शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८७६० - कर्तव्यज्यान ।

भाग: ५४ साल: २०६९ महिना: बैशाख अंक:

ने.का.प. २०६९,            अङ्क १

निर्णय नं. ८७६०

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री प्रेम शर्मा

माननीय न्यायाधीश श्री कमलनारायण दास

०६६ CR ०८३७, ०३४८

फैसला मितिः २०६८।६।४।४

मुद्दाःकर्तव्य ज्यान 

पुनरावेदक प्रतिवादीः कन्चनपुर जिल्ला महेन्द्रनगर नगरपालिका वडा नं.१८ घर भई हाल केन्द्रीय      कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौँमा थुनामा रहेकी

नन्दादेवी जोशी

विरुद्ध

प्रत्यर्थी वादीः जी. कुन्दाको जाहेरीले नेपाल सरकार

 

पुनरावेदक वादीः जी.कुन्दाको जाहेरीले नेपाल सरकार

विरुद्ध

प्रत्यर्थी प्रतिवादीः जिल्ला वैतडी श्रीकोट गाउँ विकास समिति वडा नं.३ बस्ने गणेशदत्त पाण्ड्ये

शुरु फैसला गर्ने :

मा.जि.न्या.श्री पदमराज भट्ट

पुनरावेदन फैसला गर्नेः

मा.न्या.श्री बमकुमार श्रेष्ठ

मा.न्या.श्री बाबुराम रेग्मी

 

§  कानूनद्वारा आफ्नो विरुद्ध साक्षी हुन वा बयान दिन बाध्य पार्न नमिल्ने गरी संरक्षण वा सुविधा प्रदान गरेको अवस्थामा आफ्नो विरुद्ध प्रमाण लाग्ने गरी सहजरुपमा तथ्यका बारेमा मौन रहने नैसर्गिक वैयक्तिक स्वतन्त्रताभित्र पर्दछ । तसर्थ सोलाई आरोप पुष्ट्याईको कडी मान्न नमिल्ने 

(प्रकरण नं.५)

§  प्रत्यक्षदर्शीको रुपमा नरहेका अन्य व्यक्तिहरूले गरेको कागज र बकपत्रको वैधता वा मान्यता हुँदै हुँदैन भनी अर्थ गरिन नहुने 

(प्रकरण नं.६)

§  जाहेरी घटनाका विषयमा दिइने सूचनाको एक माध्यम हो । यसले प्रमाण संकलनमा सहयोगीको भूमिका निर्वाह गर्न सक्छ, स्वयंले सार्थकता प्राप्त गर्दैन । यो आफैमा अकाट्य र स्वतन्त्र प्रमाण नहुने 

§  जाहेरी दरखास्त स्वयंमा सुनी सुनाई (hearsay) कथनमा आधारित रहेको तथा समयको लामो अन्तराल पश्चात् दर्ता भएको हुँदा त्यो घटनाको सत्यता वा वास्तविकतामा आधारित नभई कसैलाई फसाउने उद्देश्यबाट सुनियोजित तवरबाट अभिप्रेरित भैदिएको भनी शंका गर्ने पर्याप्त ठाउँ देखिने 

(प्रकरण नं.१०)

§  अनुसन्धान र अभियोजन पक्ष आफ्नो जिम्मेवारी निर्वाह नगरी भएको त्रुटिको अदालतले सूक्ष्म रुपमा केलाएर न्याय प्रदान गर्नु नै वास्तविक न्याय हुने 

(प्रकरण नं.१३)

§  अदालतले न्यायकर्ताको भूमिका निर्वाह गर्दा गहनतम जिम्मेवारीबाट बिचलन हुनु हुँदैन । न्यायकर्ताको एकमात्र उद्देश्य कुनै व्यक्ति विशेष अन्यायमा नपरून, दोषिले उन्मुक्ति नपाऊन, निर्दोष व्यक्तिको सुखमय जीवन अनाहकमा कारागारको घेरावन्दिमा बन्धनकारी रुपमा विताउन नपरोस् भन्ने धारणाले अभिप्रेरित हुनु पर्दछ । वस्तुनिष्ठ आधारको धरातलभन्दा माथि उठेर कोरा कल्पनाका मनचिन्ते विचारलाई अकाट्य प्रमाणको रुप प्रदान गरी ज्यान जस्तो जघन्य अपराधको दोषी ठह¥याउने परिपाटीलाई प्रोत्साहन गर्ने हो भने न्यायिक मार्ग विखण्डन हुन गै फितलो अनुसन्धानको वलीवेदीमा न्यायको वलिदान हुने 

§  वस्तुनिष्ठ प्रमाण नहुँदा नहुँदै प्रचार, हल्ला वा दवावमा अभिष्ठ तथा लोकप्रियतालाई माध्यम बनाई अनुसन्धान प्रारम्भ गर्ने र अभियोजन लगाउने परम्परालाई प्रोत्साहन दिई स्वतः अंगीकार गर्ने पात्र अदालत हुन नसक्ने 

(प्रकरण नं.१४)

पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ रामप्रसाद श्रेष्ठ एवं विद्वान अधिवक्ताहरू बालकृष्ण नेउपाने, प्रेमसिँह धामी र रवीन सिँह

वादी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री उद्धव पुडासैनी

अवलम्बित नजीरः

सम्बद्ध कानूनः

§  ज्यानसम्बन्धी महलको १३(३) नं.

 

फैसला

            न्या.प्रेम शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत महेन्द्रनगरको मिति २०६६।१२।१५ को फैसलाउपर वादी तथा प्रतिवादी दुवै तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :

            ग्लोवल एजुकेशन प्रा.लि.का बोर्ड सदस्य अर्जुन वास्तोलाले फोनबाट मलाई काठमाडौंं आउनु भनेकाले मिति २०६२।१।२७ गते विहान १०:२० बजेको समयमा सपरिवार कोठाभित्र बसी खाना खाइरहेको अवस्थामा छतबाट केही खसेको र वाहिरबाट मान्छे खस्यो भन्ने आवाजसमेत आएकोले खाना खान छोडी बाहिर आई हेर्दा सुब्बा राव आगनमा खसेको देखेको हुँ । सो कुरा मैले तत्काल फोनबाट जानकारी गराएकी हुँ । निजको मृत्युमा कसैमाथि शंका समेत नभएकोले पोष्टमार्टम गरी लास आफन्तलाई बुझाई पाऊँ भन्ने समेत व्यहोराको नन्दादेवी जोशीले जिल्ला प्रहरी कार्यालयमा मिति २०६२।१।२७ मा दिएको जाहेरी व्यहोरा 

            जिल्ला कन्चनपुर महेन्द्रनगर न.पा.वडा नं.१८ जानकी टोलस्थित नन्दादेवी जोशीको घर आगनमा पूर्वतर्फ १८ फीटको दूरीमा वरण्डादेखि दक्षिण टाउको, उत्तर खुट्टा दायाँ आँखिभौँमा डेढ ईञ्च लम्वाई आधाईञ्च चौडाईको घाउ भई रगत निस्केको दायाँ हात कुमदेखि एक ईञ्च माथि पाखुरा भाँचिएको देखिएको, बाहिरबाट हेर्दा अन्य घाउ चोट नीलडाम केही नभएको अवस्थामा मृतक सुब्बा रावको लास रहेको र मृतकको खल्तिबाट महेन्द्रनगर पब्लिक लेखेको पर्चा फेला परेको भन्ने व्यहोराको घटनास्थल तथा लास जाँचप्रकृति मुचुल्का 

            मृतक सुब्बा रावको घटनास्थलमा लास जाँच गर्दा मृतकले लगाएको कमिजको खल्तीमा फेला परेको भनिएको पर्चामा Mahendrangar Public, Please retain medical collage at Mahendranagar can not be a slave to Nandaji भनी अङ्ग्रेजीमा लेखिएको कागज 

            ग्लोवल एजुकेशन फाउन्डेशन प्रा.लि.का चियरमेन दिवाकर चन्दलाई I would like to point out that, willy-nilly, we have all been sucked into the quick sands. The only way out appear to be pumbing of funds to the tune of 50 lakhs, in days, no matter at what cost. Kaunda’s, sources have been frozen temporarily and new investor may come only if the medical council clears our project, which again would cost 50 lakhs. The is an SOS समेत भनी अप्रिल २६, २००५ मा मृतकले लेखेको पत्र तथा Amount disbursed by Nanda Devi Joshi (९०४) मा भनी लेखिएको पत्र कागज मृतकको कोठाबाट बरामद गरिएको बरामदी मुचुल्काको व्यहोरा 

            मिति २०६२।१।२७ गते विहान अन्दाजी १०:३० बजेको समयमा नन्दादेवी जोशीको घरको पूर्वतर्फ अन्दाजी ५० मीटरको दूरीमा अशोक जैरुको नयाँ निर्माणाधीन घरमा ठेक्का लिई काम गराउँदै थिएँ । पिल्लरको स्टरिङ्ग ठोकी लेवरहरू मसला बनाई राखेका थिए । म शीतलमा आराम गरिराखेको अवस्थामा नन्दादेवी जोशीको घरको तेस्रो तल्लाको पूर्वतर्फ रहेको रेलिङ्गमा एक जना पुरुष व्यक्ति हात टेकी तल निहुरी भूईंमा हेरेको सो स्थानबाट उठी दक्षिणतर्फको ढोकामा उभिई पुनः फर्की सोही ढोका नजिक गई उभिएको, फेरि पहिले उभिएको स्थान आई रेलिङ्गमा हात टेकाई कम्मरदेखि माथिको भाग समेत सोही रेलिङ्गमा टेकाई भूईंतिर हेरिराखेको देखी अब यो बुढो मान्छे तल खस्छकि भनी मन मनै सोच्दा निज भूईंमा खसी हाले, निज खसेको देखी मान्छे खस्यो भनी हल्ला गर्दै सो स्थानतर्फ दगुर्दै जाँदा म भन्दा अगाडि तत्काल नाम थाहा नभएको पन्त भन्ने केटा घटनास्थलमा पुगी खसेको मान्छेलाई घोप्टो अवस्थामा रहेको देखी हात समाती उत्तानो पल्टाउन खोज्दा नसके पछि मैले खुट्टा समाती उत्तानो पल्टाएको थिएँ । निज पन्त भन्ने केटाले नाडी र छाती छाम्दै थिए । मैले मान्छे खस्यो भनी कराएको सुनी नन्दादेवी समेतका अन्य नजिकका व्यक्तिहरू घरबाट बाहिर निस्केका थिए, निजहरूले सुब्बा राव हो भनी कुरा गरेको सुने पछि मैले पनि थाहा पाएको हुँ । उक्त समय निज सुब्बा रावका भाई पनि आइपुगेका थिए । निज सुब्बा राव नन्दादेवी जोशीको घरको तेस्रो तलाबाट खस्न लाग्दा उक्त स्थानमा निज राव एक्लै थिए भन्ने समेत व्यहोराको महेन्द्रनगर न.पा., वडा नं. १८ बस्ने वर्ष ३४ को रतनप्रसाद अधिकारीले मिति २०६२।१।२७ गते गरिदिएको कागज 

            मिति २०६२।१।२७ गते विहान अन्दाजी १० बजेको समयमा पछि नाम थाहा हुन आएका सुब्बा राव नन्दादेवी जोशीको घरभित्र गएको देखेको हुँ भन्ने व्यहोराको नन्दादेवी जोशीको घरको पूर्वतर्फ अन्दाजी ५० मीटरको दूरीमा अशोक जैरुको नयाँ निर्माणधीन घरमा ज्यामी काम गर्ने महेन्द्रनगर न.पा वडा नं. १८ डेरा गरी बस्ने वीपिन गंगोलीको कागज 

            मिति २०६२।१।२७ गते विहान अन्दाजी १०:३० बजेको समयमा म साइकल चढी मेरो नियुक्ति सम्बन्धमा बुझ्न भनी ग्लोवल एजुकेशन फाउण्डेशन प्रा.लि. तर्फ गइरहेको अवस्थामा नन्दादेवी जोशीको घर अगाडि मानिस खस्यो भनी हल्ला सुनी/देखी म स्वास्थ्यकर्मी भएको नाताले दुवै हात समाती उत्तानो पल्टाउन खोज्दा एक्लैले नसके पछि नाम थाहा हुन आएका रतन अधिकारीले खुट्टा समाती उत्तानो पल्टाई नाडी छाम्दा मरेको वा जीउँदो भन्ने यकीन गर्न नसकिएको अवस्थामा मृतकको मृत्यु भई सकेको रहेछ । अन्य व्यक्ति उक्त घटनास्थलमा आई निजहरू मध्येका वाई. दुर्गाप्रसादले छाम्दा Expired भने पछि निजको मृत्यु भई सकेको भन्ने थाहा पाऊँ भन्ने ग्लोवल एजुकेशन फाउण्डेशन प्रा.लि.बाट अस्थायी नियुक्ति लिई महाकाली अञ्चल अस्पतालमा कार्यरत जनकराज पन्तले गरेको कागज 

            मृतक खसी मरेको जाहेरवाली नन्दादेवी जोशीको घरको पहिलो तल्लाको बरण्डामा रगतजस्तो रातो पदार्थ फेला पारी बरामद गरेको हो भन्ने मिति २०६२।१।२८ को बरामदी मुचुल्का 

            मिति २०६२।१।२७ गते विहान मेरो डेरा कोठामा धनसिँह महराको घरबाट महेन्द्रनगर मेडिकल कलेजका मेनेजिङ डाइरेक्टर सुब्बा राव डेरा गरी बस्ने पि.के. श्रेष्ठको घरमा आई म र सुब्बा राव दुवै जना मेडिकल कलेज सम्बन्धी कुराकानी गरी राखेको अवस्थामा अन्दाजी ९:१५ बजेको समयमा नन्दादेवी जोशीले सुब्बा रावलाई फोन गरेको र कसको फोन हो भनी सोध्दा नन्दादेवी जोशीले घरमा बोलाएको छ निज नन्दादेवीसँग भेट गरेर आउँछु भनी एक्लै त्यसतर्फ गएका थिए । म निजको घरमा जादा आगानमा सुब्बा रावको लास देखेको हुँ । निजको के कसरी मृत्यु भएको हो भन्न सक्तिन भन्ने व्यहोराको उक्त कलेजका एक्जिक्युटिभ डाईरेक्टरको सल्लाहकारमा कार्यरत वाई. दुर्गाप्रसादको मिति २०६२।१।२८ को कागज 

            मिति २०६२।१।२७ गते विहान म मेरो डेराबाट आई सुब्बा राव वस्ने पि.के. श्रेष्ठको घरमा गई विहानको चिया नास्ता खुवाई म उद्योग वाणिज्य संघमा कम्प्युटरको क्लास लिन गएको थिएँ । सो स्थानबाट सुब्बा रावको डेरामा आउँदा सुब्बा राव १०:१५ बजेको समयमा डेराबाट बाहिर गएका थिए । सो स्थानबाट सुब्बा राव १० मिनेट पछि नन्दादेवी जोशीको घरबाट फोन गरी लेडिजले गाडी छ, छैन सुब्बा राव फेन्ट भएका छन् भनी जानकारी आएको थियो तत्कालै म, रेवन्त भन्ने विद्यार्थी र वाई. दुर्गाप्रसाद घटनास्थलतर्फ गएका थियौँ । घटनास्थलमा पुग्दा सुब्बा रावको मृत्यु भइसकेको थियो । के कसरी मृत्यु भयो थाहा भएन भन्ने व्यहोराको महेन्द्रनगर न.पा.वडा नं.१८ डेरा बस्ने वर्ष २५ को विशालकुमार तिरुवा (वि.क.) ले गरिदिएको कागज 

            मिति २०६२।१।२७ गते साँझ १०:३० बजेसम्म मैले नन्दादेवी जोशीको घरको तेस्रो तल्लाको दक्षिणतर्फ रहेको कोठामा आर्थिक प्रशासन सम्बन्धी काम गरी बाँकी रहेका बिल भौचर टेवुलमै छाडी घरायसी कामले गर्दा नन्दादेवी जोशीलाई मौखिक रुपमा जानकारी गराई विदामा बसेको थिएँ भन्ने समेत व्यहोराको देवबहादुर ऐरले गरिदिएको कागज 

            मिति २०६२।१।२७ गते नन्दादेवी जोशीको घर नजिक अशोज जैरुको घर बनाउने कार्यमा म लेबरको काम गरिरहेको थिएँ । अन्दाजी १० बजे सुब्बा राव नन्दाको घरमा गएको देखेको थिएँ । निज व्यक्ति उक्त घरबाट खसेको भनी ठेकेदार रतन अधिकारीले भनी सोतर्फ गएका हुन् । उक्त स्थानमा जाँदा अलिअलि सास फेरिरहेको जस्तो लागेको थियो । हामी पुगेपछि मृत्यु भइहाल्यो । घरबाट खसेको मैले देखेको होइन, ठेकेदारले भनेको सुनेको हो भन्ने समेत व्यहोराको मन ब्ररमनले गरेको कागज 

            मिति २०६२।१।२७ गते विहान खाना खान भनी नन्दादेवी जोशीको घरको डाइनिङ हलमा म समेत गएको अवस्थामा बाहिरबाट मान्छे खस्यो भन्ने आवाज सुनी बाहिर आई हेर्दा सुब्बा रावलाई घर आँगनमा लडेको देखेकी हुँ भन्ने व्यहोराको नन्दादेवी जोशीको घरमा बस्ने लक्ष्मीकुमारी पनेरुले गरिदिएको कागज 

            मिति २०६२।१।२७ गते विहान अन्दाजी १०:०० बजेको समयमा कार्यालयमा आई झाडु लगाई सफा गर्न लाग्दा अन्दाजी १०:३० बजेको समयमा नन्दादेवी जोशीको घर आँगनतर्फ एक्कासी बोरा खसेको जस्तो आवाज सुने पछि के रहेछ भनी झ्यालबाट बाहिर हेर्दा पछि नाम थाहा हुन आएका सुब्बा रावलाई निज जोशीको घर आँगनमा लडेको अवस्थामा देखेको हुँ भन्ने व्यहोराको नन्दादेवी जोशाीको घरको ५ फीटको दुरीमा रहेको महेन्द्रनगर निर्माण व्यवसायी संघको कार्यालयमा पियन काम गर्ने फरकबहादुर धानुकले गरिदिएको कागज 

            मृतक सुब्बा रावको शवपरीक्षण गर्दा Cause of death is rupture of lung with lacerate भन्ने व्यहोराको शवपरीक्षण प्रतिवेदन 

            नन्दादेवी जोशी मेरी कान्छी आमा भएकीले त्यही बसी क्याम्पस पढ्छु । मिति २०६२।१।२६ गते घरायसी कामले पुनर्वास बस्ने भिनाजु टिका उपाध्यायको घरमा गएको थिएँ । ऐ. २९ गते धनगढीबाट कान्छी आमालाई फोन गर्दा तिमी तुरुन्तै यहाँ आउँ सुब्बा राव हाम्रो घरको तेस्रो तलाबाट खसी मृत्यु भएको छ भनी फोनबाट जानकारी गराएकाले थाहा पाएको हुँ भन्ने व्यहोराको धर्मराज उपाध्यायले गरेको कागज 

            मिति २०६२।१।२७ गते विहान आमा नन्दादेवी काठमाडौं जान भनी विहान अन्दाजी १०:३० बजे को समयमा खाना खान डाइनिङ्ग कोठामा गएको अवस्थामा बाहिरबाट मान्छे खस्यो भनी आवाज आए पछि बाहिर आई हेर्दा सुब्बा रावलाई घर आँगनमा देखेको हुँ, पछि मैले हरियो जगमा पानी ल्याई सुब्बा रावको अनुहारमा छर्केको हुँ । निजको मृत्यु के कसरी भएको हो म जान्दिन भन्ने व्यहोराको गणेशदत्त पाण्ड्येले गरिदिएको कागज 

            मिति २०६२।१।२७ गते विहान आमा नन्दादेवी काठमाडौं जाने भएकीले विहान अन्दाजी १०ः३० बजे तिर खाना खान भनी म समेत डाइनिङ्ग कोठामा भएको अवस्थामा अचानक मान्छे खस्यो भनी आवाज आएपछि कोठाबाट वाहिर आई हेर्दा सुब्बा राव घर आँगनमा उत्तानो अवस्थामा देखेको हुँ । निज कतिवेला हाम्रो घरमा आए, कतिवेला माथि गए थाहै भएन । देख्ने मान्छेले भने पछि निज हाम्रोघरको तेस्रो तल्लाबाट खसेका हुन् भन्ने थाहा पाएको हुँ भन्ने व्यहोराको लक्ष्मणराज जोशीको कागज 

             मिति २०६२।१।२७ गते विहान सासू नन्दादेवी काठमाडौँ जानु हुने भएकीले खाना पकाई सासूलाई खाना खुवाइसक्न लागेको र श्रीमान लक्ष्मण जोशी, ड्राइभर गणेश पाण्ड्ये, लक्ष्मी पनेरु समेतलाई खाना पस्कन लागेको अवस्थामा वाहिरबाट मान्छे खस्यो भन्ने आवाज आएपछि कोठाबाट बाहिर आई हेर्दा सुब्बा रावलाई घर आँगनमा देखी मैले २५०८८ मा फोन गरी गाडी कहाँ छ भनी सोधी वाई. दुर्गाप्रसादलाई यहाँ पठाई दिनु भनी विशाल वि.क.लाई भनेकी हुँ । त्यसको लगत्तै निज सुब्बा रावको भाई मुष्ट वैंकट ईश्वरलाई समेत घटना बारे जानकारी गराएकी हुँ भन्ने व्यहोराको सुनीता जोशीको कागज 

            मिति २०६२।१।२७ गते अन्दाजी १०:२० बजेको समयमा आफ्नो कार्यालयतर्फ जान लाग्दा नन्दादेवीको घर आँगनमा एक जना पल्टेको देखेको, त्यँहा रतनप्रसाद अधिकारी, गणेश पाण्ड्ये र नन्दादेवी जोशी समेतका व्यक्तिहरू थिए । पछि बुझ्दा सुब्बा राव भन्ने थाहा पाएको हो । निज त्यँहा कति खेर आए के कसरी मृत्यु भयो केही थाहा नभएको भन्ने व्यहोराको जिल्ला हुलाक कार्यालय कंचनपुरमा कार्यरत श्यामकृष्ण ओझाको कागज 

            मिति २०६२।१।२७ अन्दाजी १०:३० बजेको समयमा म काम गरिरहेको घरको दक्षिणतर्फ रहेको नन्दादेवी जोशीको घर आँगनमा सिमेन्टको बोरा खसेको जस्तो आवाज सुनेको हुँ र म कार्यालयको काममा व्यस्त थिएँ । दक्षिणतर्फको झ्याल खुल्ला अवस्थामा रहेकोले मानिस खस्यो भनी कराएको आवाज सुनेकोले नन्दादेवीको घर आँगनतर्फ हेर्दा नाम थाहा हुन नआएको सुब्बा राव घर आँगन अगाडि लडेको अवस्थामा देखेकी हुँ भन्ने व्यहोराको निर्माण व्यवसायी संघको कार्यालयमा कार्यरत सचिव पार्वती मल्लले गरेको कागज 

            प्रथम पक्ष नन्दादेवी जोशी र द्वितीय पक्ष ग्लोवल एजुकेशन फाउन्डेशन प्रा.लि.का अध्यक्ष दिवाकर चन्द समेत बीच मिति २०६१।७।१८ गतेमा प्रथम पक्षको नाममा रहेको महेन्द्रगनर न.पा.वडा नं.१८ स्थित घरको तीन तल्ला मासिक रु.४०,०००।बुझाउने गरी ५ वर्षको लागि द्वितीय पक्षले भाडामा लिएको भन्ने व्यहोराको सम्झौता पत्र 

            म घटनास्थलमा पुग्दा सुब्बा रावको छातीमा पन्त थरको मानिसले छामी रहेका थिए । सास लिन सजिलो होस भनेर त्यसो गरेको भन्दै थिए । निजलाई के भएको हो भनी बुझ्दा नन्दा जोशीको घरको तेस्रो तल्लामा यता उता गर्दै हिडिरहेका र रेलिङ्गबाट तल हेर्दै थए एक्कासी आगनमा खसेको हो भनी रतनप्रसाद अधिकारीले भनेका हुन् । पन्तले एकै छिनपछि मानिस म¥यो भनी भनेका हुन भन्ने समेत व्यहोराको देवदत्त ओझाले गरिदिएको कागज 

            मिति २०६२।१।२७ गतेका दिन अशोक जैरुको घर बनाउन लेबर लगाएकोले म त्यही बसेर काम हेर्दै थिएँ । समय यकीन भएन सोही अवस्थामा नन्दादेवी जोशीको घरको तेस्रो तल्लामा उभिएर बरण्डाको रेलिङ्गबाट तल हेरेको र सो स्थानबाट दक्षिणतर्फको कोठाको ढोकामा जाने र ढोकाबाट फेरि बरण्डाको रेलिङ्गमा आएर घरको अगाडि आगनमा तल झुकेर हेरेको देखेको थिएँ र तेस्रो चोटी तल निहुरिएर हेरेको समयमा तल आँगनमा खसेको देखेको थिएँ । खस्ने वित्तिकै कराउँदै नन्दादेवीको घर आगनमा गई हेर्दा घरको बरण्डाबाट तल हेर्ने मानिस खसेको र सो मानिस सुब्बा राव भएको कुरा थाहा पाएको हुँ । घरको बरण्डाबाट तल हेरिरहेको अवस्थामा मनमनै सोचेको थिए कि अब यो बुढो खस्छ होला, त्यसै समय एक्कासी खसिहाल्यो । निजलाई कसैले कुटपीट गरी फालेको होइन । आफै तल खसी मृत्यु भएको हो । म आगनमा पुग्दा निज घोप्टो अवस्थामा थिए, त्यही आइपुगेका पन्तले उत्तानो बनाउन खोज्दा नसकेकाले मैले पनि सहयोग गरी उत्तानो बनाएको हो । लडेको स्थानबाट छायाँ भएको ठाउँ घरको बरण्डामा लैजान खोज्दा नन्दादेवीले लडेको स्थानमा नै राख्नु भनेपछि सोही स्थानमा राखेको हो भन्ने समेत व्यहोराको रतनप्रसाद अधिकारीले मिति २०६२।२।४ मा अनुसन्धान अधिकृत समक्ष गरेको बयान कागज 

            मृतक सुब्बा रावको भिषेरा परीक्षणमा किटनासक औषधि, अल्कोहल तथा मुसा मार्ने विषादी पाउन सकिएन भन्ने केन्द्रीय विधिविज्ञान प्रयोगशाला काठमाडौंको परीक्षण प्रतिवेदन 

            जाहेरवाली नन्दादेवी जोशी घरको पहिलो तल्लाको वरण्डाको पूर्वतर्फको रेलिङ्गमा रगत जस्तो रातो देखिने पदार्थ फेला परेकोले बरामद गरी परीक्षण गर्न पठाउँदा रगत नभएको भनी केन्द्रीय प्रहरी बैज्ञानिक प्रयोगशालाको परीक्षण प्रतिवेदन 

            मिति २०६२।१।२७ गते अर्जुन वास्तोलाले हामीहरू महेन्द्रनगरको मेडिकल कलेज बेच्दै छौँ, त्यसमा भएको तपाईको लगानीको हिसाव गर्न चाडो काठमाडौँ आउनु भनी बोलाएकाले काठमाडौं जाने तयारीमा पहिलो तल्लामा भएको डाइनिङ्गमा खाना खान लागेकोमा खाना खाइसक्न लाग्दा छोरा लक्ष्मण, बुहारी सुनीता, ड्राइभर गणेश र लक्ष्मी पनेरु पनि खाना खाने तयारीमा थिए । सोही समयमा एक्कासी पूर्व आगनतर्फबाट बोरा खसेजस्तो आवाज आएको र सो को लगत्तै मान्छे खस्यो भन्ने आवाज आएकोले बाहिर आइ हेर्दा सुब्बा राव रहेछन् । त्यहा गई हेर्दा पन्त थरका व्यक्ति तथा ५० मीटर नजिकै घर बनाइ रहेका रतनप्रसाद अधिकारी त्यही उभिएका थिए । हामी सबै गर्यौ, गणेशले पानी छर्केका थिए । उपस्थितले बरण्डामा राख्न खोज्दा हैन यस्तो अवस्था छ, प्रहरी प्रशासनलाई खबर गर्नुपर्छ, त्यही राख्नुपर्छ भनी भनेकी हुँ । प्रहरीमा खबर गरी जीउदै भए उपचार गर्न लैजानु पर्‍यो भनी गाडी पनि खोज्न लगाएको पनि थिए । एकछिन पछि निजको भाई तथा दुर्गाप्रसाद पनि आइपुगेका हुन् । निजका भाई ईश्वरले नाडी छामी सकेपछि आखाँ बन्द गरिदिएका थिए । त्यसपछि प्रहरी पुगेर आवश्यक कार्य गरेका हुन् । निज सुब्बा राव कतिबेला त्यहाँ आए, कतिवेला माथि गए थाहा भएन । म काठमाडौ जाने कुरा निजलाई भनेको थिए । मेरो घर मेडिकल कलेजलाई भाडामा लिने दिने कुरा भएको हो । मेरो घर धितो राखेर कर्जा लिने कुरा भएको छ त्यसरी धितो राख्न नदिनु भनी सुब्बा रावले मलाई भनेका थिए । निजसँग मेरो राम्रो सम्बन्ध थियो । मैले मेरो जग्गा समेत कलेजलाई भाडामा दिएको छु । मैले उक्त ग्लोबल एजुकेशन फाउण्डेशनबाट भाडा बापतको समेत रकम पाउन बाकी रहेको छ भन्ने समेत व्यहोराको नन्दादेवी जोशीले मिति २०६२।२।९ मा गरिदिएको कागज 

            नन्दादेवी जोशी महेन्द्रनगर मेडिकल कलेजको आवासीय निर्देशकको रुपमा काम गर्ने गरेको र सुब्बा राव मेनेजिङ डाइरेक्टरको रुपमा काम गर्ने गरेकोमा निजहरू बीच राम्रो सम्बन्ध नभएको, नन्दादेवी जोशीले समयसमयमा विवाद गरी राख्ने घर भाडा जमिन ५० वर्षसम्म कलेजलाई भाडामा दिने तथा रकमसम्बन्धी अन्य विवादहरू चलिरहेको समयसमयमा व्यवस्थापनलाई प्रभावित पार्ने किसिमले अनावश्यक दवाव गरिरहने गरी रहेकीले नन्दादेवी जोशी निजका छोरा लक्ष्मण जोशी, ड्राइभर गणेश पाण्ड्ये र भान्छे धर्मराज उपाध्याय तथा घरमा रहेका अन्य व्यक्तिहरूले निज सुब्बा रावलाई मारेको हुनुपर्छ भन्ने व्यहोराको अङ्ग्रेजी भाषामा तारेख १८२००५ मा लेखिएको उक्त मेडिकल कलेजमा नव नियुक्त डाईरेक्टर जी. कुन्दाले पेस गरेको कम्प्लेन लेटर र उक्त लेटरलाई नेपालीमा रीतपूर्वक रुपान्तर गरी ल्याउन भनी अनुरोध गरिएको । महेन्द्रनगर मेडिकल कलेजले आवश्यक कार्यहरू पुरा गरी सोही कलेजको आवासीय निर्देशक नन्दादेवी जोशीले बाँकी सबै सञ्चालकहरूलाई पन्छाएर एक्लै कलेज चलाउन प्रयासरत छिन् । उनको यस्तो शंकालु व्यवहारले व्यवस्थापनलाई दवावमा राखी उनकै जग्गामा कलेज भवन बनाउन जग्गा करार बापत भाडा वार्षिक ने. रु.५ लाख खोजी रहेकी छिन् ग्लोवल एजुकेशन फाउन्डेशन प्रा.लि.ले उनकै जग्गा ५० वर्षका लागि लिजमा लिन खोजे पछि उनले सो करार रकम वार्षिक ५ बाट बढाई रु.२५ लाख गर्न खोजेकी थिइन । साथै यस कलेजकी अध्यक्ष समेत बन्न खोजेकी थिइन । यी सबै योजनाहरू सफल गराउन पहिले श्री एम. सुब्बा रावबाट कागजात मागिरहेकोमा सुब्बा रावले दिन नमानेको कुरा निजले मलाई फोनमा गरेका थिए । सञ्चालक श्री ए.पि.वास्तोलाले श्रीमती नन्दादेवी जोशीलाई ९ मई, २००५ मा फोन गरी सहयोग गर्न अनुरोध गर्दा जग्गाको करार रकम वार्षिक रु.२५ लाख गर्ने भए मात्र सहयोग गर्ने बताएकी थिईन । निज जोशीले एम. सुब्बा रावलाई फोन गरी ने.रु.३० लाख मई २००५ सम्ममा र ने.रु.१ करोड, ३० नोभेम्वर २००५ सम्म दिनको लागि माग पनि गरेकी थिइन तर एम. सुब्बा रावले नेपाल मेडिकल काउन्सिलबाट निरीक्षण भएको एक महिना पछि २० लाख मात्र दिन सक्ने वाचा गरको कुरा रावले मलाई फोनमा जानकारी दिएका थिए । एम. सुब्बा रावले १० मई २००५ का दिन विहान ९ बजे श्रीमती नन्दादेवी जोशीले छलफलको लागि अनुरोध गरेकाले त्यहाँ जादैछु भनी फोन गरे । तसर्थ उपयुक्त घटनाक्रमको आधारमा कन्चनपुर जिल्ला महेन्द्रनगर न.पा. १८ जानकी टोल बस्ने श्रीमती नन्दादेवी जोशी, उनका छोरा लक्ष्मणराज जोशी उनका भान्से धर्मराज उपाध्याय, ड्राइभर गणेश पाण्ड्ये समेतका व्यक्तिहरूले एम. सुब्बा रावको हत्या गरकोमा पूर्ण विश्वास छ भन्ने समेत व्यहोराको ग्लोवल एजुकेशन फाउन्डेशन प्रा.लि. द्वारा खयरभट्टी महेन्द्रनगरमा सञ्चालित महेन्द्रनगर मेडिकल कलेजका कार्यकारी निर्देशक जी.कुन्दाले मिति २०६२।२।९ मा लेखी भारतीय नोटरी पब्लिकबाट प्रमाणित गराइ मिति २०६२।२।१६ मा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा पेश गरेको जाहेरी दरखास्त पत्र 

            अर्जुन वास्तोला र नन्दादेवी जोशीको बीच के कुरा भएको हो थाहा छैन । नन्दाले जमिन ५० वर्षका लागि भाडामा दिनु पर्दछ, भाडामा दिएन भने मेडिकल कलेज धनगढी जान्छ भनेपछि नन्दादेवी जोशीले सोही दिन बोलाएर कलेज महेन्द्रनगरबाट वाहिर जादैन भनी सुब्बा रावलाई कागज गर भनी दवाव दिई कागज गरेन भने मारी दिन्छु भनी धम्की दिएको कुरा सुब्बा रावले फोनबाट मलाई भने पछि उक्त कुरा थाहा पाएको थिएँ । मिति २०६२।१।२७ गतेका दिन सुब्बा रावको मृत्यु भएको हुँदा निजको मृत्यु स्वभाविक नभई नन्दादेवी जोशी समेतको कर्तव्यबाट भएको हो भन्ने व्यहोराको जी. कुन्दाले गरिदिएको मिति २०६२।२।१८ को जाहेरी सनाखत बयान कागज 

            मिति २०६२।१।२७ गते अन्दाजी १०:३० बजे तिर सुब्बा रावको कोठामा नन्दादेवी जोशीको फोन आएको थियो । सो समयमा आर. सि. चौधरी र सुब्बा राव बीच कुराकानी भई रहेको थियो सो को केही समय पछि सुब्बा राव नन्दादेवी जोशीको घरमा जान्छु भनी गएका थिए । निज गएको केही समय पछि नन्दादेवी जोशीको छोरा लक्ष्मण जोशीले फोनबाट सुब्बा राव फेन्ट भएका छन गाडी चाहियो भनेका थिए । त्यसपछि विद्यार्थी रेवन्त दौडी घटनास्थलमा जाँदा रावलाई सेतो कपडाले छोपेको थियो । त्यसपछि लास हेरी घटनाबारे जी.कुन्दालाई काठमाडौंमा फोनबाट जानकारी गराएको हुँ । सो घटना हुनुभन्दा केही दिन अगाडि नन्दादेवी जोशी र सुब्बा रावका बीच कलेजको लेनदेनका विषयमा वादविवाद भएको हुँदा निजको मृत्यु कर्तव्यबाट भएको जस्तो लाग्छ । सुब्बा रावको भाई पनि साथै भएकोले मैले जाहेरी नदिएको हो । अनुसन्धानबाट पत्ता लगाउनुहोस भन्ने समेत व्यहोराको महेन्द्रनगर मेडिकल कलेजका प्रोजेक्ट डाईरेक्टर वाई. दुर्गाप्रसादले मिति २०६२।२।१९ मा गरिदिएको कागज 

            मृतक सुब्बा रावबाट फेला परेको Mahendranagar Public please retain medical collage at Mahendranagar I cannot be a slave to Nandaji भनी अङ्गे्रजीमा लेखिएको कागज समेत र चेक समेतमा भएका हस्ताक्षर परीक्षणको लागि पठाउँदा एउटै व्यक्ति (एम. सुब्बा राव) ले लेखेको भन्ने परीक्षण प्रतिवेदन 

            मिति यकीन थाहा भएन । सुब्बा रावले मलाई आफ्नो कोठामा बोलाएको थियो । सो अवस्थामा निज निरास देखिन्थे । म त्यहाँ १०/१५ मिनेट बस्दा ३ वटा चुरोट खाएका थिए र निजले १५० शैया अटाउने घर खोजी दिनु पर्‍यो तपाईको सहयोग चाहिन्छ भनी मलाई भनेका थिए । त्यसको केही दिन पछि सुब्बा रावको मृत्यु भएको हो । मृत्यु भएको २ बजे थाहा पाएको हुँ के कसरी मृत्यु भयो मलाई थाहा छैन भन्ने व्यहोराको भागवत ढकालले गरी दिएको कागज 

            मृतक सुब्बा रावसँग मिति २०६२ साल वैशाख १२ गते भेट हुँदा कलेज सञ्चालनका लागि घर चाहिएकोले बजारमा घरको व्यवस्था गरिदिनु प¥यो भनेका थिए । त्यतिखेर सुब्बा राव मेडिकल कलेज सम्बन्धमा बढी चिन्तित थिए । मिति २०६२।१।२७ गते ११ बजेतिर निजको मृत्यु भएको कुरा थाहा पाएको हुँ । के कसरी मृत्यु भयो मलाई थाहा भएन भन्ने व्यहोराको क्षेत्रपाल मेहराले गरिदिएको कागज 

            महेन्द्रनगर मेडिकल कलेजको मेनेजिङ्ग डाईरेक्टर एम. सुब्बा राव मेरो सहोदर दाजु भएकोले सोही कलेजमा काम सघाउन भनी म महेन्द्रनगरमा बस्ने गरेको थिएँ । मिति २०६२।१।२७ गते विहान म आफ्नो डेरा कोठामा भएको अवस्थामा एक्कासी वाई. दुर्गाप्रसादले खवर गरेकाले जादा निज नन्दादेवी जोशीको घर आँगनमा दाजु सुब्बा रावको मृत लासलाई कपडाले छोपेको देखेको हुँ । निज नन्दादेवी जोशीले मृतक दाजु एम. सुब्बा रावलाई कागजमा दस्तखत गराउन करकाप गरेकी छन् भनी उक्त घटना हुनु भन्दा अगाडि निज दाजुले भनेका थिए । निजहरूबीच मनमुटाव थियो तसर्थ दाजुको मृत्यु आत्महत्या र दुर्घटनाबाट भएको नभई कर्तब्यबाट भएकोमा शंका लाग्दछ । निजको दाहिने आँखी भौँमा गहिरो चोट भएकाले पनि कर्तब्य भएकोमा शंका लाग्दछ भन्ने व्यहोराको एम. सुब्बा रावका भाई एम. भी. ईश्वरले गरेको कागज 

            मिति २०६२।१।२७ गते विहान म समेतका ३ जना लेवर अशोक जैरुको घर निर्माणमा काम गरी रहेका थियौँ । सोही विहान अन्दाजी १० बजेको समयमा पछि नाम थाहा हुन आएका एम. सुब्बा राव नन्दादेवी जोशीको घर भित्र पसेका हुन र निज कुन तलाको कुन कोठामा गए सो कुरा मलाई थाहा भएन, सो पश्चात् एक्कासी भूईंमा सामान खसेको जस्तो आवाज सुनी हेर्दा एम. सुब्बा राव भूईंमा लडेको देखेको हुँ, निजको घरभित्र को को थिए, निज एम. सुब्बा रावलाई को कसले कर्तव्य गरी मारेका हो एकिन नदेखेको हुँदा भन्न सक्दिन भन्ने मना राय एवं विपीन गंगोलीले गरेको एकै मिलान व्यहोराको कागज 

            मिति २०६२।१।२७ गते विहान महेन्द्रनगर मेडिकल कलेजमा अ.हे.व.पदमा नियुक्ति लिन भनी उक्त कलेजमा जाँदा निज प्रतिवादी नन्दादेवी जोशीको घर छेउ भई जानु पर्ने हुँदा म सोही बाटो भई जाँदा मान्छे खस्यो भन्ने आवाज सुनी तत्काल निज नन्दादेवी जोशीको घर आँगनमा हेर्दा पछि नाम थर थाहा भएका महेन्द्रनगर मेडिकल कलेजका मेनेजिङ डाइरेक्टर एम. सुब्बा राव भूइमा लडेको देखी उक्त ठाउँमा गई हेर्दा निज सुब्बा राव घोप्टो अवस्थामा भएकाले उत्तानो पार्ने कोशिस गर्दा एक्लैले नसकी सोही समयमा रतनप्रसाद अधिकारी र नन्दादेवी जोशीको घर भित्रबाट आएका गणेश पाण्ड्ये र म समेत लागि एम. सुब्बा रावलाई उक्त ठाउँबाट उठाई घरको वरण्डामा राख्न खोज्दा निज नन्दादेवी जोशी रिसाएर यहाँ नराख उतै राख भनेकी हुन । सो पश्चात् मैले स्वास्थ्यकर्मीको नाताले हस्पिटल लग्न प¥यो सवारी साधनको कुरा गर भन्दा निज नन्दादेवी जोशीले प्रहरीमा फोन गरिसकेकी रहिछन् । निज सुब्बा रावलाई कसैले कर्तव्य गरी मारेको हो वा आफै खसी मृत्यु भएको हो सो कुरा मलाई थाहा भएन भन्ने अ.हे.व. जनकराज पन्तले गरेको कागज 

            जी.कुन्दाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी नन्दादेवी जोशी समेत भएको कर्तव्य ज्यान मुद्दामा अनुसन्धानको सिलसिलामा पक्राउ गर्नुपर्ने क्रममा जिल्ला कञ्चनपुर महेन्द्रनगर न.पा.वडा नं. १८ बस्ने प्रतिवादी नन्दादेवी जोशी र निजकै छोरा लक्ष्मण जोशीलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि दाखिला गरेको भन्ने मिति २०६५।१।१० को प्रहरी प्रतिवेदन 

            मिति २०६२।१।२७ गते विहान म कर्वड हलबाट घर फर्किसकेपछि म समेत मेरो श्रीमती सुनीता जोशी, आमा नन्दादेवी जोशी, चालक गणेशदत्त पाण्ड्ये र लक्ष्मी पनेरु समेतका व्यक्तिहरू घरको दोस्रो तल्लामा रहेको डाइनिङ्ग हलमा खाना खाइरहेको अवस्थामा वाहिरबाट मान्छे खस्यो भन्ने आवाज सुनी म र गणेश पाण्ड्ये वाहिर आई हेर्दा निज एम. सुब्बा राव मेरो घर आँगनको भूइमा लडेको देखेको हुँ । सोपश्चात् आमा नन्दादेवी जोशीले प्रहरीमा खवर गर भनेकीले म जिल्ला प्रहरी कार्यालय कन्चनपुरमा गएको हो । सो पश्चात् वडा प्रहरी कार्यालय महेन्द्रनगरमा समेत गएको हुँ । सो ठाउँबाट घर फिर्ता आउँदा मृतक एम. सुब्बा रावलाई शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल लगी सकेको थियो । निज एम. सुब्बा रावलाई मैले कर्तव्य गरी मारेको होइन निज मेरो घरको चौथो तलाबाट खसी मृत्यु भएको हुनुपर्छ । मेरो घर जग्गा धितो राखी बैंकबाट ग्लोवल एजुकेशन फाउण्डेशनका केन्द्रीय अध्यक्ष समेतका व्यक्तिहरूले २४ करोड रूपैयाँ ऋण निकाल्ने प्रयास गरेको कुरा मैले थाहा पाई आमा नन्दादेवी जोशीलाई भनेको हुँ । सोही विषयलाई लिएर निजहरूले रिसइवी लिएको हुनुपर्छ भन्ने प्रतिवादी लक्ष्मण जोशीको अनुसन्धान अधिकारी समक्ष मिति २०६५।१।१७ मा भएको बयान कागज 

            मेडिकल कलेजको कामको शिलसिलामा दिवाकर चन्द र अर्जुन वास्तोलाले मलाई काठमाडौं बोलाएको हुँदा मिति २०६२।१।२७ गते मेरो काठमाडौं जाने योजना भएकोले सोही विहान म, मेरो छोरा लक्ष्मण जोशी, बुहारी सुनीता जोशी, चालक गणेश पाण्ड्ये र लक्ष्मी पनेरु मेरो घरको दोस्रो तलमा खाना खाई रहेको अवस्थामा बाहिरबाट मानिस खस्यो भन्ने आवाज सुनी वाहिर आई हेर्दा एम. सुब्बा राव मेरो घरको आँगनमा लडेको देखेकी हुँ, सो पश्चात् मैले मेरो छोरा लक्ष्मण जोशीलाई प्रहरीमा खवर गर्न पठाएकी हुँ र गणेश पाण्ड्येलाई गाडीको व्यवस्था गर्न पठाएको समयमा प्रहरी घटनास्थलमा आइपुगेका हुन् । २०५७ साल पौष १० गते महेन्द्रनगर कन्चनपुर कलेजको शिलन्यास गरी कार्य सञ्चालन गर्दै आई रहेको र निज एम. सुब्बा राव उक्त मेडिकल कलेजको मेनेजिङ्ग डाईरेक्टर पदमा कार्यरत थिए । म उक्त कलेजको आवाशीय डाईरेक्टर पदमा कार्यरत भएकीले ग्लोवल एजुकेशन फाउण्डेशनले मलाई सात करोड एघार लाख नव्वे हजार आठ सय उनान्सय तिर्नुपर्ने हुँदा सोही फाउण्डेशनका अध्यक्ष दिवाकर चन्द र जाहेरवाला जी. कुन्दा समेतले उक्त रकम नतिर्ने मनसायले मेरो नाउँमा किटानी जाहेरी दिएको हुनुपर्छ । मैले निज एम. सुब्बा रावलाई कर्तव्य गरी मारेको भए मृतकको भाई एम. भी. ईश्वरले म उपर तत्काल जाहेरी दिने थिए उनले म उपर कुनै जाहेरी दिएका छैनन् । मैले निज एम. सुब्बा रावसँग मेरो कुनै पूर्व रिसइवी तथा वादविवाद थिएन । निजलाई मैले फोन गरी घरमा बोलाएको होइन भन्ने व्यहोराको प्रतिवादी नन्दादेवी जोशीको अनुसन्धान अधिकारी समक्ष मिति २०६५।१।१७ मा भएको बयान 

            मिति २०६२।१।२७ गते विहान जिल्ला कन्चनपुर महेन्द्रनगर न.पा.वडा नं. १८ स्थित अशोक जैरुको घर बनाउने ठेक्का लिएको हुँदा म समेत ३÷४ जना लेवर उक्त ठाउँमा काम गरी रहेको अवस्थामा अचानक सामान खसेको जस्तो आवाज सुनेपछि निज प्रतिवादी नन्दादेवी जोशीको घर आँगनतर्फ हेर्दा पछि नाम थाहा भएका एम. सुब्बा राव उक्त घरको आँगनमा लडेको देखी मान्छे खस्यो भनी कराई उक्त ठाउँमा दौडेर गएको हुँ । म पुग्नुभन्दा पहिले जनकराज पन्त पुगिसकेका थिए । सो पश्चात् निज प्रतिवादी नन्दादेवी जोशीको घर भित्रबाट पछि नाम थाहा भएका गणेश पाण्ड्ये र म समेत भै उक्त ठाउँबाट वरण्डामा राखे पश्चात् निज प्रतिवादी नन्दादेवी जोशीले यहाँ नराख भनी गाली गरेपश्चात् सोही ठाउँमा राखेका हौँ । निजलाई सोही खसेको ठाउँमा राख्यौँ वा फरक पारी राख्यौँ हतारमा थाहा भएन मृतक एम. सुब्बा राव निज नन्दादेवी जोशीको घरबाट खसेको देखेको भनी कागज गरे तापनि मैले खसेको देखेको होइन निज एम. सुब्बा रावलाई प्रतिवादी नन्दादेवी जोशी समेतका व्यक्तिहरूले मारेको हो वा आफै खसी भवितव्यमा परी मरेका हुन् सो कुरा नदेखेको हुँदा भन्न सक्दिन भन्ने व्यहोराको रतन अधिकारीले गरेको २०६५।१।१८ गतेको कागज 

            मिति २०६२।१।२७ गते विहान निज प्रतिवादी नन्दादेवी जोशीको घर आँगनमा पछि नाम थाहा भएका एम. सुब्बा राव घोप्टो अवस्थामा देखी तत्काल उक्त ठाउँमा गई उत्तानो पल्टाई म समेत रतनप्रसाद अधिकारी गणेश पाण्ड्येले सो ठाउँबाट वरण्डामा लगी राख्न खोज्दा नन्दादेवी जोशीले रिसाएर उतै राख भनेकी हुन । सो पछि निज एम. सुब्बा रावलाई पहिले कै ठाउँमा राख्यौँ वा फरक पारी राख्यौँ हतारमा थाहा भएन । निज मृतक एम. सुब्बा रावलाई प्रतिवादी नन्दादेवी जोशी समेतका व्यक्तिहरूले खसाई कर्तव्य गरी मारेका हुन वा आफै खसी मृत्यु भएको हो सो कुरा नदेखेको हुँदा भन्न सक्तिन भन्ने व्यहोराको जनकराज पन्तले गरेको कागज 

            मिति २०६२।१।२७ गते म काम विशेषले काठमाडौं गई त्यहाँबाट फर्किसकेपश्चात् निज एम. सुब्बा रावको मृत्यु भएको खवर सुनी थाहा पाएको हुँ । सो घटना पूर्व निज एम. सुब्बा राव महेन्द्रनगर मेडिकल कलेज सञ्चालन सम्बन्धमा चिन्तित देखिन्थे, निजलाई प्रतिवादी नन्दादेवी जोशी समेतका व्यक्तिहरूले कर्तव्य गरी मारेका हुन वा भवितव्यमा परी मृत्यु भएको हो सो सम्बन्धमा यकीन भन्न सक्दिन भन्ने व्यहोराको नेत्रराज चटौतले गरेको कागज 

            यसमा जी. कुन्दा समेतको जाहेरी दरखास्त, घटनास्थल प्रकृति विवरण, लास जाँच प्रकृति मुचुल्का, शव परीक्षण प्रतिवेदन घटना घटेको तत्काल देख्ने व्यक्तिहरूले गरिदिएका कागज, घटनास्थल र लाससँग सम्बन्धित फोटोहरू, मिसिल संलग्न बुझिएका अन्य व्यक्तिहरूको बयान कागज समेतबाट मिति २०६२।१।२७ गतेका दिन प्रतिवादी नन्दादेवी जोशी र मृतकका बीच कलेजको लेनदेनको विषयलाई लिएर पूर्व रिसईवी भएकोमा निज मृतकलाई फोनद्वारा आफ्नो घरमा बोलाई आफू र आफ्ना सहयोगी लक्ष्मणराज जोशी, गणेशदत्त पाण्ड्ये, धर्मराज उपाध्याय समेत मिली मृतकलाई आफ्नो घरको माथिल्लो तलाको रेलिङ्गबाट खसाली भारतीय नागरिक एम. सुब्बा रावको हत्या गरेको पुष्टि हुन आएकोले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. मा परिभाषित कसूर अपराध गरेकोमा यी प्रतिवादीहरू नन्दादेवी जोशी, लक्ष्मणराज जोशी, गणेश पाण्ड्ये र धर्मराज उपाध्याय समेत जना ४ लाई ज्यानसम्बन्धी महलको १३(३) नं.बमोमिज सजाय हुन र फरार रहेका प्रतिवादी गणेशदत्त पाण्ड्ये र धर्मराज उपाध्यायका नाउँमा अदालतबाटै वारेन्ट जारी हुन अनुरोध गरिएको भन्ने समेत व्यहोराको २०६५।१।३१ मा पेश हुन आएको अभियोग पत्र 

            मिति २०६२।१।२७ गते हामी सपरिवार विहानको खाना खाई रहेका अवस्थामा छतबाट केही खसेको जस्तो आवाज आएकोले वाहिर आई हेर्दा सुब्बा राव खसेको देखी प्रहरीमा फोन गर्दा नलागेकोले छोरालाई प्रहरीमा खवर गर्न पठाएकी हुँ । त्यस पछि प्रहरीहरू पनि आएका हुन् । निज सुब्बा रावको आत्महत्या गरेर मृत्यु भएको होला । झूठा आरोप लगाई मलाई थुनाउन सके मेडिकल कलेजको आयस्रोत एकलौटी लिन खान पार्ईएला भन्ने सोचाईबाट मलाई आरोप लगाएका हुन् । व्यवस्थापन पक्षसँग मेरो कहिल्यै विवाद पनि भएन । मैले सुब्बा रावलाई घरमा बोलाएकी पनि होइन । दिवाकर चन्द, जी. कुन्दा र अर्जुन वास्तोला समेतले मेरो घर जग्गा धितो राखी ऋण निकाल्न माईन्युट बुकमा मलाई सही गर्न भनेका थिए । मैले सही नगरेकाले आफ्ना मानिसहरूबाट झूठा कुरा लेखाउन लगाएको र अर्कोतर्फ मैले सात करोड एघार लाख नब्वे हजार रुपैयाँ लिनुपर्ने भएकोले मलाई फसाएका हुन् भन्ने समेत व्यहोराको प्रतिवादी नन्दादेवी जोशीले अदालतमा गरेको बयान 

            गणेशदत्त पाण्ड्ये, लक्ष्मीकुमारी पनेरु र हामी घरका सबै परिवार सो २०६२।१।२७ गतेका दिन विहानको खाना खान लागेका अवस्थामा बाहिरबाट मान्छे खस्यो भन्ने आवाज आयो । कहाँ के खस्यो भनी गणेश पाण्डे र म वाहिर आई हेर्दा मृतक सुब्बा राव खसेको रहेछन । त्यसपछि आमा पनि आउनु भयो, आमाले प्रहरीमा खवर गर्न भने पछि खवर गर्न गएको हुँ, प्रहरी आएपछि हेर्दा निजको मृत्यु भई सकेको रहेछ । मृतकको मृत्यु छतबाट खसेर नै भएको होला खस्दा मैले देखिन । निज मृतकलाई आमाले घरमा बोलाए नबोलाएको मलाई थाहा छैन । मृतक मिर्गीको विरामी थियो । आफै पनि खसेको हुन सक्छ । म आफ्नो पढाईमा व्यस्त भएकोले के के भयो कसले मार्‍यो थाहा भएन । मलाई विवादका बारेमा कुनै कुरा थाहा छैन । मलाई अनाहकमा फसाउन खोजिएको हो भन्ने समेत व्यहोराको प्रतिवादी लक्ष्मणराज जोशीले अदालतमा गरेको बयान 

            मिति २०६२।१।२७ गते नै पुनर्वास गएको र २७२८ गते त्यही बास बसी २९ गते मात्र नन्दादेवी जोशीको घरमा आएर सोही दिन प्रहरी कार्यालयमा गएको हुँ । २०५९/६० सालदेखि नन्दा जोशीको घरमा बस्दै आएको थिएँ । निजले अह्राएको काम गर्ने र क्याम्पस पनि पढ्ने गर्थे । सुब्बा राव र नन्दा जोशीका बीचमा कारोवारका बारेमा के कुरा हुन्थ्यो मलाई थाहा भएन । घटना घटेको दिन म त्यहाँ नभएकोले सो बारेमा मलाई केही थाहा भएन भन्ने समेत व्यहोराको प्रतिवादी धर्मराज उपाध्याले अदालतमा गरेको बयान 

            नन्दादेवी जोशी मिति २०६२।१।२७ गते काठमाडौं जाने तयारीमा भएकीले निजको घरको दोस्रो तल्लामा रहेको डाइनिङ्ग कोठामा खाना खान तयारी गरी रहेको अवस्थामा वाहिर केही खसेको जस्तो आवाज आउनका साथै मान्छे खस्यो भन्ने समेतको आवाज आई लक्ष्मण जोशी र म दौडेर बाहिर आई हेर्दा निज सुब्बा राव खसेको अवस्थामा देखेको हुँ । त्यहाँ अरु मानिस कोही नहुँदा घरको छतबाट आफै खसेको होला जस्तो लाग्छ । म नन्दा जोशीको गाडी चलाउने गर्थे मैले सुब्बा रावलाई मार्नु मराउनु पर्ने कुनै कारण र प्रयोजन छैन भन्ने समेत व्यहोराको प्रतिवादी गणेशदत्त पाण्ड्येले अदालतमा गरेको बयान 

            मिति २०६२।१।२६ गतेका दिन प्रतिवादी धर्मराज उपाध्याय निजका भिनाजु टिकाराम उपाध्यायको घर पुनर्वास गएका थिए । ३ दिनसम्म त्यही बसेका हुन् । उक्त कर्तव्य ज्यान मुद्दामा निजको संलग्नता छैन भन्ने समेत व्यहोराको प्रतिवादी धर्मराज उपाध्यायका साक्षी गीता उपाध्याय र टिकाराम उपाध्यायले एकै मिलान हुने गरी गरेको बकपत्र 

            म १०:१५ बजेतिर घटनास्थलमा गएको थिएँ । मृतकको मृत्यु कसरी भएको हो मलाई थाहा भएन । मृतक लास उत्तानो अवस्थामा थियो । त्यहा एक जना पन्त सर र एक जना अर्को मान्छे रतनप्रसाद अधिकारी थिए । मृतक सुब्बा राव नन्दादेवी जोशीको घरको चौथो तलाको रेलिङ्गबाट खसेका हुन् भनी मलाई रतनप्रसाद अधिकारीले भनेका हुन । मेरो अफीस जाने बाटो भएकोले देखेको हुँ भन्ने समेत व्यहोराको कागज गर्ने देवदत्त ओझाले गरेको बकपत्र 

            मृतक सुब्बा रावसँग मेरो चिनजान थियो । मृत्यु हुनुभन्दा पूर्व पनि भेटघाट भएको थियो । मृत्यु कसरी भयो त्यो कुरा मलाई थाहा छैन । परिचय भएको नाताले मृत्यु भएको दिन महाकाली अञ्चल अस्पताल सम्म गएको थिएँ । वाई. दुर्गाप्रसादले अनुरोध गरेकोले लासलाई दिल्लीसम्म पु¥याउन गाडीको व्यवस्था मिलाएको थिएँ । लासलाई मैले देखिन भन्ने समेत व्यहोराको कागज गर्ने भागवत ढकालले गरेको बकपत्र 

            घटना घटेको दिन म आफ्नै पसलमा थिएँ । मैले लास देखिन । सुब्बा रावको मृत्यु सम्बन्धमा मलाई केही थाहा छैन । मेडिकल कलेजको फर्निचर सम्बन्धी लेनदेन विषयमा सुब्बा रावसँग मर्नु भन्दा २३ महिना पहिले भेट भएको थियो । मृतकसँग भेट हुँदा निजको हाउभाउ चिन्तित् जस्तो लाग्थ्यो भन्ने समेत व्यहोराको कागज गर्ने क्षेत्रपाल मेहराले गरेको बकपत्र 

            मिति २०६२।१।२७ गतेका दिन मैले ८:३०/:४५ बजेतिर प्रतिवादी लक्ष्मणलाई देखेको थिएँ । कवर्ड हलबाट आउँदै गर्दा भेटेको हुँ । निज प्रतिवादी ज्यान मार्ने खालको व्यक्ति होइनन् । सिधासाधा मिलनसार व्यक्ति हो । निजलाई ४ वर्ष पहिले देखि चिन्दछु । लक्ष्मण जोशीको उक्त ज्यान मुद्दामा संलग्नता छैन । उक्त घटनाबारे मलाई केही थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी लक्ष्मण जोशीका साक्षी वीरेन्द्र पाण्ड्येले गरेको बकपत्र 

            प्रतिवादी लक्ष्मण जोशीलाई ५/६ वर्ष पहिले देखि चिन्दछु । निज त्यस्तो काम गर्ने व्यक्ति होइनन । झैझगडा नगर्ने दयालु भावनाको मान्छे हो । निजको त्यस्तो आपराधिक काममा संलग्नता हुन सक्दैन । कृषि बैंकको स्टाफ देवदत्तले लक्ष्मणको छतबाट एक जना मानिस खसेको छ भनी मलाई फोन गरी खवर गरेकाले घटनाबारे थाहा पाएको हुँ । रतनप्रसाद अधिकारीले मान्छे छतबाट आफै खसेको मैले देखेको हुँ भनी मलाई भनेको थियो । लास जमिनमा उत्तानो अवस्थामा थियो, निधारमा चोट लागेको थियो भन्ने समेत व्यहोराको प्रतिवादी लक्ष्मण जोशीका साक्षी सुरेन्द्रबहादुर सिंहले गरेको बकपत्र 

            घटना घटेको दिन म आफ्नै घर डडेल्धुरामा थिएँ । प्रतिवादी गणेशको र हाम्रो घर पहाड एकै ठाउँमा भएकोले निजलाई बचपनदेखि चिन्छु । निज गाडी चलाउने काम गर्दथे प्रतिवादी गणेश त्यस्तो खालका मान्छे होइनन् सिधासादा चाल चलनका व्यक्ति हुन । महेन्द्रनगर आएपछि मेडिकलको चिफ हाम फालेर मर्‍यो भनेर सुनेको हुँ । निज प्रतिवादीले त्यस्तो कसूर गर्ने कुरै आउँदैन भन्ने समेत व्यहोराको प्रतिवादी गणेशदत्त पाण्ड्येका साक्षी डम्वरदत्त पाण्ड्येले गरेको बकपत्र 

            घटना बारे मलाई केही थाहा छैन । प्रतिवादी गणेशदत्त पाण्ड्ये गाडी चलाउने काम गर्दथे । प्रतिवादी त्यस्तो व्यवहार गर्ने खालका व्यक्ति नभएको हुनाले निज उपरमा लागेको अभियोग झूठा हो । घटनामा गणेश दत्तको संलग्नता होला जस्तो लाग्दैन भन्ने समेत व्यहोराको प्रतिवादी गणेश पाण्ड्येका साक्षी महानन्द पाण्ड्येले गरेको बकपत्र 

            प्रतिवादी गणेशलाई म वचपन देखि चिन्दछु । निज गाडी चलाउने काम गर्दछन । गणेश मसँगै उठ्ने बस्ने व्यक्ति हुँदा निज प्रतिवादीले त्यस्तो ज्यान मार्ने काम गरे होला जस्तो लाग्दैन । सो घटना वारे मलाई केही थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी गणेश पाण्ड्येका साक्षी श्रीनन्द पाण्ड्येको बकपत्र 

            घटना घटेको दिन नन्दादेवी जोशीकै घरमा निजसँग भेटघाट भएको थियो । उक्त दिन मृतक सुब्बा रावको लास नन्दा जोशी कै घरमा थियो । सबैले हाम फालेर मर्‍यो भन्दै थिए । नन्दा जोशी त्यस्तो घटना घटाउने खालकी मान्छे होइनन् । मान्छेको भिड धेरै भएकोले मैले लासलाई देखिन भन्ने समेत व्यहोराको प्रतिवादी नन्दादेवी जोशीका साक्षी पिरु निरौलाले गरेको वकपत्र 

            म महेन्द्रनगरस्थित अशोक जैरुको घरमा पिलरको फर्मा सेटिङ्गको काम गरी रहेको थिएँ । मेरो लेवरहरू काम गरिरहेकाले म एक छिन आराम गरी राखेको थिएँ । प्रतिवादी नन्दादेवी जोशीको घरको वरण्डामा सुब्बा रावलाई उभिई राखेको देखेको हुँ । त्यसपछि त्यो सुब्बा राव ढोकातिर गयो । फेरी वरण्डामा आयो । फेरी गयो । त्यसपछि फेरी आएर बरण्डाको रेलिङ्गमा हात टेक्यो र तल झुकेर हेर्न लाग्यो । यो मान्छे तल किन हेर्दैछ खस्छ कि के हो भनी मनमनै सोचे मैले हेर्दाहेर्दै आफै तल खस्यो । मैले त्यसपछि मान्छे झर्‍यो भनेर कराएँ । म उक्त स्थानमा गएँ, मैले र नचिनेको मान्छे भएर सुब्बा रावलाई उत्तानो पार्‍यौं । गणेश म र नचिनेको व्यक्तिले समाती वरण्डामा लग्यौं । त्यति बेला प्रतिवादी नन्दादेवी आई खसेकै ठाउँमा राखौं भने पछि सोही ठाउँमा राख्यौं । पानी पिलायौं र निजको त्यहीँ मृत्यु भयो भन्ने समेत व्यहोराको बुझिएका व्यक्ति रतनप्रसाद अधिकारीले गरेको बकपत्र 

            मिसिल संलग्न प्रमाणहरू र परिस्थितिजन्य प्रमाणहरूबाट प्रतिवादीहरू निर्दोष रहेछन भन्न मिल्ने देखिएन । तसर्थ अभियोग दावीअनुसार प्रतिवादीहरू नन्दादेवी जोशी, लक्ष्मण जोशी र गणेशदत्त पाण्ड्येलाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम जन्मकैद हुने ठहर्छ । प्रतिवादी धर्मराज उपाध्यायका हकमा विचार गर्दा निजका साक्षीहरूले समेत निजको भनाईलाई समर्थन गरी बकपत्र गरी दिएको र निजलाई कसूरदार ठहर गर्न मिल्ने भरपर्दो कुनै प्रमाण वादी पक्षबाट गुज्रन आएको देखिदैन । यस्तो अवस्थामा निजलाई दोषी करार गरी सजाय गर्न मिल्ने देखिन आउँदैन । तसर्थ प्रतिवादी धर्मराज उपाध्यायले अभियोग दावीबाट सफाइ पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु कन्चनपुर जिल्ला अदालतको मिति २०६६।२।११ को फैसला 

            जी. कुन्दा, मान व्रमन र विपीन डंगोललाई अदालतमा पेश गर्न नसकेको अवस्थामा प्रमाण ऐन, २०३१ को दफा १८(ख) बमोजिम थुनछेकको लागि मात्र ग्राह्य हुने प्रमाणलाई फैसलाको रोहमा लिन नहुनेमा सोलाई प्रमाण लिई फैसला गरिएको छ । कलेजले घर भाडामा लिए पछि माथिल्लो तलामा जान आउन निजलाई स्वाभाविकरुपले मेरो अनुमति आवश्यक नभए पछि मैले जानकारी राख्ने प्रश्न नै नभएको र मेरो संलग्नतालाई कुनै विश्वसनीय आधार तथा प्रमाण विना अनुमानको आधारमा फैसला गरिएको छ । प्रस्तुत मुद्दामा मेरो मार्ने मनसाय भए दिनको समय कसरी रोज्दथे ? मैले आफैले कसरी जाहेरी दिन्थे ? उक्त जाहेरीपश्चात् मृतक कै भाइले लास बुझेपछि निजले किन जाहेरी गरेनन् ? त्यसवेलाको अनुसन्धानबाट मलाई कारवाही किन गरिएन ? जस्ता प्रश्नहरूमा फैसलाले प्रवेश गरेको पाइदैन । मृतकको साथमा भेटिएको कागज र हाम्रो जानकारी विना माथिल्लो तल्लामा मृतक कसरी पुग्यो ? भन्ने अनुमानलाई आधार मानी परिस्थितिजन्य प्रमाणको आधार देखाई गरिएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दावीबाट सफाइ पाऊँ भन्ने नन्दादेवी जोशीको पुनरावेदन अदालत महेन्द्रनगरमा परेको पुनरावेदन पत्र 

            शुरु जिल्ला अदालतको मनोगत तवरबाट फैसला गरिएको र मिसिल संलग्न कागजातहरूलाई कानूनअनुरूप मूल्याङ्कन नगरी पूर्व लक्षित परिणाम जवरजस्ती पुष्टि गराउने अभिप्रायबाट गरिएको छ । यदि शुरु फैसला प्रमाणमा आधारित भएको भए रतनप्रसाद अधिकारीको भनाइलाई फैसलामा निश्चय नै उल्लेख गरिने थिएन । वादी पक्षको कुनै साक्षीको कथन विरोधाभाषपूर्ण र अविश्वासिलो ठहरिएमा सो प्रतिवादी विरुद्ध कदापि आकर्षित हुन सक्दैन । प्रस्तुत मुद्दामा चश्मदिद् साक्षी रतनप्रसाद अधिकारीको भनाईलाई देवदत्त ओझालगायत वादी पक्षका साक्षीहरूको कथन समेतले समर्थित गरी राखेको छ । मृतकको मृत्युको वास्तविक कारण मिसिल संलग्न प्रमाणबाट प्रष्ट देखिँदा देखिँदै सोलाई बेवास्ता गरी मिसिल प्रमाण भन्दा वाहिर गएर ग्रहण नै गर्न नमिल्ने आधारहरूलाई प्रमाणको रुपमा परिभाषा गरी मेरा विरुद्ध गरिएको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी पूर्णतः सफाइ दिलाई पाऊँ भन्ने गणेशदत्त पाण्ड्येको पुनरावेदन अदालत महेन्द्रनगरमा परेको पुनरावेदन पत्र 

            यसमा प्रतिवादी गणेशदत्त पाण्ड्ये समेतको हकमा परिस्थितिजन्य प्रमाणको समग्र मूल्याङ्कन र विवेचनाको अभावमा भएको शुरु फैसला फरक पर्न सक्ने देखिँदा छलफलका लागि पुनरावेदन सरकारी वकीलको कार्यालय, महेन्द्रनगरलाई पेशीको सूचना दिई पेश गर्नु भन्ने पुनरावेदन अदालत महेन्द्रनगरको आदेश 

            रकम कलमका सम्बन्धमा वादविवाद भई मृतक र प्रतिवादीबीच मनमुटाव रहेको देखिदा र प्रतिवादी नन्दादेवीले मृतकलाई घरको छतबाट खसाएको देखिँदा परिस्थितिजन्य प्रमाणको आधारमा प्रतिवादी नन्दादेवी जोशीलाई आरोपित कसूरमा कसूरदार ठहर्‍याई सजाय गर्ने गरी भएको शुरु फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । निजको पुनरावेदन जिकीर पुग्न सक्दैन । प्रतिवादी गणेशदत्त पाण्ड्येको हकमा वारदात घटनामा निजको संलग्नता रहेको प्रमाणको अभावमा निजले आरोपित कसूरबाट सफाइ पाउने हुँदा निजलाई कसूरदार ठहर गरेको कन्चनपुर जिल्ला अदालतबाट मिति २०६६।२।११ मा भएको फैसला सो हदसम्म मिलेको नदेखिदा केही उल्टी भई निज गणेशदत्त पाण्ड्येले सफाइ पाउने ठहर्छ भन्ने समेत पुनरावेदन अदालत महेन्द्रनगरको मिति २०६६।१२।१५ को फैसला 

            मिसिल संलग्न प्रमाणहरूको मूल्याङ्कन नगरी केवल अनुमान र शंकाको आधारमा आरोपित कसूरमा ठहर गरेको पुनरावेदन अदालत कन्चनपुरको फैसलामा गम्भीर कानूनी त्रुटि हुनुको साथै सम्मानित अदालतबाट प्रतिपादित सिद्धान्तअनुकूल फैसला नगरी भएको शुरु तथा पुनरावेदन अदालतको त्रुटिपूर्ण फैसला बदर गरी आरोपित कसूरबाट सफाइ पाऊँ भन्ने समेत प्रतिवादी नन्दादेवी जोशीको यस अदालतमा पर्न आएको पुनरावेदन 

            लास प्रकृति मुचुल्का एवं अपराधसँग सम्बद्ध अन्य प्रमाणको आधारमा समेत प्रतिवादी गणेशदत्त पाण्ड्येलाई समेत अभियोग माग दावीबमोजिम कसूरदार ठहर फैसला गर्नुपर्नेमा र समान तथ्य र प्रमाण रहेको अर्का प्रतिवादीलाई ठहर फैसला भएको अवस्थामा अपराधमा संलग्न रहेका प्रतिवादी गणेशदत्त पाण्ड्येलाई आरोपित कसूरबाट सफाइ दिने ठहर गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग माग दावीबमोजिम सजाय गरिपाऊँ भन्ने वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन 

            यसमा मृतकलाई ३६ फीट माथिबाट प्रतिवादीले फ्याकी मारेको हो भन्ने प्रत्यक्षदर्शी गवाह नभएको, देख्ने प्रत्यक्षदर्शी रतनप्रसाद अधिकारीले पनि आफै खसेर मृतकको मृत्यु भएको हो भनी मौकामा र अदालतमा समेत बकपत्र गरेको देखिँदा पुनरावेदन अदालत महेन्द्रनगरबाट भएको फैसला फरक पर्न सक्ने महान्यायाधिवक्ताको कार्यालयलाई पेशीको जानकारी दिई फौ.पु.नं. ०३४८ को मुद्दा समेत साथै राखी नियमबमोजिम पेश गर्नु भन्ने यस अदालतको मिति २०६७।१२।९ को आदेश 

            नियमबमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी नन्दादेवी जोशी एवं गणेशदत्त पाण्ड्येको तर्फबाट विद्वान वरिष्ठ श्री रामप्रसाद श्रेष्ठ एवं विद्वान अधिवक्ताहरू श्री बालकृष्ण नेपाउने, श्री प्रेमसिँह धामी र श्री रवीन सिँहले प्रतिवादी नन्दादेवी जोशीलाई शुरु तथा पुनरावेदन अदालतबाट कसूरदार ठहर गर्दा परिस्थितिजन्य प्रमाणका आधारमा ठहर गरेको देखिए तापनि त्यस्तो परिस्थितिजन्य प्रमाणलाई समर्थन गर्ने कुनै तथ्ययुक्त प्रमाण पेश भएको छैन । चश्मदिद् व्यक्ति रतनप्रसाद अधिकारीले यो यस्तो परिवन्धबाट प्रतिवादीहरूले मृतकलाई मारी फालेको भन्ने कुरा उल्लेख गर्न सकेका छैनन् । रकम कलमको विषयमा विवाद हुदैमा प्रतिवादी उपर ज्यान जस्तो अभियोगमा शंकाको घेरामा राखी सजाय गर्न मिल्दैन । तसर्थ निज नन्दादेवी जोशीलाई अभियोग दावीबाट सफाइ हुनु पर्दछ । गणेशदत्त पाण्ड्येको हकमा पनि पुनरावेदन जिकीर तर्कसंगत छैन । निजको संलग्नता पुष्टि हुने ठोस प्रमाण वादी पक्षबाट पेश हुन सकेको छैन भनी बहस गर्नुभयो । वादी नेपाल सरकारको तर्फबाट विद्वान उपन्यायाधिवक्ता श्री उद्धव पुडासैनीले प्रतिवादीहरूबाट प्रस्तुत मुद्दामा तथ्ययुक्त प्रमाणहरू लुकाउने प्रयास भएको देखिन्छ । तसर्थ मुद्दामा रहेका परिस्थितिजन्य प्रमाणहरूको आधारबाट नै मुद्दाको निष्कर्षमा पुग्नु पर्ने अवस्था छ । प्रतिवादी नन्दादेवी जोशीसँग कलेजको रकम कलमको सम्बन्धमा पटकपटक मृतक सुब्बा राव बीच विवाद सिर्जना भई सोही रिसईवी साध्नको लागि यो अपराध घटाउन पुगेको अवस्था छ । मृतकको कमिजको खल्तीमा भेटिएको पत्रबाट सो कुरा पुष्टी भएको छ । प्रतिवादी नन्दादेवीले मृतक रावलाई फोन गरी बोलाएपछि घटना घट्न पुगेको छ । प्रतिवादी गणेशदत्त पाण्ड्ये समेत अपराधमा संलग्न रहेको मिसिल संलग्न प्रमाणबाट देखिएको अवस्थामा निज गणेशदत्त पाण्ड्येलाई समेत कसूरदार ठह¥याउनु पर्नेमा निजलाई सफाइ दिएको हदसम्म पुनरावेदन अदालतको फैसला मिलेको छैन भनी प्रस्तुत गर्नु भएको बहस जिकीर समेत सुनियो 

            दुवैतर्फबाट प्रस्तुत भएको बहस जिकीर सुनी मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन अदालत महेन्द्रनगरबाट नन्दादेवी जोशीलाई कसूरदार ठहर गरेको निर्णयउपर निज नन्दादेवीको तथा गणेशदत्त पाण्ड्येले आरोपित कसूरबाट सफाइ पाउने ठहर भएउपर वादी नेपाल सरकार दुबै तर्फबाट पुनरावेदन परी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको वारदातका सम्बन्धमा निम्न विवादित प्रश्नहरूको निरोपण हुनुपर्ने देखिन आएको छः

 

क)    मृतकको मृत्यु घरको तल्लाको रेलिङ्गबाट आफै खसी भएको हो वा कर्तव्यबाट भएको हो ?

ख)    प्रतिवादीहरूलाई अभियोग दावीबमोजिम सजाय हुनपर्ने हो होइन ?

ग)    पुनरावेदन अदालत महेन्द्रनगरबाट कसूर ठहर गर्दा लिएको आधार कानूनसंगत छ छैन ?

 

            २. पहिलो प्रश्नतर्फ विचार गर्दा लासजाँच मुचुल्कामा दायाँ हात कुमदेखि माथि पाखुरा भाँचिएको, दाहिने हात पेन्टको दाहिने खल्तिमा रहेको, दायाँ आँखीभौँमा डेढ ईञ्च लम्बाइको घाउ भएको भन्ने तथा शव परीक्षण प्रतिवेदनमा Cause of Death is Rupture of lung with lacerate भन्ने उल्लेख हुँदा फोक्सो फाटेको तथा च्यातिएको कारणबाट मृतकको मृत्यु भएको तथ्यमा विवाद गर्ने ठाउँ रहेन । अव, मृतकको मृत्यु यी प्रतिवादीहरूको संलग्नता वा कर्तव्यबाट भएको हो होइन भन्ने नै केन्द्रीकृत विवाद हुन आयो । यहि केन्द्रिकृत विवादलाई वारदातको अवस्था तथा तथ्य र प्रमाणको समायोजनद्वारा निक्र्यौल गरी विवादित प्रश्नको निरोपण गर्नुपर्ने देखिएको छ 

            ३. १० मई, २००५ का दिन बिहान ९ बजेको समयमा कलेजको विषयको लागि नन्दादेवी जोशीले छलफलको लागि अनुरोध गरेकोले निजको घरमा जादैछु भनी एम. सुब्बा रावले आफूलाई फोन गरेको र मिति २०६२।१।२७ का दिन निजको मृत्यु भएको हुँदा सो मृत्यु स्वाभाविक नभई नन्दादेवी जोशी, लक्ष्मण जोशी, धर्मराज उपाध्याय र गणेशदत्त पाण्ड्येको कर्तव्यबाट भएको विश्वास भएकोले सजाय गरिपाऊँ भनी जी. कुन्दाले दिएको जाहेरी तथा नन्दादेवी जोशी र मृतकका बीच कलेजको लेनदेनको विषयलाई लिएर नन्दादेवी जोशीले मृतकलाई आफ्नो घरमा बोलाई आफू र आफ्ना सहयोगी लक्ष्मण जोशी, गणेशदत्त पाण्ड्ये र धर्मराज उपाध्याय समेत मिली प्रतिवादी नन्दादेवी जोशीको घरको माथिल्लो तल्लाको रेलिङ्गबाट सुब्बा रावलाई खसाली हत्या गरेकोले प्रतिवादीहरूलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय गरिपाऊँ भन्ने अभियोग मागदावी लिई जाहेरीलाई एकमात्र आधार बनाई मुद्दाको प्रारम्भ भएको देखिन आउँछ 

            ४. सर्वप्रथम, यी मृतक सुब्बा राव प्रतिवादी नन्दादेवीको घरको माथिल्लो तलामा देखिनु नै रहस्यमय भएको भनी मूलरुपमा शंका सिर्जना गरिएको पाइन्छ र यसरी शंका गर्नु स्वाभाविकै पनि हो । सोतर्फ प्रमाणस्वरुप प्रेषित करारनामाबाट प्रतिवादीको उक्त घरको तेस्रो तल्ला महेन्द्रनगर मेडिकल कलेजले भाडामा लिई कार्यालयको रुपमा प्रयोग गरिरहेको देखिन्छ । यसरी सार्वजनिक प्रकृतिको संस्थालाई भाडामा दिएको घरमा को को आउँछन् जान्छन् भन्ने कुरा घरधनीको चासोको विषय हुने पनि भएन । मृतकलाई प्रतिवादी नन्दादेवीले फोन गरी बोलाएको भन्ने कुरा अभियोजन पक्षले फोन गरेको अभिलेख विवरण प्रस्तुत गरी स्वतन्त्र रुपमा पुष्टि गर्न सकेको पनि पाइदैन । मृतक उक्त कलेजको मेनेजिङ डाइरेक्टर पदमा कार्यरत भै सो कलेजसँग आवद्ध रहेको नाताबाट प्रतिवादीको घरमा रहेको कार्यालयमा आउने जाने गरेको तथा उक्त दिन पनि यी मृतक कलेजको कामको सिलसिलामा गएको कुरा सो तल्लामा रहेको कोठाको टेवुलमा भौचर लगायतका कागजात रहेको भनी उल्लेख भएको घटनास्थल प्रकृति मुचुल्काबाट पुष्ट्याँइ भएको देखिँदा प्रतिवादीको घरको तेस्रो तल्लामा मृतक किन जानु प¥यो भन्ने शंकाको उत्तर स्वतः प्राप्त हुने नै हुँदा सो तर्फ थप विवेचना गरिरहन परेन 

            ५. अब, जाहेरी दरखास्त एवं अभियोग माग दावीअनुरूप प्रतिवादी नन्दादेवी जोशीको घरको माथिल्लो तल्लाको रेलिङ्गबाट यी मृतकलाई प्रतिवादीहरूले धकेली खसाली दिएको कारणबाट मृत्यु भएको हो वा निज उक्त घरको तल्लाबाट आफै खसी भूईंमा बज्रन पुगी सोही पीडाको कारणबाट स्वभाविक रुपमा मृत्यु हुन पुगेको हो भन्नेतर्फ विचार गर्दा प्रतिवादीहरू अनुसन्धान अधिकारी र अदालतसमक्ष आरोपित कसूरमा पूर्णतः इन्कार रही बयान गरेको देखिन्छ । प्रतिवादीमध्ये नन्दादेवीले गरेको बयानमा आफ्नो घरमा सपरिवार खाना खाइरहेको समयमा मानिस खस्यो भन्ने आवाज सुनी घरबाहिर आई हेर्दा सुब्बा राव घरको आँगनमा लडेको देखी सो को जानकारी तत्काल प्रहरीमा गराएको हो । ग्लोबल एजुकेशन फाउण्डेशनले आफूलाई रकम दिनु पर्ने हुँदा उक्त रकम नतिर्ने उद्देश्यले स्वाभाविक मृत्यु भएको व्यक्तिलाई कर्तव्य गरी मारेको भनी आरोप लागएका हुन भनी उल्लेख गरेकी र सहप्रतिवादी लक्ष्मण जोशी र गणेशदत्त पाण्डे समेतले निज नन्दादेवी जोशीको बयानसँग अक्षरस मिलान हुने गरी आरोपित कसूरमा इन्कार रही बयान गरेको पाइन्छ । निज प्रतिवादीहरूको भनाईमा सुब्बा राव घरको तेस्रो तल्लाबाट आफै खसेको हो भन्ने छ । तर, निज मृतक आफै खसेको हो वा खसालिएको भन्ने नै मुख्य विवादित प्रश्न हो । प्रतिवादीहरू कसूर अपराधमा पूर्णतः इन्कार रहेका छन् । कानूनद्वारा आफ्नो विरुद्ध साक्षी हुन वा बयान दिन बाध्य पार्न नमिल्ने गरी संरक्षण वा सुविधा प्रदान गरेको हुँदा प्रतिवादीहरूले आफ्नो विरुद्ध प्रमाण लाग्ने गरी सहजरुपमा तथ्यका बारेमा मौन रहन सक्छन् । यो उनिहरूको नैसर्गिक वैयक्तिक स्वतन्त्रता भित्र पर्दछ । तसर्थ सो लाई आरोप पुष्ट्याईको कडी मान्न मिलेन । त्यसरी प्रतिवादीहरू आरोपित कसूरमा इन्कार रहेकोमा आरोप पुष्टि हुने अन्य अकाट्य स्वतन्त्र प्रमाणहरू प्रस्तुत गर्नु प्रथम दायित्व अभियोजन पक्षको हुने कुरामा दुईमत हुन सक्दैन । प्रस्तुत वारदातमा वास्तविक निष्कर्षमा पुग्ने एकमात्र आधार भनेका स्वतन्त्र अस्तित्व धारण गरेका चश्मदीद व्यक्तिको कथन, निजले मौकामा गरेको कागज तथा अदालतसमक्ष गरेको बकपत्रलाई सुक्ष्मरुपले अध्ययन, मनन् र विश्लेषण गरी निजले व्यक्त गरेका कुरा कति प्रमाण योग्य छन र ति कथनलाई कति हदसम्म प्रमाणकोरुपमा ग्रहण वा आत्मसात गर्न सकिन्छ भन्ने विवेचनायुक्त विषय बन्न पुगेको छ 

            ६. वारदातको मौकामा वारदातस्थल नजिक उपस्थित प्रत्यक्षदर्शी रतनप्रसाद अधिकारी रहेका छन् । निज बाहेक अन्य व्यक्तिहरूले भनेको, सुनेको र अनुमानका आधारमा प्रस्तुत गरेका आआफ्ना तर्कहरू प्रस्तुत गर्दै अदालतमा समेत बकपत्र गरेका छन् । यसरी प्रत्यक्षदर्शीको रुपमा नरहेका अन्य व्यक्तिहरूले गरेको कागज र बकपत्रको वैधता वा मान्यता हुँदै हुँदैन भनी अर्थ गरिनु पनि हुँदैन । तर प्रत्यक्षदर्शी व्यक्तिको भनाई प्रत्यक्ष घटना नदेखेका तर सुनेका व्यक्तिहरूको तुलनामा न्यून भै प्रत्यक्षदर्शीको बकपत्र बढी विश्वसनीय, प्रमाणयोग्य र सत्यतामा आधारित रहेको हुन्छ भन्ने हो, जसबाट वारदात तथा कसूरदारको वास्तविक यथार्थता पहिचान गराउन मद्दत पुर्‍याउँदछ र यसले को दोषी र को निर्दोष हो भन्ने तथ्यको साङ्गोपाङ्गो लगाउनको लागि न्यायिक प्रक्रियालाई सरलिकृत बनाउँछ । घटनाको प्रत्यक्षदर्शी रतनप्रसाद अधिकारीले मौकामा कागज गरी सोही व्यहोरा मिलान हुने गरी अदालतमा गरेको बकपत्रमा नन्दादेवी जोशीको घरको पूर्वतर्फ अ. ५० मीटरको दूरीमा रहेको अशोक जैरुको घर बनाउन ठेक्कामा लिई काम गराउँदैको अवस्थामा नन्दादेवी जोशीको घरको तेस्रो तल्लाको पूर्वतर्फ एक जना पुरुष व्यक्तिले रेलिङ्गमा हात टेकी तल निहुरी भूईंमा हेरेको र सो स्थानबाट उठी दक्षिणतर्फको ढोकामा उभिई पुनः फर्की सोही ढोका नजिक गई उभिएको, फेरि पहिले उभिएको रेलिङ्ग भएको स्थानमा आई उक्त रेलिङ्गमा हात टेकी कम्मरदेखि माथिको भाग रेलिङ्गमा टेकाई भूईंतिर हेरिराखेको अवस्थामा अचानक निज भूईंमा खसेको हुँदा आफूले मानिस खसेको हल्ला गरी सो स्थानतर्फ जाँदा आफूभन्दा अगाडि पुगेको पन्त भन्ने केटाले खसेको मानिसलाई घोप्टो अवस्थाबाट उत्तानो पल्टाउन खोज्दा नसकेपछि आफू समेत भई निज मृतकको खुट्टा समाई उत्तानो पारेको र हल्लाखल्ला हुँदा नन्दादेवी जोशी समेत आएपछि निज व्यक्ति सुब्बा राव भनेको हुँदा मृतकको पहिचान भएको हो । घरको माथिल्लो तल्लाबाट खस्दा उक्त स्थानमा निज बाहेक अरु व्यक्ति थिएनन् भनी अनुसन्धानको क्रममा पटकपटक गराइएको कागज तथा बकपत्रमा उल्लेख गरेका छन् । यस अवस्थामा निज रतनप्रसाद अधिकारीको भनाइ, लास जाँच मुचुल्का तथा शव परीक्षण प्रतिवेदनको सामिप्यता कति छ सोतर्फ समेत दृष्टिगत गर्नुपर्ने हुन्छ । मृतक खसी घोप्टो अवस्थामा रही निज रतनप्रसाद अधिकारी र जनकराज पन्तले मृत शरीर उत्तानो पारेको भन्ने देखिन्छ । मृतकको दाहिने हातको बुढी औँला पाइन्टको दाहिने साइडको खल्तिमा रहेको भन्ने घटनास्थल लासजाँच प्रकृति मुचुल्काबाट देखिएको छ । फोक्सो फाटेको र च्यातिएको कारण मृत्यु भएको भन्ने शव परीक्षण प्रतिवेदन र निज मृतक घरको तल्लाबाट खस्दा शरीरको अगाडिको भाग जमिनमा बज्रन पुगी घोप्टो अवस्थामा रहनुबाट प्रत्यक्षदर्शीको भनाई, घटनास्थलमा शव रहेको यथार्थ चित्रण र शव परीक्षण प्रतिवेदन समेतले घटनाको वास्तविक तथ्य के हो भन्ने कुराको प्रस्फुटन गरेको छ । घरको पहिलो तल्लाको बरण्डामा भेटिएको रगत जस्तो पदार्थको परीक्षणबाट उक्त पदार्थ रगत नभएको परीक्षण प्रतिवेदनबाट पुष्टि भएबाट कुनै हतियार प्रहार गरी बेहोस बनाई पूर्ववत हत्या गरी फालेको हो की भनी शंका सिर्जना गर्ने सकिने आधार वा विश्वस्त हुन सकिने अवस्था समेत देखिन आउदैन 

            ७. प्रतिवादीहरूले गोप्यरुपले कुनै पेय पदार्थ वा खाद्य पदार्थमा कुनै नशालु वस्तु वा विषादी प्रयोग गरेको कारणबाट मृतकले शारीरिक र मानसिक सन्तुलन कायम राख्न नसकी घरको तल्लाबाट खस्न पुगेका हुनकी भनी सो तर्फ समेत विचारणीय प्रश्न हुँदा सो तथ्यको समेत निरोपण हुनु त्यतिकै वाञ्छनीय छ । मृतक सुब्बा रावको भिषेरा परीक्षणमा किटनाशक औषधि, अल्कोहल तथा मुसा मार्ने विषादी नभेटिएको भन्ने केन्द्रीय विधिविज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदन हुँदा विशेषज्ञको रायमा शंका गर्ने कुनै ठाउँ नहुँदा सो तर्फ समेत थप विवेचना गरिरहन परेन 

            ८. प्रतिवादीहरूले मृतकलाई आफ्नो घरको माथिल्लो तल्लाको रेलिङ्गबाट खसाली हत्या गरेको भन्ने अभियोग दावी तथा सोहीबमोजिमको पुनरावेदन जिकीर रहे तापनि घरको तल्लाको रेलिङ्गबाट उचाली फाल्दा फालेको देखेको भए यो यसले प्रत्यक्ष देखेको भनी त्यस्ता व्यक्तिहरू वा गवाहको रुपमा एकजना व्यक्ति समेत प्रस्तुत गर्न नसकेबाट रेलिङ्गबाट उचाली खसालेको भन्ने कोरा मनोगत तर्क धरातलीय अनुमान हुँदा दावी पुष्टि गर्न मद्दत पु¥याउँदैन । खसालेको नदेख्ने पक्षले लगाएको आरोप स्वीकारयोग्य र आफै खसेको प्रत्यक्ष देख्ने व्यक्तिको भनाई अस्वीकार्य हुन त्यसको निर्विवाद खण्डन हुन सक्नु पर्दछ । प्रवृत्त भावनाले प्रेरित भै कोरा कल्पनामा आधारित वादी पक्षको दावी र पुनरावेदन जिकीर प्रत्यक्षदर्शी रतनप्रसाद अधिकारीको कागज तथा बकपत्रले खण्डन गरिसकेको छ । वस्तुनिष्ठ आधारविहीन अभियोजनको यथार्थताको पुष्टि नभएसम्म अदालत त्यस्ता अभियोग प्रति नतमस्तक भएर सजाय गर्दा न्यायिक मान्यताको जग खलबलिन पुग्ने हुँदा सो तर्फको थप विवेचना अर्थहीन देखिन आएको छ 

            ९. घटना विहानको १०.३० बजे घटेको छ । अध्यारो समयमा होइन । एकान्त ठाउँ, निर्जन ठाउँमा पनि होइन, घरभित्र पनि होइन, हारगुहार तथा मद्दत माग्दा नसुनिने ठाउँ पनि होइन । जवर्जस्ति उठाएर घरको छतबाट कसैले फाल्ने दुष्साहस गरेकोमा हारगुहार गर्दा प्रत्यक्ष देख्नेले नसुन्ने भन्ने प्रश्न नै रहँदैन । अभियोगमा रेलिङ्गमा उचाली त्यहाँबाट तल भूईंमा खसालेको भन्ने छ । एउटा स्वस्थ्य वयस्क मानिसलाई उचाली फाल्न त्यति सहज हुँदैन । मृत्युवरण गर्न कसैले पनि आफ्नो शरीर त्यसै आत्मसमर्पण गर्दैन । शारीरिक बलले थेग्ने बेलासम्म जीवन तथा आत्मरक्षाका लागि मानिस संघर्षरत हुन्छ । संघर्षको समयमा शारीरिक बल प्रयोग तथा जीवनरक्षाका लागि स्वतःफूर्त घटना वरिपरी रहेका साधारण व्यक्तिहरूले सुन्न सक्ने गरी हारगुहार याचिको पुकार गर्दछ, तर प्रस्तुत घटनामा त्यस्तो कार्य केही भए गरेको भन्ने खुल्दैन । घटनास्थल प्रकृति मुचुल्काबाट मृतक भूईंतलाको पेटीमा खसेको पुष्ट्याई भएको छ । यसरी ३/४ जनाको समूहले कसैलाई बलपूर्वक उचाली जवर्जस्ति फ्याकेको भए सामान्यतः सीधा तलको पेटीमा (Vertically) बजारिन पुग्ने अवस्था नै आउदैन । सामान्यतः प्रयोग भएको बलको अनुपातमा त्यस्तो वस्तु घरको भूइको पेटी भन्दा पर पुग्ने हुन्छ । मौकामा घटनास्थलमा भेटिएको लासको चित्रण अध्ययन गर्दा उक्त घटनास्थल तथा लास प्रकृति मुचुल्कामा उल्लिखित तथ्यबाट लास घरको जग पेटीमा खसेको उल्लेख भएबाट रेलिङ्गमा अर्ध शरीर झुकाएर उभिएका मृतक अनियन्त्रित भई सोभैm पेटीमा बजारिन पुगेको यथार्थता पुष्टि भै कर्तव्य होइन भन्ने तथ्यको थप पुष्ट्याई भएको पाइन्छ । कर्तब्य गर्दाको अवस्थामा गरिएको बल प्रयोगले सानो तौलको वस्तु झैँ सीधा उचालेर फुत्त खसाल्नु जस्तै भिमकाय शरीर भएको व्यक्तिलाई फाल्नु स्वभाविकता भित्र पर्न आउदैन । मृतकको शरीर ५ फीट ७ ईञ्च अग्लो भएको र मोटोघाटो व्यक्ति भएको भन्ने घटनास्थलमा तत्काल पुगेका जनकराज पन्तले एक्लै उत्तानो पार्न नसकेकाले रतनप्रसाद अधिकारी समेत भई उत्तानो पारेको भन्ने देखिएबाट प्रतिवादीहरूबाट सहजै मृतकलाई फाल्न सक्ने अनुमान गर्न सकिदैन । घटना घटेको भनिएको नन्दादेवी जोशीको घरको पूर्वतर्फको ५० मीटरको दूरीमा अशोक जैरुको निर्माणाधीन घरमा काम गर्ने कामदारहरू, घटना घट्नु केही समय अगाडिदेखिको मृतकको हाउभाउ नियाली रहेका र खसेको प्रत्यक्ष देख्ने रतनप्रसाद अधिकारी, निज प्रतिवादीको घरबाट नजिकै रहेको निर्माण व्यवसायी संघको कार्यालयमा काम गर्ने पियन फरकबहादुर धानुक, सचिव पार्वती मल्ल समेतले मृतकले हारगुहार गरेको सुन्नुपर्ने त्यस्तो केही भए गरेको भन्ने कसैबाट उच्चारणसम्म पनि भएको पाइदैन । यस स्थितिमा अनुसन्धानकर्ताको ब्रम्हज्ञानबाट मात्र अपराध भएको देख्नु स्वयंमा एउटा अदृश्य शक्ति प्राप्त भएको मान्नु पर्दछ 

            १०. ग्लोवल एजुकेशन फाउण्डेशनसंँग सम्बन्धित व्यक्ति बाहेकका अन्य मौकामा कागज गर्ने व्यक्तिहरू विपीन गंगोली, विशालकुमार तिरुवा, फरकबहादुर धानुक, पार्वती मल्ल, श्यामकृष्ण ओझा, भागवत ढकाल, क्षेत्रपाल मेहरा, नेत्रराज चटौत र देवदत्त ओझा समेतले मौकामा कागज गर्दा र अदालतमा बकपत्र गर्दा एम. सुब्बा रावको मृत्यु सम्बन्धमा अनभिज्ञता प्रकट गरेका छन् । प्रतिवादी नन्दादेवी जोशी संलग्न रहेको संस्था ग्लोबल एजुकेशन फाण्उडेशनसँंग सम्बन्धित रहेका उक्त कलेजका एक्जिक्यूटिभ डाइरेक्टरको सल्लाहकार वाई. दुर्गा प्रसाद, एजुकेशन फाउण्डेशन प्रा.लि. बाट अस्थायी नियुक्ति लिई महाकाली अञ्चल अस्पतालमा कार्यरत अ.हे.व. जनकराज पन्त, सो संस्थाको लेखा सम्बन्धी काम गर्ने देवबहादुर ऐरले मौकामा कागज गर्दा एम. सुब्बा रावको मृत्युको विषयमा एकिनसाथ भन्न नसकी के कसरी मृत्यु भयो भन्ने विवादमा अनभिज्ञता प्रकट गरी कागज गरेका छन् । वाई.दुर्गाप्रसादले नन्दादेवी जोशीले सुब्बा रावलाई फोन गरी बोलाएकोले त्यसतर्फ गएका थिए भन्नेसम्म लेखाएको पाइन्छ । जाहेरवाला जि.कुन्दाले नन्दादेवी जोशी समेतको कर्तव्यबाट मृतकको मृत्यु भएको भनी कागज गरेपनि सो जाहेरी तथा कागजको पुष्टाई हुने गरी अदालतमा उपस्थित भई बकपत्र गरेको अवस्था समेत देखिएको छैन । जाहेरी घटनाका विषयमा दिइने सूचनाको एक माध्यम हो । यसले प्रमाण संकलनमा सहयोगीको भूमिका निर्वाह गर्न सक्छ, स्वयंले सार्थकता प्राप्त गर्दैन । यो आफैमा अकाट्य र स्वतन्त्र प्रमाण होइन । प्रस्तुत ज्यान मुद्दामा जाहेरीको सम्पूर्ण सेरोफेरो अनुमान, शंका तथा विश्वासलाई आधार बनाई बुनिएको शब्दजाल जस्तो पाइन्छ । जसलाई स्वतन्त्र अस्तित्व धारण गरेका कुनैपनि प्रमाणले समर्थनसम्म गर्न सकेको पनि देखिदैन । यी जाहेरवाला घटना हुँदा काठमाडौँमा रहेको भन्ने कुरा सोही कलेजका प्रोजेक्ट डाइरेक्टर वाई. दुर्गाप्रसादको कागजबाट खुलेको छ । तसर्थ जाहेरी दरखास्त स्वयंमा सुनिसुनाई (Hearsay) कथनमा आधारित रहेको तथा समयको लामो अन्तराल पश्चात् दर्ता भएको हुँदा त्यो घटनाको सत्यता वा वास्तविकतामा आधारित नभई कसैलाई फसाउने उद्देश्यबाट सुनियोजित तवरबाट अभिप्रेरित भै दिएको भनी शंका गर्ने पर्याप्त ठाउँ देखिन्छ 

            ११. मृतकले लेखेको Complain latter भनी जाहेरवालले जाहेरीमा उल्लेख गरेको अप्रिल १६, २००५ र ९०४ तथा मृतकको शरीरबाट बरामद भएको ...I cannot be slave to Nanaji- लेखिएको व्यहोराले प्रतिवादी नन्दादेवी जोशीको मृतकउपर ज्यानै लिनेसम्मको योजना षडयन्त्र रहेको तथा मार्ने धम्की दिएको भन्ने कुरा इंगित गर्दैन । उक्त लेखाईको व्यहोराबाट नन्दादेवी जोशी र मृतक बीच लेनदेनको कारोवार रहेको र मृतकसँग नन्दादेवीले रकम लिन पर्ने कुरा इंगित गर्दछ । साथै मौकामा रकम बुझाउन नसक्नाको कारणबाट मृतक मानसिक तनावमा रहेछन भन्ने थप पुष्ट्याई हुन्छ । उक्त Complain latter र मृतकको मृत्युको विषय नितान्त फरक विषय हुन् । मेडिकल कलेजको मेनेजिङ्ग डाइरेक्टर सुब्बा राव र नन्दादेवी उक्त कलेजको आवासीय डाइरेक्टर पदमा कार्यरत रहेको र ग्लोबल एजुकेशन फाउण्डेशनले नन्दादेवी जोशीलाई सात करोड एघार लाख नब्बे हजार आठसय उनान्सय तिर्नुपर्ने भनी नन्दादेवी जोशीले उल्लेख गरेकी छन् भने नन्दादेवी जोशीले एम. सुब्बा रावलाई फोन गरी ने.रु. ३० लाख मई २००५ सम्ममा र ने.रु. एक करोड ३० नोभेम्बर, २००५ सम्म दिनको लागि माग गरेकी तर एम. सुब्बा रावले एक महिना पछि २० लाख मात्र दिनसक्ने कुरा मृतक रावले फोनबाट आफूलाई जानकारी गराएको भनी जि. कुन्दाले उल्लेख गरेको देखिँदा निजहरू बीच सोही कलेज सञ्चालनार्थ लेनदेनका विषयमा व्यवहार हुँदा सो व्यवहारमा आआफ्ना दावी हुँदा यकीन रकम निश्चित नभएपनि नन्दादेवीले रकम पाउनु पर्ने रहेछ भन्ने तथ्यमा विवाद भएन । लेनदेनको विषयले विवाद सिर्जना गर्दै गर्दैन भन्ने होइन । यसका पनि आआफ्नै चरित्र, उद्देश्य र कार्य रहेका हुन्छन् । सामान्यतः जसले अन्य व्यक्तिबाट रकम लिनुछ त्यस्तो व्यक्तिसँग रकम लिनु उसको उद्देश्य हुन्छ, तर ज्यान लिने उद्देश्य हुँदैन । ज्यानै लिनेसम्मको कार्य हुन पुगेमा उसको सो रकमको प्राप्तिको स्रोत नै सदाका लागि समाप्त हुनसक्छ, दोस्रो कुरा प्रत्यक्षरुपमा ज्यान लिएबापत कानूनतः सजायको भागी हुने तर्फ उ सचेत हुने हुँदा त्यस्तो दुस्साहस गर्ने कार्यबाट टाढै रहेको हुन्छ । यसकारण यो विषयलाई लिएर प्रस्तुत वारदात घटाइएको भन्ने कल्पित जाहेरी स्वयंमा खण्डनीय हुन पुगेको छ । बरामद भै आएको लेखको व्यहोरा र जाहेरीमा उल्लेख गरिएको पत्रको व्यहोराबाट यी प्रतिवादीहरूले सुब्बा रावलाई मार्नुपर्नेसम्मको कारण रहेको वा प्रतिवादीहरूको मिलेमतोमा वारदात घटाएको भन्ने तथ्य पुष्टि हुन सकेको देखिँदैन । नन्दजीको नोकर बन्न सकिँदैन भनी लेखेको व्यहोराले मात्र निज मृतकको मृत्युसँग कुनै तादाम्यता स्थापित गर्न सक्दैंन 

            १२. माथि विवेचित तथ्य र प्रमाणको विवेचना, विश्लेषण, शव परीक्षण प्रतिवेदन प्रतिवादी नन्दादेवी जोशीको घरको तेस्रो तल्लाको रेलिङ्गबाट मृतक खस्न पुगेको प्रत्यक्ष देख्ने व्यक्ति रतनप्रसाद अधिकारीले मौका गरेको कागज र अदालतमा गरेको बकपत्र तथा मौकामा कागज गर्ने जनकराज पन्त समेतको कागज एवं बकपत्र समेतबाट एम. सुब्बा रावको मृत्यु प्रतिवादीहरूले घरको तेस्रो तल्लाको रेलिङ्गबाट खसाई भएको नभई मृतक रेलिङ्गको सहारा लिई आधा शरीर जमिनको भागतर्फ झुकाई रहेको अवस्थामा खस्न पुगी मृत्यु भएको तथ्य स्थापित हुन आएको हुँदा प्रस्तुत वारदात कर्तव्यको वारदात नभई मृतकको मृत्यु आफै खस्न पुगी स्वाभाविक मृत्यु भएको तथ्यमा शंका गर्नुपर्ने अवस्था रहेन 

            १३. यस बाहेक प्रस्तुत वारदात मिति २०६२।१।२७ मा घटेकोमा तत्कालै अनुसन्धान शुरु भएको मिसिलबाट देखिन्छ तर सो को ३ वर्ष पछि मिति २०६५।१।३१ मा मात्र यी प्रतिवादीहरू उपर कर्तव्य ज्यान मुद्दामा अभियोग दायर भएको पाइन्छ । प्रतिवादीहरू मौकामा अनुसन्धानकर्ता समक्ष स्वयम् उपस्थित भएको पनि देखिन्छ । यस्तो स्थितिमा यति लामो समयपश्चात् मात्र अभियोग दर्ता गर्नुको विश्वसनीय कारण प्रस्तुत हुन सकेको पाइदैन । घटना घटेको केही समय पछिका स्थानीय पत्रपत्रिकामा ठूला ठूला अक्षरले घटना तथा अनुसन्धानका बारेमा शंका व्यक्त गरेका समाचारहरू प्रकाशमा आएको देखिँदा ति समाचार सम्प्रेषकको सन्तुष्टिको लागि तिनै पत्रिकालाई सिरानी हाली पुनः अनुसन्धान प्रारम्भ गरेको देखिन्छ । यसै गरी घटना भएको लामो समयपछि अनुसन्धान गर्ने निकाय प्रहरी प्रशासनका माथिल्ला निकायबाट थप अनुसन्धान गर्नु भनी निर्देशन दिई पत्राचार गरेको समेत मिसिल संलग्न कागजातबाट देखिन्छ । प्रत्यक्षदर्शी रतनप्रसाद अधिकारीलाई अनुसन्धानको क्रममा घटना घटेको दिन मिति २०६२।१।२७ मा, मिति २०६२।२।४ मा र ३ वर्ष पछि पुनः मिति २०६५।१।१८ मा गरी एउटै विषयमा पटकपटक कागज गराइएको देखिन्छ । निजले एकै किसिमको व्यहोरा लेखाएको देखिए पनि यसरी पटकपटक कागज गराउनुको कारण खुल्न सकेको पाइदैन । त्यस्तै घटनास्थलमा तत्काल पुगेका जनकराज पन्त लगायतका अन्य व्यक्तिहरू तथा प्रतिवादीहरूलाई पनि पटकपटक कागज गराएको देखिन्छ । स्पष्ट हुन नसकेको कुरामा मात्र थप कागज अर्थात् ततिम्बा बयान गराउन सकिनेमा सर्वोच्च अदालतबाट स्थापित मान्यता तथा प्रावधानको ख्याल सम्म नगरी पटकपटक कागज गराउनु आफैमा शंकास्पद देखिन्छ । यसरी एउटै व्यक्तिलाई उहि विषयमा पटकपटक कागज तथा बयान गराउनुको उद्देश्य जे जसरी भएपनि आरोप पुष्ट्याँई गर्न खोज्नु मात्रमा सीमित देखिन्छ । समयमा नै घटनाको यथार्थताको निचोडमा नपुग्नु तथा घटना घटेको ३ वर्ष पछि उनै व्यक्ति उपर पुनः अनुसन्धान थाली अभियोग पेश गर्नुको कारण अभियोजन पक्षले उल्लेख गर्न सकेको पाइदैन । पछिल्लो अनुसन्धानबाट थप नयाँ तथ्य केही प्रष्फुटन भएको पनि देखिदैन । यसबाट अभियोजन पक्षको कमजोरी स्पष्ट रुपमा देखिनुका अतिरिक्त प्रारम्भिक अनुसन्धानबाट यी प्रतिवादीहरू उपर कर्तव्य ज्यानको अपराध पुष्टि नभएको कारण थप अनुसन्धानतर्फ केन्द्रित नभएको र पछि विकसित परिस्थिति, अदृश्य दवाव वा निहित स्वार्थको कारण पुनः अनुसन्धान गरी मुद्दा दर्ता गराएको स्पष्ट हुन्छ । कर्तव्य ज्यान जस्तो जघन्य अभियोगमा यसरी कसैको बहकाव, अदृश्य दवाव वा निहित स्वार्थको आधारमा अनुसन्धान नगर्ने वा अनुसन्धान गर्ने, अभियोग नलगाउने वा लगाउने कार्यबाट फौजदारी न्याय प्रणालीको मेरुदण्ड भाचिन पुग्छ वा आस्था समाप्त हुन्छ । अनुसन्धानको कार्य टुङ्गोमा नपु¥याई त्यसै राख्नु अर्थात् समयमै अनुसन्धान पुरा नगर्नु, ढीलो अनुसन्धान गर्नु अभियोजन पक्षको कमजोरी हो । अनुसन्धान फितलो वा हचुवा भएमा निर्दोष व्यक्तिले अनाहकमा दुःख पाउने मात्र नभई उसको महत्वपूर्ण जीवन कारागारको घेरावन्दीमा सीमित हुन सक्छ । यसर्थ अनुसन्धान र अभियोजन पक्ष आफ्नो जिम्मेवारी निर्वाह नगरी भएको त्रुटिको अदालतले सुक्ष्म रुपमा केलाएर न्याय प्रदान गर्नु नै वास्तविक न्याय हो 

            १४. त्यसै गरी अदालतले न्यायकर्ताको भूमिका निर्वाह गर्दा गहनतम जिम्मेवारीबाट बिचलन हुनु हुँदैन । न्यायकर्ताको एकमात्र उद्देश्य कुनै व्यक्ति विशेष अन्यायमा नपरुन, दोषिले उन्मुक्ति नपाउन, निर्दोष व्यक्तिको सुखमय जीवन अनाहकमा कारागारको घेरावन्दिमा बन्धनकारी रुपमा विताउन नपरोस भन्ने धारणाले अभिप्रेरित हुनु पर्दछ । वस्तुनिष्ठ आधारको धरातल भन्दा माथि उठेर कोरा कल्पनाका मनचिन्ते विचारलाई अकाट्य प्रमाणको रुप प्रदान गरी ज्यान जस्तो जघन्य अपराधको दोषी ठह¥याउने परिपाटीलाई प्रोत्साहन गर्ने हो भने न्यायिक मार्ग विखण्डन हुन गै फितलो अनुसन्धानको वलीभेदीमा न्यायको वलिदान हुन पुग्छ । प्रस्तुत मुद्दामा यी प्रतिवादी नन्दादेवी जोशीले बेकसूर कारागारमा पाएको मानसिक तथा शारीरिक दुखान्त क्षणहरूको क्षतिपूर्ति न अनुसन्धान÷अभियोजन पक्षले नै दिन सक्छ, न राज्यले नै दिन्छ न न्यायकर्ताले । त्यसैले वस्तुनिष्ठ प्रमाण नहुँदा नहुँदै प्रचार, हल्ला वा दवावमा अभिष्ठ तथा लोकप्रियतालाई माध्यम बनाई अनुसन्धान प्रारम्भ गर्ने र अभियोजन लगाउने परम्परालाई प्रोत्साहन दिई स्वतः अंगिकार गर्ने पात्र अदालत हुन सक्तैन । अनाहकमा पक्षले भोगेका शारीरिक तथा मानसिक पीडा प्रति अदालतले पनि प्रस्तुत मुद्दाबाट पाठ सिक्न जरुरी छ 

            १५. अब दोस्रो प्रश्न तर्फ विचार गर्दा प्रस्तुत वारदात कर्तव्यको वारदात नभई सुब्बा रावको मृत्यु नन्दादेवी जोशीको घरको तेस्रो तल्लाको रेलिङ्गबाट आफै खस्न पुगी स्वभाविक मृत्यु हुन पुगेको भन्ने तथ्य प्रश्न नं. १ को विषयमा विवेचित भई कर्तव्यको वारदात नै स्थापित नभएको हुँदा प्रस्तुत आरोपित कसूरबाट प्रतिवादीहरूले पूर्णतः सफाइ पाउने देखिन आयो 

            १६. अतः मिमांसमा माथि विवेचित आधार प्रमाणबाट जी. कुन्दाको जाहेरी दरखास्तमा अनुमान गरिएझै मृतक एम. सुब्बा रावको मृत्यु यी प्रतिवादीको कर्तव्यबाट भएको भन्ने कुरा शंकारहित तवरबाट अभियोजन पक्षले पुष्टि गर्न सकेको पाइएन । घटनास्थल लास प्रकृति मुचुल्का, लास जाँच प्रतिवेदन, बुझिएका व्यक्तिहरूको भनाई तथा प्रत्यक्षदर्शीको भनाई समेतबाट मृतकको मृत्यु नन्दादेवीको घरको तेस्रो तल्लाको रेलिङ्गबाट आफै खसी फोक्सो फुटी भएको पुष्टि हुन आयो । मृतकको मृत्यु कर्तव्यबाट भएको भन्ने देखिन आएन । प्रतिवादीहरू निर्दोष रहेको तथ्य शंकारहित तवरबाट पुष्टि हुन आएकोले प्रतिवादीमध्ये गणेशदत्त पाण्ड्ये, लक्ष्मणराज जोशी एवं प्रतिवादी नन्दादेवी जोशीलाई आरोपित कसूरमा कसूरदार ठहर गरी सजाय गरेको शुरु जिल्ला अदालतको फैसला केही उल्टी गरी प्रतिवादी गणेशदत्त पाण्डेलाई सफाइ दिई पुनरावेदन गर्ने प्रतिवादी नन्दादेवी जोशीलाई कसूरदार ठहर गरेको पुनरावेदन अदालत महेन्द्रनगरको मिति २०६६।१२।१५ को फैसला मिलेको नदेखिँदा प्रतिवादी नन्दादेवी जोशीको हकमा कसूरदार ठहर्‍याएको हदसम्म पुनरावेदन अदालतको फैसला उल्टी भई प्रतिवादी नन्दादेवी जोशीले आरोपित कसूरबाट सफाइ पाउने ठहर्छ । प्रतिवादी गणेशदत्त पाण्ड्येलाई सजाय हुनुपर्ने भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्दैन । कर्तव्य ज्यानको वारदात नै स्थापित नभएको हुँदा प्रस्तुत मुद्दामा पुनरावेदन नगर्ने प्रतिवादी लक्ष्मणराज जोशीको हकमा समेत निजले अ.वं. २०५ बमोजिम सजायबाट उन्मुक्ति पाउने ठहर्छ । प्रतिवादी नन्दादेवी जोशी र लक्ष्मण जोशीलाई अविलम्ब थुनाबाट मुक्त गरिदिनु भनी आज छुट्टै आदेश भएकोले केही गरिरहनु परेन । प्रस्तुत मुद्दामा शुरु कंचनपुर जिल्ला अदालतको फैसला अनुसार राखेको प्रतिवादी लक्ष्मणराज जोशी समेतको कैद सजायको लगत कट्टा गर्नु भनी शुरुमा लेखी पठाई दिई दायरीको लगत कट्टा गरी मिसिल नियमबमोजिम गरी बुझाई दिनू 

            उक्त रायमा म सहमत छु 

न्या.कमलनारायण दास

इति संवत् २०६८ साल असोज ४ गते रोज ४ शुभम

 

इजलास अधिकृत (उपसचिव): अशोककुमार बस्नेत,             दीपक ढकाल र शाखा अधिकृत हरिहर पौड्याल

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु