शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८०४० - वेलगती मोही लगत कट्टा ।

भाग: ५० साल: २०६५ महिना: फागुन अंक: ११

निर्णय नं.८०४० २०६५ फागुन,अङ्क ११

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री तपवहादुर मगर

माननीय न्यायाधीश श्री ताहिरअली अन्सारी

सम्बत् २०६४ सालको दे.पु..नं......१०३९

फैसला मितिः २०६४।११।१७।६

 

मुद्दाः–  वेलगती मोही लगत कट्टा ।

 

      पुनरावेदक वादीः बारा जिल्ला कलैया नं.पा. वडा नं. ६ बस्ने रामदेवप्रसाद गुप्ता   

विरुद्ध

      प्रत्यर्थी प्रतिवादीः बारा जिल्ला कलैया न.पा. बडा नं.१ बस्ने ठगा महतोको मु.स. गर्ने   भिखारी महतो घानुक

 

शुरु  निर्णय गर्ने

भु.सु.अ.श्री विष्णुप्रसाद अधिकारी,

पुनरावेदन फैसला गर्नेः

मा.न्या.  श्री उद्धवप्रसाद बास्कोटा

मा.न्या. श्री पोषनाथ शर्मा

 

§  मोही कायम हुँदाका लिखत प्रमाणहरू मध्ये कुनै वा केहि लिखतको अनुपलव्धता कुनै जग्गाबाट मोहियानी हकको लगत कट्टा गर्ने आधार बन्न नसक्ने ।

(प्रकरण नं.५)

§  एकचोटि विधिवत मोही कायम भई रहेको जग्गामा मोही कायम भएका सम्बन्धित लिखत र आधार प्रमाणहरूलाई सुरक्षित ढंगले राख्नु भूमिसुधार कार्यालयको कर्तव्य  हुने  ।

§  जग्गाको स्वामित्व जबजब परिवर्तन हुन्छ तबतब नयाँ जग्गाधनीको सन्तुष्टिका लागि मोहीले आफु मोही कायम भएको लिखत प्रमाण प्रस्तुत गर्दै जाने कानूनी दायित्व मोहीको होइन । शुरुमा पहिला एक पटक मात्र मोही कायम हुँदा आफु मोही भएको प्रमाण मोहीले पुर्‍याउनु   पर्ने ।        

(प्रकरण नं.६)

 

पुनरावेदक वादीः विद्वान अधिवक्ता श्री इश्वरी भटृराई

प्रत्यर्थी प्रतिवादीः

अवलम्वित नजीरः

सम्बद्ध कानूनः २०२१ सालमा प्रकाशित अनुसूची १ र २

 

फैसला

न्या.ताहिरअलि अन्सारीः पुनरावेदन अदालत, हेटौंडाको फैसलामा चित्त नवुझी वादीको तर्फबाट पर्न आएको पुनरावेदन न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार  यसै अदालतको क्षेत्राधिकार  भित्रको भएको हुँदा मुद्दाको तथ्य एवं ठहर यस प्रकार रहेको छः

यसमा जि. बारा महेशपुर गा.वि.स. बडा नं. ६ साविक कि.नं. ९ को ज.वि. ०१० जग्गा २०२१ सालमा नापी हुँदा मेरा पिता हिरालाल गुप्ताका नाममा दर्ता भई सो समयमा यी प्रतिवादीले उक्त जग्गा बटैयामा जोति आएको, सोही समयमा उक्त जग्गाको फिल्डबुकको किसान महलमा मोही लेखाएका, जग्गा निजले नजोती पिताजीको पालामा पिताजीले र वहाको स्वर्गवास पछि बण्डा हुंदा उक्त कि.नं. ९ कित्ताकाट भै कि.नं. ४४२ ज.वि.०१५८ जग्गा मेरो नाममा आएपछि मैले नै जोती आएको छु । विपक्षीले निजले १ नं मोही लगत नभरेको, २ नं. अनुसूची प्रकाशित नभएको ३ नं. मोहीको प्रमाणपत्र लिनु पर्नेमा सो प्रमाण नलिई जग्गा पनि नजाती रहेको यस्तो बेलगती मोहीको नाम मोही महलबाट कट्टा गरिपाऊँ भन्ने वादीको निवेदन माँग ।

विपक्षीले कानूनी सिद्धान्त अनुसार जीवित हकवाला व्यक्तिका नाममा मुद्दा दिनुपर्ने, मरुवा व्यक्तिको नाम माथिको मुद्दा खारेजभागी छ । निवेदन पत्रको प्रतिवादी खण्डमा लेखिएका ठगा महतो धानुक मिति २०३२ सालमा स्वर्गवास भैसकेको मृतक व्यक्तिका नाममा दिएको मुद्दा प्राकृतिक न्याय सिद्धान्त विपरीत देखिन्छ । दावी जग्गाको १ नं. लगत नभऐको,२ नं. अनुसूची प्रकाशित नभएको र ३ नं. मोहियानी हकको प्रमाणपत्र समेत ठगा महतोले प्राप्त गरी सक्नु भएको हो । उक्त कागजातहरू समेत हराएको, सोही कागजातहरू सुरक्षा साथ राख्नु पर्ने सम्बन्धित अड्डाको दायित्व हो । उक्त कागजातहरू हराउँदैमा मेरो हक जाने होइन । फिल्डबुक ज.ध. श्रेस्ताको मोही महलमा पिताजीको नाम उल्लेख भएको र २०५५।१२।७ च.न.. २३२ को क.न.पा. बडा नं. १ को सिफारिस र २०५५ को कूतवाली भू.स. कार्यालयमा धरौटी समेत राखेको हुंदा वादीको माग दावी झुठा हो / खारेज गरिपाऊँ भन्ने प्रतिउत्तर जिकिर ।

यसमा वादीले दावी लिएको जग्गाको विधिवत मोही हुन १ नं. लगत भऐको,२ नं. अनुसूची प्रकाशित भएको र ३ नं. मोही प्रमाणपत्र लिएका व्यक्तिलाई विधिवत मान्नु पर्ने सम्मानित सर्वोच्च अदालतको सिद्धान्त प्रतिपादित भएको प्रमाणहरू प्रतिवादीले पेश गर्न नसकेको, मोही लगत नभएकोमा फिल्डबुक र ज.ध. दर्ता श्रेस्ताबाट मोही देखिदैमा र कुत धरौटी राखी दिदैमा मोही भन्न नमिल्ने हुंदा जि. बारा गा.वि.स. महेशपुर बडा नं. ६ कि. नं. ४४२ ज.वि. ०१५८ को ज. ध. को श्रेस्तामा रहेको मोही महलको ठगा महतोको नाममा कट्टा गरिदिने ठहर्छ भन्ने व्यहोराको मिति ०५६।५।३२ गतेको भु.सु.का बाराको फैसला ।

शुरु फैसलामा चित्त बुझेन । विवादित जग्गाको फिल्डबुकमा जग्गाधनी प्रमाण दर्ता प्रमाण पुर्जामा त्यसै मोही कायम भएको होइन । २ नं. अनुसूची अड्डा सुरक्षित नभएको कारणले मलाई असर पर्दैन । मिसिल संलग्न सिफरिश समेतको प्रमाणबाट दावीको जग्गा मैले जोतेको, अवस्थामा लगत फाँटको गैर कानूनी भनाईका आधारमा मलाई हराई भएको शुरु फैसला उल्टी गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीको पुनरावेदन अदालत हेटौडामा परेको पुनरावेदन पत्र ।

विवादित जग्गाको २,३ नं. र ४ नं. फाराम पेश हुन नआएको अवस्थामा मोही मान्न नमिल्ने हुँदा जग्गाधनी दर्ता श्रेस्तामा ठगा महतोको नाम कट्टा गर्ने  ठहर्‍याएको फैसला सदर हुने ठहर्छ भन्ने समेत पुनरावेदन अदालत हेटौडाबाट मिति २०५६।१०।१९ मा भएको फैसला ।

२ र ३ नं. अनुसूची कार्यालयमा सुरक्षित नहुनुमा मेरो तथा पिताको कुनै दोष छैन । भू. सु.का.मा. आगलागी भै धेरै कागजहरू नष्ट भएको थियो भन्ने सम्बन्धमा नबुझी भएको फैसला प्रमाण ऐन, २०३१ को दफा ५४ को प्रत्यक्षतः गम्भीर त्रुटी छ । मिति २०२१।११।२३ मा समेत पिताले १ न. फाराम भरी २ नं. अनुसूची प्रकाशित भै ३ नं. मोही लगत समेत तयार भएको छ । २०२१।११।२३ मा नै नापी हुँदा मोही जनाई फिल्डबुक र जग्गाधनी प्रमाण पुर्जा तयार भएको छ । त्यस सम्बन्धमा तत्कालीन ज. ध. हिरालाल गुप्ताले आफ्नो जीवन कालमा कुनै विवाद गर्नु भएको छैन । विपक्षीले जग्गा नामसारी गराउँदा पितालाई मोही मानी नामसारी गर्नु भएको छ । २०२१ साल देखि २०५५ साल अर्थात ३५ वर्ष सम्म कुनै विवाद उठाएको छैन, हाल खाएर उठाइएको छ । पुनरावेदन अदालत हेटौडाको फैसला ने.का.प. २०२८ अंक १२ पुष्ठ ३७३ नि. नं. ६४९ विपरीत भै गम्भीर त्रुटी हुन गएकोले सो फैसला वदर गरी पाउन मुद्दा दोहर्‍याई दिने निस्सा प्रदान गरिपाऊँ भन्ने समेत प्रतिवादी भिखारी महतो धानुकले यस अदालतमा दिएको निवेदन पत्र।

नापीको क्षेत्रीय किताबको दायाँ प्रतिमा कित्ता नं. ९ को जोताहाको महलमा ठगा महतो धानुक उल्लेख भएको पाइन्छ । अंशवण्डा हुँदा कित्ता काट भै कायम भएको कि. न.. ४४२ को जग्गाको मोही महलमा ठगा महतो उल्लेख भएको तथ्य जग्गाधनी दर्ता प्रमाण पूर्जाको छायाँ प्रतिबाट देखिन्छ । भू.स.का बारामा यी वादी रामदेवप्रसाद गुप्ताले मिति २०५५।१०।२४ मा दिएको निवेदनको पिठमा गा.वि.स. महेशपुर बडा नं. ६ दावी कि. नं. ९ को २ नं. अनुसूचीको ठेली नै नभएको व्यहोरा भू.स.का बाराको मोही लगत तर्फबाट प्रमाणित भएको । २ नं. अनुसूचीको ठेली के कति कारणले सो कार्यालयमा उपलब्ध नभएको त्यस सम्बन्धमा केही उल्लेख नभएको, प्रतिवादी भिखारी महतो धानुकले भू.स.का. बारामा आगलागी भएको र सो आगलागीमा धेरै कागजात जली नष्ट नएको जिकिर लिई विवादित जग्गाको १ नं. लगतको छायाँप्रति पेश भएको यसरी वादी दावीबाट देखिएको सबूत प्रमाणहरू अं.बं. १८४ नं. बमोजिम बुझी निर्णय गर्नुपर्नेमा सो नगरी विवादित कि.नं. को जग्गामा मोहीको नाम कट्टा गर्ने  ठहर्‍याएको भू.सु.का. बाराको मिति २०५६।३।३२ र पुनरावेदन अदालत हेटौडाको मिति २०५६।१०।१९ को फैसला मिलेको नदेखिँदा वदर हुने ठहर्छ । अब जो जे बुझनु पर्छ बुझी प्रमाणको यथार्थ मूल्यांकन गरी कानून बमोजिम ठहर निर्णय गर्नु भनी दुबै पक्षलाई तारेख तोकी मिसिल भू.स.का. बारमा पठाउने भन्ने यस अदालतको मिति ०६१।४।२२ को फैसला ।

विपक्षीले पेश गरेको १ नं. लगतको सम्बन्धमा बुझ्दा दावी मोही जग्गासग सम्बन्धित नरहेको ऐलानी जग्गा भनी लेखी आएको यस कार्यालयमा समेत त्यसको अभिलेख नभएको र मोही हुनुको लागि सम्मानीत सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त अनुसार २०४७ सालको मि.नं. ६०६४,२०५४को ६३३० समेतले १ नं. लगत २ नं. अनुसूची र ३ नं. मोहियानी प्रमाणपत्र अनिवार्य देखाएकोमा विपक्षीले १ नं. २ नं. र ३ नं. कागज प्रमाण पेश गर्न नसकेको र फिल्डबुकको मोही महलमा र जग्गाधनी दर्ता श्रेस्ता पूर्जामा अंकित भएकै आधार कारणबाट ठगा महतो धानुकलाई मोही मान्न नसकिने हुँदा निजको नाम जग्गा भनी दर्ता श्रेस्ताबाट कट्टा हुने ठहर्छ  भन्ने समेत व्यहोराको शुरु भूमिसुधार कार्यालय बाराको मिति २०६२।५।३१ को फैसला ।

विवादित गा.वि.स.महेशपुर वडा नं ६ साविक कि.नं.९ जग्गाको मोही मेरो पिता ठगा महत्तो भै २०३१।११।२३ नाप क्षेत्रिय किताबको मोही महलमा मोही ठगा महतो भै २०३१।११।२३ मा नापी क्षेत्रिय किताबको मोही ठगा महतो भनी उल्लेख भएको, १ नं. लगत भएको, २ नं. अनुसूची प्रकाशित भएको र मोही भई वाली बुझाएको जग्गाधनी प्रमाण पूर्जामा मोहीको नाम उल्लेख भएको छ । तत्कालिन जग्गाधनी परलोक भई जग्गा विपक्षीले जग्गा नामसारी गराउँदा मेरो पितालाई मोही मानी नामसारी गर्नु भएको छ । यसरी मेरो पितालाई मोही मान्दै आएको प्रमाणित हुँदा हुँदै प्रमाण कुनै मूल्याङ्कन नै नगरी भएको फैसला त्रुटीपूर्ण छ भन्ने समेत व्यहोराको प्रतिवादीको यस अदालतमा पर्न आएको पुनरावेदन ।

यसमा फिल्डवुक उत्तार,जग्गाधनी दर्ता प्रमाण पूर्जा र मोहीको १ नं. लगत उत्तारको छायाँप्रतिवाट  साविक कि.नं. को जग्गा मोहीमा ठगा महतो धानुक उल्लेख भएको अवस्थामा मोही लगत कट्टा गर्ने गरेको भूमिसुधार कार्यालयको फैसला फरक पर्न सक्ने हुँदा प्रत्यर्थी झिकाई पेश गर्नु भन्ने पुनरावेदन अदालतको मिति २०६२।१२।१० को आदेश ।

विपक्षीका पिताले भरेको भनिएको मोहीको १ नं. लगत भरपर्दो र प्रमाणयोग्य छैन । मोहीको १ नं. लगत २ नं. अनुसूची ३ नं. प्रमाणपत्र र ४ नं. अस्थायी जोताहा निस्साको अन्तर सम्बन्ध भएको कुरा सम्मानीत सर्वोच्च अदालतबाट धरिछन सहनी विरुद्ध कमलकान्त समेत भएको ने.का.प. २०४७ पृष्ठ ११६ नि.नं ४०६४ किसुनदास विरुद्ध हृदय नारायण ने.का.प. २०५४ पृष्ठ १३३ नि. नं. ६३३० मोहियानी लेखाई देखाई २ नं. अनुसूची प्रकाशित भएकोलाई नै मोहियनी हकको आधार मान्नु पर्ने हुन्छ भनि बलदेव विरुद्ध भू.स.का महोत्तरी ने.का.प. २०५४ पृष्ठ ४३८ लगायतका यसै प्रसंग र विषयवस्तु मिलान भएका मुद्दामा नजीर कायम भएका छन् । केवल जग्गाधनी प्रमाण पुर्जा र नापी श्रेस्तामा नाम जनिएकै आधारमा गरिएको, कानूनी दावी रहीत पुनरावेदन दावी वमोजिम शुरु निर्णय वदर हुन सक्ने अवस्था छैन, आफ्नो दावी प्रमाणित गर्ने वा अदालतलाई विश्वास दिलाउन विपक्षीले दावी प्रमाणित गर्ने भए प्रमाण ऐन. २०३१ को दफा २८ ले यी विपक्षीको हो तर विपक्षीले दावी प्रमाणित गर्न सक्नु भएको छैन । तसर्थ उल्लेखित नजिर सिद्धान्त र कानून समेत ऐनका आधारमा शुरु निर्णय सदर गरिपाऊँ भन्ने समेत व्यहोरा प्रत्यर्थी वादी रामदेवप्रसाद गुप्ताको लिखित प्रतिवाद ।

यसमा लगत भएको मोहीलाई बेलगती भनी मोही ठगा महतो धानुकको नाम कहाँ हुने ठहर गरी गरेको शुरु भूमिसुधार कार्यालय बाराको मिति २०६२।५।३१ को निर्णय मिलेको नदेखिदा उल्टी भै बदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत हेटौडाको मिति २०६३।८।२७ को फैसला ।

पुनरावेदन अदालतले जोत कमोद नगर्ने १ नं. लगत, २ नं. अनुसुचि समेत नभएको व्यक्तिलाई मोही कायम गरेको त्रुटीपूर्ण छ । केवल जग्गाधनी प्रमाण पूर्जा र श्रेस्तामा नाम जनिएकै आधारमा गरिएको दावी कानूनी आधार रहित भएको र विपक्षीले पेश गरेको १ नं. लगतको रेकर्ड नै नभएको र २०५५ साल देखिको बाली बुझाएको रसिदको आधारमा शुरु भूमिसुधार कार्यालयको निर्णय वदर उल्टी गरी भएको पुनरावेदन अदालतको फैसला अ.व.१८४(क) १८५ नं. तथा प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ तथा भूमि सम्बन्धी ऐन, २०२१ को दफा २५ समेतको प्रतिकूल भएकोले वदर उल्टी गरी शुरु भूमिसुधार कार्यालयको निर्णय सदर कायम गरिपाऊँ भन्ने समेत व्यहोराको वादीको यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।

नियम बमोजिम पेशी सुचीमा चढी पेश भएको प्रस्तुत मुद्दाको मिसिल मागजात अध्ययन गरी पुनरावेदक तर्फको विद्वान अधिवक्ता ईश्वरी भट्टराईको वहस समेत सुनियो । पुनरावेदन अदालत हेटौडाले प्रत्यर्थी प्रतिवादीको मोहियानी लगत कट्टा नहुने  ठहर्‍याएको फैसला मिलेको छ छैन ? त्यसमा निर्णय दिनुपिर्ने देखिन्छ ।

२.    निर्णय तर्फ विचार गर्दा प्रस्तुत मुद्दामा पुनरावेदकले निम्न तथ्यहरूलाई स्वीकार             गरेको देखिन्छ ।

 

      १.     नापीका वखत विवादित जग्गा प्रत्यर्थी प्रतिवादीले कमाई निजको नाम                     जोताहाको महलमा फिल्डबुकमा उल्लेख भएको ।

२.    जग्गाधनी दर्ता श्रेस्तामा मोही ठगो नाम उल्लेख भएको ।

३.    पुनरावेदकका पिताले बेलगती मोही लगत कट्टा गरिपाऊँ भनी कुनै कारवाही गर्न                  नसकेको । र,

४.    २०५५ सालमा मोहीले विवादित जग्गाको कुत भूमिसुधार कार्यालयमा धरौटी                 राखेको ।

 

      ३.    अवः उपर्युक्त तथ्यको विवेचना गरी हेर्दा सर्वप्रथमतः २०२१ सालमा प्रकाशित १ नं अनुसुचीमा कि. नं. ७ ज.वि.०५ र कि नं.९ ज.वि. ०१० जग्गाका जग्गाधनी हिरालाल साह कानूनका नाममा रहेको उक्त १ नं. लगतमा जग्गा कमाउनेको नाममा ठगा महतो धानुकउल्लेख भै जग्गा कमाउने व्यक्तिमा यिनै मोही ठगा महतो धानुकको सही छाप भएको तथ्य मिसिल संलग्न उक्त मोहीको १ नं. लगतको छायाँ प्रतिबाट देखिन आउँछ  सोही अनुसार नापी र दर्ता हुँदा नापीको फिल्डबुक र जग्गा दर्ताको श्रेस्ता जग्गाधनी दर्ता प्रमाण पूर्जामा समेत मोही ठगा महतो भन्ने उल्लेख छ । यसरी २०२१ सालमा प्रकाशित १ नं. अनुसूचीमा जोताहा मोहीको नाम उल्लेख भै सो अनुरुप जग्गाधनी दर्ता श्रेस्ताको मोहीको महलमा समेत प्रत्यर्थी प्रतिवादीका वावु ठगा महतोको नाम जनिएर निज अद्यापि विधिवत मोही रही मोहियानी हकको प्रमाणपत्र समेत प्राप्त गरेकोमा कुनै विवाद छैन ।

४.    अब प्रतिवादीको नाममा २ नं. अनुसूची प्रकाशित छैन र ४ नं. जो.अ.नि. छैन  भन्ने वादीको तर्फबाट प्रस्तुत गरिएका दावीका आधारहरूको सम्बन्धमा बिचार गर्दा ती लिखतहरू मोही कायम हुने,नहुने भन्ने विवादको निरोपणका लागि चाहिने प्रमाण हुन् ! प्रस्तुत मुद्दा मोही कायम गरिपाऊँ भनी मोही कायम हुन चाहने पक्षले दिएर उठान भएको मुद्दा होइन ! अपितु कायम रहेको मोहीको लगत कट्टा गराउन दायर भएको मुद्दा हो । यी वादीको हकको कि.नं. ४४२ को सो कि.नं. ९ को जग्गामा ठगा महतोको मोहियानी हक  सर्भेनापीको समयदेखि कायम रही आएको छ । निजको मोहियानी हकलाई निजको जीवनकालमा  कसैले चुनौती दिएको छैन।  सा.कि.नं. ९ को जग्गाधनी यिनै वादीका पिता हीरालाल गुप्ताले पनि लेखिन गएको भनी कतै उजुर, बाजुर गरेको देखिदैन नापीकै बेलामा वा सा.कि.नं.९ दर्ता हुँदासम्म सोको मोहियानी हकको सम्बन्धमा विवादको उठान भई मुद्दा चलेको भए प्रमाणका लागि २ नं. र ४ नं. जस्ता लिखतहरूको प्रासङ्गिकता हुन्थ्यो । तर निर्विवाद रुपमा ठगा महतोको मोहियानी हक कायम भइरहेको र २०३२ सालमा निजको परलोक भइसकेपछि पनि कसैको दावी उजुरी नपरी मोही कायम भएको ३०३५ वर्ष पछि २ नं अनुसूची र ४ नं. जो.अ.नि. खोज्ने र सो नभए प्रतिवादी मोही नै होइन भनी भन्न अधिकार यी वादीलाई छैन ।

५.    यी वादीले निजका वावुवाट अंश बापत कि.नं. ४४२ को जग्गा प्राप्त गर्दा मोही लागेको जग्गा प्राप्त गरेका हुन् । सो भन्दा पहिला सा.कि.नं. ९ को पूरै जग्गाको मोही ठगा महतो कायम भई रहेकोमा त्यसबाट कित्ताकाट गरी लिने यी वादीले प्रतिवादीको मोहियानी हकको वैधानिकता माथि उजुर गर्ने हक प्राप्त भएको देखिदैन । किनभने कायम भई रहेको मोहीले जग्गा जोत कमोद नगरी बाँझो राख्यो भन्ने वा कुतबाली दिएन भन्ने जग्गाधनीको उजुरी छैन त्यसकारण मोहीले भूमि सम्बन्धी ऐन अनुसारको आफ्नो दायित्व पूरा गरी आएको अवस्था  छ। त्यस्तो  अवस्थामा ३४ दशक पहिला मोही कायम हुँदा आवश्यक पर्ने लिखत प्रमाणहरू छन् वा छैनन् भनेर पछि र आँशिक जग्गामा हक प्राप्त गरेको जग्गाधनीले खोजी गर्न पाउने होइन र मोही कायम हुँदाका लिखत प्रमाणहरू मध्ये कुनै वा केहि लिखतको अनुपलव्धता कुनै जग्गाबाट मोहियानी हकको लगत कट्टा गर्ने आधार बन्न सक्दैन ।

६.    यसको अतिरिक्त एक चोटि विधिवत मोही कायम भई रहेको जग्गामा मोही कायम भएका सम्बन्ध लिखत र आधार प्रमाणहरूलाई सुरक्षित ढंगले राख्नु भूमिसुधार कार्यालयको कर्तव्य हो । जग्गाको स्वामित्व जबजब परिवर्तन हुन्छ तबतब नयाँ जग्गाधनीको सन्तुष्टिका लागि मोहीले आफु मोही कायम भएको लिखत प्रमाण प्रस्तुत गर्दै जाने कानूनी दायित्व मोहीको होइन । शुरुमा पहिला एक पटक मात्र मोही कायम हुँदा आफु मोही भएको प्रमुख मोहीले पुर्‍याउनु पर्ने रहन्छ, पटक पटक होइन । त्यसकारण मोहियानी कायम सम्बन्ध विवादमा यस अदालतबाट कायम भएका कानूनी सिद्धान्त र नजीरहरूको गत अर्थ र मतलब लगाई भूमिसुधार कार्यालयबाट मोहियानी लगत कट्टा गरेको निर्णय प्रत्यक्षतः कानूनी त्रुटिपूर्ण देखिन्छ । त्यस्तो गलत निर्णयलाई उल्टी गरी वादी दावी नपुग्ने ठहराएको पुनरावेदन अदालतको फैसला कानूनसम्मत देखिन्छ ।

७.    तसर्थ उपर्युक्त उल्लेखित बुँदाहरूका आधारमा पुनरावेदन अदालत हेटौडाको मिति २०६३।८।२७ को फैसला मिलेकै देखिदा सदर हुने ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्तैन । मुद्दा फैसला भएको जनाउ प्रत्यर्थी प्रतिवादीलाई दिनु प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनु ।    

 

उक्त रायमा म सहमत छु ।

 

न्या.तपवहादुर मगर

 

इति सम्वत् २०६४ साल फागुन महिना १७ गते रोज ६ शुभम् ...

                                                           

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु