निर्णय नं. ८०४२ - जबरजस्ती करणी ।

निर्णय नं.८०४२ २०६५ फागुन अङ्क ११
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला
माननीय न्यायाधीश श्री शुसिला कार्की
२०६० – CR – ०२५५
फैसला मितिः २०६५।१०।२९।४
मुद्दाः जबरजस्ती करणी ।
पुनरावेदक प्रतिवादीः जि. नुवाकोट,विदुर गा.वि.स. बडा नं. ८ घर भई हाल कारागार शाखा डिल्लीबजारमा थुनामा रहेको गोकर्ण खनाल
विरुद्ध
प्रत्यर्थी वादीः स्पन्दना के.सी. को जाहेरीले नेपाल सरकार
शुरु फैसला गर्नेः
मा.जि.न्या. श्री शिवनारायण यादव
पुनरावेदन फैसला गर्नेः
मा.न्या. श्री हरिराम कोइराला
मा.न्या. श्री बुद्धिप्रसाद रेग्मी
§ पीडितलाई गाडीमा साथै लिई जाँदाका अवस्थामा पक्राउ परेको तथ्यलाई स्वीकार गरी बयान गरेको र साथमा लिई जानुपर्ने कारण दिन नसकेको अवस्थामा मौकामा अधिकारप्राप्त अधिकारीका समक्ष वारदातको क्रमवद्ध रुपमा उल्लेख गरी आरोपित कसूरमा सावित रही बयान गरेको अवस्थामा यसलाई स्वेच्छाको होइन भनी निजले जिकिर लिएको भएपनि अन्य स्वतन्त्र प्रमाणबाट प्रमाणित गराउन सकेको नहुँदा सो साविती बयान प्रमाण ऐन, २०३१ को दफा ९(२) (क) ले निजका विरुद्ध प्रमाण ग्राहो हुने ।
(प्रकरण नं.३)
§ आफ्ना कुराहरु प्रष्टसंग राख्न सक्ने, हिडडुल गर्न सक्ने, घर छोडेर हिडेकी भनिएकी यी पीडित अशक्त नै भएको अन्य कुनै स्वतन्त्र प्रमाणबाट पुष्टी हुन नसकेको स्थितिमा स्वास्थ्य परीक्षण गर्ने चिकित्सकले Abnormal Behaviour लेखिदिएकै भरमा निजलाई अशक्त भनी मान्न नसकिने ।
§ एक नाबालिक केटीले जबरजस्ती करणीको वारदात पश्चात् Abnormal Behaviour गर्नु स्वाभाविक नै हुन आउँछ । तर जबरजस्ती करणीको वारदात पूर्व निजको स्थिति अशक्त थियो भन्ने कुरा वस्तुपरक प्रमाणबाट पुष्टि हुनुपर्ने ।
(प्रकरण नं.४)
पुनरावेदक प्रतिवादी तर्फवाटःविद्वान अधिवक्ता श्री दामोदर पुरुष ढकाल, श्री भूमिनन्द ढकाल, र श्री नानीवावु दाहाल
प्रत्यर्थी वादी तर्फवाटःविद्वान सहन्यायाधिवक्ता श्री युवराज सुवेदी
अवलम्वित नजीरः
सम्बद्ध कानूनः मुलुकी ऐन ज.क.महलको १, ३(२), ३(क) र १०, प्रमाण ऐन, २०३१ को दफा ९(२)(क)
फैसला
न्या.मोहनप्रकाश सिटौलाः न्याय प्रशासन ऐन २०४८ को दफा ९ ले यसै अदालतको क्षेत्राधिकार भित्र पर्ने प्रस्तुत संक्षिप्त तथ्य र ठहर यस प्रकार छः-
जबरजस्ती करणी गर्ने गोकर्ण खनाल र पीडित वर्ष १० की कान्छी तामाङ्गलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि पठाईएको भन्ने वडा प्रहरी कार्यालय लैनचौरको पत्र ।
म गोकर्ण खनाललाई राम्रोसंग चिन्दछु । निज मेरो पहिलो श्रीमान् कृष्णप्रसाद उपाध्याय खनालबाट जन्मेको सहोदर छोरा हो । निज मसंगै बस्ने गरेका छन् । निजलाई पछि खोजी भएका बखत वा उपस्थित गराउने जनाउ पाएका बखत हाजिर गराउने गरी जमानीमा लिन मन्जुर छु भन्ने समेत व्यहोराको शुभ कुमारी थापाले गरी दिएको हाजिर जमानी कागज ।
कान्छी तामाङ्गको शरीरमा कहिँ–कतै चोट लागेको छैन । तर योनी सुन्निएको छ भन्ने समेत व्यहोराको प्रसुतिगृह थापाथलीको प्रतिवेदन ।
यस संस्था (सिविन वालिका होम) बाट उसको अभिभावकको खोज तलास गर्दा समेत फेला पार्न सकिरहेको छैन । निज गोकर्ण खनालले कान्छी तामाङ्गलाई जबरजस्ती करणी गरेको हो भनी मलाई बताएको हुनाले निजलाई पक्राउ गरी मुलुकी ऐन जबरजस्ती करणीको महल अन्तर्गत कारवाही गरी सजाय समेत गरिपाऊँ भन्ने समेत व्यहोराको स्पन्दना के.सी को जाहेरी दरखास्त ।
वा.१.ख २०५४ नं. को बसमा लगेर बसको दुइटै तर्फको सिटको बिचमा सिटहरु बिछयाई बिस्तारा बनाई निजलाई उक्त ठाउँमा सुताई निजको तल्लो शरीरमा लगाएको सुरुवाल समेत खोली जबरजस्ती करणी गर्न देउ, करणी गरिसके पश्चात् २००।– रुपैया दिन्छु भनी ललाई फकाई गरी मैले लगाएको पाईण्ट र कटु खोली तल झारी मेरो उत्तेजित लिङ्ग निजको योनीमा हालेको थिएँ भन्ने समेत व्यहोराको प्रतिवादी गोकर्ण खनालले अधिकार प्राप्त अधिकारी समक्ष गरिदिएको बयान ।
मलाई सुताई निजको लिङ्ग मेरो योनीमा घुसाई जबरजस्ती करणी गर्यो, मेरो योनी दुखेकोले ऐया ऐया भनी कराउंदा अरु मानिसहरुले समेत थाहा पाई प्रहरी उक्त ठाउँमा आई निज प्रतिवादी गोकर्ण खनाललाई पक्राउ गरी लगे मलाई उद्दार गरी हाल सिविनको संरक्षणमा रहेको छु भन्ने समेत व्यहोराको पीडित कान्छी तामाङ्गले गरी दिएको कागज ।
निज गोकर्ण खनालले उक्त मिनीबस भित्र के कसरी उक्त केटीलाई जबरजस्ती करणी गर्यो या गरेन मैले आफ्नो आँखाले देखेको होइन । निज गोकर्णलाई नै थाहा होला त्यस पश्चात् प्रहरीले गोकर्ण खनाल र उक्त केटीलाई प्रहरी कार्यालयमा लगेको थियो भन्ने समेत व्यहोराको केशव परियारले गरी दिएको कागज ।
नयाँ बसपार्कमा प्रतिवादी गोकर्ण खनालले कान्छी तामाङ्गलाई जबरजस्ती करणी गरेको हो भनी निजै पीडित कान्छी तामाङ्गले बताएको हुँदा थाहा पाएको हुं भन्ने समेत व्यहोराको उमा अधिकारीको कागज ।
कान्छी तामाङ्गको उमेर ११ र १२ वर्षको बीचमा छ भन्ने समेत व्यहोराको महाराजगंज क्याम्पसको प्रतिवेदन ।
पीडित कान्छी तामाङ्गलाई मैले चिनेको छु । निजको वास्तविक नाम थर धनमाया श्रेष्ठ हो निज मेरो जेठो छोरा कृष्णबहादुर श्रेष्ठको छोरी, मेरो सहोदर नातिनी पर्दछिन निज नातिनीलाई प्रतिवादी गोकर्ण खनालले जबरजस्ती करणी गरेको हुँदा निजलाई कारवाही गरिपाऊँ भन्ने व्यहोराको ज्ञान बहादुर श्रेष्ठको कागज ।
मिसिल सम्लग्न स–प्रमाणबाट प्रतिवादी गोकर्ण खनालले शारीरिक रुपमा अशक्त वर्ष ११ की कान्छी तामाङ्गलाई जबरजस्तीका साथ करणी गरेको पुष्टि हुन आएको अवस्था हुँदा प्रतिवादीलाई मुलुकी ऐन जबरजस्ती करणीको महलको १ नं. प्रतिकूलको कसुर अपराधमा ऐ. महलको ३ (२) नं. बमोजिम सजाय गरी ऐ. ३(क) नं. बमोजिम थप सजाय हुन र ऐ को १० नं. बमोजिम निज प्रतिवादीको आधा अंश पीडित कान्छी तामाङ्गलाई दिलाई भराई पाऊँ भन्ने समेत व्यहोराको अभियोग मागदावी ।
मिति २०६०।१०।२६ गते काठमाडौंको गोगंबु स्थित नयाँ बसपार्कमा खाना खाएर साथीको मिनिबसमा सुत्न भनेर गै रहेको अवस्थामा मैले नचिनेका एक जना केटाले मिनीबसबाट एकजना केटीलाई ओराली बाहिर आए मैले निजहरुलाई भेट्दा त्यो केटाले यो केटीलाई मैले रु.२००। तिरी करणी गरेर ल्याएको केटी हो । तिमी पनि करणी गर्ने भए रु.२००।– तिरेर करणी गर भनेकाले मैले निजलाई गाडीमा लैजादै गर्दाको अवस्थामा प्रहरीले मलाई पक्राउ गरेको हो । मैले निजलाई करणी गर्नको लागि भनी मिनी बसको सिटमा लगेर राख्दै गर्दा त्यसैबेला प्रहरी आई मलाई पक्राउ गरेको हो । मैले निज केटीलाई करणी गरेको छैन । करणी नगरेको हुँदा मलाई सजाय हुनु हुदैन भन्ने समेत व्यहोराको प्रतिवादी गोकर्ण खनालले अदालतमा गरेको बयान ।
आदेशानुसार प्रतिवेदक प्र.ना.नि.हर्क बहादुर रावल, प्र.नि.माधव खत्री, पीडितको स्वास्थ्य परीक्षण गर्ने डा. केशरी बज्राचार्य, पीडित कान्छी तामाङ्ग, जाहेरीवाली स्पन्दना के.सी., मौकामा कागज गर्ने उमा अधिकारी, ज्ञानबहादुर श्रेष्ठ र प्रतिवादीका साक्षी वावुचा परियारले अदालतमा गरेको बकपत्र मिसिल सामेल रहेछ ।
यसमा पीडितले जबरजस्ती करणी गरेको भन्ने किटानी बकपत्र र पीडितको उमेर ११–१२ वर्षको देखिएको, चिकित्सकको रिर्पोटमा समेत योनी सुन्निएको भन्ने आधारमा प्रतिवादी गोकर्ण खनालले जबरजस्ती करणी गरेको ठहराई ऐ महलको ३(२) बमोजिम ७ वर्ष कैद र प्रतिवादीको आधा अंश समेत सर्वस्व भई पीडित कान्छी तामाङ्ग भन्ने धनमाया श्रेष्ठले पाउने ठहर्छ भन्ने मिति २०६३।५।१४ को काठमाडौं जिल्ला अदालतको फैसला ।
शुरु फैसला चित्त बुझेन । पीडितको स्वास्थ्य परीक्षण गर्दा पीडित Behaviour Abnormal देखिएको, कन्याजाली नच्यातिएको र योनीमा वीर्य नदेखिएको र शिक्षण अस्पतालबाट पीडितले मानसिक रोगको उपचार गराइरहेको र पीडितको बाजे ज्ञान बहादुर श्रेष्ठले प्रहरी समक्ष र अदालतमा बकपत्र गर्दा पीडित मानसिक अवस्था असन्तुलन भई २४।२५ दिन देखि हराईरहेकी भनी बकपत्र गरेको अवस्थामा शुरुले प्रमाणको मूल्यांङ्कन नगरी मेडिकल रिपोर्टको एक अंश योनी सुन्निएको भन्ने र जाहेरवाला र माधव खत्री समेतको बकपत्रको आधारमा कसुरदार कायम गरेको फैसला त्रुटीपूर्ण हुँदा बदर गरिपाऊँ भन्ने प्रतिवादीको पुनरावेदन पत्र ।
सिविनमा टिचिङ्ग गर्ने उमा अधिकारीले स.ज.८ मा र अन्य प्रमाणबाट समेत पीडितको मानसकि अवस्था विक्षिप्त एवं असक्त अवस्थामा रहेको भन्ने कुरा अदालतमा भएका बकपत्र समेतबाट खुली आएकोमा प्रतविादीले करणी गरेको भन्ने कसुरमा जबरजस्ती करणी महलको ३ (क) बमोजिम थप सजायको माग गरेकोमा सो तर्फ बोल्दै नबोली शुरु अदालतले गरेको फैसला त्रुटीपूर्ण हुँदा बदर गरिपाऊँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन पत्र ।
यसमा प्रतिवादी गोकर्ण खनाल उपर जबरजस्ती करणीको महलको १ नं. को कसुरमा ऐ महलको ३(२) नं. को सजयमा ऐ ३(क) बमोजिम थप सजाय समेत माग भएकोमा शुरु जिल्ला अदालतबाट दावी बमोजिम कसुर गरेको ठहर्याई जबरजस्ती करणीको महलको ३(२) बमोजिम मात्र सजाय गरी थप सजायको सम्बन्धमा केही नबोलेबाट शुरुको फैसला फरक पर्न सक्ने देखिदा अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाई नियमानुसार पेश गर्नु भन्ने मिति २०६४।३।२१ को पुनरावेदन अदालतको आदेश ।
यसै लगाउको. स.फौ. पु.नं. २१५/१०९८ को मुद्दामा प्रत्यर्थी झिकाउने आदेश भएकोले प्रस्तुत मुद्दा लगाउ र अन्तरप्रभावी भएकोले यस मुद्दामा पनि बमोजिम प्रत्यर्थीलाई सूचना दिई पेश गर्नु भन्ने मिति २०६४।३।२१ को पुनरावेदन अदालतको आदेश ।
प्रतिवादी गोकर्ण खनाललाई जबरजस्ती करणीको ३(२) बमोजिम ७ वर्ष कैद गर्ने गरेको शुरु फैसला सदर भई सोही ऐनको ३(क) बमोजिम थप ५ वर्ष कैद हुने ठहर्छ । थप ५ वर्ष कैद नगरेको हदसम्म शुरु काठमाडौं जिल्ला अदालतको फैसला सो हदसम्म केही उल्टी हुन्छ भनी पुनरावेदन अदालत पाटनबाट मिति ०६४।५।२०।५ मा भएको फैसला ।
प्रहरी समक्ष भएको बयान मेरो स्वेच्छाको होइन । अदालतमा बयान गर्दा म आरोपित कसूरमा पूर्णत इन्कार छु । घटनालाई अतिरञ्जित रुपमा प्रस्तुत गरिएको छ । पीडितले मौकामा गरेको कागज र अदालतमा गरेको बकपत्र आपसमा मेल खादैन । निजले अदालतमा बकपत्र गर्दा मलाई दोषी देखाउन सकेकी छैनन । मैले आरोपित कसूर गरेको देख्ने प्रत्यक्षदर्शी साक्षी प्रमाणको अभाव छ । यस्तो अवस्थामा स्वास्थ्य परीक्षण गर्ने डाक्टरले पीडितको व्यवहार Abnormal देखिएका भनि लेखिदिएको आधारमा मलाई थप सजाय समेत गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसला त्रुटीपूर्ण भएकोले सो फैसला उल्टी गरी आरोपित कसूरबाट सफाई दिलाई पाउँ भनी प्रतिवादीका तर्फबाट यस अदालत समक्ष पर्न आएको पुनरावेदन ।
यसमा पीडित धनमायाको स्वास्थ्य परीक्षणमा Abnormal Behaviour भन्ने उल्लेख भएको मात्र कारणले निज असक्त हो भन्ने निष्कर्ष नआउने हुँदा जबरजस्ती करणीको महलको ३ क नं. बमोजिम थप ५ वर्ष कैदको सजाय गरेको पुनरावेदन अदालतको फैसला मिलेको नदेखिई फरक पर्ने हुँदा छलफल निमित्त अ.वं. २०२ नं. बमोजिम महान्यायाधिवक्ताको कार्यालयलाई पेशीको सूचना दिई पेश गर्नु भनी यस अदालतबाट भएको आदेश ।
नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्ततु मुद्दामा पुनरावेदकका तर्फबाट उपस्थित विद्वान अधिवक्ताहरु श्री दामोदर पुरुष ढकाल, श्री भूमिनन्द चूडाल र श्री नानी बाबु दाहालले पुनरावेदकले आरोपित कसूरमा अदालतमा इन्कार रही बयान गरेका छन् । निजले पीडितलाई जबरजस्ती करणी गरेको भनी देख्ने प्रत्यक्षदर्शी साक्षी कोही छैनन् । पीडितले अदालतमा बकपत्र गर्दा यी पुनरावेदकलाई किटानी रुपमा उल्लेख गर्न सकेकी छैनन् । घटनालाई विभिन्न संघ–संस्थाहरुले अतिरञ्जित रुपमा प्रस्तुत गरी मुद्दाको रुप दिएको देखिन्छ । यस्तो अवस्थामा पीडितको परीक्षण गर्ने डाक्टरले Abnormal Behaviour भनी लेखी दिएको आधारमा निज असक्त हो भनी अदालतले आत्मगत रुपमा अनुमान गरी जबरजस्ती करणीको महलको ३ क नं. बमोजिम थप ५ वर्ष कैद गर्ने गरेको पुनरावेदन अदालतको फैसला त्रुटीपूर्ण भएकोले सो फैसला उल्टी गरी पुनरावेदकलाई आरोपित कसूरबाट पूर्णतः सफाई दिइयोस भनी र प्रत्यर्थी तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री युवराज सुवेदीले पुनरावेदक प्रतिवादी वारदात स्थलमा पीडितको साथ पक्राउ परेका र निज मौकामा अधिकार प्राप्त अधिकारी समक्ष बयान गर्दा आरोपित कसूरमा सावित छन् । सो आफ्नो साविती बयानलाई निजले कुनै ठोस प्रमाणबाट खण्डन गर्न नसकेको र पीडितको स्वास्थ्य परीक्षण समेतबाट अभियोग दावी समर्थित भैरहेको अवस्थामा पुनरावेदन अदालतको फैसला मिलेकै देखिंदा सदर हुनु पर्दछ भनी गर्नु भएको बहस समेत सुनियो ।
उल्लेखित विद्वान कानून व्यवसायीले गर्नु भएको बहस एवं पुनरावेदन सहितको मिसिल अध्ययन गरी पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ, छैन ? प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन ? सो सम्बन्धमा निर्णय दिनु पर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा प्रतिवादी गोकर्ण खनालले शारीरिक रुपमा अशक्त ११ वर्षकी कान्छी तामाङ्गलाई जबरजस्ती करणी गरेको पुष्टी हुने भएकोले निजलाई मुलुकी ऐन जबरजस्ती करणीको महलको ३(२) नं. बमोजिम सजाय र ऐ. ३(क) नं. बमोजिम थप सजाय गरी ऐ. को १० नं. बमोजिम आधा अंश पीडितलाई दिलाई भराई पाउँ भन्ने अभियोग माग दावी भएकोमा, प्रतिवादी मौकामा अधिकार प्राप्त अधिकारीका समक्ष बयान गर्दा सावित भएपनि अदालतमा बयान गर्दा आरोपित कसुर गरेकोमा इन्कार देखिन्छन् । शुरु अदालतले प्रतिवदीलाई कसूरदार ठहराई ७ वर्ष कैद र आधा अंश पीडितलाई भराई दिने गरी फैसला गरे उपर प्रतिवादी एवं वादी दुवै पक्षबाट पुनरावेदन परेकोमा पुनरावेदन अदालतले शुरु इन्साफ केही उल्टी गरी प्रतिवादीलाई जबरजस्ती करणी महलको ३ क नं. बमोजिम थप ५ वर्ष कैद सजाय गरेको देखिन्छ । उक्त फैसलामा चित्त नबुझाई प्रतिवादीको तर्फबाट यस अदालतमा पुनरावेदन पर्न आएको देखियो ।
३. पुनरावेदकले प्रहरीमा भएको बयान स्वेच्छाको नभएको, अदालतमा इन्कार रहेको घटना देख्ने प्रत्यक्षदर्शी कोही नभएको र पीडित अशक्त भन्ने प्रमाणित नभएको भन्ने मुख्य जिकिर लिएको देखिएकाले त्यस तर्फ विचार गर्दा यी पुनरावेदक प्रतिवादी गोकर्ण खनालले अदालतमा बयान गर्दा पीडित कान्छी तामाङ्ग भन्ने धनमाया श्रेष्ठलाई अभियोग दावी बमोजिम आफूले जबरजस्ती करणी गरेको होइन भनी आरोपित कसूरमा इन्कार रही बयान गरेका भएपनि निजले पीडितलाई गाडीमा साथै लिई जाँदाका अवस्थामा पक्राउ परेको तथ्यलाई स्वीकार गरी बयान गरेको पाइन्छ पीडितलाई गाडीमा साथै लिइ जानु पर्ने कारण प्रतिवादीले दिन सकेको छैन । यी पुनरावेदकले मौकामा अधिकार प्राप्त अधिकारीका समक्ष वारदातको क्रमवद्ध रुपमा उल्लेख गरी आरोपित कसूरमा सावित रही बयान गरेको देखिन्छ । जसलाई स्वेच्छाको होइन भनी निजले जिकिर लिएको भएपनि त्यसलाई अन्य स्वतन्त्र प्रमाणबाट प्रमाणित गराउन सकेको पाइदैन । अतः उक्त साविति बयान प्रमाण ऐन २०३१ को दफा ९(२) (क) ले निजका विरुद्ध प्रमाण ग्राह्य हुन्छ । पीडितले मौकामा कागज गर्दा र अदालतमा बकपत्र गर्दा समेत घटनाको सिलसिलेवार रुपमा उल्लेख गरी आफूलाई जबरजस्ती करणी गरेको हो भनी बकी लेखाई दिएको पाइन्छ । जुन तथ्यलाई पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकको प्रतिवेदनबाट समेत समर्थित भै रहेको पाइन्छ । यस्तो स्थितिमा पीडितको साथ मौकामा पक्राउ परेका यी पुनरावेदक प्रतिवादी निर्दोष रहेछन् भनी भन्न सक्ने अवस्था देखिदैन ।
४. जहाँसम्म पीडित भनिएकी कान्छी तामाङ्ग भन्ने धनमाया श्रेष्ठ अशक्त महिला भएको भनी प्रतिवादीलाई जबरजस्ती करणीको महलको ३ क नं.ले थप ५ वर्ष कैद गर्ने गरेको पुनरावेदन अदालतको फैसलाको प्रश्न छ, त्यस तर्फ विचार गर्दा पीडितको हजुरबाबु नाताका ज्ञानबहादुर श्रेष्ठले घटना भएको १–२ महिना अगाडि देखि नातिनीको मगज विग्रेको हो । पीडितका बाबु आमा दुवै नै लठेव्रा खालका छन् भनी अदालतमा बकपत्र गरिदिएका र पीडितको स्वास्थ्य परीक्षण गर्ने डा. केशरी बज्राचार्यले पीडितको अवस्था Abnormal Behaviour भनी लेखाई दिएको भएपनि निज अशक्त भएको विश्वासनीय प्रमाण मिसिल संलग्न देखिदैन । Abnormal Behaviour (अस्वाभाविक व्यवहार) ले Normal Behaviour (स्वभाविक व्यवहार) भन्दा फरक Behaviour लाई जनाउने भएपनि अस्वाभाविक र अशक्त शब्दको अर्थ एउटै देखिदैन । नेपाली शव्दकोष (सम्पादक बालचन्द्र शर्मा) ले“ अस्वाभाविक” शव्दलाई स्वाभाविक नभएको, अप्राकृतिक भनी र “अशक्त” शब्दलाई निर्बल, कमजोर, निर्धो, नसब्ने भनी परिभाषित गरेबाट पनि यी दुई शब्द एक अर्काका पर्यायवाची नभएको स्पष्ट छ । आफ्ना कुराहरु प्रष्टसंग राख्न सक्ने, हिडडुल गर्न सक्ने, घर छोडेर हिडेकी भनिएकी यी पीडित अशक्त नै भएको अन्य कुनै स्वतन्त्र प्रमाणबाट पुष्टी हुन नसकेको स्थितिमा स्वास्थ्य परीक्षण गर्ने डा. ले Abnormal Behaviour लेखिदिएकै भरमा निजलाई अशक्त भनी मान्न सक्ने देखिदैन । एक नाबालिक केटीले जबरजस्ती करणीको वारदात पश्चात Abnormal Behaviour गर्नु स्वाभाविक नै हुन आउँछ । तर जबरजस्ती करणीको वार्दात पूर्व निजको स्थिति अशक्त थियो भन्ने कुरा वस्तुपरक प्रमाणबाट पुष्टि हुनुपर्छ । अतः ठोस प्रमाणको अभाव रहेको यस्तो स्थितिमा पुनरावेदक प्रतिवादीलाई जबरजस्ती करणीको महलको ३ क नं. बमोजिम थप सजाय गर्ने गरेको पुनरावेदन अदालतको फैसला सदर कायम हुन सक्ने देखिएन ।
अतः माथि गरिएको विवेचनाबाट पुनरावेदक प्रतिवादी गोकर्ण खनालले पीडित कान्छी तामाङ्ग भन्ने धनमाया श्रेष्ठलाई जबरजस्ती करणी गरी मुलुकी ऐन जबरजस्ती करणीको महलको १ नं. ले परिभाषित गरे अनुसारको कसूर गरेको देखिंदा ऐ. महलको ३(२) नं. बमोजिम निज प्रतिवादीलाई ७ वर्ष कैद हुने ठहराएको पुनरावेदन अदालत पाटनको फैसला त्यस हदसम्म मिलेकै देखिंदा सदर हुने ठहर्छ । पीडित कान्छी तामाङ्ग भन्ने धनमाया श्रेष्ठ अशक्त रहे भएको स्वतन्त्र प्रमाणबाट पुष्टी हुन नसकेको अवस्थामा प्रतिवादीलाई जबरजस्ती करणीको महल ३ क नं. अनुसार थप ५ वर्ष कैद सजाय गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसला सो हदसम्म नमिलेको हुँदा केही उल्टी भै थप सजाय तर्फको अभियोग माग दावी पुग्न नसक्ने ठहर्छ । पूर्ण रुपमा सफाई पाउँ, भन्ने प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । अरुपमा तपसिल बमोजिम गर्नु ।
तपसिल
माथि ठहर खण्डमा लेखिए बमोजिम पुनरावेदन अदालत पाटनको फैसला केही उल्टी भै पुनरावेदक प्रतिवादी गोकर्ण खनाललाई मुलुकी ऐन जबरजस्ती करणीको महलको ३(२) बमोजिम ७ वर्ष कैद हुने र ऐ. महलको ३ क नं. अनुसार थप सजाय नहुने ठहरेकाले पुनरावेदन अदालतको फैसला बमोजिम राखेको थप कैदको लगत कट्टा गरी ७ वर्ष कैदको मात्र लगत राखी असुल गर्नु भनी शुरु जिल्ला अदालतमा लेखी पठाउनु...............१
प्रस्ततु मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनु ......१
उक्त रायमा म सहमत छु ।
न्या.शुसिला कार्की
इति सम्वत २०६५ साल माघ महिना २९ गते रोज ४ शुभम्
उप–रजिष्ट्रार : पुष्पराज थपलिया