदालतबाट बुझिदा कारणी सरह देखिई तारेखमा रहेका प्रतिवादीहरू समेतको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री ज्ञानेन्द्र प्रसाद पोखरेलले वादी प्रतिवादीहरू व्यवहार प्रमाणबाट छुट्टिभिन्न भैसकेको अवस्था छ । बाबु कूलानन्दसंग ०३१ सालमा अंश भर्पाइ गरी चुडामणी तथा अन्य छोराहरू ०३४ वैशाखमा छुट्टिभिन्न भएको हो । ०३८ सालमा बाबुबाट प्रतिवादी थिरप्रसादले तथा ०३९ सालमा लोकनाथ र वेदनाथले राजिनामा पारीत गरी अंशमा पाएको जग्गा छुट्टयाई लिएको तथा कान्छा होतनाथले ०५२ सालमा आमा रुक्मिणीबाट अंश वापतको जग्गा बक्सपत्र पारीत गरी लिएको अवस्था छ । लोकनाथ र वेदनाथ बीच ०५१ सालमा लेनदेनको कागज भएको छ । वादीले पनि आफ्नो अंश भाग वापत निजहरूको जग्गा पाएकोमा सो जग्गा बिक्री गरी पुनः अर्क जग्गा किनी सकेका छन् । सबै अंशियारहरूका नाउँमा जग्गा दर्ता छ । क्षेत्रफल र नरम गरमको अवस्था पनि करिव करिव समानै छ । वादीले बाबु कुला नन्द र आमा रुक्मिणीबाट अन्य अंशियारले जस्तै लिखत पारीत गरी अंश बुझेको नदेखिएको मान्ने हो भने पनि रुक्मीणीको नाउँमा रहेको सम्पत्तिबाट वादीले अंश पाउने हो । रुक्मिणीको मृत्यु भइसकेको अवस्था हुँदा निजको नाउँमा रहेको पूरै सम्पत्ति वादीलाई अंश दिंदा अन्य प्रतिवादीहरूको व्यवहार नविग्रने अवस्था आउंछ । अतः पुनरावेदन अदालतको फैसला उल्टी गरी शुरुको इन्साफ सदर कायम गरिनु पर्दछ भन्ने समेत वहस प्रस्तुत गर्नु भयो ।

प्रत्यर्थी वादीका तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री रविन विडारीले वादी र प्रतिवादी बीच अंशवण्डा भएको छैन । रित पूर्वकको लिखतको अभावमा अंशवण्डा भएको मान्न मिल्ने अवस्था छैन । ०३१ सालको अंश भर्पाई तथा ०३८, ०३९ र ०५२ सालमा पारीत भएका लिखतमा वादी साक्षी बसेको वा निजको मन्जूरी नलिइएकोले त्यस्ता लिखतका आधारमा वादीले अंश पाइसकेको अर्थ गर्न मिल्दैन । ०३४।९।२७ अगावै घरसारमा छुट्टिएको अवस्थामा व्यवहार प्रमाणवाट छुट्टिभिन्न भएको मान्न मिल्ने हो । ०३८ र ०५२ सालमा पारीत भएका लिखतले व्यवहार प्रमाणबाट छुट्टिभिन्न भएको ठहर गर्न मिल्दैन । अंशियार भएको कुरामा मुख मिलेकै छ । वादीले अंश पाएको भन्ने देखिएको छैन । यस्तो अवस्थामा प्रमाण ऐन, २०३१ को दफा ६(क) बमोजिम सगोलमा रहेको जुनसुकै सम्पत्तिबाट वादीले अंश पाउने अवस्था रहेको हुँदा यस अदालतबाट प्रत्यर्थी झिकाउंदा लिएको आधार मिलेको छैन । पुनरावेदन अदालतको फैसला कानून सम्मत हुँदा सदर गरिनु पर्दछ भन्ने समेत वहस गर्नुभयो ।

आज निर्णय सुनाउन तारेख तोकिएको प्रस्तुत मुद्दामा दुवै पक्षका कानून व्यवसायीहरूले गर्नु भएको उपर्युक्त वहस जिकिर मनन् गरी पुनरावेदनपत्र सहितको मिसिल कागजात अध्ययन गरी हेर्दा देहायका विषयहरूमा केन्द्रीत रही निर्णय दिनुपर्ने हुन आएको छ :

 

(१)    पुनरावेदक प्रतिवादीहरू र प्रत्यर्थी वादी एकासगोलका अंशियार हुन वा व्यवहार               प्रमाणबाट छुट्टिभिन्न भैसकेको अवस्था देखिन्छ ?

(२)   शुरुको फैसला केही उल्टी गरेको पुनरावेदन अदालतको फैसला मिलेको छ, छैन ?            पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ?

 

२.    निर्णय दिनुपर्ने हुन आएको प्रथम प्रश्नको सम्बन्धमा बिचार गर्दा, प्रत्यर्थी वादी र पुनरावेदक प्रतिवादीहरू बीच अंशियार नाता सम्बन्धमा कुनै विवाद देखिएको छैन । अंशवण्डा नभएकोले अंश पाऊँ भनी माग गर्दा प्रतिवादीहरूले नदिएकोले ९ खण्डको १ खण्ड अंश दिलाई पाऊँ भन्ने प्रत्यर्थी वादीको फिराद दावीमा वादी तथा आफूहरू समेतका अंशियारहरू व्यवहार प्रमाणबाट छुट्टिभिन्न भैसकेकोले वादीलाई अंश दिनुपर्ने होइन भन्ने नै पुनरावेदक प्रतिवादीहरूको प्रतिउत्तर जिकिर भई त्यसै विषयमा दुईपक्ष बीच मुख नमिली विवाद उत्पन्न भएको देखिन्छ । सुरुले स्व.कुलानन्द र वादी बाहेकका निजका अन्य ७ भाइ छोराहरू व्यवहार प्रमाणबाट छुट्टिभिन्न भईसकेको भनी वादीले निजको आमा प्रतिवादी रुक्मीणी ढुंगानाबाट मात्र अंश पाउने भनी गरेको निर्णय केही उल्टी गरी ९ भागको १ भाग अंश पाउने ठहर्‍याएको पुनरावेदन अदालतको निर्णय उपर चित्त नबुझाई पुनरावेदक प्रतिवादीहरूको प्रस्तुत पुनरावेदन पर्न आएको देखिएको छ । प्रतिवादीहरू व्यवहार प्रमाणबाट छुट्टिभिन्न भैसकेको हुँदा पुनरावेदन अदालतको फैसला उल्टी गरी रुक्मीणी ढुंगानाबाट मात्र अंश पाउने ठहर्‍याएको शुरुको इन्साफ सदर कायम गरिनु पर्दछ भन्ने पुनरावेदक प्रतिवादीहरूको मुख्य पुनरावेदन जिकिर रहेको देखिन्छ। वादीले पुनरावेदन अदालतमा विपक्षी नै कायम नगरेका देवराज, वेदनाथ र खड्ग कुमारीलाई बुझ्दै नबुझी निजहरूको सम्पत्ति समेत वण्डा लाग्ने ठहर्‍याएको पुनरावेदन अदालतको फैसला फरक पर्न सक्ने देखिएको भन्ने समेत आधारमा यस अदालतबाट प्रत्यर्थी झिकाउने आदेश भएको रहेछ ।

३.    प्रत्यर्थी वादीले प्रतिवादी मध्येको रुक्मीणी ढुंगानावाट अंश पाउने ठहर्‍याएको सुरुको फैसला उपर कुनै पनि प्रतिवादीहरूको पुनरावेदन अदालतमा पुनरावेदन नपरेको र यस अदालत समक्षको पुनरावेदन पत्रमा समेत बादीले निजवाट अंश पाउने ठहर्‍याएको सुरु फैसला सदर हुन जिकिर लिएको देखिदा प्रतिवादीहरूले नै स्वीकार गरेको त्यस विषयमा थप चर्चा गर्न आवश्यक देखिएन । शुरुले प्रतिवादी रुक्मीणी ढुंगानाको सम्पत्तिवाट बादीले आधा अंश पाउने ठहर गरेकोमा हाल निजको मृत्यु भई सकेको भन्ने देखिएकोले रुक्मीणी ढुंगानाका नाउँमा रहेको सवै सम्पत्तिबाट वादीले अंश पाउने तथ्य निर्विवाद देखियो ।

४.    बाबु कुलानन्द र आमा रुक्मीणीवाट विभिन्न लिखत मार्फत आफुहरूले अंश बुझी लिई व्यवहार प्रमाणबाट छुट्टिभिन्न भई सकेको हुँदा छुट्टिभिन्न भएको अंशियारहरूवाट बादीले अंश पाउने होइन भन्ने नै पुनरावेदक प्रतिवादीहरूको मुख्य जिकिर रहेकोले त्यसै सम्बन्धमा विश्लेषण गर्नुपर्ने हुन आएको छ । यसको लागि सर्वप्रथमतः कस्तो अवस्थामा व्यवहार प्रमाणबाट छुट्टिभिन्न भएको मान्न मिल्ने रहेछ भन्ने सम्बन्धमा मुलुकी ऐन अंशवण्डाको ३० नं. को कानूनी व्यवस्थालाई नै हेर्नुपर्ने हुन्छ । उक्त ३० नं.को कानूनी व्यवस्था यस प्रकार रहेको छ :

 

३० नं. ।। ।।

अंशवण्डा गर्दा साक्षी राखी कानून बमोजिम वण्डा छुट्टयाई वण्डापत्रको कागज खडा गरी लिने दिनेको र साक्षीको समेत सहीछाप गरी रजिष्ट्रेशन गर्नुपर्नेमा सो गरी राख्नु पर्छ । सो बमोजिम नभएको बण्डापत्र सदर हुंदैन । तर यो ऐन प्रारम्भ हुँदा सम्ममा वण्डापत्र खडा गरी वा नगरी घरसारमा नरम गरम मिलाई अचल अंशवण्डा गरी छुट्टिई आफ्नो आफ्नो हिसाव भाग शान्तिबमोजिम लिई पाई दाखेल खारेज समेत गराई सकेको वा वण्डा बमोजिम आफ्नो आफ्नो भागको अचल छुट्टाछुट्टै भोग बिक्री व्यवहार गरेकोमा व्यवहार प्रमाणबाट वण्डा भई सकेको ठहरेमा पछि वण्डापत्र रजिष्ट्रशन भएको छैन वा घटिबढी असल कमसल भयो भन्न पाउंदैन । रजिष्ट्रेशन नभए पनि वण्डा भएको सदर  हुन्छ । पाउने अंश भन्दा घटी अंश जीउनी लिएकोमा र अंश छोडपत्र गरेकोमा भन्ने रजिष्ट्रेशन भएको हुनु पर्छ ।

५.    उक्त कानूनी व्यवस्था बमोजिम व्यवहार प्रमाणबाट छुट्टिभिन्न भएको भनी मान्न खासगरी देहायका तीन प्रमुख अवस्थाको विद्यमानता रहनु पर्ने देखिन्छ :

 

(१)    उक्त दफा प्रारंभ हुँदा सम्म अर्थात ०३४।९।२७ सम्म वण्डापत्र खडा गरी वा नगरी                   घरसारमा नरम गरम मिलाई अचल अंशवण्डा गरी छुट्टिएको,

(२)   आआफ्नो हिसाव भागशान्ति बमोजिम लिई पाई दाखेल खारेज समेत गराई               सकेको र

(३)   वण्डाबमोजिम आआफ्नो भागको अचल छुट्टाछुट्टै भोग बिक्री व्यवहार गरेको ।

 

६.    उक्त कानूनी व्यवस्थाको व्याख्या गर्दै यस अदालतको वृहद पूर्ण इजलासबाट पुनरावेदक प्रतिवादी चिज कुमार श्रेष्ठ विरुद्ध प्रत्यर्थी वादी रामकुमार जीवनमित्रको मु.स. गर्ने भोला श्रेष्ठ समेत भएको सम्वत् २०४७ सालको दे.पु.ई.नं.१०० को अंश मुद्दामा मुलुकी ऐन (सातौं संशोधन २०३४।९।२७) द्वारा संशोधित अंशवण्डाको ३० नं.बमोजिम ०३४।९।२७ सम्ममा व्यवहार प्रमाणबाट छुट्टिएको स्थिति देखिनको लागि वण्डापत्र खडा गरी वा नगरी घरसारमा नरम गरम मिलाई अचल अंशवण्डा गरी छुट्टिई आफ्नो आफ्नो हिसाव भाग शान्ति बमोजिम लिई पाई दाखेल खारेज समेत गराई सकेको वा वण्डा बमोजिम आआफ्नो भागको अचल छुट्टा छुट्टै भोग बिक्री व्यवहार गरेको हुनु पर्नेभन्ने समेत सिद्धान्त प्रतिपादन भई ने.का.प. २०५२, नि.नं. ५०४७, अंक २, पृष्ठ ११४ मा प्रकाशित भएको देखिन आएको छ ।

७.    प्रस्तुत मुद्दामा उल्लिखित कानूनी व्यवस्था र प्रतिपादित सिद्धान्त अनुरुपको अवस्था छ, छैन ? भनी तथ्यगत आधारहरूतर्फ हेरिंदा स्व.कूलप्रसाद र रुक्मीणी ढुंगानाका ८ जना छोराहरू मध्ये वादी पनि एक रहेको र प्रस्तुत अंश मुद्दामा आमा रुक्मीणी तथा अन्य सात दाजुभाईहरूलार्ई प्रतिवादी कायम गरिएको देखिन्छ । कान्छा छोरा अर्थात पुनरावेदक प्रतिवादी मध्येका होतनाथले ०५१ सालमा बाबुको परलोक भए पश्चात आमा रुक्मिणीबाट ०५२ सालमा अंश वापतको जग्गा हालैको बक्सपत्र लिखत मार्फत बुझी लिएको र वादी बाहेकका अन्य छोराहरूले ०३१ सालदेखि ०३९ सालसम्म विभिन्न मितिमा घरायसी लिखत तथा पारीत राजिनामा लिखत बमोजिम अंश बुझी लिएकोले बाबु आमाबाट निजहरू छुट्टिभिन्न भएको भन्ने जिकिर लिएको पाइन्छ ।

८.    प्रतिवादी मध्येका चुडामणीले बाबु कुलानन्दबाट ०३१।९।२९ को घरायसी कागजबाट अंश बुझी लिएको भन्ने प्रतिउत्तर जिकिर गरी सो कागज प्रमाण स्वरुप पेश भएको देखिएको छ। निज प्रतिवादी चुडामणीले यस अदालतमा पुनरावेदन गरेको नदेखिए पनि सुरु अदालतमा उक्त लिखतका सम्वन्धमा अन्य प्रतिवादीहरूको वारेश समेत भई गरेको वयानमा अंशवण्डाको लिखत सद्दे साँचो व्यहोराको भएको र सो अंशबण्डाको लिखत बमोजिम अंश पाएको तथ्यलाई स्वीकार गरी ब्यहोरा लेखाएको देखिन्छ । त्यसै गरी सुरु अदालको आदेश बमोजिम निज प्रतिवादीले मिति २०५४।१।१२ मा गरेको कागज हेर्दा व्यवहार प्रमाणवाट छुट्टिभिन्न भएको भन्ने प्रतिउत्तर जिकिरको समर्थनमा आफु तथा अन्य प्रतिवादीका नाउमा पैत्रिक सम्पति दाखिल खारेज भई आएको र अलग अलग बिक्री व्यवहार भएको तथ्य खुलाएको देखिन्छ । त्यस क्रममा निज प्रतिवादीले उक्त ०३१ सालको अंशवण्डाको लिखतबाट पाएको सम्पत्ति बिक्री गरी रामलाल गोपालीबाट मिति २०४०।५।१६ मा कि.नं. १६४ को ज.वि. ०८ जग्गा खरीद गरेकोमा त्यसबाट ३ कठ्ठा बिक्री गरी हाल कि.नं.१३६७ को ०८ जग्गा दर्ता रहेको भन्ने व्यहोरा लेखाएको  देखिन्छ । मालपोत कार्यावाट झिकाई आएको श्रेस्ता उतारहरूवाट त्यस तथ्यको पुष्टि भएको पनि देखिएको छ । यसरी घरसारको वण्डापत्र बमोजिम प्राप्त गरेको सम्पत्ति स्वतन्त्र रुपले विक्री गरी, त्यसैवाट अन्य जग्गा खरीद गरी, खरीद गरेको जग्गावाट समेत केही बिक्री गरेको हुँदा व्यवहार प्रमाणवाट छुट्टिभिन्न भएको हो भनी प्रतिवादीले स्वतन्त्र रुपले लिएको जिकिर उक्त कानूनी व्यवस्थाको दायरा भित्र समेटिन आउने नै देखिन्छ ।

९.    दाजुभाई धेरै भई सगोलमा वस्न नसकी घरसारमा छुट्टिने क्रम ०३१ साल देखिनै सुरु भएकोमा त्यसको निरन्तरता स्वरुप अन्य भाईहरू आफ्नो अनुकूल समयमा छुट्टिदै गएको र सोही क्रममा थिरप्रसाद समेतका अन्य प्रतिवादी ०३४ वैशाखमा घरसारमा छुट्टिभिन्न भएकोमा अंश पाएको जग्गा सर्वे नापीमा बाबुकै नाममा नापी भएकोले मिति २०३८।२।१२ मा थिरप्रसादले र.नं.२८६६ को राजिनामा लिखतबाट कि.नं.३०६ को १० जग्गा बाबु कुलानन्दबाट पारीत गराई लिएको भन्ने जिकिर देखिन्छ । प्रतिवादी मध्येको रुद्र प्रसादले आफ्नो अंश भागमा पाएको जग्गा समेत थीर प्रसादलाई घरायसमा बिक्री गरेकोले दुई भाइको अंश वापत सो जग्गा थिरप्रसादले लिएको भन्ने जिकिर रहेकोमा उक्त पारीत लिखतमा रुद्रप्रसाद साक्षी बसेको देखिन आएको हुँदा त्यसको पुष्टि भएको देखिएको छ । रुद्र प्रसादले शुरु म्याद बुझी प्रतिउत्तर नलगाई बसेकोबाट सो तथ्यको थप पुष्टि हुन आएको छ । कूल प्रसादका नाउँ दर्ताको साविक कि.नं.२४९ को ज.वि. २१७१ बाट कित्ताकाट गराई कि.नं.३०६ को १० जग्गा थिरप्रसादले राजिनामा लिई बाँकी रहेको कि.नं. ३०७ को ११४१ जग्गा मध्येबाट पुनः कित्ता काट गराई कि.नं. ३३४ को ०११० लोकनाथ र कि.नं.३३५ को ०१२१ जग्गा बेदनाथले मिति २०३९।३।१३ मा अलग अलग राजिनामा पारीत गरी लिएको देखिएको छ । त्यसै गरी पुनरावेदक प्रतिवादी होतनाथले आमा रुक्मिणीबाट मिति २०५२।११।१ को पारीत हा.व. लिखतबाट कि.नं. २४७ को ०१४१९ जग्गा लिएको देखिन्छ । प्रतिवादी मध्येको बालकृष्णले अंश वापत पाएको जग्गा बिक्री गरी ०५२ सालमा मनहरीबाट पर्सा विरुवागुठी गा.वि.स.मा बसाई सरी कि.नं.५४१ को ०७ र कि.नं. ५४२ को ०० जग्गा खरीद गरी बसेको भन्ने तथ्यलाई शुरु प्रतिउत्तरपत्रमै स्वीकार गरेको देखिन आउंछ । त्यसै गरी प्रतिवादीहरू लोक नाथ र बेदनाथ बीच मिति २०५१।९।७ मा लेनदेनको कागज भएको भन्ने पनि शुरु प्रतिउत्तर लेखबाटै देखिन आएको छ ।

१०.    यस प्रकार ०३४।९।२७ अगावै कुलानन्दका वादी बाहेकका छोराहरू आआफ्नो अंश भाग बुझी घरसारमा छुट्टिभिन्न भएको र अंशमा पाएको सम्पत्ति विभिन्न मितिमा राजिनामा र बक्सपत्रको माध्यमबाट निजहरूको नाउँमा दाखेल खारेज दर्ता समेत भइ अलग अलग भोग विक्री व्यवहार समेत भएको देखिएको छ । पुनरावेदक प्रतिवादीहरू एका सगोलमा रहेको अवस्था भए सगोलका अंशियारहरू बीच त्यसरी एक आपसमा बकस पत्र र राजिनामा पारीत गरी लिनु दिनु पर्ने सम्मको अवस्था श्रृजना हुनु पर्ने कुनै विवेक सम्मत आधार कारण स्वयं प्रत्यर्थी बादीले दिन गुजार्न सकेको नपाइदा स्व.कूलानन्दका वादी बाहेकका ७ भाई छोराहरू व्यवहार प्रमाणबाट छुट्टिभिन्न भएको देखिन आएकोले निजहरूवाट वादीले अंश पाउन सक्ने  देखिएन ।

११.    अंशवण्डाको मुख्य उद्देश्य पैत्रिक सम्पत्तिको अंशियारहरू बीच विभाजन वा पृथकीकरण हो भन्ने देखिन्छ । अर्थात पैत्रिक सम्पत्तिबाट कुनै पनि अंशियारलाई विमुख वा निरअंशी बनाउन नहुने मान्यता अंशवण्डा सम्बन्धी प्रचलित कानूनले आत्मसात गरेको छ । यसका अतिरिक्त पैत्रिक सम्पत्तिको अंशियारहरू बीच नरमगरम र रोखपोख मिलाई वण्डा गर्नुपर्ने भन्ने विषय पनि अंशवण्डाको कानूनी दायरा भित्र समेटिएको देखिन्छ । प्रस्तुत विवादमा प्रत्यर्थी वादीले रुक्मीणी ढुंगानाबाट अंश पाउने कुरा निर्विवाद रहेको र हालको अवस्थामा निजको मृत्यु भई सकेकोले निज नाउँ दर्ताको कि.नं.१३७ को ज.वि.०१४ जग्गा वादीले पाउने अवस्था रहेको छ । अन्य प्रतिवादीहरूलाई पनि करिव ११ कठ्ठाको दरले बाबु कुलानन्दले अंश दिएको भन्ने देखिएको छ । अंशियारहरूका नाउँमा रहेको सम्पत्तीको प्रकृति हेर्दा अस्वाभाविक अन्तर पर्ने अवस्था समेत देखिंदैन । वादीसंग पनि छुट्टै जग्गा दर्ता रहेको देखिएको छ । त्यस सम्वन्धमा पुनरावेदक प्रतिवादीहरूले कुनै जिकिर नलिएवाट सो जग्गा वण्डा लाग्ने अवस्था छैन । प्रतिवादी बालकृष्ण अंश पाएको जग्गा विक्री गरी बसाइ सरी गएको समेतको अवस्था देखिएको छ, भने अंशियारहरूको श्रीमती र छोराहरूले समेत स्वतन्त्र व्यवहार गरिसकेको अवस्था देखिएको छ । यस अवस्थामा सबै प्रतिवादीहरूको लामो समय देखिको आपसी व्यवहार खलवलिने गरी पुनःवण्डा गर्नु भन्दा हाल मृत्यु भइसकेकी प्र.रुक्मीणी ढुंगानाको नाउँको पुरै सम्पत्तिबाट वादीले अंश पाउने ठहर गर्नु उचित र न्यायसम्मत हुने  ।

१२.   तसर्थ, माथि प्रकरण प्रकरणहरूमा विश्लेषण गरिएको तथ्यगत अवस्था, कानूनी व्यवस्था र प्रतिपादित सिद्धान्त समेतको आधार कारणबाट रुक्मीणी ढुंगाना बाहेकका अन्य प्रतिवादीहरू व्यवहार प्रमाणबाट छुट्टिभिन्न भई सकेको देखिंदा बादीले निजहरूवाट अंश नपाउने ठहर्‍याएको शुरुको निर्णय सदर गर्नुपर्नेमा केही उल्टी गरी निजहरू समेतबाट वादीले अंश पाउने ठहराएको पुनरावेदन अदालत हेटौंडाको मिति २०५८।२।७ को फैसला मिलेको देखिएन । अतः पुनरावेदन अदालतको उक्त फैसला उल्टी भई  प्रत्यर्थी बादीले प्रतिवादी रुक्मीणी ढुंगानाबाट मात्र अंश पाउने ठहर गरेको सुरु मकवानपुर जिल्ला अदालतको मिति २०५५।३।३ को फैसला मनासिव देखिंदा सदर कायम हुने ठहर्छ । अरुमा तपसिल बमोजिम गर्नु ।

 

तपसिल

पुनरावेदन अदालतको फैसला उल्टी भई सुरु मकवानपुर जिल्ला अदालतको फैसला सदर हुने ठहर भएकोले प्रतिवादीहरूले यस अदालतमा पुनरावेदन गर्दा धरौट राखेको कोर्ट फी वापतको रकम रु. १६३६।फिर्तापाऊँ भनी पुनरावेदक प्रतिवादीहरूको कानूनको म्याद भित्र दर्खास्त परे केही दस्तुत्तर नलिई फिर्ता दिनु भनी लेखा शाखामा लेखी पठाउनु ..........१

पुनरावेदक प्रतिवादीहरूले यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्ट फी वापतको थप रु.८५८।२८ वादीबाट दिलाई पाऊँ भनी कानूनका म्यादभित्र दर्खास्त परे केही दस्तुर नली भराई दिनु भनी शुरुमा लेखी पठाई दिनु .......१

पुनरावेदन अदालतको फैसला उल्टी भएकोले सो फैसलाको तपसिल खण्ड १ बमोजिम गर्नु नपर्ने र अंशियार मध्येको रुक्मिणी ढुंगानाको हाल मृत्यु भैसकेको भन्ने देखिदा सुरुको फैसलाले कायम गरेको तपसिल खण्ड १ बमोजिम रुक्मिणी ढुंगानाको नाउँ दर्ताको कि.नं.१३७ को ज.वि.०१४ को पुरै जग्गावाट प्रत्यर्थी वादीलाई अंश छुट्टयाई दिनु भनी सुरु मकवानपुर जिल्ला अदालतमा लेखी पठाउनु ............१

दायरीको लगत कट्टा गरी मिसिल नियम बमोजिम गरी बुझाई दिनु .........१

 

उक्त रायमा सहमत छु ।

 

प्र.न्या.केदारप्रसाद गिरी

 

इति संवत् २०६५ साल चैत्र ५ गते रोज ४ शुभम् ......

 

इजलासअधिकृतः नारायण सुवेदी

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु