शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८०३९ - कर्तव्य ज्यान ।

भाग: ५० साल: २०६५ महिना: फागुन अंक: ११

निर्णय नं.८०३९ २०६५ फागुन,अङ्क ११

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री वलराम के.सी

माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह

सम्वत २०६४ सालको फौ.पु.नं ५७८

फैसला मितिः २०६५।५।४।४

मुद्दाः कर्तव्य ज्यान ।

 

      पुनरावेदक  प्रतिवादीः का.जि. धर्मस्थली गा.वि.स. वडानं. ५ घर भै हाल कारागार      कार्यालय भद्रवन्दी गृह, जगन्नाथ देवलमा थुनामा रहेको वर्ष ३३ को गोविन्दवहादुर कार्की

विरुद्ध

      विपक्षी वादीः शिवप्रसाद लामिछानेको जाहेरीले  नेपाल सरकार

 

शुरु फैसला गर्ने न्यायाधीश:

मा.जि.न्या.श्री ओमप्रकाश मिश्र

पुनरावेदन फैसला गर्नेः-

मा.न्या.श्री  रणवहादुर  वम

मा.न्या.श्री जगदीश शर्मा पौडेल

 

§  Due Process पूरा र पालन गरी पुर्पक्ष गरिएको अभियुक्तको मुख हेरेर अ.वं.१८८ नं. प्रयोग गर्ने नभई सजाय घटाउँदा विभिन्न कुराहरू विचार गर्नु पर्ने ।

(प्रकरण नं.१२)

§  अ.वं. १८८ नं. प्रयोग गरी सजाय घटाउने राय व्यक्त गर्ने सामान्य नियम नभई यसको प्रयोग अपवाद हुने ।

(प्रकरण नं.१३)

§  अ.वं. १८८ नं को प्रयोग गरी सजाय घटाउदा अदालतले देहायका कुरा र अवस्थाहरू विचार पुर्‍याउनु पर्नेः

 

 क) ज्यान मर्न गएको कारण, अवस्था र परिस्थिति

 ख) अपराधको तयारी योजना तथा अभियुक्त र पीडितका बीच पूर्व रिसईवीसम्वन्ध

 ग)   अपराधमा संलग्न अभियुक्तहरूको संख्या

 घ)   प्रयोग गरिएको हतियार

 ङ)   मर्नेको शरीरमा देखिएको घाउचोट

 च)   ज्यान मारिएको ठाउँ अवस्था घटनास्थल र समय

 छ)   अभियुक्तको चरित्र तथा आपराधिक रेकर्ड

 

      उपरोक्त कुराहरूको अतिरिक्त देहायका कुराहरूलाई समेत अदालतले विचार पुर्‍याउनु पर्नेः

 

क)    मर्नेको आपराधिक रेकर्ड

ख)    मर्नेको आश्रीत परिवार

ग)    मर्नेको घरको परिवारको हैसियत

घ)    मर्नेको समग्र आर्थिक अवस्था

(प्रकरण नं.१५)

§  सजाय घटाउनु पर्ने कारण र आधार चित्तमा के कसरी लाग्यो सो कुरा रायमा लेखिएमा मात्र माथिल्लो अदालतमा विचार गरिन सक्ने ।

(प्रकरण नं.१६)

§  सेना र प्रहरी जस्तो राष्ट्र र नागरिकको सुरक्षा गर्न हतियार सहित प्रदान गरेर राज्यले जिम्मेवारी प्रदान गरेको मानिसले मादक पदार्थ सेवन गरेर आफ्नो ओहदा पोशाक र पदको आडमा सरकारी कार्यको प्रयोगको लागि प्राप्त हतियार प्रयोग गरी एक सामान्य निशस्त्र नागरिकको हत्या गरेको जघन्य अपराधमा कैद सजायमा Leniency देखाउन पर्ने कुनै कारण नहुने ।

(प्रकरण नं.१८)

 

पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री वावुराम कुँवर

विपक्षी वादी तर्फवाटः

अवलम्वित नजीरः

सम्बद्ध कानूनः

§  मु.ऐन ज्यान सम्बन्धी महलको १३(१), १३, १४, १३(१)(२)(३),(४),

§  प्रमाण ऐन, २०३१ को दफा १०(क) र

§  मुलुकी ऐन अ.वं. १८८

 

फैसला

            न्या.वलराम के.सी.: पुनरावेदन अदालत पाटनको मिति ०६३।१०।४ को फैसला उपर न्याय प्रशासन ऐन २०४८ को दफा ९ बमोजिम प्रतिवादीका तर्फवाट यस अदलतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ ।

            मिति २०६१।१२।११ गते राती राजेश खत्री समेतको मिलेमतोवाट गोविन्दवहादुर कार्कीले भाई अर्जुनकुमार लामिछानेलाई गोली हानी हत्या गरेकोले निजहरूलाई पक्राउ गरी कानूनवमोजिम कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको शिवप्रसाद लामिछानेको जाहेरी दरखास्त ।

            वायां आँखा र नाक नजिक गोली लागेको जस्तो घाउ भएको, टाउकोमा टुप्पीको भाग देखि वायां तर्फ करीव १ इन्च गोलो गहिराई अनुमान गर्न नसकिने घाउ भएको भन्ने समेत व्यहोराको लाश जांच प्रकृति मुचुल्का ।

            मिति २०६१।१२।११ गतेका दिन लक्ष्मण अधिकारी, भरत आचार्य मृतक अर्जुन लामिछाने र म समेत वसी रहेको वखत गोविन्द कार्की राजेश खत्रीको मोटरसाइकलमा चढी म समेत वसेको ठाउँमा आइ मलाई किन हल्ला गरेको भनी समाती पसल नजिक खम्वा नेर पुर्‍याई छुट्याउन भनी अर्जुन लामिछने र भरत आचार्य आएकोमा गोविन्द कार्कीले अर्जुन लामिछानेलाई गोली हानेको हो घटनास्थलमा राजेश खत्री थिएन पछि आएको हो भन्ने समेत व्यहोराको वद्री के.सी.को मौकाको कागज ।

            मिति २०६१।१२।११ गतेका दिन राजेश खत्रीको घरमा भएको पसलमा वसी वद्री के.सी. लक्ष्मण अधिकारी, अर्जुन लामिछाने समेत भै रक्सी खाई गफ गरिहेका थियौ राति भैसकेको रहेछ । वद्री के.सी. लाई किन होहल्ला गरेको भनी समाती वाहिर ल्याई कुटपीट गर्न थालेकोले म समेतले छुट्याउन जाँदां गोविन्द कार्कीले अर्जुन लामिछानेलाई गोली हानेका हुन् । गोली लागे पछि अर्जुन लामिछाने ढले राजेश खत्री समेत आई निज घाइते अर्जुन लामिछानेलाई उपचारको लागि अस्पताल लगेकोमा मृत्यु भएको हो । गोविन्दवहादुर कार्कीले हानेको गोली लागि अर्जुन लामिछानेको मृत्यु भएको हो । राजेश खत्रीको मिलोमतो छ, छैन थाहा छैन भन्ने समेत भरत आचार्यले मौकामा गरेको कागज ।

            Cause of death rifled firearm wound to the head भन्ने व्यहोराको शव परीक्षण प्रतिवेदन ।

            मिति २०६१।१२।११ गतेका दिन पहिला देखि चिनजानका साथी राजेश खत्री समेत भै मादक पदार्थ वियर खाएर म शाही नेपाली सेनाको नोकरी गर्ने हुदा राजेश खत्रीवाट छुट्टिई डयूटीमा गएँ ।  राजेशको र मेरो घर एउटै वाटो भै जानुपर्ने हामी वल्लो पल्लो गाउँको मानिस भएको र ड्युटी सकेर घर फर्कने क्रममा पुनः राजेश खत्रीसंग भेट भै मादक पदार्थ सेवन गरी राजेशको मोटरसाइकलमा संगै गै राजेशको घरमा पुगे पछि मोटरसाइकलवाट उत्री म सुर्ति किन्न गएको ठाउमा चिनेका वद्री के.सी. रहेछन निजलाई किन हो हल्ला गरेको भनी वाहिर तानी ल्याएकोमा सो ठाउँमा अन्य दुइ जना किन यसो गरेको भनी मलाई समात्न आएकोले नसाको सुरमा मलाई तत्काल रिस उठी मसंग भएको रिभल्वरवाट गोली फायर गर्दा अर्जुन लामिछाने भन्ने व्यक्तिलाई लागि निजको मृत्यु भएको हो । निजको हत्या म एक्लैले गरेको हुदा राजेश खत्रीलाई मसंग हतियार रिभल्वर भएको कुरा पनि थाहा छैन, हत्यामा निजको कुनै किसिमको संलग्नता छैन भनी प्रतिवादी गोविन्दवहादुर कार्कीले अपराध स्वीकार गरी मौकामा अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयान कागज ।

            मिति २०६१।१२।११ का दिन चिनाजानका गोविन्दवहादुर कार्कीसंग वालाजु माछा पोखरीमा भेट भै वियर समेत खायौं । वियर खाइ सकेपछि निज शाही नेपाली सेनाको मानिस भएकोले डयूटीमा गए । ड्यूटी सकी घर फर्कने क्रममा पुनः भेट भयो । घर वरपर पर्ने हुदाँ हामीहरू चारजना वसी रक्सी र अन्य खानेकुरा खाई घर जान भनी मेरो मोटरसाइकलमा दुवै जना गयौं । मेरो घरमा पुगेपछि गोविन्द कार्कीको घर जानु पर्ने हुदा निजलाइ मोटरसाइकलवाट उतारी म मोटरसाइकल थन्क्याउन तिर लागेको वेला गोली पड्केको आवाज आयो । वरपरका मानिस समेत भेला जम्मा भएका रहेछन् । घटनास्थलमा जादा मेरो घरको कोठा भाडामा लिई पसल गरी वसेका अर्जुन लामिछानेलाई गोली लागि घाइते भएका रहेछन् । गोली प्रहार गर्ने गोविन्द कार्की नै रहेछन् । घाइतेलाई म समेतले उपचारको लागि गाडीमा हाली लगेकोमा अर्जुन लामिछानेको गोली लागेको कारणवाट मृत्यु भएको हो । अर्जुन लामिछानेलाई म समेतको मिलेमतोवाट गोली हानी हत्या गरको होइन गोविन्द कार्कीसंग हतियार रिभल्वर छ भन्ने कुरा मलाई थाहा पनि थिएन । गोली हानी मार्न लगाउनु पर्ने सम्मको रिस इवी समेत अर्जुन लामिछानेसग केही छैन । अर्जुन लामिछानेलाई गोविन्द कार्कीले मादक पदार्थ सेवन गरेको नसाको सुरमा गोली हानेको हो जस्तो लाग्छ अन्य रिस इवी भएको मलाई थाहा छैन भन्ने समेत व्यहोराको राजेश खत्रीले मौकामा गरेको वयान कागज ।

            मिति २०६१।१२।११ गते मेरो भाई अर्जुन कुमार लामिछानेलाई गोविन्द कार्कीले गोली प्रहार गरेको कारणवाट अर्जुन लामिछानेको मृत्यु भएको हो । राजेश खत्रीको संलग्नता छैन । अनुसन्धानवाट जे खुल्दछ सोही वमोजिम कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको जाहेरवाला शिवप्रसाद लामिछानेले गरेको वयान ।

            मिति २०६१।१२।११ गते राति अर्जुन कुमार लामिछानेको पसल नजिक सानु भन्ने विक्रम अधिकारीको पसलमा म वद्री के.सी., भरत आचार्य अर्जुनकुमार लामिछाने समेत वसी रक्सी खाई गफ गरिरहेको वखत वद्री के.सी.लाई चिनेको गोविन्दवहादुर कार्की आई हो हल्ला नगर भनी वद्री के.सी लाई समाती तानेको वखत अर्जुन कुमार लामिछाने, भरत आचार्य समेत छुटयाउन भनी गएको मौका गोविन्दवहादुर कार्कीले अर्जुनकुमार लामिछानेलाई गोली हानी हत्या गरेको हो । म समेत र पछि घटनास्थलमा आएका राजेश खत्री समेत भै उपचार गर्न लगेकोमा अर्जुनकुमारको मृत्यु भएको हो । राजेश खत्रीको मिलेमतोवाट गोली हाने जस्तो मलाई लाग्दैन भन्ने समेत व्यहोराको मौकामा वुझिएका लक्ष्मण अधिकारीले गरेको कागज ।

            मिति २०६१।१२।११ गतेका दिन मेरा दाजु अर्जुन कुमार लामिछानेलाई गोविन्दवहादुर कार्किले गोली हानी हत्या गरेको हो । राजेश खत्रीले गोली हान्न लगाएको होइन राजेश खत्रीले गोविन्दवहादुर कार्कीलाई चिनेको हुदाँ आफ्नो मोटरसाइकलमा घर सम्म पुर्‍याएको भन्ने पछि थाहा पाएको हु भन्ने मृतकका भाई सशि लामिछानेले मौकामा गरेको कागज ।

            मिति २०६१।१२।११ गते सांझ गोविन्द कार्की, राजेश खत्री मेरो साथी र म समेत भै होटल हारतीमा वसी रक्सी समेत खाइ सकेपछि राजेश खत्री र गोविन्द कार्की एउटै मोटरसाइकलमा गएकोमा  राजेशको घरमा पुगेपछि राजेशको घरमा कोठा भाडामा लिइ मट्टितेलको व्यापार गर्ने अर्जुन लामिछानेलाई गोविन्दवहादुर कार्कीले गोली हानी हत्या गरेको कुरा पछि थाहा पाएको हो आफ्नै घरको कोठा भाडामा लिई मट्टितेलका व्यापार गर्ने अर्जुन लामिछानेलाई गोविन्दवहादुर कार्कीले गोली हानी हत्या गरेको कुरा पछि थाहा पाएको हो । आफ्नै घरको कोठा भाडामा लिइ वस्ने अर्जुन लामिछानेलाई राजेश खत्रीले गोली हानी मार्न लगाएको होइन भन्ने विष्णु सिलवालले  मौकामा गरेको कागज ।

            मिति२०६१।१२।११ गते करीव ११।३० वजे तिर राजेश निजको साथि र म भै त्रिसुली भोजनालयमा गै वियर समेत खाइसकेपछि म आफ्नै काम तिर लागें । राजेश र निजको साथी कतागए थाहा भएन । पछि राजेशको घरमा कोठा भाडामा लिइ वस्ने अर्जुन लामिछानेलाई गोली हानी मारेको कुरा सुनेको हुँ । गोविन्द कार्कीले गोली हानेको भन्ने कुरा थहा भयो किन गोली हाने थाहा छैन । राजेश खत्रीले गोली हान्न लगाएको हो जस्तो लाग्दैन भन्ने समेत व्यहोराको वैकुण्ठ फुयाँलले मौकामा गरी दिएको कागज ।

            मैले राजेश खत्रीको घरको कोठा भाडामा लिइ किराना पसल गर्ने गरेका छु । मिति २०६१।१२।११ गते राती मेरो पसलमा वद्री के.सी लक्ष्मण अधिकारी, अर्जुनकुमार लामिछाने, भरत आचार्य, समेत वसी गफ गर्दै रक्सी खाइ रहेको वखत गोविन्द कार्की भन्ने व्यक्ती आई वद्री के.सी लाइ तानी लगेको कुरामा वाद विवाद हुदा अर्जुनकुमार लामिछानेलाई गोविन्द कार्कीले गोली हानी भागेपछि घाइते भै ढलेका अर्जुन लामिछानेलाई राजेश खत्री लक्ष्मण अधिकारी समेतले गाडि मगाई उपचारको लागि अस्पताल लगेकोमा अर्जुन लामिछानेको मृत्यु भएको हो । राजेश खत्री घटना भएपछि आएका हुन निजको अर्जुन लामिछानेको हत्या गर्नमा संलग्नता छैन भन्ने समेत व्यहोराको मौकामा वुझीएका विक्रम अधिकारीले गरेको कागज ।

            मिति २०६१।१२।११ गतेका दिन हाल पक्राउमा परेका प्रतिवादी गोविन्द कार्की राजेश, खत्री मेरो पसलमा भेट भएका थिए । उक्त दिन राती गोविन्दवहादुर कार्कीले के रीस इवीवाट गोली हाने थाहा छैन । राजेश खत्रीले गोली हान्न लगाएको होला जस्तो लाग्दैन भन्ने समेत मौकामा वुझिएका सुधिर घिमिरेले गरेको कागज ।

            यसमा अनुसन्धानको सिलसिलामा मिसिल संलग्न कागजातहरू अध्ययन गरि हेर्दा शाही नेपाली सेनाका वहालवाला सैनिक कर्मचारी प्रतिवादी गोविन्दवहादुर कार्किले वद्री के.सी समेतको वाद विवादको सिलसिलामा झगडा छुट्टयाउन भनि आएका अर्जुन कुमार लामिछानेलाई आफ्नो साथमा रहेको रिभल्वर द्वारा गोली चलाई कर्तव्य गरी मारेको वारदात सप्रमाण पुष्टि हुन आएकोले निज प्रतिवादी गोविन्दवहादुर कार्कीलाई मुलुकी ऐन ज्यान सम्वन्धी महलको १ नं. विपरीत १३(१) नं. को कसूर अपराधमा सोही महलको १३(१) नं. वमोजिम सजाय हुन र प्रतिवादी राजेश खत्रीको हकमा हाल सम्मको संकलित प्रमाणवाट निजको कसूरमा संलग्नता नदेखिएकोले निज उपर मुद्दा चलाउने निणर्य भै अभियोग पत्र पेश भएको ।

            म शाही नेपाली सेनाको नायक पदमा कार्यरत व्यक्ति हुँ । म भ्याली कमाण्डमा ड्युटी गर्ने काममा खटिएको वेला मिति २०६१।१२।११ गते वेलुका ड्युटी सकेर घर जाने वेलामा लामो वगर भन्ने ठाउँको किराना पसलमा सुर्ति किन्न जादा त्यहाँ हो हल्ला भएको थियो । जाड रक्सी खाइ हो हल्ला गर्ने कुनै पनि मानिसलाई मैले चिनेको थिएन । अर्जुन लामिछाने भन्ने व्यक्तीले मलाई एक्कासी समाउन आइ पुग्यो त्यो मान्छेले जाड रक्सी खाएर हतियार भएको ठाउमा झयाप्प समाउन आइ पुगेको हुनाले हतियार वचाउनको लागि एक राउण्ड फायर गरेको भवितव्य हुन गयो । त्यहावाट म घर गएँ र वुवा आमालाई खवर गरी श्री नम्वर १ वाहिनी अडृामा आउदै गर्दा सुरक्षाकर्मीले मलाई समाई १ नं. वाहिनीमा ल्याएका हुन । अधिकार प्राप्त अधिकारी समक्ष भएको वयान मलाई पढी नसुनाई सही गर्न लगाएको हो राजेश खत्रीले मलाई मोटरसाइकलमा उस्को घर सम्म लगि मोटरसाइकलवाट उतारेको हो । अरु व्यहोरा मलाई थाहा छैन । मैले कर्तव्य गरि मनसाययुक्त तरिकाले मृतक अर्जुन कुमारलाई मारेको होइन । ड्युटीको सिलसिलामा मलाई मृतकले नै मैले हतियार राखेको ठाउमा एक्कासी झम्टी मेरो हतियार निकाल्ने कोशिश गर्न लागेको अवस्थामा मैले हतियार वचाउनको लागि हतियार निकाली फायर गर्नु परेको हो या अचानक भवितव्य पर्न गएको हो । यदि मैले हतियार वचाउन नसकेको भए मलाई आफ्नो आर्मीले कारवाही गर्न सक्थ्यो भन्ने सम्झी कर्तव्य पालन गर्दाको सिलसिलामा त्यसो हुन गएको हुंदा मलाई सजाय हुनुपर्ने होइन सफाई पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी गोविन्दवहादुर कार्कीले अदालतमा गरेको वयान ।

            मिति २०६२।१।६ को जिल्ला अदालतको आदेशानुसार प्रतिवादी गोविन्दवहादुर कार्कीलाई थुनामा राख्न सैनिक हिरासतमा पठाएको ।

            आदेशानुसार मृतकको पोष्टमार्टम गर्ने चिकित्सक तुलसी कडेल,मौकामा वुझिएको शसि लामिछाने, रामराज खत्री, भरतवहादुर आचार्य मुना लामिछाने, लक्ष्मण अधिकारी र जाहेरवाला शिवप्रसाद लामिछाने र प्रतिवादीका साक्षी सानु थापा भन्ने सुमन सापकोटा, वद्री के.सी. को वकपत्र भै मिसिल सामेल रहेको ।

            प्रतिवादी गोविन्द कार्कीले वयान गर्दा मिति २०६१।१२।११ गते म भ्याली कमाण्ड ड्युटीमा थिएँ भनी लेखाएकोले सो सम्वन्धमा श्री केन्द्रीय सैनिक प्रहरी गुल्ममा लेखी पठाएकोमा वारदात मितिमा निज गोविन्द कार्की आफ्नो जिम्मेवार क्षेत्र भन्दा वाहिर गएको र डयुटीमा पनि नभएको व्यहोराको जवाफ प्राप्त भएको ।

            प्रतिवादी गोविन्दवहादुर कार्कीले गरेको कार्य भवितव्यको परिभाषा भित्र पर्ने नभै निजको कार्य ज्यान सम्वन्धीको १ नं. विपरीत १३ नं.को देहाय १ बमोजिमको कसूरको श्रेणी भित्र पर्ने देखिंदा निजले १३(१) नं. अनुसार कसूर गरेवाट सर्वश्वसहित जन्मकैदको सजाय हुने ठहर्छ । निज प्रतिवादीलाई सर्वश्व सहित जन्मकैदको सजाय हुने ठहरे तापनि मृतकलाई मार्न पूर्व रिस इवी वा कारण भएको कुरा मिसिलवाट नदेखिएको र वारदात हुनुभन्दा अगाडि मादक पदार्थ सेवन गरेको अवस्थामा भएको वाद विवादको परिणाम स्वरुप तत्काल उत्तेजित भै आफू माथि नियन्त्रण राख्न नसकी एक्कासी रिभल्वर प्रहार गरेको कारणवाट अर्जुन लामिछानेको मृत्यु हुन गएको देखिएको र प्रतिवादीको उमेर ३१ वर्ष मात्र भएको समेतका कुरालाई दृष्टिगत गर्दा प्रतिवादीलाई हदै सम्म सजाय गर्दा चर्को पर्न जाने हुनाले निजलाई तीन वर्ष कैदको सजाय भएमा न्यायको उद्देश्य पूरा हुने भन्ने कुरा उचित देखिएकोले सोही बमोजिम तीन वर्ष कैदको सजाय हुन अ.वं.१८८ नं अनुसारको राय जाहेर गरेको छु भन्ने समेत शुरु काठमाडौं जिल्ला अदालतको मिति २०६२।१२।१०।५ को फैसला ।

            मैले मृतकलाई जानी जानी गोली प्रहार नगरेको, मार्नु पर्ने पूर्व रीसइवी लाग केही नभएको, आत्मरक्षार्थ फायर गर्नु परेको मनसाय नभई आफू माथि आक्रमण हुदा सरकारी हतियारको सुरक्षार्थ फायर गर्दा मृतकलाई अनायास भवितव्य परी गोलीलागी मृत्यु भएको स्थितिमा मुलुकी ऐन ज्यान सम्वन्धी महलको ५ नं. को अवस्था र परिस्थिति विद्यमान छदादै मलाई सोही नं. बमोजिम सजाय हुनुपर्नेमा सो नगरी ज्यानसम्वन्धी महलको १३(१) नं. बमोजिम सर्वश्वसहित जन्मकैद गर्ने गरेको काठमाडौं जिल्ला अदालतको मिति २०६२।१२।१० को फैसला मुलुकी ऐन ज्यानसम्वन्धी महलको ५ नं. प्रमाण ऐन २०३१ को दफा ३ २५,५४ तथा शंकाको सुविधा अभियुक्तले पाउने प्रचलित सिद्धान्त र त्यस्तै  प्रकृतिको मुद्दामा सम्मानित सर्वोच्च अदालतवाट ने.का.पं. २०४४ नि.नं. २९०३ पृष्ठ ९२१ ने.का प. २०४२ नि.नं २१९९ पृष्ष्ठ १०६४१ ने.का.प. २०४५ नि.नं ३४८२ पृष्ठ नं. ५५४१ ने का.प. २०५९ नि.नं ७०९२ पृष्ठ ३११ मा प्रतिपादित नजिर सिद्धान्त विपरीत भएकोले उक्त फैसला उल्टी गरी अभियोग दावीवाट सफाई दिलाई पाउं भन्ने समेत व्यहोराको प्रतिवादी गोविन्दवहादुर कार्कीको पुनरावेदन पत्र ।

            कुनै पनि वारदात भवितव्य हुनका लागि अभियुक्तले गरेको कार्यमा मनसाय, लापरवाही वा हेलचेक्राई समेत देखिनु  हुदैन । साथै अभियुक्त आफूले गरेको कार्यले मानिस मर्ला जस्तो समेत नदेखिएको अवस्था हुनु पर्दछ । प्रस्तुत मुद्दामा प्रतिवादीले गरेको कार्य भवितव्यको परिभाषा भित्र नपर्ने भनी स्वयम अदालतले नै फैसलामा वोलेको छ । प्रस्तुत मुद्दामा अ.वं १८८ नं. प्रयोग हुँदा प्रतिवादी र मृतक बीच वारदात हुनु पूर्व रिसइवी अदावत वा कारण केही नभए पनि गोली प्रहार गरेमा मानिसको मृत्यु हुन सक्दछ भन्ने कुरा विवेकयुक्त मानिसले सहजै अनुमान गर्न सक्ने हुदा प्रतिवादीवाट भएको कसूर स्वयममा गम्भीर प्रकृतिको भएकोले ज्यान मार्ने मनसाय पूर्वक भएको होइन भन्न मिल्ने देखिदैन । प्रतिवादीले वारदात भन्दा अगाडि मादक पदार्थ रक्सीको सेवन गरेको अवस्थामा वाद विवाद सिर्जना भै तत्काल उत्तेजित भै आफू माथि नियन्त्रण गर्न नसकी मृतक माथि प्रहार गरेको देखिदां एक्कासी रिस उठेकोमा गोली नै प्रहार गर्ने कार्य हुने र मृतकले प्रतिवादी माथि आइ लाग्ने समेतका कार्य गरेको भन्ने मिसिलवाट नखुलेको अवस्थामा एउटा सैनिक कर्मचारीले आफ्नो पेशागत अनुशासनलाई लत्याई मादक पदार्थ सेवन गरी कसै माथि गोली प्रहार गरेको कसूरमा दावी लिइएको कानून बमोजिम सजाय गर्दा चर्को पर्ने ठहर गरी सजाय घटाउनु सम्मानित सर्वोच्च अदालतवाट प्रतिपादित सिद्धान्त विपरीत भएकोले त्रुटीपूर्ण छ । उमेरको आधारमा सजाय घटाउने अवस्था कलिलो उमेर वा वृद्ध अवस्था मात्र हुन सक्दछ । पूर्ण युवावस्थामा भएको व्यक्तिले गरेको कसूरमा उमेरलाई आधार वनाई सजायमा छुट दिनु फौज्दारी न्यायको सिद्धान्त विपरीत हुन्छ । अतः काठमाडौं जिल्ला अदालतले प्रतिवादीलाई अ.वं. १८८ नं. वमोजिम कम सजाय हुने गरी गरेको फैसलामा उक्त नं. प्रयोग गर्दा लिइएका आधारहरू प्रतिपादित सिद्धान्त एव न्यायका सिद्धान्त समेतको विपरीत भएको र ती आधार न्यायोचित कारण र आधारमा आधारित नभएको हुँदा उक्त नं प्रयोग गरी अत्यन्त न्यून सजाय भएको त्रुटीपूर्ण फैसला  वदर गरी अभियोग मागदावी बमोजिम नै प्रतिवादीलाई सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारको पुनरावेदन जिकिर ।

            प्रतिवादीले मृतक प्रति मार्ने मनसायले हतियार प्रयोग गरेको भन्ने अवस्था नभएकोमा ज्यान सम्वन्धी महलको १३(१) नं. अनुसार कसूर ठहर गरी सजाय गर्ने गरेको शुरु काठमाडौं जिल्ला अदालतको फैसलामा फरक पर्न सक्ने भएकोले छलफलको लागि अ.वं. २०२ नं तथा पुनरावेदन अदालत नियमावली २०४८ को नियम ४७ बमोजिम पुनरावेदन सरकारी वकिल कार्यालय सूचना दिई पेश गर्नु भन्ने पुनरावेदन अदालतको मिति ०६३।६।५।५ को आदेश ।

            यसमा प्रतिवादीलाई आरोपित कसूरमा ज्यान सम्वन्धी महलको १३(१) नं वमोजिम सर्वश्व सहित जन्मकैद हुने देखियो । शुरुले अ.वं. १८८ नं. वमोजिम ३ वर्ष कैद गर्ने गरी व्यक्त रायको सम्वन्धमा ज्यादै कम सजाय गर्ने गरेकोले उक्त राय संग सहमत हुन सकिएन । प्रतिवादीलाई कैद वर्ष १० सजाय गर्न उपयुक्त हुने देखिएकोले सो बमोजिम हुन छुटै राय व्यक्त गरिएकोछ भन्ने पुनरावेदन अदालत पाटनको मिति ०६३।१०।४ को फैसला ।

            मैले मृतकलाई वदनियत राखी मनसायपूर्वक इवी साध्नको लागि गोली प्रहार गरेको होइन भन्नेकुरा फैसलाको ठहर खण्डमा उल्लेख भएको भएतापनि शंकारहित तवरवाट उक्त कुराहरूको खण्डन हुनुपर्नेमा त्यस्तो अवस्थामा नभएवाट शंकाको सुविधा अभियुक्तले पाउने मान्य प्रचलन विपरीत भएको शुरु र पुनरावेदन अदालत पाटनको फैसला त्रुटीपूर्ण हुदा उल्टी गरी इन्साफ पाऊँ भन्ने प्रतिवादीको तर्फवाट  यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

            नियम बमोजिम आजको दैनिक पेशी सूचिमा चढि पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकका तर्फवाट उपस्थित विद्वान अधिवक्ता वावुराम कुवरको वहस समेत सुनि पुनरावेदन पत्र सहितको सम्पूर्ण मिसिल कागजात अध्ययन गरी हेर्दा पुनरावेदन अदालत पाटनको फैसला मिले नमिलेको के हो ? पुनरावेदकको पुनरावेदन जिकिर पुग्छ वा पुग्दैन भन्ने सम्वन्धमा निर्णय दिनु पर्ने देखिन आयो ।

            २.    निर्णयतर्फ विचार गर्दा मिति ०६१।१२।११ गते राति राजेश खत्री समेतको मिलोमतोवाट गोविन्दवहादुर कार्कीले अर्जुन कुमार लामिछानेलाई गोली हानी हत्या गरेकोले पक्राउ गरी कारवाही गरिपाऊँ भन्ने जाहेरीको आधारमा अनुसन्धान हुदा प्रतिवादी गोविन्दवहादुर कार्किले आफ्नो साथमा रहेको रिभल्वर द्वारा गोली चलाई अर्जुन कुमार लामिछानेलाई कर्तव्य गरी मारेको सप्रमाण पुष्टि भएको भनी निजलाई ज्यान सम्वन्धी महलको १३(१) नं. वमोजिम सजाय गरिपाऊँ भन्ने अभियोग दावी रहेको देखिन्छ । 

            ३.    लाशको प्रकृती हेर्दा मृतकको दायाखा र नाक नजिक गोली लागेको जस्तो घाउ भएको र टाउकोमा टुप्पीको भाग देखि वाया तर्फ करिव एक इन्च गोलो र गहिराई अनुमान गर्न नसकिने घाउ भएको भन्ने देखिन्छ भने घटना स्थलवाट गोलीको लिड फेला परेको भन्ने घटनास्थल प्रकृति मुचुल्कावाट देखिन आएकोले मृतकको मृत्यु गोली प्रहार गर्दा लागेको चोटको कारणवाट भएको स्पष्ट देखिन्छ ।

            ४.    प्रतिवादीले अनुसन्धानको क्रममा गरेको वयानमा आफू नेपाली सेनाको नोकरी गर्ने व्यक्ती भएको र वारदातको दिन ड्युटी सकेर घर फर्कने क्रममा राजेश खत्रीसंग वसेर मादक पदार्थ सेवन गरी निजकै मोटरसाइकलमा निजको घरमा पुगेपछि मोटरसाइकलवाट ओर्लेर सुर्ति किन्न गएको ठाउँमा चिनेको वद्री के.सी लाई किन हल्ला गरेको भनी वाहिर तानी ल्याएकोमा अन्य दुइ जनाले आफूलाई समात्न खोजेकोले नसाको सुरमा तत्काल रिस उठी आफूसंग भएको रिभल्वरवाट गोली फायर गर्दा मृतकलाई लाग्न गई मृत्यु भएको भनी कसूरमा सावित भएको देखिन्छ । निजले अदालत समक्ष गरेको वयानमा पनि वारदात स्थलमा आफू सुर्ति किन्न जादा मृतक रक्सी खाएर हतियार समाउन आएकोले हतियार वचाउन फायर गर्दा अचानक भवितव्य पर्न गयो भनी आफूले प्रहार गरकै गोलीको कारण मृतकको मृत्यु हुन पुगेको भन्ने तथ्यलाई स्वीकार गरेको देखिन्छ । जाहेरीमा आरोप लगाइएका राजेश खत्रीको वयानमा पनि यी पुनरावेदक प्रतिवादी डयुटीमा जानु भन्दा अघि पनि मादक पदार्थ वियर खाएर गएको र ड्युटी सकेर आए पछि पनि संगै वसेर रक्सी खाई आफ्नो मोटरसाइकलमा राखी घर पुर्‍याएर मोटरसाइकल थन्क्याउन लाग्दै गर्दा निजले मृतकलाई गोली प्रहार गरेको र सोही कारणवाट मृतकको मृत्यु भएको उल्लेख गरिएको छ । यस वयानवाट प्रतिवादी ड्युटीमा जानु भन्दा अघि पनि मादक पदार्थ सेवन गरेर गएको भन्ने देखिन्छ  भने मिसिल संलग्न रहेको श्री केन्द्रीय सैनिक प्रहरी गुल्मको पत्रवाट वारदात मितिमा निज गोविन्द कार्की आफ्नो जिम्मेवारी क्षेत्र भन्दा वाहिर गएको र ड्युटीमा पनि नभएको भन्ने देखिन्छ ।

            ५.    पुनरावेदक प्रतिवादी अनुसन्धानको क्रममा अनुसन्धान अधिकारी समक्ष अपराध गरेको भन्ने कुरामा पुरा सावित भई वयान गरेको देखिन्छ । तर अदालतमा मुद्दा हेर्ने अधिकारी समक्ष वयान गर्दा अनुसन्धान अधिकारी समक्षको  साविती वयान लाई  केही वदलेको  देखिन्छ । अदालत समक्ष वयान गर्दा आफूसंग भएको हतियार समाउन आएकोले हतियार वचाउन फायर गर्दा अचानक भवितव्य पर्न गयो भनी वयान गरेको देखिन्छ । पोष्टमार्टमवाट अर्जुन लामिछानेको मृत्यु  Firearm gun shot wound  वाट भएको भन्ने स्पष्ट देखिन्छ । उक्त दिन घटनास्थल र वरपर सो वाहेक पेस्तोलले गोली हानी मानिस मरेको भन्ने वारदात भएको छैन । पुनरावेदक प्रतिवादीले  आफूसंग भएको हतियार समाउन आएकोले गोली चलाउन परेको भनेको देखिन्छ । तर को कसले आफूसंगको उक्त हतियार खोस्न आए र गोली नै चलाउन पर्‍यो त्यसको कुनै साक्षी प्रमाण दिन सकेको छैन ।  पुनरावेदकले अदालत समक्ष वयान फेरे पनि मृतक अर्जुन लामिछानेको मृत्यु गोलीवाट हुनु पुनरावेदकले आफ्नो साथको  हतियार कसले खोस्न आयो, यसको केही प्रमाण साक्षी दिन नसक्नुवाट पुनरावेदकले  अदालतमा वयान गर्दा आफ्नो हतियार खोस्न आएकोले वचाउनको लागि फायर गर्दा पड्केको भने पनि पुनरावेदकले नै प्रहार गरेको गोलीवाट अर्जुन लामिछाने मरेको हुँदा अर्जुन लामिछानेको मृत्युको सम्वन्धमा अरु थप प्रमाण आवश्यक नपरी पुनरावेदकको  प्रहरी समक्षको र अदालत समक्षको वयानवाट नै पुनरावेदक विरुद्धको  अभियोग शंकारहित तवरवाट प्रमाणित भएको देखिन्छ ।

            ६.    मौकामा वुझीएका वद्री के.सी, भरत आचार्य तथा लक्ष्मण अधिकारीको वकपत्रवाट पनि निजहरू र मृतक समेतका व्यक्ति वसी राखेको समयमा प्रतिवादी आई किन हल्ला गरेको भनी समातेर पसल नजिक खम्वानेर पुर्‍याएपछि छुटयाउन भनी गएका अर्जुन लामिछाने र भरत आचार्य मध्ये अर्जुन लामिछानेलाई प्रतिवादीले गोली प्रहार गरेको भन्ने देखिन्छ । उक्त कुरालाई पुष्टि गरी निजहरूले चश्मदिद गवाहको रुपमा अदालत समक्ष आइ वकपत्र गरेको समेत देखिएको छ । निजहरू प्रमाण ऐन २०३१ को दफा १०(क) ले काम काज घटना देख्ने र थाहा पाउने प्रत्यक्ष दर्शी गवाहहरू हुन् ।

 

            ७.    उल्लेखित तथ्यको मूल्यांकन गर्दा पुनरावेदक प्रतिवादी जनताको जिउधन र राष्ट्रको सुरक्षा गर्ने महत्वपूर्ण जिम्मेवारी रहेको नेपाली सेना जस्तो महत्वपूर्ण संगठनमा कार्यरत व्यक्ति भएको देखिन्छ । वारदातको दिन विहान आफ्नो  ड्युटीमा जानुअघि पनि मादक पदार्थ सेवन गरेको र डयुटी पछि पनि मादक पदार्थ सेवन गरेको कुरा मौकामा वुझीएको राजेश खत्रीको वयानवाट र प्रतिवादी स्वयले अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयानवाट समेत देखिन आएको र वारदातको मितिमा गोविन्द कार्की आफ्नो जिम्मेवारी क्षेत्र भन्दा वाहिर गएको र ड्युटीमा पनि नभएको भनी निजको सम्वन्धित कार्यालयले समेत जानकारी गराएको स्थितिमा यी प्रतिवादीले आफ्नो संगठन र समाज प्रतिको जिम्मेवारी अनुकूलको आचरण र कर्तव्य पूरा गरेको देखिन आएन । अर्कोतर्फ  आफू मादक पदार्थ सेवन गरी राजेश खत्रीको मोटरसाइकलमा निजको घरमा पुगेपछि आपसमा कुराकानी गरिरहेका व्यक्तिहरूको बीचमा गई वद्री के.सी. भन्ने व्यक्तिलाई हातपात गरेपछि छुट्याउन भनी आएका व्यक्ति मध्ये मृतकलाई ताकी गोली प्रहार गरेको तथ्य मौकामा वुझिएका चस्मदिद गवाहरूको भनाइ, प्रतिवादीले अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयान र अदालत समक्ष गरेको वयान समेतवाट निर्विवाद रुपले पुष्टि हुन आएकोले अभियोगपत्र दावी बमोजिम प्रतिवादीलाई सर्वश्व सहित जन्मकैद गर्ने गरेको काठमाडौं जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन ।

            ८.    अव प्रतिवादीलाई तीन वर्ष मात्र कैद गर्न उपयुक्त हुने भनी काठमाडौं जिल्ला अदालतवाट व्यक्त रायमा सहमत नभई दश वर्ष कैद गर्न उपयुक्त हुने भनी अ.वं १८८ नं. वमोजिम पुनरावेदन अदालतवाट व्यक्त रायका सम्वन्धमा विचार गर्दा दुवै राय मनासिव देखिंदैन । दुवै अदालतको राय अ.वं. १८८ नं.ले मुद्दा हेर्ने अधिकारीलाई विश्वास गरी दिएको अधिकारको दुरुपयोग मान्नु पर्छ । सर्वश्वसहित जन्मकैद हुने ठहर गरे पनि सजाय यति घटाउने उती घटाउने भनी वा न्यूनतम भन्दा कम सजाय गर्न नपाइने भनी न्युनतम कैद समेत नतोकी अ.वं १८८ नं. ले मुद्धा हेर्ने अधिकारीलाई विश्वास गरी व्यापक तजविजी अधिकार प्रदान गरेको छ । अ.वं १८८ नं. मा घटी सजाय भन्ने शव्द परेको छ । अ.वं १८८ नं. मा न्युनतम भन्दा तल सजाय घटाउन पाईने छैन भनी न्युनतम कैद सजाय नतोक्नुको पछाडि केही अवधारणहरू छन् । ती अवधारणाहरू के हुन भने अ.वं. १८८ नं. को प्रयोग अदालतको मुद्दा हेर्ने न्यायिक अधिकारी न्यायाधीशवाट प्रयोग हुने व्यवस्था हो । मुद्दा हेर्ने अधिकारी न्यायाधीश भएको कारण त्यस्तो व्यक्ति न्यायाधीश पदमा नियुक्त हुना साथै स्वतन्त्र हुन्छ, न्यायाधीशले हर न्यायिक काममा विवेक प्रयोग गर्दछ, न्यायाधीशले गर्ने हरेक काममा न्यायिक मनको प्रयोग हुन्छ , न्यायाधीशले आफूमा भएको तजवीजी अधिकार प्रयोग गर्दा उसले त्यस्तो तजवीजी अधिकारको दुरुपयोग गर्दैन, तजवीजी अधिकार प्रयोग गर्दा न्यायिक मन लगाई With Justifiable Reason को आधार र कारण देखाई Speaking Order को रुपमा आफ्नो राय व्यक्त गरी प्रयोग गर्दछ र न्यायाधीशले अ.वं १८८ नं. प्रयोग गरी सजाय घटाउने राय मनासिव, चित्तवुझ्दो, विवेकपूर्ण सन्तुलित र न्याय पर्ने हुन्छ भनेर नैं विधायिकाले अ.वं. १८८ नं.मा न्युनतम भन्दा कम सजाय गर्न हुदैन भनी न्युनतम कैद वर्ष नतोकेको हो ।  न्यायाधीशलाई न्यायको मान्य सिद्धान्त थाहा हुन्छ , न्यायाधीशले न्यायिक कार्य गर्दा न्यायको मान्य सिद्धान्तमा रहेर गर्दछ , कुनै ऐनले कुनै अपराधमा कैद सजाय गर्ने व्यवस्था किन गर्दछ भन्ने कुरा वुझ्दछ , न्यायाधीशले कानूनको प्रयोग र व्याख्या गर्दा विधायीकी मनसायलाई वुझेर गर्दछ भन्ने मान्यता र अवधारणाको आधारमा न्यायाधीशलाई तजविजी अधिकार प्रदान गरिन्छ । नेपालको कानूनले केही अपराधलाई कडा अपराध मानेको छ र धेरै कम अपराधमा मात्र सर्वश्व सहित जन्मकैद गर्ने व्यवस्था गरेको छ। त्यसमा ज्यान सम्वन्धी महल एक हो ।

            ९.    मुलुकी ऐन ज्यान सम्वन्धी महलमा तीन प्रकारको Homicide र सजायको व्यवस्था भएको छ । एउटा मनसाय पुर्वक गरिने हत्या जसमा मनसाय र कार्य दुवै अपराधपूर्ण हुन्छ जसमा ज्यान सम्वन्धी महलको १३ नं. अनुसार सर्वश्व र जन्मकैद हुने व्यवस्था छ । अर्को मन सफा (Intention not guilty) तर कार्य अपराधपूर्ण (Action guilty)  भएको जसमा ज्यान सम्वन्धी महलको १४ नं. वमोजिम १० वर्ष कैद सजाय हुन्छ र तेश्रो भवितव्य अर्थात Accidental death जसमा वढीमा २ वर्ष सम्म कैद सजाय हुन्छ ।

     १०. ज्यान सम्वन्धी अपराध एउटा यस्तो अपराध हो जसमा एउटा व्यक्तिले अर्को व्यक्तिको वाच्न पाउने अधिकार अर्थात Right to Life नैं  अपहरण गरेको हुन्छ । नेपाल कानूनले यसलाई गम्भीर अपराध मानी सर्वश्व गरी जन्मकैदको सजाय हुने व्यवस्था गरेको छ । मुलुकी ऐन ज्यान सम्वन्धी महलको १३ नं. एउटा यस्तो अपराध र सजायको व्यवस्था हो जसमा प्रतिवन्धात्मक वाक्यांशको रुपमा अ.वं. १८८ नं. रहेको छ र यही १८८ नं. ले न्यायाधीशलाई तजवीजी अधिकार प्रदान गर्दछ ।

११.    मुलुकी ऐन ज्यान सम्वन्धी महलको १३ नं. को देहाय (१), (२), (३) र (४) एकातिर र अर्को तिर एकप्रकारले सो नं. को प्रतिवन्धात्मक वाक्यांशको रुपमा रहेको अ. वं. १८८ नं. ले मुद्दा हेर्ने अधिकारीलाई दिएको तजविजी अधिकारको विधायीकी मनसाय अनुसार न्यायाधीशको तजवीजी अधिकार ठिक प्रयोग भएन वा गलत प्रयोग भयो भने न्यायमा विचलन (Miscarriage of justice) हुने मात्र होईन विधायीकाले न्युनतम सजाय समेत नतोकी न्यायपालिका उपर गरेको विश्वासको घात हुन पुग्छ । यसका अतिरिक्त अ.वं. १८८ नं. को गलत प्रयोग भयो वा स्वेच्छाचारी ढङ्गले प्रयोग भयो वा सजाय घटाउने आधार कारण नैं खोलिएन वा आधार र कारण खोलिए पनि त्यस्तो आधार र कारणले घटाएको सजायलाई Justify र समर्थन गर्न नसक्ने खालको भयो भने पीडित पक्ष न्याय पाउनवाट वञ्चित हुने मात्र होईन सम्पूर्ण न्यायपालिकाले नैं समाज र जनताको विश्वास गुमाउन पुग्दछ । तसर्थ अ.वं. १८८ नं.को प्रयोग गरी सजाय घटाउदा न्यायाधीशले विभिन्न कुराहरू विचार पुर्‍याउनु पर्छ । 

      १२. कसैले कसैको ज्यान मार्दा मर्नेको Right to Life मात्र अपहरण हुदैन उसको परिवार र उसमा आश्रीत अन्य सदस्यहरू समेतको मानव अधिकार हनन हुन जान्छ । ICCPR १९६६ को धारा २३(१) मा The family is the natural and fundamental group unit of society and is entitled to protection by the society and the State. भन्ने  व्यवस्था गरी परिवारलाई Group unit of society मानी त्यसको संरक्षण समाज र राज्यले गर्नुपर्ने भन्ने व्यवस्था भएको छ । ज्यान मारेको प्रत्यक अपराधमा परिवारले एक सदस्य गुमाउँछ । परिवारको कुनै एक सदस्य मारिंदा नागरिकलाई धारा २३(१) ले प्रदान गरेको मानवअधिकार उपभोग गर्नवाट वञ्चित हुन पुग्दछ । घरको मुख्य कमाउने मानिस पिता मारिएको रहेछ भने सम्पूर्ण परिवारका सदस्य अविभावक विहिन हुन पुग्दछन् । पत्नी विधवा र वालवच्चा टुहुरा हुन   पुग्दछन् । उनीहरूको पठन पाठन र शिक्षा सम्वन्धी हक नैं अपहरण हुन पुग्दछ । पारिवारीक जीवन तहस नहस हुन पुग्दछ । यिनै कारणहरूले गर्दा शुरु शुरुमा ज्यान मार्नै अपराधमा मृत्युदण्डको सजायको व्यवस्था भएपनि आजको २१ औं सताव्दीमा अपराधीलाई सुधार्नु पर्छ र अपराधी सुध्र्रन सक्छ । मानिस जन्मिदा अपराधी भएर जन्मिदैन समाजका विभिन्न कारणले गर्दा मात्र मानिसले अपराध गर्छ भन्ने मान्यताले मृत्युदण्ड ज्यादै कडा सजाय भयो भनी लामो कैद वा जन्मकैदको सजाय हुने व्यवस्था भएको हो । त्यसैले अ.वं. १८८ नं.को प्रयोग गर्नु अघि न्यायाधीशले ज्यान सम्वन्धी अपराधको गाम्भिर्यता र पीडित र परिवारमा पर्ने अपुरणीय क्षती तर्फ ध्यान दिनु पर्छ । Due Process पूरा र पालन गरी पुर्पक्ष गरिएको अभियुक्तको मुख हेरेर अ.वं.१८८ नं.प्रयोग गर्ने नभई सजाय घटाउँदा विभिन्न कुराहरू विचार गर्नुपर्छ ।

        १३. अदालतले अ.वं.१८८ नं. को प्रयोग गरी सजाय घटाउँदा वडो विचार गर्नुपर्छ । अ.वं. १८८ नं. प्रयोग गरी सजाय घटाउने राय व्यक्त गर्ने सामान्य नियम होईन । यसको प्रयोग अपवाद हो । यसलाई कानूनी शव्दमा भन्ने हो भने Rarest of the rare case मा मात्र अ.वं. १८८ नं प्रयोग हुने व्यवस्था हो । त्यसैले सजाय घटाउने राय व्यक्त गर्दा विधायीकाले अ.वं. १८८ नं. मा प्रयोग गरेको इन्साफ गर्ने हाकिमको चित्तले भवीतव्य हो कि भन्न हुने सम्मको शंकालेवा अपराध गरेको अवस्था विचार गर्दाभन्ने यी दुई वाक्यांशलाई ध्यान दिई न्यायाधीशले यी दुई वाक्यांशलाई समर्थन गर्ने प्रमाणहरू मिसिलमा भएको कुरा र ती प्रमाणको आधारमा आफूले अ.वं.१८८ नं. प्रयोग गरी सजाय घटाउन राय व्यक्त गरेको भन्ने कुरा रायवाट नैं स्पष्ट देखाउन सक्नु पर्छ ।

१४.   अ.वं. १८८ नं. अनुसार सजाय घटाउने भनेको विना आधार र कारणको स्वविवेकीय अधिकार होईन । अ.वं. १८८ नं.लाई न्यायाधीशको स्वविवेकीय अधिकार सम्झनु गलत हो । न्यायिक काम कारवाही र न्यायिक प्रक्रियामा स्वेच्छाचारीपन र भेदभावकारी व्यवहार अर्थात ArbitrarinessDiscriminatory Treatment एवं कार्यको कुनै स्थान हुदैन । एउटा व्यक्तिले आफ्नो जीवनको अधिकार गुमाएको अवस्थाको गम्भिर अपराधमा एक दिन मात्र कैद गरे पनि हुने र २० वर्ष कैद गरे पनि हुने गरी विधायीकाले कसरी यस्तो अनियन्त्रित स्ववीवेकीय अधिकार न्यायाधीशलाई प्रदान गर्न सक्छ । अ.वं १८८ नं. लाई यसरी न्यायाधीशको Discretionary power भनेर सम्झनु हुदैन । अ.वं. १८८ नं. मा भवितव्य हो कि भन्न हुने सम्मको शंकाभन्ने शव्द परेको छ । शंकाभनेको आधार र प्रमाणको अभावको अवस्था हो । न्यायिक काम कारवाहीमा शंका र प्रमाण एक आपसमा Multi Exclusive हुन्छ । अदालतले गर्ने हरेक न्यायिक काम कुनै न कुनै आधार र प्रमाणमा आधारित हुन्छ । शंकामा अदालतले निर्णय गर्दैन । तसर्थ अ.वं. १८८ नं. मा शंका भन्ने शव्द परेकोले न्यायाधीशलाई शंका लाग्दैमा अ.वं. १८८ नं. प्रयोग हुन सक्दैन । अ.वं. १८८ नं. को शंका भन्ने शव्द भनेको आधार र मिसिल संलग्न प्रमाणवाट भवितव्य देखिन्छ भने त्यतिवेला विभिन्न कुरा र अवस्था विचार गरी कानूनले मनसाय रहित अर्थात Innocent mind  ले Provocated अवस्थामा गरेको हत्यामा हुने कैद सजायको व्यवस्थालाई समेत हेरेर आधार र कारण सहित अ.वं. १८८ नं. वमोजिम देख्दैमा चित्त वुझ्दो हद सम्म सजाय घटाउन सक्ने व्यवस्था हो ।

१५.   अ.वं. १८८ नं को प्रयोग गरी सजाय घटाउदा अदालतले देहायका कुरा र अवस्थाहरू विचार पुर्‍याउनु पर्छ :

 क) ज्यान मर्न गएको कारण, अवस्था र परिस्थिति

 ख)   अपराधको तयारी योजना तथा अभियुक्त र पीडितका बीच पूर्व रिसईवीसम्वन्ध

 ग)   अपराधमा संलग्न अभियुक्तहरूको संख्या

 घ)   प्रयोग गरिएको हतियार

 ङ)   मर्नेको शरीरमा देखिएको घाउचोट

 च)   ज्यान मारिएको ठाउँ अवस्था घटनास्थल र समय

 छ)   अभियुक्तको चरित्र तथा आपराधिक रेकर्ड

      उपरोक्त कुराहरूको अलावा देहायका कुराहरूलाई समेत अदालतले विचार पुर्‍याउनु पर्छ ।

क)    मर्नेको आपराधिक रेकर्ड

ख)    मर्नेको आश्रीत परिवार

ग)    मर्नेको घरको परिवारको हैसियत

घ)    मर्नेको समग्र आर्थिक अवस्था

१६.    ज्यान मर्नमा मृतक आफै कारण रहेछ भने वा विशुद्ध Accidental death को अवस्थामा वाहेक अन्य अवस्थामा आपराधिक मनसाय नभएको खण्डमा पनि आफ्नो रीस थाम्न नसकी आफूले आफूलाई नियन्त्रणमा नराखी हातछाडी वा हतियार चलाई वा मर्ने अन्य जुनसुकै काम गरी कोही मारिन्छ भने त्यस्तो अवस्थामा पनि अ.वं. १८८ नं प्रयोग गर्न विचार पुर्‍याउनु पर्छ। लामो कैद सजाय गर्नुको पछाडि अभियुक्तलाई पुन त्यस्तो अपराध नगर्ने Deterent effect, अपराधवाट पीडितको परिवारलाई सन्तुष्टि र सान्त्वना तथा समाजलाई सुरक्षा तथा शान्ति र व्यवस्था राज्यले प्रदान गर्दछ भन्ने कुरा महसुस दिलाउनु समेत हो । सजाय घटाउनु पर्ने कारण र आधार चित्तमा के कसरी लाग्यो सो कुरा रायमा देखिनु पर्छ । तवमात्र माथिल्लो अदालतमा विचार गरिन सक्छ ।

      १७. प्रस्तुत मुद्दामा टाउकोमा गोली लागेको कारण मृतकको मृत्यु भएको देखिन्छ । प्रतिवादी सैनिक कर्मचारी देखिएको र आफूलाई सरकारद्वारा प्राप्त सरकारी पिस्तोलवाट गोली हानी मृतकको मृत्यु भएको भन्ने देखिन्छ । मर्नेले पुनरावेदकलाई provoke गरेको भन्ने कतै देखिदैन । यसवाट प्रतिवादीले सैनिक ओहदा र  हतियारको दुरुपयोग गरी मृतकलाई मारेको भन्ने देखिन्छ । नेपाली सेनाको प्रत्येक अधिकृत तथा जवान प्रत्येक नेपाली नागरिकको हक र अधिकारको संरक्षक हो । वर्दी पोषाक र हतियारधारी सेना देख्ने वित्तिकै आम नागरिकले आफूलाई सुरक्षित महसुस गर्ने संगठन हो ।  सैनिक कर्मचारीलाई सरकारले प्रदान गरेको हतियार, अधिकार र ओहदा देश, नागरिक, समाज, सरकार र आफ्नै आत्मरक्षको लागि हो दुरुपयोगको लागि होईन । साधारण निसश्त्र नागरिकको ज्यान लिनको लागि सरकारले यस्तो हतियार उपलव्ध गराएको होईन । सैनिक कर्मचारीले पिस्तोल जस्तो घातक हतियारले एक निशस्त्र साधारण निर्दोष नागरिकको शरीरको टाउको जस्तो संवेदनशील भागमा प्रहार गरी मारेको घटना कसरी भवितव्य हुन सक्छ ? सेनाको मानिसले रक्सी सेवन गरी ओहदाको घमण्डले ओहदा र पदको दुरुपयोग गरी सम्पूर्ण सेना प्रति नैं आम जनता र नागरिक समाजको अनादर पैदा हुने गरी सरकारी पिस्तोलले गोली हानी सामान्य नागरिकको हत्या गर्छ भने त्यस्तो अपराधमा कानून वमोजिम हदै सम्म कैद गर्दा पनि सजाय चर्को हुने ? जिल्ला र पुनरावेदन अदालतका न्यायाधीशहरूको यो कस्तो  विवेक ? के उनीहरूले मुद्दामा प्रयोग गर्ने Judicial mind यहि हो? यदि अ.वं. १८८ नं.को यसैगरी गलत प्रयोग हुदै जाने हो भने न्यायपालिका प्रति नैं अनास्था पैदा हुन सक्छ ।

            १८.   प्रस्तुत मुद्दामा पुनरावेदकले आफ्नो ओहदा, पोषाक र हतियारको घमण्ड र आडमा अर्जुन लामिछानेको ज्यान लिई निजको Right to life नैं अपहरण गरको र मृतकका परिवारको ICCPR,ICESCR तथा CRC जस्ता अन्तराष्ट्रिय मानव अधिकार सम्वन्धी दस्तावेजहरूले प्रदान गरेको मानव अधिकार समेत हनन गरेको अवस्था हुदा पुनरावेदकलाई दश वर्ष कैद गर्न उपयुक्त हुने भनी अ.वं १८८ नं. वमोजिम पुनरावेदन अदालतवाट व्यक्त रायमा सहमत हुन सकिने स्थिति  देखिएन । सेना र प्रहरी जस्तो राष्ट्र र नागरिकको सुरक्षा गर्न हतियार सहित प्रदान गरेर राज्यले जिम्मेवारी प्रदान गरेको मानिसले मादक पदार्थ सेवन गरेर आफ्नो ओहदा पोषाक र पदको आडमा सरकारी कार्यको प्रयोगको लागि प्राप्त हतियार प्रयोग गरी एक सामान्य निशस्त्र नागरिकको हत्या गरेको यस्तो जघन्य अपराधमा पुनरावेदकलाई कैद सजायमा Leniency देखाउन पर्ने कुनै कारण  हुदैन । तसर्थ पुनरावेदन अदालतको फैसला वमोजिम कायम रहेको लगत कट्टा गरी प्रतिवादीको नाउमा ज्यान सम्वन्धी महलको १३(१) नं. वमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने हुदा सोहि वमोजिम लगत कसी  असुल उपर गर्नु भनी शुरु काठमाडौ जिल्ला अदालतमा लेखि पठाई मिसिल नियमानुसार गरी वुझाई दिनु ।

 

उक्त रायमाम सहमत छु ।

 

न्या.रामकुमारप्रसाद साह

 

इति सम्वत २०६५ साल भाद्र ४ गते रोज ४ शुभम्...........

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु